अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जून २०१३

 जीवनी

यहोवाप्रति आज्ञाकारी हुँदा थुप्रै आशिष्‌ पाएकी छु

यहोवाप्रति आज्ञाकारी हुँदा थुप्रै आशिष्‌ पाएकी छु

“नूहबाट हामी कत्ति राम्रो पाठ सिक्छौं है! नूह यहोवाप्रति आज्ञाकारी थिए अनि आफ्नो परिवारलाई माया गर्थे। परिवारै जहाजभित्र छिरेकोले तिनीहरू जलप्रलयबाट जोगिए।”

बुबाले भन्नुभएको यो कुरा मलाई अझै पनि याद छ। उहाँ नम्र अनि मेहनती हुनुहुन्थ्यो। सही के हो र गलत के हो भन्ने कुरामा उहाँ चासो राख्नुहुन्थ्यो। त्यसैले सन्‌ १९५३ मा बाइबल सन्देश सुन्नेबित्तिकै उहाँ त्यसप्रति आकर्षित हुनुभयो। त्यसबेलादेखि नै आफूले सिकिरहेका कुराहरू हामीसित बाँड्न उहाँले सक्दो गर्नुभयो। आमाले भने सुरुमा क्याथोलिक परम्परा छोड्ने मन गर्नुभएन। तर पछि उहाँले पनि बाइबलको कुरा सिक्न थाल्नुभयो।

हामीलाई बाइबलको विषयमा सिकाउन आमाबुबालाई निकै गाह्रो थियो। आमालाई लेखपढ गर्न आउँदैनथ्यो अनि बुबा दिनभरि खेतमा काम गर्नुहुन्थ्यो। कहिलेकाहीं त बुबा यति लखतरान भएर आउनुहुन्थ्यो, अध्ययन गर्दागर्दै उहाँलाई निद्राले झुपुझुपु पार्थ्यो। तर हामीलाई सिकाउन उहाँले गर्नुभएको मेहनत खेर गएन। जेठी छोरी भएकीले बहिनी अनि दुई जना भाइलाई सिकाउन आमाबुबालाई मदत गर्थें। नूह आफ्नो परिवारलाई कत्ति माया गर्थे अनि उनी यहोवाप्रति कत्ति आज्ञाकारी थिए भन्ने विषयमा कुरा गर्ने गर्थ्यौं। नूहको कथा भनेपछि म हुरुक्कै हुन्थें। पछि हामी इटालीको एड्रिया तटमा पर्ने सहर रोजाटो डेल्ये आब्रुट्सेको राज्यभवनमा जान थाल्यौं।

सन्‌ १९५५ को अधिवेशन मेरो पहिलो अधिवेशन थियो। आमा र म डाँडाकाँडा काट्दै रोममा भएको त्यस अधिवेशनमा उपस्थित भयौं। त्यतिबेला म ११ वर्षकी मात्र थिएँ। त्यसबेलादेखि अधिवेशन मेरो जीवनको अभिन्न भाग भएको छ।

सन्‌ १९५६ मा बप्तिस्मा गरें अनि त्यसको लगत्तै पूर्ण-समय सेवा सुरु गरें। सत्र वर्षको उमेरमा विशेष अग्रगामी भएँ। मलाई घरदेखि लगभग ३०० किलोमिटर टाढा पर्ने लाटिना सहरमा खटाइयो। रोमको दक्षिणी भागमा पर्ने यो सहर नयाँ भएकोले त्यहाँका मानिसहरूलाई अरूले के भन्लान्‌ भन्ने चिन्ता थिएन। म र मेरी अग्रगामी साथीले बाइबल साहित्यहरू दिंदा उनीहरू खुसीसाथ स्वीकार्थे। सानै भएकीले कहिलेकाहीं घरपरिवारको साह्रै न्यास्रो लाग्थ्यो। तैपनि आज्ञाकारी हुँदै आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्थें।

हाम्रो विवाहको दिन

पछि मलाई सन्‌ १९६३ मा आयोजित “अनन्त सुसमाचार” विषयको अन्तरराष्ट्रिय सम्मेलनको तयारीमा मदत गर्न मिलान भन्ने ठाउँमा  खटाइयो। अधिवेशनमा थुप्रै भाइबहिनीसित मिलेर स्वयंसेवा गरें। तीमध्ये फ्लोरेन्सका एक जवान भाइ पाओलो पिकोली पनि हुनुहुन्थ्यो। अधिवेशनको दोस्रो दिन उहाँले अविवाहित रहनेबारे जोडदार भाषण दिनुभयो। त्यतिबेला मनमनै यस्तो सोचेकी थिएँ: “यो ब्रदरले त जिन्दगीभर बिहे गर्नुहुन्न होला।” तर पछि हामीबीच चिठी आदानप्रदान हुन थाल्यो। हामीबीच थुप्रै समानता थिए। हाम्रो लक्ष्य एउटै थियो, दुवै जना यहोवालाई धेरै माया गर्थ्यौं अनि उहाँप्रति आज्ञाकारी हुन चाहन्थ्यौं। सन्‌ १९६५ मा हामीले विवाह गऱ्यौं।

पादरीहरूसितको तर्कवितर्क

मैले फ्लोरेन्समा दस वर्षसम्म नियमित अग्रगामीको रूपमा सेवा गरें। मण्डलीमा भएको वृद्धि, अझ विशेषगरि जवान भाइबहिनीको आध्यात्मिक उन्नति हेर्न पाउँदा असाध्यै खुसी लाग्थ्यो। पाओलो र म उनीहरूसँग आध्यात्मिक विषयमा कुराकानी गर्ने अनि रमाइलो गर्ने गर्थ्यौं। पाओलो ती युवाहरूसित फुटबल खेल्ने गर्नुहुन्थ्यो। हुन त म आफ्नो श्रीमान्‌सित समय बिताउन चाहन्थें तर मण्डलीका युवाहरू र अरू परिवारलाई पनि उहाँको आवश्यकता छ र उनीहरूले उहाँबाट लाभ उठाउन सक्छन्‌ भनेर बुझेकी थिएँ।

हामीले अध्ययन गराएका विद्यार्थीहरूबारे सोच्दा अहिले पनि आनन्द लाग्छ। एक जना विद्यार्थी आड्रियाना थिइन्‌। आफूले सिकिरहेको कुराबारे तिनले दुइटा परिवारलाई साक्षी दिइन्‌। ती परिवारहरूले चर्चको एक जना पादरीसित त्रिएक र अमर आत्माजस्ता शिक्षाहरूबारे छलफल गर्ने प्रबन्ध मिलाए। छलफलको लागि तीन जना पादरी आए। ती पादरीहरूको कुरा गज्याङमज्याङ र आफैमा बाझिने खालको थियो। तिनीहरूको कुरा बाइबलसित मेल खाँदैन भनेर हाम्रा बाइबल विद्यार्थीहरूले सजिलै बुझे। त्यस छलफलबाट प्रभावित भएर ती दुई परिवारका १५ जना सदस्य यहोवाको साक्षी भए।

आज हामी प्रचारकार्यको लागि भिन्नै तरिका अपनाउँछौं। त्यतिबेला पाओलो पादरीहरूलाई भेटेर बाइबल शिक्षाबारे छलफल गर्नुहुन्थ्यो। तिनीहरूसित कुराकानी गर्न उहाँ “खप्पिस” भइसक्नुभएको थियो। एक चोटि उहाँ गैर-साक्षीहरूको समूहसित छलफल गर्दै हुनुहुन्थ्यो। उहाँलाई अप्ठेरोमा पार्ने प्रश्नहरू सोध्न पादरीहरूले केही श्रोतालाई पहिल्यै तयार पारेका रहेछन्‌। तर पादरीहरूले योजना गरेजस्तो भएन। श्रोतामध्ये एक जनाले यस्तो प्रश्न सोधे, ‘चर्चले राजनीतिमा हात हाल्नु उचित हो कि होइन?’ पादरीहरू फसादमा परे। अकस्मात्‌ झ्याप्प बत्ती गयो। छलफल रद्द गरियो। केही वर्षपछि थाह पायौं, आफूले सोचेजस्तो तरिकामा छलफल अघि नबढेमा बिजुलीको लाइन काट्ने पूर्वयोजना बनाउनेहरू पादरीहरू नै रहेछन्‌।

नयाँ जिम्मेवारी

विवाह भएको दस वर्षपछि पाओलोले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने निम्तो पाउनुभयो। पाओलोको राम्रो जागिर  थियो। त्यसैले निर्णय गर्न सजिलो थिएन। तर प्रार्थनापूर्वक विचार गरेपछि हामीले त्यो नयाँ जिम्मेवारी स्वीकार्ने निर्णय गऱ्यौं। परिभ्रमण कार्यको दौडान बास दिने परिवारहरूसित समय बिताउन हामीलाई रमाइलो लाग्थ्यो। साँझपख सँगै अध्ययन गर्थ्यौं। पोओलोले केटाकेटीलाई होमवर्क गर्न मदत गर्नुहुन्थ्यो, विशेषगरि गणितको। साथै पाओलो पढ्न भनेपछि हुरुक्कै हुनुहुन्थ्यो। आफूले पढेका रोचक र प्रोत्साहनदायी जानकारी बाँड्न उहाँलाई रमाइलो लाग्थ्यो। सोमबारको दिनचाहिं साक्षीहरू नभएको इलाकामा प्रचार गर्न जान्थ्यौं र मानिसहरूलाई त्यस साँझ हुने सभामा निम्तो दिन्थ्यौं।

पाओलो युवाहरूसित फुटबल खेल्ने गर्नुहुन्थ्यो

परिभ्रमण कार्यमा लागेको दुई वर्ष मात्र भएको थियो, हामीले रोमको बेथेलमा सेवा गर्ने निम्तो पायौं। पाओलोले कानुन विभागमा काम गर्नुभयो अनि मैले चाहिं पत्रिका विभागमा। त्यस्तो छाँटकाँट गर्न सजिलो त थिएन तर हामी यहोवाप्रति आज्ञाकारी हुन चाहन्थ्यौं। इटाली शाखाको विस्तार अनि भाइबहिनीको सङ्ख्यामा ठूलो वृद्धि भएको हेर्न पाउनु निकै रोमाञ्चक थियो। त्यतिबेला इटाली सरकारले यहोवाका साक्षीहरूलाई कानुनी मान्यता दियो। आफूले पाएको नयाँ जिम्मेवारी पूरा गर्न पाउँदा हामी निकै खुसी थियौं।

पाओलोलाई बेथेलको काम खुबै मन पर्थ्यो

सन्‌ १९८० दशकको सुरुतिरको कुरा हो, रगतसम्बन्धी साक्षीहरूको अडानबारे चलेको मुद्दाले इटालीमा निकै चर्चा पायो। त्यतिबेला हामी बेथेल सेवा गर्दै थियौं। एक साक्षी आमाबाबुलाई रगत नदिएर छोरीको हत्या गरेको आरोप लगाइएको थियो। तर छोरीको मृत्यु रगतसम्बन्धी एउटा गम्भीर रोगले गर्दा भएको थियो। यो रोग इटाली अनि वरपरका देशहरूमा सामान्य थियो। बेथेलका भाइबहिनीले ती साक्षी आमाबाबुको पक्षमा मुद्दा लड्ने वकिलहरूलाई निकै मदत गरे। मानिसहरूलाई त्यस घटनासम्बन्धी सत्यतथ्य थाह दिन अनि रगतसम्बन्धी बाइबलको दृष्टिकोण बुझाउन एउटा पर्चा अनि ब्यूँझनुहोस्! को विशेष अङ्क छापियो। महिनौं चलेको त्यस मुद्दाको दौडान पाओलो दिनमा १६ घण्टासम्म लगातार काम गर्नुहुन्थ्यो। उहाँलाई साथ दिन मैले आफ्नोतर्फबाट सक्दो गरें।

अर्को ठूलो परिवर्तन

विवाहित दम्पतीको रूपमा जीवन बिताएको २० वर्षपछि एउटा सोच्दै नसोचेको घटना भयो। मलाई आफू गर्भवती भएको जस्तो लाग्यो। मैले यो कुरा पाओलोलाई बताएँ। त्यतिबेला म ४१ वर्षकी थिएँ अनि पाओलो ४९ वर्षको हुनुहुन्थ्यो। त्यस दिनको दैनिकीमा पाओलोले यस्तो लेख्नुभएको रहेछ: “प्रार्थना: यदि यो कुरा साँचो हो भने हामीलाई पूर्ण-समय सेवामै लागिरहन अनि आध्यात्मिक रूपमा नसेलाउन मदत दिनुहोस्। हामी असल आमाबुबा बन्न सकौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, विगत ३० वर्षदेखि मैले मञ्चबाट जे-जति कुरा भनेको थिएँ, त्यसको एक प्रतिशत मात्र भए पनि व्यवहारमा उतार्न मदत दिनुहोस्।” अहिले ती कुराहरू विचार गर्दा यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो भन्ने कुरामा पक्का छु।

 इलारिया जन्मेपछि हाम्रो जीवनमा ठूलो परिवर्तन आयो। कुरा नलुकाई भन्नुपर्दा कहिलेकाहीं हामी हितोपदेश २४:१० मा बताइएझैं निराश हुन्थ्यौं। त्यहाँ यसो भनिएको छ: “सङ्कष्टको दिनमा लरखराइस् भने, तेरो बल कत्ति कम रहेछ!” तैपनि हामीले एकअर्कालाई सधैं साथ दियौं।

पूर्ण-समय सेवामा लागेका आमाबाबुको छोरी हुन पाएकोमा आफूलाई निकै गर्व लागेको कुरा इलारिया बताउँछे। हामीले उसलाई कहिल्यै पनि माया र हेरचाहको कमी भएको महसुस हुन दिएनौं। दिउँसो म ऊसँगै हुन्थें। बेलुकीचाहिं पाओलो कामबाट फर्केपछि छोरीसित खेल्नुहुन्थ्यो अनि उसलाई होमवर्क गर्न मदत गर्नुहुन्थ्यो। आफ्नो काम सिध्याउन कहिलेकाहीं बिहानको दुई वा तीनबजेसम्म जागै बस्नुपर्ने भए तापनि उहाँ छोरीलाई समय दिनुहुन्थ्यो। इलारिया अक्सर भन्थी: “बुबा मेरो सबैभन्दा मिल्ने साथी हुनुहुन्छ।”

ख्रीष्टियन मार्गमा हिंडिरहन मदत दिन इलारियालाई अनुशासन दिनुपऱ्यो, कहिलेकाहीं त कडिकडाउ पनि गर्नुपऱ्यो। आफूसितै खेलिरहेकी साथीलाई एक पटक उसले नराम्रो व्यवहार गरी। अरूलाई त्यस्तो व्यवहार किन गर्नु हुँदैन भनेर हामीले उसलाई बाइबलबाटै देखायौं। अनि हाम्रै अगाडि साथीसित माफी माग्न लगायौं।

हामीले प्रचारकार्यलाई प्रेम गरेको देखेर आफू पनि त्यसै गर्न उत्प्रेरित भएको कुरा इलारिया बताउँछे। अहिले ऊ ठूली भइसकी अनि उसको विवाह पनि भइसक्यो। त्यसैले यहोवाप्रति आज्ञाकारी हुनु अनि उहाँको निर्देशन पछयाउनु कत्ति महत्त्वपूर्ण छ भनेर अझै राम्ररी बुझेकी छे।

दुःखको समयमा पनि आज्ञाकारी

सन्‌ २००८ मा पाओलोलाई क्यान्सर भएको पत्ता लाग्यो। सुरुमा त उहाँको रोग निको होला जस्तो देखिन्थ्यो अनि उहाँ मलाई चिन्ता नगर भन्नुहुन्थ्यो। हामीले उहाँको उपचारको लागि राम्रा डाक्टरहरू खोज्यौं। साथै सहने बलको लागि इलारियासँगै बसेर यहोवालाई लामो प्रार्थना गर्थ्यौं। पाओलो निकै बलियो अनि जोसिलो हुनुहुन्थ्यो। तर रोगको कारण बिस्तारै कमजोर हुँदै गइरहेको देख्दा साह्रै नरमाइलो लाग्थ्यो। सन्‌ २०१० मा उहाँ बित्नुभयो। त्यो पीडा सहन साह्रै गाह्रो भयो। तर उहाँसँगसँगै ४५ वर्षसम्म गरेका कामहरू विचार गर्दा आफूलाई सम्हाल्न सकेकी छु। हामीले यहोवाको सेवामा सकेजति गऱ्यौं। हामीले गरेका कामहरू यहोवाले कहिल्यै बिर्सनुहुनेछैन भन्ने कुरा मलाई थाह छ। यूहन्ना ५:२८, २९ का शब्दहरू पूरा हुँदा पाओलोलाई फेरि भेट्ने ठूलो इच्छा छ।

“म अझै पनि नूहको कथा भनेपछि हुरुक्कै हुने त्यही सानी केटीजस्तै छु। मेरो सङ्कल्प कमजोर भएको छैन”

म अझै पनि नूहको कथा भनेपछि हुरुक्कै हुने त्यही सानी केटीजस्तै छु। मेरो सङ्कल्प कमजोर भएको छैन। यहोवाले मबाट जस्तोसुकै माग गर्नुभए तापनि उहाँप्रति आज्ञाकारी हुन चाहन्छु। हाम्रा मायालु बुबाले भविष्यमा दिनुहुने आशिष्‌को तुलनामा हाम्रो समस्या, त्याग अनि हामीले गुमाएको कुरा केही पनि होइन। यहोवाप्रति आज्ञाकारी हुन गरेको प्रयास कहिल्यै खेर जाँदैन भनेर आफैले अनुभव गरेकी छु।