अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अक्टोबर २०१४

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ताइवान

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ताइवान

लगभग ३५/३६ वर्षका विवाहित दम्पती चुङ क्युङ जुलीलाई विचार गर्नुहोस्। झन्डै पाँच वर्ष अघिसम्म तिनीहरू अस्ट्रेलियाको सिड्नीमा नियमित अग्रगामी सेवा गर्दै थिए। श्रीमान्‌चाहिं यसो भन्छन्‌, “हामी थोरै काम गरेर आरामदायी जीवन बिताइरहेका थियौं। त्यहाँको हावापानी राम्रो थियो र जीवन बिताउन पनि सजिलो थियो। हाम्रो परिवार र साथीभाइ पनि नजिकै थिए। त्यसैले कुनै चिन्ता थिएन।” तर अझै पनि तिनीहरूलाई आफ्नो जीवनमा केही कुराको कमी छ जस्तो लागिरहन्थ्यो। त्यो के थियो? तिनीहरू अझ राम्ररी यहोवाको सेवा गर्न सक्ने अवस्थामा थिए तर आवश्यक परिवर्तन गर्न भने हिचकिचाइरहेका थिए।

सन्‌ २००९ को अधिवेशनको एउटा भाषणले तिनीहरूको मन छोयो। अझ राम्ररी यहोवाको सेवा गर्न सक्ने अवस्थामा भएकाहरूलाई सम्बोधन गर्दै वक्ताले यसो भनेका थिए, “यो उदाहरण विचार गर्नुहोस्: गाडी गुडिरहेको छ भने मात्र चालकले त्यसलाई दायाँ अथवा बायाँ मोडेर लैजान सक्छ। त्यसैगरि हामी गतिशील छौं अर्थात्‌ लक्ष्यमा पुग्न जोडतोडले लागिरहेका छौं भने मात्र येशूले हामीलाई सेवाको काम विस्तार गर्न आवश्यक डोऱ्याइ दिनुहुन्छ।” * यो कुरा वक्ताले तिनीहरूलाई नै भनेको जस्तो लाग्यो। त्यही अधिवेशनमा ताइवानमा सेवा गरिरहेका मिसनरी दम्पतीको अन्तरवार्ता पनि थियो। अन्तरवार्तामा उनीहरूले मिसनरी सेवा गर्दा पाएको आनन्दबारे बताए। ताइवानमा अझ धेरै आवश्यकता छ पनि भने। चुङ् क्युङ र जुलीलाई यो कुरा पनि आफैलाई भनेजस्तो लाग्यो।

जुली भन्छिन्‌, “त्यो अधिवेशनपछि हामीले यहोवालाई प्रार्थना गऱ्यौं र ताइवानमा सेवा गर्नको लागि आवश्यक कदम चाल्न सकौं भनेर मदत माग्यौं। तर हामीलाई डर लागिरहेको थियो। गहिरो पोखरीमा पहिलो पटक पौडी  खेल्न लागिरहेको जस्तो लाग्यो।” उपदेशक ११:४ ले उनीहरूलाई कदम चाल्न मदत गऱ्यो, जहाँ यसो भनिएको छ, “बतासको विचार गर्नेले कहिल्यै छर्दैन, औ बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।” तिनको श्रीमान्‌ यसो भन्छन्‌, “‘विचार गरेर’ मात्रै बस्नुको साटो हामीले ‘छर्ने र कटनी गर्ने’ निर्णय गऱ्यौं।” तिनीहरूले व्यग्र प्रार्थना गरे, मिसनरीहरूको जीवनी पढे, ताइवानमा सरेर सेवा गरिरहेकाहरूसित थुप्रै पटक इमेल आदानप्रदान गरे, कार अनि सरसामान बेचे र तीन महिनापछि ताइवानमा सरे।

प्रचारकार्यबाट आनन्द उठाउँदै

विभिन्न देशको १०० भन्दा धेरै साक्षीहरू ताइवानको आवश्यकता बढी भएको इलाकाहरूमा सरेका छन्‌। अस्ट्रेलिया, बेलायत, क्यानाडा, फ्रान्स, जापान, कोरिया, स्पेन र अमेरिकाबाट आएका ती साक्षीहरू २१ देखि ७३ वर्षभित्रका छन्‌। तिनीहरूमध्ये आधाभन्दा धेरै त अविवाहित दिदीबहिनीहरू हुन्‌। यी जोसिला साक्षीहरूलाई विदेशमा सेवा गर्न केले मदत गरेको छ? अब पत्ता लगाऔं।

लोरा

क्यानाडाकी अविवाहित बहिनी लोरा पश्‍चिम ताइवानमा अग्रगामी सेवा गर्छिन्‌। दस वर्षअघिसम्म तिनलाई प्रचार गर्न त्यत्ति मन पर्दैनथ्यो। तिनी भन्छिन्‌, “अझ सिपालु हुने हो भने प्रचारमा धेरै समय बिताउनुपर्छ। तर म प्रचारमा धेरै जाँदिनथें। त्यसैले प्रचारकार्यबाट आनन्द उठाउन सकेकी थिइनँ।” क्यानाडाका साथीहरूको आग्रहमा तिनी उनीहरूसितै मेक्सिको गइन्‌ र त्यहाँ एक महिना प्रचार गरिन्‌। तिनी यसो भन्छिन्‌, “मैले पहिलो पटक प्रचारमा यत्ति धेरै समय बिताएँ; धेरै रमाइलो भयो।”

त्यो रमाइलो अनुभवले लोरालाई क्यानाडा फर्केर विदेशी भाषाको मण्डलीमा सेवा गर्न जुरमुऱ्यायो। तिनले चिनियाँ भाषा सिक्न थालिन्‌, त्यस भाषाको समूहसित सङ्गत गर्न थालिन्‌, ताइवानमा सर्ने लक्ष्य राखिन्‌ र २००८ सेप्टेम्बरमा त्यहाँ सरिन्‌। तिनी भन्छिन्‌, “नयाँ वातावरणमा घुलमिल हुन मलाई एक वर्ष लाग्यो। क्यानाडा फर्कने विषयमा त अहिले सोच्नसमेत सक्दिनँ।” अहिले तिनलाई प्रचारकार्य कस्तो लागिरहेको छ? तिनी भन्छिन्‌, “अहिले मलाई प्रचार गर्न एकदमै रमाइलो लाग्छ। बाइबल विद्यार्थीहरूले यहोवालाई  चिनेर जीवनमा परिवर्तन गरेको देख्दा म हर्षले गद्गद हुन्छु। ताइवानमा सेवा गरेर मैले पहिलोचोटि यस्तो अनुभव गर्न पाएकी छु।”

भाषा सिक्ने प्रयास

ब्रायन र मिसेल

लगभग ३६ वर्षका अमेरिकी दम्पती ब्रायन मिसेल आठ वर्ष अघि ताइवान सरे। सुरु-सुरुमा आफूले त्यत्ति राम्ररी प्रचार गर्न नसकेको जस्तो तिनीहरूलाई लाग्यो। तर एक अनुभवी मिसनरी भाइले तिनीहरूलाई यसो भने, “यहोवाबारे कहिल्यै नसुनेको व्यक्तिलाई एउटा पर्चा मात्र दिंदा पनि त्यो व्यक्तिले यहोवालाई चिन्ने मौका पाउन सक्छ। त्यसैले, तपाईंहरूले राम्रोसित प्रचार गरिरहनुभएको छ।” ती भाइको प्रोत्साहनले ब्रायन र मिसेललाई प्रचार गरिरहन मदत गऱ्यो। अर्का भाइले तिनीहरूलाई भने, “चिनियाँ भाषा कत्तिको सिकें भनेर दिनैपिच्छे जाँच्नुभयो भने उल्टै निराश हुनुहुनेछ। त्यसैले एउटा सम्मेलनदेखि अर्को सम्मेलनसम्म कत्तिको प्रगति गर्नुभयो भनेर जाँच्नुहोस्।” तिनीहरूले साँच्चै प्रगति गरे। अहिले तिनीहरूको अग्रगामी सेवा राम्रो भइरहेको छ।

विदेशी भाषा सिक्ने इच्छा कसरी जगाउन सकिन्छ? आफूले सेवा गर्न चाहेको देश घुम्न जानुहोस्। त्यहाँको सभामा पनि जानुहोस्, स्थानीय साक्षीहरूसित सङ्गत गर्नुहोस् र तिनीहरूसँगै प्रचार पनि गर्नुहोस्। ब्रायन भन्छन्‌, “मानिसहरूले बाइबलको सन्देश राम्ररी सुनेको देख्दा र ख्रीष्टियन दाजुभाइ दिदीबहिनीको न्यानो माया पाउँदा अरू देशमा सेवा गर्ने तपाईंको इच्छा अझ बढ्न सक्छ।”

तिनीहरू कसरी खर्च जुटाउँछन्‌?

क्रिष्टन र मिसेल

ताइवानमा आएका थुप्रै अग्रगामीले खर्च जुटाउन अङ्ग्रेजी भाषा सिकाउँछन्‌। क्रिष्टन मिसेल सल्मोन माछा बेच्छन्‌। क्रिष्टन भन्छन्‌, “मैले यस्तो काम कहिल्यै गरेको थिइनँ तर यो काम गरेकोले मलाई ताइवानमै बसेर सेवा गर्न सजिलो भएको छ।” समय बित्दै जाँदा क्रिष्टनको व्यापार राम्रो हुँदै गयो। यो कामले तिनीहरूलाई खर्च जुटाउन मदत गरेको छ। तिनीहरू थोरै काम गरेर अग्रगामी सेवामा धेरै समय बिताउँछन्‌।

“यात्राको आनन्द उठाउनुहोस्”

विलियम जेनिफर सात वर्षअघि अमेरिकाबाट ताइवान आए। विलियम यसो भन्छन्‌, “यहाँ म धेरै व्यस्त छु। भाषा सिक्न, प्रचार गर्न, मण्डलीको काम गर्न र परिवारको खर्च जुटाउन समय दिनुपर्छ। कहिलेकाहीं त लखतरान हुन्छु।” सफल हुन तिनीहरूले के गरे? तिनीहरूले आफूले पूरा गर्न सक्ने लक्ष्यहरू मात्र राखे। जस्तै, चिनियाँ भाषा सिक्दा तिनीहरूले आफूबाट बढी नै माग गरेनन्‌। भाषा छिटो सिक्न नसक्दा तिनीहरू निरुत्साहित पनि भएनन्‌।

विलियम र जेनिफर

विलियमलाई परिभ्रमण निरीक्षकले एक पटक यसो भने, “पुग्नुपर्ने ठाउँबारे मात्र नसोच्नुहोस्, यात्राको आनन्द उठाउनुहोस्।” यसको अर्थ, आध्यात्मिक लक्ष्य राखेपछि लक्ष्यसम्म पुऱ्याउने स-सानो कदम चाल्दा हामी खुसी हुनुपर्छ। त्यो सल्लाहअनुसार चल्दा तिनीहरू लचकदार हुन सके। तिनीहरूले मण्डलीमा जिम्मेवारी सम्हालिरहेका दाजुभाइहरूको सल्लाह सुने र त्यहाँको तौरतरिकाअनुसार चल्न थाले। यसो गर्दा तिनीहरूले नयाँ ठाउँमा राम्ररी यहोवाको सेवा गर्न सके। विलियम यसो भन्छन्‌, “यो सल्लाह मनमा राख्दै आफूले सेवा गरिरहेको टापुको रमणीय दृश्य हेर्न पनि समय छुट्यायौं।”

अमेरिकाबाट आएकी मेगान भन्ने अविवाहित अग्रगामीलाई विचार गर्नुहोस्। विलीयम र जेनिफरले जस्तै तिनले पनि ‘यात्राको आनन्द उठाउन’ सकेकी छिन्‌। तिनी चिनियाँ भाषा खरर्र बोल्ने लक्ष्यसम्म पुग्न प्रयास गर्दै छिन्‌। सप्ताहन्तमा तिनी काऊशुंग भन्ने रमाइलो बन्दरगाहमा अरू साक्षीहरूसितै प्रचार गर्न जान्छिन्‌। यो ताइवानको सबैभन्दा ठूलो बन्दरगाह हो। मेगान जहाजका यात्रुहरूलाई प्रचार गर्छिन्‌। तिनी बंगलादेश, भारत, इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड र भान्वाटुबाट आएका माझीहरूलाई पनि साक्षी दिन्छिन्‌। तिनी यसो भन्छिन्‌, “माझीहरू बन्दरगाहमा धेरै समय बसदैनन्‌। त्यसैले उनीहरूसित तुरुन्तै बाइबल अध्ययन सुरु गर्नुपर्छ। कोही पनि नछुटोस् भनेर म एकै  पटकमा चार-पाँच जनालाई अध्ययन गराउँछु।” तिनलाई चिनियाँ भाषा कत्तिको आउँछ? तिनी यसो भन्छिन्‌, “चिनियाँ भाषा अझ छिटो सिक्न पाए हुन्थ्यो जस्तो लाग्छ। तर एक जना भाइले भन्नुभएको कुरा म सधैं सम्झन्छु, ‘आफूले सकेजति गर्नुहोस्, बाँकी यहोवाको हातमा छोडिदिनुहोस्।’”

मेगान

तिनीहरू कस्तो ठाउँमा सेवा गर्न सक्छन्‌?

बेलायतकी क्याथी भन्ने बहिनीले अर्को देशमा सर्नुभन्दा पहिला अविवाहित बहिनीहरूको लागि कुन देश सुरक्षित छ भनेर बुझ्ने प्रयास गरिन्‌। यसबारे तिनले यहोवालाई प्रार्थना गरिन्‌। तिनले थुप्रै शाखा कार्यालयमा पत्र पठाइन्‌ र ती शाखाहरूले हेर्ने इलाकामा अविवाहित बहिनीहरूका लागि के-कस्ता खतराहरू हुन सक्छन्‌ भनेर बुझ्न खोजिन्‌। शाखा कार्यालयहरूबाट पाएको जवाफ तिनले राम्रोसित पढिन्‌ र ताइवान आफ्नो लागि सुरक्षित ठाउँ हो भन्ने निष्कर्षमा पुगिन्‌।

क्याथी २००४ मा ताइवान सरिन्‌। त्यतिबेला तिनी ३१ वर्षकी थिइन्‌। तिनी सरल जीवन बिताउने प्रयास गर्छिन्‌। त्यसको लागि तिनले के गरिन्‌? तिनी भन्छिन्‌, “फलफूल र तरकारीहरू कहाँ सस्तो पाइन्छ भनेर मैले मण्डलीका साथीहरूलाई सोधें। उहाँहरूले दिनुभएको सुझावले मलाई खर्च कम गर्न मदत गऱ्यो। साधारण खाना र सरल पहिरनमा सन्तुष्ट हुन सकूँ भनेर म यहोवालाई प्रार्थना गरिरहन्छु। मेरो आवश्यकताहरू बुझ्न र आफूसित भएका कुरामा सन्तुष्ट हुन यहोवाले मदत गर्नुभएको छ।” तिनी अझै यसो भन्छिन्‌, “जीवन सरल बनाएकीले तनमनले यहोवाको सेवा गर्न सकेकी छु।”

क्याथी

क्याथीको जीवन सरल मात्र होइन, रमाइलो पनि छ। तिनी भन्छिन्‌, “मैले प्रचार गर्ने इलाकामा धेरै मानिसले बाइबल सन्देशप्रति चासो दिन्छन्‌। यस्तो इलाकामा सेवा गर्न पाउनु मेरो लागि खुसीको कुरा हो।” तिनी ताइवानमा आउँदा तिनले सेवा गरिरहेको सहरमा चिनियाँ भाषाको दुइटा मात्र मण्डली थिए। तर अहिले त सातवटा भइसक्यो। क्याथी अझ यसो भन्छिन्‌, “आफ्नै आँखाले यस्तो वृद्धि देख्न पाउँदा र कटनीको काममा भाग लिन पाउँदा हरेक दिन म खुसीले उफ्रन्छु।”

“मण्डलीलाई मेरो पनि खाँचो रहेछ”

यस लेखको सुरुमा उल्लेख गरिएका चुङ क्युङ र जुलीलाई विचार गरौं। चिनियाँ भाषा थोरै मात्र आउने भएकोले चुङ क्युङलाई मण्डलीमा आफूले सोचेजति गर्न नसकेजस्तो लाग्थ्यो। तर मण्डलीका दाजुभाइलाई तिनले राम्रो गरिरहेका छन्‌ जस्तो लाग्थ्यो। तिनी भन्छन्‌, “मैले सहायक सेवकको रूपमा जिम्मेवारी सम्हालिरहेको थिएँ। तर हाम्रो मण्डलीबाट अर्को नयाँ मण्डली स्थापना हुँदा मैले थप जिम्मेवारी पाएँ। बल्ल मलाई आवश्यकता बढी भएको ठाउँमा सेवा गर्दै छु जस्तो लाग्यो।” तिनी मुस्कुराउँदै अझ यसो भन्छन्‌, “मण्डलीलाई मेरो पनि खाँचो रहेछ भनेर थाह पाउँदा मेरो खुसीको सिमा नै रहेन।” अहिले उनी मण्डलीका एल्डर हुन्‌। जुली पनि यसो भन्छिन्‌, “हामीले पनि मण्डलीको लागि केही गर्न सकेका छौं जस्तो लाग्छ। हामीले पहिला कहिल्यै नपाएको सन्तुष्टि र आनन्द पाएका छौं। हामी यहाँ मदत गर्न आएका थियौं तर यहाँ बटुलेका रमाइलो अनुभवबाट उल्टै हामीले पो मदत पायौं। यस्तो मौका दिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौं।”

आज थुप्रै देशमा आध्यात्मिक कटनीको लागि धेरै कामदारहरू आवश्यक छ। तपाईंको स्कुलको पढाइ सिद्धिनै लाग्यो कि? त्यसोभए भविष्यमा के गर्ने भनेर सोच्दै हुनुहुन्छ होला। अविवाहित हुनुहुन्छ भने यहोवाको सङ्गठनमा अझै उपयोगी हुन के गर्न सकिन्छ भनेर सोच्दै हुनुहुन्छ कि? रमाइलो अनुभव बटुल्न के तपाईं परिवारसितै मिलेर सेवाको काममा भाग लिन चाहनुहुन्छ? तपाईंले अवकाश पाउनुभएको छ भने यहोवाको सेवामा बटुल्नुभएको अनुभव अरूलाई बाँड्न चाहनुहुन्छ कि? आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न जानुभयो भने निश्चय नै आशिष्‌ पाउनुहुनेछ।

^ अनु. 3 परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस् किताबको अध्याय १६, अनुच्छेद ५-६ हेर्नुहोस्।