अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जुलाई २०१३

 जीवनी

जहाँ भए पनि यहोवाको सेवा गर्न उत्सुक

जहाँ भए पनि यहोवाको सेवा गर्न उत्सुक

पहिला कहिल्यै पनि एक्लै प्रचार गएको थिइनँ। हरेक चोटि प्रचारमा निस्कँदा यत्ति डर लाग्थ्यो, खुट्टै लगलग काम्थ्यो। त्यसमाथि इलाकाका मानिसहरू फिटिक्कै चासो देखाउँदैनथे। कोही-कोही त झोकी स्वभावका थिए अनि कुट्ने धम्कीसमेत दिन्थे। अग्रगामी सेवा थालेको पहिलो महिनामा एउटा पुस्तिका मात्र दिन सकें!—मार्कस

उक्त कुरा आजभन्दा ६० वर्ष पहिलेको अर्थात्‌ सन्‌ १९४९ को हो। तर मेरो जीवनकथा त्योभन्दा वर्षौंअघि सुरु हुन्छ। मेरो जन्म सन्‌ १९२७ मा नेदरल्याण्ड्सको उत्तरी ड्रेन्थमा अवस्थित डोन्डरन भन्ने एउटा सानो गाउँमा भएको थियो। सात जना छोराछोरीमध्ये म चौथो थिएँ। मेरो बुबा हेन्ड्रिक जुत्ता बनाउनुका साथै मालीको काम गर्नुहुन्थ्यो। हाम्रो घर विकट ठाउँको हिलाम्मे बाटो छेउमै थियो। हाम्रा अधिकांश छिमेकी खेतीकिसानी गर्थे र मलाई पनि खेतको काम मन पर्थ्यो। सन्‌ १९४७ मा १९ वर्षको छँदा टोनस बन नामका छिमेकीमार्फत बाइबल सत्य सुन्न पाएँ। उहाँलाई पहिलो चोटि भेट्दा मलाई उहाँ मन परेको थिएन। तर दोस्रो विश्वयुद्धको लगत्तै उहाँ यहोवाको साक्षी हुनुभयो। अनि उहाँ पहिलेको भन्दा मित्रैलो हुनुभएको याद गरें। उहाँको व्यक्तित्वमा आएको परिवर्तनले गर्दा उहाँको कुरा सुन्न चासो जाग्यो। परमेश्वरले पृथ्वीलाई प्रमोदवन बनाउने विषयमा उहाँले बताउँदा ध्यानपूर्वक सुनें। मैले तुरुन्तै सत्य स्वीकारें। पछि हामी घनिष्ठ मित्र भयौं। *

मे १९४८ मा मैले प्रचारकार्य सुरु गरें। अनि त्यसको एक महिनापछि उट्रेक्समा भएको अधिवेशनमा जून २० को दिन बप्तिस्मा गरें। जनवरी १, १९४९ मा अग्रगामी सेवा सुरु गरें। मलाई पूर्वी नेदरल्याण्ड्सको बोरकुलो भन्ने ठाउँमा खटाइयो। त्यहाँ एउटा सानो मण्डली थियो। त्यहाँसम्म पुग्न लगभग १३० किलोमिटर यात्रा गर्नुपर्थ्यो। त्यसैले साइकलमा जाने विचार गरें। छ घण्टाजतिमा त पुगिन्छ होला जस्तो लागेको थियो। तर घनघोर वर्षा र हुरीबतासले गर्दा १२ घण्टा लाग्यो! त्यसमाथि अन्तिम ९० किलोमिटर त रेलमै यात्रा गरेको थिएँ। साँझपख  बल्लतल्ल एक साक्षी परिवारको घरमा आइपुगें। त्यस क्षेत्रमा अग्रगामी सेवा गरुन्जेल म त्यहीं बसें।

युद्धपछिका वर्षहरूमा मानिसहरूसित थोरै मात्र सरसामान थिए। सम्पत्तिको नाममा मसित एक जोर सुट र दुइटा पाइन्ट मात्र थियो। सुट एकदमै ठूलो थियो अनि पाइन्ट एकदमै छोटो! मैले सुरुमा बताएझैं बोरकुलोमा बिताएको पहिलो महिना कष्टदायी थियो। तर खुसीको कुरा, यहोवाले मलाई थुप्रै बाइबल विद्यार्थी दिनुभयो। नौ महिनापछि मलाई आम्सटर्डममा खटाइयो।

गाउँबाट सहरमा

गाउँमा खेतीकिसानी गर्दै हुर्केको मान्छे नेदरल्याण्ड्सको सबैभन्दा ठूलो सहर आम्सटर्डममा आइपुग्छु भनेर सोचेकै थिइनँ। त्यहाँ प्रचारकार्य एकदमै फलदायी थियो। विगत नौ महिनामा दिएको भन्दा धेरै प्रकाशन मैले त्यहाँ पहिलो महिनामै दिएँ। केही समय नबित्दै आठ-आठवटा बाइबल अध्ययन सञ्चालन गर्न थालें। मण्डली सेवक (अहिले एल्डरहरूको निकायको संयोजक भनिन्छ) नियुक्त भएपछि पहिलो चोटि जनभाषण दिने जिम्मेवारी पाएँ। मैले आफूलाई अयोग्य ठानें। तर भाषणको केही दिनअघि मलाई अर्कै मण्डलीमा खटाइयो। मैले आरामको सास फेरें। वर्षौंको दौडान ५,००० भन्दा धेरै भाषण दिनेछु भनेर त्यतिबेला मलाई के थाह!

सन्‌ १९५० मा मार्कस (सबैभन्दा दायाँ) आम्सटर्डमनजिक सडक साक्षी दिंदै

मे १९५० मा मलाई हार्लेममा खटाइयो। त्यसपछि क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने निम्तो पाएँ। त्यो खबर पाएको तीन दिनसम्म त राम्ररी सुत्नै सकिनँ। शाखा कार्यालयमा सेवा गरिरहनुभएका भाइ रोबर्ट भीङ्क्लरलाई मैले आफू योग्य छैन भनी बताएँ। तर उहाँले यसो भन्नुभयो: “फाराम मात्र भर्नुस्। तपाईंले सिक्नुहुनेछ।” लगत्तै मलाई एक महिने तालिम दिइयो र क्षेत्रीय सेवकको (निरीक्षक) रूपमा काम गर्न थालें। एउटा मण्डलीको भ्रमणमा एक जना हँसिली अग्रगामी यान्नी टाटकनलाई भेटें। ती जवान बहिनी यहोवालाई असाध्यै माया गर्थिन्‌ र तिनमा आत्मत्यागी मनोभाव थियो। सन्‌ १९५५ मा हामीले विवाह गऱ्यौं। अब बाँकी कुरा भन्नुअघि यान्नी कसरी अग्रगामी भइन्‌ र विवाहपछि हामीले कसरी सँगै सेवा गऱ्यौं, तिनीबाटै सुन्नुहोस्।

विवाहित दम्पतीको रूपमा सेवा गर्दै

यान्नी: मेरी आमा सन्‌ १९४५ मा यहोवाको साक्षी हुनुभयो। त्यसबेला म ११ वर्षकी थिएँ। उहाँले आफ्ना तीन जना छोराछोरीलाई बाइबलको कुरा सिकाउनुपर्ने महत्त्व तुरुन्तै बुझ्नुभयो। तर बुबालाई बाइबलको कुरा फिटिक्कै मन पर्दैनथ्यो। त्यसैले बुबा घरमा नभएको मौका छोपेर सिकाउनुहुन्थ्यो।

म उपस्थित भएको पहिलो अधिवेशन सन्‌ १९५० मा द हेगमा आयोजित अधिवेशन थियो। त्यसको एक हप्तापछि अस्सनको (ड्रेन्थ) स्थानीय राज्यभवनमा गएँ। त्यो नै मेरो पहिलो सभा थियो। म सभा गएकीले बुबा एकदमै रिसाउनुभयो र मलाई घरबाट निकालिदिनुभयो। आमाले मलाई यसो भन्नुभयो, “कहाँ जानुपर्ने हो, तिमीलाई राम्ररी थाह छ।” आमाले हाम्रा भाइबहिनीबारे कुरा गर्नुभएको हो भनेर बुझिहालें। सुरुमा घरनजिकैको साक्षी परिवारकहाँ बस्न गएँ। तर  बुबाले दुःख दिन छोड्नुभएन। त्यसैले लगभग ९५ किलोमिटर टाढा पर्ने डेभेन्टर (अफराइजल) भन्ने ठाउँको मण्डलीमा सरें। म नाबालिग नै भएकीले मलाई घर छोड्न बाध्य पार्नु कानुनविपरीत थियो। त्यसैले बुबा समस्यामा पर्नुभयो। त्यसपछि बुबाले मलाई घर फर्कन भन्नुभयो। हुन त उहाँले बाइबल सत्य कहिल्यै स्वीकार्नुभएन तर मलाई सभाहरूमा र प्रचारमा जान भने दिनुभयो।

सन्‌ १९५२ मा यान्नी (सबैभन्दा दायाँ) अग्रगामी सेवा गर्दै

म घर फर्केको केही समय नबित्दै आमा सिकिस्त बिरामी हुनुभयो र घरधन्दा मैले नै सम्हाल्नुपर्ने भयो। यसको बाबजुद मैले आध्यात्मिक प्रगति गर्दै गएँ र सन्‌ १९५१ मा सत्र वर्षकी छँदा बप्तिस्मा गरें। आमा निको हुनुभएपछि सन्‌ १९५२ मा तीन जना अग्रगामी बहिनीसित दुई महिना अग्रगामी सेवा गरें। हामी डुङ्गामा बनाइएको घरमा बस्थ्यौं र ड्रेन्थको दुइटा सहरमा प्रचार गर्थ्यौं। सन्‌ १९५३ मा मैले नियमित अग्रगामी सेवा सुरु गरें। एक वर्षपछि हाम्रो मण्डलीको भ्रमण गर्न एक जवान क्षेत्रीय निरीक्षक आउनुभयो। उहाँ मार्कस हुनुहुन्थ्यो। दम्पतीको रूपमा यहोवाको सेवा अझ राम्ररी गर्न सकिएला भन्ने सोचेर हामीले मे १९५५ मा विवाह गऱ्यौं।—उप. ४:९-१२.

सन्‌ १९५५ मा हाम्रो विवाहको दिन

मार्कस: विवाहपछि सुरुमा हामीलाई भेन्डम (श्रोनिङ्गन) भन्ने ठाउँमा अग्रगामीको रूपमा खटाइयो। हामी सात फिट चौडाइ र दस फिट लम्बाइ भएको सानो कोठामा बस्थ्यौं। तर यान्नीले त्यो कोठा चिटिक्क पारिन्‌। हरेक रात नै सुत्नुअघि भित्तामा जडिएको खाटलाई तल झार्थ्यौं। त्यतिबेला टेबुल र दुइटा मेचलाई चाहिं त्यहाँबाट हटाउनुपर्थ्यो।

छ महिनापछि हामीले बेल्जियमको उत्तरमा पर्ने फ्लेन्डरमा परिभ्रमण कार्य गर्ने निम्तो पायौं। त्यहाँका मानिसहरू नेदरल्याण्ड्समा बोलिने भाषा बोल्छन्‌। तैपनि तिनीहरूको बोल्ने शैली फरक छ। त्यसकारण सुरु-सुरुमा भाषाको समस्या हुन्थ्यो। सन्‌ १९५५ मा बेल्जियममा लगभग ४,००० प्रकाशक थिए। अहिले त २४,००० भन्दा धेरै छन्‌!

यान्नी: परिभ्रमण कार्यमा आत्मत्यागी मनोभाव हुनु अत्यन्तै आवश्यक छ। हामी मण्डलीहरूको भ्रमण गर्न साइकलमा जान्थ्यौं अनि भाइबहिनीको घरमा बस्थ्यौं। भ्रमण नभएको समयमा बास बस्न हाम्रो आफ्नै कोठा थिएन। त्यसैले हामी सोमबारसम्म अघिल्लो हप्ता भ्रमण गरेको इलाकामा नै बस्थ्यौं अनि मङ्गलबार बिहानै अर्को मण्डलीमा जान्थ्यौं। अवस्था गाह्रो थियो तैपनि सेवाको कामलाई हामीले यहोवाको आशिष्‌को रूपमा हेऱ्यौं।

मार्कस: मण्डलीहरूमा भ्रमण गर्न जाँदा सुरुमा त हामीले कुनै पनि भाइबहिनीलाई चिनेका थिएनौं। तैपनि तिनीहरू हामीसित दयालु व्यवहार गर्थे अनि हामीलाई अतिथि सत्कार गर्थे। (हिब्रू १३:२) वर्षौंको दौडान हामीले डच भाषा बोल्ने सबै मण्डलीमा थुप्रै पटक भ्रमण गऱ्यौं। यसले गर्दा हामीले थुप्रै आशिष्‌ पायौं। प्रायजसो भाइबहिनीलाई राम्रोसँग चिन्न सक्यौं अनि तिनीहरू हाम्रो लागि असाध्यै प्रिय भए। सयौं केटाकेटी शारीरिक अनि आध्यात्मिक रूपमा बढ्दै गएको अनि तिनीहरूले राज्य गतिविधिलाई पहिलो स्थान दिंदै यहोवालाई जीवन समर्पण गरेको आफ्नै आँखाले हेर्न पाएका छौं। तिनीहरूमध्ये  कतिपयले पूर्ण-समय सेवामा लागेर वफादार भई यहोवाको सेवा गरेको देख्दा साह्रै खुसी लाग्छ। (३ यूह. ४) यसबाट पाएको प्रोत्साहनले गर्दा तनमनले आफ्नो जिम्मेवारी पूरा गरिरहन सजिलो भएको छ।—रोमी १:१२.

एउटा ठूलो चुनौती तर साँच्चैको आशिष्‌

मार्कस: विवाह भएको दिनदेखि नै हाम्रो इच्छा गिलियड स्कूल जाने थियो। हरेक दिन कम्तीमा एक घण्टा अङ्ग्रेजी सिक्थ्यौं। तर किताबको भरमा अङ्ग्रेजी सिक्न सजिलो थिएन। त्यसकारण बिदामा इङ्गल्यान्ड जाने निर्णय गऱ्यौं र प्रचार पनि गर्दै अङ्ग्रेजी भाषाको अभ्यास गर्न थाल्यौं। सन्‌ १९६३ मा हामीले ब्रूक्लिनस्थित मुख्यालयबाट दुइटा चिठी प्राप्त गऱ्यौं। एउटा मेरो नाममा अनि अर्को यान्नीको नाममा। मैले दस महिने गिलियड कक्षाको लागि निम्तो पाएँ। यस कक्षाले मुख्यतया भाइहरूलाई सङ्गठनका विभिन्न क्षेत्रमा तालिम तथा निर्देशन दिनेथियो। निम्तो पाएका १०० जनामध्ये ८२ जना त भाइहरू नै थिए।

यान्नी: मैले पाएको चिठीमा मार्कस गिलियड जाँदा मचाहिं बेल्जियममा नै बस्न इच्छुक छु कि छैनँ, त्यसबारे प्रार्थनापूर्वक विचार गर्न भनिएको थियो। हो, सुरुमा त म एकदमै निराश भएँ। मेरो प्रयासमा यहोवाले आशिष्‌ दिनुभएन जस्तो लाग्यो। तर गिलियड स्कूलको उद्देश्यबारे विचार गरें। यसको उद्देश्य संसारभर सुसमाचार फैलाउन मदत गर्नु हो। त्यसकारण बेल्जियममा नै बस्न राजी भएँ। त्यसपछि मलाई दुई जना अनुभवी विशेष अग्रगामी आन्ना र मारिया कोल्पर्टसँगै सेवा गर्न बेल्जियमको गेन्ट सहरमा विशेष अग्रगामीको रूपमा खटाइयो।

मार्कस: अङ्ग्रेजी भाषामा अझ उन्नति गर्नुपर्ने भएकोले मलाई गिलियड स्कूल सुरु हुनुभन्दा पाँच महिनाअगाडि नै ब्रूक्लिनमा बोलाइयो। त्यहाँ मैले ढुवानी विभाग र सेवा विभागमा काम गरें। मुख्यालयमा छँदा एसिया, युरोप अनि दक्षिण अमेरिकामा साहित्य ढुवानी गर्ने काममा मदत गर्ने मौका पाएँ। यसले गर्दा हाम्रो विश्वव्यापी भ्रातृत्वलाई अझ राम्ररी नियाल्न र त्यसको मोल गर्न सकें। भाइ रसलको समयमा परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्नुभएका भाइ ए. एच. म्याकमिलनलाई म अझै सम्झन्छु। मैले उहाँलाई भेट्दा उहाँ वृद्ध भइसक्नुभएको थियो र राम्ररी कान सुन्नुहुन्नथ्यो। तैपनि उहाँ प्रत्येक सभामा उपस्थित हुनुहुन्थ्यो। यसले ममा गहिरो छाप पाऱ्यो र एक ठाउँमा भेला हुने कुरालाई हल्कासित लिनु हुँदैन भनेर सिकायो।—हिब्रू १०:२४, २५.

यान्नी: हामी एकअर्कालाई हप्तामा थुप्रै पटक चिठी पठाउने गर्थ्यौं। सँगै नभएकोले असाध्यै न्यास्रो लाग्थ्यो। तैपनि मार्कस गिलियडको तालिममा रमाइरहनुभएको थियो भने मचाहिं प्रचारकार्यमा। मार्कस अमेरिकाबाट फर्कुन्जेल मेरो १७ वटा बाइबल अध्ययन भइसकेको थियो! पन्ध्र-पन्ध्र महिनासम्म छुट्टिएर बस्नु सजिलो थिएन। तर हामीले गरेको त्यागमा यहोवाले आशिष्‌ वर्षाउनुभयो भनेर विश्वस्त थिएँ। जहाज उड्न ढिला भएकोले मार्कस केही घण्टा ढिलो आइपुग्नुभयो। उहाँ आउनुभएपछि हामी एकअर्कालाई अँगालो हालेर खुब रोयौं। त्यसदेखि उसो हामी कहिल्यै छुट्टिएका छैनौं।

सेवाका हर सुअवसरप्रति धन्यवादी छौं

मार्कस: डिसेम्बर १९६४ मा गिलियडबाट फर्केपछि हामीले बेथेलमा सेवा गर्ने निम्तो पायौं। तर हामीलाई बेथेलमा स्थायी रूपमा खटाइनेछैन भनेर त्यतिबेला थाह थिएन। तीन महिनापछि मलाई फ्लानडर्समा जिल्ला निरीक्षकको रूपमा खटाइयो। अल्जिन र एल्स भीकर्स्मालाई मिसनरीको रूपमा बेल्जियम पठाइएपछि अल्जिनलाई जिल्ला निरीक्षकको जिम्मेवारी दिइयो। त्यसपछि हामीले फेरि बेथेल सेवा गर्न थाल्यौं। त्यहाँ  मैले सेवा विभागमा काम गरें। सन्‌ १९६८ देखि १९८० सम्ममा हाम्रो जिम्मेवारी थुप्रै पटक परिवर्तन भयो। कहिले बेथेलमा त कहिले परिभ्रमण कार्यमा। अन्तमा सन्‌ १९८० देखि २००५ सम्म फेरि जिल्ला निरीक्षकको रूपमा सेवा गरें।

जिम्मेवारी थुप्रै पटक परिवर्तन भए तापनि तनमनले यहोवाको सेवा गर्न हामीले आफूलाई अर्पण गरेका छौं भन्ने कुरा कहिल्यै बिर्सेनौं। जिम्मेवारी परिवर्तन गरिनुको उद्देश्य राज्य गतिविधि अघि बढाउनु हो भन्ने कुरामा विश्वस्त हुँदै आफूले पाएको हरेक जिम्मेवारी खुसीसाथ पूरा गऱ्यौं।

यान्नी: मार्कसले सन्‌ १९७७ मा ब्रूक्लिनमा र सन्‌ १९९७ मा प्याटर्सनमा शाखा समितिको सदस्यको रूपमा थप प्रशिक्षण पाउनुभयो। त्यसबेला मैले पनि उहाँसँगै जाने मौका पाएँ। त्यसको म असाध्यै मोल गर्छु।

यहोवालाई हाम्रो आवश्यकता थाह छ

मार्कस: सन्‌ १९८२ मा यान्नीको शल्यक्रिया गर्नुपऱ्यो। उनी राम्ररी निको भइन्‌। तीन वर्षपछि लुभानमा भएको मण्डलीले हामीलाई राज्यभवनमाथिको कोठा दियो। पूर्ण-समय सेवा गरेको तीस वर्षपछि बल्ल आफ्नै एउटा सानो बस्ने ठाउँ पायौं। मङ्गलबारको दिन मण्डलीको भ्रमणमा निस्कँदा सरसामान ओसार्न ५४ वटा खुट्किला तलमाथि गर्नुपर्थ्यो। त्यो पनि एक पटक होइन, थुप्रै पटक! तर खुसीको कुरा, सन्‌ २००२ मा हामीले राज्यभवनको भूइँ तल्लामै कोठा पायौं। म ७८ वर्षको हुँदा हामीलाई लोकर भन्ने सहरमा विशेष अग्रगामीको रूपमा खटाइयो। यसरी यहोवाको सेवा गर्न पाएकोमा र अहिले पनि हरेक दिन प्रचारकार्यमा भाग लिन सकेकोमा हामी असाध्यै खुसी छौं।

“हामी कहाँ सेवा गर्छौं र कस्तो जिम्मेवारी पाएका छौं, त्यो महत्त्वपूर्ण कुरा होइन तर कसको सेवा गर्छौं, त्यो महत्त्वपूर्ण हो”

यान्नी: हामी दुई जनाले गरी पूर्ण-समय सेवामा १२० वर्षभन्दा धेरै समय बिताएका छौं। यहोवाले ‘कहिल्यै त्याग्नुहुनेछैन’ र वफादार भई उहाँको सेवा गरेमा ‘केही कुराको अभाव हुनेछैन।’ उहाँको यो प्रतिज्ञा सत्य हो भनेर हामी आफैले अनुभव गरेका छौं।—हिब्रू १३:५; व्यव. २:७.

मार्कस: हामीले जवान छँदै आफूलाई यहोवामा समर्पण गऱ्यौं। हामीले आफ्नो लागि ठूला कुराहरू कहिल्यै खोजेनौं। हामीले जुनसुकै जिम्मेवारी खुसीसाथ स्वीकार्दै आएका छौं। किनभने हामी यो कुरामा विश्वस्त छौं: हामी कहाँ सेवा गर्छौं र कस्तो जिम्मेवारी पाएका छौं, त्यो महत्त्वपूर्ण कुरा होइन तर कसको सेवा गर्छौं, त्यो महत्त्वपूर्ण हो।

^ अनु. 5 पछि मेरो बुबा, आमा, दिदी र दुई जना भाइ पनि यहोवाको साक्षी हुनुभयो।