अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जुलाई २०१४

 जीवनी

एउटा बुबा गुमाएँ—तर अर्को पाएँ

एउटा बुबा गुमाएँ—तर अर्को पाएँ

मेरो बुबा सन्‌ १८९९ मा अस्ट्रियाको ग्रजमा जन्मनुभएको थियो। पहिलो विश्वयुद्धको बेला उहाँ जवान हुनुहुन्थ्यो। सन्‌ १९३९ मा दोस्रो विश्वयुद्ध सुरु हुनेबित्तिकै उहाँलाई जर्मन सेनामा भर्ती हुन लगाइयो। सन्‌ १९४३ मा रूसमा युद्ध लड्दा लड्दै उहाँको मृत्यु भयो। त्यतिबेला म दुई वर्षको मात्र थिएँ। बुबा गुमाउनुपर्दा मलाई धेरै दुःख लाग्यो। मैले उहाँलाई चिन्नै पाइनँ। स्कूलमा अरू साथीहरूको बुबा देख्दा मेरो पनि बुबा भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। मैले कहिल्यै नमर्ने स्वर्गका बुबाबारे किशोरावस्थामा सिकें र सान्त्वना पाएँ।

बाल स्काउटमा छँदा

सानो छँदा

म सात वर्षको छँदा बाल स्काउटको सदस्य भएँ। यो विश्वव्यापी संस्थाको सुरुवात १९०८ मा बेलायती सेनाका रथी रोबर्ट स्टिफेन्सन स्मीथ बाडेन-पावेलले गरेका थिए। सन्‌ १९१६ मा उनले बाल स्काउटको एउटा संस्था (उल्फ कब्स्) स्थापना गरे।

सप्ताहन्तमा हामी विभिन्न ठाउँमा गएर रमाइलो गर्थ्यौं। हामी पालमा सुत्थ्यौं अनि स्काउटको लुगा लगाएर ड्रमको तालमा परेड खेल्थ्यौं। साँझमा आगो बालेर वरिपरि बस्थ्यौं अनि गीत गाउँथ्यौं, जङ्गलमा खेल पनि खेल्थ्यौं। हामीले प्रकृतिबारे पनि धेरै कुरा सिक्यौं। यसले गर्दा मैले प्रकृतिलाई माया गर्न सिकें।

बाल स्काउटलाई हरेक दिन राम्रो काम गर्न र “सधैं तयार रहो” भनेर अभिवादन गर्न सिकाइन्थ्यो। यसरी अभिवादन गर्न मलाई धेरै मन पर्थ्यो। हाम्रो समूहमा सय जनाभन्दा धेरै थिए। आधा जति क्याथोलिक अनि आधा जति प्रोटेस्टेन्ट थिए; एक जना बौद्ध धर्म मान्ने पनि थिए।

सन्‌ १९२० देखि केही वर्षको अन्तरालमा स्काउटको अन्तरराष्ट्रिय सभा हुन थाल्यो। सन्‌ १९५१, अगस्तमा अस्ट्रियाको ब्याट इशेलमा र १९५७, अगस्तमा इङ्गल्यान्डको बर्मिङह्याममा भएको सभामा म पनि गएको थिएँ। बर्मिङह्याममा भएको सभामा ८५ देशका ३३ हजार स्काउटले भाग लिएका थिए। त्यहाँ आएका ७ लाख ५० हजार दर्शकमध्ये बेलायतकी महारानी एलिजावेथ द्वितीय पनि थिइन्‌। त्यो जमघट सबै जना मिलेर बसेको समाज जस्तै देखिन्थ्यो। तर छिट्टै योभन्दा पनि राम्रो समाज भेट्टाउँदै छु भनेर त्यतिखेर मलाई के थाह?

पहिलो पटक यहोवाको साक्षी भेटें

मलाई साक्षी दिने पहिलो व्यक्ति रुडोल्फ सिग्रल हुन्‌

सन्‌ १९५८ मा अस्ट्रियाको ग्रजमा रहेको होटेल ग्राण्ड विज्लरमा मेरो वेटर तालिम सिद्धिनै लागेको थियो। रुडोल्फ सिग्रल त्यही होटेलमा केक बनाउने काम गर्थे। उनले मलाई अनौपचारिक साक्षी दिए। मैले पहिलो पटक बाइबल सत्य सुन्ने मौका पाएँ। उनले मलाई त्रिएकको  शिक्षा बाइबलसित मिल्दैन भने। मैले त्रिएक नै सही हो भनेर जिद्दी गरें र उनलाई गलत साबित गर्न खोजें। तर मलाई रुडोल्फ राम्रो लाग्थ्यो, त्यसैले तिनलाई क्याथोलिक चर्चमा फर्काउन खोजें।

रुडोल्फलाई माया गरेर रुडी भन्थें। उनले मलाई बाइबल ल्याइदिन्छु भने। तर त्यो क्याथोलिक बाइबल हो भने मात्र पढ्छु भनेर बताएँ। बाइबल पाएपछि मैले पढ्न थालें। रुडीले बाइबलभित्र यहोवाका साक्षीहरूको एउटा पर्चा पनि राखिदिएका रहेछन्‌। मलाई त्यसो गरेको मन परेन किनकि त्यस्ता साहित्यहरू पढूँ-पढूँ लाग्ने भए पनि त्यसमा गलत कुरा लेखिएको हुन्छ जस्तो लाग्थ्यो। तर रुडीसित बाइबलबाट छलफल गर्नचाहिं चाहन्थें। रूडी बुद्धिमान्‌ थिए। त्यसैले मलाई किताब वा पत्रिकाचाहिं दिएनन्‌। तीन महिनासम्म हामीले धेरै पटक बाइबलबाट छलफल गऱ्यौं। कहिलेकाहीं त हामी राती अबेरसम्म पनि छलफल गरिरहेका हुन्थ्यौं।

मेरो तालिम सिद्धिएपछि आमाले मलाई होटेल व्यवस्थापन पढाइने स्कूलमा पठाउनुभयो। त्यो स्कूल बाद होफ्गास्टाइनमा थियो। त्यो स्कूल र बाद होफ्गास्टाइनमा भएको ग्राण्ड होटेल आपसमा सम्बन्धित भएकोले थप अनुभव बटुल्न कहिलेकाहीं त्यहाँ काम गर्थें।

दुई मिसनरी बहिनीसित भेट

सन्‌ १९५८ देखि इल्जा अण्टरडोर्फर र एल्फ्रिड लोअले मलाई बाइबल अध्ययन गराए

रुडीले भियना शाखालाई मेरो ठेगाना दिएका रहेछन्‌। भियना शाखाले इल्जा अण्टरडोर्फर र एल्फ्रिड लोअ * नाम गरेका मिसनरी बहिनीहरूलाई मकहाँ पठायो। एक दिन होटेलको रिसेप्सनमा काम गर्ने व्यक्तिले ‘बाहिर तपाईंलाई भेट्न कोही आएका छन्‌’ भने। म तिनीहरूलाई चिन्दिनथें, तर को रहेछन्‌ भनेर हेर्न गएँ। दोस्रो विश्वयुद्धताका जर्मनमा यहोवाका साक्षीहरूलाई प्रतिबन्ध लगाइँदा तिनीहरूले लुकेर साहित्यहरू ओसारपसार गर्थे भनेर पछि मैले थाह पाएँ। युद्ध सुरु हुनुअघि पनि तिनीहरूलाई जर्मन पुलिसहरूले (गेस्टापो) समातेर लिक्टेनबर्ग यातना शिविरमा हालिदिएका रहेछन्‌। युद्ध सुरु भएपछि चाहिं उनीहरूलाई बर्लिन नजिकै रहेको राभान्सब्रुक यातना शिविरमा पठाइएको रहेछ।

ती बहिनीहरू मेरी आमाकै उमेरका भएकोले तिनीहरूको अनादर गर्न मन लागेन। केही हप्ता वा महिनासम्म छलफल गरेपछि चासो छैन भन्न चाहन्नथें। त्यसैले प्रेषितहरूबाट पाएको उत्तराधिकारसम्बन्धी शिक्षा अर्थात्‌ पहिलो पोप प्रेषित पत्रुस हुन्‌ र अरू सबै पोपले उनीबाट अख्तियार पाएका हुन्‌ भन्ने क्याथोलिक शिक्षालाई समर्थन गर्ने बाइबल पदहरूको सूची ल्याइदिन भनें। त्यो सूची स्थानीय पादरीकहाँ लगेर छलफल गर्छु भनेर तिनीहरूलाई बताएँ। यसरी छलफल गर्दा सत्य भेट्टाउन सक्छु जस्तो लाग्यो।

स्वर्गमा बस्नुहुने पवित्र बुबाबारे सिक्दै

क्याथोलिक चर्चले प्रेषितहरूबाट पाएको उत्तराधिकारसम्बन्धी शिक्षालाई समर्थन गर्न मत्ती १६:१८, १९ मा भएका येशूका शब्दहरू प्रयोग गर्छ। क्याथोलिक चर्चले पोप भनेको पवित्र बुबा हो र तिनले दिएको  शिक्षा गलत हुनै सक्दैन भनेर सिकाउँछ। थुप्रै क्याथोलिकको विश्वास यही शिक्षामा अडेको छ। म पनि यही विश्वास गर्थें। त्यसैले पोपले नै त्रिएकको शिक्षा सही हो भन्छन्‌ भने सही नै हुनुपर्छ जस्तो लाग्थ्यो। तर मलाई यस्तो पनि लाग्न थाल्यो, ‘पोपले नै गल्ती गर्छ भने त्रिएकको शिक्षा कहाँ सही हुन सक्छ र?’

म पादरीलाई भेट्न गएँ तर तिनले मेरो एउटै प्रश्नको जवाफ दिन सकेनन्‌। तिनले मलाई प्रेषितहरूबाट पाएको उत्तराधिकारसम्बन्धी क्याथोलिक शिक्षाबारे बताइएको किताब दिए। मैले त्यो किताब घर लगें र पढ्न थालें। मेरो मनमा अझ धेरै प्रश्न उठ्यो। अनि पादरीलाई भेटेर प्रश्न सोध्न थालें। तर पादरीले एउटै जवाफ दिन सकेनन्‌। तिनले यसो भने, “म तिम्रो चित्त बुझाउन सक्दिनँ अनि तिमीले पनि मेरो चित्त बुझाउन सक्दैनौं . . . तिम्रो भलो होस्!” तिनले मसित थप छलफल गर्न चाहेनन्‌।

अब भने इल्जा र एल्फ्रिडसित बाइबल अध्ययन गर्न राजी भएँ। तिनीहरूले मलाई स्वर्गमा बस्नुहुने पवित्र बुबा यहोवा परमेश्वरबारे धेरै कुरा सिकाए। (यूह. १७:११) त्यस इलाकामा कुनै पनि मण्डली थिएन। त्यसैले ती बहिनीहरूले एउटा चासो दिने परिवारको घरमा सभा गर्थे। सभामा थोरै मात्र आउँथे। नेतृत्व लिन बप्तिस्मा प्राप्त भाइ नभएकोले सभाको भाग ती दुई बहिनीले छलफलको रूपमा प्रस्तुत गर्थे। कहिलेकाहीं भने अर्को सहरबाट भाइहरू आउँथे र भाडामा लिइएको ठाउँमा जनभाषण दिन्थे।

प्रचारकार्यमा भाग लिन थालें

सन्‌ १९५८ अक्टोबरदेखि इल्जा र एल्फ्रिडसित मैले बाइबल अध्ययन गर्न थालें अनि तीन महिनापछि १९५९ मा बप्तिस्मा गरें। तर त्यसअघि नै ती बहिनीहरूसित कुरा गरेर घर-घरको प्रचार जान थालिसकेको थिएँ। (प्रेषि. २०:२०) पहिलो पटक तिनीहरूसितै काम गरेपछि आफ्नै इलाका लिने विचार गरें। तिनीहरूले मलाई एउटा गाउँमा प्रचार गर्न खटाए। म त्यहाँ एक्लै गएर घरघरको प्रचार गर्थें अनि चासो दिने व्यक्तिलाई पुनःभेट पनि गर्थें। त्यतिबेलासम्म कुनै भाइसित काम गर्ने मौका पाएको थिइनँ। पछि एक जना भाइसित पहिलो पटक सँगै काम गर्ने मौका पाएँ। उहाँ क्षेत्रीय निरीक्षक हुनुहुन्थ्यो। उहाँ हाम्रो समूहको भ्रमण गर्न पनि आउनुभयो।

सन्‌ १९६० मा होटेल व्यवस्थापनको पढाइ सिद्धिएपछि आफन्तहरूलाई बाइबल सत्य सिकाउने विचारले घर फर्कें। हुन त अहिलेसम्म एक जना पनि सत्यमा आएका छैनन्‌ तर कसै-कसैले भने चासो देखाउँछन्‌।

पूर्ण-समय सेवा अङ्गालें

बीस वर्ष नाघिसकेपछि

सन्‌ १९६१ मा मण्डलीमा शाखा कार्यालयबाट आएको एउटा पत्र पढियो। त्यसमा अग्रगामी सेवा गर्न प्रोत्साहन दिइएको थियो। म अविवाहित थिएँ अनि स्वस्थ पनि। त्यसैले अग्रगामी सेवा गर्न रोक्ने कुनै कुरा थिएन। मलाई एउटा कार किन्नुपर्छ जस्तो लाग्यो। त्यसैले अझै केही महिना काम गर्ने विचार गरेर क्षेत्रीय निरीक्षक कर्ट कुनसित कुरा गरें। उहाँले भन्नुभयो, “के येशू र प्रेषितहरूलाई पूर्ण-समय सेवा गर्न कार चाहिएको थियो र?” मैले कुरा बुझिहालें। सक्दो चाँडो अग्रगामी सेवा सुरु गर्ने योजना बनाउन थालें। तर होटेलमा हप्ताको ७२ घण्टा काम गर्नुपर्थ्यो। त्यसैले पहिला केही छाँटकाँट गर्नुपर्थ्यो।

हाकिमसित हप्ताको ६० घण्टा काम गर्ने अनुमति मागें। तिनले केही आपत्ति जनाएनन्‌ र तलब पनि घटाएनन्‌। केही समयपछि मैले फेरि हाकिमसित हप्ताको  ४८ घण्टा काम गर्न अनुमति मागें। यतिखेर पनि तिनले मेरो प्रस्ताव स्वीकारे; अझै पनि तलब घटाइएन। फेरि मैले हाकिमसित हप्ताको ३६ घण्टा मात्र काम गर्ने अथवा दिनको ६ घण्टाको हिसाबले ६ दिन काम गर्ने कुरा गरें। मेरो त्यो प्रस्ताव पनि स्वीकारियो। तर तलब भने जत्तिको त्यत्ति नै भएकोले म छक्क परें। मैले काम नछोडेको हाकिम चाहन्छन्‌ जस्तो लाग्यो। मैले नियमित अग्रगामी सेवा सुरु गरें। त्यतिबेला नियमित अग्रगामीहरूले महिनामा १०० घण्टा बुझाउनुपर्थ्यो।

चार महिनापछि स्पीटल एन डर ड्रौ सहरमा भएको सानो मण्डलीमा एल्डरहरूको निकायको संयोजक र विशेष अग्रगामी नियुक्त भएँ। विशेष अग्रगामीहरूले महिनामा १५० घण्टा बुझाउनुपर्थ्यो। मेरो अग्रगामी साथी थिएन। तर गट्रुड लेबनेर भन्ने बहिनीले मलाई प्रचारमा साथ दिइन्‌। तिनले मण्डलीमा सचिवको काम गर्थिन्‌।

असाइनमेन्टमा थुप्रै परिवर्तन

सन्‌ १९६३ मा मलाई परिभ्रमण कार्यको लागि बोलाइयो। कहिलेकाहीं एउटा मण्डलीबाट अर्को मण्डलीमा जान गह्रौं सुटकेसहरू बोकेर रेलमा यात्रा गर्थें। प्रायजसो भाइहरूको आफ्नै कार थिएन। त्यसैले कोही पनि रेल स्टेसनमा लिन आउन सक्दैनथे। उनीहरूको घरमा जाँदा ट्याक्सी चढेर धाक लगाउन चाहन्नथें। त्यसैले हिंडेरै जान्थें।

सन्‌ १९६५ मा मलाई गिलियड स्कूलको ४१ औं कक्षामा उपस्थित हुने निम्तो आयो। मलगायत मेरो कक्षाका प्रायजसो साथीहरू अविवाहितै थिए। गिलियड स्कूल सिद्धिएपछि आफ्नै देश अस्ट्रियामा परिभ्रमण कार्य गर्न खटाइँदा पत्याउनै गाह्रो भयो। अमेरिका छोड्नुअघि चार हप्तासम्म एक जना परिभ्रमण निरीक्षकसित काम गर्न भनियो। मैले एन्थोनी कोन्टेसित काम गर्ने मौका पाएँ। उनीसित काम गर्न पाउँदा मलाई एकदमै खुसी लाग्यो। उनी मायालु थिए र प्रचार गर्न मन पराउँथे अनि निकै प्रभावकारी पनि थिए। न्यु योर्कको उत्तरी भागको कर्नवाल इलाकामा हामीले सँगै काम गऱ्यौं।

हाम्रो विवाहको दिन

अस्ट्रिया फर्केपछि मलाई खटाइएको क्षेत्रमा टोभ मेरेटलाई भेटें। उनी राम्री थिइन्‌। पाँच वर्षको उमेरदेखि नै सत्यमै हुर्केकी थिइन्‌। उनलाई भेटेको एक वर्षपछि १९६७ अप्रिलमा हामीले विवाह गऱ्यौं र विवाहपछि पनि परिभ्रमण कार्यमा लागिरहने अनुमति पायौं। भाइबहिनीहरूले हाम्रो भेट कसरी भयो भनी सोध्दा हामी ठट्यौली पारामा यसो भन्छौं, “शाखा कार्यालयले हामीलाई भेटाइदियो।”

रोमी ८:१५ मा केही मानिसहरूले कसरी यहोवासित विशेष सम्बन्ध राख्न सक्छन्‌ अनि उहाँको धर्मपुत्र बन्न सक्छन्‌ भनेर बताइएको छ। तिनीहरू उहाँलाई “अब्बा, हे बुबा!” भनेर पुकार्छन्‌।” सन्‌ १९६८ मा मैले पनि यस्तै महसुस गरें। यहोवाले आफ्नो असीम अनुग्रहद्वारा मलाई धर्मपुत्रको रूपमा स्वीकार्नुभयो। यसरी म अभिषिक्त जनहरूको समूहमा सामेल भएँ।

मैले १९७६ सम्म मेरेटसँगै क्षेत्रीय निरीक्षक र जिल्ला निरीक्षकको रूपमा सेवा गरें। जाडो महिनामा अति नै चिसो कोठामा सुत्नुपर्थ्यो। एकचोटि त हाम्रो सासले गर्दा सिरकको माथिल्लो भाग जमेर कक्रक्क भइसकेको रहेछ। त्यसैले यात्रा गर्दा एउटा सानो हिटर पनि  साथमा राख्ने निर्णय गऱ्यौं। कुनै-कुनै ठाउँमा शौचालय घरबाहिर हुने भएकोले राती हावा चलिरहेको बेला हिउँमा टेक्दै जानुपर्थ्यो। हाम्रो आफ्नै कोठा थिएन। त्यसैले क्षेत्रीय भ्रमण सकेपछि सोमबार त्यही घरमा बस्थ्यौं। अनि मङ्गलबार बिहानै अर्को मण्डलीको भ्रमणको लागि निस्कन्थ्यौं।

अस्ट्रियामा सडक साक्षीलगायत अन्य तरिकामा साक्षी दिन मलाई रमाइलो लाग्थ्यो

मेरी प्यारी श्रीमतीले मलाई सधैं साथ दिएकी छिन्‌। प्रचारकार्य भनेपछि उनी हुरुक्कै हुन्छिन्‌। प्रचार जान मैले उनलाई कहिल्यै कर गर्नु परेन। उनलाई साथी बनाउन मनपर्छ। उनी अरूप्रति निकै विचारशील छिन्‌। उनको यस्तो बानीले मलाई धेरै मदत पुगेको छ।

सन्‌ १९७६ मा हामीलाई भियनाको अस्ट्रिया शाखामा सेवा गर्न निम्तो दिइयो। अनि मलाई शाखा समितिको सदस्यको रूपमा नियुक्त गरियो। त्यतिबेला अस्ट्रिया शाखाले विभिन्न पूर्वी युरोपेली मुलुकहरूको कामको निरीक्षण गर्थ्यो अनि ती देशहरूमा लुकाएर साहित्यहरू पुऱ्याउने प्रबन्ध मिलाउँथ्यो। योर्गेन रुन्डेल भन्ने भाइले यस काममा नेतृत्व लिएका थिए र मैले उनीसित काम गर्ने मौका पाएँ। पछि मलाई १० वटा पूर्वी युरोपेली भाषामा साहित्य अनुवाद गर्ने कामको निरीक्षण गर्न खटाइयो। योर्गेन र तिनकी श्रीमती गट्रुड जर्मनमा विशेष अग्रगामीको रूपमा सेवा गर्दै छन्‌। सन्‌ १९७८ देखि अस्ट्रिया शाखाले सानो छपाइ मेसिन प्रयोग गरेर छवटा भाषामा पत्रिका छाप्ने काम सुरु गऱ्यो। ती पत्रिकाहरू अरू देशमा पनि पठाउने प्रबन्ध मिलाइयो। यो काम व्यवस्थित गर्ने मुख्य जिम्मेवारी अटो कुग्लिट्स भन्ने भाइको थियो। उनी अहिले आफ्नी श्रीमती इन्ग्रिडसित जर्मनीमा भएको शाखामा सेवा गर्दै छन्‌।

पूर्वी युरोपका भाइहरूले आफ्नै देशमा पनि साहित्यहरू छापिरहेका थिए। तर तिनीहरूलाई अरू देशका भाइहरूको पनि मदत चाहिन्थ्यो। यहोवाले तिनीहरूलाई मदत गर्नुभयो। प्रतिबन्धको बेला वर्षौंसम्म वफादार भई सेवा गरेका ती भाइबहिनीलाई शाखा कार्यालयबाट हामीले पनि मदत गऱ्यौं।

रोमानियामा विशेष भ्रमण

सन्‌ १९८९ मा परिचालक निकायका सदस्य थिओडर जाराससँगै रोमानिया जाने मौका पाएँ। हाम्रो लक्ष्य भाइहरूको एउटा ठूलो समूहलाई सङ्गठनमा फर्कन मदत  गर्नु थियो। सन्‌ १९४९ को सुरुतिर ती भाइहरू सङ्गठनबाट अलग भए र आफ्नै मण्डली खडा गरे। तर तिनीहरू प्रचार गर्थे अनि बप्तिस्मा गराउँथे। सङ्गठनका अरू भाइबहिनीले जस्तै तिनीहरूले पनि सेनामा भर्ती हुन नमानेकोले जेल सजाय भोगे। रोमानियामा अझै पनि प्रतिबन्ध थियो। त्यसैले मुख्य जिम्मेवारी सम्हालिरहेका चार एल्डरहरू अनि रोमानिया उपशाखा समितिका प्रतिनिधिहरूसित पाम्फिल एल्बु भन्ने भाइको घरमा सुटुक्क भेट्यौं। साथै दोभासेको रूपमा काम गर्न अस्ट्रियाका भाइ रोल्फ केल्नालाई पनि सँगै लगेका थियौं।

छलफलको दोस्रो रात भाइ एल्बुले “हामी अहिल्यै फर्केनौं भने कहिल्यै फर्कन सक्नेछैनौं” भन्दै आफ्ना पक्षका चार एल्डरलाई सङ्गठनमा फर्कन आग्रह गरे। त्यसपछि लगभग ५,००० भाइबहिनी सङ्गठनमा फर्के। यहोवाको कत्ति ठूलो जित अनि सैतानको कस्तो लज्जास्पद हार!

पूर्वी युरोपमा कम्युनिस्ट व्यवस्थाको अन्त हुनुअघि १९८९ मा परिचालक निकायले म र मेरी श्रीमतीलाई न्यु योर्कको मुख्यालयमा बोलायो। हाम्रो खुसीको सीमै थिएन! हामीले १९९० को जुलाईदेखि ब्रूक्लिन बेथेलमा सेवा गऱ्यौं। सन्‌ १९९२ मा मलाई परिचालक निकायको सेवा समितिको सहयोगीको रूपमा खटाइयो। अनि १९९४ जुलाईदेखि मैले परिचालक निकायको सदस्यको रूपमा सेवा गर्ने सुअवसर पाएँ।

विगतलाई सम्झँदा अनि भविष्यलाई नियाल्दा

मेरी श्रीमतीसित न्यु योर्कको ब्रूक्लिनमा

विगतमा म होटेलमा खाना बाँड्ने काम गर्थें। अहिले आध्यात्मिक भोजन तयार गर्ने अनि संसारभरका भाइबहिनीलाई त्यो भोजन बाँड्ने काममा भाग लिन पाएकोमा निकै आनन्दित छु। (मत्ती २४:४५-४७) विशेष पूर्ण-समय सेवामा बिताएको ५० वर्षलाई फर्केर हेर्दा म कृतज्ञ छु। संसारभरका भाइबहिनीलाई यहोवाले आशिष्‌ दिनुभएको देख्दा म एकदमै आनन्दित छु। यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित भएर स्वर्गमा बस्नुहुने बुबा र बाइबल सत्यबारे सिक्न मलाई धेरै मनपर्छ।

लाखौं मानिसले बाइबल अध्ययन गरून्‌, सत्य स्वीकारून्‌ र संसारभरका ख्रीष्टियन भाइबहिनीसित मिलेर यहोवाको सेवा गरून्‌ भनेर म प्रार्थना गर्छु। (१ पत्रु. २:१७) पृथ्वीमा थुप्रै मानिस पुनर्जीवित भएर आउँदा मेरा बुबा पनि पुनर्जीवित भएको स्वर्गबाट हेर्न चाहन्छु। मेरा बुबाआमा अनि प्यारा आफन्तहरूले नयाँ संसारमा यहोवाको उपासना गर्नेछन्‌ भनी आशा गर्छु।

पृथ्वीमा थुप्रै मानिस पुनर्जीवित भएर आउँदा मेरा बुबा पनि पुनर्जीवित भएको स्वर्गबाट हेर्न चाहन्छु

^ अनु. 15 नोभेम्बर १, १९७९ को प्रहरीधरहरा-मा (अङ्ग्रेजी) तिनीहरूको जीवनी पढ्नुहोस्।