अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१३

यहोवाले तिनीहरूलाई डाँडाहरूका छायाँमा जोगाउनुभयो

यहोवाले तिनीहरूलाई डाँडाहरूका छायाँमा जोगाउनुभयो

एउटी महिलाले झिसमिसे उज्यालोमा आफ्नो घरबाहिर एउटा पोका देख्छिन्‌। तिनी त्यो उठाएर यताउता हेर्छिन्‌ तर कोही देख्दिनन्‌। पक्कै पनि त्यो पोका कसैले राती छोडेको हुनुपर्छ। तिनी त्यो अलिकति खोलेर हेर्छिन्‌ र हतारपतार घरभित्र छिर्छिन्‌। आखिर त्यो पोकामा प्रतिबन्ध लगाइएको बाइबल साहित्य थियो! तिनी त्यो पोका च्याप्दै अनमोल आध्यात्मिक खानाको लागि यहोवालाई मनमनै धन्यवाद चढाउँछिन्‌।

सन्‌ १९३० को दशकमा जर्मनीमा यस्ता घटनाहरू भइरहन्थे। सन्‌ १९३३ मा नाजीहरू सत्तामा आएपछि देशको प्रायः सबै भागमा यहोवाका साक्षीहरूको काममाथि प्रतिबन्ध लगाइयो। सय वर्ष काटिसकेका रिचार्ड रूडोल्फ * यसो भन्छन्‌: “मानिसले बनाएको कुनै नियमले यहोवा र उहाँको नामको घोषणा गर्ने काममा रोक लगाउन सक्दैन भनेर हामी विश्वस्त थियौं। अध्ययन र प्रचारकार्यको लागि हामीले चलाउने एउटा मुख्य साधन भनेको बाइबल साहित्य थियो। तर प्रतिबन्धको कारण त्यो पाउन गाह्रो भइरहेको थियो। प्रचारकार्य ठप्प हुन नदिन के गर्ने होला भनेर हामी अन्योलमा थियौं।” तर एउटा विशेष तरिकामा यो काममा आफूले पनि सघाउन सक्ने कुरा रिचार्डले चाँडै थाह पाए। यो काम डाँडाहरूका छायाँ हुँदो गरिने थियो।—न्याय. ९:३६.

तस्करी बाटो

तपाईं एल्बे (लाबे) नदी हुँदै दक्षिणतर्फ लाग्नुभयो भने कर्कोनोशे भनिने विशाल पर्वतमालामा पुग्नुहुनेछ। यो अहिले चेक गणतन्त्र र पोल्याण्डको सिमानामा पर्छ। त्यो डाँडाको उचाइ १,६०० मिटर मात्र भए तापनि त्यहाँ धेरै हिउँ पर्छ। वर्षमा छ महिना त त्यो ठाउँ ३ मिटर बाक्लो हिउँले ढाकेको हुन्छ। छिनछिनमा परिवर्तन भइरहने यहाँको मौसमलाई बेवास्ता गर्नेहरू अचानक लाग्ने बाक्लो हुस्सुमा हराउँछन्‌।

शताब्दीयौंदेखि यो पर्वतमालाले विभिन्न प्रान्त, राष्ट्र र राज्यहरूबीच प्राकृतिक सिमानाको काम गरेको छ। यो खतरनाक ठाउँमा गस्ती लगाउन चुनौतीपूर्ण थियो। त्यसैले विगतमा  यी डाँडाहरू हुँदै अवैध रूपमा सामानहरूको थुप्रै ओसारपसार गरिन्थ्यो। सन्‌ १९३० को दशकमा चेकोस्लोभाकिया र जर्मनीबीच पर्ने यो विशाल डाँडामा तस्करीहरूले चलाउने बाटो केही साहसी साक्षीहरूले चलाउन थाले। केको लागि? अमूल्य बाइबल साहित्यहरू सजिलै पाइने ठाउँबाट ओसार्न। ती साक्षीहरूमध्ये एक जना रिचार्ड थिए।

भाइबहिनीहरू पदयात्रीको जस्तै पहिरन लगाएर कर्कोनोशे डाँडा हुँदै साहित्यहरू जर्मनीमा ओसार्थे

जोखिमपूर्ण “पदयात्रा”

रिचार्ड विगतका कुराहरू सम्झँदै यसो भन्छन्‌, “सप्ताहन्तमा हामी जवान भाइहरू पदयात्रीको जस्तै पहिरनमा सात-आठ जनाको समूह बनाएर डाँडाहरूतिर लाग्थ्यौं। जर्मनीतिर बाट डाँडाहरू काटेर झन्डै १६.५ किलोमिटर पारि पर्ने चेक देशमा भएको स्पिनडलरूभ मलिनसम्म पुग्न लगभग तीन घण्टा लाग्थ्यो। त्यतिबेला थुप्रै जर्मनहरू त्यहाँ बसोबास गर्थे। त्यसमध्ये एक जना किसान भाइहरूलाई मदत गर्न तयार भए। छुट्टी मनाउन आएकाहरूलाई आफ्नो गन्तव्यसम्म पुऱ्याउन प्रयोग गरिने बग्गीमा तिनले नजिकैको सहरबाट साहित्यहरूको बाकस ल्याइदिन्थे। ती बाकसहरू प्रागबाट आउने रेलगाडीमा पठाइन्थ्यो। जर्मनीबाट कोही नआएसम्म तिनले ती बाकसहरू आफ्नो खेतमा भएको परालको थुप्रोमा लुकाइदिन्थे।

रिचार्ड अझै यसो भन्छन्‌: “त्यहाँ पुगेपछि गह्रौं भारी बोक्न सक्ने गरी बनाइएको झोलामा हामी ती साहित्यहरू राख्थ्यौं। हाम्रो झोलाको वजन लगभग ५० किलो हुन्थ्यो।” प्रहरीको जाँच छल्न तिनीहरू अँध्यारो भएपछि अर्थात्‌ सूर्यास्तपछि आफ्नो यात्रा सुरु गर्थे र सूर्य उदाउनुअघि घर आइपुग्थे। भाइहरूले सुरक्षाको लागि अपनाएका केही तरिकाबारे त्यतिबेला जर्मनीमा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरेका अन्स्ट वाइजनर यसो भन्छन्‌: “दुई जना भाइहरू अगाडि हिंड्थे र कोही देख्नेबित्तिकै टर्चलाइट बालेर सङ्केत दिइहाल्थे। यो, झन्डै १०० मिटर पछाडि गह्रौं झोला बोकेर आइरहेका भाइहरूलाई झाडीपछाडि लुक्न जनाउ थियो। सबैभन्दा अगाडि हिंडिरहेका भाइहरू आएर कुनै पासवर्ड नभनेसम्म तिनीहरू लुकिरहन्थे। यो पासवर्ड हरेक हप्ता परिवर्तन गरिन्थ्यो।” तर खतरा भनेको निलो युनिफर्ममा भएका जर्मन प्रहरीहरू मात्रै त थिएनन्‌।

रिचार्ड यस्तो कुरा सम्झन्छन्‌, “एक दिन मैले अबेरसम्म काम गर्नुपऱ्यो। त्यसैले चेक जान म अरू भाइहरूभन्दा ढिलो निस्किएँ। त्यतिबेला निस्पट्ट अन्धकार भइसकेको थियो  अनि डम्म हुस्सु लागेको थियो। कठ्याङ्ग्रिने चिसोमा पानी परेकोले म काम्दै हिंडिरहेको थिएँ। स-साना सल्ला भएको ठाउँमा म घन्टौंसम्म हराएँ। यसरी हराएका थुप्रै पदयात्रीले आफ्नो ज्यान गुमाएका छन्‌। बिहानतिर ती भाइहरू फर्कंदै गर्दा मात्र मैले तिनीहरूलाई भेटें।”

झन्डै तीन वर्षसम्म साहसी भाइहरूको सानो समूह हरेक हप्ता डाँडाहरूमा गए। जाडोमा आफ्नो अनमोल भारी ओसार्न तिनीहरूले हिउँमा चिप्लेटी खेल्न प्रयोग गरिने स्कीको सहारा लिनुपर्थ्यो। कहिलेकाहीं लगभग २० जना भाइहरूको समूह पदयात्रीहरूले चलाउने बाटो हुँदै दिउँसै सिमाना पार गर्थे। रमाइलोको लागि हिंडिरहेका पदयात्रीहरूको जस्तो भान पार्न केही बहिनीहरू पनि सँगै जान्थे। अनि कोही-कोही बहिनीचाहिं अगाडि-अगाडि हिंड्थे र केही शङ्का लाग्नेबित्तिकै आफ्नो टोपी माथि हावामा हुऱ्याउँथे।

हिउँले ढाकिएको कर्कोनोशे डाँडामा यात्रा गर्नु खतरनाक थियो

साहित्य बोक्नेहरू रातभरिको यात्राबाट फर्कनेबित्तिकै ती वितरण गर्न प्रबन्धहरू मिलाइएको हुन्थ्यो। वितरण कसरी गरिन्थ्यो? झट्टै हेर्दा साबुनको खोलजस्तो देखिने गरी प्रकाशनहरू पोका पारिएको हुन्थ्यो र हिर्सबार्क रेलस्टेसनमा लगिन्थ्यो। त्यसपछि ती पोकाहरू जर्मनीको विभिन्न भागमा पठाइन्थ्यो र सुरुमा बताइएझैं होसियारीका साथ सङ्गी भाइबहिनीकहाँ पुऱ्याइन्थ्यो। यसरी लुकीछिपी वितरण गर्नेहरूको सञ्जाल ठूलो थियो र यसको एक भाग मात्र सुरक्षा निकायले भेट्टाएमा यसले अरू सबैलाई असर गर्थ्यो। नभन्दै एक दिन अप्रत्याशित तरिकामा समस्या खडा भयो।

सन्‌ १९३६ मा बर्लिन नजिकै साहित्यहरू राखिने ठाउँ भेट्टाइयो। त्यहाँ हिर्सबार्कबाट पठाइएको तीन वटा पोका पनि थियो तर कसले पठायो थाह थिएन। प्रहरीहरूले तस्करी समूहको मुख्य व्यक्ति पत्ता लगाउन हस्तलिपि जाँच गरे र तिनलाई पक्रे। केही समयपछि थप दुई जना भाइ पक्राउ परे। त्यसमध्ये एक जना रिचार्ड रूडोल्फ थिए। भाइहरूले सबै अभियोग मानिलिएकोले झन्‌झनै खतरनाक हुन थालेको यात्रा केही समयसम्म अरूले गरिरहन सके।

हाम्रो लागि पाठ

जर्मनीका साक्षीहरूले बाइबल साहित्य पाउने एउटा मुख्य बाटो कर्कोनोशे डाँडा थियो। तर तिनीहरू कर्कोनोशे डाँडाको बाटो मात्र प्रयोग गर्दैनथे। जर्मन सेनाले चेकोस्लोभाकियामाथि कब्जा गरुन्जेल अर्थात्‌ सन्‌ १९३९ सम्म ती दुई देशबीचको सिमानामा पर्ने यस्तै बाटोहरू प्रयोग गरिन्थ्यो। जर्मनीका साक्षीहरू र यसको सिमानामा पर्ने अरू देशहरू जस्तै फ्रान्स, नेदरल्याण्ड्स र स्वीजरल्याण्डका साक्षीहरूले पनि सतावट भोगिरहेका सङ्गी विश्वासीहरूलाई आध्यात्मिक भोजन पुऱ्याउन ठूलठूला खतरा मोले।

आज हामीमध्ये धेरैजसोले बाइबल साहित्यहरू आफूलाई चाहिएजति पाउन सक्छौं र त्यो पनि किताब अनि पत्रिकाको रूपमा चाहन्छौं कि, श्रव्य/भिडियोमा अथवा इलेक्ट्रोनिक रूपमा त्यो छनौट गर्न सक्छौं। चाहे तपाईंले नयाँ प्रकाशन राज्यभवनमा पाएको होस् वा हाम्रो वेब साइट jw.org बाट डाउनलोड गरेको होस्, ती प्रकाशन तपाईंको हातसम्म पुऱ्याउन के कस्ता कुरा गरिन्छन्‌, त्यसबारे विचार गर्नुभए कसो होला? सायद यसको लागि मध्यरातमा हिउँले ढाकिएको डाँडा हुँदै जोखिमपूर्ण यात्रा गर्नुपरेन होला तर यसमा निश्चय पनि निःस्वार्थ भावसहित सेवा गर्ने थुप्रै सङ्गी विश्वासीहरूको मेहनत मुछिएको छ।

^ अनु. 3 तिनी जिलेसियामा भएको हिर्सबार्क मण्डलीमा सेवा गर्थे। हिर्सबार्क सहर अहिले एलेनिया गोरा भन्ने नामले चिनिन्छ। यो पोल्याण्डको दक्षिणपश्‍चिमी भागमा पर्छ।