बाइबलमा यो कुरा प्रस्टै बताइएको छ: पतिहरूले “आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम” गर्नुपर्छ। त्यसैगरि पत्नीले पनि “आफ्नो पतिको गहिरो आदर” गर्नुपर्छ। दुवैले आ-आफ्नो भूमिका “एउटै जीउ” जस्तैगरि पूरा गर्नुपर्छ। (एफि. ५:३३; उत्प. २:२३, २४) समयको दौडान विवाहित जोडीबीचको सम्बन्ध झन्‌झनै प्रगाढ बन्दै जान्छ र तिनीहरूबीचको प्रेम पनि उत्तिकै बढ्दै जान्छ। तिनीहरूबीचको सम्बन्धलाई सँगसँगै हुर्किरहेको दुइटा रूखको जरासित तुलना गर्न सकिन्छ। समय बित्दै जाँदा रूखको जरा एकअर्कामा बेरिएजस्तै तिनीहरूको सम्बन्ध पनि बलियो हुँदै जान्छ।

तर पति वा पत्नीको मृत्यु हुँदा नि? जिन्दगीभर बलियो रहेको त्यो बन्धन अब टुट्छ। विधवा वा विधुरलाई एक्लोपन, असह्य पीडा तथा रिस वा दोषी भावनाले सताउन सक्छ। अन्ठाउन्न वर्ष लामो आफ्नो वैवाहिक जीवनमा बिनाले जीवनसाथी गुमाएका थुप्रै मानिस भेटिन्‌। * तर आफ्नो पतिको मृत्युपछि तिनले यसो भनिन्‌: “यस्तो बेला कस्तो हुन्छ भनेर मैले पहिला कहिल्यै राम्ररी बुझेकी थिइनँ। आफैलाई परेपछि मात्र बुझें।”

कहिल्यै निको नहुने चोट

आफ्नो प्यारो जीवनसाथी गुमाउनुपर्दा असह्य तनाव हुन्छ र यसलाई अरू कुनै तनावसित तुलना गर्न सकिंदैन भनी केही अनुसन्धानकर्ताहरू बताउँछन्‌। शोकमा परेका धेरै जना यो कुरासित सहमत छन्‌। अनिताले आफ्नो पति गुमाएको वर्षौं भइसक्यो। पति गुमाएपछिको आफ्नो जीवनबारे तिनी यसो भन्छिन्‌: “मलाई आफू अपाङ्ग भएजस्तो लाग्छ।” आफ्नो वैवाहिक जीवनको २५  वसन्त पार गरेपछि पति गुमाएकी अनिताले आफ्नो भावनात्मक अवस्थालाई सङ्केत गर्दै थिइन्‌।

पति गुमाएको वर्षौं बितिसक्दा पनि शोकमा डुबिरहनु अव्यावहारिक हो जस्तो हिमालाई लाग्थ्यो। उनले पनि ३८ वर्षको वैवाहिक जीवनपछि आफ्नो पति गुमाइन्‌। उनको पतिको निधन भएको २० वर्षभन्दा धेरै भइसक्यो। तैपनि “उहाँलाई नसम्झेको दिनै छैन” भनी हिमा बताउँछिन्‌। पतिको अभाव खट्किएकोले उनको आँखा रसाइरहन्छ।

आफ्नो जीवनसाथीको मृत्युको चोट अपूरणीय र क्रूर हुन्छ भनी बाइबल मानिलिन्छ। साराको मृत्युपछि तिनको पति अब्राहाम “साराको निम्ति शोक र विलाप गर्न पालभित्र गए।” (उत्प. २३:१, २) फेरि जीवन पाउने कुरामा विश्वस्त भए तापनि अब्राहाम आफ्नो प्रिय जनको मृत्युले गर्दा अत्यन्तै दुःखित भए। (हिब्रू ११:१७-१९) याकूबले आफ्नी प्यारी पत्नी राहेलको मृत्युपछि पनि तिनलाई बिर्सिन सकेनन्‌। आफ्ना छोराहरूलाई राहेलको कुरा सुनाउँदा तिनीप्रतिको याकूबको प्रेम प्रस्टै झल्किन्थ्यो।—उत्प. ४४:२७; ४८:७.

बाइबलका यी उदाहरणहरूबाट हामी के कुरा सिक्न सक्छौं? विधवा र विधुरहरूले वर्षौंसम्म यो चोट महसुस गरिरहन्छन्‌। तिनीहरूको आँसु र दुःखलाई हामीले कमजोरी ठान्नुहुन्न। बरु, अवर्णनीय क्षतिको कारण यी सबै भएको हो भनेर बुझ्नुपर्छ। लामो समयसम्म तिनीहरूलाई करुणा देखाउनुपर्छ। साथै तिनीहरूलाई हाम्रो समर्थन पनि चाहिन्छ।

भोलिको दिनको चिन्ता नगर्नुहोस्

विधवा वा विधुरहरूको लागि फेरि एक्लो जीवन बिताउनु सजिलो छैन। वर्षौंको दौडान पत्नीलाई ढाडस दिन र उनी निराश वा दिक्क हुँदा हौसला दिन के गर्नुपर्छ पतिलाई थाह भइसकेको हुन्छ। पतिको मृत्युपछि तिनलाई त्यसरी माया गर्ने र बुझ्ने व्यक्ति नै हुँदैन। त्यसैगरि, वर्षौंको दौडान पत्नीले पनि पतिलाई कसरी ढुक्क महसुस गराउने र खुसी बनाउने भनेर जानिसकेकी हुन्छिन्‌। पतिलाई पत्नीको मायालु स्पर्श, मनै आनन्द बनाउने बोलीको अभाव महसुस हुन्छ। साथै पतिका चासो तथा आवश्यकताहरूप्रति पत्नीले जस्तो अरू कसले ध्यान दिन्छ र! पत्नी गुमाएपछि पतिलाई आफ्नो जीवन खोक्रो लाग्न सक्छ। त्यसैले पति वा पत्नी गुमाएकाहरू भविष्यबारे सोच्दा डराउँछन्‌ र अनिश्‍चित महसुस गर्छन्‌। कुन बाइबल सिद्धान्तले तिनीहरूलाई शान्त र सुरक्षित महसुस गराउन सक्छ?

आजको दिनको चोट सहन परमेश्वरले तपाईंलाई मदत गर्नुहुनेछ, भोलिको चिन्ता नगर्नुहोस्

“भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट यथेष्ट छ।” (मत्ती ६:३४) हो, येशूका यी शब्दहरू विशेषगरि भौतिक आवश्यकताहरूको सन्दर्भमा लागू हुन्छ। तर यी शब्दहरूले आफ्नो प्यारो व्यक्ति गुमाउँदाको चोट सहन पनि थुप्रैलाई मदत गरेको छ। आफ्नी पत्नी गुमाएको केही महिनापछि सन्तोष यसो भन्छन्‌: “कुन हदसम्म अमिताको कमी महसुस गर्छु भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ। यस्तो भावना कहिलेकाहीं त सहिनसक्नु हुन्छ। तर यस्तो महसुस गर्नु सामान्य हो र समयको दौडान यो घाउ बिस्तारै पुरिन्छ भनेर मैले बुझेको छु।”

हो, सन्तोषको घाउ पुरिन समय लाग्यो। तर तिनले कसरी सहन सके? तिनी यसो भन्छन्‌: “यहोवाको मदत पाएर मैले भोलिको दिनको चिन्ता गर्न छोडिदिएँ।” यसो गर्दा सन्तोष दुःखको भुमरीमै छटपटाइ रहेनन्‌। रातारात तिनको चोट निको त भएन तर अर्कोतर्फ तिनको जीवन पूरै अन्धकारमय पनि भएन। तपाईंले आफ्नो जीवनसाथी गुमाउनुभएको छ भने आजको दिन कसरी सामना गर्ने भनेर मात्र विचार गर्नुहोस्, भोलिको चिन्ता  नगर्नुहोस्। भोलि के हुन्छ वा कस्तो प्रोत्साहन पाउनुहुन्छ, तपाईंलाई थाह छैन।

मृत्यु यहोवाको सुरुको उद्देश्यको भाग थिएन। बरु, मृत्यु “दियाबलका कामहरू”-मध्ये एक हो। (१ यूह. ३:८; रोमी ६:२३) मानिसहरूलाई दासलाई जस्तै आफ्नो नियन्त्रणमा राख्न र आशाविहीन बनाउन सैतानले मृत्यु र यसको कारण पैदा हुने डरलाई हतियारको रूपमा चलाउँछ। (हिब्रू २:१४, १५) परमेश्वरको नयाँ संसारमा पनि साँचो आनन्द र सन्तुष्टि पाइन्छ कि पाइँदैन भनेर शङ्का व्यक्त गर्दा सैतान खुसी हुन्छ। त्यसैले आफ्नो जीवनसाथीको मृत्युको कारण पति वा पत्नी शोकित हुनु आदमको पाप र सैतानको चालको नतिजा हो। (रोमी ५:१२) सैतानको क्रूर हतियार मृत्युमाथि विजय हासिल गरेर यहोवाले त्यसले पुऱ्याएको सबै हानिलाई सच्याउनुहुनेछ। सैतानले मानिसको मनमा राखिदिएको डरबाट मुक्त हुनेहरूमध्ये तपाईं जस्तै आफ्नो जीवनसाथी गुमाएकाहरू पनि छन्‌।

पुनर्जीवित भएकाहरूले नयाँ संसारमा पक्कै पनि थुप्रै परिवर्तनहरू अनुभव गर्नेछन्‌। मानिसहरूबीचको सम्बन्धमा पनि परिवर्तन हुनेछ। उदाहरणको लागि, पुनर्जीवित भएका आमाबाबु, बाजेबज्यै र अरू पुर्खाहरू आफ्ना छोराछोरी र नातिनातिनाहरू सँगसँगै बिस्तारै त्रुटिरहित हुनेछन्‌। बुढ्यौलीका असरहरू केही पनि रहनेछैन। के जवानहरूले आफ्ना पुर्खाहरूप्रतिको दृष्टिकोण बदल्नुपर्छ? यस्ता परिवर्तनहरूले गर्दा मानिसहरूबीचको सम्बन्ध अझ सुमधुर हुनेछ नि, होइन र?

पुनर्जीवन पाउनेहरूबारे अनेक प्रश्नहरू छन्‌। जस्तै, दुई वा त्योभन्दा धेरैचोटि आफ्नो जीवनसाथी गुमाएकाहरूले के गर्नेछन्‌? जेठो, माइलो गर्दै सबै पति गुमाएकी स्त्रीबारे सदुकीहरूले प्रश्न  गरेका थिए। (लूका २०:२७-३३) पुनर्जीवित भएपछि ती व्यक्तिहरूबीच कस्तो सम्बन्ध हुन्छ? हामीलाई थाह छैन र थाह नभएका यस्ता कुराहरूबारे अडकल काट्नु वा यसबारे मनमा अनेक कुरा खेलाउनु बेकार हो। अहिले हामीले गर्न सक्ने कुरा भनेको परमेश्वरमाथि विश्वास गर्नु हो। एउटा कुरा पक्का छ, यहोवाले भविष्यमा जे गर्नुभए पनि असलै गर्नुहुन्छ। कुनै डरविना हामी यसको प्रतीक्षा गर्न सक्छौं।

पुनर्जीवनको आशा—सान्त्वनाको स्रोत

बाइबलले सिकाउने स्पष्ट शिक्षामध्ये एउटा मरिसकेका प्रिय जनहरू फेरि ब्यूँतनेछन्‌ भन्ने हो। पुनर्जीवन पाएकाहरूसम्बन्धी बाइबल विवरण पढ्दा “चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्नेछन्‌ र बाहिर निस्किआउनेछन्‌” भन्ने ग्यारेन्टी पाउँछौं। (यूह. ५:२८, २९) फेरि ब्यूँतिएर आएका आफ्ना प्रिय जनहरूसित पुनर्मिलन हुँदा मानिसहरू हर्षित हुनेछन्‌। अर्कोतर्फ पुनर्जीवित भएकाहरूले महसुस गर्ने आनन्दको हामी कल्पना पनि गर्न सक्दैनौं।

मरेका अरबौं मानिसहरूले पुनर्जीवन पाउँदा पृथ्वीमा पहिला कहिल्यै नभएको आनन्द छाउनेछ। (मर्कू. ५:३९-४२; प्रका. २०:१३) भविष्यमा हुने यस्तो चमत्कारबारे मनन गर्दा मृत्युको कारण आफ्नो प्रिय जन गुमाएकाहरूले पनि सान्त्वना पाउन सक्छन्‌।

मानिसहरूले पुनर्जीवन पाउँदा के कोही दुःखी हुने कारण छ? छैन भनी बाइबल बताउँछ। यशैया २५:८ अनुसार यहोवाले ‘मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ।’ यसमा मृत्यु र यसका पीडादायी असरहरू हटाउनु पनि समावेश छ। किनभने भविष्यवाणीमा अझै यसो भनिएको छ: “परमप्रभु परमेश्वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” जीवनसाथी गुमाउनुपरेकोले तपाईं अहिले दुःखी हुनुहुन्छ भने पुनर्जीवनपछि तपाईंले त्यो दुःख सम्झनु पनि हुनेछैन।

नयाँ संसारमा परमेश्वरले गर्नुहुने कुराहरू पूरै बुझ्ने क्षमता मानिसमा छैन। यहोवा यसो भन्नुहुन्छ: “जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरीनै मेरो चाल तिमीहरूको चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अल्गो छ।” (यशै. ५५:९) येशूले प्रतिज्ञा गर्नुभएको चाँडै पूरा हुने पुनर्जीवनको आशाको कारण अब्राहामले जस्तै हामी यहोवामा भरोसा राख्न सक्छौं। सबै ख्रीष्टियनहरूका लागि अहिले महत्त्वपूर्ण कुरा भनेको परमेश्वरले हामीबाट चाहनुभएअनुसार गर्नु हो। यसो गऱ्यौं भने  पुनर्जीवित भएकाहरू सँगसँगै हामी पनि नयाँ संसारमा जीवन पाउन योग्य ठहरिनेछौं।—लूका २०:३५.

आशा गर्न सकिने कारण

शङ्कालु हुनुको साटो आशा राख्ने कोसिस गर्नुहोस्। मानिसको दृष्टिकोणबाट हेर्दा भविष्य अन्धकार छ। तर यहोवाले हामीलाई असल कुराको आशा गर्न सक्ने कारण दिनुभएको छ। हाम्रा सबै आवश्यकता र इच्छा यहोवाले कसरी पूरा गर्नुहुनेछ भनेर त हामीलाई ठ्याक्कै थाह छैन। तर त्यसो भन्दैमा उहाँमाथि शङ्का गर्ने कारण पनि छैन। प्रेषित पावलले यस्तो लेखे: “जुन आशा देखिन्छ, त्यो आशा होइन, किनकि कुनै कुरा देखेपछि, के मानिसले त्यसको आशा गर्छ र? तर यदि हामी जे कुरा देख्दैनौं त्यसको आशा गर्छौं भने धैर्य गरेर त्यसको प्रतीक्षा पनि गरिरहन्छौं।” (रोमी ८:२४, २५) परमेश्वरको प्रतिज्ञामा बलियो विश्वास गर्दा हामीले सहन बल पाउनेछौं। तपाईंले धैर्य गर्नुभयो भने भविष्यमा अत्यन्तै रमणीय समयको अनुभव गर्न सक्नुहुनेछ। त्यतिबेला यहोवाले तपाईंको “मनोरथ पूर्ण गर्नुहुनेछ।” उहाँले “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भज. ३७:४; १४५:१६; लूका २१:१९.

आनन्दले भरपूर हुने भविष्यबारे परमेश्वरको प्रतिज्ञामा विश्वास गर्नुहोस्

येशूको मृत्युको समय नजिकै आएपछि प्रेषितहरू विचलित भए। उहाँले तिनीहरूलाई सान्त्वना दिंदै यसो भन्नुभयो: “तिमीहरूको मन विचलित नहोस्। परमेश्वरमाथि विश्वास गर, अनि ममाथि पनि विश्वास गर।” उहाँले यसो पनि भन्नुभयो: “म तिमीहरूलाई शोकाकुल अवस्थामा छोड्दिनँ। म तिमीहरूकहाँ आउँदैछु।” (यूह. १४:१-४, १८, २७) उहाँका यी शब्दहरूका कारण शताब्दीयौंको दौडान उहाँका अभिषिक्त अनुयायीहरूले आशा गर्ने र धैर्य धारण गर्ने आधार पाएका छन्‌। आफ्नो प्रिय मृत जन पुनर्जीवित भएपछि भेट्ने आशा राख्नेहरू पनि विचलित हुनु पर्दैन। यहोवा र उहाँको छोराले तिनीहरूलाई शोकाकुल अवस्थामा छोड्नु हुनेछैन। चाँडै तपाईंको प्रिय जनसित पुनर्मिलन हुनेछ!

^ अनु. 3 नामहरू परिवर्तन गरिएका छन्‌।