अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) डिसेम्बर २०१३

“एउटा स्मरणीय दिन”

“एउटा स्मरणीय दिन”

“त्यो दिन तिमीहरूको निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ।”—प्रस्थ. १२:१४.

१, २. हामीले कुन चाडबारे थाह पाउनु जरुरी छ र किन?

कुनै खास तरिकाले मनाउनुपर्ने दिनबारे सोच्दा तपाईंको मनमा कुन दिन आउँछ? विवाहित व्यक्तिहरूले भन्लान्‌, “मेरो विवाहको दिन।” अरूले भने ऐतिहासिक दिन सम्झन सक्छन्‌। जस्तै, आफ्नो देशले स्वतन्त्रता पाएको दिन। तर आजभन्दा ३,५०० वर्षअघि मनाइएको एउटा दिनबारे तपाईंलाई थाह छ?

त्यो थियो, निस्तार-चाडको दिन। त्यो प्राचीन समयका इस्राएलीहरूले मिश्रको दासत्वबाट छुटकारा (निस्तार) पाएको सम्झना गर्न मनाउने वार्षिकी थियो। त्यो उत्सवले तपाईंको लागि पनि महत्त्व राख्छ। किन? किनकि त्यसले तपाईंको जीवनलाई असर गर्न सक्छ। तपाईं भन्नुहोला, ‘यो त यहूदीहरूले मनाउने चाड हो नि! मैले यसमा किन चासो राख्नु पऱ्यो र?’ यसको जवाफ हामी यो महत्त्वपूर्ण वाक्यमा पाउँछौं: “हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको” छ। (१ कोरि. ५:७) यसको अर्थ के हो? यसको जवाफ पाउन हामीले यहूदीहरूले मनाउने गरेको निस्तार-चाडबारे थाह पाउनु जरुरी छ। साथै सबै साँचो खीष्टियनहरूलाई मनाउन आज्ञा दिइएको उत्सवसँग यसको कस्तो सम्बन्ध छ, सो बुझ्नुपर्छ।

इस्राएलीहरूले किन निस्तार-चाड मनाए?

३, ४. पहिलो निस्तार-चाड मनाउनुअघि के-के भयो?

यहूदी नभए तापनि संसारभरिका लाखौंलाई पहिलो निस्तार-चाड मनाउनुअघि घटेको घटनाबारे थाह छ। तिनीहरूले बाइबलको प्रस्थान नामक पुस्तक पढेर, अरूबाट सुनेर वा चलचित्र हेरेर त्यस घटनाबारे थाह पाएका हुन सक्छन्‌।

इस्राएलीहरू धेरै वर्षदेखि मिश्रमा कमारा-कमारी भएर बसेका थिए। यहोवाले मोशा र तिनको दाइ हारूनलाई इस्राएलीहरूलाई छुटकारा दिलाउनको लागि फिरऊनकहाँ पठाउनुभयो। त्यो घमन्डी शासकले उनीहरूलाई जान दिन मानेन। त्यसैले यहोवाले तिनीहरूको देशमा डरलाग्दा विपत्तिहरू ल्याउनुभयो। दसौं अर्थात्‌ अन्तिम विपत्तिको बेला सबै मिश्रीहरूका जेठा सन्तान मरे। त्यसपछि मात्र फिरऊनले इस्राएलीहरूलाई जान दियो।—प्रस्थ. १:११; ३:९, १०; ५:१, २; ११:१, ५.

५. मिश्रबाट छुटकारा पाउनुअघि इस्राएलीहरूले कस्तो तयारी गर्नुपर्थ्यो? (शीर्षकसँगैको तस्बिर हेर्नुहोस्)

तर छुटकारा पाउनुअघि इस्राएलीहरूले के-के गर्नुपर्थ्यो?  ईसापूर्व १५१३ को वसन्त ऋतुको अबिब महिनामा घटेको घटनालाई एकछिन विचार गरौं। अबिब महिना जसलाई पछि नीसान भनियो, त्यसको १४ औं दिनमा एउटा विशेष घटना घट्न लागेको थियो। परमेश्वरले त्यस दिनका लागि नीसान १० देखि नै तयारी गर्ने निर्देशन दिनुभयो। नीसान १४ सूर्यास्तपछि सुरु हुने थियो। किनकि यहूदीहरूको दिन सूर्यास्तपछि सुरु भएर अर्को दिनको सूर्यास्तसम्म रहन्थ्यो। जस्तै: बिहीबारको सूर्यास्तदेखि शुक्रबारको सूर्यास्तसम्म एक दिन हुन्थ्यो। इस्राएलीहरूले नीसान १४ का दिन एउटा जहानको निम्ति एउटा भेडा (अथवा बाख्रा) काट्नुपर्थ्यो। अनि त्यसको रगत ढोकाको चौकोसका दुईपट्टिका खामाहरू र माथिल्लो खामामा लगाउनुपर्थ्यो। (प्रस्थ. १२:३-७, २२, २३) त्यस दिन सबै परिवारहरूले भेडाको पोलेको मासु, अखमिरे रोटी र तीतेसाग खानुपर्थ्यो। मिश्रीहरूको जेठा सन्तानहरूलाई मार्न परमेश्वरको स्वर्गदूत मिश्र देश भएर जाने थियो, तर आज्ञाकारी इस्राएलीहरूको जेठो सन्तान भने बच्ने थिए। अनि त्यसपछि तिनीहरूले छुटकारा (निस्तार) पाउने थिए।—प्रस्थ. १२:८-१३, २९-३२.

६. परमेश्वरका सेवकहरूले निस्तार-चाड किन मनाउनुपर्थ्यो?

त्यो घटना इस्राएलीहरूले पछिसम्म सम्झनुपर्थ्यो। परमेश्वरले यसो भन्नुभयो, “त्यो दिन तिमीहरूको निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ। तिमीहरूले त्यो पुस्तौंसम्म सदाको निम्ति एउटा धार्मिक-विधान स्वरूप मान्नू।” चौधौं दिनको उत्सवपछि सात दिनसम्म चल्ने चाड मनाइन्थ्यो। खासगरि निस्तार-चाड भनेको निसान १४ मात्र हो तर आठ दिनको सम्पूर्ण चाडलाई पनि निस्तार-चाड नै भनिन्थ्यो। (प्रस्थ. १२:१४-१७; लूका २२:१; यूह. १८:२८; १९:१४) निस्तार-चाड इस्राएलीहरूले “वर्षेनी” मनाउनुपर्ने विशेष चाडहरूमध्ये एउटा थियो।—२ इति. ८:१३.

७. येशूले कुन नयाँ चाड स्थापना गर्नुभयो?

येशू र उहाँका प्रेषितहरू यहूदी भएकोले उहाँहरूले पनि मोशाको व्यवस्थाअनुसार निस्तार-चाड मनाउनुभयो। (मत्ती २६:१७-१९) आफूले मनाएको अन्तिम निस्तार-चाडको बेला उहाँले एउटा नयाँ चाड स्थापना गर्नुभयो। येशूका चेलाहरूले अबदेखि निस्तार-चाडको सट्टा हरेक वर्ष त्यो नयाँ चाड मनाउनुपर्थ्यो। त्यो चाड हो, प्रभुको साँझको भोज। तर त्यो चाड कहिले मनाउनुपर्थ्यो?

प्रभुको साँझको भोज कहिले मनाइएको थियो?

८. निस्तार-चाड र प्रभुको साँझको भोजबारे कस्तो प्रश्न उठ्छ?

येशूले निस्तार-चाड मनाउने बित्तिकै प्रभुको साँझको भोज स्थापना गर्नुभएको थियो। त्यसो हो भने यो नयाँ चाड पनि निस्तार-चाडकै दिनमा मनाउनुपर्थ्यो। यदि तपाईंले प्रभुको साँझको भोज मनाउँदै आउनुभएको छ भने, आफूले मनाइरहेको यो चाड अहिलेका यहूदीहरूले मनाउने गरेको निस्तार-चाडभन्दा फरक दिनमा परेको याद गर्नुभएको होला। किन यस्तो भिन्नता? परमेश्वरले इस्राएलीहरूलाई निस्तार-चाड मनाउनु भनेर दिनुभएको आज्ञाबाट हामी यस प्रश्नको जवाफ बुझ्न मदत पाउँछौं। उहाँले नीसान १४ को कुन बेला थुमा मार्नुपर्छ, त्यो पनि बताउनुभएको थियो। अनि थुमा मारेको समयदेखि नै नीसान १४ सुरु हुने थियो।प्रस्थान १२:५, ६ पढ्नुहोस्।

९. प्रस्थान १२:६ अनुसार निस्तार-चाडको थुमा कतिखेर मार्नुपर्थ्यो? ( “दिनको कतिखेर?” शीर्षकको पेटी हेर्नुहोस्)

प्रस्थान १२:६ अनुसार थुमा “बेलुकीपख” मार्नुपर्थ्यो। नेपाली भाषाको पढ्न सजिलो संस्करण (ERV) हेर्ने हो भने “साँझमा” अनि नयाँ नेपाली बाइबल संस्करण-मा (NNBV) पनि “साँझपख” भनी लेखिएको पाउँछौं। त्यसैले थुमा घाम अस्ताइसकेपछि तर रात पर्नुअघि नीसान १४ को सुरुमै मार्नुपर्थ्यो।

१०. कसै-कसैको विचारमा निस्तारको थुमा कहिले मारिन्थ्यो? यसले गर्दा कस्तो प्रश्न उठ्छ?

१० पछिपछि यरूशलेमको मन्दिरमै ल्याएर बलिदान चढाउनुपर्ने नियम दिइयो। यसले गर्दा इस्राएलका सबै परिवारले ल्याएका पशुहरू मन्दिरमा बलि चढाउँदा धेरै समय लाग्थ्यो। यस कुरालाई विचार गर्दै शताब्दीऔंपछि केही यहूदीहरूले प्रस्थान १२:६  मा दिइएको निर्देशनले नीसान १४ को अन्तिम घडीलाई (मध्याह्न पछिको समय) बुझाउँछ भनेर तर्क गर्न थाले। यदि नीसान १४ को अन्तमा थुमा मार्ने हो भने इस्राएलीहरूले कुन बेला त्यो थुमा खाएर निस्तार-चाड मनाउने त? एक जना प्राध्यापकको भनाइअनुसार ‘निस्तार-चाड को भोजन नीसान १५ मा खाइन्थ्यो। तर प्रस्थानको पुस्तकमा भने नीसान १५ मै खाइन्थ्यो भनेर तोकेरै बताइएको छैन। साथै इस्वी संवत्‌ ७० मा यरूशलेमको मन्दिर विनाश हुनुअघि निस्तार-चाड कसरी मनाइन्थ्यो भनेर यहूदीहरूको कुनै पनि पुस्तकमा लेखिएको छैन।’

११. (क) इस्वी संवत्‌ ३३ मा मनाइएको निस्तार-चाडको दिनमा येशूले के-कस्तो कुरा भोग्नुभयो? (ख) इस्वी संवत्‌ ३३ नीसान १५ लाई किन “महाविश्राम दिन” भनियो? (फुटनोट हेर्नुहोस्)

११ सन्दर्भलाई विचार गर्दा एउटा प्रश्न उठ्छ: इस्वी संवत्‌ ३३ मा कुन बेला निस्तार-चाड मनाइएको थियो? निस्तार-चाडको अघिल्लो दिन नीसान १३ मा येशूले पत्रुस र यूहन्नालाई यसो भन्नुभएको थियो: “गएर हाम्रा निम्ति निस्तार-चाडको भोज तयार गर।” (लूका २२:७, ८) “अनि जब बेला भयो” अर्थात्‌ नीसान १४ बिहीबारको दिन सूर्यास्तपछि निस्तार-चाडको भोज खाने समय भयो, तब येशूले आफ्ना चेलाहरूसँग त्यो भोज खानुभयो र त्यसपछि प्रभुको साँझको भोज स्थापना गर्नुभयो। (लूका २२:१४, १५) त्यही रात उहाँ पक्राउ पर्नुभयो र फैसलाको लागि लगिनुभयो। नीसान १४ शुक्रबारको मध्याह्नतिर येशूलाई झुन्ड्याइयो र दिउँसो उहाँको मृत्यु भयो। (यूह. १९:१४) त्यसैले जुन दिन निस्तार-चाडको थुमा मारियो, त्यही दिन “हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान” पनि भयो। (१ कोरि. ५:७; ११:२३; मत्ती २६:२) अनि नीसान १५ सुरु हुनुअघि नै येशूलाई चिहानमा राखियो। *लेवी २३:५-७; लूका २३:५४.

स्मरणार्थबाट सिक्न सकिने पाठ

१२, १३. इस्राएली केटाकेटीहरूले निस्तार-चाडको बेला कस्तो पाठ सिक्न सक्थे?

१२ अब हामी फेरि मिश्रमा घटेको घटनालाई फर्केर हेरौं। मोशाले परमेश्वरका सेवकहरूलाई निस्तार-चाडबारे निर्देशन दिंदा यो “सदाको निम्ति” मनाइने चाड हुनेछ भने। वार्षिक रूपमा मनाइने यो चाडको बेला केटाकेटीहरूले बुबाआमालाई चाडबारे विभिन्न प्रश्नहरू सोध्थे। (प्रस्थान १२:२४-२७ पढ्नुहोस्; व्यव. ६:२०-२३) यसप्रकार निस्तार-चाड केटाकेटीहरूका लागि समेत अर्थपूर्ण र “स्मरणीय दिन” हुने थियो।—प्रस्थ. १२:१४.

१३ इस्राएलीहरूले आफूलाई थाह भएको महत्त्वपूर्ण पाठ नयाँ पुस्तालाई सिकाउँदै जान्थे। नयाँ पुस्ताका केटाकेटीहरूले सिक्न सक्ने एउटा पाठ  थियो—यहोवाले आफ्ना सेवकहरूलाई सुरक्षा दिन सक्नुहुन्छ। केटाकेटीहरूले यहोवा भावशून्य परमेश्वर होइन भनेर सिक्न सक्थे। उहाँ जीवित र आफ्ना प्रजाको चासो राख्ने र उनीहरूको सुरक्षा गर्ने परमेश्वर हुनुहुन्छ भनेर बुझ्न सक्थे। उहाँले विपत्ति ल्याएर “मिश्रीहरूलाई प्रहार गर्नुहुँदा” इस्राएलीहरूका जेठा सन्तानलाई बचाएर यो कुरा प्रमाणित गर्नुभएको थियो।

१४. ख्रीष्टियन बुबाआमाले निस्तार-चाडबाट केटाकेटीलाई कस्तो पाठ सिकाउन सक्छन्‌?

१४ बुबाआमाहरू हो, आफ्ना छोराछोरीहरूलाई निस्तार-चाडबारे सिकाउने आज्ञा त तपाईंहरूलाई दिइएको छैन, तैपनि निस्तार-चाडबाट सिक्न सक्ने पाठचाहिं केटाकेटीलाई नसिकाउनु र? जस्तै: परमेश्वरले आफ्ना जनहरूको सुरक्षा गर्नुहुन्छ भन्ने पाठ। परमेश्वरले अहिले पनि आफ्ना जनहरूको सुरक्षा गर्नुहुन्छ भनेर तपाईंले विश्वास गरेको कुरा केटाकेटीहरूले बुझ्नु धेरै महत्त्वपूर्ण छ। (भज. २७:११; यशै. १२:२) उनीहरूलाई सिकाउँदा अल्छीलाग्दो पाराले भाषण छाँटेजस्तो गरी होइन तर उत्साहित हुँदै अनि आपसमा कुराकानी गर्दै सिकाउनुहोस्। यस्ता बहुमूल्य शिक्षाहरू सिकाएर आफ्नो परिवारलाई यहोवामाथि भरोसा बढाउन मदत गर्नुहोस्।

निस्तार-चाडबारे छलफल गरेर तपाईं आफ्ना छोराछोरीलाई कस्तो पाठ सिकाउन सक्नुहुन्छ? (अनुच्छेद १४ हेर्नुहोस्)

१५, १६. निस्तार-चाड र प्रस्थानको विवरणबाट हामी यहोवाबारे के सिक्न सक्छौं?

१५ यहोवा आफ्ना जनहरूको सुरक्षा गर्ने मात्र होइन तर तिनीहरूलाई छुटकारा दिने परमेश्वर पनि हुनुहुन्छ भनेर निस्तार-चाडबाट सिक्न सकिन्छ। उहाँले इस्राएलीहरूलाई ‘मिश्रबाट निकालेर’ छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई कसरी छुटकारा दिनुभयो, एकछिन सोच्नुहोस्। उहाँले तिनीहरूलाई आगो र बादलको खामोद्वारा डोऱ्याउनुभयो। लाल समुद्रलाई दुई भाग पार्नुभयो। इस्राएलीहरूले अग्ला-अग्ला पानीका पर्खालहरूको बीच सुख्खा भूमिमा हिंडेर पार तर्न सके। किनारामा पुगेर हेर्दा त ती पानीका पर्खालहरू ढलेर मिश्री सेनाहरूलाई बगाउन थालेको थियो। अनि इस्राएलीहरूले यसो भनेर आफूलाई छुटकारा दिनुहुने यहोवाको स्तुति गाउन थाले: “म परमप्रभुको स्तुतिगान गाउनेछु, . . . घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभयो। परमप्रभु नै मेरो शक्ति र स्तुतिगान हुनुहुन्छ, र उहाँ मेरो उद्धार हुनुभएको छ।”—प्रस्थ. १३:१४, २१, २२; १५:१, २; भज. १३६:११-१५.

१६ यदि तपाईंका छोराछोरीहरू छन्‌ भने के तपाईंले तिनीहरूलाई यहोवा छुटकारा दिने परमेश्वर हुनुहुन्छ भनेर बुझाइरहनुभएको छ? तपाईंले गर्ने कुराकानी र निर्णयहरूमा यस्तो विश्वास झल्केको के तिनीहरूले देखिरहेका छन्‌? पारिवारिक उपासना गर्दा आफ्ना जनहरूलाई यहोवाले कसरी छुटकारा दिनुभयो भन्ने कुरा जोड दिनुहोस्। यसको लागि प्रस्थान १२-१५ अध्यायको विवरण प्रयोग गर्न सक्नुहुन्छ। साथै प्रेषित ७:३०-३६ र दानियल ३:१६-१८ र २६-२८ को विवरण पनि छलफल गर्न सक्नुहुन्छ। केटाकेटीलगायत हामी सबैले नै यहोवा विगतको समयमा जस्तै आज पनि छुटकारा दिने परमेश्वर हुनुहुन्छ भन्ने कुरामा निर्धक्क हुन सक्नुपर्छ। मोशाको दिनमा झैं उहाँले हामीलाई पनि भविष्यमा छुटकारा दिनुहुनेछ।—१ थिस्सलोनिकी १:९, १० पढ्नुहोस्।

 हामीले सम्झना गर्नुपर्ने दिन

१७, १८. निस्तार-चाडको थुमाको रगतभन्दा येशूको रगत किन बहुमूल्य छ?

१७ साँचो ख्रीष्टियनहरूले यहूदीहरूले मनाउने निस्तार-चाड मनाउँदैनन्‌। त्यो वार्षिक उत्सव मोशाको व्यवस्थाअन्तर्गत थियो। तर हामी अहिले व्यवस्थाको अधीनमा छैनौं। (रोमी १०:४; कल. २:१३-१६) बरु हामी अर्को एउटा वार्षिक उत्सव मनाउँछौं—परमेश्वरको छोराको मृत्युको वार्षिकी। तैपनि उहिले नै मिश्रमा स्थापना भएको निस्तार-चाडबाट हामीले सिक्न सक्ने पाठ थुप्रै छन्‌।

१८ इस्राएलीहरूले थुमा मारेर त्यसको रगत आफ्नो घरको ढोकाको खामाहरूमा लगाएको हुनाले तिनीहरूको जेठो सन्तानको जीवन जोगिएको थियो। अहिले हामी निस्तार-चाडको दिनमा वा अरू कुनै दिनमा पशु बलि चढाउँदैनौं। तर अर्को एउटा किसिमको बलिदान कुनै पनि पशु बलिभन्दा बहुमूल्य छ। त्यो बलिदानले गर्दा मानिसहरू सदाको लागि बाँच्न सक्छन्‌। येशू ख्रीष्टले “छर्किनुभएको . . . रगत”-द्वारा अभिषिक्त जनहरूले स्वर्गमा अनन्त जीवन पाए भनेर प्रेषित पावलले बताए। हो, तिनीहरू नै “स्वर्गमा दाखिल भएका जेठा सन्तानहरू” हुन्‌। (हिब्रू १२:२३, २४) येशूको रगतले गर्दा अरू भेडाहरूलाई पनि पृथ्वीमा अनन्त जीवन पाउन सम्भव भएको छ। हामी सबैले यो प्रतिज्ञा कहिल्यै बिर्सनुहुँदैन: “तिनै प्रिय जनले आफ्नो रगतद्वारा तिरेको फिरौतीमार्फत हामीले छुटकारा पाएका छौं। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौं, जुन हामीमाथि परमेश्वरले प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रहबमोजिमै थियो।”—एफि. १:७.

१९. येशूको मृत्यु हुँदा घटेको घटनाले बाइबल भविष्यवाणीप्रतिको हाम्रो विश्वास कसरी बलियो बनाउँछ?

१९ इस्राएलीहरूले पहिलो निस्तार-चाडको थुमा मार्दा त्यसको कुनै हड्डी भाँच्नु हुँदैन थियो। (प्रस्थ. १२:४६; गन्ती ९:११, १२) हाम्रो छुटकाराको लागि आफ्नो जीवन दिने “परमेश्वरको थुमा”-बारे चाहिं के भन्न सकिन्छ? (यूह. १:२९) येशूलाई दुई जना अपराधीहरूको बीचमा झुन्ड्याइएको थियो। त्यहाँ झुन्ड्याइएका तीनै जनाको हड्डी भाँच्न यहूदीहरूले पिलातससँग अनुमति मागे। त्यसो गर्दा तिनीहरूको छिट्टै मृत्यु हुने थियो र नीसान १५ को महाविश्राम दिन सुरु हुनुअघि नै तिनीहरूको लास खाँबोबाट निकाल्न सकिन्थ्यो। सिपाहीहरूले दुई जना अपराधीहरूको खुट्टा भाँचे। त्यसपछि “तिनीहरू येशूकहाँ आए र उहाँको मृत्यु अघिनै भइसकेको देखे, तब उहाँका खुट्टा भाँचेनन्‌।” (यूह. १९:३१-३४) निस्तार-चाडको थुमाको जस्तै येशूको पनि कुनै हड्डी भाँचिएन। त्यसैले निस्तार-चाडको थुमा इस्वी संवत्‌ ३३ नीसान १४ मा भएको येशूको बलिदानको “छाया” थियो। (हिब्रू १०:१) यसरी भजन ३४:२० मा लेखिएका शब्दहरू पूरा भयो। यसले बाइबल भविष्यवाणीप्रतिको हाम्रो विश्वास अझै बलियो बनाउँछ।

२०. निस्तार-चाड र प्रभुको साँझको भोजबीच के भिन्नता छ?

२० तैपनि यहूदीहरूले मनाउने निस्तार-चाड र येशूले आफ्ना चेलाहरूलाई मनाउनू भनेर आज्ञा गर्नुभएको प्रभुको साँझको भोजबीच भिन्नता छ। जस्तै: इस्राएलीहरूले निस्तार-चाड मनाउँदा थुमाको मासु खानुपर्थ्यो तर रगत भने पिउनुहुँदैनथ्यो। तर प्रभुको साँझको भोज मनाउँदा भने येशूले आफ्नो शरीरलाई चित्रण गर्ने रोटी खानु मात्र भन्नुभएन तर उहाँको रगतलाई चित्रण गर्ने दाखमद्य पनि पिउनु भन्नुभयो। निस्तार-चाड र प्रभुको साँझको भोजबीचको भिन्नता यही नै हो। “परमेश्वरको राज्यमा” शासन गर्ने व्यक्तिले त्यो रोटी र दाखमद्य खानुपर्छ भनेर येशूले भन्नुभयो। येशूको मृत्युको सम्झना गर्ने विषयमा अर्को लेखमा हामी थप छलफल गर्नेछौं।—मर्कू. १४:२२-२५.

२१. हामीले निस्तार-चाडबारे किन थाह पाउनुपर्छ?

२१ परमेश्वरका जनहरूको लागि निस्तार-चाड एकदमै महत्त्वपूर्ण चाड थियो भन्ने कुरामा कुनै शङ्का छैन। त्यो चाडबाट अहिले हामी पनि थुप्रै कुरा सिक्न सक्छौं। हुन त अहिले पनि यहूदीहरूले निस्तार-चाडलाई “स्मरणीय दिन-को रूपमा मनाउँछन्‌। तर हामी यहोवाका साक्षीहरूले त्यो चाड नमनाए पनि त्यसबारे थाह पाउनुपर्छ र पाठ सिक्नुपर्छ। किनभने “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो।”—२ तिमो. ३:१६.

^ अनु. 11 सूर्यास्तपछि नीसान १५ शनिबार सुरु भयो। त्यो दिन शनिबार परेकोले साप्ताहिक विश्राम-दिन थियो। संयोगले त्यस वर्षचाहिं अखमिरे रोटीको चाड पनि त्यही दिनदेखि सुरु भयो। अखमिरे रोटीको चाडको पहिलो दिन हप्ताको जुनसुकै दिनमा परे पनि त्यसलाई विश्राम दिनकै रूपमा मनाइन्थ्यो। यसरी दुइटा विश्राम दिन एकै दिनमा परेकोले यो एउटा विशेष वा “महाविश्राम दिन” हुन गयो।यूहन्ना १९:३१, ४२ पढ्नुहोस्।