सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  अक्टोबर २०१३

 जीवनी

यहोवामा भर पर्नु इनामदायी साबित भएको छ

यहोवामा भर पर्नु इनामदायी साबित भएको छ

जीवनले कहिले कस्तो मोड लिन्छ, थाह हुँदैन। कहिलेकाहीं जीवनमा आइपर्ने उतारचढाव सामना गर्न एकदमै गाह्रो हुन्छ। तर यस्तो बेला आफैमा भर नपरी यहोवामा भर पर्नेहरूलाई उहाँ आशिष्‌ दिनुहुन्छ। वर्षौंको दौडान मेरी श्रीमती र मैले यो अनुभव गरेका छौं। हाम्रो जीवन इनामदायी भएको छ। हाम्रो जीवनका तीता-मीठा क्षणबारे थाह पाउनुहोस्।

अन्तरराष्ट्रिय बाइबल विद्यार्थीले सन्‌ १९१९ मा अमेरिकाको ओहायो राज्यको सिडार प्वाइन्टमा आयोजना गरेको अधिवेशनमा मेरो बुबा र आमाको भेट भयो। त्यही वर्ष उहाँहरूले विवाह गर्नुभयो। मेरो जन्म १९२२ मा भयो र दुई वर्षपछि मेरो भाइ पल पनि जन्मियो। मेरी श्रीमती ग्रेस १९३० मा जन्मिन्‌। उनका आमाबुबा रोय र रूथ होएल अनि उहाँहरूका आमाबुबा पनि बाइबल विद्यार्थी हुनुहुन्थ्यो। भाइ चार्ल्स टेज रसलसित ग्रेसका हजुरबुबा-हजुरआमाको राम्रो चिनजान थियो।

मैले ग्रेसलाई १९४७ मा भेटें र जुलाई १६, १९४९ मा हाम्रो विवाह भयो। विवाहअघि नै भविष्यका योजनाबारे खुलस्त कुराकानी गऱ्यौं। हामीले पूर्ण-समय सेवा गर्ने र छोराछोरी नजन्माउने निर्णय गऱ्यौं। अक्टोबर १, १९५० देखि अग्रगामी सेवा थाल्यौं। त्यसपछि १९५२ मा मलाई क्षेत्रीय निरीक्षकको जिम्मा दिइयो।

परिभ्रमण कार्य अनि गिलियड

नयाँ असाइनमेन्ट राम्ररी पूरा गर्न हामी दुवैलाई मदत चाहिएको महसुस गऱ्यौं। अनुभवी भाइहरूबाट मैले त थुप्रै कुरा सिकें तर म ग्रेसले पनि तालिम पाएको चाहन्थें। त्यसकारण हाम्रो परिवारसित राम्रो चिनजान भएका एक जना अनुभवी परिभ्रमण निरीक्षक मार्भिन होलेनसित यस विषयमा कुरा गरें। मैले उहाँलाई यसो भने: “ग्रेसको उमेर पनि त्यति पुगेको छैन। अनुभव पनि त्यति छैन। केही समय ऊसितै काम गर्दै उसलाई सिकाउन सक्ने कुनै बहिनी याद गर्नुभएको छ कि?” एक जना अनुभवी अग्रगामी बहिनी एड्ना विङ्कलले मदत गर्न सक्ने कुरा उहाँले बताउनुभयो। पछि ग्रेसले एड्नाबारे यसो भनिन्‌: “एड्नाको मदतले गर्दा घर-घरको प्रचारमा मानिसहरूसित कुरा गर्न सजिलो लाग्यो। हाम्रो सन्देशसित सहमत नहुने मानिसहरूलाई जवाफ दिन पनि जानें। त्यति मात्र हैन, ध्यान दिएर सुन्न र सही जवाफ दिन पनि सिकें। उहाँले मलाई चाहिएकै मदत दिनुभयो।”

बायाँबाट: नेथन नोर, म्याल्कम आलेन, फ्रेड रस्क, लायल रुस, एन्ड्रयु वेग्नर

हामीले आयोवा राज्यको दुईवटा क्षेत्रमा काम गऱ्यौं। ती क्षेत्रमा मिनेसोटा अनि दक्षिण डकोटा दुवै राज्यका केही भाग पर्थे। त्यसपछि हामीलाई न्यु योर्क क्षेत्र न. १ मा खटाइयो। यस क्षेत्रमा ब्रूक्लिन अनि क्वीन्स्का केही इलाका पर्थ्यो।  हामीले एकदमै अनुभवहीन महसुस गऱ्यौं। हामीले ब्रूक्लिन हाइट्स मण्डली पनि भ्रमण गर्नुपर्थ्यो र त्यो मण्डली बेथेलकै राज्यभवनमा भेला हुन्थ्यो। त्यस मण्डलीमा अनुभवी बेथेल सेवकहरू थुप्रै थिए। मैले पहिलो सेवा भाषण दिएपछि भाइ नेथन नोरले मकहाँ आएर यसो भन्नुभयो: “म्याल्कम, तपाईंले हामीलाई सुधार गर्नुपर्ने क्षेत्र देखाइदिनुभयो। ती सल्लाह उपयुक्त छन्‌। कहिल्यै नबिर्सनुहोस्, सुधार गर्नुपर्ने विषयमा सल्लाह दिनुभएन भने तपाईं सङ्गठनको लागि अनमोल हुन सक्नुहुन्न। आफ्नो प्रयास जारी राख्नुहोस्।” सभापछि मैले यो कुरा ग्रेसलाई बताएँ। सभापछि माथि कोठामा गयौं र धुरुधुरु रोयौं।

“सुधार गर्नुपर्ने विषयमा सल्लाह दिनुभएन भने तपाईं सङ्गठनको लागि अनमोल हुन सक्नुहुन्न। आफ्नो प्रयास जारी राख्नुहोस्”

केही महिनापछि हामीले गिलियड स्कूलको २४ औं कक्षामा निम्तो पायौं। हाम्रो दीक्षान्त समारोह फेब्रुअरी १९५५ मा थियो। हामी मिसनरी सेवामा जाने सम्भावना एकदमै कम छ भनेर स्कूल जानुअघि नै थाह दिइएको थियो। बरु यस तालिमले हामीलाई परिभ्रमण कार्यमा अझै प्रभावकारी हुन मदत गर्नेथियो। गिलियड स्कूल एकदमै रमाइलो भयो र हामीले नम्र हुन पनि सिक्यौं।

सन्‌ १९५४, गिलियडमा ग्रेस र मसँगै फर्न र जर्ज काउच

गिलियड स्कूलपछि मलाई जिल्ला निरीक्षकको जिम्मा दिइयो। हामीले इन्डियाना, मिशिगन अनि ओहायो राज्यमा भ्रमण गर्नुपर्थ्यो। पछि डिसेम्बर १९५५ मा भाइ नोरको पत्र पाउँदा छक्कै पऱ्यौं। पत्रमा यस्तो लेखिएको थियो: “तपाईंहरू बेथेलमा आएर यहीं सेवा गर्न चाहनुहुन्छ अथवा . . . बेथेलमा केही समय सेवा गरिसकेपछि विदेशी भूमिमा सेवा गर्न चाहनुहुन्छ, कुरा नलुकाई लेख्नुहोस्। तर तपाईंहरू परिभ्रमण सेवामै रहन चाहनुहुन्छ भने, त्यो पनि लेख्नुहोस्।” जुनसुकै जिम्मेवारी स्वीकार्न तयार भएको कुरा हामीले बतायौं। हामीलाई तुरुन्तै बेथेलमा बोलाइयो।

बेथेलमा बिताएका रमाइला क्षणहरू

हामीले बेथेलमा थुप्रै वर्ष सेवा गऱ्यौं। त्यतिखेर अमेरिकाको विभिन्न ठाउँमा गएर त्यहाँका मण्डलीहरूमा र सम्मेलन तथा अधिवेशनमा भाषण दिने जिम्मा पाएँ। थुप्रै युवाहरूलाई तालिम दिने मौका पनि पाएँ। ती युवाहरूले पछि सङ्गठनमा ठूलठूला जिम्मेवारी सम्हाले। त्यसपछि भाइ नोरको सेक्रेटरीको रूपमा काम गरें। उहाँको अफिसमा विश्वव्यापी प्रचारकार्यलाई व्यवस्थित गर्ने काम गरिन्थ्यो।

सन्‌ १९५६, सेवा विभागमा काम गर्दै

विशेषगरि सेवा विभागमा काम गर्दा निकै रमाइलो भयो। त्यहाँ मैले टि. जे. (बड) सलिभनसँग काम गर्ने मौका पाएँ। उहाँ लामो समयसम्म त्यस विभागको निरीक्षक हुनुहुन्थ्यो। मैले अरूबाट पनि थुप्रै कुरा सिकें। भाइ फ्रेड रस्कबाट अझ धेरै कुरा सिकें। उहाँले मलाई तालिम दिने जिम्मा पाउनुभएको थियो। उहाँलाई यस्तो प्रश्न गरेको अझै पनि याद छ: “फ्रेड, मैले तयार पारेको केही पत्रमा किन यत्ति धेरै  छाँटकाँट गर्नुभयो?” उहाँ हाँस्नुभयो र भन्नुभयो: “म्याल्कम, मौखिक रूपमा भनिएको कुरालाई थप कुरा भनेर अझै स्पष्ट पार्न सकिन्छ। तर लेखिएको कुरा भने, अझ विशेषगरि यहाँबाट पठाइने पत्रहरू भने सकेसम्म स्पष्ट अनि सही हुनुपर्छ।” उहाँले मलाई यसो पनि भन्नुभयो: “हरेस नखानुहोस्, तपाईं राम्रो गर्दै हुनुहुन्छ। समय बित्दै जाँदा अझै राम्रो गर्नुहुनेछ।”

बेथेलमा ग्रेसले विभिन्न विभागमा काम गरिन्‌। तीमध्ये एउटा थियो, कोठा सफा गर्ने। उनलाई आफ्नो काम निकै रमाइलो लाग्थ्यो। हामी बेथेलमा छँदा बेथेल आएका केही युवाहरूसित अहिले पनि भेट हुन्छ। तिनीहरू अहिले पनि खुसी हुँदै ग्रेसलाई यसो भन्छन्‌: “तपाईंले मलाई ओछ्यान मिलाउन सिकाउनुभयो। मैले ओछ्यान मिलाउन सिकेकोले मेरी आमा निकै खुसी हुनुभयो।” ग्रेसले पत्रिका विभाग, पत्राचार विभाग अनि क्यासेट-टेप कपी गर्ने विभागमा पनि काम गरिन्‌। यहोवाको सङ्गठनमा जहाँसुकै अनि जुनसुकै काम गरौं, यो ठूलो सम्मान र आशिष्‌को कुरा हो भनेर उनले विभिन्न विभागमा काम गर्दा महसुस गरिन्‌। उनी अहिले पनि त्यस्तै महसुस गर्छिन्‌।

हामीले गरेका छाँटकाँटहरू

हाम्रा आमाबुबाको उमेर ढल्कँदै गएकोले उहाँहरूलाई हाम्रो सहारा चाहियो भनेर १९७५ तिर महसुस गर्न थाल्यौं। अन्तमा हामीले गाह्रो निर्णय गर्नै पर्ने भयो। हामी बेथेल सेवा अनि बेथेलका प्रिय भाइबहिनीलाई छोडेर जान चाहँदैनथ्यौं। तर वृद्ध आमाबुबाको हेरचाह गर्नु मेरो दायित्व हो भन्ने महसुस गरें। परिस्थिति परिवर्तन भयो भने फेरि बेथेल फर्कने विचार गर्दै हामीले बेथेल सेवा छोड्यौं।

परिवारको भौतिक आवश्यकता पूरा गर्न मैले बिमा कम्पनीमा काम गर्न थालें। तालिम लिइरहेको बेला एक जना म्यानेजरले भनेको यो कुरा म सधैं सम्झन्छु: “मानिसहरूको घरमा साँझपख जानुभयो भने मात्र व्यापार राम्रो हुन्छ। मानिसहरूलाई भेट्न सकिने समय यही हो। योभन्दा महत्त्वपूर्ण काम अरू छैन।” मैले भनें: “तपाईं अनुभवी हुनुहुन्छ र म त्यसको कदर गर्छु। तर म धर्ममा आस्था राख्ने मान्छे हुँ। मैले अहिलेसम्म यस विषयमा सम्झौता गरेको छैन र भविष्यमा पनि गर्नेछैन। अरू साँझ जान सक्छु, मङ्गलबार र बिहीबार साँझ भने सक्दिनँ। किनकि ती दुई साँझ म एकदमै जरुरी सभामा जानुपर्छ।” जागिर खाए पनि सभा नछुटाएकोले यहोवाले मलाई आशिष्‌ दिनुभयो।

हामीले आमालाई स्याहार केन्द्रमा राखेका थियौं। जुलाई १९८७ मा उहाँको मृत्यु हुँदा हामी उहाँको छेवैमा थियौं। त्यस केन्द्रकी हेड नर्सले ग्रेसलाई यसो भनिन्‌: “अब घर जानुस् र आराम गर्नुस्। तपाईंले आफ्नी सासूलाई एकछिन पनि छोड्नुभएन। उहाँको राम्ररी ख्याल गर्नुभयो भनेर हामी सबैलाई थाह छ। सकेजति गर्नुभयो, त्यसैमा सन्तोक मान्नुस्।”

हामीलाई बेथेल सेवा एकदमै मन पर्थ्यो। त्यसैले डिसेम्बर १९८७ मा हामीले फेरि बेथेल सेवा गर्न आवेदन दियौं। तर त्यसको केही दिनमै ग्रेसलाई ठूलो आन्द्राको क्यान्सर  भएको पत्ता लाग्यो। शल्यक्रिया गरेर राम्ररी निको भएपछि उनी क्यान्सरमुक्त भइन्‌। त्यही समयतिर हामीले बेथेलबाट पत्र पायौं, जसमा हामीलाई स्थानीय मण्डलीमै सेवा गरिरहने सुझाव दिइएको थियो। यहोवाको सेवामा जोडतोडले लागिरहन हामी कटिबद्ध थियौं।

पछि मैले टेक्सासमा जागिर पाएँ। त्यहाँको मौसम न्यानो भएकोले हामीलाई सजिलो होला कि भन्ने सोच्यौं। हुन पनि त्यस्तै भयो। हामी यहाँ सरेको २५ वर्ष भइसक्यो। हामीले थुप्रै मायालु भाइबहिनी पाएका छौं र उनीहरू हाम्रो घनिष्ठ साथी भएका छन्‌।

हामीले थुप्रै पाठ सिकेका छौं

ग्रेसलाई ठूलो आन्द्राको र थाइरइडको क्यान्सरले निकै दुःख दियो। हालै उनलाई स्तन क्यान्सर पनि भयो। तर उनले कहिल्यै गुनासो गरिनन्‌। उनले सधैं मलाई साथ दिएकी छिन्‌ र परिवारको शिरको रूपमा मेरो आदर गरेकी छिन्‌। मानिसहरू उनलाई हाम्रो सुमधुर अनि आनन्दित वैवाहिक सम्बन्धको रहस्य के हो भनेर सोध्ने गर्छन्‌। उनी यस्तो जवाफ दिन्छिन्‌: “हामी घनिष्ठ छौं। हरेक दिन कुराकानी गर्छौं। एकअर्कासित समय बिताउन मन पराउँछौं। रिसाएका छौं भने सुत्नुअघि नै मिलाप गर्छौं।” कहिलेकाहीं एकअर्कासित झोक चल्छ। तैपनि क्षमा दिन्छौं। यसो गर्दा समस्या हल हुन्छ।

“सधैं यहोवामा भर पर्नुहोस्। उहाँले जे हुन दिनुहुन्छ, त्यसलाई स्वीकार्नुहोस्”

कठिनाइको बाबजुद हामीले थुप्रै राम्रा पाठ सिकेका छौं:

  1. (१) सधैं यहोवामा भर पर्नुहोस्। उहाँले जे हुन दिनुहुन्छ, त्यसलाई स्वीकार्नुहोस्। आफ्नै समझशक्तिमा भर नपर्नुहोस्।—हितो. ३:५, ६; यर्मि. १७:७.

  2. (२) समस्या जस्तोसुकै होस्, मदतको लागि यहोवाको वचनमा भर पर्नुहोस्। यहोवाप्रति आज्ञाकारी हुनु अनि उहाँका नियमहरू पालन गर्नु एकदमै महत्त्वपूर्ण छ। हामी कि त आज्ञाकारी हुन सक्छौं कि अनाज्ञाकारी। एकैपटक दुवै हुन सक्दैनौं।—रोमी ६:१६; हिब्रू ४:१२.

  3. (३) जीवनमा एउटा कुरा सबैभन्दा महत्त्वपूर्ण छ, त्यो हो यहोवाको अनुमोदन। यहोवाले चाहनुभएको कुरालाई पहिलो स्थान दिनुहोस्, पैसालाई होइन।—हितो. २८:२०; उप. ७:१; मत्ती ६:३३, ३४.

  4. (४) यहोवाको सेवामा सफल हुन उहाँलाई प्रार्थना गर्नुहोस्। आफूले गर्न सक्ने कुराबारे सोच्नुहोस्, गर्न नसक्ने कुराबारे होइन।—मत्ती २२:३७; २ तिमो. ४:२.

  5. (५) हाम्रो सङ्गठनबाहेक अरू कुनै पनि सङ्गठनले यहोवाको आशिष्‌ अनि अनुमोदन पाएको छैन भनेर नबिर्सनुहोस्।—यूह. ६:६८.

हामीले यहोवाको सेवा गर्न थालेको ७५ वर्षभन्दा धेरै भइसक्यो। विवाहित दम्पतीको रूपमा उहाँको सेवा गरेको ६५ वर्ष पुगिसक्यो। यति लामो समयदेखि सँगै यहोवाको सेवा गर्दा धेरै रमाइलो भएको छ। हामीले जस्तै हाम्रा भाइबहिनीले पनि यहोवामा भर पर्दा जीवन इनामदायी हुन्छ भनेर महसुस गरेको चाहन्छौं र यसको लागि यहोवासित प्रार्थना पनि गर्छौं।