अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जुलाई २०१४

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—माइक्रोनेसिया

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—माइक्रोनेसिया

अमेरिकामा हुर्किएकी क्याथरिनले १६ वर्षको उमेरमा बप्तिस्मा गरिन्‌। तिनी प्रचारकार्यमा मेहनती थिइन्‌। तर इलाकाका मानिसहरू चासो देखाउँदैनथे। तिनी भन्छिन्‌, “‘तपाईंलाई चिन्न मदत गर्ने कोही पठाइदिनुहोस्’ भन्दै परमेश्वरलाई प्रार्थना गरेका अनुभवहरू मैले पढेकी छु। त्यस्ता मानिसहरूलाई भेट्टाउन पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो, तर कहिल्यै भेट्टाएकी थिइनँ।”

वर्षौंपछि क्याथरिनले राज्य सन्देशमा चासो देखाउने इलाकामा सर्ने विचार गर्न थालिन्‌। तर तिनलाई नयाँ इलाकामा गएर सेवा गर्न सक्दिनँ कि जस्तो लाग्यो। एक पटक तिनी दुई हप्ताको लागि मात्र घरबाट टाढा गएकी थिइन्‌। त्यतिबेला तिनलाई घरको यादले निकै सताएको थियो। तर यहोवालाई चिन्न अरूलाई मदत दिने तीव्र इच्छाले गर्दा तिनले सर्ने निर्णय गरिन्‌। धेरै ठाउँबारे विचार गरेपछि तिनले गुआम शाखालाई चिठ्ठी लेखिन्‌ अनि आवश्यक जानकारी पाइन्‌। जुलाई २००७ मा २६ वर्षको हुँदा क्याथरिन आफ्नो घरबाट १०,००० किलोमिटर टाढा प्रशान्त महासागरको टापु साइपानमा सरिन्‌। त्यहाँ तिनले कस्तो अनुभव गरिन्‌?

दुवैको प्रार्थनाको जवाफ

नयाँ मण्डलीमा आएको केही समय नबित्दै क्याथरिनले ४५/४६ वर्षकी डोरिसलाई भेटिन्‌। तिनले डोरिसलाई बाइबल अध्ययन गराउन थालिन्‌। सिकाउँछ किताबको तीन अध्यायसम्म छलफल गरेपछि क्याथरिनलाई चिन्ता लाग्न थाल्यो। तिनी भन्छिन्‌, “डोरिस राम्रो विद्यार्थी थिइन्‌। तर मसित नियमित अध्ययन सञ्चालन गरेको अनुभव थिएन। मेरो कारणले गर्दा डोरिसले अध्ययन छोडेको म चाहन्नथें। अनुभवी र सकेसम्म डोरिसकै उमेरकी बहिनी भेटाइदिन मन लाग्यो।” अध्ययन सुम्पन सुहाउँदो व्यक्ति भेट्टाउन सकूँ भनेर क्याथरिनले प्रार्थना गरिन्‌ अनि डोरिसलाई यो कुरा बताउने निर्णय गरिन्‌।

क्याथरिन भन्छिन्‌, “मैले कुरा सुरु गर्न नपाउँदै डोरिसले आफ्नो समस्याबारे बताउन थालिन्‌। मैले उनको कुरा सुनें र मलाई पनि त्यस्तै पर्दा यहोवाले कसरी मदत गर्नुभएको थियो भनी बताएँ। उनले मलाई धन्यवाद दिइन्‌।” त्यसपछि डोरिसले भनिन्‌, “मलाई मदत दिन यहोवाले तपाईंलाई चलाउनुभएको छ। पहिलो पटक तपाईं मेरो घरमा आउनुहुँदा घण्टौंदेखि बाइबल पढ्दै थिएँ। बाइबल बुझ्न  मदत गर्ने कोही पठाइदिनुहोस् भनेर रूँदै परमेश्वरलाई पुकारें। त्यसपछि तपाईंले ढोका ढकढक्याउनुभयो। यसरी यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभयो।” क्याथरिनले यो अनुभव बताउँदा तिनको गहभरि आँसु थियो। तिनी भन्छिन्‌, “डोरिसका शब्दहरू मेरो प्रार्थनाको जवाफ थियो। मैले अध्ययन गराउन सक्छु भनेर यहोवाले देखाइदिनुभयो।”

डोरिसले २०१० मा बप्तिस्मा गरिन्‌ र अहिले थुप्रै बाइबल अध्ययन सञ्चालन गर्दै छिन्‌। क्याथरिन भन्छिन्‌, “यहोवाको सेवा गर्न कसैलाई मदत गर्ने मेरो लामो समयदेखिको इच्छा पूरा भएको छ र म एकदम खुसी छु।” अहिले क्याथरिन प्रशान्त महासागरको कोसरे टापुमा विशेष अग्रगामीको रूपमा आनन्दित भएर सेवा गर्दै छिन्‌।

तीनवटा चुनौती—कसरी सामना गर्ने?

विभिन्न देशका १०० भन्दा धेरै भाइबहिनीले (१९ देखि ७९ वर्ष भित्रका) माइक्रोनेसियाको विभिन्न ठाउँमा सेवा गर्दै छन्‌। ती जोसिला प्रचारकहरूले एरिकाले जस्तै अनुभव गरेका छन्‌। उनी २००६ मा १९ वर्षको छँदा गुआम आएकी थिइन्‌। उनी भन्छिन्‌, “सत्यको लागि तिर्खाएका मानिसहरू भएको इलाकामा अग्रगामी सेवा गर्न एकदमै रमाइलो हुन्छ। यहाँ सेवा गर्न मदत दिनुभएकोमा यहोवालाई धेरै धन्यवाद दिन्छु। जीवन बिताउने योभन्दा उत्तम तरिका अरू के नै होला र!” अहिले एरिका इबाई टापुमा विशेष अग्रगामीको रूपमा सेवा गर्न पाएकोमा खुसी छिन्‌। विदेशी भूमिमा सेवा गर्दा चुनौतीहरूको पनि सामना गर्नुपर्ने हुन्छ। तीमध्ये तीनवटा चुनौतीबारे विचार गरौं र माइक्रोनेसियामा सरेकाहरूले कसरी ती चुनौतीहरूको सामना गरे, हेरौं।

एरिका

जीवनशैली। सिमोन २००७ मा २२ वर्षको छँदा पलाउ टापु आए। बेलायतको तुलनामा यहाँ एकदम थोरै कमाइ भएको सिमोनले याद गरे। सिमोन भन्छन्‌, “जे मन लाग्यो त्यही नकिन्ने बानी बसाल्नुपऱ्यो। कस्तो खानेकुरा किन्ने भनेर पहिल्यै विचार गर्छु अनि कहाँ सस्तो पाइन्छ भनेर खोज्छु। सामान टुट फुट भएमा पुरानो पार्टपुर्जा खोज्छु र मर्मत गर्न कसैसित मदत माग्छु।” सरल जीवन बिताउँदा सिमोनलाई कस्तो फाइदा भयो? उनी भन्छन्‌, “आफ्नो लागि साँच्चै आवश्यक कुरा के हो भनेर बुझें अनि आफूसँग थोरै कुरा भए पनि जीवन धान्न सकिंदो रहेछ भनेर थाह पाएँ। यहोवाले मेरो हेरचाह गर्नुभएको मैले धेरै पटक अनुभव गरेको छु। यहाँ सेवा गरेको सात वर्ष भइसक्यो, तर गाँसबासको अभाव कहिल्यै भएको छैन।” यहोवाको राज्यलाई पहिलो स्थान दिइरहनेहरूलाई उहाँ सधैं हेरचाह गर्नुहुन्छ।—मत्ती ६:३२, ३३.

परिवारको न्यास्रो लाग्दा। एरिका भन्छिन्‌, “परिवार छोडेर कसरी जाने अनि घरको यादले गर्दा यहोवाको सेवा गर्न गाह्रो भयो भने के गर्ने भन्ने चिन्ताले सतायो।” उनले कसरी मन तयार पारिन्‌? उनी भन्छिन्‌, “सर्नुअघि मैले प्रहरीधरहरा-मा न्यास्रोपनसित जुध्न मदत गर्ने लेखहरू खोजेर पढें। ती लेखहरू पढेपछि चुनौतीसित जुध्न सक्छु जस्तो लाग्न थाल्यो। एउटा लेखमा आमाले छोरीलाई यहोवाको मदतबारे यसो भन्दै ढाडस दिएको  पाएँ, ‘मैलेभन्दा यहोवाले अझ राम्ररी तिम्रो ख्याल राख्न सक्नुहुन्छ।’ यो अनुभवले मलाई धेरै बल दियो।” माजुरो टापुमा सेवा गरिरहेका हन्ना र तिनका श्रीमान्‌ प्याट्रिकलाई विचार गरौं। हन्ना मण्डलीका भाइबहिनीसित अझ नजिक भएर न्यास्रोपनसित जुध्दै छिन्‌। तिनी यसो भन्छिन्‌, “संसारभरिका भाइबहिनी दिनुभएकोमा म यहोवालाई बारम्बार धन्यवाद दिन्छु। आखिर तिनीहरू पनि मेरा परिवार हुन्‌। तिनीहरूको मायालु साथ नपाएको भए आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न कहाँ सक्थें र!”

सिमोन

घुलमिल हुन गाह्रो हुँदा। सिमोन सम्झन्छन्‌, “नयाँ ठाउँमा आएपछि सबै कुरा नौलो लाग्छ। मलाई ख्यालठट्टा गर्न मन लाग्थ्यो तर भाषाको समस्याले गर्दा सक्दिनथें। अनि भाइबहिनीले ठट्टा गर्दा पनि वाल्ल पर्थें।” एरिका भन्छिन्‌, “सुरु-सुरुमा त मेरो कुरा बुझिदिने कोही छैन जस्तो लाग्थ्यो। तर बसाइँ सर्नुको कारण विचार गरें। आफूलाई खुसी बनाउन होइन, बरु अझ राम्ररी यहोवाको सेवा गर्न बसाइँ सरेकी थिएँ। समय बित्दै जाँदा मैले असाध्यै मिल्ने साथीहरू पाएँ। ती साथीहरू मेरो लागि अनमोल छन्‌।” पलाअन भाषा सिक्न धेरै मेहनत गरेकोले सिमोन त्यहाँका भाइबहिनीप्रति “ठूलो मनका” हुन सके। (२ कोरि. ६:१३) उनको मेहनत देखेर भाइबहिनी पनि उनीसित नजिक भए। स्थानीय प्रकाशक र सरेर आएका भाइबहिनीहरू काँधमा काँध मिलाएर सेवा गर्दा मण्डलीमा मित्रैलो वातावरण छाउँछ। आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न आफैलाई राजीखुसीले अर्पण गर्नेहरूले अरू कस्ता लाभ उठाउँछन्‌?

“प्रशस्तै कटनी गर्ने”

प्रेषित पावलले यसो भने, “जसले उदारतासाथ छर्छ, उसले प्रशस्तै कटनी गर्नेछ।” (२ कोरि. ९:६) यो सिद्धान्त सेवा विस्तार गर्नेहरूलाई ठ्याक्कै लागू हुन्छ। माइक्रोनेसियामा सेवा गरिरहेकाहरूले “प्रशस्तै कटनी” गरेका फलहरू के-के हुन्‌?

प्याट्रिक र हन्ना

माइक्रोनेसियामा अहिले पनि बाइबल अध्ययन गर्न चाहने अनि सिकेको कुरा लागू गरेर प्रगति गर्ने मानिसहरू भेट्न सकिन्छ। प्याट्रिक र हन्नाले ३२० जना मानिसहरू मात्र बस्ने सानो टापु आङ्गाउरमा पनि प्रचार गरे। दुई महिनापछि उनीहरूले एउटी महिलालाई भेटे। तिनी एक्ली आमा थिइन्‌। तिनले तुरुन्तै अध्ययन गर्न थालिन्‌, सत्य स्वीकारिन्‌ र त्यसअनुसार जीवन बिताउन थालिन्‌। हन्ना यसो भन्छिन्‌, “अध्ययन सकिएपछि साइकलमा फर्कंदा एकअर्कालाई हेरेर हामी यसो भन्थ्यौं, ‘धन्यवाद यहोवा।’ हुन त यहोवाले यी महिलालाई जुनसुकै तरिकामा पनि आफूतर्फ खिच्न सक्नुहुन्थ्यो। तर हामीले आवश्यकता बढी भएको ठाउँमा सेवा गर्ने निर्णय गरेकोले नै उहाँले यस्ता नम्र मानिसलाई मदत गर्ने मौका दिनुभयो। यो हाम्रो जीवनको एकदमै रमाइलो अनुभवहरूमध्ये एक हो।” एरिका पनि यसो भन्छिन्‌, “यहोवालाई चिन्न कसैलाई मदत गर्दा वर्णन गर्नै नसकिने आनन्द पाइन्छ।”

तपाईं पनि कटनी गर्न चाहनुहुन्छ?

थुप्रै मुलुकमा राज्य प्रचारकहरूको आवश्यकता छ। तपाईं पनि आवश्यकता बढी भएको ठाउँमा सर्न तयार हुनुहुन्छ? आफ्नो सेवा विस्तार गर्नेबारे यहोवालाई प्रार्थना गर्नुहोस्। मण्डलीका एल्डर, क्षेत्रीय निरीक्षक अनि आवश्यकता बढी भएको ठाउँमा सेवा गरिरहेकाहरूसित कुरा गर्नुहोस्। तपाईंले सर्ने विचार गर्नुभएको इलाकाको गतिविधि हेरिरहेको शाखालाई चिठ्ठी लेख्नुहोस्। * राजीखुसीले आफैलाई अर्पण गरेर हजारौं अविवाहित र विवाहित भाइबहिनीसँगै तपाईंले पनि ‘प्रशस्तै कटनी’ गर्नुहुनेछ।

^ अनु. 17 जुलाई २००१ को हाम्रो राज्य सेवकाई-को “के तपाईं आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।

अझ बढी सिक्नुहोस्

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

पूर्ण समय प्रचार गर्नेरूको लागि कस्तो विशेष तालिमको प्रबन्ध गरिन्छ?