अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मार्च २०१४

बेग्लै धर्म मान्ने नातेदार तथा परिवारका सदस्यहरूको मनसम्म पुग्नुहोस्

बेग्लै धर्म मान्ने नातेदार तथा परिवारका सदस्यहरूको मनसम्म पुग्नुहोस्

येशूले यसो भन्नुभयो: “तिमी घर फर्क र आफ्ना नातेदारहरूकहाँ जाऊ अनि यहोवाले तिम्रो लागि गर्नुभएका सबै कुरा अनि तिमीमाथि देखाउनुभएको कृपाबारे तिनीहरूलाई बताइदेऊ।” यतिबेला येशू सायद गालील समुद्रबाट दक्षिण-पूर्वमा पर्ने गदारा भन्ने ठाउँमा हुनुहुन्थ्यो। येशू उहाँको अनुयायी हुन चाहने मानिससित कुरा गर्दै हुनुहुन्थ्यो। मानिसहरू आफूलाई रोचक र महत्त्वपूर्ण लागेको कुरा अरूसित बाँड्न इच्छुक हुन्छन्‌ भनी येशूलाई थाह थियो।—मर्कू. ५:१९.

आज पनि मानिसहरूमा यस्तो झुकाव देख्ने गर्छौं। कतिपय समाजमा यस्तो झुकाव अझ धेरै देखिन्छ। त्यसैले कुनै व्यक्ति साँचो परमेश्वर यहोवाको उपासक बन्दा साधारणतया ऊ आफ्नो नयाँ विश्वासबारे नातेदार तथा परिवारका सदस्यहरूलाई बताउन इच्छुक हुन्छ। तर कसरी बताउनुपर्छ? बेग्लै धर्म मान्ने वा धर्म नै नमान्ने नातेदार तथा परिवारका सदस्यहरूको मनसम्म कसरी पुग्न सकिन्छ? यससम्बन्धमा बाइबलले व्यावहारिक र भरपर्दो सल्लाह दिन्छ।

“हामीले मसीहलाई भेट्टाएका छौं”

प्रथम शताब्दीमा येशूलाई मसीहको रूपमा चिन्ने पहिलो मानिसहरूमध्ये अन्द्रियास एक थिए। मसीहलाई भेट्टाएपछि तिनले कसलाई खबर गरिहाले? “सबैभन्दा पहिला, तिनले [अन्द्रियासले] आफ्नो दाइ सिमोनलाई भेटे र तिनलाई भने: ‘हामीले मसीहलाई (जसको अनुवाद गर्दा अर्थ हुन्छ, ख्रीष्ट) भेट्टाएका छौं।’” अन्द्रियासले पत्रुसलाई येशूकहाँ लगे। यसरी उनलाई येशूको चेला बन्ने मौका दिए।—यूह. १:३५-४२.

लगभग छ वर्षपछि पत्रुस जोप्पामा भएको बेला तिनलाई सिजरिया गएर सैनिक अफिसर कर्नीलियसलाई भेट्न निर्देशन दिइयो। पत्रुस कर्नीलियसको घरमा जाँदा त्यहाँ को-को भेला भएका थिए? “कर्नीलियस [पत्रुस र तिनीसितै यात्रा गरिरहेका मानिसहरूलाई] नै पर्खेर बसिरहेका थिए। उनीसित उनका  नातेदार अनि घनिष्ठ मित्रहरू पनि थिए।” यसरी कर्नीलियसले आफ्ना नातेदारहरूलाई पत्रुसको कुरा सुन्ने र सुनेको कुराको आधारमा निर्णय गर्ने मौका दिए।—प्रेषि. १०:२२-३३.

अन्द्रियास र कर्नीलियसबाट हामी के सिक्न सक्छौं?

अन्द्रियास र कर्नीलियस दुवैले मौका गुम्न दिएनन्‌। अन्द्रियास आफैले पत्रुसलाई येशूकहाँ लगे अनि कर्नीलियसले पनि नातेदारहरूलाई पत्रुसको कुरा सुनाउने प्रबन्ध मिलाए। तर अन्द्रियास र कर्नीलियसले आफ्ना नातेदारहरूलाई दबाब दिएनन्‌। उनीहरूलाई जसरी हुन्छ ख्रीष्टको अनुयायी बनाइछाड्ने कोसिस पनि गरेनन्‌। अन्द्रियास र कर्नीलियसबाट तपाईंले के सिक्नुभयो? हामीले पनि तिनीहरूले जस्तै गर्नुपर्छ। आफ्ना नातेदारहरूलाई बाइबलबारे बताऔंला अनि उनीहरूलाई हाम्रा भाइबहिनीसित चिनापर्ची गराऔंला। तैपनि छनौट गर्ने उनीहरूको अधिकारको हामी सम्मान गर्छौं र उनीहरूलाई दबाब दिंदैनौं। परिवारका सदस्यहरूलाई कसरी मदत गर्न सक्छौं भनी बुझ्न जर्मनीका एक दम्पती यर्गन र पेट्राको उदाहरण विचार गरौं।

पेट्राले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेको केही समयपछि बप्तिस्मा गरिन्‌। उनका श्रीमान्‌ यर्गन सैनिक अफिसर थिए। सुरुमा त श्रीमतीको निर्णय यर्गनलाई मन परेन। तर साक्षीहरूले सिकाउने कुरा बाइबलमा आधारित रहेछ भनेर बुझेपछि तिनले यहोवामा जीवन समपर्ण गरे र अहिले स्थानीय मण्डलीमा एल्डरको रूपमा सेवा गर्दै छन्‌। बेग्लै धर्म मान्ने परिवारका सदस्यको मनसम्म पुग्ने विषयमा तिनी कस्तो सल्लाह दिन्छन्‌?

यर्गन भन्छन्‌: “हामीले नातेदार तथा परिवारका सदस्यहरूलाई कहिल्यै जबरजस्ती गर्नुहुँदैन र जहिले पनि धर्मको विषयमा मात्र कुरा गर्न खोज्नुहुँदैन। त्यसो गरेमा तिनीहरूलाई हामीसित कुरा गर्नै मन नलाग्न सक्छ। तर समझदारी देखाउँदै बाइबल सन्देश थोरै-थोरै गरी बतायौं भने समयको दौडान सुन्न इच्छुक हुन सक्छन्‌। तिनीहरूकै उमेरका अनि तिनीहरूको जस्तै रुचि भएका भाइबहिनीसित भेटाइदिनु पनि मदतकारी हुन सक्छ। यसो गर्दा तिनीहरूलाई मदत गर्न सजिलो हुन्छ।”

“नातेदार तथा परिवारका सदस्यहरूलाई कहिल्यै जब्बरजस्ती गर्नुहुँदैन।”—यर्गन

प्रेषित पत्रुसले र कर्नीलियसका नातेदारहरूले बाइबल सन्देश तुरुन्तै स्वीकारे। प्रथम शताब्दीमा बाइबल सन्देश सुन्ने अरू कतिपयलाई भने निर्णय गर्न धेरै समय लाग्यो।

येशूका भाइहरू नि?

येशूका थुप्रै नातेदारले उहाँको प्रचारकार्यको दौडान उहाँमाथि विश्वास गरे। उदाहरणको लागि, प्रेषित याकूब र यूहन्ना येशूका भाइहरू हुन सक्छन्‌ र तिनीहरूका आमा सलोमी उहाँकी सानीआमा हुन सक्छिन्‌। “आफ्नो सम्पत्ति खर्चेर येशू अनि उहाँका चेलाहरूको सेवा गरिरहेका” स्त्रीहरूमध्ये सलोमी पनि थिइन्‌ जस्तो देखिन्छ।—लूका ८:१-३.

तर येशूको परिवारका अरू सदस्यले भने तुरुन्तै उहाँमाथि विश्वास गरेनन्‌। उदाहरणको लागि, येशूले बप्तिस्मा गर्नुभएको एक वर्षभन्दा अलि पछि भीड उहाँको कुरा सुन्न एउटा घरमा भेला भयो। “जब उहाँका नातेदारहरूले यो कुरा सुने, तब तिनीहरू उहाँलाई लिन गए, किनकि तिनीहरू यसो भन्थे: ‘उसको दिमाग खुस्केको छ।’” केही समयपछि येशूका सौतेनी भाइहरूले उहाँको यात्राबारे सोध्दा उहाँले सीधै जवाफ दिनुभएन। किन? किनकि “वास्तवमा, उहाँका भाइहरू उहाँमाथि विश्वास गर्दैनथे।”—मर्कू. ३:२१; यूह. ७:५.

येशूले आफ्ना नातेदारहरूसित व्यवहार गर्नुभएको तरिकाबाट के सिक्न सक्छौं? कसै-कसैले उहाँको दिमाग खुस्केको आरोप लगाउँदा येशू रिसाउनुभएन। उहाँले आफ्नो पुनर्जीवनपछि समेत सौतेनी भाइ याकूबकहाँ देखा परेर नातेदारहरूलाई थप प्रोत्साहन दिनुभयो। येशू यसरी देखा परेकोले याकूब मात्र होइन,  उहाँका अरू सौतेनी भाइहरू पनि उहाँ नै मसीह हुनुहुन्छ भन्ने कुरामा ढुक्क भएको हुनुपर्छ। त्यसैकारण तिनीहरू पनि प्रेषितहरू र अन्य चेलाहरूसित यरूशलेमको माथिल्लो तलाको कोठामा थिए र तिनीहरूले पनि पवित्र शक्ति पाए। याकूबले र येशूका अर्का सौतेनी भाइ यहूदाले पछि थप सुअवसरहरू पनि पाए।—प्रेषि. १:१२-१४; २:१-४; १ कोरि. १५:७.

कसै-कसैलाई धेरै समय लाग्छ

“धैर्य गर्नुहोस्, धैर्य गर्न नछोड्नुहोस्। यसो गर्नुभयो भने नतिजा राम्रो हुन्छ।”—रोसविदा

प्रथम शताब्दीमा जस्तै आज पनि केही नातेदार तथा परिवारका सदस्यलाई बाइबल सत्य अँगाल्न धेरै समय लाग्छ। रोसविदाको उदाहरण विचार गर्नुहोस्। श्रीमान्‌ले सन्‌ १९७८ मा यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्दा उनी कट्टर रोमन क्याथोलिक थिइन्‌। उनी आफ्नो विश्वासमा अडिग थिइन्‌। त्यसैले उनले श्रीमान्‌को विरोध गरिन्‌। तर वर्षहरू बित्दै जाँदा उनले विरोध गर्न छोडिन्‌ र यहोवाका साक्षीहरूले सत्य सिकाइरहेका छन्‌ भनेर बुझिन्‌। सन्‌ २००३ मा उनले पनि बप्तिस्मा गरिन्‌। यस्तो परिवर्तन कसरी भयो? विरोध गर्दा रिसाइहाल्नुको सट्टा रोसविदाका श्रीमान्‌ले उनलाई आफ्नो धारणा परिवर्तन गर्ने मौका दिए। रोसविदा यस्तो सल्लाह दिन्छिन्‌: “धैर्य गर्नुहोस्, धैर्य गर्न नछोड्नुहोस्। यसो गर्नुभयो भने नतिजा राम्रो हुन्छ।”

मोनिकाले १९७४ मा बप्तिस्मा गरिन्‌। लगभग दस वर्षपछि उनका दुई छोरा पनि साक्षी भए। मोनिकाका श्रीमान्‌ हान्सले कहिल्यै विरोध नगरे पनि तिनलाई साक्षी हुन भने निकै समय लाग्यो। तिनले २००६ सालमा मात्र बप्तिस्मा गरे। बितेको समयमा गरेको अनुभवको आधारमा उनीहरू यस्तो सल्लाह दिन्छन्‌: “यहोवाप्रति वफादार भइरहनुहोस् र आफ्नो विश्वासमा कहिल्यै सम्झौता नगर्नुहोस्।” हान्सले परिवारका सदस्यहरूबाट माया पाएको महसुस गर्नु महत्त्वपूर्ण थियो। अनि परिवारका सदस्यहरूले हान्स एक दिन साक्षी हुनेछन्‌ भन्ने आशा मारेनन्‌।

सत्यको पानीद्वारा स्फूर्ति दिनुहोस्

परमेश्वरको वचनमा पाइने सत्यलाई येशूले अनन्त जीवन दिने पानीसित तुलना गर्नुभयो। (यूह. ४:१३, १४) नातेदारहरूले सत्यको चिसो र सफा पानी पिएर स्फूर्ति पाऊन्‌ भन्ने हामी चाहन्छौं। एकैचोटि धेरै पानी पिउन जबरजस्ती गरेकोले हाम्रा नातेदारहरू निसासिएको हामी चाहँदैनौं। उनीहरूले स्फूर्ति पाउने हो कि निसासिने हो, हामीले आफ्नो विश्वासबारे बताउने तरिकामा भर पर्न सक्छ। बाइबलअनुसार “जवाफ दिनुअघि धर्मीहरू सोच्दछन्‌” र “ज्ञानी मानिसको मनले बोली सम्हाल्छ, र त्यसको मुखले बोलेको कुराले बुद्धि बढाउँछ।” यो सल्लाह हामी कसरी लागू गर्न सक्छौं?—हितो. १५:२८; १६:२३.

कुनै ख्रीष्टियन बहिनी आफ्नो विश्वासबारे पतिलाई बताउन चाहलिन्‌। ‘जवाफ दिनुअघि सोचेमा’ उनले होसियार भई शब्दहरूको छनौट गर्नेछिन्‌ र बोली सम्हाल्नेछिन्‌। उनले आफूलाई आत्मधर्मी वा ठूलो ठान्नुहुँदैन। राम्ररी सोचविचार गरेर बोलेको बोलीले स्फूर्ति दिन्छ र यसले गर्दा शान्ति छाउँछ। पतिसित कुरा गर्न सकिने सबैभन्दा उपयुक्त समय कुन हो? तिनलाई के विषयमा कुरा गर्न वा पढ्न मन पर्छ? विज्ञान, राजनीति वा खेलकुदमा चासो छ कि? तिनको भावना र धारणाको सम्मान गर्दै बाइबलप्रति तिनको जिज्ञासा बढाउन पत्नीले के गर्न सक्छिन्‌? यी विषयहरूबारे विचार गर्दा पत्नीले बुद्धि चलाउँदै बोल्न र व्यवहार गर्न सक्नेछिन्‌।

अहिलेसम्म साक्षी नभएका परिवारका सदस्यहरूको मनसम्म पुग्न हाम्रो विश्वासबारे ठिक्क मात्रामा बताएर मात्र पुग्दैन। हामीले भन्ने कुरा हाम्रो चालचलनमा पनि झल्किनुपर्छ।

असल चालचलन

अगाडि उल्लेख गरिएका यर्गन भन्छन्‌: “दिनहुँ बाइबल सिद्धान्तअनुसार चल्नुहोस्। यसो गर्नुभयो भने नातेदारहरूले तपाईंको विश्वास तुरुन्तै नस्वीकारे तापनि तपाईंको असल चालचलनले उनीहरूमा सकारात्मक प्रभाव पार्नेछ।” पत्नीले भन्दा लगभग ३० वर्षपछि बप्तिस्मा गरेका हान्स पनि यसमा सहमति जनाउँछन्‌। तिनी भन्छन्‌: “उदाहरणीय ख्रीष्टियन चालचलन देखाउनु महत्त्वपूर्ण छ। यसो गर्दा बाइबल सत्यले तपाईंको जीवनमा पारेको राम्रो प्रभाव नातेदार तथा परिवारका सदस्यहरूले देख्नेछन्‌।” आफ्नो विश्वासको कारण हामी अरू मानिसहरूभन्दा असल छौं भनेर नातेदार तथा परिवारका सदस्यहरूले देख्नुपर्छ।

“उदाहरणीय ख्रीष्टियन चालचलन देखाउनु महत्त्वपूर्ण छ। यसो गर्दा बाइबल सत्यले तपाईंको जीवनमा पारेको राम्रो प्रभाव नातेदार तथा परिवारका सदस्यहरूले देख्नेछन्‌।”—हान्स

बेग्लै धर्म मान्ने पति भएका पत्नीहरूलाई प्रेषित पत्रुसले यस्तो उपयोगी सल्लाह दिए: “आ-आफ्ना पतिको अधीनमा बस, ताकि तिनीहरूमध्ये कसै-कसैले परमेश्वरको वचन नमाने तापनि तिमीहरूको असल चालचलनद्वारा विनावचन तिनीहरूलाई मनाउन सकियोस्; तिमीहरूको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनीहरू परमेश्वरको वचन पालन गर्ने होऊन्‌। त्यसैगरि, तिमीहरूको सिंगार बाहिरी सिंगार नहोस्, जस्तै कपाल बाट्ने, सुनको गरगहना लगाउने वा राम्रा-राम्रा लुगाहरू  लगाउने; बरु तिमीहरूको सिंगार मनको सिंगार होस् र तिमीहरू शान्त अनि नम्र मनोभावको अविनाशी पोसाक लगाओ, किनकि परमेश्वरको नजरमा त्यो ठूलो मोलको हुन्छ।”—१ पत्रु. ३:१-४.

पत्नीले असल चालचलनद्वारा पतिलाई मनाउन सक्छिन्‌ भनेर पत्रुसले लेखे। सन्‌ १९७२ मा बप्तिस्मा गरेदेखि नै क्रिस्टाले पनि आफ्नो असल चालचलनद्वारा पतिको मन जित्ने प्रयास गर्दै छिन्‌। कुनै समय साक्षीहरूसित बाइबल अध्ययन गरेको भए तापनि उनको पतिले सत्यलाई आफ्नो बनाएका छैनन्‌। तिनी कुनै-कुनै सभाहरूमा पनि उपस्थित भएका छन्‌ र मण्डलीका भाइबहिनीसित पनि चिनजान छ। भाइबहिनीहरू तिनको छनौट गर्ने अधिकारको सम्मान गर्छन्‌। क्रिस्टा कसरी पतिको मनसम्म पुग्ने प्रयास गर्छिन्‌?

“म जुन बाटोमा हिंडेको यहोवा चाहनुहुन्छ, त्यही बाटोमा हिंड्न दृढ छु। साथै आफ्नो असल चालचलनद्वारा ‘विनावचन’ श्रीमान्‌को मन जित्न प्रयास गर्छु। बाइबल सिद्धान्तसित बाझिदैन भने उहाँको इच्छाअनुसारै गर्न सक्दो गर्छु। अनि छनौट गर्ने उहाँको अधिकारको सम्मान गर्छु र सबै कुरा यहोवाकै हातमा छोडिदिन्छु।”

क्रिस्टाको उदाहरणले लचिलो हुनुपर्ने महत्त्वलाई जोड दिन्छ। नियमित रूपमा सभामा उपस्थित हुने र प्रचारकार्यमा अर्थपूर्ण तरिकामा भाग लिनेजस्ता आध्यात्मिक तालिकालाई उनले कायमै राखेकी छिन्‌। तर उनी समझदार पनि छिन्‌; आफूबाट माया, समय र हेरविचारको आशा गर्नु पतिको अधिकार हो भनेर उनले बुझेकी छिन्‌। बेग्लै धर्म मान्ने नातेदार तथा परिवार भएका सबै जना लचिलो र समझदार हुनुपर्छ। बाइबल भन्छ: “सबै कुराको लागि समय छ।” बेग्लै धर्म मान्ने परिवारका सदस्यहरूसित, अझ विशेषगरि आफ्नो जीवनसाथीसित समय बिताउनु यसमा समावेश छ। सँगै समय बिताउँदा कुराकानी गर्ने मौका मिल्छ। कुराकानी गर्दा एक्लो र त्यागिएको महसुस गर्ने अनि शङ्कालु हुने खतरा कम हुन्छ भनेर अनुभवले देखाएको छ।—उप. ३:१.

आशा नमार्नुहोस्

होल्गरका बुबाले परिवारका अरू सदस्यले बप्तिस्मा गरेको २० वर्षपछि बप्तिस्मा गरे। होल्गर भन्छन्‌: “बेग्लै धर्म मान्ने परिवारको सदस्यलाई पनि हामी माया गर्छौं र तिनको लागि प्रार्थना गर्छौं भनेर देखाउनुपर्छ।” क्रिस्टा यसो भन्छिन्‌: ‘श्रीमान्‌ले पनि एक दिन यहोवाको पक्ष लिनुहुनेछ र सत्य स्वीकार्नुहुनेछ भनेर कहिल्यै आशा मार्दिनँ।’ बेग्लै धर्म मान्ने नातेदार तथा परिवारका सदस्यप्रति सधैं सकारात्मक मनोवृत्ति राख्नुपर्छ र आशा मार्नुहुँदैन।

हाम्रो लक्ष्य भनेको नातेदार तथा परिवारका सदस्यहरूसितको सम्बन्ध अझ कसिलो बनाउनु, उनीहरूलाई सत्य अँगाल्न मदत गर्नु र मन छुने तरिकामा बाइबल सन्देश सुनाउनु हो। हामीले सबै क्षेत्रमा “कोमल भाव र गहिरो आदर”-सहित व्यवहार गर्नुपर्छ।—१ पत्रु. ३:१५.