अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अक्टोबर २०१३

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—फिलिपिन्स

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—फिलिपिन्स

लगभग १० वर्षअघिको कुरा हो, ३०/३५ वर्षका विवाहित जोडी ग्रेगोरियो मारिलू मनिलामा पूर्ण-समय जागिर खाँदै अग्रगामी सेवा पनि गर्दै थिए। जागिर खाँदै अग्रगामी सेवा गर्नु सजिलो थिएन तैपनि तिनीहरू सफल भए। मारिलूको पदोन्नति भयो र आफूले काम गरिरहेकी बैङ्कमा तिनी म्यानेजर भइन्‌। उनी भन्छिन्‌: “हामी दुवैको जागिर राम्रो भएकोले जीवन आरामदायी थियो।” वास्तवमा यस दम्पतीको आर्थिक अवस्था बलियो हुँदै गइरहेको थियो। त्यसैले तिनीहरूले मनिलाबाट १९ किलोमिटर पूर्वमा पर्ने एकदमै राम्रो ठाउँमा सुन्दर घर बनाउने निर्णय गरे। तिनीहरूले एउटा निर्माण कम्पनीसित सम्झौता गरे र हरेक महिना किस्ता बुझाउँदै १० वर्षमा चुक्ता गर्ने प्रबन्ध मिलाए।

“यहोवालाई लुटिरहेकी छु जस्तो लाग्यो”

मारिलू भन्छिन्‌: “नयाँ जागिरमा धेरै समय र शक्ति खर्च गर्नुपर्ने भएकोले ख्रीष्टियन गतिविधिप्रतिको जोस सेलाउँदै गएको थियो। यहोवाको सेवाको लागि छुट्टयाएको समय उहाँलाई दिन सकिरहेकी थिइनँ। त्यसैले यहोवालाई लुटिरहेकी छु जस्तो लाग्यो।” यस्तो अवस्था मन नपरेकोले एक दिन ग्रेगोरियो र मारिलूले आफ्नो जीवन कतातिर लम्कँदै छ भन्ने विषयमा छलफल गरे। ग्रेगोरियो भन्छन्‌: “हामी छाँटकाँट गर्न चाहन्थ्यौं तर के छाँटकाँट गर्ने हो, हामीलाई थाह थिएन।  छोराछोरी पनि नभएकोले यहोवाको सेवामा अझ धेरै समय बिताउन के गर्न सकिन्छ भन्नेबारे छलफल गऱ्यौं। अनि हामीले डोऱ्याइको लागि यहोवालाई प्रार्थना गऱ्यौं।”

त्यतिबेला तिनीहरूले राज्य प्रचारकहरूको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्ने सम्बन्धमा दिइएका भाषणहरू सुने। ग्रेगोरियो भन्छन्‌: “ती भाषणहरूलाई हाम्रो प्रार्थनाको जवाफ ठान्यौं।” सही निर्णय गर्न तिनीहरू साहसी हुनुपर्थ्यो। त्यसैकारण यहोवालाई विश्वास अझै बलियो बनाइदिनुहोस् भनेर बिन्ती गरे। तर तिनीहरूसामु एउटा ठूलो अवरोध थियो। तिनीहरूको घर धमाधम बन्दै थियो। तिनीहरूले तीन वर्ष बराबरको किस्ता बुझाइसकेका थिए। तिनीहरूले कस्तो निर्णय गर्नेथिए? मारिलू भन्छिन्‌: “सम्झौता रद्द गरेमा हामीले तिरिसकेको सबै पैसा गुम्नेथियो। त्यो सानोतिनो रकम थिएन। तर त्यसलाई हामीले यहोवाको इच्छालाई पहिलो स्थान दिने कि आफ्नै अभिलाषालाई, छनौट गर्ने मौकाको रूपमा लियौं।” प्रेषित पावलको कुरा सम्झँदै तिनीहरू ‘हानि बेहोर्न’ तयार भए। तिनीहरूले निर्माणकार्य रद्द गरे, जागिर छोडे, प्रायजसो सामान बेचे अनि मनिलाबाट लगभग ४८० किलोमिटर दक्षिणमा पर्ने पालावान टापुको एउटा विकट गाउँमा बसाइँ सरे।—फिलि. ३:८.

“हामीले सन्तुष्ट हुने ‘रहस्य सिकेका’ छौं”

बसाइँ सर्नुअघि नै ग्रेगोरियो र मारिलूले सरल जीवन बिताउन थालिसकेका थिए। तर नयाँ ठाउँमा पुगेपछि मात्रै जीवन कत्ति सरल बनाउनुपर्ने रहेछ, थाह पाए। मारिलू भन्छिन्‌: “हामी त छक्कै पऱ्यौं। बिजुली थिएन, सर-सुविधाको नाममा केही थिएन। पहिलेको ठाउँमा भात पकाउन राइस कुकरको स्वीच दबाइदिए पुग्थ्यो तर नयाँ ठाउँमा त दाउरा काटेपछि मात्र चुलो बल्थ्यो। ठूलठूला बजारमा जाने, बाहिरै खाने र सहरी जीवनका अन्य कुराको अभाव खट्कियो।” तर यी दम्पतीले बसाइँ सर्नुको कारण आफैलाई सम्झाइरहे र तिनीहरूलाई नयाँ ठाउँमा भिज्न धेरै समय लागेन। मारिलू भन्छिन्‌: “राती खुला आकाशमा टिलपिल टल्किरहेका ताराहरू र प्रकृतिका अन्य सुन्दर कुराहरू हेर्दा रमाइलो लाग्छ। प्रचार गरेका मानिसहरूको हँसिलो मुहार देख्न पाउँदा त झनै आनन्द लाग्छ। यहाँ सेवा गरेर हामीले सन्तुष्ट हुने ‘रहस्य सिकेका’ छौं।”—फिलि. ४:१२.

“नयाँ व्यक्तिहरू मण्डलीको सदस्य भएको देख्न पाउनु जत्तिको आनन्द अरू कुनै कुराले दिंदैन। हाम्रो जीवन पहिलेभन्दा अर्थपूर्ण भएको महसुस गरेका छौं।”—ग्रेगोरियो र मारिलू

ग्रेगोरियो भन्छन्‌: “यहाँ आउँदा साक्षीको नाममा चार जना मात्र थिए। मैले हरेक हप्ता जनभाषण दिन थाल्दा र सँगसँगै राज्य गीत गाउँदै गितार बजाइदिंदा त्यहाँका भाइबहिनी खुसी भए।” एक वर्षभित्रै त्यो सानो समूह मण्डलीमा परिणत भएको र प्रकाशकहरू पनि २४ जना पुगेको ग्रेगोरियो र मारिलूले देखे। ग्रेगोरियो भन्छन्‌: “मण्डलीबाट पाएको मायाले हाम्रो मनै छोएको छ।” त्यस विकट ठाउँमा विगत छ वर्षदेखि गर्दै आएको सेवा सम्झँदै तिनीहरू भन्छन्‌: “नयाँ व्यक्तिहरू मण्डलीको सदस्य भएको देख्न पाउनु जत्तिको आनन्द अरू कुनै कुराले दिंदैन। हाम्रो जीवन पहिलेभन्दा अर्थपूर्ण भएको महसुस गरेका छौं।”

 “‘यहोवा कत्ति भलो हुनुहुन्छ, मैले पारख गरेर हेरेकी छु’”

फिलिपिन्सका लगभग ३,००० भाइबहिनी देशभित्रै आवश्यकता धेरै भएको ठाउँमा सरेका छन्‌। तिनीहरूमध्ये लगभग ५०० जना त अविवाहित बहिनीहरू हुन्‌। कारेनको उदाहरण विचार गर्नुहोस्।

कारेन

अहिले २५/२६ वर्ष पुगेकी कारेन कगायानको बागाऊमा हुर्केकी थिइन्‌। किशोरी छँदादेखि नै तिनी आफ्नो सेवा विस्तार गर्न चाहन्थिन्‌। तिनी भन्छिन्‌: “समय थोरै मात्र बाँकी छ र सबै किसिमका मानिसहरूले राज्य सन्देश सुन्नुपर्छ भनेर मलाई थाह थियो। त्यसैले प्रचारकहरूको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न चाहें।” तिनलाई परिवारका कसै-कसैले विकट ठाउँमा गएर प्रचार गर्नुको सट्टा उच्च शिक्षा हासिल गर्न कर लगाए। तर कारेनले डोऱ्याइको लागि यहोवालाई प्रार्थना गरिन्‌। विकट ठाउँमा गएर सेवा गरेकाहरूसित पनि तिनले कुराकानी गरिन्‌। अठाह्र वर्ष पुगेपछि तिनी आफ्नो घरबाट ६४ किलोमिटर टाढा पर्ने एउटा विकट ठाउँमा सरिन्‌।

कारेन बसाइँ सरेकी त्यो सानो मण्डलीले फिलिपिन समुद्रको तटमा पर्ने पहाडी इलाकाको रेखदेख गर्छ। कारेन भन्छिन्‌: “बागाऊबाट त्यो नयाँ मण्डलीसम्म पुग्न तीन दिन हिंड्यौं। त्यो पनि उकाली-ओराली गर्दै अनि ठाउँ-ठाउँमा ३० पटकभन्दा धेरै चोटि नदीहरू तर्दै।” तिनी यसो पनि भन्छिन्‌: “कुनै-कुनै बाइबल विद्यार्थीकहाँ पुग्न छ घण्टा हिंड्छु। बाइबल विद्यार्थीकै घरमा बास बसछु अनि भोलिपल्ट घर फर्कन फेरि छ घण्टा हिंड्छु।” तिनको प्रयास त्यसै खेर गएको छ? कारेन यसो भन्छिन्‌: “कहिलेकाहीं गोडा असाध्यै दुख्छ।” तर खुसी हुँदै तिनी थप्छिन्‌: “मेरा १८ वटा बाइबल अध्ययन छन्‌! ‘यहोवा कत्ति भलो हुनुहुन्छ, मैले पारख गरेर हेरेकी छु’!”—भज. ३४:८.

“यहोवामा भर पर्न सिकें”

सुखी

अमेरिकामा बसिरहेकी ४१/४२ वर्षकी अविवाहित बहिनी सुखीलाई फिलिपिन्समा बसाइँ सर्न केले उत्प्रेरित गऱ्यो? सन्‌ २०११ मा तिनी उपस्थित भएको क्षेत्रीय सम्मेलनमा एक दम्पतीको अन्तरवार्ता लिइएको थियो। उक्त दम्पतीले प्रचार गर्न मेक्सिको सर्नुअघि आफूसित भएको प्रायजसो सरसामान बेचबिखन गरेको कुरा अन्तरवार्तामा बताए। सुखी भन्छिन्‌: “त्यस अन्तरवार्तापछि पहिला कहिल्यै नसोचेको लक्ष्यबारे सोच्न थालें।” भारतीय मूलकी सुखीले फिलिपिन्समा बसिरहेका पंजाबीहरूलाई मदत चाहिएको छ भनेर थाह पाइन्‌। त्यसपछि तिनले त्यहाँ सरेर उनीहरूलाई मदत गर्ने निर्णय गरिन्‌। तिनलाई सजिलो भयो र?

सुखी भन्छिन्‌: “कुन सरसामान राख्ने अनि कुन बेच्ने, निर्णय गर्नु सोचेभन्दा गाह्रो थियो।” तिनी अझै भन्छिन्‌: “आफ्नै अपार्टमेन्टमा १३ वर्ष आरामको जीवन बिताएपछि फेरि आमाबुबासित बस्नु सजिलो त पक्कै थिएन। तर सरल जीवन बिताउन सिक्न त्यसो गर्नै पर्थ्यो।” फिलिपिन्स आएपछि तिनले के-कस्ता चुनौती सामना गरिन्‌? “किरा-फट्याङ्ग्रा  देख्नेबित्तिकै म तर्सन्थें र मलाई घरको सम्झना झलझली आउँथ्यो। त्यतिखेर मैले पहिलेभन्दा अझ धेरै यहोवामा भर पर्न सिकें।” परिणाम कस्तो भयो? मुसुक्क हाँसदै सुखी यसो भन्छिन्‌: “यहोवा हामीलाई यसो भन्नुहुन्छ, ‘मलाई जाँचेर हेर कि म अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌ तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ।’ एक जना घरधनीले ‘अब तपाईं कहिले आउनुहुन्छ, थुप्रै प्रश्न सोध्नु बाँकी नै छ’ भन्दा मैले उक्त कुराको वास्तविकता महसुस गरें। यहोवाबारे सिक्न इच्छुक व्यक्तिहरूलाई मदत गर्न पाउँदा अपार आनन्द र सन्तुष्टि पाएकी छु।” (मला. ३:१०) सुखी यसो पनि भन्छिन्‌: “बसाइँ सर्ने निर्णय गर्नु सबैभन्दा गाह्रो कुरा थियो। तर निर्णय गरिसकेपछि भने यहोवाले मेरा सबै आवश्यकता कसरी पूरा गर्नुभयो, छर्लङ्गै बुझ्न सकें।”

“डरलाई जित्न सकें”

अहिले ४० वर्ष पुग्नै लागेका विवाहित भाइ साइमेले मध्यपूर्वी मुलुकमा गएर आकर्षक जागिर खान फिलिपिन्स छोडे। त्यहाँ छँदा एक जना क्षेत्रीय निरीक्षकबाट पाएको प्रोत्साहन र परिचालक निकायका एक जना सदस्यको भाषण सुनेपछि तिनी यहोवालाई जीवनमा पहिलो स्थान दिन उत्प्रेरित भए। साइमे भन्छन्‌: “तर जागिर छोड्ने कुरा सोच्दा आङ नै सिरिङ्ङ हुन्थ्यो र रातभर सुत्न सक्दैनथें।” तैपनि तिनले जागिर छोडे र फिलिपिन्स फर्के। आज साइमे र तिनकी पत्नी हाइडी फिलिपिन्सको दक्षिणी भागमा पर्ने डाभाऊ देल सुरमा सेवा गर्छन्‌। यो इलाका ठूलो भएकोले यहाँ थुप्रै प्रचारक चाहिएको छ। साइमे भन्छन्‌: “म असाध्यै खुसी छु। जागिर गुमाउनुपर्ला भन्ने डरलाई जित्न सकें र यहोवालाई पहिलो स्थान दिन सकें। यहोवालाई सर्वोत्तम सेवा चढाउँदा पाइने सन्तुष्टि अरू कुनै पनि कुराले दिन सक्दैन।”

साइमे र हाइडी

“हामी एकदमै सन्तुष्ट छौं”

लगभग ३०/३२ वर्ष पुगेका रामीलो जुलियट अग्रगामी सेवा गरिरहेका दम्पती हुन्‌। तिनीहरूको घरबाट ३० किलोमिटर टाढा पर्ने मण्डलीमा मदत चाहिएको छ भनेर थाह पाउँदा तिनीहरू मदत गर्न अघि सरे। त्यसैले घाम लागोस् कि पानी परोस्, सभामा उपस्थित हुन र प्रचारमा भाग लिन तिनीहरू हरेक हप्ता मोटरसाइकलमा आवतजावत गर्छन्‌। बाटो खाल्डाखुल्डी परेकोले र झोलुङ्गे पुल तर्नुपरेकोले यात्रा गर्नु सजिलो छैन। तैपनि सेवा विस्तार गर्न पाएकोमा तिनीहरू खुसी छन्‌। रामीलो भन्छन्‌: “हामी दुई जनाले गरी ११ वटा बाइबल अध्ययन सञ्चालन गर्छौं। आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न त्यागहरू गर्नुपर्छ तर हामी एकदमै सन्तुष्ट छौं।”—१ कोरि. १५:५८.

जुलियट र रामीलो

के तपाईं देशभित्र वा देशबाहिर प्रचारकहरूको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्नेबारे अझ धेरै कुरा सिक्न चाहनुहुन्छ? त्यसोभए आफ्नो क्षेत्रीय निरीक्षकसित कुरा गर्नुहोस् र जुलाई २००१ को हाम्रो राज्य सेवकाई-को “के तपाईं आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ?” शीर्षकको लेख हेर्नुहोस्।

अझ बढी सिक्नुहोस्

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

पूर्ण समय प्रचार गर्नेरूको लागि कस्तो विशेष तालिमको प्रबन्ध गरिन्छ?