अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) नोभेम्बर २०१३

 हाम्रो अभिलेखालयबाट

“मेरो गुड्ने घर”

“मेरो गुड्ने घर”

सन्‌ १९२९, अगस्त/सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाभरि नौ-दिने प्रचार अभियान गरियो। त्यतिखेर १० हजार प्रचारक अमेरिकाको कुना-कुनासम्म पुगे। तिनीहरूले २ लाख ५० हजार प्रति पुस्तक तथा पुस्तिका वितरण गरे। तिनीहरूमध्ये लगभग १ हजारजति अग्रगामी थिए। अग्रगामीहरूको सङ्ख्या ह्वात्तै बढ्यो! सन्‌ १९२७ देखि १९२९ सम्ममा अग्रगामीहरूको सङ्ख्या तीन गुणाले बढेको हुँदा बुलेटिन-ले * यस वृद्धिलाई “कल्पनै गर्न नसकिने” भन्यो।

सन्‌ १९२९ को अन्ततिर अर्थतन्त्र डामाडोल भयो। अक्टोबर २९, १९२९ मङ्गलबारका दिन (ब्ल्याक ट्युसडे) न्यु योर्कको स्टक एक्सचेन्जमा भारी गिरावट आयो। यस्तो गिरावटले गर्दा विश्वभरिकै अर्थतन्त्रमा महामन्दी छायो। हजारौं बैङ्क टाट पल्टे। खेतहरू बाँझो भए। ठूलठूला कल-कारखानामा ताला लाग्यो। लाखौंको जागिर गुम्यो। अनि १९३३ मा अमेरिकामा घरहरू जफत गरिए; कहिलेकाहीं त दिनमै हजारवटासम्म।

पूर्ण-समय प्रचारकहरूले यस परिस्थितिको सामना कसरी गरे? गाडीलाई नै घर बनाएर। त्यस्तो घरको भाडा वा कर तिर्नु नपर्ने भएकोले थुप्रै अग्रगामीले कम खर्चमै गुजारा चलाउँदै सेवाको काम पूरा गर्न सके। * अधिवेशनको बेला ती गुड्ने घरहरूलाई होटेलका कोठाहरूको रूपमा प्रयोग गरिन्थ्यो, तर निश्शुल्क। गाडीलाई सानो तर आरामदायी घरको रूप दिन सकिने विस्तृत जानकारी १९३४ को बुलेटिन-मा दिइएको थियो। पानीको सुविधा, खाना पकाउने स्टोभ, दोबार्न मिल्ने खाट जस्ता व्यावहारिक पक्षबारे पनि उक्त बुलेटिन-मा बताइएको थियो।

आफूसित जे छ, त्यसैले काम चलाउन सिकेका विश्वभरका प्रचारकहरूले गाडीलाई नै घरको रूप दिए। भिक्टोर ब्ल्याकवेल यसो भन्छन्‌: “नूहसित जहाज बनाउने अनुभव थिएन। मसित पनि गुड्ने घर बनाउने ज्ञान वा अनुभव थिएन।” तर उनले गुड्ने घर बनाएरै छाडे।

बर्खायाममा घुम्ती घरलाई नदी तार्नै लागेको भारतको दृश्य

एभ्री र लभिनिया ब्रिस्टोले गाडीलाई नै घर बनाएका थिए। त्यसकारण एभ्रीले आफ्नो गाडीलाई “मेरो गुड्ने घर” भने। ब्रिस्टो दम्पतीले हार्भी र आन कोन्रोसँगै अग्रगामी सेवा गरे। कोन्रो दम्पतीको घुम्ती घरको भित्तामा टार-पेपर (पानी नचुहियोस् भनेर टाँसिने एक किसिमको कागज) टाँसिएको थियो। घुम्ती घर गुडाएपिच्छे ठाउँ-ठाउँबाट कागज उप्कन्थ्यो। एभ्रीले भने: “यस्तो गाइजात्रे घर त कसैले पनि देखेका थिएनन्‌ र त्यसपछि पनि कसैले देखेनन्‌।” त्यसोभए तापनि दुई छोरासहितको कोन्रो परिवारलाई एभ्रीले “संसारभरकै सबैभन्दा सुखी परिवार” भने। हार्भी कोन्रोले यस्तो लेखे: “हामीलाई कुनै कुराको अभाव भएन। यहोवाको मायालु छत्रछायामा रहेर उहाँको सेवा गर्दा हामीले सुरक्षित महसुस गऱ्यौं।” कोन्रो परिवारका चारै जना पछि गिलियड स्कूल गए र उनीहरूलाई पेरूमा मिसनरीको रूपमा खटाइयो।

बाटाइनोस् परिवारले पनि सँगै अग्रगामी सेवा गरे। जुस्तो र भिनशेन्जा बाटाइनोस्ले आमाबुबा हुन लागेको थाह पाएपछि आफ्नो १९२९ को मोडेल ए फोर्ड ट्रकलाई घुम्ती घर बनाए। त्यो “राम्रो होटेलजस्तै देखिन्थ्यो।” पहिला बसेको  पालभन्दा कता हो कता राम्रो। छोरी जन्मिसकेपछि पनि उनीहरूले अमेरिकामा बस्ने इटालियनहरूलाई प्रचार गर्ने कामलाई निरन्तरता दिए।

थुप्रैले सुसमाचार सुने। तर गरिब अनि बेरोजगारहरूले बाइबलआधारित साहित्यहरूको लागि अक्सर अनुदान दिन सक्दैनथे। त्यसैकारण साहित्य लिएबापत प्रचारकहरूलाई विभिन्न सामान दिन्थे। दुई जना अग्रगामीले चासो देखाएका मानिसहरूले दिएको सामानको सूची नै बनाए। तिनीहरूले ६४ थरीका सामान पाएका रहेछन्‌! त्यो सूची पसलमा बेचिने सामानको सूचीजस्तै थियो।

फ्रेड एन्डरसनले एक जना किसानलाई भेटे। ती किसान हाम्रा बाइबल साहित्यहरू पढ्न चाहन्थे। साहित्य लिएबापत उनले फ्रेडलाई आफ्नी आमाको चस्मा दिए। छिमेकमै रहेका अर्का किसान पनि हाम्रा साहित्यहरू पढ्न चाहन्थे तर आँखा कमजोर भएकोले पढ्न सक्दैनथे। त्यसकारण फ्रेडले तिनलाई अनुदानस्वरूप पाएको चस्मा दिए। चस्मा पाएर तिनी खुसी भए र साहित्यहरू अनि चस्मा दुवैको लागि अनुदान दिए।

हर्बट् अबोटको गाडीमा कुखुरा राख्ने टोकरी थियो। तिनी प्रचारमा दिएको कुखुरा जम्मा गर्थे, तीन-चारवटा पुगेपछि बजारमा लगेर बेच्थे र गाडीमा तेल भर्थे। हर्बट्ले लेखे: “कहिलेकाहीं त हामीसँग सुको पैसो हुँदैनथ्यो। तैपनि हामी पछि हटेनौं। यहोवामाथि भरोसा राख्दै गाडीमा तेल भइन्जेल हामी प्रचारमा निस्कन्थ्यौं।”

बलियो अठोट र यहोवामाथिको भरोसाले गर्दा महामन्दी छाउँदा पनि यहोवाका जनहरूले प्रचारकार्यलाई प्राथमिकता दिन सके। घनघोर वर्षाले गर्दा रूख ढलेर म्याक्सवेल र एमी लुइसको गुड्ने घर दुई फ्याक भयो। तुरुन्तै घरबाट निस्केकोले तिनीहरूको ज्यान जोगियो। म्याक्सवेलले लेखे: “यो घटनाले गर्दा हामी विचलित भएनौं। पछि हट्ने सोचाइ मनमा कहिल्यै आएन। गर्नुपर्ने काम धेरै थियो र त्यो पूरा गर्न हामी तयार थियौं।” नआत्तिएकोले र मायालु साथीहरूको मदत पाएकोले म्याक्सवेल र एमीले आफ्नो घुम्ती घर फेरि बनाए।

अहिले यस चुनौतीपूर्ण समयमा पनि यहोवाका लाखौं जोसिला साक्षीहरूको चिनारी आत्मत्यागी मनोभाव नै हो। त्यतिखेरका अग्रगामीहरूजस्तै हामी पनि यहोवाले ‘पुग्यो’ नभनेसम्म प्रचार गरिरहनेछौं।

^ अनु. 3 अहिले हाम्रो राज्य सेवा भनिन्छ।

^ अनु. 5 त्यतिखेरका धेरैजसो अग्रगामी जागिर खाँदैनथे। उनीहरूले थोरै मोलमा बाइबलआधारित साहित्यहरू पाउँथे र साहित्य वितरण गर्दा पाएको अनुदानले गर्जो टार्थे।