अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जून २०१४

‘पाइला चाल्न मार्ग तयार गर्नुहोस्’ र प्रगति गर्नुहोस्

‘पाइला चाल्न मार्ग तयार गर्नुहोस्’ र प्रगति गर्नुहोस्

ईसापूर्व ५३७ मा परमेश्वरका जनहरू बेबिलोन छोडेर यरूशलेम गए। यात्रामा यहोवाले तिनीहरूको हेरविचार गर्नुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो, “मानिसहरूका निम्ति बाटो तयार गर। बनाऊ, राजपथ बनाऊ। त्यहाँबाट ढुङ्गाहरू हटाऊ।” (यशै. ६२:१०) त्यो काम पूरा गर्न केही यहूदी कुन हदसम्म लागिपरे होलान्‌, कल्पना गर्नुहोस् त! अगाडि जाने समूहले खाल्डाखुल्डी पुरेर बाटो सम्म बनाए होलान्‌। यसले गर्दा घर फर्कन लागेका तिनीहरूका दाजुभाइलाई पक्कै सजिलो भएको हुनुपर्छ।

आज हामी पनि आध्यात्मिक लक्ष्यसम्म पुऱ्याउने मार्गमा हिंडिरहेका छौं। आफ्ना जनहरू कुनै बाधा-अवरोधविना त्यो मार्गमा हिंडेको यहोवा चाहनुहुन्छ। उहाँको वचन हामीलाई यस्तो आग्रह गर्छ, “तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। र ती मार्गहरू मात्रै अप्ना जुन निश्‍चित छन्‌।” (हितो. ४:२६, NRV) यो सल्लाह पालन गर्दा फाइदा हुन्छ भनेर युवा वा युवावस्थामा पुग्नै लागेकाहरूले अनुभव गर्न सक्नेछन्‌।

सही निर्णय गरेर मार्ग तयार गर्नुहोस्

बाइबल यसो भन्छ, “जवान मानिसहरूको गौरव तिनीहरूको बल हो।” (हितो. २०:२९) युवाहरू स्वस्थ हुन्छन्‌, उनीहरूको दिमाग तेज हुन्छ र उनीहरूमा सफल हुने चाहना पनि तीव्र हुन्छ। वयस्कहरूले ती युवाहरूको क्षमता र खुबी याद गर्छन्‌ अनि उनीहरूले आफ्नो क्षमताको पूर्ण सदुपयोग गरेको आस गर्छन्‌। आफ्नो क्षमता र खुबी यहोवाको सेवामा लगाउने युवाहरू साँच्चै आनन्दित हुनेछन्‌।

तर हामीलाई थाहै छ, संसारले हाम्रा युवा भाइबहिनीको क्षमतामाथि आँखा गाडिरहेको हुन्छ। कुनै भाइ वा बहिनीको पढाइ राम्रो छ भने शिक्षक वा सँगै पढ्ने साथीले उच्च शिक्षा लिन दबाब दिन सक्छन्‌। प्रगति गर्ने पहिलो खुट्किलो भनेकै  उच्च शिक्षा लिनु हो भन्ने उनीहरूलाई लाग्छ। अथवा कुनै भाइ वा बहिनी खेलकुदमा राम्रो छ भने खेलकुदलाई नै आफ्नो करिअर बनाउने दबाब आउन सक्छ। तपाईंलाई पनि त्यस्तै दबाब आएको छ कि? वा त्यस्तै दबाब भोगिरहेको कसैलाई चिन्नुहुन्छ? बुद्धिमानी निर्णय गर्न ख्रीष्टियनहरूलाई केले मदत गर्छ?

जीवनको सर्वोत्तम मार्गमा हिंड्ने तयारी गर्न बाइबलका शिक्षाहरूले मदत गर्छ। उपदेशक १२:१ मा यसो भनिएको छ, “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्।” युवाहरूले कसरी ‘सृष्टिकर्ताको सम्झना गर्न’ सक्छन्‌?

पश्‍चिम अफ्रिकामा बस्ने एरिकलाई * विचार गर्नुहोस्। तिनलाई फुटबल खुबै मनपर्थ्यो। पन्ध्र वर्षको उमेरमै तिनले राष्ट्रिय टिममा खेल्ने मौका पाइसकेका थिए। तिनले युरोपमा फुटबलको राम्रो तालिम पाउने सक्थे र फुटबललाई नै आफ्नो करिअर बनाउन सक्थे। त्यही समयतिर तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। तिनले कसरी ‘सृष्टिकर्ताको सम्झना गर्न’ सक्थे? तिनको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

बाइबल अध्ययन गर्दै जाँदा तिनले सृष्टिकर्ताले मानव समस्याहरू सदाको लागि हटाउनुहुनेछ भनेर थाह पाए। परमेश्वरको इच्छा गर्न आफ्नो समय र शक्ति प्रयोग गर्नुको महत्त्व तिनले बुझ्न थाले। त्यसकारण फुटबललाई नै आफ्नो करिअर बनाउन दौडधूप गरेनन्‌। बरु तिनले बप्तिस्मा गरे र प्रगति गर्दै गए। समयमा तिनी सहायक सेवक भए र पछि तिनले अविवाहित भाइहरूका लागि बाइबल स्कूलबाट प्रशिक्षण पाए।

एरिकले खेललाई नै आफ्नो करिअर बनाएको भए सायद नाम र दाम कमाउने थिए। तर तिनले बाइबलको यो सिद्धान्त सही छ भनेर बुझे, “धनी मानिसको धन सम्पत्ति नै त्यसको बलियो शहरजस्तै हो, उसले धनलाई नै उच्च पर्खाल सम्झन्छ।” (हितो. १८:११) धनसम्पत्तिले सुरक्षा दिन्छ भनेर सोच्नु भ्रम मात्र हो। पैसाको लागि दौडधूप गर्नेहरूले अक्सर “थुप्रै पीडाले आफूलाई चोटै-चोट पुऱ्याएका छन्‌।”—१ तिमो. ६:९, १०.

खुसीको कुरा, पूर्ण-समय सेवामा लागेर थुप्रै युवाले आनन्द र सुरक्षा पाएका छन्‌। एरिक भन्छन्‌, “म पूर्ण-समय सेवकहरूको ‘ठूलो टिममा’ सामेल भएको छु। मेरो लागि योभन्दा राम्रो टिम अरू हुनै सक्दैन। साँच्चै आनन्दित र सफल हुने मार्ग देखाउनुभएकोमा यहोवालाई धन्यवाद दिन्छु।”

तपाईं नि? सांसारिक लक्ष्यहरू राख्नुको साटो यहोवाको सेवामा अझ धेरै सुअवसर पाइने “मार्ग” रोजे कसो होला?—“ विश्वविद्यालयबाट हासिल गर्न नसकेको कुरा” भन्ने पेटी हेर्नुहोस्।

बाधा-अवरोध हटाउनुहोस्

अमेरिकाको शाखा कार्यालयमा भ्रमण गर्न जाँदा एक दम्पतीले बेथेल सेवकहरू एकदमै आनन्दित भएको याद गरे। श्रीमतीचाहिंले यसो भनिन्‌, “हामी त एकदमै फुर्सदिला रहेछौं।” ती दम्पतीले आफ्नो समय र शक्ति यहोवाको सेवामा खर्च गर्ने निर्णय गरे।

सुरुमा त ती दम्पतीलाई छाँटकाँट गर्न निकै गाह्रो भयो। तर एक दिन तिनीहरूले यूहन्ना ८:३१ मा येशूले भन्नुभएको यो कुरा विचार गरे, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ।” यो कुरा मनमा राख्दै तिनीहरूले यस्तो तर्क गरे, “जीवन सरल बनाउन हामीले गर्ने जुनसुकै त्याग खेर जानेछैन।” तिनीहरूले आफ्नो भव्य घर बेचे, अन्य बोझ पन्छयाए र आवश्यकता धेरै भएको मण्डली नजिकै बसाइँ सरे। तिनीहरू अहिले अग्रगामी सेवा गर्दै छन्‌; राज्यभवनको निर्माणकार्यमा मदत गर्छन्‌ र जिल्ला अधिवेशनहरूमा स्वयंसेवकको रूपमा पनि काम गर्छन्‌। तिनीहरूलाई कस्तो लागिरहेको छ? “जीवन सरल बनाएर यहोवाको सङ्गठनको निर्देशनअनुसार चल्दा हामीले पाएको आनन्दको बयानै गर्न सक्दैनौं।”

आध्यात्मिक प्रगति गरिरहनुहोस्

सुलेमानले यस्तो लेखे, “तेरो आँखाले तेरो अगि सीधा हेरोस्, सामनेतिर के छ सो तेरो आँखाले एक टक लाएर हेरोस्।” (हितो. ४:२५) गाडी चालकले बाटोमा ध्यान केन्द्रित गरेझैं हामीले पनि आध्यात्मिक लक्ष्य राखेर त्यो हासिल गर्न अघि बढ्दा आइपर्न सक्ने बाधा-अवरोधलाई हटाउनुपर्छ।

तपाईं कस्तो लक्ष्य राख्न सक्नुहुन्छ? एउटा लक्ष्य, पूर्ण-समय सेवामा लाग्नु हो। अनुभवी प्रचारकहरूको खाँचो परेको  नजिकैको कुनै मण्डलीमा सेवा गर्न पनि सक्नुहुन्छ। अथवा कुनै मण्डलीमा थुप्रै अनुभवी प्रचारक त होलान्‌ तर एल्डर तथा सहायक सेवकहरू भने थोरै मात्र होलान्‌। त्यस्तो मण्डलीमा गएर सेवा गर्न सक्नुहुन्छ कि? अरू कुन तरिकामा मदत गर्न सकिन्छ, क्षेत्रीय निरीक्षकसित सल्लाह लिए कसो होला? तपाईं टाढा गएर सेवा गर्न चाहनुहुन्छ भने आवश्यकता बढी भएको मण्डलीहरूबारे जानकारी पनि माग्न सक्नुहुन्छ। *

यशैया ६२:१० लाई फेरि विचार गरौं। परमेश्वरका सेवकहरू आफ्नो गन्तव्यमा पुग्न सकून्‌ भनेर केही यहूदीले बाटो राम्रो बनाउन निकै मेहनत गरे। आफ्नो लक्ष्यमा पुग्न तपाईंले पनि निकै मेहनत गर्नुपर्छ तर हार नमान्नुहोस्। परमेश्वरको मदत पाएर तपाईं पनि आफ्नो लक्ष्यमा पुग्न सक्नुहुनेछ। आफ्नो अगाडि भएको अवरोध हटाउने प्रयास गर्दा यहोवासित बुद्धि माग्नुहोस्। यहोवाले तपाईंलाई ‘मार्ग तयार गर्न’ मदत गर्नुभएको अनुभव गर्नुहुनेछ।—हितो. ४:२६.

^ अनु. 8 नाम परिवर्तन गरिएको छ।

^ अनु. 18 हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ३-४ हेर्नुहोस्