सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  डिसेम्बर २०१३

के तपाईं परमेश्वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?

के तपाईं परमेश्वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?

“खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”—२ कोरि. ९:७.

१. मानिसहरू के-कस्तो त्याग गर्छन्‌ र किन?

मानिसहरू आफूलाई महत्त्वपूर्ण लागेका कुराहरूको लागि त्याग गर्छन्‌। बुबाआमाहरू आफ्ना छोराछोरीको लागि समय, पैसा र शक्ति खर्च गर्छन्‌। अर्कोतर्फ जवान खेलाडीहरू भने आफ्ना साथीहरूले मोजमस्ती गरिरहेको भए तापनि आफ्नो देशको तर्फबाट खेलकुदमा भाग लिन दिनरात अभ्यास गर्छन्‌। येशूले पनि उहाँलाई महत्त्वपूर्ण लागेको कुराको लागि त्याग गर्नुभयो। उहाँले सुखसयलको जीवन बिताउने र घरपरिवार बसाल्ने वा बालबच्चा जन्माउने छनौट गर्नुभएन। तर परमेश्वरको राज्यको लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गर्ने छनौट गर्नुभयो। (मत्ती ४:१७; लूका ९:५८) उहाँका चेलाहरूले पनि परमेश्वरको राज्यसम्बन्धी काम अघि बढाउन विभिन्न त्यागहरू गरे। राज्यसम्बन्धी कामकुरालाई अघि बढाउनु नै तिनीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण काम थियो। त्यसैले आफ्नो क्षमताले भ्याएसम्म तिनीहरूले त्यागहरू गरे। (मत्ती ४:१८-२२; १९:२७) हामी पनि आफैलाई यस्तो प्रश्न सोध्न सक्छौं: ‘मेरो जीवनमा कुन कुरा सबैभन्दा महत्त्वपूर्ण छ?’

२. (क) साँचो ख्रीष्टियनहरूले कस्ता त्यागहरू गर्नै पर्ने हुन्छ? (ख) केही ख्रीष्टियनहरूले भने कस्ता थप त्यागहरू गरेका छन्‌?

परमेश्वरसित घनिष्ठ भइरहन साँचो ख्रीष्टियनहरूले कुनै-कुनै त्यागहरू गर्नै पर्ने हुन्छ। त्यस्ता त्यागहरूमा प्रार्थना गर्न, दिनहुँ बाइबल पढ्न, पारिवारिक उपासना गर्न, सभा र प्रचारमा जान समय र शक्ति लगाउनु समावेश छ। * (यहो. १:८; मत्ती २८:१९, २०; हिब्रू १०:२४, २५) हामीले गरेका त्यस्ता त्यागहरूले गर्दा र यहोवाको आशिष्‌को कारण प्रचारको काम तीव्र गतिमा अघि बढ्दै छ। फलस्वरूप “परमप्रभुको भवन बसालिएको पर्वत”-मा धेरैभन्दा धेरै मानिसहरू ओइरिरहेका छन्‌। (यशै. २:२) राज्य गतिविधिलाई सघाउ पुऱ्याउन थुप्रैले थप त्यागहरू गरेका छन्‌। कसैले बेथेल सेवा गरिरहेका छन्‌, कसैले राज्यभवन  र सम्मेलन भवन निर्माण गर्ने काममा भाग लिइरहेका छन्‌ अनि अरू कतिले चाहिं अधिवेशन व्यवस्थापन गर्ने अनि प्राकृतिक प्रकोपको बेला राहतकार्यमा सघाउ पुऱ्याउने जस्ता काम गरिरहेका छन्‌। अनन्त जीवन पाउनको लागि यस्ता थप कामहरू गर्नै पर्छ भन्ने त होइन, तर राज्य गतिविधि अघि बढाउन यसले ठूलो सघाउ पुऱ्याउँछ।

३. (क) राज्य गतिविधिको लागि त्याग गर्दा हामी कसरी लाभ उठाउन सक्छौं? (ख) हामीले आफैलाई कस्ता प्रश्न सोध्नुपर्छ?

राज्य गतिविधि अघि बढाउन हामीले पहिलेभन्दा धेरै काम गर्नुपर्ने भएको छ। यसको लागि खुसीसाथ त्याग गरिरहेका थुप्रै भाइबहिनीहरू देख्न पाउनु कत्ति खुसीको कुरा! (भजन ५४:६ पढ्नुहोस्) यसरी राजीखुसीले त्याग गर्दा परमेश्वरको राज्यलाई पर्खिरहेको यो समयमा पनि हामी आनन्दित हुन सक्छौं। (व्यव. १६:१५; प्रेषि. २०:३५) त्यसैले हामी सबैले आफैलाई जाँच्न यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘राज्य गतिविधिको लागि मैले अझै त्याग गर्न सक्ने केही कुरा छ कि? मैले आफ्नो समय, पैसा, शक्ति र क्षमता कसरी खर्च गरिरहेको छु? त्यागहरू गर्दा मैले कुन कुरालाई बेवास्ता गर्नु हुँदैन?’ अब हामी स्वेच्छिक त्याग गर्ने विषयमा केही उदाहरण विचार गरौं। त्यस्ता त्यागहरू गऱ्यौं भने हामी अझै आनन्दित हुन सक्छौं।

पुरातन इस्राएलमा चढाइने बलिदानहरू

४. पुरातन इस्राएलका मानिसहरूले किन बलिदानहरू चढाउनुपर्थ्यो?

पुरातन इस्राएलका मानिसहरूले आफ्नो पापको क्षमा पाउन बलिदानहरू चढाउनुपर्थ्यो। ती बलिदानहरू चढाएको खण्डमा मात्र तिनीहरूले यहोवाको अनुमोदन पाउन सक्थे। त्यस्ता बलिदानहरूमध्ये कुनै अनिवार्य चढाउनुपर्ने हुन्थ्यो भने कुनैचाहिं राजीखुसीले चढाउनुपर्थ्यो। (लेवी २३:३७, ३८) होमबलिको रूपमा दिइने बलिदान सिङ्गै जलाइन्थ्यो। यो बलिदान यहोवालाई उपहारको रूपमा चढाइन्थ्यो, त्यो पनि राजीखुसीले। बलिदान चढाउने सन्दर्भमा एउटा उत्कृष्ट उदाहरण, सुलेमानले यहोवालाई मन्दिर समर्पण गर्ने बेला चढाएका बलिदानहरू हुन्‌।—२ इति. ७:४-६.

५. गरिबहरूले समेत बलिदान चढाउन सकून्‌ भनेर कस्तो प्रबन्ध गरिएको थियो?

सबैले एकै किसिमका बलिदानहरू चढाउन सक्दैनन्‌ भनेर यहोवालाई थाह थियो। इस्राएलीहरूले आफ्नो क्षमताअनुसार बलिदान चढाउन सक्थे। यहोवाले दिनुभएको व्यवस्थाअनुसार जनावरको बलिदान चढाउनुपर्थ्यो र त्यसको रगत पोखाउनुपर्थ्यो। यस्ता बलिदानहरू परमेश्वरको छोरा येशूमार्फत “आउन लागेका असल कुराहरूको छाया” थिए। (हिब्रू १०:१-४) तर यस्तै किसिमको जनावर बलिदान चढाउनुपर्छ भनेर यहोवाले कडिकडाउ  गर्नुभएको थिएन। जस्तै: यदि कुनै व्यक्तिले भेडा वा बाख्रा बलिदान चढाउन सक्दैन भने उसले बलिदानस्वरूप ढुकुर पनि चढाउन सक्थ्यो। यस्तो नियमले गर्दा गरिबहरूले पनि खुसीसाथ बलिदान चढाउन सक्थे। (लेवी १:३, १०, १४; ५:७) फरक-फरक किसिमको जनावर बलिदान चढाउन सक्ने छुट भए तापनि यहोवाले तिनीहरूबाट दुईवटा कुराको माग भने गर्नुभएको थियो।

६. बलि चढाउने विषयमा कुन दुई कुराको माग गरिएको थियो? त्यो पालन गर्नु कत्तिको महत्त्वपूर्ण थियो?

पहिलो कुरा, बलिदान चढाउने व्यक्तिले आफूसँग भएको उत्तम कुरा चढाउनुपर्थ्यो। आफूले चढाएको बलिदान “ग्रहणयोग्य” भएको चाहने हो भने इस्राएलीहरूले बिरामी वा खोट भएको बलिदान चढाउनुहुँदैनथ्यो। (लेवी २२:१८-२०) यदि कसैले बिरामी वा खोट भएको बलिदान चढायो भने यहोवाले त्यो स्वीकार्नुहुने थिएन। दोस्रो कुरा, बलिदान चढाउने व्यक्ति पनि व्यवस्थामा तोकिएअनुसार शुद्ध वा दोषरहित हुनुपर्थ्यो। यदि कुनै व्यक्ति अशुद्ध वा दोषी छ भने परमेश्वरसित फेरि राम्रो सम्बन्ध राख्न उसले पापबलि अथवा दोषबलि चढाउनुपर्थ्यो। त्यसपछि मात्र उसले चढाएको स्वेच्छिक बलि यहोवाले ग्रहण गर्नुहुने थियो। (लेवी ५:५, ६, १५) यो एउटा गम्भीर कुरा थियो। यदि कुनै व्यक्ति अशुद्ध भएको बेला उसले राजीखुसीसाथ चढाइएको मेलबलिबाट केही खायो भने त्यो व्यक्तिलाई समाजबाट बहिष्कारसमेत गरिन्थ्यो। (लेवी ७:२०, २१) अर्कोतर्फ यदि बलिदान चढाउने व्यक्ति शुद्ध छ र उसले चढाएको बलिदानमा कुनै खोट पनि छैन भने त्यो व्यक्ति सन्तुष्ट र आनन्दित हुन सक्थ्यो।१ इतिहास २९:९ पढ्नुहोस्।

अहिलेको समयमा बलिदान

७, ८. (क) राज्य गतिविधिको लागि त्याग गर्नेहरूले कस्तो आनन्द पाउँछन्‌? (ख) हामीले यहोवाको लागि दिन सक्ने केही कुराहरू के-के हुन्‌?

अहिले हाम्रा थुप्रै भाइबहिनीहरू यहोवाको सेवामा कडा मेहनत गर्न इच्छुक छन्‌। यो देख्दा यहोवा पनि खुसी हुनुहुन्छ। हाम्रा भाइबहिनीको लागि सेवा गर्न पाउनु साँच्चै आनन्दको कुरा हो। ‘आफ्ना भाइबहिनीलाई मदत गर्न पाउँदा वर्णन नै गर्न नसकिने आनन्द पाइन्छ’ भनेर राज्यभवन बनाउने र प्रकोप आइपरेको इलाकामा मदत गर्ने एक जना भाइले बताए। ती भाइले भने: “नयाँ राज्यभवन पाएपछि अनि प्रकोपको बेला राहत पाएपछि भाइबहिनीहरू एकदमै खुसी हुन्छन्‌ र हाम्रो कामको कदर गर्छन्‌। यो देख्दा मेरो काम अर्थपूर्ण भएछ भन्ने लाग्छ।”

थुप्रै बलिदान स्वेच्छिक हुन्थ्यो, अहिले हामीले खुसीसाथ गर्ने त्यागहरू जस्तै (अनुच्छेद ७-१३ हेर्नुहोस्)

यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागले जहिले पनि राज्य गतिविधि अघि बढाउने काममा मदत गर्छ। हामी सबैले आफ्नो समय, शक्ति, क्षमता र पैसाजस्ता कुराहरूको पूर्ण सदुपयोग गर्दै  यहोवाको महिमा गर्ने काममा लगाउनुपर्छ भनेर सन्‌ १९०४ मा भाइ सी. टी. रसलले बताए। हुन त यहोवाको लागि त्यागहरू गर्दा केही गुमाउनुपर्ने हुन सक्छ तर हामी आशिष्‌हरू पनि पाउँछौं। (२ शमू. २४:२१-२४) हामीसँग भएको स्रोतसाधनहरू अझै राम्रोसँग प्रयोग गरेर के हामी यहोवाको लागि बलिदान चढाउन अर्थात्‌ त्यागहरू गर्न सक्छौं?

अस्ट्रेलिया बेथेलका सदस्यहरू

९. समयको सदुपयोग गर्ने सन्दर्भमा लूका १०:२-४ को सिद्धान्त हामी कसरी लागू गर्न सक्छौं?

हाम्रो समय। हाम्रा प्रकाशनहरू अनुवाद गर्न र छाप्न, उपासना गर्ने भवनहरू बनाउन, अधिवेशनहरूको आयोजना गर्न, प्रकोप आइपरेको बेला राहत दिन र अरू थुप्रै आवश्यक कामकुरा मिलाउन धेरै समय र शक्ति लाग्छ। हामीसँग दिनको २४ घण्टाभन्दा धेरै समय छैन। समयको सदुपयोग गर्ने विषयमा येशूले दिनुभएको सिद्धान्तबाट हामी राम्रो पाठ सिक्न सक्छौं। येशूले आफ्ना चेलाहरूलाई प्रचारमा पठाउँदा “बाटोमा कसैलाई अभिवादन गर्नलाई नरोकिओ” भनेर निर्देशन दिनुभयो। (लूका १०:२-४) येशूले किन त्यस्तो निर्देशन दिनुभयो? एक जना बाइबलविद्अनुसार येशूको समयमा मानिसहरूले अभिवादन गर्दा हात मिलाउने वा निहुरिने मात्र गर्दैनथे। बरु तिनीहरू एकअर्कालाई थुप्रै पटक अङ्कमाल गर्थे र ढोग्नलाई भुइँमै लम्पसार पर्थे। यसरी अभिवादन गर्न निकै समय लाग्थ्यो। येशूले आफ्ना चेलाहरूलाई अशिष्ट हुन प्रोत्साहन दिइरहनुभएको थिएन। तर तिनीहरूले गर्नुपर्ने महत्त्वपूर्ण कामको लागि समय थोरै छ र तिनीहरूले समयको सदुपयोग गर्नुपर्छ भनेर बुझ्न मदत गरिरहनुभएको थियो। (एफि. ५:१६) यो सिद्धान्त लागू गरेर हामी पनि राज्य गतिविधिलाई अघि बढाउन अझ धेरै समय निकाल्न सक्छौं कि?

अफ्रिकाको केन्याको राज्यभवनमा भाइबहिनीहरू

१०, ११. (क) हामीले दिएको अनुदान केका लागि प्रयोग हुन्छ? (ख) पहिलो कोरिन्थी १६:१, २ को सिद्धान्त हामी कसरी लागू गर्न सक्छौं?

१० हाम्रो पैसा। विश्वभरि भइरहेको गतिविधिलाई मदत गर्न थुप्रै रकम खर्च हुन्छ। सन्‌ १९९९ देखि यता सीमित स्रोत साधन भएको देशमा २४,५०० भन्दा धेरै राज्यभवन बनाइयो। अझै लगभग ६,४०० राज्यभवनको खाँचो परेको छ। विशेष पूर्ण-समय सेवकहरूको आवश्यकता पनि पूरा गर्नुपर्ने हुन्छ। हरेक महिना प्रहरीधरहरा ब्यूँझनुहोस्! १० करोड प्रति छापिन्छन्‌। यी सबै कुराको लागि करोडौं रुपैयाँ खर्च हुन्छ। तपाईंहरूले खुसीसाथ दिनुभएको अनुदानबाट नै यी सबै खर्चहरू बेहोरिन्छन्‌।

११ यहोवाको प्रेरणा पाएर प्रेषित पावलले अनुदान दिनेसम्बन्धमा हामीले लागू गर्न सक्ने सिद्धान्तबारे लेखे। (१ कोरिन्थी १६:१, २ पढ्नुहोस्) तिनले कोरिन्थका भाइबहिनीहरूलाई अनुदान दिनको लागि हप्ताको अन्तमा के-कति रकम बाँकी रहन्छ त्यो नपर्खन, बरु हप्ताको सुरुमै के-कति रकम दिन सकिन्छ भनेर निर्णय गर्न प्रोत्साहन दिए। प्रथम शताब्दीका ख्रीष्टियनहरूको उदाहरण पछ्याउँदै अहिले पनि भाइबहिनीहरू आफूले खुसीसाथ दिन सक्ने अनुदान कति हो भनेर पहिले नै निर्णय गर्छन्‌। (लूका २१:१-४; प्रेषि. ४:३२-३५) यस्तो दिने मनोवृत्तिको यहोवा कदर गर्नुहुन्छ।

क्षेत्रीय निर्माण समितिमा सेवा गर्ने स्वयंसेवक, न्यु योर्कको टक्सिडोमा

१२, १३. यहोवाको राज्य गतिविधिलाई मदत पुऱ्याउन कोही-कोही किन हिचकिचाउँछन्‌? तर यहोवाले कसरी मदत गर्न सक्नुहुन्छ?

१२ हाम्रो शक्ति र क्षमता। यहोवाको राज्यको लागि हामीले शक्ति र क्षमता प्रयोग गर्दा उहाँ हामीलाई मदत गर्नुहुन्छ। थकित भएको बेला हामीलाई मदत गर्छु भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। (यशै. ४०:२९-३१) यहोवाको राज्य गतिविधिलाई मदत पुऱ्याउन आफूमा त्यति सीप नै छैन भनेर हामी महसुस गर्छौं कि? मभन्दा त अरू नै सिपालु छन्‌ नि भन्ने लाग्छ कि? नबिर्सनुहोस्, यहोवाले बजलेल र ओहोलीआबको सीपलाई अझै तिखार्न जसरी मदत गर्नुभयो हामीलाई पनि त्यसरी नै मदत गर्नुहुनेछ।—प्रस्थ. ३१:१-६; शीर्षकसँगैको तस्बिर हेर्नुहोस्।

१३ यहोवालाई उत्तम कुरा दिनदेखि हामीलाई कुनै कुराले नरोकोस् भन्ने उहाँ चाहनुहुन्छ। (हितो. ३:२७) यरूशलेमको मन्दिर पुनर्निर्माण भइरहेको बेला आफूले त्यो कामलाई मदत पुऱ्याउन के गरिरहेको छु भनेर गम्भीरतासाथ सोच्न यहोवाले यहूदीहरूलाई आग्रह गर्नुभयो। (हाग्गै १:२-५) यहोवाको कामलाई पहिलो स्थान दिनुको सट्टा तिनीहरू अरू नै काममा व्यस्त थिए। हामीले पनि आफैलाई सोध्नुपर्छ: “के हामीले यहोवाको इच्छा पूरा गर्नुलाई अरू  कुनै कुराभन्दा महत्त्वपूर्ण ठानिरहेका छौं? यहोवाको राज्य गतिविधिलाई अझै सघाउन यस अन्तको दिनमा आफ्नो जीवन कसरी बिताउन सक्छु र कस्तो योजना बनाउन सक्छु भनेर के हामीले गम्भीरतासाथ सोचिरहेका छौं?

क्षमताअनुसारको बलिदान

१४, १५. (क) सीमित आर्थिक स्रोतसाधन भएका भाइबहिनीहरूको उदाहरणबाट हामी कस्तो प्रोत्साहन पाउँछौं? (ख) हामी के गर्न इच्छुक हुनुपर्छ?

१४ अहिले थुप्रै मानिसहरू गरिबीको चपेटामा परेको इलाकामा बस्छन्‌ अनि मुस्किलले गुजारा चलाउँछन्‌। हाम्रो सङ्गठनले त्यस्ता इलाकामा बस्ने भाइबहिनीहरूको “खाँचो टरोस्” भनेर मदत गर्ने प्रबन्ध मिलाएको छ। (२ कोरि. ८:१४) तर सीमित आर्थिक स्रोतसाधन भएका भाइबहिनीहरूले पनि दिने मनोवृत्तिलाई एकदमै अनमोल ठानेका छन्‌। यस्ता व्यक्तिहरूले पनि खुसीसाथ दिएको देख्दा यहोवा परमेश्वर एकदमै खुसी हुनुहुन्छ।—२ कोरि. ९:७.

१५ अफ्रिकाको एउटा एकदमै गरिब देशको उदाहरण विचार गर्नुहोस्। त्यहाँका केही भाइबहिनीहरूले आफ्नो जमिनको एक भाग छुट्टयाएका छन्‌। त्यो छुट्टयाइएको ठाउँमा जति पनि उब्जनी हुन्छ, त्यो सबै बिक्री गरेर पाएको रकम तिनीहरू राज्य गतिविधि अघि बढाउने कामलाई सघाउ पुऱ्याउन अनुदान दिन्छन्‌। त्यही देशमा राज्यभवन बनाउने काम पनि सुरु भएको थियो। स्थानीय भाइबहिनीहरू त्यो काममा मदत दिन चाहन्थे। तर राज्यभवन निर्माण गर्ने काम बाली लगाउने समयतिरै सुरु भयो। तिनीहरूले के गरे? दिनभरि राज्यभवन निर्माण गर्ने काममा सघाए अनि बेलुकीपखचाहिं आफ्नो बाली लगाए। कस्तो आत्मत्यागी मनोभाव! यो अनुभवले हामीलाई प्रथम शताब्दीमा म्यासिडोनियामा भएका भाइबहिनीको याद दिलाउँछ। तिनीहरूले “आफू कङ्गाल हुँदाहुँदै पनि” आफ्ना सँगी भाइबहिनीहरूका लागि आर्थिक मदत दिने मनोवृत्ति देखाए। (२ कोरि. ८:१-४) ‘परमेश्वरले हामी प्रत्येकलाई आशिष’ दिनुभएको छ। त्यसैले यो कुराप्रति कृतज्ञता देखाउन हामी पनि दिने मनोवृत्ति राखौं।व्यवस्था १६:१७ पढ्नुहोस्।

१६. हामीले गरेका त्यागहरू यहोवाको नजरमा “ग्रहणयोग्य” छ भनेर हामी कसरी पक्का हुन सक्छौं?

१६ तर त्यागहरू गर्दा हामी होसियार हुनै पर्छ। प्राचीन समयका इस्राएलीहरूले स्वेच्छिक बलिदान चढाउँदा त्यो बलिदान परमेश्वरको लागि ग्रहणयोग्य छ कि छैन भनेर जाँचेझैं आज हामीले पनि स्वेच्छिक त्यागहरू गर्दा विचार पुऱ्याउनुपर्छ। हामीले परिवारको हेरविचार गर्ने अनि यहोवाको सेवा गर्ने कामलाई सन्तुलनमा राखेका छौं भने मात्र हाम्रो बलिदान अर्थात्‌ त्यागहरू यहोवाको नजरमा ग्रहणयोग्य हुन्छ। हुन त हो, हामीले अरूको लागि आफ्नो समय अनि स्रोतसाधन खर्च गर्नुपर्छ। तर त्यसले गर्दा आफ्नो परिवारको आध्यात्मिक अनि शारीरिक आवश्यकतामा नकारात्मक असर पर्नु चाहिं हुँदैन। नत्रता हामीले आफूसँग “नभएका कुरा” यहोवालाई चढाउन खोजिरहेका हुन्छौं। (२ कोरिन्थी ८:१२ पढ्नुहोस्) यसका साथै हामीले यहोवासितको आफ्नो सम्बन्धलाई पनि बलियो बनाइराख्नै पर्छ। (१ कोरि. ९:२६, २७) हामीले बाइबल सिद्धान्तअनुरूप जीवन बिताएका छौं भने त्यागहरू गर्दा आनन्दित र सन्तुष्ट हुन सक्छौं। अनि ती त्यागहरू यहोवाको नजरमा “ग्रहणयोग्य” पनि हुन्छ।

हामीले गर्ने त्यागहरू अनमोल छन्‌

१७, १८. यहोवाको राज्य गतिविधि अघि बढाउन त्यागहरू गरिरहेका भाइबहिनीलाई हामी कस्तो ठान्छौं? हामी सबैले कुन कुरा विचार गर्नुपर्छ?

१७ हाम्रा थुप्रै भाइबहिनीहरूले राज्य गतिविधिलाई समर्थन गर्न आफ्नो समय, शक्ति र पैसा खुसीसाथ दिइरहेका छन्‌। (फिलि. २:१७) खुसीसाथ दिने यस्तो मनोवृत्तिको हामी हृदयदेखि नै कदर गर्छौं। साथै राज्य गतिविधिलाई सघाउने भाइहरूका श्रीमती र छोराछोरीले पनि खुसीसाथ त्यागहरू गरेकोमा हामी प्रशंसा गर्छौं।

१८ राज्य गतिविधिलाई सघाउन अझ धेरै काम गर्न बाँकी नै छ। यहोवालाई धेरैभन्दा धेरै सेवा कसरी चढाउन सक्छौं भनेर गम्भीरतासाथ सोचौं र प्रार्थना गरौं। हामीले त्यसरी दिंदा अहिले पनि प्रशस्त आशिष्‌ पाउन सक्छौं भने “आउने युगमा” झन्‌ धेरै!—मर्कू. १०:२८-३०.

^ अनु. 2 प्रहरीधरहरा, जनवरी १५, २०१२, पृष्ठ २१-२५ मा भएको “यहोवाको लागि तनमनको बलिदान चढाउनुहोस्” शीर्षकको लेख हेर्नुहोस्।