अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) नोभेम्बर २०१४

पाठकहरूको प्रश्न

पाठकहरूको प्रश्न

मण्डलीमा एल्डर र सहायक सेवक कसरी नियुक्त गरिन्छ?

प्रथम शताब्दीमा प्रेषित पावलले एफिसी मण्डलीका एल्डरहरूलाई यसो भने, “तपाईंहरू आफ्नो विषयमा होसियार हुनुहोस् र पूरै बगालको हेरचाह गर्नुहोस्, किनकि परमेश्वरले आफ्नै छोराको रगतद्वारा किन्नुभएको मण्डलीलाई गोठालोले झैं डोऱ्याउन पवित्र शक्तिले तपाईंहरूलाई यस बगालमा निरीक्षक नियुक्त गरेको छ।” (प्रेषि. २०:२८) आज एल्डर र सहायक सेवकको नियुक्तिमा पवित्र शक्तिले कस्तो भूमिका खेल्छ?

पहिलो कुरा, एल्डर र सहायक सेवक हुन चाहनेहरूले पूरा गर्नुपर्ने आवश्यकताबारे लेख्न पवित्र शक्तिले बाइबल लेखकहरूलाई उत्प्रेरित गऱ्यो। एल्डर हुन चाहिने १६ वटा आवश्यकताबारे १ तिमोथी ३:१-७ मा बताइएको छ। अरू आवश्यकताहरू तीतस १:५-९ र याकूब ३:१७, १८ मा पनि पाइन्छ। सहायक सेवक हुन चाहिने आवश्यकताहरू १ तिमोथी ३:८-१०, १२, १३ मा दिइएको छ। दोस्रो कुरा, सिफारिस गर्ने र नियुक्त गर्ने जिम्मेवारी पाएकाहरूले पवित्र शक्तिको डोऱ्याइको निम्ति प्रार्थना गर्छन्‌। एल्डर र सहायक सेवक हुन चाहने भाइले चाहिएको मात्रामा शास्त्रीय योग्यता पूरा गरेका छन्‌ कि छैनन्‌ भनी तिनीहरू बुझ्न प्रयास गर्छन्‌। तेस्रो कुरा, सिफारिस गरिएको भाइले आफूमा पवित्र शक्तिको फलका पक्षहरू विकास गरेको हुनुपर्छ। (गला. ५:२२, २३) यसरी परमेश्वरको पवित्र शक्तिले नियुक्ति प्रक्रियामा भूमिका खेल्छ।

तर यस्ता भाइहरूलाई कसले नियुक्त गर्छ? यसअघि, एल्डर तथा सहायक सेवकको नियुक्तिको सिफारिस शाखा कार्यालयमा पठाइन्थ्यो। त्यहाँ परिचालक निकायले नियुक्त गरेका भाइहरूले सिफारिस राम्रोसँग हेर्थे अनि नियुक्त गर्ने वा नगर्ने भनेर निर्णय गर्थे। अनि शाखा कार्यालयले एल्डरहरूको निकायलाई नियुक्तिबारे जानकारी गराउँथ्यो। त्यसपछि एल्डरहरूले नियुक्त भएका भाइलाई त्यसबारे जानकारी दिन्थे। ती एल्डरहरूले उक्त भाइलाई तिनी त्यो जिम्मेवारी सम्हाल्न इच्छुक छन्‌ कि छैनन्‌ अनि त्यस्तो जिम्मेवारी स्वीकार्नदेखि रोक्ने कुनै कुरा छ कि भनेर सोध्थे। त्यसपछि मण्डलीमा घोषणा गरिन्थ्यो।

प्रथम शताब्दीमा कहिलेकाहीं प्रेषितहरूले कुनै खास कामको लागि भाइहरूलाई नियुक्त गर्थे। जस्तै, एक पटक तिनीहरूले विधवाहरूलाई खाना बाँड्ने कामको लागि सात जना भाइलाई नियुक्त गरे। (प्रेषि. ६:१-६) तर यसले एल्डर तथा सहायक सेवकहरूलाई पनि प्रेषितहरूले नियुक्त गर्थे भनेर देखाउँदैन किनकि यो कामको लागि नियुक्त गरिनुअघि नै ती भाइहरूले एल्डरको रूपमा सेवा गरिरहेका हुन सक्छन्‌। त्यसोभए प्रथम शताब्दीमा एल्डर तथा सहायक सेवक कसरी नियुक्त गरिन्थ्यो?

त्यतिबेला नियुक्ति कसरी गरिन्थ्यो भनेर धर्मशास्त्रले  एक-एक कुरा नबताए पनि केही सङ्केत भने दिइएको छ। जस्तै, पावल र बर्णाबास पहिलो मिसनरी यात्राबाट फर्कंदा “तिनीहरूले प्रत्येक मण्डलीमा एल्डरहरू नियुक्त गरे अनि प्रार्थना गर्नुका साथै उपवास बसेपछि तिनीहरूले यी एल्डरहरूलाई यहोवाको जिम्मा लगाए, जसमाथि यिनीहरूले विश्वास गरेका थिए।” (प्रेषि. १४:२३) वर्षौंपछि पावलले आफ्नो सहकर्मी तीतसलाई यस्तो लेखे, “मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ, कि तिमीले सुधार्नुपर्ने कुराहरू सुधार्न सक अनि मैले तिमीलाई निर्देशन दिएबमोजिम सहर-सहरमा एल्डरहरू नियुक्त गर्न सक।” (ती. १:५) पावलसित लामो समय यात्रा गरेका तिमोथीलाई पनि त्यस्तो अधिकार दिइएको थियो जस्तो देखिन्छ। (१ तिमो. ५:२२) कुरा स्पष्ट छ, यस्तो नियुक्ति परिभ्रमण निरीक्षकहरूले गर्थे; यरूशलेममा भएका प्रेषित र एल्डरहरूले होइन।

यो धर्मशास्त्रीय आधार पछ्याउँदै यहोवाका साक्षीहरूको परिचालक निकायले एल्डर र सहायक सेवक नियुक्त गर्ने प्रक्रियामा केही छाँटकाँट गरेको छ। सेप्टेम्बर १, २०१४ देखि एल्डर र सहायक सेवकको नियुक्ति यसप्रकार गरिनेछ: आफ्नो क्षेत्रका मण्डलीहरूबाट आएको सिफारिसलाई क्षेत्रीय निरीक्षकले राम्रोसित हेर्नेछन्‌। भ्रमणको बेला तिनले सिफारिस गरिएका भाइहरूसित प्रचारमा गएर उनीहरूलाई राम्ररी चिन्ने प्रयास गर्नेछन्‌। एल्डरहरूको निकायसित सिफारिसबारे राम्ररी छलफल गरेपछि क्षेत्रीय निरीक्षकले आफ्नो क्षेत्रका मण्डलीहरूमा एल्डर तथा सहायक सेवकहरू नियुक्त गर्नेछन्‌। यसो गर्दा प्रथम शताब्दीको नमुना पछ्याइरहेको हुनेछ।

सिफारिस गरिएका भाइको धर्मशास्त्रीय योग्यताबारे क्षेत्रीय निरीक्षकसित एल्डरहरू कुरा गर्दै छन्‌ (मलावी)

यस प्रक्रियामा अरू पनि मुछिएका छन्‌ कि? “विश्वासी र बुद्धिमान्‌ दास”-को मुख्य जिम्मेवारी घरका अरू दासहरूलाई खुवाउनु हो। (मत्ती २४:४५-४७) यसमा पवित्र शक्तिको मदत पाएर धर्मशास्त्रको अध्ययन गर्ने काम समावेश छ। यसो गर्नुको कारण बाइबलको व्यावहारिक सिद्धान्त बुझ्न मदत दिएर विश्वभरका मण्डलीहरूलाई व्यवस्थित पार्नु हो। तिनीहरूले क्षेत्रीय निरीक्षक र शाखा समिति सदस्यहरू नियुक्त पनि गर्छन्‌। शाखा कार्यालयहरूले विश्वासी दासबाट आएको निर्देशन लागू गर्न व्यावहारिक मदत दिन्छन्‌। एल्डरहरूको निकायले चाहिं कुनै भाइलाई सिफारिस गर्नुअघि तिनमा धर्मशास्त्रीय योग्यताहरू छन्‌ कि छैनन्‌ भनेर राम्ररी केलाउँछ। एल्डरहरूले पठाएको सिफारिसलाई प्रार्थनापूर्वक विचार गर्ने र योग्य भाइलाई एल्डर वा सहायक सेवकको रूपमा नियुक्त गर्ने गहन जिम्मेवारी क्षेत्रीय निरीक्षकको हो।

एल्डर तथा सहायक सेवकहरूको नियुक्ति कसरी गरिन्छ भनेर हामीले बुझ्यौं। यस प्रक्रियामा पवित्र शक्तिको भूमिका छ भनेर पनि अझ राम्ररी थाह पायौं। यसले गर्दा मण्डलीमा नियुक्त भएकाहरूप्रति हाम्रो भरोसा र आदर अझ बढेको छ।—हिब्रू १३:७, १७.

 प्रकाश अध्याय ११ मा बताइएका दुई साक्षीले कसलाई बुझाउँछ?

प्रकाश ११:३ मा १,२६० दिनसम्म भविष्यवाणी गर्ने दुई साक्षीबारे बताइएको छ। त्यसपछिको विवरणले बताएअनुसार जङ्गली जनावरले ‘तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई माऱ्यो।’ तर “साढे तीन दिनपछि” तिनीहरूलाई जीवित पारियो। यो देख्नेहरू तीनछक परे।—प्रका. ११:७, ११.

यी दुई साक्षीले कसलाई बुझाउँछ? प्रकाश अध्याय ११ को विवरणले यो कुरा बुझ्न मदत गर्छ। पहिलो कुरा, यी साक्षीहरूलाई बाइबलमा “जैतुनका दुई वटा रूख अनि दुई वटा पानस” भनिएको छ। (प्रका. ११:४) यो विवरणले हामीलाई जकरियाको भविष्यवाणीमा बताइएको पानस र दुइटा भद्राक्षका रूखको सम्झना गराउँछ। यी भद्राक्षका रूखहरूले “अभिषेक भएका” दुई जना व्यक्तिलाई बुझाउँछ। तिनीहरू राज्यपाल यरूबाबेल र प्रधान पुजारी यहोशू हुन्‌, “जो सारा पृथ्वीका परमप्रभुका सामने खडा छन्‌।” (जक. ४:१-३, १४) दोस्रो कुरा, मोशा र एलियाले गरेका जस्तै चमत्कारहरू यी दुई साक्षीले पनि गर्छन्‌।—प्रकाश ११:५, ६ लाई गन्ती १६:१-७, २८-३५ र १ राजा १७:१; १८:४१-४५ सित तुलना गर्नुहोस्।

प्रकाश अध्याय ११ अनि जकरिया ४:१-३, १४ मा पाइने विवरणबीच कुन कुरा समान छ? दुवै विवरणमा कठिन परीक्षाको समयमा परमेश्वरका जनहरूमाझ नेतृत्व लिएका अभिषिक्त जनहरूबारे उल्लेख गरिएको छ। त्यसकारण प्रकाश अध्याय ११ मा बताइएका दुई साक्षीले १९१४ मा परमेश्वरको राज्य स्वर्गमा स्थापना हुँदा नेतृत्व लिइरहेका अभिषिक्त भाइहरूलाई बुझाउँछ। तिनीहरूले साढे तीन वर्षसम्म “भाङ्ग्रा ओढेर” प्रचार गरे।

भाङ्ग्रा ओढेर प्रचार गर्ने काम सिद्धिएपछि यी अभिषिक्त भाइहरूलाई छोटो समयको लागि जेलमा हालियो र बाइबलमा त्यो समयावधिलाई साढे तीन दिन भनिएको छ। यसरी लाक्षणिक रूपमा तिनीहरूलाई मारियो। परमेश्वरका शत्रुहरूको नजरमा तिनीहरूको काम सधैंको लागि बन्द भयो; त्यसैले ती शत्रुहरू रमाए।—प्रका. ११:८-१०.

भविष्यवाणीले बताएअनुसारै साढे तीन दिनपछि ती दुई साक्षी फेरि जीवित भए। ती अभिषिक्त जनहरू जेलबाट मुक्त भए। त्यति मात्र होइन, वफादार रहनेहरूलाई परमेश्वरले येशू ख्रीष्टद्वारा विशेष कामको लागि नियुक्त गर्नुभयो। अन्तको दिनमा परमेश्वरका जनहरूलाई आध्यात्मिक भोजन दिन १९१९ मा “विश्वासी र बुद्धिमान्‌ दास”-को रूपमा नियुक्त भएका भाइहरूमध्ये तिनीहरू पनि थिए।—मत्ती २४:४५-४७; प्रका. ११:११, १२.

दुई साक्षीको विवरण लेख्नुअघि प्रेषित यूहन्नाले प्रकाश ११:१, २ मा आध्यात्मिक मन्दिरको नाप लिनेबारे लेखे। मलाकी अध्याय तीनमा पनि आध्यात्मिक मन्दिरको निरीक्षण गर्ने र मन्दिर शुद्ध पार्नेबारे लेखिएको छ। (मला. ३:१-४) निरीक्षण गर्ने र शुद्ध पार्ने काम कति लामो समयसम्म चल्ने थियो? १९१४ देखि १९१९ को सुरुसम्म। यो समयावधिले प्रकाश अध्याय ११ मा बताइएको १,२६० दिन (४२ महिना) र लाक्षणिक साढे तीन दिनलाई ढाक्छ।

असल कामको लागि छानिएका व्यक्तिहरूलाई शुद्ध पार्न यहोवाले यस्तो प्रबन्ध गर्नुभएकोमा हामी धेरै खुसी छौं। (ती. २:१४) साथै, वफादार अभिषिक्त जनहरूले बसालेका असल उदाहरणको हामी कदर गर्छौं। तिनीहरूले परीक्षाको समयमा परमेश्वरका जनहरूमाझ नेतृत्व लिए र लाक्षणिक अर्थमा दुई साक्षीको भूमिका खेले। *