अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मे २०१४

 जीवनी

यहोवाले मलाई साँच्चै सहायता गर्नुभएको छ

यहोवाले मलाई साँच्चै सहायता गर्नुभएको छ

मुटु काम्ने जाडो थियो। बिहान सबेरै मेरी श्रीमती एभलीनसँगै रेलबाट होर्नपानमा झरें। यो ठाउँ क्यानाडाको ओन्टारियोको उत्तरतर्फ पर्छ। हामीलाई लिन त्यहाँको एक जना भाइ आउनुभयो। उहाँ, उहाँकी श्रीमती र उहाँको छोरासँगै टन्न नास्ता खाएपछि हामी सबै जना हिउँले ढाकिएको बाटो हिंडेर घरघरको प्रचार गयौं। दिउँसो मैले जनभाषण दिएँ। क्षेत्रीय निरीक्षक नियुक्त भएपछि मैले दिएको यो पहिलो भाषण थियो। सभामा हामी पाँच जनाबाहेक अरू कोही थिएनन्‌।

सन्‌ १९५७ मा मैले दिएको त्यो भाषण सुन्न अरू कोही नआए पनि मलाई खल्लो लागेन। किन तपाईंलाई थाह छ? किनकि म असाध्यै लजालु थिएँ। सानो छँदा घरमा कोही पाहुना आउनासाथै लुकिहाल्थें। चिनेकै मान्छे आउँदा पनि त्यसै गर्थें।

यो सुन्दा तपाईंलाई छक्क लाग्ला, मैले पाएका धेरैजसो जिम्मेवारी चिनेका मानिसहरूसँग मात्र होइन, नचिनेका मानिसहरूसँग पनि भेटघाट र कुराकानी गर्नुपर्ने खालका थिए। लाज र निर्धक्कताको कमीले मलाई अहिले पनि छोडेको छैन। त्यसैले आफ्नो सफलताको श्रेय आफै लिन चाहन्नँ। यशैयाको किताबमा उल्लेख गरिएको यहोवाको यो प्रतिज्ञा उहाँले पूरा गर्नुभएको अनुभव गरेको छु: “म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु।” (यशै. ४१:१०) यहोवाले भाइबहिनीहरूमार्फत मलाई सहायता गर्नुभएको छ। मलाई सहायता गर्न यहोवाले क–कसलाई चलाउनुभयो? म सानो छँदाको कुरादेखि बताउँछु।

उहाँले बाइबल र कालो नोटबुक प्रयोग गर्नुभयो

ओन्टारियोको दक्षिण-पश्‍चिममा रहेको हाम्रो घर

सन्‌ १९४० तिर आइतबारको घमाइलो बिहानी एल्सी हटिङ्गफर्ड प्रचार गर्न ओन्टारियोको दक्षिण-पश्‍चिममा रहेको हाम्रो घरमा आउनुभयो। आमाले ढोकामै गएर कुरा गर्नुभयो। बुबा मजस्तै लजालु हुनुहुन्थ्यो। त्यसैले मसँगै भित्र बसेर कुरा सुनिरहनुभएको थियो। बुबाले बहिनी हटिङ्गफर्डलाई  सामान बेच्न आएको मान्छे सम्झनुभयो। आमाले नचाहिएको सामान किन्नुहोला भनेर उहाँ ढोकामा जानुभयो अनि हामीलाई यसमा चासो छैन भन्नुभयो। बहिनी हटिङ्गफर्डले “तपाईंलाई बाइबल अध्ययनमा चासो छैन?” भनेर सोध्नुभएपछि चाहिं बुबाले “त्यसमा त हामीलाई चासो छ” भन्नुभयो।

बहिनी हटिङ्गफर्डले भेट्नुहुँदा मेरो आमाबुबा बाइबल सत्य स्वीकार्न इच्छुक हुनुभयो। उहाँहरू क्यानाडाको संयुक्त चर्चको सक्रिय सदस्य हुनुहुन्थ्यो। तर हालै उहाँहरूले चर्च छोड्नुभएको थियो। किन? सबैले देख्ने ठाउँमा पादरीले चन्दा दिनेहरूको सूची टाँसेका थिए। धेरै चन्दा दिनेहरूको नाम अगाडि राखिएको थियो। मेरो बुबाआमा त्यत्ति धनी हुनुहुन्नथ्यो। त्यसैले धेरै चन्दा दिन सक्नुहुन्नथ्यो। उहाँहरूको नाम पुछारतिर थियो। पादरीहरू उहाँहरूलाई अलि धेरै चन्दा दिन कर गर्थे। अर्का पादरीले जागिर जोगाउनको लागि आफूलाई विश्वासै नभएको कुरा सिकाइरहेको स्वीकारे। त्यसैले हामीले चर्च छोड्यौं तर बाइबल सत्यको खोजी गर्न भने छोडेनौं।

क्यानाडामा यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाइएको थियो। त्यसैले बहिनी हटिङ्गफर्डले हाम्रो परिवारलाई अध्ययन गराउन बाइबल र आफूसँग भएको कालो नोटबुकको टिपोट मात्र प्रयोग गर्नुहुन्थ्यो। हामीले उहाँलाई धोका दिएर पक्राउनेछैनौं भनेर पक्का भएपछि भने उहाँले अरू प्रकाशनहरू पनि ल्याउन थाल्नुभयो। अध्ययन सिद्धिनेबित्तिकै हामी प्रकाशनहरू लुकाइहाल्थ्यौं। *

मेरो आमाबुबाले सत्य स्वीकार्नुभयो र १९४८ मा बप्तिस्मा गर्नुभयो

विरोधको बेलामा अप्ठ्याराहरू त थिए तर बहिनी हटिङ्गफर्ड जोसका साथ प्रचार गर्नुहुन्थ्यो। उहाँको जोसले मलाई सत्यको पक्षमा अडान लिन मदत गऱ्यो। मेरा आमाबुबाले मैलेभन्दा एक वर्षअघि बप्तिस्मा गर्नुभएको थियो। मैलेचाहिं फेब्रुअरी २७, १९४९ मा गाईवस्तुलाई पानी दिने फलामको डुँडमा बप्तिस्मा गरें। त्यतिबेला म १७ वर्षको थिएँ। त्यसपछि मैले पूर्ण-समय सेवामा लाग्ने अठोट गरें।

यहोवाले मलाई साहसी हुन मदत गर्नुभयो

सन्‌ १९५२ मा बेथेलमा बोलाइँदा म छक्क परें

अग्रगामी सेवा सुरु गरिहाल्ने आँट गरिनँ। पैसा जोगाएमा मात्र अग्रगामी सेवा गर्न सकिन्छ जस्तो लाग्थ्यो। त्यसैले केही समय बैंकमा र अफिसमा काम गरें। तर अल्लारे ठिटो भएकोले कमाएको सबै पैसा सिध्याइहाल्थें।  त्यसैले टेड सर्जेन्ट नाम गरेको भाइले मलाई साहसी हुन र यहोवामा भरोसा गर्न प्रोत्साहन दिनुभयो। (१ इति. २८:१०) उहाँले दिनुभएको प्रोत्साहनले गर्दा नोभेम्बर १९५१ मा अग्रगामी सेवा सुरु गरें। त्यतिबेला मसँग ४० डलर (लगभग ४,००० रुपैयाँ), एउटा पुरानो साइकल र एउटा नयाँ सुटकेस मात्र थियो। तर यहोवाले सधैं मेरो खाँचो पूरा गर्नुभयो। भाइ टेडले अग्रगामी सेवा सुरु गर्न प्रोत्साहन दिनुभएकोमा म असाध्यै कृतज्ञ छु। अग्रगामी सेवाको कारण थप आशिष्‌को ढोका खुल्यो।

अगस्त १९५२ को एक साँझ टोरोन्टोबाट मलाई फोन आयो। क्यानाडा शाखाले मलाई सेप्टेम्बरदेखि बेथेल सेवा सुरु गर्न बोलायो। लजालु स्वभावको र पहिला कहिल्यै बेथेल नगएको भए तापनि बेथेलबारे अरू अग्रगामीहरूले भनेको कुराले गर्दा उत्साहित थिएँ। त्यहाँ पुगेपछि बेथेल आफ्नै घरजस्तो लाग्न थाल्यो।

“भाइबहिनीको ख्याल राख्नुहुन्छ भनेर देखाउनुहोस्”

बेथेल आएको दुई वर्ष पछि टोरोन्टोको एउटा मण्डलीमा भाइ बिल याकसको सट्टा मण्डली सेवक (अहिले एल्डरहरूको निकायको संयोजक भनिन्छ) नियुक्त भएँ। म आफूलाई भर्खरै २३ वर्ष पुगेको एउटा सोझो गाउँले ठिटो ठान्थें। तर भाइ याकसले मलाई जिम्मेवारी सम्हाल्न सिकाउनुभयो। अनि यहोवाले पनि साँच्चै सहायता गर्नुभयो।

भाइ याकस होचो र डम्म परेको अनि हँसिलो हुनुहुन्थ्यो। उहाँ भाइबहिनीको असाध्यै ख्याल राख्नुहुन्थ्यो। भाइबहिनीलाई उहाँ माया गर्नुहुन्थ्यो अनि भाइबहिनीहरू पनि उहाँलाई माया गर्थे। उहाँ भाइबहिनीलाई समस्या पर्दा मात्र हैन अरू बेला पनि भेट्न जाने गर्नुहुन्थ्यो। भाइ याकसले मलाई पनि त्यसै गर्न र भाइबहिनीसँगै प्रचार जान प्रोत्साहन दिनुभयो। उहाँले यसो भन्नुभयो: “केन, भाइबहिनीको ख्याल राख्नुहुन्छ भनेर देखाउनुहोस्। यसो गर्दा उहाँहरूले तपाईंको कमीकमजोरीलाई बेवास्ता गर्नुहुनेछ। बुझ्न अनि क्षमाशील हुन सक्नुहुन्छ।”

मेरी श्रीमतीले वफादार प्रेम देखाइन्‌

जनवरी १९५७ देखि यहोवाले मलाई एउटा विशेष तरिकामा सहायता गर्नुभएको छ। त्यो महिना मैले गिलियड स्कूलको १४ औं कक्षाबाट स्नातक गरेकी एभलीनसँग विवाह गरें। हाम्रो विवाहअघि उनी क्युबेकको फ्रान्सेली भाषा बोल्ने इलाकामा सेवा गर्दै थिइन्‌। क्युबेकमा त्यतिखेर रोमन क्याथोलिक चर्चको बाहुल्य थियो। एभलीनको काम सजिलो त थिएन तर उनी यहोवा र आफ्नो जिम्मेवारीप्रति वफादार रहिन्‌।

एभलीन र मैले १९५७ मा विवाह गऱ्यौं

एभलीन मप्रति पनि वफादार रहेकी छिन्‌। (एफि. ५:३१) विवाह भएको धेरै समय नबित्दै उनको वफादारीको जाँच भयो! हामीले फ्लोरिडा घुम्न जाने योजना बनाएका थियौं। तर विवाहको भोलिपल्टै शाखा कार्यालयले मलाई एक हप्ते सभाको लागि क्यानाडा बेथेल जान आग्रह गऱ्यो। यो सभाले हाम्रो योजनालाई त असर गर्नेथियो तर यहोवाले जे चाहनुहुन्छ, हामी त्यही गर्न चाहन्थ्यौं। त्यसैले घुम्न जाने योजना रद्द गऱ्यौं। त्यो हप्ता एभलीनले शाखा कार्यालय नजिकै प्रचारकार्यमा भाग लिइन्‌। यो इलाका क्युबेकभन्दा फरक भए तापनि उनले प्रचारकार्यमा भाग लिइरहिन्‌।

त्यस हप्ताको अन्तमा सोच्दै नसोचेको सुअवसर पाएँ।  मलाई ओन्टारियोको उत्तरी इलाकामा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न खटाइयो। मसँग त्यत्ति अनुभव थिएन र उमेर पनि भर्खरै २५ वर्ष मात्र पुगेको थियो। तर हामीले आफ्नो सारा भरोसा यहोवामा राख्यौं। त्यतिबेला क्यानाडामा मध्य जाडो थियो। आफ्नो क्षेत्रमा फर्कन लागेका अनुभवी परिभ्रमण निरीक्षकहरूसँगै रातभरि रेल यात्रा गऱ्यौं। उहाँहरूले हामीलाई धेरै प्रोत्साहन दिनुभयो। एक जना परिभ्रमण निरीक्षकले सुतेर यात्रा गर्न सकिने सिट बुक गर्नुभएको रहेछ। तर हामीलाई सजिलो होस् भनेर उहाँले त्यो सिट लिन कर गर्नुभयो। भोलिपल्ट हाम्रो विवाहको १५ औं दिन थियो। त्यस बिहानी मैले सुरुमा बताएको होर्नपानको एउटा सानो समूहमा भ्रमण गर्न लागेका थियौं।

एभलीन र मैले अझ ठूला परिवर्तनहरू सामना गर्न बाँकी नै थियो। सन्‌ १९६० को अन्ततिर जिल्ला निरीक्षकको रूपमा सेवा गरिरहेको बेला गिलियड स्कूलको दस महिने तालिमको लागि निम्तो पाएँ। त्यो स्कूल फेब्रुअरी १९६१ को सुरुतिर न्यु योर्कको ब्रूक्लिनमा हुनेथियो। खुसीले मेरो खुट्टा भूइँमै थिएन। तर अरू भाइहरूको श्रीमतीलाई जस्तै एभलीनलाई पनि त्यस स्कूलमा बोलाइएको थिएन। त्यसैले म अलि खिन्न भएँ। एभलीनले म गिलियड गएको बेला आफू क्यानाडामै बस्न राजी छु भनेर पत्र पठाउनुपर्थ्यो। उनको आँखाबाट बरबरी आँसु झऱ्यो। तैपनि म गिलियड जाने कुरामा हामी दुवै जना सहमत भयौं। मैले त्यस स्कूलबाट प्रशिक्षण पाउने भएकोले उनी खुसी थिइन्‌।

म गिलियड स्कूल गएको बेला एभलीनले क्यानाडा बेथेलमा सेवा गरिन्‌। उनले मार्ग्रेट लभेल नाम गरेकी अभिषिक्त बहिनीसँग एउटै कोठामा बस्ने सुअवसर पाइन्‌। हामी दुवैलाई एक-अर्काको यादले धेरै सतायो। तर यहोवाको मदतले गर्दा छोटो समयको लागि पाएका यी सुअवसरमा रमाउन सक्यौं। यहोवा र उहाँको सङ्गठनको लागि हामी अझ उपयोगी हुन सकौं भनेर एभलीनले मसँगै बिताउने समय पनि त्याग गर्न इच्छुक भएको देख्दा मेरो मनै छोयो।

गिलियड स्कूलमा गएको तीन महिनाजति भएको थियो, भाइ नेथन एच. नोरले एउटा बेग्लै खालको प्रस्ताव राख्नुभयो। उहाँले त्यतिखेर यहोवाका साक्षीहरूको विश्वव्यापी गतिविधिको नेतृत्व लिइरहनुभएको थियो। केही समयका लागि राज्य सेवा स्कूलको प्रशिक्षकको रूपमा सेवा गर्न गिलियड स्कूल छोडेर क्यानाडा फर्कन सक्नुहुन्छ कि भनेर उहाँले सोध्नुभयो। निम्तो स्वीकार्नै पर्छ भन्ने त छैन, चाहेमा गिलियडको तालिम पूरा गरेर मिसनरी कार्य सुरु गर्न सक्नुहुन्छ भनेर पनि बताउनुभयो। क्यानाडा फर्कने निर्णय गरेमा गिलियड स्कूलमा फेरि कहिल्यै नबोलाइन सक्छ भनेर पनि भन्नुभयो। मैले श्रीमतीसित कुरा गरेर निर्णय गर्नुपर्ने थियो।

यहोवाको सेवा गर्ने सुअवसरलाई एभलीन कसरी हेर्छिन्‌ भनेर मलाई थाह थियो। आफ्नो चाहना फरक भए पनि यहोवाले जहाँ खटाउनुहुन्छ, त्यहाँ जान तयार हुनुपर्छ भनेर हामीले बुझेका थियौं। त्यसैले भाइ नोरलाई मैले तुरुन्तै यस्तो जवाफ दिएँ: “यहोवाको सङ्गठनले जहाँ खटाए पनि हामी तयार छौं।”

 अप्रिल १९६१ मा राज्य सेवा स्कूलमा सिकाउन ब्रूक्लिनबाट क्यानाडा गएँ। पछि हामीले बेथेल सेवा गऱ्यौं। गिलियड स्कूलको ४० औं कक्षामा भाग लिन १९६५ मा फेरि बोलाइँदा म छक्क परें। एभलीनले फेरि पनि छुट्टै बस्न राजी छु भनेर पत्र लेख्नुपर्थ्यो। तर केही हप्तापछि एभलीनले पनि मसँगै गिलियडमा जाने निम्तो पाइन्‌। हामी दुवै जना असाध्यै रमायौं।

गिलियड स्कूल आएपछि भाइ नोरले हामीजस्तै फ्रान्सेली भाषा जान्नेहरूलाई अफ्रिका खटाइनेछ भन्नुभयो। तर दीक्षान्त समारोहमा हामीलाई क्यानाडा खटाइयो! मलाई नयाँ शाखा निरीक्षकको रूपमा (अहिले शाखा समिति संयोजक) नियुक्त गरियो। त्यतिखेर म ३४ वर्षको मात्र थिएँ। त्यसैले भाइ नोरलाई मैले भनें: “म अलि आलोकाँचो छु।” तर उहाँले मलाई प्रोत्साहन दिनुभयो। सुरुदेखि नै मैले महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा बेथेलमा सेवा गर्ने अनुभवी र पाका भाइहरूसँग सल्लाह लिने गरें।

बेथेल—सिक्ने र सिकाउने ठाउँ

बेथेल सेवा गर्दा मैले अरूबाट सिक्ने राम्रो मौका पाएको छु। शाखा समितिका अरू सदस्यहरूको म सधैं आदर र प्रशंसा गर्छु। शाखामा र विभिन्न मण्डलीमा सँगै सेवा गरेका जवान तथा वृद्ध भाइबहिनीको असल उदाहरणले मेरो मन छोएको छ।

क्यानाडा बेथेलमा बिहानको उपासना सञ्चालन गर्दै

बेथेल सेवा गर्दा अरूलाई सिकाउने र उनीहरूको विश्वास बलियो बनाउने मौका पनि पाएको छु। प्रेषित पावलले तिमोथीलाई यसो भने: “आफूले सिकेका . . . कुराहरूमा लागिरह।” उनले यसो पनि भने: “तिमीले मबाट जे-जे सुन्यौ अनि जसबारे धेरैले साक्षी पनि दिए, ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ, ताकि तिनीहरू पनि अरूलाई सिकाउन योग्य हुन सकून्‌।” (२ तिमो. २:२; ३:१४) मैले बेथेल सेवा गरेको ५७ वर्ष भइसक्यो। केही सङ्गी ख्रीष्टियनले कहिलेकाहीं मलाई यत्रो वर्षको बेथेल सेवाबाट के सिक्नुभयो भनेर सोध्छन्‌। मैले सिकेको कुरा हो: “यहोवाको सङ्गठनले माग गरेको कुरा गर्न इच्छुक हुनुहोस् अनि तुरुन्तै त्यसैअनुसार गर्नुहोस्। यहोवाले सहायता गर्नुहुनेछ।”

बेथेल आएको हिजोजस्तो मात्र लाग्छ। त्यतिखेर म लजालु र अनुभवहीन केटो थिएँ। त्यसदेखि यता यहोवाले सधैं मेरो ‘दाहिने हात समात्नुभएको छ।’ विशेषगरि सँगी ख्रीष्टियनहरू प्रयोग गरेर उहाँले मलाई यसरी ढुक्क पार्नुभएको छ: “नडरा, म तँलाई सहायता गर्नेछु।”—यशै. ४१:१३.

^ अनु. 10 मे २२, १९४५ मा क्यानाडा सरकारले यहोवाका साक्षीहरूमाथि लागेको प्रतिबन्ध हटायो।