अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मे २०१४

हामीले ‘हरेकलाई कसरी जवाफ दिनुपर्छ’?

हामीले ‘हरेकलाई कसरी जवाफ दिनुपर्छ’?

“तिमीहरूको बोली सधैं . . . दयालु होस्। यसो गऱ्यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्नेछौ।”—कल. ४:६.

१, २. (क) विचार पुऱ्याउँदै प्रश्न गर्नुको महत्त्व स्पष्ट पार्ने एउटा अनुभव बताउनुहोस्। (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्) (ख) गहन विषयमा छलफल गर्न किन डराउनुपर्दैन?

धेरै वर्षअघि एक ख्रीष्टियन बहिनी विश्वासमा नभएका श्रीमान्‌सित बाइबलबारे कुरा गर्दै थिइन्‌। पहिला तिनी चर्च जान्थे। कुराकानीको दौडान तिनले “म त्रिएकमा विश्वास गर्छु” भने। तर चर्चमा त्रिएकबारे के सिकाइन्छ भन्ने कुरा श्रीमान्‌लाई थाह छैन भनेर बुझेपछि उनले विचार पुऱ्याउँदै यस्तो प्रश्न गरिन्‌: “के तपाईं पिता परमेश्वर हो, पुत्र परमेश्वर हो र पवित्र आत्मा पनि परमेश्वर नै हो; तर परमेश्वर तीन जना नभई एउटै हो भनेर विश्वास गर्नुहुन्छ?” छक्क पर्दै श्रीमान्‌ले यसो भने: “अहँ, म त्यस्तो विश्वास गर्दिनँ!” त्यसपछि परमेश्वर वास्तवमा को हुनुहुन्छ भन्नेबारे राम्रो कुराकानी सुरु भयो।

यस अनुभवले विचार पुऱ्याउँदै प्रश्न गर्नुको महत्त्व स्पष्ट पार्छ। यसले अर्को कुरा पनि स्पष्ट पार्छ: त्रिएक, नरकको आगो र सृष्टिकर्ताको अस्तित्वजस्ता गहन विषयमा छलफल गर्न हामी डराउनुपर्दैन। यहोवा र उहाँले दिने तालिममा भर पऱ्यौं भने मानिसहरूको मन  छुने तरिकामा सिकाउन सक्छौं। (कल. ४:६) यस्ता गहन विषयमा कुरा गर्दा केही अनुभवी प्रचारकहरूले के गर्छन्‌, आउनुहोस् बुझौं। हामी यी कुराहरू छलफल गर्नेछौं: (१) मानिसहरूको मनको कुरा निकाल्न कसरी प्रश्न गर्न सक्छौं? (२) धर्मशास्त्रबाट कसरी तर्क गर्न सक्छौं? अनि (३) भन्न खोजेको कुरा स्पष्ट पार्न कसरी दृष्टान्त चलाउन सक्छौं?

मानिसहरूको मनको कुरा निकाल्न प्रश्न गर्नुहोस्

३, ४. कुनै व्यक्तिले के विश्वास गर्छन्‌ भनेर पत्ता लगाउन प्रश्न गर्नु किन आवश्यक छ? उदाहरण दिनुहोस्।

कुनै व्यक्तिले के विश्वास गर्छन्‌ भनेर पत्ता लगाउन प्रश्न गर्नुपर्छ। यसो गर्नु किन आवश्यक छ? हितोपदेश १८:१३ ले “राम्ररी सुन्नुअघि नै प्रश्नको जवाफ दिनु मूर्खता र अशिष्टता हो” भनेको छ। त्यसैले कुनै विषयबारे बाइबलले के सिकाउँछ भनेर बताउनुअघि तिनले के विश्वास गर्छन्‌ भनेर पत्ता लगाउनु महत्त्वपूर्ण छ। नत्र त जुन कुरा तिनी विश्वासै गर्दैनन्‌, त्यो कुरालाई झूटो प्रमाणित गर्न समय मात्र खेर जान्छ।—१ कोरि. ९:२६.

मानौं तपाईं कसैसित नरकबारे कुरा गर्दै हुनुहुन्छ। कसै-कसैले नरक भनेको खराब मानिसलाई सास्ती दिने ठाउँ हो भनेर विश्वास गर्छन्‌। त्यसैले हामी यस्तो प्रश्न गर्न सक्छौं: “नरकबारे मानिसहरूको आ-आफ्नै धारणा छ, तपाईंलाई चाहिं कस्तो लाग्छ?” उक्त व्यक्तिको कुरा सुनेपछि नरकबारे बाइबलले वास्तवमा के सिकाउँछ भनेर राम्ररी बुझाउन सक्नेछौं।

५. प्रश्न गर्दा कसैले कुनै कुरामा विश्वास गर्नुको कारण थाह पाउन कसरी मदत पुग्छ?

विचार पुऱ्याएर प्रश्न गऱ्यौं भने कसैले कुनै कुरामा विश्वास गर्नुको कारण थाह पाउनेछौं। जस्तै, प्रचारमा कसैले “म परमेश्वरमा विश्वास गर्दिनँ” भन्यो भने के गर्न सक्छौं? उक्त व्यक्ति क्रमविकासको सिद्धान्तमा विश्वास गर्छन्‌ भनेर अडकल काट्छौं होला। (भज. १०:४) तर कसै-कसैले भने मानिसहरूले दुःख पाइरहेको देखेकोले वा आफैले दुःख भोग्नुपरेकोले परमेश्वरमाथि विश्वास गर्न छाडेका छन्‌। तिनीहरूलाई सृष्टिकर्ता भएको भए त दुःखकष्ट किन हुन्थ्यो र जस्तो लाग्न सक्छ। त्यसकारण घरधनीले परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दैनन्‌ भने यस्तो प्रश्न गर्न सक्छौं: “तपाईंलाई पहिल्यैदेखि परमेश्वर हुनुहुन्न जस्तो लाग्थ्यो?” घरधनीले “पहिल्यैदेखि त त्यस्तो लाग्दैनथ्यो” भनेमा परमेश्वर हुनुहुन्न जस्तो लाग्न थाल्नुको खास कारण के हो भनेर सोध्न सक्छौं। जवाफ सुनेपछि तिनलाई राम्ररी मदत गर्न सक्नेछौं।हितोपदेश २०:५ पढ्नुहोस्।

६. प्रश्न गरेपछि हामीले के गर्नुपर्छ?

प्रश्न गरेपछि घरधनीको जवाफ राम्ररी सुन्नुपर्छ र तिनको भावनाको कदर गरेको कुरा बताउनुपर्छ। जस्तै, कसैले विपत्ति आइपरेकोले आफूलाई मायालु सृष्टिकर्ता हुनुहुन्न जस्तो लागेको कुरा बताउन सक्छन्‌। सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुराको प्रमाण दिनुअघि त्यस्तो विपत्ति भोग्नुपरेकोमा दुःख लागेको कुरा बताउन सक्छौं। त्यसपछि दुःखकष्ट किन आइपरेको होला भनेर सोच्नु गलत होइन भनेर बताउन सक्छौं। (हब. १:२, ३) धीरजी र मायालु भयौं भने तिनी अझ धेरै बुझ्न इच्छुक हुन सक्छन्‌। *

धर्मशास्त्रबाट तर्क गर्नुहोस्

प्रभावकारी तरिकामा प्रचार गर्न केले मदत गर्छ? (अनुच्छेद ७ हेर्नुहोस्)

७. प्रभावकारी तरिकामा प्रचार गर्न हामीले के गर्नै पर्छ?

धर्मशास्त्रबाट कसरी तर्क गर्न सक्छौं, अब त्यसबारे बुझौं। प्रचारमा हामीले चलाउने मुख्य साधन बाइबल हो। यसले हामीलाई “पूर्णतया योग्य र हरेक असल कामका लागि तयार बनाउँछ।” (२ तिमो. ३:१६, १७) प्रभावकारी  तरिकामा प्रचार गर्न थुप्रै पद पढेर सुनाउनु मात्र पर्याप्त छैन। धर्मशास्त्रबाट तर्क गर्नुपर्छ र पढेको कुरालाई राम्ररी व्याख्या गर्नुपर्छ। (प्रेषित १७:२, ३ पढ्नुहोस्) आउनुहोस्, यसबारे तीनवटा अवस्था विचार गरौं।

८, ९. (क) येशू र परमेश्वर बराबर हो भनेर विश्वास गर्ने मानिससित तर्क गर्ने एउटा तरिका के हो? (ख) त्यस्तो मानिससित तपाईंले कसरी तर्क गर्नुभएको छ?

अवस्था १: प्रचारमा येशू र परमेश्वर बराबर हो भनेर विश्वास गर्ने मानिस भेट्यौं। घरधनीसित तर्क गर्न हामी कस्ता पदहरू प्रयोग गर्न सक्छौं? तिनलाई यूहन्ना ६:३८ पढ्न लगाउन सक्छौं, जहाँ येशूले यसो भन्नुभएको छ: “म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न स्वर्गबाट ओर्लेर आएको हुँ।” पद पढिसकेपछि घरधनीलाई यसरी सोध्न सक्छौं: “येशू नै परमेश्वर हो भने उहाँलाई कसले स्वर्गबाट यहाँ पठायो त? पठाउने व्यक्ति येशूभन्दा ठूलो हुनुपर्दैन होला र? हुन पनि पठाइएको व्यक्ति भन्दा पठाउने व्यक्ति नै ठूलो हुन्छ नि, होइन?”

हामी फिलिप्पी २:९ पनि पढेर सुनाउन सक्छौं। प्रेषित पावलले त्यस पदमा येशूको मृत्यु र पुनर्जीवनपछि परमेश्वरले के गर्नुभयो भन्नेबारे बताएका छन्‌। उक्त पदमा यसो भनिएको छ: “परमेश्वरले उहाँलाई [येशूलाई] अझ उच्च पद दिनुभयो र दयालु भई अरू सबै नामहरूभन्दा उत्तम नाम दिनुभयो।” त्यस पदबाट तर्क गर्दै घरधनीलाई यसरी सोध्न सक्छौं: “मानौं येशूको मृत्युअघि उहाँ परमेश्वर बराबर हुनुहुन्थ्यो। पछि परमेश्वरले उहाँलाई उच्च पद दिनुभयो। त्यसोभए त परमेश्वरभन्दा पनि येशू ठूलो हुनुभएन र? तर परमेश्वरभन्दा ठूलो कोही होला र?” घरधनी परमेश्वरको वचनलाई आदर गर्छन्‌ र नम्र छन्‌ भने यसरी तर्क गर्दा तिनी अझ धेरै बुझ्न इच्छुक हुनेछन्‌।—प्रेषि. १७:११.

१०. (क) नरकको शिक्षामा विश्वास गर्नेहरूसित कसरी तर्क गर्न सक्छौं? (ख) नरकबारे छलफल गर्दा तपाईंले कसरी तर्क गर्नुभएको छ?

१० अवस्था २: घरधनीलाई खराब मानिसले नरकमा सास्ती भोग्दैनन्‌ भनेर मानिलिन गाह्रो भइरहेको छ। दुष्ट व्यक्तिले खराब कामको सजाय पाओस् भन्ने चाहेकोले तिनले नरकको शिक्षामा विश्वास गरेका हुन सक्छन्‌। त्यस्तो सोचाइ राख्ने मानिससित हामी कसरी तर्क गर्न सक्छौं? सबैभन्दा पहिला दुष्ट मानिसले अवश्य सजाय पाउनेछन्‌ भनेर तिनलाई विश्वस्त पार्नुपर्छ। (२ थिस्स. १:९) त्यसपछि उत्पत्ति २:१६, १७ पढ्न लगाउन सक्छौं। यस पदले पापको सजाय मृत्यु हो भनेर देखाउँछ। नरकमा सजाय भोग्नेबारे परमेश्वरले केही पनि नभन्नुभएको कुरा पनि औंल्याउन सक्छौं। त्यसपछि यसरी सोध्न सक्छौं: “आदम र हव्वाले नरकमा  सास्ती भोग्ने भए परमेश्वरले उनीहरूलाई त्यसबारे चेतावनी दिनुहुन्नथ्यो होला र?” त्यसपछि उत्पत्ति ३:१९ पढ्न सक्छौं। आदम र हव्वाले पाप गरेपछि यहोवाले उनीहरूलाई सजाय सुनाउनुभयो तर नरकबारे चाहिं केही पनि भन्नुभएन। बरु आदमलाई ऊ माटोमा फर्केर जानेछ भन्नुभयो। हामी यस्तो प्रश्न गर्न सक्छौं: “आदमले नरकमा सास्ती भोग्ने थियो भने परमेश्वरले किन ऊ माटोमा फर्केर जानेछ भन्नुहुन्थ्यो र?” घरधनी खुला विचारधाराका छन्‌ भने यस्तो प्रश्न गर्दा तिनी यस विषयमा अझ धेरै बुझ्न इच्छुक हुनेछन्‌।

११. (क) सबै असल मानिस स्वर्ग जान्छन्‌ भनेर विश्वास गर्ने मानिससित तर्क गर्ने एउटा तरिका के हो? (ख) यस विषयमा छलफल गर्दा तपाईंले कसरी तर्क गर्नुभएको छ?

११ अवस्था ३: सबै असल मानिस स्वर्ग जान्छन्‌ भनेर विश्वास गर्ने मानिस प्रचारमा भेट्यौं। घरधनीले यस्तो विश्वास गर्छन्‌ भने तिनले बाइबलको कुरा पनि गलत तरिकाले बुझ्न सक्छन्‌। मानौं हामीले घरधनीलाई प्रकाश २१:४ पढेर सुनायौं। (पढ्नुहोस्) त्यस पदले स्वर्गमा पाइने जीवनबारे कुरा गरेको हो जस्तो तिनलाई लाग्न सक्छ। हामी कसरी तर्क गर्न सक्छौं? प्रमाण दिन अन्य पदहरू देखाउनुको साटो त्यही पदमै जोड दिन सक्छौं। त्यस पदमा “मृत्यु हुनेछैन” भनिएको छ। त्यसैले यसरी सोध्न सक्छौं: “अस्तित्वमा भएको कुरालाई मात्रै नामेट पार्न सकिन्छ नि, होइन र?” तिनले “हो” भन्लान्‌। त्यसपछि “स्वर्गमा मृत्यु भन्ने कुरै छैन; मानिस मर्ने त पृथ्वीमा मात्रै हो” भन्न सक्छौं। त्यसैले प्रकाश २१:४ ले भविष्यमा पृथ्वीमा पाउने आशिष्‌बारे बताएको हो भन्नु उचित छ भनेर बताउन सक्छौं।—भज. ३७:२९.

भन्न खोजेको कुरा स्पष्ट पार्न दृष्टान्त चलाउनुहोस्

१२. येशूले किन दृष्टान्तहरू चलाउनुभयो?

१२ येशूले प्रचारमा प्रश्नका साथै दृष्टान्तहरू पनि चलाउनुभयो। (मत्ती १३:३४, ३५ पढ्नुहोस्) उहाँले चलाउनुभएका दृष्टान्तहरूले उहाँका श्रोताहरूको मनसाय छर्लङ्ग पाऱ्यो। (मत्ती १३:१०-१५) आफूले सिकाएको कुरा मानिसहरूले रमाइलो मानेर सुनून्‌ र सुनेको कुरा सम्झिरहन सकून्‌ भनेर पनि येशूले दृष्टान्तहरू चलाउनुभयो। हामी पनि कसरी दृष्टान्त चलाउन सक्छौं?

१३. येशूभन्दा परमेश्वर ठूलो हुनुहुन्छ भनेर बुझाउन तपाईं कस्तो दृष्टान्त चलाउनुहुन्छ?

१३ सरल दृष्टान्तहरू चलाउनु प्रभावकारी हुन्छ। जस्तै, येशूभन्दा परमेश्वर ठूलो हुनुहुन्छ भनेर बुझाउन यस्तो दृष्टान्त चलाउन सक्छौं। परमेश्वर र येशू दुवैले आफू दुईबीचको सम्बन्धलाई बुबा र छोराको सम्बन्धसित तुलना गर्नुभयो भनेर बताउन सक्छौं। (लूका ३:२१, २२; यूह. १४:२८) त्यसपछि घरधनीलाई यस्तो प्रश्न गर्न सक्छौं: “कुनै दुई व्यक्ति बराबर हो भनेर बुझाउन तपाईं कुन नाता प्रयोग गर्नुहुन्छ?” घरधनीले “दाजुभाइ-दिदीबहिनी वा जुम्ल्याहाको नाता” भन्लान्‌। त्यसपछि हामी यसो भन्न सक्छौं: “कस्तो राम्रो उदाहरण! हाम्रो दिमागमा त ठ्याक्कै यही उदाहरण आयो भने महान्‌ शिक्षक येशूको दिमागमा यो उदाहरण आएन होला र? तर उहाँले परमेश्वरलाई बुबा भन्नुभयो। यसरी आफूभन्दा परमेश्वर ठूलो भएको र आफूसित भन्दा उहाँसित धेरै अधिकार भएको कुरा येशूले देखाउनुभयो।”

१४. मानिसहरूलाई नरकमा सजाय दिन परमेश्वरले सैतानलाई चलाउनुहुन्न भनेर कुन दृष्टान्तले देखाउँछ?

१४ अर्को दृष्टान्त विचार गरौं। थुप्रै मुलुकका मानिसले सैतान नरकको हर्ताकर्ता हो भनेर विश्वास गर्छन्‌। मानौं हामीले प्रचारमा एक जना बुबालाई भेट्यौं। मानिसहरूलाई नरकमा सजाय दिन परमेश्वरले सैतानलाई चलाउनुहुन्न भनेर कसरी बुझाउन सक्छौं? हामी यसो भन्न सक्छौं: “तपाईंको छोरा विद्रोही भएको छ र खराब काम गरिरहेको छ भने तपाईं के गर्नुहुन्छ?” घरधनीले “म उसलाई सुधार्छु”  भन्लान्‌। तिनले छोरालाई सुधार्न निकै प्रयास गर्लान्‌। (हितो. २२:१५) त्यसपछि यसरी सोध्न सक्छौं: “कसै गरे पनि छोरा सुध्रेन भने नि?” धेरैजसो आमाबुबाले अरू कुनै उपाय नभएपछि त सजाय नै दिन्छु भन्न सक्छन्‌। त्यसपछि यस्तो प्रश्न गर्न सक्छौं: “एउटा खराब व्यक्तिले गर्दा तपाईंको छोरा विद्रोही भएको हो भनेर थाह पाउनुभयो भने के गर्नुहुन्छ?” उक्त घरधनीलाई पक्कै पनि त्यो खराब व्यक्तिदेखि रिस उठ्नेछ। आफूले त्यो दृष्टान्त चलाउनुको कारण स्पष्ट पार्दै अन्तमा यसरी सोध्न सक्छौं: “खराब व्यक्तिले गर्दा तपाईंको छोरा विद्रोही भएको हो भनेर थाह पाएपछि पनि के तपाईं त्यही व्यक्तिलाई ‘मेरो छोरालाई सजाय दिनुस्’ भन्नुहुन्छ र?” घरधनीले पक्कै पनि “त्यसो त भन्दिनँ” भन्नेछन्‌। स्पष्ट छ, मानिसहरूलाई खराब काम गर्न लगाउने सैतान हो। त्यसकारण मानिसहरूलाई सजाय दिन परमेश्वरले सैतानलाई चलाउनुहुन्न।

सन्तुलित हुनुहोस्

१५, १६. (क) सबैले राज्य सन्देश स्वीकार्छन्‌ भनेर किन आस गर्नुहुँदैन? (ख) प्रभावकारी तरिकामा सिकाउन के हामीमा विशेष खुबी हुनै पर्छ? व्याख्या गर्नुहोस्। (“ जवाफ दिन मदत गर्ने एउटा साधन” भन्ने पेटी पनि हेर्नुहोस्)

१५ प्रचारमा हामीले सही प्रश्न गरौंला, राम्रो तर्क र राम्रो दृष्टान्त चलाऔंला; तैपनि सबैले राज्य सन्देश स्वीकार्छन्‌ भन्ने छैन। (मत्ती १०:११-१४) येशू सबैभन्दा महान्‌ शिक्षक हुनुहुन्थ्यो। तर थोरैले मात्र उहाँको शिक्षा स्वीकारे।—यूह. ६:६६; ७:४५-४८.

१६ आफूमा विशेष खुबी छैन जस्तो लाग्छ भने पनि हामी प्रभावकारी तरिकामा प्रचार गर्न सक्छौं। (प्रेषित ४:१३ पढ्नुहोस्) “अनन्त जीवन पाउन लायक” सबैले सुसमाचार स्वीकार्नेछन्‌ भनी बाइबल हामीलाई आश्वासन दिन्छ। (प्रेषि. १३:४८) त्यसैले हामी सन्तुलित हुनुपर्छ। हामीले आफ्नो शिक्षणकला तिखार्ने कोसिस गर्नुपर्छ तर मानिसहरूले सुसमाचार स्वीकारेनन्‌ भने पनि निराश हुनुहुँदैन। यहोवाले दिने तालिमको पूर्ण सदुपयोग गऱ्यौं भने यसले हामीलाई र हाम्रो कुरा सुन्नेहरूलाई लाभ पुऱ्याउनेछ। (१ तिमो. ४:१६) ‘हरेकलाई कसरी जवाफ दिनुपर्ने हो,’ सो बुझ्न यहोवा हामीलाई मदत गर्नुहुन्छ। प्रचारकार्यमा सफल हुने अर्को तरिका सुनौलो नियम पालन गर्नु हो। यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

^ अनु. 6 अक्टोबर १, २००९ को प्रहरीधरहरा-को (अङ्ग्रेजी) “सृष्टिकर्तामाथि फेरि विश्वास गर्नु सम्भव छ?” भन्ने लेख हेर्नुहोस्।