अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अगस्त २०१३

आमाबाबुहरू हो—आफ्ना छोराछोरीलाई शैशवकालदेखि नै सिकाउनुहोस्

आमाबाबुहरू हो—आफ्ना छोराछोरीलाई शैशवकालदेखि नै सिकाउनुहोस्

“हेर, छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌, गर्भको फलचाहिं उहाँको इनाम हो” भनेर बाइबलमा लेखिएको छ। (भज. १२७:३) त्यसैले बच्चा जन्मँदा ख्रीष्टियन आमाबाबुहरू फुरुङ्ङ पर्नु कुनै नौलो कुरा होइन।

बच्चा जन्मिंदा अपार आनन्दसँगसँगै गम्भीर जिम्मेवारीहरू पनि आइपर्छन्‌। बच्चालाई हुर्काएर स्वस्थ व्यक्ति बनाउने हो भने उसलाई नियमित रूपमा पोसिलो आहार दिनुपर्छ। त्यसैगरि उसलाई साँचो उपासनामा दृढ अडान लिने व्यक्ति बनाउने हो भने आध्यात्मिक आहार पनि दिनुपर्छ। साथै परमेश्वरका सिद्धान्तहरू उसको मनमा ठप्प राखिदिन आमाबाबुले कडा मेहनत गरेर सिकाउनु पनि पर्छ। (हितो. १:८) आमाबाबुले आफ्ना छोराछोरीलाई कहिलेदेखि सिकाउनुपर्छ? अनि के सिकाउनुपर्छ?

 आमाबाबुलाई परमेश्वरको मदत चाहिन्छ

प्राचीन इस्राएलको सोरा सहरमा बस्ने दान कुलका मानोहबारे विचार गर्नुहोस्। तिनकी पत्नी बाँझी थिइन्‌। तर अब उनले एउटा छोरा जन्माउने थिइन्‌। यो कुरा यहोवाका स्वर्गदूतले मानोहकी पत्नीलाई बताए। (न्याय. १३:२, ३) यो सुनेर यहोवाका विश्वासी सेवक मानोह र तिनकी पत्नी निकै खुसी भएको हुनुपर्छ। तर तिनीहरूलाई एउटा चिन्ताले सताइरहेको थियो। त्यसैले मानोहले यसो भनेर प्रार्थना गरे: “हे परमप्रभु, बिन्ती छ, तपाईंले पठाउनुभएका परमेश्वरका ती मानिस फेरि एकपल्ट आऊन्‌ र त्यो जन्मने बालकको निम्ति हामीले के गर्नुपर्छ त्यो हामीलाई बताइदेऊन्‌।” (न्याय. १३:८) अब जन्मने त्यो बालकलाई कसरी हुर्काउने भनेर मानोह र तिनकी पत्नीलाई चिन्ता लागेको थियो। तिनीहरूले आफ्नो छोरा शिमशोनलाई यहोवाको व्यवस्थाबारे सिकाए। तिनीहरूको त्यो प्रयास व्यर्थ भएन। बाइबल यसो भन्छ: “परमप्रभुका आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो।” परमेश्वरको शक्ति पाएर शिमशोनले इस्राएलको न्यायकर्ताको रूपमा थुप्रै शक्तिशाली कामहरू गरे।—न्याय. १३:२५; १४:५, ६; १५:१४, १५.

छोरा जन्मनुअघि नै मानोहले छोरालाई कसरी हुर्काउने भनेर प्रार्थनामा परमेश्वरसित मदत मागे

आमाबाबुले आफ्ना छोराछोरीलाई कहिलेदेखि सिकाउनुपर्छ? तिमोथीलाई तिनकी आमा युनिस र हजुरआमा लोइसले “शैशवकालदेखि नै पवित्र लेखोटहरू” सिकाए। (२ तिमो. १:५; ३:१५) तिमोथीलाई बाल्यावस्थाको सुरुदेखि नै धर्मशास्त्रका कुराहरू सिकाउन थालियो।

बच्चालाई “शैशवकालदेखि नै” सिकाउनको लागि आमाबाबुले यहोवासित मदत माग्नु र पहिल्यै केही योजनाहरू बनाउनु कत्ति राम्रो! “पूर्व-सोच र परिश्रमले अवश्य लाभ ल्याउँछ” भनेर हितोपदेश २१:५ बताउँछ। बच्चा जन्मने बेला भएपछि आमाबाबुले पक्कै विचार पुऱ्याएर योजना बनाउँछन्‌। कसै-कसैले त बच्चालाई के-के चाहिएला भनेर सरसामानको सूचीसमेत बनाउँछन्‌। तर बच्चालाई यहोवाबारे कसरी सिकाउने भनेर योजना बनाउनु पनि उत्तिकै जरुरी छ। आमाबुबाले बच्चा जन्मेदेखि नै उसलाई सिकाउने लक्ष्य राख्नुपर्छ।

बच्चाहरू हुर्केर वयस्क बन्ने प्रक्रियाबारे लेखिएको एउटा किताबले बताएअनुसार बच्चा जन्मेपछिको केही महिना मस्तिष्कका कोषहरूलाई जोड्ने स्नायुहरू निकै छिटो विकास हुन्छन्‌। बच्चाको दिमाग एकदमै छिटो विकास हुने यो छोटो अवधिको मौका छोपेर आमाबाबुहरूले आफ्नो बच्चालाई यहोवा र उहाँका सिद्धान्तहरूबारे सिकाउनु कत्ति बुद्धिमानी कुरा हो!

नियमित अग्रगामी सेवा गरिरहेकी एउटी आमा यसो भन्छिन्‌: “मेरी छोरी एक महिनाकी हुँदादेखि नै मैले उसलाई प्रचारमा लैजान थालें। बुझ्न त ऊ केही पनि बुझ्दिन थिई, तैपनि यसरी सानैदेखि प्रचार गरेको देख्दा यसले उसमा केही राम्रो असर त पक्कै पारेको हुनुपर्छ। दुई वर्षकी हुँदासम्म त उसले प्रचारमा भेटेका मानिसहरूलाई ढुक्क भएर पर्चाहरू दिन थालिसकेकी थिई।”

यसरी सानैदेखि सिकाउँदा नतिजा राम्रो हुन्छ। तर छोराछोरीलाई यसरी सिकाउनु चानचुने कुरा होइन भनेर सबै आमाबाबुले महसुस गरेका छन्‌।

“समयको पूर्ण सदुपयोग गर”

बच्चाहरू स्वभावैले छुकछुके हुन्छन्‌ र कुनै पनि कुरामा लामो समयसम्म ध्यान दिन सक्दैनन्‌। तिनीहरूको ध्यान तुरुन्तै एउटा कुराबाट अर्को कुरामा गइहाल्छ। हुन पनि तिनीहरू आफू वरपर भएको नयाँ-नयाँ कुराबारे जान्न सधैं उत्सुक हुन्छन्‌। सिकाएको कुरामा ध्यान दिन आमाबाबुले आफ्ना साना बच्चाहरूलाई कसरी मदत गर्न सक्छन्‌?

मोशाले बताएको कुरा विचार गर्नुहोस्। व्यवस्था ६:६, ७ मा यस्तो लेखिएको छ: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्केर बस्ता र उठ्दा तिनको चर्चा गर।” यहाँ प्रयोग गरिएको “होशीयारीसाथ सिकाओ” भन्ने वाक्यांशले बारम्बार दोहोऱ्याएर सिकाउनुलाई बुझाउँछ। सानो बच्चा बिरुवाजस्तै हो। बिरुवामा बेलाबेलामा पानी हालिरहनुपर्ने हुन्छ। महत्त्वपूर्ण कुरा बारम्बार दोहोऱ्याइरह्यो भने ठूला मानिसहरूले त सम्झन्छन्‌ भने बच्चाहरूले नसम्झने त कुरै छैन!

आफ्नो बच्चालाई परमेश्वरबारे सत्य कुरा सिकाउन आमाबाबुले तिनीहरूसित समय बिताउनुपर्छ। अहिलेको व्यस्त संसारमा त्यसरी समय निकाल्न कहाँ सजिलो छ र! तर प्रेषित पावलले महत्त्वपूर्ण ख्रीष्टियन गतिविधिहरूमा भाग लिन “समयको पूर्ण सदुपयोग गर” भनेर सल्लाह दिए। (एफि. ५:१५, १६) हामी कसरी समयको पूर्ण सदुपयोग गर्न सक्छौं? एक जना ख्रीष्टियन निरीक्षकलाई पनि सबै कुराको लागि समय निकाल्न त्यति सजिलो थिएन। तिनले बच्चाको लागि, मण्डलीको लागि र जागिरको लागि समय निकाल्नुपर्थ्यो। त्यसमाथि तिनकी पत्नीले पनि नियमित अग्रगामी सेवा गरिरहेकी थिइन्‌। कत्ति  व्यस्त! तर तिनीहरूले आफ्नी छोरीलाई सिकाउन कसरी समय निकाले? ती भाइ यसो भन्छन्‌: “हरेक दिन नै म काममा जानुअघि हामी श्रीमान्‌-श्रीमती मिलेर छोरीलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाट अथवा दैनिक पद पढेर सुनाउँछौं। बेलुकी पनि सुताउनुअघि केही पढेर सुनाउँछौं। प्रचारमा पनि सँगै लैजान्छौं। उसको जीवनका यी सुरु-सुरुका वर्षहरू त्यसै खेर गएको हामी चाहँदैनौं।”

‘छोराहरू काँडझैं हुन्छन्‌’

आफ्ना छोराछोरीहरू पछि गएर जिम्मेवार व्यक्ति भएको हेर्न नचाहने हामीमध्ये को नै होला र? तर तिनीहरूलाई सिकाउनुपछाडिको हाम्रो मुख्य उद्देश्य, तिनीहरूको मनमा परमेश्वरप्रति प्रेम विकास गर्नु हो।—मर्कू. १२:२८-३०.

भजन १२७:४ यसो भन्छ: “वीर योद्धाको हातमा भएका काँडझैं युवावस्थाका छोराहरू हुन्छन्‌।” छोराछोरीहरूलाई धनुमा राखिएको काँडसित तुलना गरिएको छ। काँडलाई निसानामा लाग्ने तरिकाले ताक्नुपर्छ। धनुर्धारीले लामो समयसम्म काँड ताक्दैन र धनुबाट एकचोटि काँड छुटिसकेपछि त्यसलाई कुनै हालतमा फर्काउन सक्दैन। आमाबाबुको हातमा “काँड” अर्थात्‌ छोराछोरीहरू केही समयको लागि मात्र रहन्छन्‌। त्यस समयको सदुपयोग गरेर आमाबाबुले आफ्ना छोराछोरीको मन-मस्तिष्कमा परमेश्वरका सिद्धान्तहरू ठप्प बसाल्नुपर्छ।

आफ्ना आध्यात्मिक छोराछोरीहरूबारे प्रेषित यूहन्नाले यस्तो लेखे: “मेरा छोराछोरीहरू सत्यमा चलिरहेका छन्‌ भनेर सुन्न पाउनुभन्दा बढ्ता खुसीको कुरा मसित अरू छैन।” (३ यूह. ४) आफ्ना ‘छोराछोरीहरू सत्यमा चलिरहेको’ देख्न पाउँदा ख्रीष्टियन आमाबाबुहरू पनि उत्तिकै खुसी हुन सक्छन्‌।