सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  सेप्टेम्बर २०१४

“धेरै सङ्कष्ट” सहँदै परमेश्वरको सेवा गरिरहनुहोस्

“धेरै सङ्कष्ट” सहँदै परमेश्वरको सेवा गरिरहनुहोस्

“हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं।”—प्रेषि. १४:२२.

१. परमेश्वरका सेवकहरूले किन “धेरै सङ्कष्ट” सहनुपर्छ?

अनन्त जीवनको इनाम पाउनुअघि हामीले “धेरै सङ्कष्ट” सहनुपर्छ भनेर थाह पाउँदा के तपाईं अचम्म मान्नुहुन्छ? मान्नुहुन्न होला। हामी सत्यमा आएको जतिसुकै लामो समय भए पनि त्यस्ता परीक्षाहरू सहनुपर्छ। किन? एउटा कारण हो, हामी सैतानको संसारमा बाँचिरहेका छौं।—प्रका. १२:१२.

२. (क) सबै मानिसहरूलाई आइपर्ने कठिनाइबाहेक ख्रीष्टियनहरूले अर्को कुन किसिमको कठिनाइ पनि सहनुपर्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्) (ख) हामीले भोग्नुपर्ने विरोधको पछाडि कसको हात छ? हामी किन त्यसो भन्न सक्छौं?

‘सबै मानिसहरूलाई आइपर्ने’ कठिनाइबाहेक ख्रीष्टियनहरूले अर्को एक किसिमको कठिनाइ पनि सहनुपर्छ। (१ कोरि. १०:१३) त्यो के हो? परमेश्वरका आज्ञाहरू वफादार भई पालन गरेकोले आइपर्ने घोर विरोध। येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, “दास उसको मालिकभन्दा ठूलो हुँदैन। यदि तिनीहरूले मेरो खेदो गरेका छन्‌ भने तिमीहरूको पनि खेदो गर्नेछन्‌।” (यूह. १५:२०) यस्तो विरोधको पछाडि कसको हात छ? सैतानको। बाइबलले त्यसलाई “गर्जने सिंह” भनेको छ र त्यसले परमेश्वरका जनहरूलाई ‘निल्न’ खोज्छ। (१ पत्रु. ५:८) येशूका चेलाहरूको  निष्ठा तोड्न सैतान जे गर्न पनि पछि पर्दैन। प्रेषित पावलको उदाहरण विचार गरौं।

लिस्त्रामा भोग्नुपरेको सङ्कष्ट

३-५. (क) पावलले लिस्त्रामा कस्तो विरोध सहनुपऱ्यो? (ख) पावलले चेलाहरूलाई विश्वासमा रहिरहन कसरी मदत गरे?

परमेश्वरप्रति वफादार भएकोले पावलले कैयौं पटक विरोध सहनुपऱ्यो। (२ कोरि. ११:२३-२७) तिनले लिस्त्रामा पनि विरोध सहनुपऱ्यो। आमाको गर्भैदेखि लङ्गडो भएको व्यक्तिलाई निको पारेपछि पावल र तिनका सहयात्री बर्णाबासलाई मानिसहरूले देवता भन्न थाले। ‘हामीलाई नपुज्नुहोस्’ भनेर तिनीहरूले भीडलाई बिन्ती गर्नुपऱ्यो। त्यत्तिकैमा चेलाहरूको विरोध गर्ने यहूदीहरू त्यहाँ आइपुगे अनि पावल र बर्णाबासको विषयमा भए नभएको कुरा बताए। परिस्थितिले नयाँ मोड लियो! मानिसहरूले पावललाई ढुङ्गा हान्न थाले र तिनी मरे होलान्‌ भनेर छोडिदिए।—प्रेषि. १४:८-१९.

पावल र बर्णाबास डर्बीपछि “लिस्त्रा, त्यसपछि आइकोनियम र अन्तमा एन्टिओक गए। अनि चेलाहरूलाई ढाडस दिए र विश्वासमा रहिरहन प्रोत्साहन दिंदै यसो भने: ‘हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं।’” (प्रेषि. १४:२१, २२) सुरुमा त चेलाहरूलाई यो कुरा अनौठो लाग्यो होला। “धेरै सङ्कष्ट” सहनुपर्ने कुरा सुन्दा प्रोत्साहन पाउनुको साटो उनीहरू उल्टै निरुत्साहित हुन सक्थे। तर पावल र बर्णाबासले चेलाहरूलाई धेरै सङ्कष्ट सहनुपर्ने कुरा बताउँदा ‘उनीहरूले विश्वासमा रहिरहन’ मदत पाए होलान्‌ त?

पावलले लेखेको कुरामा ध्यान दियौं भने जवाफ पाउनेछौं। तिनले ‘हामीले धेरै सङ्कष्ट सहनुपर्छ’ मात्र भनेनन्‌। बरु “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं” भने। वफादार रहँदा चेलाहरूले पाउने विशेष इनाममा ध्यान खिचेर पावलले चेलाहरूलाई विश्वासमा रहिरहन मदत गरे। त्यो इनाम झूटो आशा मात्र थिएन। येशूले यसो भन्नुभएको थियो, “जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ।”मत्ती १०:२२.

६. अन्तसम्म सहनेहरूले कस्तो इनाम पाउनेछन्‌?

हामीले अन्तसम्म सह्यौं भने इनाम पाउनेछौं। अभिषिक्त ख्रीष्टियनहरूले स्वर्गमा अमर जीवन पाउनेछन्‌ र येशूसित शासन गर्नेछन्‌। “अरू भेडा”-ले यसै पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌, “जसमा न्यायले बास गर्छ।” (यूह. १०:१६; २ पत्रु. ३:१३) तर पावलले बताएझैं अहिले हामीले धेरै सङ्कष्ट सहनुपर्छ। सैतानले गर्ने दुई किसिमको आक्रमणबारे विचार गरौं। 

प्रत्यक्ष आक्रमण

७. प्रत्यक्ष आक्रमणमा कुन कुरा समावेश छ?

येशूले यस्तो भविष्यवाणी गर्नुभयो, “मानिसहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌। अनि तिमीहरू सभाघरहरूमा कुटिनेछौ र मेरो नामको खातिर तिमीहरू राज्यपाल अनि राजाहरूसामु कठघरामा उभ्याइनेछौ।” (मर्कू. १३:९) केही ख्रीष्टियनहरूले शारीरिक यातनाजस्ता प्रत्यक्ष आक्रमण भोग्नेछन्‌ भन्ने कुरा येशूका यी शब्दहरूबाट स्पष्ट हुन्छ। कहिलेकाहीं त धार्मिक अनि राजनैतिक नेताहरूबाट पनि यस्तो यातना भोग्नुपर्ने हुन्छ। (प्रेषि. ५:२७, २८) फेरि पावलको उदाहरण विचार गरौं। यस्तो यातना भोग्नुपर्दा पावल डराए? अहँ, डराएनन्‌।प्रेषित २०:२२, २३ पढ्नुहोस्।

८, ९. पावलले बताएको कुन कुराले तिनी यातना भोग्न तयार थिए भनी देखाउँछ? केही साक्षीहरूले कस्तो यातना भोगेका छन्‌?

पावल पनि सैतानको प्रत्यक्ष आक्रमणविरुद्ध लडे। तिनले यसो भने, “म आफ्नो जीवनलाई प्रिय ठान्दिनँ, बरु मेरो इच्छा यही छ, कि म आफ्नो दौड र प्रभु येशूबाट पाएको त्यो सेवा पूरा गर्न सकूँ, जुन सेवा मैले परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत  साक्षी दिन पाएको थिएँ।” (प्रेषि. २०:२४) यातना भोग्नुपर्दा पावल कत्ति पनि डराएनन्‌। बरु परिस्थिति जस्तोसुकै भए पनि सहन तयार थिए। सङ्कष्ट सहनुपरे पनि तिनको लक्ष्य ‘सुसमाचारको विस्तृत साक्षी दिनु’ थियो।

आज पनि हाम्रा दाजुभाइ तथा दिदीबहिनीले त्यस्तै अडान लिएका छन्‌। जस्तै, एउटा देशमा केही साक्षीहरूलाई अदालतको सुनवाइबिनै जेलमा हालियो। तिनीहरूले २० वर्ष जेल सजाय काट्नुपऱ्यो। किन? राजनैतिक मामिलाहरूमा भाग लिन नमानेकोले। तिनीहरूलाई परिवारले समेत भेट्न पाउँदैनथ्यो। तिनीहरूमध्ये केहीले कुटाइ खाए र क्रूर यातना भोगे।

१०. सङ्कष्ट एक्कासि आइपर्दा हामी किन डराउनु पर्दैन?

१० अरू ठाउँका हाम्रा दाजुभाइ तथा दिदीबहिनीमाथि पनि एक्कासि सङ्कष्ट आइपरेको छ। तैपनि तिनीहरूले डटेर सामना गरेका छन्‌। तपाईंले पनि त्यस्तै सङ्कष्ट सहनुपऱ्यो भने हार नखानुहोस्। यूसुफलाई सम्झनुहोस्। तिनी कमारोको रूपमा बेचिए तर यहोवाले तिनलाई ‘सबै सङ्कष्टहरूबाट मुक्त गर्नुभयो।’ (प्रेषि. ७:९, १०) यहोवा तपाईंलाई पनि मदत गर्न सक्नुहुन्छ। “परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट जोगाउने, . . . सो यहोवा जान्नुहुन्छ।” (२ पत्रु. २:९) यहोवा तपाईंलाई यस दुष्ट युगबाट जोगाउन सक्नुहुन्छ र उहाँको राज्यमा अनन्त जीवन दिन सक्नुहुन्छ। त्यसैले यहोवामा भरोसा गर्नुहोस् र साहसी हुँदै विरोधको सामना गर्नुहोस्।—१ पत्रु. ५:८, ९.

अप्रत्यक्ष आक्रमण

११. सैतानको प्रत्यक्ष आक्रमण र अप्रत्यक्ष आक्रमण कसरी फरक छ?

११ हामीले अप्रत्यक्ष आक्रमण पनि सहनुपर्ने हुन्छ। यस्तो आक्रमण प्रत्यक्ष आक्रमणभन्दा कसरी फरक छ? प्रत्यक्ष आक्रमण आँधीबेहरीजस्तै हो। आँधीबेहरी चल्दा क्षणभरमै तपाईंको घर तहसनहस हुन सक्छ। अर्कोतर्फ, अप्रत्यक्ष आक्रमण धमिराजस्तै हो। यसले काठलाई चालै नपाई भित्रभित्रै खाइदिन्छ र तपाईंको घरलाई खोक्रो बनाइदिन्छ। धमिराले विध्वंस मच्चाएको चाल पाउँदा त धेरै ढिलो भइसकेको हुन्छ। अन्तमा तपाईंको घर गर्ल्यामगुर्लुम ढल्छ।

१२. (क) सैतानको अप्रत्यक्ष आक्रमणमध्ये एउटा के हो? यो किन प्रभावकारी हतियार हो? (ख) पावल कुन हदसम्म निराश भए?

१२ सैतानले तपाईंलाई यहोवादेखि टाढा लैजान चाहन्छ। त्यसले कहिलेकाहीं विरोध चलाएर प्रत्यक्ष आक्रमण गर्छ। कहिलेकाहीं भने निराशा चलाएर अप्रत्यक्ष आक्रमण गर्छ। निराशा किन प्रभावकारी हतियार हो? किनकि यसले परमेश्वरसितको हाम्रो सम्बन्धलाई बिस्तारै कमजोर बनाइदिन्छ। एकपटक पावल पनि निराश भए। (रोमी ७:२१-२४ पढ्नुहोस्) तिनी विश्वासमा दह्रो थिए र सम्भवतः तिनी यरूशलेममा भएका प्रेषित र एल्डरहरूको समूहका सदस्य पनि थिए। तर तिनी यत्ति निराश भए, आफूलाई “लाचार मानिस” समेत भने। त्रुटिपूर्ण भएकोले पावल निराश हुन पुगे। तिनी परमेश्वरलाई मन पर्ने काम गर्न चाहन्थे तर त्यसो गर्न सधैं सजिलो थिएन। तपाईं पनि कहिलेकाहीं निराश हुनुभयो भने पावलको अनुभवबाट सान्त्वना पाउन सक्नुहुन्छ।

१३, १४. (क) के-कारणले गर्दा परमेश्वरका जनहरूले भावनात्मक पीडा सामना गर्छन्‌? (ख) हामीले आफ्नो विश्वास गुमाएको कसले चाहन्छ? किन?

१३ हाम्रा थुप्रै दाजुभाइ तथा दिदीबहिनी कहिलेकाहीं चिन्तित र निराश हुन्छन्‌; उनीहरूलाई आफू केही कामको छैन जस्तो लाग्छ। उदाहरणको लागि, एक जोसिलो अग्रगामी बहिनी यसो भन्छिन्‌, “म बारम्बार आफ्नो गल्ती सम्झन्छु। त्यसबारे जति सोच्छु, त्यति नै निराश हुन्छु। म कसैको पनि माया पाउन लायकको छैन, यहोवाको पनि।”

१४ यी बहिनीजस्ता परमेश्वरका केही जोसिला सेवकहरू किन निराश हुन्छन्‌? यसका  थुप्रै कारण छन्‌। कतिले आफूबारे र जीवनमा आइपर्ने समस्याबारे गलत सोचाइ राख्न सक्छन्‌। (हितो. १५:१५) कुनै-कुनै स्वास्थ्य समस्याले गर्दा भावनामा उतारचढाव हुन्छ। यस्तो बेला मनमा नकारात्मक सोचाइ आउन सक्छ। कारण जेसुकै होस्, हाम्रो गलत सोचाइलाई मलजल गर्ने व्यक्ति को हो भन्ने कुरा सधैं मनमा राख्नुपर्छ। हामी यहोवाको सेवा छोड्ने हदसम्म निराश भएको को चाहन्छ? सैतान। त्यसको अन्त नजिकै भएकोले तपाईंले पनि आफूसित कुनै आशा छैन भन्ने महसुस गरेको चाहन्छ। (प्रका. २०:१०) हामी चिन्तामा डुबेको र हाम्रो जोस घटेको सैतान चाहन्छ। त्यसले हामीलाई प्रत्यक्ष आक्रमण गरोस् वा अप्रत्यक्ष, त्यसको उद्देश्य हामीलाई यहोवाको सेवा गर्न नदिनु हो। आफ्नो निष्ठा जोगाउन हामी युद्ध लडिरहेका छौं। त्यसैले कहिल्यै हार नमानौं।

१५. दोस्रो कोरिन्थी ४:१६, १७ अनुसार हामी के गर्न दृढ छौं?

१५ सैतानसित लड्न कहिल्यै नछोड्नुहोस्। सधैं इनाममा ध्यान दिनुहोस्। पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई यस्तो लेखे, “हामी हरेस खाँदैनौं, बरु हाम्रो शरीर क्षीण हुँदै गइरहेको भए तापनि हाम्रो भित्री मनुष्यत्वचाहिं निश्चय पनि दिनदिनै नयाँ हुँदै गइरहेको छ। किनकि सङ्कष्ट क्षणिक र हलुका भए तापनि यसले हामीमा यस्तो गौरव पैदा गर्छ, जुन अतुलनीय र अनन्त हुन्छ।”—२ कोरि. ४:१६, १७.

सङ्कष्टको लागि अहिल्यै तयारी गर्नुहोस्

ख्रीष्टियनहरूले आफ्नो विश्वासको पक्षमा बोल्न तालिम पाउँछन्‌ (अनुच्छेद १६ हेर्नुहोस्)

१६. सङ्कष्टको लागि किन अहिल्यै तालिम लिनुपर्छ?

१६ सैतानले हामीविरुद्ध थुप्रै “दाउपेचहरू” रच्छ। (एफि. ६:११) त्यसकारण १ पत्रुस ५:९ मा भएको यो सल्लाह पालन गर्नुपर्छ, “विश्वासमा दह्रो भएर त्यसविरुद्ध खडा होओ।” त्यसको लागि हामीले अहिल्यै आफ्नो मन र दिमाग तयार पार्नुपर्छ। यसो गर्दा  सही काम गर्न तालिम लिइरहेका हुन्छौं। यो उदाहरण विचार गर्नुहोस्: युद्धमा जानुभन्दा धेरै अघिदेखि नै सिपाहीहरूले युद्धको लागि विशेष तालिम लिन्छन्‌। हामीले पनि त्यसै गर्नुपर्छ। भविष्यमा हाम्रो युद्धले कस्तो रूप लिन्छ भनेर हामीलाई थाह छैन। त्यसकारण समय अनुकूल छँदा नै तालिम लिनुपर्छ। पावलले कोरिन्थीहरूलाई यस्तो लेखे, “तिमीहरू विश्वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ साबित गरिरहो।”—२ कोरि. १३:५.

१७-१९. (क) हामी कसरी आफैलाई जाँच्न सक्छौं? (ख) स्कुलमा आफ्नो विश्वासबारे बताउन युवाहरू कसरी तयार हुन सक्छन्‌?

१७ पावलको सल्लाह पालन गर्ने एउटा तरिका आफैलाई जाँच्नु हो। आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्, ‘के म दिनहुँ प्रार्थना गर्छु? साथीहरूले दबाब दिंदा म उनीहरूको कुरा सुन्छु कि यहोवाको? के म सधैं सभा जान्छु? के म साहसी भई आफ्नो विश्वासबारे बताउँछु? सङ्गी विश्वासीले मेरो गल्ती क्षमा गरेजस्तै के म पनि उनीहरूलाई क्षमा गर्छु? मण्डलीका एल्डरहरू र संसारभरका मण्डलीहरूको हेरचाह गर्ने दाजुभाइहरूको अधीनमा बसछु?’

१८ हाम्रो सोचाइलाई नियन्त्रण गर्न खोज्ने मानिसहरूबीच हामी छौं। थुप्रै ख्रीष्टियन युवाहरूले स्कुलमा आफ्नो विश्वासबारे साहसी भई बताउनुपर्ने हुन्छ। तर आफ्नो विश्वासबारे बताउन तिनीहरू डराउँदैनन्‌ र लाज पनि मान्दैनन्‌। हाम्रा पत्रिकाहरूमा यसबारे उपयोगी सुझावहरू छापिन्छन्‌। जस्तै, मे १५, २०१३ को प्रहरीधरहरा, पृष्ठ ६ मा अरूलाई आफ्नो विश्वासबारे कसरी अझ निर्धक्क भई बताउन सकिन्छ भनेर लेखिएको छ। त्यसो गर्ने एउटा तरिका स्कुलका साथीहरूलाई प्रश्नहरू सोध्दै तर्क गर्नु हो। आमाबुबा हो, छोराछोरीलाई आफ्नो विश्वासबारे बताउने तरिका सिकाउन उनीहरूसँगै अभ्यास गर्नुहोस्। यसो गर्नुभयो भने स्कुलमा साथीहरूबाट दबाब आउँदा सामना गर्न सक्छन्‌।

१९ आफ्नो विश्वासबारे बताउन वा यहोवालाई मन पर्ने काम गर्न सधैं सजिलो हुँदैन। दिनभर काम गरेर थकित भएकोले बेलुकी सभामा जान निकै प्रयास गर्नुपर्छ होला। जाडोमा न्यानो सिरक छोडेर बिहानको प्रचारमा जानै मन लाग्दैन होला। तर यो कुरा मनमा राख्नुहोस्: अहिले नै राम्रो आध्यात्मिक तालिका बनाउनुभयो भने भविष्यमा पहाडरूपी परीक्षाहरू आइपर्दा डटेर सामना गर्न सक्नुहुन्छ।

२०, २१. (क) फिरौतीको बलिदानमा मनन गर्दा कसरी निराशाको सामना गर्न सक्छौं? (ख) हामीले कस्तो सङ्कल्प गर्नुपर्छ?

२० अप्रत्यक्ष आक्रमणबारे के भन्न सकिन्छ? हामी कसरी निराशाको डटेर सामना गर्न सक्छौं? एउटा राम्रो तरिका फिरौतीको बलिदानमा मनन गर्नु हो। प्रेषित पावलले पनि त्यसै गरे। एकपटक तिनी निराश भएका थिए। तर तिनलाई येशू त्रुटिरहित मानिसको लागि होइन, पापीहरूको लागि मर्नुभएको हो भनेर पनि थाह थियो। तिनले यस्तो लेखे, “[म] परमेश्वरको छोरामाथि विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।” (गला. २:२०) हो, पावल फिरौतीको बलिदानमा विश्वास गर्थे; फिरौतीको बलिदान ‘मेरो लागि पनि हो’ भनेर मानिलिन्थे।

२१ फिरौतीको बलिदान हरेक व्यक्तिलाई दिइएको उपहार हो भनेर मानिलिनुभयो भने तपाईंले पनि लाभ उठाउन सक्नुहुन्छ। तर निराशा अचानक हराउँछ भन्ने त होइन। हामीमध्ये केहीले नयाँ संसार नआएसम्म सैतानको अप्रत्यक्ष आक्रमणविरुद्ध लड्नुपर्ने हुन्छ। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्: हार नमानी अघि बढ्नेहरूले इनाम पाउनेछन्‌। पृथ्वीमा शान्ति छाउने र सबै मानिस त्रुटिरहित हुने समयको हामी बाटो हेर्दै छौं। “धेरै सङ्कष्ट” सहँदै परमेश्वरको राज्यमा पस्ने सङ्कल्प गरौं।