सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  जनवरी २०१४

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्‍चिम अफ्रिका

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—पश्‍चिम अफ्रिका

कोट डे’भ्वाको गरिब टोलमा हुर्केका पास्कल सुखी जीवन बिताउन चाहन्थे। तिनी बक्सिङका उदयमान खेलाडी थिए। त्यसैले ‘बक्सिङको चम्किलो तारा भएर धनी बन्ने मौका कहाँ पाइएला’ भनेर सोचिरहन्थे। युरोपमा त्यस्तो मौका मिल्छ भन्ने तिनले सुनेका रहेछन्‌। त्यसैले २५ वर्ष जतिको हुँदा युरोप जाने विचार गरे। तर यात्रा गर्न चाहिने कागजपत्र नभएकोले तिनी अवैधानिक रूपमा युरोप छिर्नुपर्थ्यो।

सन्‌ १९९८ मा २७ वर्षको छँदा पास्कलले यात्रा सुरु गरे। तिनी कोट डे’भ्वाबाट घाना हुँदै टोगो पुगे। त्यसपछि बेनिन हुँदै अन्तमा नाइजरको बिर्नी कोन्नी सहर पुगे। अब तिनले सबैभन्दा जोखिमपूर्ण यात्रा सुरु गर्नै लागेका थिए। उत्तरतिर जान तिनी गुडिरहेको ट्रकमा फुत्त चढ्नुपर्थ्यो र लुकेर सहारा मरुभूमि पार गर्नुपर्थ्यो। भूमध्यसागर पुगेपछि तिनले युरोपतिर जाने जहाज चढ्ने योजना बनाएका थिए। तर दुइटा कुराले तिनलाई नाइजरमै रोक्यो।

पहिलो, तिनीसित भएको सबै पैसा सिद्धियो। दोस्रो, तिनले नोआ नाम गरेका अग्रगामी भाइलाई भेटे र उनीसित बाइबल अध्ययन गर्न थाले। सिक्दै गरेको कुराले पास्कलको मनै छोयो र जीवनप्रतिको तिनको धारणा बदलियो। धनी हुने लक्ष्य त्यागेर तिनले यहोवासित नजिक हुने लक्ष्य बनाए। डिसेम्बर १९९९ मा तिनले बप्तिस्मा गरे। यहोवाप्रतिको कृतज्ञता व्यक्त गर्न तिनले २००१ मा अग्रगामी सेवा सुरु गरे। नाइजरको आफूले बाइबल सत्य सिकेकै सहरमा तिनले अग्रगामी सेवा गरे। तिनी कस्तो महसुस गर्छन्‌? तिनी भन्छन्‌, “मैले जीवनमा असाध्यै सन्तुष्टि पाएको छु!”

अफ्रिकामा सेवा गर्दा अझ धेरै आनन्दित हुन सके

एन्नी-राकेल

परमेश्वरको सेवा गर्ने लक्ष्य राख्दा धेरै सन्तुष्टि पाउन सकिन्छ भनेर पास्कलजस्तै थुप्रैले अनुभव गरेका छन्‌। त्यस लक्ष्यमा पुग्न केहीले युरोप छोडेर अफ्रिकामा प्रचारकहरूको आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सरेका छन्‌। वास्तवमा युरोपका लगभग ६५ साक्षीहरू पश्‍चिम अफ्रिकाको टोगो, नाइजर, बुर्किना फासो र बेनिनमा बसाइँ सरेका छन्‌। * यसरी बसाइँ सर्नेहरू १७ देखि ७० वर्षका छन्‌। यस्तो ठूलो निर्णय गर्न तिनीहरूलाई केले उत्प्रेरित गऱ्यो? अनि नतिजा कस्तो भयो?

डेनमार्ककी एन्नी-राकेल भन्छिन्‌: “मेरा आमाबुबा सेनेगलमा मिसनरी सेवा गर्नुहुन्थ्यो। उहाँहरू मिसनरी जीवनबारे सधैं उत्साहित भएर कुरा गर्नुहुन्थ्यो। त्यसैले म पनि त्यस्तै जीवन बिताउन चाहन्थें।” लगभग १५ वर्षअघि २०/२२ वर्षको उमेरमा एन्नी-राकेल टोगो सरिन्‌ र साङ्केतिक भाषाको  मण्डलीमा सेवा गर्न थालिन्‌। तिनी बसाइँ सरेकोले अरूले कस्तो प्रोत्साहन पाए? तिनी भन्छिन्‌: “पछि मेरी बहिनी र मेरो भाइ पनि टोगोमै सेवा गर्न आए।”

अल्बर्ट-फेइट र ओरिल

फ्रान्सका ७० वर्षीय विवाहित भाइ ओरिल भन्छन्‌: “पाँच वर्षअघि पेन्सन पाकेपछि मसामु दुइटा छनौट थिए—फ्रान्समै आरामको जीवन बिताउँदै प्रमोदवन कुरेर बस्ने वा सेवाको काम विस्तार गर्न कदम चाल्ने।” तिनले सेवाको काम विस्तार गर्ने छनौट गरे। लगभग तीन वर्षअघि ओरिल र तिनकी पत्नी अल्बर्ट-फेइट बसाइँ सरेर बेनिन आए। ओरिल भन्छन्‌: “हामीले यहाँ आफ्नो जीवन यहोवाको सेवामा लगाएका छौं। यो नै हामीले अहिलेसम्म गरेको सर्वोत्तम छनौट हो।” मुसुमुसु हाँसदै तिनी यसो पनि भन्छन्‌: “हामीले प्रचार गर्ने समुद्री तटको इलाका देख्दा प्रमोदवनको झझल्को आउँछ।”

क्लोडोमिर र तिनकी पत्नी लिस्यान १६ वर्षअघि फ्रान्सबाट बेनिनमा बसाइँ सरे। सुरु-सुरुमा तिनीहरूलाई फ्रान्समा भएका परिवार तथा साथीहरूको सम्झनाले असाध्यै पिरोल्यो। त्यसैले नयाँ ठाउँमा भिज्न नसकिने हो कि भनेर पीर पऱ्यो। तर त्यसरी चिन्ता गर्नुपर्ने कारण थिएन। तिनीहरू असाध्यै आनन्दित भए। क्लोडोमिर भन्छन्‌: “यी १६ वर्षको दौडान हामीले औसतमा वर्षेनी एक जनालाई बाइबल सत्य स्वीकार्न मदत गर्न सकेका छौं।”

आफूले बाइबल सत्य स्वीकार्न मदत गरेका केही भाइबहिनीसित लिस्यान र क्लोडोमिर

जोआना र सेबास्टिन

फ्रान्सका विवाहित दम्पती सेबास्टिन जोआना २०१० मा बेनिनमा बसाइँ सरे। सेबास्टिन भन्छन्‌: “मण्डलीमा गर्नुपर्ने काम थुप्रै छन्‌। त्यसैले छिटोछिटो सिकिरहेका छौं।” प्रचारमा मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌? जोआना भन्छिन्‌: “मानिसहरू बाइबल सत्य सिक्न असाध्यै इच्छुक छन्‌। प्रचारबाहेक अरू नै कामको लागि बाहिर निस्केको बेला पनि मानिसहरू हामीलाई रोकेर बाइबलसम्बन्धी प्रश्नहरू सोध्छन्‌ र प्रकाशनहरू माग्छन्‌।” यसरी बसाइँ सरेकोले तिनीहरूबीचको सम्बन्ध कस्तो भएको छ? सेबास्टिन भन्छन्‌: “यसले हाम्रो सम्बन्धलाई बलियो बनाएको छ। जोआनासँगै दिनभरि प्रचार गर्न पाउँदा एकदमै खुसी लाग्छ।”

एरिक र तिनकी पत्नी केइटी थोरै जनसङ्ख्या भएको उत्तरी बेनिनमा अग्रगामी सेवा गर्छन्‌। लगभग १० वर्षअघि फ्रान्समै छँदा तिनीहरूले आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्नेबारे छापिएका लेखहरू पढ्न र पूर्ण-समय सेवकहरूसित कुराकानी गर्न थाले। यसले गर्दा तिनीहरू विदेशमा गएर सेवा गर्न उत्प्रेरित भए र २००५ मा बसाइँ सरे। तिनीहरूले उल्लेखनीय वृद्धि देखे। एरिक भन्छन्‌: “हामीले सेवा गरिरहेको सानो सहर टान्गितामा दुई वर्षअघि ९ जना प्रकाशक थिए; अहिले त ३० जना पुगिसके! आइतबारको सभामा ५० देखि ८० जनासम्म  उपस्थित हुन्छन्‌। यस्तो वृद्धि देख्न पाउँदा असाध्यै खुसी लाग्छ।”

केइटी र एरिक

चुनौती चिन्ने र सामना गर्ने

बेन्जामिन

आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्ने कतिपयले के-कस्ता चुनौती सामना गरेका छन्‌? तेत्तीस वर्षका बेन्जामिन एन्नी-राकेलका भाइ हुन्‌। सन्‌ २००० मा तिनले टोगोमा सेवा गर्ने मिसनरीलाई डेनमार्कमा भेटे। बेन्जामिन भन्छन्‌: “अग्रगामी सेवा गर्न चाहन्छु भनेर बताउँदा उहाँले भन्नुभयो, ‘टोगोमा सेवा गर्न सक्नुहुन्छ नि।’” बेन्जामिनले यसबारे सोचविचार गरे। तिनी भन्छन्‌: “त्यतिबेला म २० वर्ष पनि पुगेको थिइनँ। तर मेरा दुई दिदी टोगोमा सेवा गर्दै हुनुहुन्थ्यो। त्यहाँ जान मलाई त्यति गाह्रो भएन।” त्यसैले तिनी बसाइँ सरे। तैपनि एउटा चुनौती थियो। बेन्जामिन भन्छन्‌: “मलाई फ्रान्सेली भाषाको एक शब्द पनि आउँदैनथ्यो। कुराकानी गर्न नसक्ने भएकोले छ महिनासम्म त एकदमै गाह्रो भयो।” तर पछि तिनले प्रगति गर्दै गए। अहिले तिनी बेनिनको बेथेलमा सेवा गर्छन्‌। त्यहाँ तिनी साहित्य ढुवानी गर्छन्‌ र कम्प्युटर विभागमा सघाउँछन्‌।

मारी-एनीस र मिशेल

अगाडि उल्लेख गरिएका एरिक र केइटी बेनिन आउनुअघि फ्रान्समै विदेशी भाषाको समूहमा सेवा गर्थे। पश्‍चिम अफ्रिका फ्रान्सभन्दा कसरी भिन्न थियो? केइटी भन्छिन्‌: “यहाँ उपयुक्त घर भेट्टाउन सजिलो थिएन। बिजुली र धारा नभएको घरमा महिनौं बस्यौं।” एरिक थप्छन्‌: “छिमेकीहरू राती अबेरसम्म चर्को आवाजमा बाजा बजाउँथे। त्यसैले धैर्य चाहिन्छ र छाँटकाँट गर्न इच्छुक हुनुपर्छ।” दुवै यस कुरामा सहमत छन्‌: “सामना गर्नुपर्ने कठिनाइको तुलनामा कहिल्यै प्रचार नगरिएको इलाकामा सेवा गर्दा पाइने आनन्द कता हो कता धेरै छ।”

फ्रान्सका मिशेल मारी-एनीस लगभग ६० वर्ष पुग्न लागेका दम्पती हुन्‌। पाँच वर्षअघि तिनीहरू बेनिनमा बसाइँ सरे। सुरुमा त तिनीहरू चिन्तित थिए। साथीभाइले त्यहाँ सर्नु खतरनाक छ भनेका रहेछन्‌। मिशेलले यसो भने: “यहोवाले मदत गर्नुहुन्छ भन्ने कुरा थाह नभएमा डर लाग्न सक्छ। त्यसैले हामी यहोवासँगै यहोवाको लागि बसाइँ सऱ्यौं।”

आफूलाई कसरी तयार पार्ने?

आवश्यकता धेरै भएको ठाउँमा सेवा गरेकाहरूले यस्ता कदम चालेर आफूलाई तयार पार्नुपर्ने महत्त्वबारे जोड दिन्छन्‌: पहिल्यै योजना बनाउनुहोस्। छाँटकाँट गर्न सिक्नुहोस्। बजेटअनुसार चल्नुहोस्। यहोवामा भर पर्नुहोस्।—लूका १४:२८-३०.

अगाडि उल्लेख गरिएका सेबास्टिन भन्छन्‌: “बसाइँ सर्नु दुई वर्षअघिदेखि जोआना र मैले मनोरञ्जन खर्च घटाएर बचत गर्न थाल्यौं। हामीले अनावश्यक किनमेल पनि गरेनौं।” विदेशमा सेवा गरिरहन सम्भव होस् भनेर तिनीहरू हरेक वर्ष केही महिना  युरोपमा काम गर्छन्‌ र बाँकी महिना बेनिनमा अग्रगामी सेवा गर्छन्‌।

मारी-टरेज

विदेशबाट आएर पश्‍चिम अफ्रिकामा सेवा गरिरहेका २० जना अविवाहित बहिनीमध्ये मारी-टरेज पनि हुन्‌। तिनी फ्रान्समा बस चलाउँथिन्‌; तर २००६ मा तिनले नाइजरमा अग्रगामी सेवा गर्न एक वर्षको लागि बिदा लिइन्‌। आफूले चाहेको जीवन यस्तै हो भनेर तिनले महसुस गरिहालिन्‌। मारी-टरेज भन्छिन्‌: “फ्रान्स फर्केपछि काममा छाँटकाँट गर्न चाहेको कुरा हाकिमलाई बताएँ। उहाँले मलाई अनुमति दिनुभयो। हाल मेदेखि अगस्तसम्म फ्रान्समा बस चलाउँछु अनि सेप्टेम्बरदेखि अप्रिलसम्म नाइजरमा अग्रगामी सेवा गर्छु।”

सफीरा

‘परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनेहरू’ यहोवाले आवश्यक “सबै कुरा” दिनुहुनेछ भनेर ढुक्क हुन सक्छन्‌। (मत्ती ६:३३) जस्तै: फ्रान्सबाट आएर बेनिनमा अग्रगामी सेवा गरिरहेकी लगभग ३० वर्षकी अविवाहित बहिनी सफीरालाई नै लिनुहोस्। अर्को वर्ष पनि अफ्रिकामा सेवा गर्ने उद्देश्यसहित तिनी पैसा कमाउन २०११ मा फ्रान्स फर्किन्‌। सफीरा भन्छिन्‌: “शुक्रबार काममा जाने अन्तिम दिन भए पनि अर्को वर्षको लागि पुग्ने पैसा कमाउन अझै १० दिन काम गर्नुपर्थ्यो। तर दुई हप्तामा त अफ्रिका फर्किसक्नुपर्थ्यो। आफ्नो अवस्थाबारे बताउँदै यहोवालाई प्रार्थना गरें। केही समयपछि नै एउटा रोजगार कम्पनीले फोन गऱ्यो र दुई हप्ताको लागि अर्को व्यक्तिको सट्टा काम गरिदिन सक्नुहुन्छ कि भनेर सोध्यो।” जसको सट्टा काम गर्नुपर्थ्यो, त्यस व्यक्तिबाट तालिम पाउन तिनी सोमबार काम गर्ने ठाउँमा गइन्‌। तिनी भन्छिन्‌: “म त छक्क परें, उनी त हाम्रै ख्रीष्टियन बहिनी पो रहिछन्‌! उनलाई अग्रगामी सेवा स्कूलको लागि १० दिन छुट्टी चाहिएको रहेछ। अर्को मान्छे नराखेसम्म हाकिमले छुट्टी दिन मानेका रहेनछन्‌। ती बहिनीले पनि मैले जस्तै यहोवासित प्रार्थना गरेकी रहिछन्‌।”

साँचो सन्तुष्टिको स्रोत

केही भाइबहिनीले पश्‍चिम अफ्रिकामा वर्षौं सेवा गरेका छन्‌ र अफ्रिकालाई नै आफ्नो घर बनाएका छन्‌। अरू कतिपय भने केही वर्ष सेवा गरेर पछि आफ्नै देश फर्केका छन्‌। आवश्यकता धेरै भएको ठाउँमा सेवा गरेकाहरूले अहिले पनि लाभ उठाइरहेका छन्‌। साँचो सन्तुष्टि यहोवाको सेवा गरेर मात्र पाउन सकिन्छ भनेर तिनीहरूले सिकेका छन्‌।

^ अनु. 6 बेनिन शाखाले फ्रान्सेली भाषा बोलिने यी चारै मुलुकको रेखदेख गर्छ।

अझ बढी सिक्नुहोस्

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

पूर्ण समय प्रचार गर्नेरूको लागि कस्तो विशेष तालिमको प्रबन्ध गरिन्छ?