सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अगस्त २०१३

आपसमा गहिरो चासो राखौं र एकअर्कालाई प्रोत्साहन देऔं

आपसमा गहिरो चासो राखौं र एकअर्कालाई प्रोत्साहन देऔं

“आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं।”—हिब्रू १०:२४.

१, २. मृत्यु-यात्रामा हिंड्न बाध्य पारिएका २३० साक्षीहरूको ज्यान नजानुको कारण के थियो?

घटना दोस्रो विश्वयुद्धको अन्ततिरको हो। हिटलरको सेनाले युद्ध हार्दैथियो। नाजी सरकारले यातना शिविरमा बाँकी रहेका हजारौंलाई मार्ने आदेश दियो। साक्सेनहाउसेन यातना शिविरका कैदीहरूलाई बन्दरगाहसम्म हिंडाउने, जहाजमा चढाउने अनि जहाजलाई समुद्रमा डुबाउने कुटिल चाल बनाइएको थियो। पछि यो यात्रा मृत्यु-यात्रा (डेथ मार्च) भनेर चिनियो।

साक्सेनहाउसेन यातना शिविरका ३३ हजार कैदीलाई २५० किलोमिटर पर पर्ने ल्युबेक बन्दरगाहसम्म बलजफती हिंड्न लगाइयो। तिनीहरूमध्ये छवटा देशका २३० जना यहोवाका साक्षीहरू पनि थिए। रोग लागेकोले र भोको भएकोले सबै कैदी कमजोर थिए। तर हाम्रा भाइबहिनी कसैको पनि ज्यान गएन! किन? साक्षीहरूमध्येकै एक जना भाइले यसो भने: “हार नमान्न हामीले एकअर्कालाई प्रोत्साहन दिइरह्यौं।” एकअर्काप्रतिको मायाले र परमेश्वरबाट पाएको “असाधारण शक्ति”-ले उनीहरूलाई यस्तो कठिन अवस्थामा सँभाल्यो।—२ कोरि. ४:७.

३. किन हामीले एकअर्कालाई प्रोत्साहन दिनुपर्छ?

अहिले हामी यस्तो मृत्यु-यात्रामा त छैनौं। तर हामीसामु थुप्रै चुनौती छन्‌। सन्‌ १९१४ मा परमेश्वरको राज्य स्थापना भएपछि सैतानलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकियो। “आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।” (प्रका. १२:७-९, १२) आरमागेडोन नजिकिंदै गएकोले यहोवासितको हाम्रो सम्बन्ध बिगार्न सैतानले अनेकन्‌ परीक्षा र दबाब प्रयोग गर्दैछ। यसबाहेक दिनदिनैको तनाव त छँदैछ। (अय्यू. १४:१; उप. २:२३) एकपछि अर्को गर्दै ओइरिएका यस्ता समस्याले गर्दा कहिलेकाहीं हामी यतिविघ्न हताश हुन्छौं, जत्ति नै प्रयास गरे पनि निराशाले छोड्दैन। एक जना भाइको अवस्था विचार गर्नुहोस्। वर्षौंको दौडान तिनले थुप्रैलाई यहोवाप्रति वफादार हुन मदत गरे।  उमेर चढ्दै जाँदा तिनी र तिनकी श्रीमती बिरामी परे। त्यसपछि तिनी साह्रै निराश हुन थाले। यस भाइलाई जस्तै हामीलाई पनि यहोवाले दिने “असाधारण शक्ति” र एकअर्काको प्रोत्साहन चाहिन्छ।

४. अरूको लागि प्रोत्साहनको स्रोत हुन चाहन्छौं भने प्रेषित पावलले दिएको कुन सल्लाह पालन गर्नै पर्छ?

अरूको लागि प्रोत्साहनको स्रोत हुन चाहन्छौं भने प्रेषित पावलले हिब्रू ख्रीष्टियनहरूलाई दिएको सल्लाह पालन गर्नै पर्छ। तिनले यसो भने: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं, कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं, बरु एकअर्कालाई प्रोत्साहन दिइरहौं, अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौं, झन्‌ बढी त्यसो गरिरहौं।” (हिब्रू १०:२४, २५) यो महत्त्वपूर्ण सल्लाह कसरी पालन गर्न सक्छौं?

‘आपसमा गहिरो चासो राखौं’

५. ‘आपसमा गहिरो चासो राख्नुको’ अर्थ के हो? हामी कसरी त्यसो गर्न सक्छौं?

‘आपसमा गहिरो चासो राख्नुको’ अर्थ “अरूको ख्याल राख्नु, उनीहरूबारे सोच्नु” हो। तर राज्यभवनमा भाइबहिनीलाई अभिवादन गरेर झटपट कुराकानी टुङ्ग्याइहाल्छौं अथवा सामान्य कुराकानी मात्र गर्छौं भने उनीहरूको ख्याल गरिरहेका हुन्छौं र? पटक्कै हुँदैनौं। हो, हामी ‘अरूको कुरामा हात हाल्न’ चाहँदैनौं। (१ थिस्स. ४:११; १ तिमो. ५:१३) बरु हामी भाइबहिनीलाई प्रोत्साहन दिन चाहन्छौं। उनीहरूको वास्तविक परिस्थिति, उनीहरूको गुण-अवगुण, बलियो अनि कमजोर पक्ष र यहोवासित उनीहरूको सम्बन्ध कस्तो छ, बुझ्न चाहन्छौं। उनीहरूले हामी उनीहरूका साथी हौं र उनीहरूलाई माया गर्छौं भनेर बुझ्नु जरुरी छ। त्यसैकारण उनीहरू आपत्‌मा पर्दा र निराश हुँदा मात्र होइन, अरू बेला पनि उनीहरूसित समय बिताउनुपर्छ।—रोमी १२:१३.

६. मण्डलीका भाइबहिनीको ‘गहिरो चासो राख्न’ एल्डरहरूले के गर्न सक्छन्‌?

एल्डरहरूले स्वेच्छा र तत्परतासाथ मण्डलीका भाइबहिनीको हेरविचार गर्नुपर्छ भनेर बाइबलमा सल्लाह दिइएको छ। (१ पत्रु. ५:१-३) यसो गर्न एल्डरहरूले भाइबहिनीलाई राम्ररी चिनेको हुनुपर्छ। (हितोपदेश २७:२३ पढ्नुहोस्) भाइबहिनीलाई मदत गर्न चाहेको र उनीहरूसित समय बिताउन पाउँदा रमाइलो मानेको कुरा एल्डरहरूले देखाएका छन्‌ भने भाइबहिनी पनि आवश्यक परेको बेला एल्डरहरूसित मदत माग्न हिचकिचाउने छैनन्‌। साथै आफ्ना भित्री भावना र चिन्ताफिक्रीबारे एल्डरहरूसित कुरा गर्न पनि सजिलो हुनेछ। अनि एल्डरहरूले पनि प्रत्येक भाइबहिनीलाई उनीहरूको आवश्यकताअनुसार मदत गर्न सक्नेछन्‌।

७. हरेस खाएकाहरूको “समझहीन” बोली सुन्दा कुन कुरा सम्झनुपर्छ?

“जो कमजोर छन्‌, तिनीहरूलाई मदत गर” भनेर पावलले थिस्सलोनिकाको भाइबहिनीलाई आग्रह गरे। (१ थिस्सलोनिकी ५:१४ पढ्नुहोस्) यस पदमा “कमजोर” भनेर उल्लेख गरिएका व्यक्तिहरू हरेस खाएका वा निराश भएकाहरू हुन्‌। हितोपदेश २४:१० मा यसो भनिएको छ: “विपत्तिको समयमा तैंले हरेस खाइस् भने, तेरो बल कत्ति कम्ती रहेछ!” (नयाँ अन्तरराष्ट्रिय संस्करण) हरेस खाएको व्यक्तिको बोली “समझहीन” हुन सक्छ। (अय्यू. ६:२, ३) मनमै नभएको कुरा मुखबाट निस्कन सक्छ। रेचेल नाम गरेकी बहिनीकी आमा असाध्यै निराश थिइन्‌। रेचेल भन्छिन्‌: “आमा अक्सर रिस उठ्ने कुरा गर्नुहुन्थ्यो। कहिलेकाहीं त सहनै गाह्रो हुन्थ्यो, तर मेरी आमा वास्तवमा मायालु, दयालु अनि उदार हुनुहुन्छ भनेर आफैलाई सम्झाउन खोज्थें। निराश व्यक्तिहरू तिनीहरूले मनमै नचिताएको कुरा भन्दा रहेछन्‌ भनेर थाह पाएँ। तर ‘जस्तालाई त्यस्तै’ गऱ्यौं भने परिस्थिति सुध्रनुको सट्टा झनै बिग्रन्छ।” हितोपदेश १९:११ मा यस्तो लेखिएको छ: “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।”

८. हामीले विशेषगरि कसलाई हाम्रो मायामा ‘ढुक्क बनाउनुपर्छ’ र किन?

 विगतको गल्तीले गर्दा निराश भएको व्यक्तिलाई हामी कसरी “गहिरो चासो” देखाउन सक्छौं? भूल सुधारिसकेको भए तापनि आफ्नो गल्ती सम्झेर तिनी अझै लज्जित हुन सक्छन्‌। पावलले कोरिन्थ मण्डलीका एक जना पश्‍चात्तापी व्यक्तिबारे त्यहाँका भाइहरूलाई यस्तो लेखे: “तिमीहरूले उसलाई दयापूर्वक क्षमा दिनुपर्छ र सान्त्वना दिनुपर्छ, ताकि ऊ अति दुःखी भएर शोकमा नडुबोस्। त्यसैले तिमीहरू उसलाई प्रेम गर्छौ भनी उसलाई ढुक्क बनाउन म तिमीहरूलाई आग्रह गर्छु।” (२ कोरि. २:७, ८) यस पदमा चलाइएको “ढुक्क बनाउन” भन्ने अभिव्यक्तिको अर्थ “देखाउनु,” “प्रमाणित गर्नु” वा “आश्वस्त पार्नु” हो। भाइबहिनीप्रतिको माया हामीले आफ्नो बोली र कामबाट देखाउनुपर्छ। तब मात्र हामी उनीहरूलाई साँच्चै माया गर्छौं भनेर उनीहरूले थाह पाउनेछन्‌।

“प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं”

९. हामी कसरी भाइबहिनीलाई ‘प्रेम र सुकर्म गर्न उत्साहित बनाउन’ सक्छौं?

“आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं” भनेर पावलले लेखे। हामी कसरी त्यसो गर्न सक्छौं? सँगी भाइबहिनीलाई अरूप्रति माया देखाउन र असल काम गर्न हौसला दिएर। जस्तै, आगो निभ्नै लाग्यो भने हामी दाउरा चलाउँछौं र ढुङ्ग्रोले फुक्छौं। (२ तिमो. १:६) त्यसैगरि हामी पनि भाइबहिनीलाई जोसिलो भई यहोवाको सेवा गरिरहने उत्प्रेरणा दिन सक्छौं। त्यसो गर्ने एउटा तरिका हो, भाइबहिनीले गरेको असल कामको प्रशंसा गर्नु।

सँगै प्रचारमा जानुहोस्

१०, ११. (क) हामीमध्ये को-को प्रशंसा गरिएको चाहन्छौं? (ख) प्रशंसा गर्दा सही कदम चाल्न हौसला पाएको व्यक्तिको अनुभव सुनाउनुहोस्।

१० निराश भएका होऔं वा नहोऔं, हामी सबैलाई नै प्रशंसाका दुई-चार शब्द सुन्न मन पर्छ। एक जना भाइले लेखे: “बुबाले कहिल्यै पनि मेरो प्रशंसा गर्नुभएन।” त्यसैकारण हुर्कंदै गर्दा तिनलाई आफूले सही गर्दैछु भन्ने कहिल्यै लागेन। अहिले ५० वर्ष पुगिसकेको भए तापनि साथीभाइले ‘एल्डरको जिम्मेवारी राम्ररी पूरा गर्दै हुनुहुन्छ’ भनिदिंदा तिनको हौसला बढ्छ। अरूलाई प्रोत्साहन दिनु कत्तिको महत्त्वपूर्ण छ, तिनले आफ्नै  अनुभवबाट राम्ररी बुझेका छन्‌। त्यसैले तिनी अरूलाई प्रोत्साहन दिने मौका खोजिरहन्छन्‌। कसैले प्रशंसा गर्दा अग्रगामी सेवा गरिरहेकाहरू, वृद्धवृद्धाहरू र हरेस खाएकाहरूलगायत हामी सबैको हौसला बढ्छ।—रोमी १२:१०.

११ गलत कदम चालेको व्यक्तिलाई सच्याउने कोसिस गर्दा एल्डरहरू उक्त व्यक्तिले विगतमा गरेको राम्रो कामको प्रशंसा गर्छन्‌। यसो गर्दा गल्ती गर्ने व्यक्तिले आफ्नो सोचाइ परिवर्तन गर्ने र सही कदम चाल्ने उत्प्रेरणा पाउँछ। (गला. ६:१) मिरियम नाम गरेकी बहिनीले पनि त्यसै गर्ने हौसला पाइन्‌। तिनले लेखिन्‌: “मन मिल्ने साथीहरूले यहोवालाई त्यागे। त्यही समयतिर बुबालाई पनि मस्तिष्क रक्तश्राव भयो। म अत्यन्तै निराश भएँ। निराशामा नडुब्न मैले बेग्लै विश्वास भएको केटासित मायाप्रीति गाँसें।” तर यसो गर्दा तिनलाई आफू यहोवाको माया पाउन योग्य छैन जस्तो लाग्यो र यहोवालाई नै त्याग्ने विचारसमेत गरिन्‌। तर एक जना एल्डरले मिरियमलाई तिनले विगतमा वफादार भई यहोवाको सेवा गरेको कुरा सम्झन मदत गरे। त्यतिमात्र होइन, यहोवा तिनलाई अहिले पनि उत्तिकै माया गर्नुहुन्छ भनेर पनि बताए। यसको नतिजा के भयो? मिरियमले पहिलेजस्तै यहोवालाई माया गर्न थालिन्‌। आफ्नो प्रेमीसितको सम्बन्ध टुङ्ग्याएर निरन्तर यहोवाको सेवा गर्न थालिन्‌।

प्रेम र सुकर्म गर्न उत्साहित बनाउनुहोस्

१२. भाइबहिनीलाई अरूसित तुलना गऱ्यौं, उनीहरूको आलोचना गऱ्यौं अथवा उनीहरूलाई लज्जित महसुस गरायौं भने के हुन सक्छ?

१२ जोसिलो भई यहोवाको सेवा गरिरहन भाइबहिनीलाई “उत्साहित” पार्दा हामी कुन कुरामा होसियार हुनुपर्छ? उनीहरूलाई अरूसित तुलना गर्नुहुँदैन। हामीले बनाएको नीतिनियम पछ्याएनन्‌ भनेर आलोचना गर्नुहुँदैन। अथवा उनीहरूले गरेको सेवा पुगेन भनेर लज्जित पार्नुहुँदैन। अन्यथा उनीहरू क्षणभरको लागि मात्र जोसिलो हुनेछन्‌। भाइबहिनीलाई “उत्साहित” पार्ने सबैभन्दा राम्रो तरिका उनीहरूको प्रशंसा गर्नु र यहोवालाई माया गरेकोले नै सकेजति उहाँको सेवा गर्छौं भनेर सम्झन मदत गर्नु हो।फिलिप्पी २:१-४ पढ्नुहोस्।

“एकअर्कालाई प्रोत्साहन दिइरहौं”

१३. अरूलाई प्रोत्साहन दिनुको अर्थ के हो? (शीर्षकसँगैको तस्बिर हेर्नुहोस्)

१३ ‘दिन नजिक हुँदै गइरहेकोले एकअर्कालाई प्रोत्साहन दिइरहनु’ जरुरी छ। अरूलाई प्रोत्साहन दिनुलाई आगोमा दाउरा थप्नुसित तुलना गर्न सकिन्छ। दाउरा थप्दा आगो निभ्न पाउँदैन। भाइबहिनीलाई प्रोत्साहन दिनुको अर्थ उनीहरूलाई यहोवा परमेश्वरको सेवा निरन्तर गर्न आवश्यक बल र सान्त्वना दिनु हो। निराश भएकाहरूलाई मदत गर्दा दयालु तरिकामा बोल्नुपर्छ। (हितो. १२:१८) साथै “चनाखो भई सुन्नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।” (याकू. १:१९) भाइबहिनीको कुरा सुन्यौं र उनीहरूको भावना बुझ्ने प्रयास गऱ्यौं भने उनीहरू निराश हुनुको कारण बुझ्न सक्छौं र उनीहरूलाई मदत पुग्ने कुराकानी गर्न सक्छौं।

भाइबहिनीसित समय बिताउनुहोस्

१४. एक जना एल्डरले हतोत्साहित भाइलाई कसरी मदत गरे?

१४ एक जना दयालु एल्डरले वर्षौंसम्म निष्क्रिय  भएका भाइलाई कसरी मदत गरे विचार गर्नुहोस्। त्यस भाइको कुरा सुनेपछि तिनले यहोवालाई अझै पनि धेरै माया गर्दा रहेछन्‌ भनेर एल्डरले थाह पाए। तिनी प्रहरीधरहरा पत्रिकाको प्रत्येक अङ्क पढ्थे र सभामा पनि नियमित उपस्थित हुने प्रयास गरिरहेका थिए। तर मण्डलीका कसै-कसैको व्यवहार तिनलाई मन परेको थिएन र तिनको चित्त दुखेको थियो। एल्डरले तिनको कुरा ध्यान दिएर सुने र निष्पक्ष भएर तिनको भित्री भावना बुझ्ने प्रयास गरे। साथै भाइबहिनी पनि तिनलाई माया गर्छन्‌ भनेर आश्वस्त पारे। विगतको तीतो अनुभवले गर्दा आफूले त्यस्तो माया गरेको परमेश्वरको सेवा गर्न छोडेको कुरा तिनले पछि बुझे। उक्त एल्डरले त्यस भाइलाई सँगै प्रचारमा लगे। ती एल्डरको मदत पाएर तिनी प्रचारमा जान थाले र फेरि एल्डर नियुक्त भए।

प्रोत्साहन चाहिएको व्यक्तिको कुरा धीरजी भई सुन्नुहोस् (अनुच्छेद १४, १५ हेर्नुहोस्)

१५. अरूलाई प्रोत्साहन दिने सम्बन्धमा हामी यहोवाबाट के सिक्न सक्छौं?

१५ हतोत्साहित व्यक्तिले तुरुन्तै हलुको महसुस नगर्लान्‌ वा हाम्रो मदत तुरुन्तै नस्वीकार्लान्‌। अझै केही समय तिनलाई मदत गर्नुपर्ने हुन सक्छ। पावलले भने: “जो कमजोर छन्‌, तिनीहरूलाई मदत गर अनि सबैसित धीरजी होओ।” (१ थिस्स. ५:१४) तुरुन्तै हार मान्नुको साटो कमजोर व्यक्तिलाई आवश्यक परुन्जेल मदत गरिरहौं। विगतमा यहोवा परमेश्वर आफ्ना हतोत्साहित सेवकहरूसित धीरजी हुनुभयो। जस्तै, यहोवा एलियासित धीरजी हुनुभयो र तिनको भावनाको कदर गर्नुभयो। साथै सेवामा लागिरहन तिनलाई मदत दिनुभयो। (१ राजा १९:१-१८) अर्को उदाहरण दाऊदको हो। मनदेखि नै पश्‍चात्ताप गरेकोले यहोवाले उनलाई माफी दिनुभयो। (भज. ५१:७, १७) भजन ७३ अध्यायका लेखकले परमेश्वरको सेवा गर्न छोड्नै लागेका थिए। उहाँले तिनलाई पनि मदत गर्नुभयो। (भज. ७३:१३, १६, १७) विशेषगरि हामी निराश भएको बेला यहोवा हामीसित धीरजी हुनुहुन्छ र दयालु व्यवहार गर्नुहुन्छ। (प्रस्थ. ३४:६) यहोवाको कृपा ‘हरेक बिहान नयाँ-नयाँ हुन्छ’ र “उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।” (विला. ३:२२, २३) निराश भएकाहरूसित व्यवहार गर्दा हामीले उहाँको अनुकरण गरेको यहोवा चाहनुहुन्छ।

जीवनको बाटोमा हिंडिरहन एकअर्कालाई प्रोत्साहन दिइरहौं

१६, १७. यस युगको अन्त नजिकिंदै जाँदा हामीले के गर्नै पर्छ र किन?

१६ साक्सेनहाउसेन यातना शिविरका ३३ हजार कैदीमध्ये हजारौंले आफ्नो ज्यान गुमाए। तर यहोवाका साक्षीहरू भने सबै बचे। एकअर्काको प्रोत्साहन र मदत नपाएको भए सायद ती २३० जना साक्षीहरूको ज्यान जाने थियो।

१७ अहिले हामी ‘जीवनतर्फ लैजाने बाटोमा’ हिंडिरहेका छौं। (मत्ती ७:१४) अब छिट्टै यहोवाको सेवा गर्ने सबै जना न्यायले बास गर्ने नयाँ संसारमा प्रवेश गर्नेछन्‌। (२ पत्रु. ३:१३) यस युगको अन्त नजिकिंदै जाँदा जीवनतर्फ लैजाने बाटोमा हिंडिरहन एकअर्कालाई प्रोत्साहन दिइरहौं।