अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अप्रिल २०१४

 जीवनी

पूर्ण-समय सेवा गर्दा मैले थुप्रै सुअवसर पाएँ

पूर्ण-समय सेवा गर्दा मैले थुप्रै सुअवसर पाएँ

पूर्ण-समय सेवामा बिताएको ६५ वर्षलाई फर्केर हेर्दा जीवन असाध्यै रमाइलो भएको छ भन्न सक्छु। जीवनमा दुःख नै आइपरेन, निराश नै हुनुपरेन भन्न खोजेको त होइन। (भज. ३४:१२; ९४:१९) तर समग्रमा भन्नुपर्दा मेरो जीवन असाध्यै इनामदायी र उद्देश्यपूर्ण भएको छ!

सन्‌ १९५० सेप्टेम्बर ७ को दिन म ब्रूक्लिन बेथेल परिवारको सदस्य भएँ। त्यसबेला १९ देखि ८० वर्षबीचका विभिन्न देशका ३५५ भाइबहिनीले बेथेल सेवा गर्दै थिए। तीमध्ये धेरैजसो अभिषिक्त ख्रीष्टियनहरू थिए।

यहोवाको सेवा यसरी सुरु गरें

मेरो बप्तिस्माको दिन, १० वर्षको हुँदा

आमाले मलाई “आनन्दित परमेश्वरको” सेवा गर्न सिकाउनुभयो। (१ तिमो. १:११) म सानै छँदादेखि उहाँले यहोवाको सेवा थाल्नुभयो। मैले १९३९ जुलाई १ को दिन दस वर्षको उमेरमा क्षेत्रीय सम्मेलनमा बप्तिस्मा गरें। त्यो सम्मेलन संयुक्त राज्य अमेरिकाको कोलम्बसस्थित नेब्रास्कामा भाडामा लिइएको भवनमा गरिएको थियो। “फासिस्टवाद वा स्वतन्त्रता” भन्ने विषयमा जोसेफ रदरफोर्डले दिनुभएको भाषणको रेकर्डिङ सुन्न सय जना जति भेला भएका थियौं। भाषण आधाजसो सिद्धिएको थियो। त्यसैबेला भवनबाहिर एउटा जमात खडा भयो। तिनीहरू जबरजस्ती भित्र छिरे, हाम्रो सभा बीचमै रोके र हामीलाई त्यो सहरबाटै लखेटे। हामी त्यो सहरनजिकै एक जना भाइको घरमा जम्मा भयौं र बाँकी कार्यक्रम त्यहीं सुन्यौं। यस्तो परिस्थितिमा बप्तिस्मा गरेकोले मैले आफ्नो बप्तिस्माको दिन कहिल्यै बिर्सेको छैन।

मलाई सत्यमा हुर्काउन आमाले अथक प्रयास गर्नुभयो। बुबा असल व्यक्ति हुनुहुन्थ्यो र असल बुबा पनि हुनुहुन्थ्यो। तर धर्मबारे वा मेरो आध्यात्मिक आवश्यकता पूरा गर्नेबारे भने उहाँलाई त्यति चासो थिएन। आमा र ओमाहा मण्डलीका अरू साक्षीहरूले मलाई आवश्यक प्रोत्साहन दिनुभयो।

बेग्लै छनौट

हाई-स्कूलको पढाइ सिद्धिनै लागेको थियो। त्यसैले अब के गर्ने भनेर निर्णय गर्नुपर्ने थियो। स्कूलमा गर्मी बिदा हुँदा आफ्नै उमेरका अरू प्रकाशकसँगै अग्रगामी सेवा गर्थें।

भर्खरै मात्र गिलियड स्कूलको सातौं कक्षामा भाग लिएका दुई अविवाहित भाइ जोन चिमिक्लिस र टेड जारासलाई हाम्रो इलाकामा परिभ्रमण कार्य गर्न खटाइएको थियो। उहाँहरू २०/२२ वर्षको मात्र हुनुहुन्छ भनेर थाह पाउँदा म त छक्कै परें। त्यतिबेला म १८ वर्षको थिएँ र हाई-स्कूलको पढाइ सिद्धिनै लागेको थियो। भाइ चिमिक्लिसले मलाई भविष्यको योजनाबारे सोधेको क्षण अझै याद आउँछ। आफ्नो योजनाबारे बताउँदा उहाँले मलाई यस्तो सल्लाह दिनुभयो: “तुरुन्तै पूर्ण-समय सेवा थाल्नुहोस्। तपाईंले सोच्दै  नसोचेको सुअवसरहरू पाउनुहुनेछ।” त्यो सल्लाह र ती भाइहरूको उदाहरणले ममा गहिरो छाप पाऱ्यो। त्यसैले हाई-स्कूलको पढाइपछि १९४८ मा अग्रगामी सेवा सुरु गरें।

म यसरी बेथेल आइपुगें

जुलाई १९५० मा बुबाआमासितै न्यु योर्कको याङ्की रङ्गशालामा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा गएँ। बेथेल सेवा गर्न चाहनेहरूको लागि भएको सभामा पनि उपस्थित भएँ। अनि बेथेल सेवाको आवेदन फारम भरेर पठाएँ।

मैले अग्रगामी सेवा गरेकोमा र उहाँहरूसितै बसेकोमा बुबालाई केही आपत्ति थिएन। तर खाने-बस्ने खर्च धान्न मैले पनि सहयोग गरेको उहाँ चाहनुहुन्थ्यो। अगस्त महिनाको सुरुतिर काम खोज्न निस्कँदा पहिला मेलबक्समा कुनै पत्र आएको छ कि भनेर हेर्न गएँ। मेरो लागि ब्रूक्लिनबाट पत्र आएको रहेछ। त्यसमा नेथन एच. नोरले हस्ताक्षर गर्नुभएको थियो। पत्रमा उहाँले यस्तो लेख्नुभएको थियो: “बेथेल सेवाको लागि तपाईंले बुझाउनुभएको आवेदन पाएँ। तपाईं जीवनभर बेथेलमै बस्न सहमत हुनुहुन्छ भनेर मलाई विश्वास छ। तपाईं १९५० सेप्टेम्बर ७ को दिन १२४ कोलम्बिया हाइट्स, ब्रूक्लिन, न्यु योर्कमा अवस्थित बेथेलमा आउनुहोस्।”

त्यो दिन बुबा कामबाट फर्केपछि मैले उहाँलाई काम पाएँ भनेर बताएँ। उहाँले भन्नुभयो, “ए हो, कुन ठाउँमा?” मैले जवाफ दिएँ, “ब्रूक्लिन बेथेलमा। महिनाको १० डलर (लगभग ९५० रुपैयाँ)।” मेरो कुरा सुनेर उहाँ छक्क पर्नुभयो। तर निर्णय नै गरिसकेको हो भने सफल हुन कोसिस गर्नू भनेर सल्लाह दिनुभयो। त्यसको केही वर्षपछि १९५३ मा याङ्की रङ्गशालामा आयोजित अधिवेशनमा उहाँले बप्तिस्मा गर्नुभयो।

खुसीको कुरा, मेरो अग्रगामी साथी अल्फर्ड नस्रल्लालाई पनि बेथेल बोलाइयो। त्यसैले हामीले सँगै यात्रा गऱ्यौं। पछि उहाँले विवाह गर्नुभयो अनि उहाँ र उहाँकी श्रीमती जोआन गिलियड जानुभयो। उहाँहरूलाई लेबनानमा मिसनरीको रूपमा खटाइयो र पछि फेरि अमेरिकामै परिभ्रमण कार्यमा खटाइयो।

अग्रगामी साथी अल्फर्ड नस्रल्लासँग

बेथेलको जिम्मेवारी

बेथेल गएपछि पहिला किताबहरू बाइन्डिङ गर्ने काम गरें। मैले सबैभन्दा सुरुमा काम गरेको किताबको नाम धर्मले मानिसजातिको लागि के गरेको छ? (अङ्ग्रेजी) भन्ने थियो। आठ महिनाजति बाइन्डिङको काम गरेपछि भाइ थोमस जे. सलिभनको निर्देशनमा रहेर सेवा विभागमा काम गर्ने जिम्मेवारी पाएँ। उहाँसित काम गर्न पाउनु अनि यहोवाको सङ्गठनमा उहाँले वर्षौंदेखि बटुल्नुभएको अनुभव र बुद्धिबाट लाभ उठाउन पाउनु मेरो लागि एकदमै ठूलो कुरा थियो।

सेवा विभागमा काम गरेको तीन वर्षजति भएको थियो। एकदिन छापाखानाका निरीक्षक म्याक्स लार्सनले भाइ नोरले मलाई बोलाउनुभएको कुरा बताउनुभयो। केही गल्ती पो गरें कि जस्तो लाग्यो। तर भाइ नोरले बेथेल छोड्ने योजना छ कि भनेर सोध्न बोलाएको कुरा बताउँदा ढुक्क भएँ। केही समयको लागि उहाँको अफिसमा काम गर्न उहाँलाई कोही चाहिएको रहेछ। त्यसैले उहाँ त्यो जिम्मेवारी मलाई दिन चाहनुहुन्थ्यो। मैले बेथेल छोड्ने कुनै योजना नभएको कुरा बताएँ। त्यसपछि २० वर्षसम्म उहाँको अफिसमा काम गर्ने सुअवसर पाएँ।

भाइ सलिभन र भाइ नोरसित काम गर्दा मैले यति धेरै कुरा सिकें जसको मोल म कहिल्यै चुक्ता गर्न सक्दिनँ। साथै मिल्टन हेन्सेल, क्लाउस जेनसेन, म्याक्स लार्सन, ह्युगो रिमर, ग्रान्ट सुटरजस्ता बेथेलका अरू भाइहरूबाट पनि धेरै कुरा सिकें। *

मैले सँगै काम गरेका भाइहरू सङ्गठनका कामहरू एकदमै व्यवस्थित तरिकामा गर्नुहुन्थ्यो। भाइ नोर काममा असाध्यै  तल्लीन हुनुहुन्थ्यो र राज्य गतिविधि सकेसम्म धेरै ठाउँमा फैलिएको हेर्न चाहनुहुन्थ्यो। उहाँको अफिसमा काम गर्नेहरूलाई उहाँसित कुरा गर्न सजिलो लाग्थ्यो। कुनै विषयमा भिन्नाभिन्नै धारणा भएमा हामी खुलस्त तरिकामा बताउन सक्थ्यौं र उहाँ हामीलाई भरोसा गर्नुहुन्थ्यो।

एक दिन भाइ नोरले सानोजस्तो देखिने काम पनि होसियार भई गर्नुपर्ने आवश्यकताबारे मलाई बताउनुभयो। जस्तै, उहाँ छापाखाना निरीक्षक छँदा भाइ रदरफोर्डले फोन गरेर उहाँलाई यसो भन्नुभएको रहेछ: “भाइ नोर, तपाईं दिउँसो खाना खान आउँदा मेरो लागि मेट्ने रबरहरू ल्याइदिनुस् है। मलाई चाहिएको छ।” भाइ नोरले बताएअनुसार उहाँ सबैभन्दा पहिला रबर लिन जानुभयो र खल्तीमा हाल्नुभयो। अनि दिउँसो भाइ रदरफोर्डको अफिसमा पुऱ्याइदिनुभयो। यो सानो कुरा भए तापनि भाइ रदरफोर्डको लागि आवश्यक कुरा थियो। त्यसपछि भाइ नोरले मलाई यसो भन्नुभयो: “मलाई सिसाकलम तीखो चाहिन्छ। हरेक बिहान मेरो टेबुलमा राम्ररी ताछेको सिसाकलम राख्दिनुस् है!” वर्षौंसम्म मैले उहाँको सिसाकलम तीखो छ कि छैन भनेर पक्का गरें।

कुनै काम गर्न लगाइँदा ध्यान दिएर सुन्नुपर्ने आवश्यकताबारे पनि भाइ नोरले मलाई थुप्रै पटक भन्नुभयो। एकपटकको कुरा हो, उहाँले एउटा कामको विषयमा मलाई राम्ररी बुझाउनुभएको थियो तर मैले ध्यान दिएर सुनिनँ। मैले काम बिगारेकोले उहाँलाई साह्रै गाह्रो भयो। मलाई एकदमै डर लाग्यो। त्यसैले चिठी लेखेर आफूलाई असाध्यै पछुतो लागेको कुरा बताएँ अनि उहाँको अफिसबाट अन्तै सारिदिन आग्रह गरें। त्यही बिहान भाइ नोर मेरो अफिसमा आउनुभयो र भन्नुभयो: “रोबर्ट मैले तपाईंको चिठी पढें। तपाईंले काम बिगार्नुभयो। यसबारे तपाईंसित पहिल्यै कुरा गरेको थिएँ। तर भविष्यमा अझ होसियार हुनुहुनेछ भन्ने कुरामा पक्का छु। अब दुवै जना मिलेर काम गरौं।” उहाँको दयालु व्यवहारको लागि मैले कृतज्ञता व्यक्त गरें।

विवाह गर्ने इच्छा

बेथेल सेवा गरेको आठ वर्ष भएको थियो। बेथेल सेवा गरिरहने बाहेक मेरो अरू योजना थिएन। तर पछि मैले अर्को योजना पनि बनाएँ। याङ्की रङ्गशाला र पोलो ग्राउन्ड्समा १९५८ मा आयोजित अन्तरराष्ट्रिय अधिवेशनको बेला मैले लोरेन ब्रूक्सलाई देखें। उनलाई पहिलो चोटि १९५५ मा क्यानाडाको मन्ट्रिअलमा भेटेको थिएँ। त्यतिबेला उनी त्यहाँ अग्रगामी सेवा गर्दै थिइन्‌। पूर्ण-समय सेवाप्रतिको उनको मनोवृत्ति र यहोवाको सङ्गठनले जहाँ पठाए पनि जाने उनको इच्छुकता देखेर म प्रभावित भएँ। लोरेनले गिलियड स्कूल जाने लक्ष्य राखेकी थिइन्‌। सन्‌ १९५६ मा २२ वर्षको उमेरमा उनले गिलियड स्कूलको २७ औं कक्षामा भाग लिइन्‌। गिलियड स्कूलपछि उनलाई मिसनरीको रूपमा ब्राजिल खटाइयो। सन्‌ १९५८ मा हामीले एकअर्कालाई अझ राम्ररी चिन्यौं र मैले विवाहको प्रस्ताव राख्दा उनले स्वीकारिन्‌। हामीले अर्को वर्ष विवाह गर्ने र सँगै मिसनरी सेवा गर्ने योजना बनायौं।

भाइ नोरलाई हाम्रो योजनाबारे बताउँदा उहाँले तीन वर्ष पर्खन र त्यसपछि मात्र विवाह गरेर ब्रूक्लिन बेथेलमा सेवा  गर्न सुझाव दिनुभयो। त्यतिखेर विवाहपछि बेथेलमै सेवा गर्ने हो भने दुई जनामध्ये एक जनाले दस वर्ष वा सोभन्दा लामो समय बेथेल सेवा गरेको हुनुपर्थ्यो र अर्कोले चाहिं कम्तीमा तीन वर्ष बेथेल सेवा गरेको हुनुपर्थ्यो। त्यसैले लोरेन विवाहअघि दुई वर्ष ब्राजिल बेथेलमा र एक वर्ष ब्रूक्लिन बेथेलमा सेवा गर्न राजी भइन्‌।

मगनीपछि दुई वर्षसम्म त चिठीमार्फत मात्र कुराकानी गऱ्यौं। फोन गर्न धेरै महँगो पर्थ्यो अनि त्यो जमानामा इमेल त छँदै थिएन। सेप्टेम्बर १६, १९६१ मा हाम्रो विवाह भयो। भाइ नोरले हाम्रो विवाह भाषण दिनुभयो। हामीले त्यत्ति धेरै समय त कुर्नुपरेको थिएन तर निकै लामो समय कुर्नुपरेको जस्तो लाग्यो। हाम्रो विवाह भएको ५० वर्षभन्दा धेरै भइसक्यो। ती वर्षहरूलाई फर्केर हेर्दा अहिले पनि आनन्द लाग्छ र सन्तुष्टि पाउँछौं। केही वर्ष कुर्ने निर्णय गरेर एकदमै राम्रो गऱ्यौं जस्तो लाग्छ।

हाम्रो विवाहको दिन। बायाँबाट: नेथन एच. नोर, प्याट्रिसिया ब्रुक्स् (लोरेनकी बहिनी), लोरेन र म, कर्टिस् जोन्सन, फे र रोय वालेन (मेरो आमाबुबा)

सेवाका सुअवसरहरू

सन्‌ १९६४ मा मैले प्रान्तीय निरीक्षकको रूपमा विभिन्न देशको भ्रमण गर्ने सुअवसर पाएँ। त्यतिखेर श्रीमतीलाई भ्रमणमा सँगै लैजान पाइँदैनथ्यो। तर १९७७ मा श्रीमती पनि श्रीमान्‌सँगै जान सक्ने प्रबन्ध मिलाइयो। त्यही वर्ष लोरेन अनि मैले ग्रान्ट र एडिथ सुटरसित जर्मनी, अस्ट्रिया, ग्रीस, साइप्रस, टर्की र इजरायलको शाखा कार्यालयको भ्रमण गऱ्यौं। अहिलेसम्म मैले लगभग ७० वटा देशको भ्रमण गरिसकें।

सन्‌ १९८० मा भ्रमणको लागि ब्राजिल गयौं। यात्राको सिलसिलामा लोरेनले पहिला मिसनरी सेवा गरेको बेलैम सहरमा पनि पुग्यौं। मानाउसका भाइबहिनीलाई पनि भेट्न गयौं। रङ्गशालामा भाषण भइरहेको बेला हामीले छुट्टै बसेको एउटा समूहलाई याद गऱ्यौं। ब्राजिलमा महिलाहरूले एक-अर्कालाई गालामा म्वाइँ खाएर अनि पुरुषहरूले चाहिं हात मिलाएर अभिवादन गर्ने चलन छ। तर उनीहरूले भने त्यसो गरेनन्‌। किन?

ती प्रिय भाइबहिनी अमेजन जङ्गलको भित्री भागमा रहेको कुष्ठरोगीहरूको बस्तीबाट आएका रहेछन्‌। अरूलाई रोग नसरोस् भनेर उनीहरू अरूको नजिक नगएका रहेछन्‌। यो देखेर हाम्रो मन छोयो। उनीहरूको अनुहारमा देखिएको चमक हामी कहिल्यै बिर्सन सक्दैनौं। “मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्‌” भन्ने यहोवाका शब्दहरू कत्ति सत्य!—यशै. ६५:१४.

इनामदायी र उद्देश्यपूर्ण जीवन

लोरेन र मैले यहोवाको सेवामा ६० वर्षभन्दा धेरै समय बिताएका छौं र ती वर्षहरूलाई हामी बारम्बार सम्झन्छौं। यहोवाको सङ्गठनको डोऱ्याइअनुसार हिंडेकोले हामीले थुप्रै आशिष्‌ पाएका छौं। यो सम्झँदा हामीलाई धेरै आनन्द लाग्छ। पहिलाजस्तो टाढा-टाढा जान त सक्दिनँ तर परिचालक निकायको संयोजन समिति र सेवा समितिलाई अहिले पनि सघाइरहेको छु। यसरी संसारभरिका हाम्रा भाइबहिनीलाई मदत पुऱ्याउने काममा अलिकता भए पनि भाग लिने सुअवसर पाएकोमा धेरै खुसी छु। थुप्रै जवान भाइबहिनीले पूर्ण-समय सेवा अँगालेको देख्दा हामीलाई असाध्यै खुसी लाग्छ। यशैयाले जस्तै तिनीहरूले पनि यसो भनिरहेका छन्‌: “म हाजिर छु। मलाई पठाउनुहोस्।” (यशै. ६:८) यी जवान भाइबहिनी देख्दा धरै वर्षअघि क्षेत्रीय निरीक्षकले भनेका यी शब्दहरू याद आउँछ: “तुरुन्तै पूर्ण-समय सेवा थाल्नुहोस्। तपाईंले सोच्दै नसोचेको सुअवसरहरू पाउनुहुनेछ।”

^ अनु. 20 यी भाइहरूमध्ये केहीको जीवनी प्रहरीधरहरा-का (अङ्ग्रेजी) निम्न अङ्कमा छापिएका छन्‌: थोमस जे. सलिभन (अगस्त १५, १९६५); क्लाउस जेनसेन (अक्टोबर १५, १९६९); म्याक्स लार्सन (सेप्टेम्बर १, १९८९); ह्युगो रिमर (सेप्टेम्बर १५, १९६४) र ग्रान्ट सुटर (सेप्टेम्बर १, १९८३)।