अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) नोभेम्बर २०१३

“प्रार्थना गर्ने विषयमा सजग भइरहो”

“प्रार्थना गर्ने विषयमा सजग भइरहो”

“सुझबुझ चलाओ र प्रार्थना गर्ने विषयमा सजग भइरहो।”—१ पत्रु. ४:७.

१, २. (क) “प्रार्थना गर्ने विषयमा सजग” भइरहनु किन आवश्यक छ? (ख) प्रार्थनाको सन्दर्भमा आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?

राती ड्युटी गर्नेहरूलाई जागा रहन सबैभन्दा गाह्रो हुने समय कहिले हो? उज्यालो हुनुअघि। त्यस समयलाई अहिले हाम्रो समयसित तुलना गर्न सक्छौं। सैतानको संसारको लामो रात बित्नै लागेको छ। अहिले निस्पट्ट अँध्यारो छ। त्यसकारण हामीले जागा रहन सङ्घर्ष गर्नै पर्छ। (रोमी १३:१२) यस अन्तिम घडीमा निदाउनु खतरनाक हुन्छ। ‘सुझबुझ चलाउनु’ र “प्रार्थना गर्ने विषयमा सजग” भइरहनु आवश्यक छ।—१ पत्रु. ४:७.

हामी सैतानको संसार अन्त हुनै लागेको समयमा छौं। त्यसकारण आफैलाई यस्ता प्रश्नहरू सोध्नु बुद्धिमानी हुन्छ: ‘प्रार्थना गर्ने विषयमा म कत्तिको सजग छु? के म हरकिसिमको प्रार्थना गर्छु? के म निरन्तर प्रार्थना गर्छु? प्रार्थना गर्दा अक्सर अरूको निम्ति पनि गर्छु कि आफ्नै इच्छा र आवश्यकताको लागि मात्र? उद्धार पाउन मैले प्रार्थना गर्नु किन जरुरी छ?’

हरकिसिमको प्रार्थना गर्नुहोस्

३. हरकिसिमको प्रार्थनामा के-के पर्छन्‌?

एफिसीहरूलाई पत्र लेख्दा पावलले “हरकिसिमका प्रार्थना” गरिरहन सल्लाह दिए। (एफि. ६:१८) अक्सर हामी यहोवालाई हाम्रा आवश्यकता पूरा गरिदिनुहोस् अनि समस्या सुल्झाउन मदत दिनुहोस् भनेर प्रार्थना गर्छौं। यहोवा “प्रार्थना सुन्नुहुने” परमेश्वर हुनुहुन्छ। (भज. ६५:२) उहाँ हामीलाई प्रेम गर्नुहुन्छ, त्यसकारण हाम्रो पुकारा सुन्नुहुन्छ। तर हामीले अन्य किसिमका प्रार्थनामा पनि ध्यान दिनुपर्छ। जस्तै: प्रार्थनामा यहोवाको प्रशंसा गर्नुपर्छ, उहाँलाई धन्यवाद दिनुपर्छ र अन्तरबिन्ती चढाउनुपर्छ।

४. हामीले किन बारम्बार यहोवाको प्रशंसा गर्नुपर्छ?

हामीले प्रार्थनामा यहोवाको प्रशंसा गर्नुपर्ने थुप्रै कारण छन्‌। उदाहरणको लागि, यहोवाका “शक्तिशाली कार्यहरू”  र उहाँको महानता विचार गर्दा हामी उहाँको प्रशंसा गर्न उत्प्रेरित हुन्छौं। (भजन १५०:१-६ पढ्नुहोस्) भजन अध्याय १५० लाई ध्यान दिनुहोस्। यसका छवटा पदमा यहोवाको “प्रशंसा गर” भन्ने अभिव्यक्ति १३ पटक प्रयोग गरिएको छ। अर्का भजनरचयिताले यहोवाप्रतिको प्रेम यसरी व्यक्त गरे: “तपाईंको न्यायका वचनहरूको कारण दिनमा सातचोटि म तपाईंको प्रशंसा गर्दछु।” (भज. ११९:१६४) हो, यहोवा हाम्रो प्रशंसाको हकदार हुनुहुन्छ। त्यसकारण “दिनमा सातचोटि,” मतलब बारम्बार उहाँको प्रशंसा गर्नुपर्छ।

५. प्रार्थनामा धन्यवाद चढाउँदा कसरी हाम्रो सुरक्षा हुन्छ?

अर्को किसिमको प्रार्थना हो: धन्यवादको प्रार्थना। पावलले फिलिप्पीका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।” (फिलि. ४:६) सैतानको संसारको अन्त हुनै लागेकोले र वरपर “कृतघ्न” मानिसहरू भएकोले आफूले पाएका सम्पूर्ण आशिष्‌को लागि यहोवालाई मनैदेखि धन्यवाद दिनु महत्त्वपूर्ण छ। अन्यथा हामी संसारका मानिसहरूजस्तै हुनेछौं। (२ तिमो. ३:१, २) हो, संसारमा कृतघ्न मनोवृत्ति व्याप्त छ। होसियार भएनौं भने हाम्रो मनोवृत्ति पनि त्यस्तै हुन सक्छ। तर प्रार्थनामा धन्यवाद चढायौं भने हामी खुसी हुनेछौं; ‘गनगनाउने र असन्तोष व्यक्त गर्नेछैनौं।’ (यहू. १६) परिवारका शिरले आ-आफ्नो परिवारसित प्रार्थना गर्दा अनि प्रार्थनामा धन्यवाद चढाउँदा तिनीहरू पनि धन्यवादी हुन प्रोत्साहित हुनेछन्‌।

६, ७. अन्तरबिन्ती भनेको के हो? हामी के-कस्ता कुराका लागि यहोवासित अन्तरबिन्ती गर्न सक्छौं?

अन्तरबिन्ती भनेको गहिरो भावनासहित गरिएको निष्कपट प्रार्थना हो। हामी के-कस्ता कुराका लागि यहोवासित अन्तरबिन्ती गर्न सक्छौं? सतावट भोग्नुपर्दा वा ज्यानै जान सक्ने रोग लाग्दा हामी अन्तरबिन्ती गर्न सक्छौं। यस्ता परिस्थितिमा यहोवासित मदत माग्नु स्वाभाविकै हो। तर सतावट भोग्दा वा बिरामी पर्दा मात्र यहोवासित मदत माग्नु उचित हो र?

यस प्रश्नको जवाफ पाउन येशूको नमुना प्रार्थना विचार गर्नुहोस्। उहाँले यहोवाको नाम, उहाँको राज्य अनि उहाँको इच्छाबारे के भन्नुभयो, याद गर्नुहोस्। (मत्ती ६:९, १० पढ्नुहोस्) संसारमा दुष्टता व्याप्त छ। सरकारले जनताको आधारभूत आवश्यकतासमेत पूरा गर्न सकेको छैन। त्यसकारण परमेश्वरको नाम पवित्र पारियोस् र उहाँको राज्यले सैतानको शासनको अन्त गरोस् भनेर प्रार्थना गर्नु उपयुक्त छ। यहोवाको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस् भनेर प्रार्थना गर्नु पनि उपयुक्त छ। त्यसैले सजग होऔं र हरकिसिमको प्रार्थना गरौं।

‘निरन्तर प्रार्थना गर्नुहोस्’

८, ९. गेत्समनीको बगैंचामा निदाएका पत्रुस र बाँकी प्रेषितको खण्डन किन गर्नुहुँदैन?

पत्रुसले ख्रीष्टियनहरूलाई “प्रार्थना गर्ने विषयमा सजग भइरहो” भनेर सल्लाह दिए। तर एकपटक तिनी आफै पनि चुकेका थिए। येशूले गेत्समनीको बगैंचामा प्रार्थना गरिरहनुभएको बेला निदाएका प्रेषितहरूमध्ये तिनी पनि एक थिए। येशूले तिनीहरूलाई ‘जागा रहन र निरन्तर प्रार्थना गर्न’ सल्लाह दिनुभएको थियो, तर तिनीहरू निदाए।मत्ती २६:४०-४५ पढ्नुहोस्।

पत्रुस र बाँकी प्रेषित निदाएकोमा तिनीहरूको खण्डन गर्नुको सट्टा त्यतिबेला तिनीहरूको अवस्था कस्तो थियो भनेर विचार गर्नु राम्रो हुन्छ। निस्तार चाडको तयारी गरेकोले र साँझ चाड मनाएकोले त्यो दिन तिनीहरू निकै थाकेका थिए। त्यही रात येशूले प्रभुको साँझको भोज पनि मनाउनुभयो र यसरी भविष्यको लागि नमुना बसाल्नुभयो। (१ कोरि. ११:२३-२५)  “स्तुतिगान गाइसकेपछि उहाँहरू” यरूशलेमको बाटो हुँदै “जैतुन डाँडामा जानुभयो।” (मत्ती २६:३०, ३६) त्यतिन्जेल रात निकै छिप्पिसकेको थियो। त्यो रात गेत्समनीको बगैंचामा भएको भए हामी पनि निदाउने थियौं होला। येशूले थकित प्रेषितहरूको आलोचना गर्नुभएन। बरु “मन त . . . तयार छ तर शरीर भने कमजोर छ” भन्नुभयो।

ठेस खाए तापनि पत्रुसले “प्रार्थना गर्ने विषयमा सजग” हुन सिके (अनुच्छेद १०, ११ हेर्नुहोस्)

१०, ११. (क) गेत्समनीको बगैंचामा गरेको अनुभवबाट पत्रुसले कस्तो पाठ सिके? (ख) पत्रुसको यस अनुभवबाट तपाईंले के सिक्नुभयो?

१० गेत्समनीको बगैंचामा निदाएकै रात पत्रुसले एकदमै पीडादायी तर महत्त्वपूर्ण पाठ सिके। येशूले पहिले नै यसो भन्नुभएको थियो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ।” तर पत्रुसले यस्तो जवाफ दिए: “तपाईंमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैन!” पत्रुसले उहाँलाई तीन पटकसम्म तिरस्कार गर्नेछन्‌ भनेर येशूले बताउनुभयो। तर पत्रुसले येशूको कुरा पत्याएनन्‌ र यसो भने: “तपाईंसँगै मर्नु पऱ्यो भने पनि म कुनै हालतमा तपाईंलाई तिरस्कार गर्नेछैन।” (मत्ती २६:३१-३५) तर पत्रुस चुके। येशूको वचन सत्य साबित भयो। होस खुलेपछि भने पत्रुसलाई यत्ति नमीठो लाग्यो, तिनी “धुरुधुरु रोए।”—लूका २२:६०-६२.

११ आफूमाथि धेरै भरोसा गर्नुहुँदैन भनेर पत्रुसले आफ्नै उदाहरणबाट सिके। तिनलाई यस कमजोरीमाथि विजयी हुन प्रार्थनाले मदत गऱ्यो। हामी किन यसो भन्न सक्छौं? किनकि “प्रार्थना गर्ने विषयमा सजग भइरहो” भनेर सल्लाह दिने पत्रुस नै थिए। के हामीले यो सल्लाहअनुसार गरिरहेका छौं? के हामी निरन्तर प्रार्थना गरेर यहोवामा भर परेको देखाउँछौं? हामीले पावलको यो सल्लाह पनि मनमा राख्नुपर्छ: “जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस् नत्र त ऊ लड्नेछ।”—१ कोरि. १०:१२.

नहेम्याहले प्रार्थनाको जवाफ पाए

१२. नहेम्याह हाम्रो लागि किन राम्रो उदाहरण हुन्‌?

१२ ईसापूर्व पाँचौं शताब्दीका नहेम्याहको उदाहरण पनि विचार गर्नुहोस्। उनी फारसी राजा आर्ट-जारसेजलाई मद्य टक्राउने काम गर्थे। मनैदेखि प्रार्थना गर्ने सन्दर्भमा नहेम्याहले राम्रो उदाहरण बसाले। यरूशलेमका यहूदीहरूको अवस्थाबारे सुनेर केही दिनदेखि नहेम्याह ‘उपवास बसिरहेका र प्रार्थना गरिरहेका’ थिए। (नहे. १:४) राजा आर्ट-जारसेजले उदास हुनुको कारण सोध्दा नहेम्याहले “स्वर्गका परमेश्वरलाई प्रार्थना” गरे। (नहे. २:२-५क) परिणाम कस्तो भयो? यहोवाले आफ्ना मानिसहरूलाई मदत पुग्ने  तरिकामै नहेम्याहको प्रार्थनाको जवाफ दिनुभयो। (नहे. २:५, ६) यसले गर्दा नहेम्याहको विश्वास पक्कै बलियो भयो।

१३, १४. विश्वास बलियो बनाउन र सैतानको प्रयास विफल तुल्याउन हामीले के गर्नुपर्छ?

१३ नहेम्याहले जस्तै निरन्तर प्रार्थना गऱ्यौं भने हाम्रो विश्वास बलियो हुनेछ। सैतानमा दया-माया पटक्कै छैन र त्यसले अक्सर हामी कमजोर भएको बेला आक्रमण गर्छ। उदाहरणको लागि, गम्भीर रोग लागेको छ वा निराश भएका छौं भने हरेक महिना प्रचारमा बिताएको समयको यहोवा कदर गर्नुहुन्न जस्तो लाग्न सक्छ। हामीमध्ये कतिपयको मनमा विगतका तीता अनुभवले गर्दा व्याकुल बनाउने सोचाइ आउन सक्छ। हामीले बेकामको महसुस गरेको सैतान चाहन्छ। हाम्रो विश्वास कमजोर बनाउन त्यसले हाम्रो भावनासित खेलबाड गर्छ। तर “प्रार्थना गर्ने विषयमा सजग” भइरह्यौं भने हाम्रो विश्वास बलियो हुन्छ। हाम्रो विश्वासलाई ‘दुष्टका सबै अग्निबाणहरू निभाउन सक्ने ठूलो ढालसित’ तुलना गर्न सकिन्छ।—एफि. ६:१६.

“प्रार्थना गर्ने विषयमा सजग” हुँदा विभिन्न चुनौतीको सामना गर्न सक्नेछौं (अनुच्छेद १३, १४ हेर्नुहोस्)

१४ “प्रार्थना गर्ने विषयमा सजग” भइरह्यौं भने विश्वासको जाँच अचानक हुँदा हामी अत्तालिने छैनौं; बरु परमेश्वरप्रति वफादार भइरहनेछौं। परीक्षामा पर्दा नहेम्याहको उदाहरण सम्झनुपर्छ र तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। यहोवाको मदत पायौं भने मात्र प्रलोभन तिरस्कार गर्न सक्नेछौं र विश्वासको जाँचमा सफल हुनेछौं।

अरूको निम्ति प्रार्थना गर्नुहोस्

१५. अरूको निम्ति प्रार्थना गर्ने सन्दर्भमा हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?

१५ प्रेषित पत्रुसको विश्वास नडगमगाओस् भनेर येशूले तिनको निम्ति उत्कट बिन्ती चढाउनुभयो। (लूका २२:३२) इपाफ्रास नाम गरेका प्रथम शताब्दीका वफादार ख्रीष्टियनले येशूको उदाहरण अनुकरण गरे। तिनले  कलस्सीका भाइबहिनीको निम्ति व्यग्र प्रार्थना गरे। पावलले तिनीबारे कलस्सीका भाइबहिनीलाई यस्तो लेखे: “तिमीहरू परमेश्वरको सबै इच्छामा पूर्णतया विश्वस्त भएर अन्ततः परिपूर्ण होओस् भनेर तिनी तिमीहरूका निम्ति सधैं तनमनले प्रार्थना गरिरहन्छन्‌।” (कल. ४:१२) हामीले आफैलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘के म संसारभरका भाइबहिनीको निम्ति व्यग्र प्रार्थना गर्छु? प्राकृतिक प्रकोपले गर्दा दुःख पाइरहेका भाइबहिनीलाई प्रार्थनामा कत्तिको सम्झन्छु? यहोवाको सङ्गठनमा गहन जिम्मेवारी सम्हालिरहेका भाइहरूको निम्ति मैले अन्तिम पटक कहिले प्रार्थना गरेको थिएँ? गाह्रो परिस्थितिको सामना गरिरहेको कुनै भाइ वा बहिनीको निम्ति के मैले हालसालै प्रार्थना गरें?’

१६. हामीले भाइबहिनीको निम्ति प्रार्थना गर्दा के त्यसले फरक पार्छ? व्याख्या गर्नुहोस्।

१६ हामीले भाइबहिनीको निम्ति प्रार्थना गर्दा तिनीहरूले धेरै मदत पाउन सक्छन्‌। (२ कोरिन्थी १:११ पढ्नुहोस्) आफ्ना थुप्रै सेवकले एउटै कुराको लागि बारम्बार प्रार्थना गर्दैमा कदम चालिहाल्नुपर्ने बाध्यता यहोवालाई छैन। तर प्रार्थनाको जवाफ दिंदा आफ्ना सेवकहरूले एकअर्कामा राखेको साँचो र गहिरो चासोलाई यहोवा याद गर्नुहुन्छ। त्यसकारण अरूको निम्ति प्रार्थना गर्ने जिम्मेवारीलाई गम्भीरतासाथ लिनुपर्छ। इपाफ्रासले जस्तै भाइबहिनीको निम्ति व्यग्र प्रार्थना गरेर तिनीहरूलाई प्रेम गरेको देखाउनुपर्छ। यसो गऱ्यौं भने हामी आनन्दित हुनेछौं किनकि “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषि. २०:३५.

‘हाम्रो उद्धार नजिक छ’

१७, १८. “प्रार्थना गर्ने विषयमा सजग” भइरह्यौं भने कस्ता आशिष्‌ पाउनेछौं?

१७ “रात निकै बितिसक्यो र दिन नजिकै आइपुगेको छ” भनेर लेख्नुअघि पावलले यस्तो लेखे: “अहिले कस्तो बेला हो भनेर तिमीहरूलाई थाह भएकोले . . . निद्राबाट ब्यूँझने समय आइसकेको छ, किनकि हामीले विश्वास गर्न थालेको बेलामा भन्दा हाम्रो उद्धार अहिले झन्‌ नजिक छ।” (रोमी १३:११, १२) परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार नजिक छ र हाम्रो उद्धार हामीले सोचेभन्दा झन्‌ नजिक छ। अहिले निदाउने समय होइन। संसारको कुरामा अलमलिएर यहोवालाई प्रार्थना गर्ने समय नै नहुने हदसम्म हामी कहिल्यै पुग्नुहुँदैन। बरु “प्रार्थना गर्ने विषयमा सजग” भइरहनु आवश्यक छ। यसो गऱ्यौं भने यहोवाको दिन पर्खंदै गर्दा हामी “पवित्र आचरण भएका र परमेश्वरप्रतिको भक्ति प्रकट हुने कामहरू गर्ने मानिस” हुन सक्नेछौं। (२ पत्रु. ३:११, १२) हामी जागा छौं कि छैनौं र यस दुष्ट संसारको अन्त नजिकै छ भन्ने कुरामा विश्वास गर्छौं कि गर्दैनौं, हाम्रो जीवनशैलीबाट देखिन्छ। हामीले “निरन्तर प्रार्थना” गर्नै पर्छ। (१ थिस्स. ५:१७) येशूले जस्तै हामीले पनि यहोवालाई व्यक्तिगत प्रार्थना गर्न एकान्त ठाउँ खोज्नुपर्छ। प्रार्थना गर्न पर्याप्त समय निकाल्यौं भने हामी यहोवासित नजिक हुनेछौं। (याकू. ४:७, ८) यो हाम्रो लागि आशिष्‌ हो।

१८ बाइबल यसो भन्छ: “पृथ्वीमा हुनुहुँदा ख्रीष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो र उहाँको सुनुवाइ भयो, किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो।” (हिब्रू ५:७) येशूले यहोवालाई उत्कट बिन्ती तथा निवेदन चढाउनुभयो र उहाँ जीवनको अन्तिम क्षणसम्मै यहोवाप्रति वफादार हुनुभयो। येशू वफादार भएकोले यहोवाले उहाँलाई पुनर्जीवित पार्नुभयो र स्वर्गमा अमर जीवन दिनुभयो। भविष्यमा जस्तोसुकै सतावट वा परीक्षा आइपरोस् हामी पनि स्वर्गमा हुनुहुने बुबाप्रति वफादार रहन सक्नेछौं। आउनुहोस्, “प्रार्थना गर्ने विषयमा सजग” भइरहौं! यसो गऱ्यौं भने अनन्त जीवन पाउनेछौं।