अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जून २०१४

सम्बन्धविच्छेद भएका सङ्गी विश्वासीलाई मदत गर्नुहोस्—कसरी?

सम्बन्धविच्छेद भएका सङ्गी विश्वासीलाई मदत गर्नुहोस्—कसरी?

सम्बन्धविच्छेद भएका कसैलाई तपाईं चिन्नुहुन्छ कि? सम्बन्धविच्छेद गर्नेहरूको सङ्ख्या अकासिंदै छ। उदाहरणको लागि, पोल्याण्डको एउटा सर्वेक्षणले देखाएअनुसार ३० वर्ष पुगेका जोडीहरूमाझ विवाह भएको तीनदेखि छ वर्ष नबित्दै सम्बन्धविच्छेद गर्ने लहड चलेको छ। तर यस्तो समस्या कुनै खास उमेरका जोडीहरूमाझ मात्र सीमित छैन।

नेपालको एउटा स्थानीय पत्रिकाअनुसार ‘एक वर्षभित्र एउटा जिल्लामा मात्र ४७४ जोडीले सम्बन्धविच्छेदको लागि आवेदन दिए। तीमध्ये ३९९ जोडीको सम्बन्धविच्छेद भएको पाइयो।’

भावनात्मक उथलपुथल

सम्बन्धविच्छेद हुनुका केही कारण के हुन्‌? पूर्वी युरोपमा बस्ने वैवाहिक जीवनका अनुभवी सल्लाहकार यसो भन्छिन्‌, “सम्बन्धविच्छेदले, जे भइसकेको छ त्यसलाई कानुनी मान्यता दिने मात्र हो; आपसी सम्बन्ध पहिल्यै बिग्रिसकेको हुन्छ र भावनात्मक उथलपुथल सुरु भइसकेको हुन्छ।” तिनी अझै यसो भन्छिन्‌, “पीडा दिने आँधी र चोट दिने बाढी आएझैं सम्बन्धविच्छेदपछि रिस, पछुतो, दिक्दारी, निराशा र लाजले भित्रभित्रै पोल्छ।” सम्बन्धविच्छेद गर्नेहरूलाई कहिलेकाहीं त झुन्डिएर मरौं कि जस्तो लाग्छ। उक्त सल्लाहकार यसो पनि भन्छिन्‌, “सम्बन्धविच्छेदको फैसलापछि जीवनको अर्को पाटो सुरु हुन्छ। एक्लोपन र छटपटीले सताउन थाल्दा सम्बन्धविच्छेद भएको व्यक्तिको मनमा ‘अब म एक्लो भएँ, बिलकुलै एक्लो, मेरो जीवनको के नै अर्थ छ र’ भन्ने तर्कना खेल्न थाल्छ।”

केही वर्षअघि आफूमाथि आइपरेको बज्रपातबारे लिना यसो भन्छिन्‌, “सम्बन्धविच्छेदको फैसलापछि मलाई असाध्यै लाज लाग्यो। छिमेकी र दौंतरीहरूले ‘लोग्नेले त्यागेकी आइमाई’ भन्लान्‌ कि भन्ने डरले सताउँथ्यो। भित्रभित्रै रिसको आगो दन्किरहन्थ्यो। दुई लालाबालाको पालनपोषण म एक्लैले गर्नुपऱ्यो।” * बाह्र वर्षसम्म एल्डरको रूपमा सेवा गरेका अनुप यसो भन्छन्‌, “मेरो आत्मसम्मानमा ठेस पुग्यो। कहिलेकाहीं त रिसले पागल हुन्थें। एकाकीपन नै मेरो साथी हुन थाल्यो।”

सन्तुलित हुन सङ्घर्ष

सम्बन्धविच्छेद भएकाहरूलाई भविष्यको चिन्ताले गाँज्छ। त्यसैले उनीहरू वर्षौंपछिसम्म पनि सन्तुलित हुन सङ्घर्ष गरिरहन्छन्‌। उनीहरू ‘अरूलाई मेरो वास्तै छैन’ भन्ने गर्छन्‌। अखबारमा वैवाहिक समस्याबारे लेख्ने एक व्यक्ति यसो भन्छन्‌, “तिनीहरूले आफ्नो जीवन बिताउने तरिका बदल्नुपर्छ र एक्लैले कामकुरा सम्हाल्न सिक्नुपर्छ।”

सुशील यसरी सम्झन्छन्‌, “सम्बन्धविच्छेदपछि मेरी श्रीमतीले दुई छोरीहरूलाई आफैसित लागिन्‌ र फेरि कहिल्यै भेट्न दिइनन्‌। कसैले मेरो चासो राख्दैन जस्तो  लाग्यो। यहोवाले पनि त्याग्नुभएको हो कि जस्तो लाग्यो। बाँच्न पनि मन लागेन। तर मेरो सोचाइ कत्ति गलत रहेछ।” सम्बन्धविच्छेद गरेकी वृन्दालाई पनि आफ्नो भविष्य कस्तो हुने होला भन्ने चिन्ताले सतायो। उनी भन्छिन्‌, “केही समयपछि छोराछोरी र मलाई कसैले—सङ्गी विश्वासीहरूले समेत वास्ता गर्नेछैनन्‌ जस्तो लाग्न थाल्यो। तर म कत्ति गलत रहेछु! भाइबहिनीले एकजुट भएर छोराछोरी र मेरो हेरचाह गर्नुभयो। उहाँहरूको मदत पाएर छोराछोरीलाई यहोवाको उपासक बन्न मदत गर्न सकें।”

यस्ता भनाइबाट सम्बन्धविच्छेद गर्नेहरूको मनमा नकारात्मक सोचाइको आँधी चल्छ भनेर तपाईंले बुझिसक्नुभयो होला। ‘म केही कामको छैन। कसैले मेरो चिन्ता गर्दैन’ भन्ने सोचाइ उनीहरूको मनमा खेल्न सक्छ। अरूबारे पनि उनीहरूले नानाथरी सोच्न सक्छन्‌। ‘मण्डलीका भाइबहिनीले पनि मेरो दुःख बुझ्दैनन्‌; मलाई माया गर्दैनन्‌’ भनेर सोच्न थाल्छन्‌। तर सुशील र वृन्दाको अनुभवले देखाएजस्तै भाइबहिनीहरूले साँच्चै ख्याल राख्छन्‌ भनेर सम्बन्धविच्छेद भएकाहरूले पछि महसुस गर्न सक्छन्‌। हो, सम्बन्धविच्छेद भएकाहरूले सुरुमा त भाइबहिनीले दिएको मदत याद नगर्लान्‌। तर वास्तवमा सङ्गी ख्रीष्टियनहरू साँच्चै उनीहरूको ख्याल राख्छन्‌।

एकाकीपनले सताउँदा र त्यागिएको भावनाले पिरोल्दा

मदत दिन जतिसुकै कोसिस गरे पनि सम्बन्धविच्छेद भएका हाम्रा भाइबहिनीलाई समय-समयमा एकाकीपनले सताइहाल्छ। खासगरि सम्बन्धविच्छेद भएका बहिनीहरूलाई ‘कसैलाई पनि मेरो मतलब छैन’ भन्ने लाग्न सक्छ। अनुजा यसो भन्छिन्‌, “सम्बन्धविच्छेद भएको आठ वर्ष बितिसक्यो तर अझै पनि आफू केही कामको छैन जस्तो लागिरहन्छ। मलाई आफैमाथि दया लाग्छ र एक्लै बसेर रुन थाल्छु।”

हुन त सम्बन्धविच्छेद भएका सबैलाई नै एक्लोपनले सताउँछ तर बाइबलले अलग्गै नबस्न चेतावनी दिन्छ। यो चेतावनीलाई बेवास्ता गरेमा “विवेकपूर्ण सल्लाह”-लाई इन्कार गर्ने हदसम्म पुग्न केही बेर लाग्दैन। (हितो. १८:१, ERV) एक्लोपनले सताउँदा विपरीत लिङ्गका व्यक्तिबाट सल्लाह र सान्त्वना खोजिरहनु बुद्धिमानी होइन। यो कुरा मनमा राख्यौं भने अनुचित भावनाहरू पलाउने खतराबाट जोगिन सक्छौं।

सम्बन्धविच्छेद भएका सङ्गी भाइबहिनी भावनात्मक उथलपुथलको भुमरीमा परेका हुन सक्छन्‌। तिनीहरूलाई भविष्यको फिक्रीले सताइरहन्छ र एक्लो वा त्यागिएको महसुस हुन्छ। यस्तो भावना आउनु स्वाभाविक हो अनि यसलाई जित्न सजिलो छैन भन्ने कुरा मनमा राख्दै तिनीहरूलाई सहयोग गरेर हामीले यहोवाको देखासिकी गर्नुपर्छ। (भज. ५५:२२; १ पत्रु. ५:६, ७) हामीले गरेको सानोभन्दा सानो मदतको तिनीहरूले धेरै मोल गर्छन्‌ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं। हो, यस्ता भाइबहिनीले मण्डलीभित्रै साँचो मित्रहरूबाट मदत पाउन सक्छन्‌।—हितो.१७:१७; १८:२४.

^ अनु. 6 केही नाम परिवर्तन गरिएका छन्‌।