अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अक्टोबर २०१४

 जीवनी

यहोवाको सेवामा बिताएका बिर्सनै नसकिने क्षणहरू

यहोवाको सेवामा बिताएका बिर्सनै नसकिने क्षणहरू

सन्‌ १९४७ मा एल साल्भाडोरको स्यान्त आनाका क्याथोलिक पादरीहरूले साक्षीहरूलाई समस्यामा पार्ने दाउपेच गरे। मिसनरीहरू बस्ने घरमा प्रहरीधरहरा अध्ययन भइरहेको थियो। त्यति नै बेला केही केटाहरूले बाहिरबाट ठूलठूला ढुङ्गा हान्न थाले। त्यसपछि पादरीहरूसँगै नारा लगाउँदै अरू मानिसहरू पनि आए। तिनीहरूमध्ये कसै-कसैको हातमा राँको थियो भने कसै-कसैको हातमा साना मूर्तिहरू। दुई घण्टासम्म तिनीहरूले घरमा ढुङ्गा हाने र यस्तो नारा पनि लगाए, “कन्या मरियम जिन्दावाद! यहोवा मुर्दावाद!” मिसनरीहरूलाई त्यस सहरबाट धपाउन तिनीहरूले त्यसो गरेका हुन सक्छन्‌। यो घटना आजभन्दा ६७ वर्षअघिको हो। तर अहिले पनि म झलझली सम्झन्छु। ती मिसनरीहरूमाझ म पनि थिएँ। *

यो घटना हुनुभन्दा दुई वर्षअघि मेरी साथी एभ्लन ट्राबर्ट र मैले गिलियड स्कुलको चौथो कक्षाबाट स्नातक गरेका थियौं। त्यतिबेला गिलियड स्कुल न्यु योर्कको इथेका भन्ने सहर नजिकै सञ्चालन गरिन्थ्यो। स्कुलपछि हामीलाई एल साल्भाडोरमा सेवा गर्न खटाइयो। त्यहाँ मैले २९ वर्ष मिसनरी सेवा गरें। मिसनरी सेवामा बटुलेका अनुभव बताउनुअघि मैले किन त्यस्तो सेवा रोजें भनेर बताउन चाहन्छु।

हामीले सत्य भेट्टायौं

मेरो जन्म १९२३ मा भएको थियो। त्यतिबेला मेरो आमाबुबा जोन र इभा ओल्सन अमेरिकाको स्पोक्यान भन्ने ठाउँमा बस्नुहुन्थ्यो। उहाँहरू लुथरान (ख्रीष्टियन भनौंदाहरूको एउटा समूह) हुनुहुन्थ्यो। तर चर्चमा सिकाइने नरकसम्बन्धी शिक्षासित उहाँहरू दुवै असहमत हुनुहुन्थ्यो। उहाँहरूलाई मायालु परमेश्वरले सास्ती दिन सक्नुहुन्न जस्तो लाग्थ्यो। (१ यूह. ४:८) बुबा बेकरीमा काम गर्नुहुन्थ्यो। एक रातको कुरा हो, उहाँसँगै काम गर्ने साथीले उहाँलाई परमेश्वरले मानिसहरूलाई नरकमा सास्ती दिनुहुन्न भनेर बाइबलबाटै देखाए। त्यसपछि आमाबुबाले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाल्नुभयो। मरेका व्यक्तिहरूको अवस्थाबारे बाइबलले वास्तवमा के सिकाउँछ भनेर उहाँहरूले बुझ्नुभयो।

भर्खरै मात्र बाइबलबाट सत्य कुरा सिकेकोले आमाबुबा धेरै खुसी हुनुहुन्थ्यो। त्यतिबेला म नौ वर्षकी मात्र थिएँ।  साँचो परमेश्वरको नाम यहोवा हो र उहाँ त्रिएक होइन भनेर थाह पाउँदा उहाँहरू असाध्यै खुसी हुनुभयो। उहाँहरूले बाइबलको कुरा मलाई पनि सिकाउनुभयो। मानिसहरूलाई ‘स्वतन्त्र बनाउने सत्य’ मैले छिटो-छिटो सिकें र त्यसैअनुसार चल्न थालें। (यूह. ८:३२) मलाई बाइबल अध्ययन गर्न कहिले पनि झिजो लागेन। मलाई मानिसहरूसित कुरा गर्न धेरै लाज लाग्थ्यो। तैपनि आमाबुबासँगै प्रचारमा जान्थें। उहाँहरूले १९३४ मा बप्तिस्मा गर्नुभयो। मैलेचाहिं १९३९ मा १६ वर्षकी हुँदा बप्तिस्मा गरें।

सन्‌ १९४१ मा आमाबुबासित मिसोरी राज्यको सेन्ट लुइसमा भएको सम्मेलनमा

सन्‌ १९४० को जुलाईमा हामीले घर बेच्यौं अनि तीनै जनाले आइदाहो राज्यको क्योर द’लेन्नमा अग्रगामी सेवा सुरु गऱ्यौं। त्यहाँ हामी भाडामा बस्न थाल्यौं। हामी बसेको घरको भुइँ तल्लामा गाडी मर्मत गर्ने पसल थियो। हाम्रो घरमा सभा पनि हुन्थ्यो। त्यतिबेला धेरैजसो मण्डलीको आफ्नै राज्यभवन थिएन। त्यसैले सभाहरू साक्षीहरूको घरमा वा भाडामा लिइएको कोठामा हुन्थ्यो।

सन्‌ १९४१ मा म आमाबुबासँग मिसोरी राज्यको सेन्ट लुइसमा भएको सम्मेलनमा गएँ। आइतबार केटाकेटीहरूको लागि विशेष दिन थियो। पाँचदेखि १८ वर्षभित्रका केटाकेटीहरूलाई अगाडिका सिटहरूमा राखिएको थियो। भाषणको अन्तमा भाइ रदरफोर्डले हामीलाई यसो भन्नुभयो, “परमेश्वर र उहाँको राजाको आज्ञा पालन गर्न . . . चाहनुहुने सबै . . . केटाकेटीहरू हो, कृपया उठ्नुहोस्।” हामी सबै जुरुक्क उठ्यौं। त्यसपछि उहाँले ठूलो स्वरमा भन्नुभयो, “हेर्नुहोस्! परमेश्वरको राज्यका १५,००० भन्दा धेरै नयाँ साक्षीहरू!” त्यतिबेला नै मैले जीवनभर अग्रगामी सेवा गर्ने निर्णय गरें।

हाम्रो परिवारको असाइनमेन्ट

सेन्ट लुइसमा भएको सम्मेलनको केही महिनापछि हामी दक्षिण क्यालिफोर्नियामा सऱ्यौं। हामीले त्यहाँको अक्सनार्ड भन्ने सहरमा मण्डली स्थापना गर्ने असाइनमेन्ट पाएका थियौं। हामीले गाडीले तानेर विभिन्न ठाउँमा लैजान मिल्ने सानो घर बनाएका थियौं। त्यसमा एउटा मात्रै खाट थियो। त्यसैले म खाना खाने टेबुलमै ओछ्यान लगाएर सुत्थें। पहिला त मेरो आफ्नै सुत्ने कोठा थियो।

डिसेम्बर ७, १९४१ मा जापानले हवाईको पर्ल हार्बरमा आक्रमण गऱ्यो। भोलिपल्टदेखि अमेरिका पनि दोस्रो विश्वयुद्धमा सामेल भयो। हामी क्यालिफोर्नियामा सर्नुभन्दा केही समयअघि मात्रै त्यो घटना भएको थियो। क्यालिफोर्नियाको तटमा जापानी पनडुब्बी जहाजहरूले गस्ती लगाइरहेका थिए। त्यसैले सरकारी अधिकारीहरूले सबैलाई राती बत्ती निभाउन आदेश दिए। निस्पट्ट अँध्यारो भएकोले जापानी सेनाले मानिसहरूको बस्तीमा आक्रमण गर्न सकेन।

त्यसको केही महिनापछि, १९४२ को सेप्टेम्बरमा ओहायोको क्लिभल्याण्डमा भएको सम्मेलनमा (न्यु वर्ल्ड थियोक्रेटिक एसेम्ब्लि) हामी उपस्थित भयौं। भाइ नेथन एच. नोरले “शान्ति—के यो रहिरहनेछ?” भन्ने विषयमा भाषण दिनुभएको थियो। उहाँले प्रकाशको पुस्तकको अध्याय १७ मा गरिएको भविष्यवाणीबारे बताउनुभयो। त्यो भविष्यवाणी “जङ्गली जनावर”-बारे थियो। भाइ नोरले त्यो जनावर “पहिले थियो, अहिले छैन तर अगाध खाडलबाट निस्कनै लागेको छ” भन्नुभयो। (प्रका. १७:८, ११) त्यो “जङ्गली जनावर” राष्ट्र सङ्घ हो र त्यो १९३९ देखि अस्तित्वमा छैन पनि भन्नुभयो। त्यसको ठाउँ अर्को सङ्घले लिनेछ र केही समय शान्ति हुनेछ भनेर बाइबलले भविष्यवाणी गरेको थियो। सन्‌ १९४५ मा दोस्रो विश्वयुद्ध अन्त भयो। त्यसपछि त्यो “जनावर” संयुक्त राष्ट्र सङ्घको रूपमा देखा पऱ्यो। त्यसदेखि यता यहोवाका साक्षीहरूले विश्वभरि प्रचार गर्दै छन्‌। अहिले साक्षीहरू झन्‌झनै बढिरहेका छन्‌।

गिलियड स्कुलको प्रमाणपत्र

हामीले गर्नुपर्ने काम अझै बाँकी छ भनेर त्यो भविष्यवाणीबाट मैले बुझें। अर्को वर्षदेखि गिलियड स्कुल सुरु हुँदै छ भनेर घोषणा गरिंदा त्यो स्कुलमा भाग लिएर मिसनरी बन्ने मेरो चाहना  जाग्यो। सन्‌ १९४३ मा मलाई ओरेगनको पोर्टल्यान्डमा अग्रगामी सेवा गर्न खटाइयो। त्यतिबेला हामी घर-घरमा गएर फोनोग्राफबाट भाषण सुनाउँथ्यौं। त्यसपछि घरधनीलाई परमेश्वरको राज्यबारे बताउने केही साहित्य दिन्थ्यौं। त्यो वर्षभरि नै मैले मिसनरी सेवा गर्नेबारे सोचिरहें।

सन्‌ १९४४ मा म र मेरी साथी एभ्लन ट्राबर्टले गिलियड स्कुलको निम्तो पायौं। हाम्रो खुसीको सीमा नै रहेन। पाँच महिनासम्म हाम्रा प्रशिक्षकहरूले बाइबल कसरी अझ रोचक तरिकामा अध्ययन गर्ने भनेर सिकाउनुभयो। उहाँहरू एकदमै नम्र हुनुहुन्थ्यो। हामीले खाना खाने बेला कहिलेकाहीं उहाँहरूले वेटरको काम गर्नुहुन्थ्यो। त्यो देख्दा हाम्रो मनै छोयो। हाम्रो स्कुल १९४५, जनवरी २२ मा सिद्धियो।

मेरो मिसनरी असाइनमेन्ट

एभ्लन र मलाई लिओ र एस्तर माहानसितै एल साल्भाडोरमा सेवा गर्न खटाइयो। त्यसैले हामी १९४६ को जून महिनामा त्यहाँ गयौं। त्यहाँ हामीले “बाली पाकेर पहेंला भइसकेका” पायौं। (यूह. ४:३५) थुप्रै मानिसले हाम्रो कुरा सुने। हामी त्यहाँ गएको केही महिनापछि स्यान्त आनामा पहिलो क्षेत्रीय सम्मेलन भयो। हामीले मानिसहरूलाई सम्मेलनमा बोलायौं। सम्मेलनमा ५०० जना आएको देख्दा हामी खुसीले गद्गद भयौं। हामीले प्रचार गरेको देखेर पादरीहरू रिसले आगो भए। मैले सुरुमा बताएझैं सम्मेलनको एक हप्तापछि तिनीहरूले मानिसहरूलाई हामीविरुद्ध उक्साए। तिनीहरू हामी डराएको र सहर छोडेर गएको चाहन्थे। तर तिनीहरूले हामीलाई जति नै तर्साउन खोजे पनि हामीले हार मानेनौं। त्यहीं बसेर मानिसहरूलाई मदत गर्ने हाम्रो सङ्कल्प झनै बलियो भयो। पादरीहरूले मानिसहरूलाई बाइबल नपढ्नू भनेर धम्काएका थिए अनि त्यहाँका धेरैजसो मानिस गरिब भएकाले बाइबल किन्न सक्दैनथे। तैपनि तिनीहरू बाइबलको कुरा सिक्न चाहन्थे। तिनीहरूलाई यहोवा र नयाँ संसारबारे सिकाउन हामी स्पेनी भाषा सिक्दै थियौं। यो कुरा थाह पाउँदा तिनीहरू धेरै खुसी भए।

हामी पाँच जनालाई गिलियड स्कुलपछि एल साल्भाडोरमा पठाइयो। बायाँबाट दायाँतिर: एभ्लन ट्राबर्ट, मिली ब्राइसजर, एस्तर माहान, म, लिओ माहान

रोसा आसेनस्यो मेरो पहिलो बाइबल विद्यार्थी हुन्‌। तिनी विवाह नगरीकन एक जना पुरुषसित बसिरहेकी थिइन्‌। तर तिनले बाइबल अध्ययन सुरु गरेपछि छुट्टै बस्न थालिन्‌। त्यसपछि ती पुरुषले पनि बाइबल अध्ययन सुरु गरे। तिनीहरूले विवाह गरे, त्यसपछि बप्तिस्मा गरे र यहोवाका जोसिला साक्षी भए। स्यान्त आनाको पहिलो नियमित अग्रगामी रोसा थिइन्‌। *

रोसाको सानो किराना पसल थियो। प्रचारकार्यमा जाने बेला तिनी पसल बन्द गर्थिन्‌। यहोवाले नै आवश्यक कुरा जुटाइदिनुहुन्छ भन्ने कुरामा तिनी ढुक्क थिइन्‌। प्रचारबाट फर्केर पसल खोल्दा त ग्राहकहरूको घुइँचो लाग्थ्यो। तिनले मत्ती ६:३३ मा लेखिएको कुरा आफैले अनुभव गरिन्‌ र जीवनभर यहोवाप्रति वफादार रहिन्‌।

हामी छ जना मिसनरी नाम चलेको व्यापारीको घरमा भाडामा बस्थ्यौं। एक दिनको कुरा हो, एक जना पादरी तिनलाई भेट्न आए। हामीलाई घरबाट निकालेनन्‌ भने तिनी र तिनकी श्रीमतीलाई चर्चबाट निकालिदिने धम्की दिए। तर तिनी डराएनन्‌। आफूलाई चर्चबाट निकाले पनि केही फरक पर्दैन समेत भने। तिनी त्यस पादरीको कर्तुत देखेर दिक्क भएका थिए। तिनले हामीलाई ‘यहाँ जहिलेसम्म बस्न मन लाग्छ बस्नुस्’ भने।

 प्रतिष्ठित व्यक्ति साक्षी भए

सन्‌ १९५५ मा बनाइएको शाखा कार्यालय

राजधानी सान साल्भाडोरमा अर्को मिसनरीले एक जना इन्जिनियरकी श्रीमतीलाई बाइबल अध्ययन गराउँथिन्‌। ती इन्जिनियरको नाम बाल्तासार पर्ला थियो। तिनी असल थिए। तर पादरीहरूको कपट देखेर तिनले परमेश्वरमा विश्वास गर्न छोडिसकेका थिए। तिनी यहोवाको साक्षी भइसकेका थिएनन्‌। तैपनि तिनले एल साल्भाडोरमा शाखा कार्यालयको भवनहरूको डिजाइन गरिदिए र निर्माणकार्यमा पनि मदत गरे। तर तिनले आफ्नो कामको लागि कुनै शुल्क लिएनन्‌।

शाखा कार्यालय निर्माण गर्दा तिनले थुप्रै साक्षीसित सङ्गत गर्ने मौका पाए। यसरी सङ्गत गर्दा उनीहरूले मानेको धर्म नै साँचो धर्म हो भन्ने कुरामा तिनी पक्का भए। तिनले जुलाई २२, १९५५ मा बप्तिस्मा गरे। त्यसको केही समयपछि तिनकी श्रीमती पौलिनाले पनि बप्तिस्मा गरिन्‌। तिनीहरूका एक छोरा र एक छोरी अहिले सक्रिय भई यहोवाको सेवा गर्दै छन्‌। तिनको छोरा बाल्तासार जुनियरले ब्रूक्लिन बेथेलमा सेवा गरेको ४९ वर्ष भइसक्यो। त्यहाँ तिनी विश्वव्यापी प्रचारकार्यसित सम्बन्धित गतिविधिलाई सघाउँछन्‌। अहिले तिनी अमेरिकाको शाखा समिति सदस्य हुन्‌। *

सान साल्भाडोरमा भएको सुरु-सुरुको अधिवेशनको लागि भाइ पर्लाले हामीलाई एउटा ठूलो व्यायामशाला प्रयोग गर्न अनुमति मागिदिए। त्यहाँ अधिवेशनको लागि हामी पहिलो पटक भेला हुँदा धेरैजसो सिटहरू खाली नै थिए। तर यहोवाको आशिष्‌ले हरेक वर्ष उपस्थिति बढ्दै गयो। हेर्दाहेर्दै पूरै व्यायामशाला भरिन थाल्यो अनि कतिलाई त सिट पनि पुगेन। यस्ता रमाइलो अवसरमा मेरा बाइबल विद्यार्थीहरू पनि भेटिन्थे। उनीहरूका बाइबल विद्यार्थीहरूले बप्तिस्मा गरेको देख्दा मलाई एकदमै खुसी लाग्थ्यो। तिनीहरू मेरा आध्यात्मिक नातिनातिना हुन्‌।

भाइ फ्रेडिक डब्लु. फ्रान्ज अधिवेशनमा मिसनरीहरूसित कुरा गर्दै

एउटा सम्मेलनमा एक जना भाइ मेरो नजिक आए। तिनले मसँग माफी मागे। तर मैले तिनलाई चिनिनँ। तिनले किन माफी मागेका रहेछन्‌ भनेर मलाई बुझ्न मन लाग्यो। तिनले भने, “तपाईंलाई स्यान्त आनामा ढुङ्गा हान्ने केटाहरूसित म पनि थिएँ।” तिनी पनि अहिले यहोवाको सेवा गर्दै छन्‌ भनेर थाह पाउँदा म खुसीले गद्गद भएँ। त्यो कुराकानीपछि पूर्ण-समय सेवा गर्दा थुप्रै इनाम पाइन्छ भनेर म अझ पक्का भएँ।

एल साल्भाडोरमा हामी उपस्थित भएको पहिलो क्षेत्रीय सम्मेलन

मेरो छनौटले मलाई सन्तुष्टि दियो

लगभग २९ वर्षसम्म मैले एल साल्भाडोरमा मिसनरी सेवा गरें। मैले सबैभन्दा पहिला स्यान्त आनामा सेवा गरें।  त्यसपछि सोन्सोनाटामा अनि स्यान्त त्याक्लामा पनि सेवा गरें। अन्तमा मलाई सान साल्भाडोरमा मिसनरी सेवा गर्न खटाइयो। सन्‌ १९७५ मा मैले मिसनरी सेवा छोडेर स्पोक्यान फर्कने निर्णय गरें। व्यग्र प्रार्थना गरेर त्यस्तो निष्कर्षमा पुगेकी थिएँ। मेरा आमाबुबा वृद्ध हुनुभएकोले उहाँहरूको हेरचाह गर्नुपर्ने थियो।

सन्‌ १९७९ मा बुबा बित्नुभयो। त्यसपछि आठ वर्षसम्म आमाको हेरचाह गरें। उहाँको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गइरहेकोले मेरो मदतविना केही पनि गर्न सक्नुहुन्नथ्यो। उहाँ ९४ वर्षको उमेरमा बित्नुभयो। यो चोट सहन मलाई धेरै गाह्रो भयो। तनाव र भावनात्मक उतारचढावले गर्दा म थकित हुन्थें। तनावले गर्दा मेरो शरीरमा एक किसिमको खटिरा (शिङ्गल्ज) आयो। यसको पीडा सहन धेरै गाह्रो भयो। मैले यहोवालाई प्रार्थना गरें र उहाँले मलाई सम्हाल्नुभयो। उहाँको मदतले गाह्रो अवस्थामा पनि धीरजी हुन सकें। यहोवाको यो प्रतिज्ञा ममा पनि पूरा भयो, “तिमीहरूका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरूलाई बोक्नेछु। . . . म बोकेर हिंड्नेछु र बचाउनेछु।”—यशै. ४६:४.

सन्‌ १९९० मा म वासिङ्टनको ओमाकमा सरें। त्यहाँ स्पेनी भाषाको इलाकामा सेवा गरें र मेरा थुप्रै बाइबल विद्यार्थीले बप्तिस्मा गरे। केही समयपछि म आफ्नो घरको देखभाल गर्न नसक्ने भएँ। त्यसैले नोभेम्बर २००७ मा मैले ओमाकमा भएको घर बेचें र वासिङ्टनको शलानमा सरें। म यहाँ आएदेखि स्पेनी भाषाको मण्डलीले मेरो राम्रो हेरचाह गर्दै छ। यसको लागि म तिनीहरूप्रति आभारी छु। मण्डलीमा म उमेरमा सबैभन्दा पाको हुँ। त्यसैले सबैले मलाई आफ्नै हजुरआमा ठान्छन्‌।

कुनै बाधाविना यहोवाको सेवा गर्न सकूँ भनेर मैले अविवाहित रहने छनौट गरेकी थिएँ। यस्तो छनौट गरेकोमा मलाई कुनै पछुतो छैनँ। अहिले मेरा थुप्रै आध्यात्मिक छोराछोरी छन्‌। (१ कोरि. ७:३४, ३५) मैले यही जीवनमा सबै कुरा पाउन सक्दिनँ भनेर आफैलाई सम्झाउँछु। यसो गर्दा मैले यहोवाको सेवालाई पहिलो स्थानमा राख्न सकेकी छु। नयाँ संसारमा मैले चाहेको सबै कुरा गर्न सक्छु। मलाई मन पर्ने शास्त्रपद भजन १४५:१६ हो। त्यस पदमा यहोवाले “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ” भनेर लेखिएको छ।

अग्रगामी सेवा गरेकीले म अझै पनि जवानै छु जस्तो लाग्छ

अहिले म ९१ वर्षकी भएँ। तर मेरो स्वास्थ्य अझै पनि राम्रै भएकोले अग्रगामी सेवा गर्दै छु। अग्रगामी सेवा गरेकीले म अझै पनि जवानै छु जस्तो लाग्छ। म एकदमै सन्तुष्ट छु। सुरुमा एल साल्भाडोर जाँदा प्रचारकार्य भर्खरै मात्र सुरु भएको थियो। तर अहिले त प्रकाशकहरूको सङ्ख्या ३९,००० पुगिसक्यो। सैतानले जति नै प्रयास गरे पनि त्यसले हाम्रो कामलाई रोक्न सक्दैन भनेर मलाई थाह छ। यस्तो वृद्धि देख्दा मेरो विश्वास साँच्चै नै बलियो भएको छ। यहोवाको पवित्र शक्तिले उहाँका जनहरूलाई मदत गरिरहेको छ भनेर म ढुक्क छु।

^ अनु. 4 यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९८१ (अङ्ग्रेजी) को पृष्ठ ४५-४६ हेर्नुहोस्।

^ अनु. 19 वार्षिक पुस्तक १९८१ (अङ्ग्रेजी), पृष्ठ ४१-४२

^ अनु. 24 वार्षिक पुस्तक १९८१ (अङ्ग्रेजी), पृष्ठ ६६-६७, ७४-७५