अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मे २०१३

आमाबाबु तथा छोराछोरी हो, मायालुपूर्वक कुराकानी गर्नुहोस्

आमाबाबु तथा छोराछोरी हो, मायालुपूर्वक कुराकानी गर्नुहोस्

“हरेक मानिसले चनाखो भई सुन्नुपर्छ, बोल्न हतार गर्नुहुँदैन अनि झट्टै रिसाइहाल्नुहुँदैन।”—याकू. १:१९.

१, २. आमाबाबु तथा छोराछोरीहरू साधारणतया एकअर्काप्रति कस्तो महसुस गर्छन्‌? तर कहिलेकाहीं कस्तो समस्या आइपर्छ?

“मानौं, तपाईंले आफ्नो आमाबाबु भोलि नै मर्दै हुनुहुन्छ भनेर थाह पाउनुभयो। अब भन्नुहोस्, तपाईं आज उहाँहरूलाई के भन्न चाहनुहुन्छ?” यो प्रश्न अमेरिकाका सयौं केटाकेटीलाई सोधिएको थियो। लगभग ९५ प्रतिशत केटाकेटीले आमाबाबुसित आफूलाई पिरोलिरहेको समस्या र कसैसितको खटपटबारे कुरा गर्नुको सट्टा यसो भन्न चाहन्छु भने: “तपाईंहरूलाई धेरै दुःख दिएँ, मलाई माफ गर्नुहोस्” र “म तपाईंहरूलाई धेरै माया गर्छु।”—आमाबाबुको लागि मात्र, सोन्टी फेल्डहान र लिसा राइसको अङ्ग्रेजी किताब।

साधारणतया छोराछोरीहरू आफ्ना आमाबाबुलाई प्रेम गर्छन्‌ अनि आमाबाबु पनि छोराछोरीलाई प्रेम गर्छन्‌। ख्रीष्टियन परिवारमा त झनै यस्तो प्रेम हुन्छ। आमाबाबु र छोराछोरीहरू आपसमा घनिष्ठ हुन चाहन्छन्‌ तर कुराकानी गर्न कहिलेकाहीं गाह्रो हुन्छ। थुप्रै विषयमा खुलस्त कुराकानी गर्न सजिलो भए तापनि कुनै-कुनै विषयमा भने किन गाह्रो हुन्छ? केले कुराकानीमा बाधा पुऱ्याउँछ? यस्ता बाधाहरूलाई कसरी हटाउन सकिन्छ?

अलमल्याउने कुराहरूमा लागेर अनि एक्लै बसेर परिवारसितको कुराकानीमा बाधा नपुऱ्याउनुहोस्

कुराकानी गर्न ‘समय किन्नुहोस्’

३. (क) थुप्रै परिवारमा अर्थपूर्ण कुराकानी गर्न केले गाह्रो बनाएको छ? (ख) प्राचीन समयका इस्राएली परिवारमा सँगै समय बिताउनु किन सजिलो थियो?

थुप्रै परिवारमा अर्थपूर्ण कुराकानीको लागि पर्याप्त समय निकाल्न गाह्रो छ। तर इस्राएलीहरूको समयमा भने कुरा फरक थियो। मोशाले इस्राएली बुबाहरूलाई यस्तो निर्देशन  दिए: “[परमेश्वरको वचन] तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होसियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्केर बस्ता र उठ्दा तिनको चर्चा गर।” (व्यव. ६:६, ७) केटाकेटीले घरमा आफ्नी आमासित या काममा आफ्नो बुबासित समय बिताउँथे। तिनीहरूलाई सँगै बसेर कुराकानी गर्न प्रशस्त समय मिल्थ्यो। यसले गर्दा आमाबाबुले छोराछोरीको आवश्यकता, चाहना र व्यक्तित्व सजिलै बुझ्न सक्थे। त्यसैगरि छोराछोरीले पनि आमाबाबुलाई चिन्ने प्रशस्त समय र मौका पाउँथे।

४. थुप्रै परिवारमा कुराकानी गर्न किन गाह्रो छ?

आज भने अवस्था फरक छ। कुनै-कुनै मुलुकमा केटाकेटीलाई सानै उमेरमा स्कूल पठाइन्छ, कहिलेकाहीं त दुई वर्षमै। थुप्रै आमाबाबु घरदेखि टाढा काम गर्छन्‌। त्यसैले आमाबाबु र छोराछोरी सँगै हुने मौका थोरै मात्र हुन्छ। अनि त्यो समय पनि टि.भी. हेर्न र कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक साधन चलाउनमै बित्ने गर्छ। थुप्रै परिवारमा चाहिं आमाबाबु र छोराछोरीको भेटघाटै हुँदैन; तिनीहरू अपरिचित मानिसहरूजस्तै हुन्छन्‌। अर्थपूर्ण कुराकानी हुँदै हुँदैन भने पनि हुन्छ।

५, ६. केही आमाबाबुले छोराछोरीसित अझ धेरै समय बिताउन कसरी ‘समय किनेका’ छन्‌?

परिवारसित धेरै समय बिताउन ‘समय किन्न’ सक्नुहुन्छ कि? (एफिसी ५:१५, १६ र फुटनोट पढ्नुहोस्) केही परिवारले टि.भी. र कम्प्युटरमा थोरै समय बिताउने निर्णय गरेका छन्‌। अरूले चाहिं हरेक दिन एक छाक भए पनि सँगै खाने कोसिस गरेका छन्‌। अनि पारिवारिक उपासनाले आमाबाबु र छोराछोरीलाई एकअर्कासित नजिक हुने र आध्यात्मिक विषयमा छलफल गर्ने राम्रो मौका दिन्छ। यसको लागि हरेक हप्ता एक घण्टाजति समय छुट्टयाउनु राम्रो सुरुवात हो तर यति मात्र गरेर पुग्दैन। हरेक दिन कुराकानी गर्नै पर्छ। छोराछोरी स्कूल जानुअघि उनीहरूलाई केही प्रोत्साहनदायी कुरा भन्नुहोस्, दैनिक पद छलफल गर्नुहोस् वा उनीहरूसितै प्रार्थना गर्नुहोस्। यसले उनीहरूको दिनभरिको कामकुरामा राम्रो प्रभाव पार्न सक्छ।

छोराछोरीसित अझ धेरै समय बिताउन केही  आमाबाबुले आफ्नो जीवनशैली छाँटकाँट गरेका छन्‌। उदाहरणको लागि, दुई छोराछोरीकी आमा लोराले * आफ्ना कलिला छोराछोरीसित अझ धेरै समय बिताउन पूर्ण-समय जागिर छोडिन्‌। तिनी भन्छिन्‌: “बिहान हामी सबै जना हतार-हतार गरेर काममा वा स्कूलमा जान्थ्यौं। साँझ कामबाट फर्कंदा त धाईआमाले छोराछोरीलाई सुताइसकेकी हुन्थिन्‌। हुन त जागिर छोडेकोले थोरै पैसाले गर्जो टार्नुपरेको छ, तर छोराछोरीको सोचाइ र समस्या बुझ्न सकेकी छु। उनीहरूको प्रार्थना सुनेर डोऱ्याइ, प्रोत्साहन र शिक्षा दिन सकेकी छु।”

‘चनाखो भई सुन्नुहोस्’

७. छोराछोरी र आमाबाबु दुवैको एउटै गुनासो के छ?

थुप्रै केटाकेटीसित अन्तरवार्ता लिएपछि आमाबाबुको लागि मात्र भन्ने किताबका लेखकहरूले कुराकानीमा बाधा पुऱ्याउने अर्को तत्त्वबारे बताए। तिनीहरूले भने: “प्रायजसो केटाकेटीले आफ्ना आमाबाबुबारे गरेको एउटा गुनासो थियो, ‘उहाँहरू कुरै सुन्नुहुन्न।’” तर केटाकेटी मात्र होइन, आमाबाबु पनि यस्तै गुनासो गर्छन्‌। त्यसैले कुराकानीको बाटो खुल्लै राख्ने हो भने एकअर्काको कुरा ध्यान दिएर सुन्नै पर्छ।याकूब १:१९ पढ्नुहोस्।

८. आमाबाबुले छोराछोरीको कुरा कसरी साँच्चै सुन्न सक्छन्‌?

आमाबाबु हो, के तपाईं छोराछोरीको कुरा साँच्चै सुन्नुहुन्छ? तपाईं थकित भएको बेला वा छोराछोरीले ताइँ न तुइँजस्तो लाग्ने विषयमा कुरा गर्दा यसो गर्नु गाह्रो हुन सक्छ। तर तपाईंलाई ताइँ न तुइँजस्तो लाग्ने कुरा छोराछोरीको लागि असाध्यै महत्त्वपूर्ण हुन सक्छ। ‘चनाखो भई सुन्नुको’ अर्थ छोराछोरीले के भन्छन्‌, त्यसमा मात्र होइन बरु कसरी भन्छन्‌, त्यसमा पनि ध्यान दिनु हो। छोराछोरीले बोलेको तरिका वा हाउभाउबाट उनीहरूको भावना बुझ्न सकिन्छ। प्रश्न सोध्नु पनि महत्त्वपूर्ण छ। बाइबल भन्छ, “अर्काको मनको विचार गहिरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” (हितो. २०:५) छोराछोरीसित संवेदनशील विषयमा कुराकानी गर्दा उनीहरूको मनको कुरा तानेर निकाल्न अन्तरदृष्टि र समझ चाहिन्छ।

९. छोराछोरीले आमाबाबुको कुरा किन सुन्नुपर्छ?

छोराछोरी हो, के तपाईं आमाबाबुको आज्ञा पालन गर्नुहुन्छ? “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्” भनी बाइबल बताउँछ। (हितो. १:८) नबिर्सनुहोस्, तपाईंका आमाबाबु तपाईंलाई माया गर्छन्‌ र तपाईंको भलो चिताउँछन्‌। त्यसैले तिनीहरूको कुरा सुन्नु र आज्ञा पालन गर्नु बुद्धिमानी हो। (एफि. ६:१) आमाबाबु र तपाईंबीच राम्रो कुराकानी छ अनि तिनीहरूको माया महसुस गर्नुभएको छ भने आज्ञाकारी हुन सजिलो हुन्छ। आफूलाई लागेको कुरा आमाबाबुलाई बताउनुहोस्। यसो गर्दा तिनीहरूले तपाईंको कुरा बुझ्नेछन्‌। अनि नबिर्सनुहोस्, तपाईंले पनि तिनीहरूको कुरा बुझ्ने प्रयास गर्नुपर्छ।

१०. रहबामको उदाहरणबाट के सिक्न सक्छौं?

१० आफ्नै उमेरका साथीभाइबाट सल्लाह खोज्नदेखि होसियार हुनुपर्छ। तिनीहरूले तपाईं मक्ख हुने कुरा त गर्लान्‌ तर त्यसले लाभ होइन, उल्टै हानि पुऱ्याउन सक्छ। युवाहरूसित बूढापाकाको जस्तो बुद्धि र अनुभव हुँदैन। थुप्रै युवा आफ्नो निर्णयको नतिजाबारे सोच्दैनन्‌। राजा सुलेमानको छोरा रहबामको उदाहरण सम्झनुहोस्। इस्राएलको राजा बनेपछि तिनले बूढा-प्रधानहरूसित सल्लाह माग्नु बुद्धिमानी हुने थियो। तर तिनले आफूसँगै हुर्केबढेका जवान भारदारहरूको मूर्ख सल्लाह सुने। त्यसकारण तिनले आफ्ना थुप्रै प्रजाको समर्थन गुमाए। (१ राजा १२:१-१७) रहबामको पदचिन्ह पछयाउनुको सट्टा आमाबाबुसित नियमित रूपमा कुराकानी गर्ने प्रयास गर्नुहोस्। तिनीहरूलाई आफ्नो भावना पोखाउनुहोस्। तिनीहरूको सल्लाह लागू गर्नुहोस् र तिनीहरूको बुद्धिबाट सिक्नुहोस्।—हितो. १३:२०.

११. आमाबाबु कुराकानी गर्न सजिलो खालको व्यक्ति नभएमा के हुन सक्छ?

 ११ आमाबाबु हो, छोराछोरीले साथीभाइको होइन, तपाईंको सल्लाह सुनेको चाहनुहुन्छ भने कुराकानी गर्न सजिलो खालको व्यक्ति हुनुहोस्। एक जना किशोरी बहिनीले यस्तो लेखिन्‌: “केटाको नाम लिनेबित्तिकै मेरो ममीड्याडी अप्ठेरो मान्नुहुन्छ। त्यसपछि मलाई पनि अप्ठेरो लाग्छ अनि कुरै गर्न मन लाग्दैन।” अर्की जवान बहिनीले लेखिन्‌: “थुप्रै किशोरकिशोरी आमाबाबुबाट सल्लाह चाहन्छन्‌। तर आमाबाबुले उनीहरूको कुरा गम्भीरतासाथ नलिएमा जसले उनीहरूको कुरा सुनिदिन्छ, उसैकहाँ जान्छन्‌। कुरा सुनिदिनेहरू त्यति अनुभवी नहुन पनि सक्छन्‌।” तपाईं छोराछोरीको प्रत्येक कुरा सुन्न इच्छुक हुनुहुन्छ भने उनीहरूलाई तपाईंसित कुराकानी गर्न सजिलो लाग्नेछ र उनीहरूले तपाईंको सल्लाह स्वीकार्नेछन्‌।

‘बोल्न हतार नगर्नुहोस्’

१२. आमाबाबुको प्रतिक्रियाले कुराकानीमा कसरी बाधा पुऱ्याउन सक्छ?

१२ छोराछोरीले केही बताउँदा आमाबाबुले तुरुन्तै नकारात्मक प्रतिक्रिया देखाएमा वा रिसाएमा पनि कुराकानीमा बाधा पुग्न सक्छ। “अन्तको दिन” खतरै-खतराले भरिभराउ भएकोले ख्रीष्टियन आमाबाबु आफ्नो छोराछोरी सुरक्षित होऊन्‌ भन्ने चाहन्छन्‌। (२ तिमो. ३:१-५) तर जुन कुरालाई आमाबाबु सुरक्षा ठान्छन्‌, त्यो कुरा छोराछोरीलाई बन्देज लाग्न सक्छ।

१३. आफ्नो विचार व्यक्त गर्न आमाबाबु किन हतारिनु हुँदैन?

१३ आफ्नो विचार व्यक्त गर्न आमाबाबु हतारिनु हुँदैन। छोराछोरीले पारो तताउने कुरा गर्दा चुप लागेर बस्नु सधैं सजिलो हुँदैन। तर केही भनिहाल्नुअघि ध्यान दिएर सुन्नु आवश्यक छ। बुद्धिमान्‌ राजा सुलेमानले लेखे: “राम्ररी सुन्नुअघिनै प्रश्नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।” (हितो. १८:१३) शान्तपूर्वक सुन्नुभयो भने छोराछोरीले ‘समझहीन वचन’ बोल्नुको कारण बुझ्न सक्नुहुन्छ। (अय्यू. ६:१-३) सबै कुरा राम्ररी बुझ्नुभयो भने मात्र उनीहरूलाई मदत गर्न सक्नुहुन्छ। मायालु आमाबाबुको रूपमा छोराछोरीको कुरा सुन्नुहोस् र उनीहरूको कुरा बुझ्ने प्रयास गर्नुहोस्। यसो गर्नुभयो भने उनीहरूलाई मदत पुग्ने कुरा भन्न सक्नुहुन्छ।

१४. छोराछोरीले किन बोल्न हतार गर्नु हुँदैन?

१४ छोराछोरी हो, तपाईंले पनि “बोल्न हतार गर्नुहुँदैन।” यहोवाले तपाईंलाई प्रशिक्षण दिने जिम्मेवारी तपाईंका आमाबाबुलाई सुम्पनुभएको छ, त्यसैले तिनीहरूको कुरालाई तुरुन्तै इन्कार नगर्नुहोस्। (हितो. २२:६) तपाईंको जस्तै समस्या तपाईंका आमाबाबुले पहिल्यै भोगेका हुन सक्छन्‌। साथै जवान छँदा आफूले गरेको गल्तीमा पछुतो भएकोले तपाईंले पनि त्यस्तै गल्ती नदोहोऱ्याएको चाहन्छन्‌। त्यसैले आमाबाबुलाई शत्रु होइन, मित्र ठान्नुहोस्; प्रतिद्वन्द्वी होइन, सल्लाहकार ठान्नुहोस्। (हितोपदेश १:५ पढ्नुहोस्) “आफ्नो बुबा र आमाको आदर” गर्नुहोस् अनि तिनीहरूले तपाईंलाई प्रेम गरेझैं तपाईं पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ भनी देखाउनुहोस्। यसो गर्नुभयो भने तपाईंलाई ‘यहोवाको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर हुर्काउन’ तिनीहरूलाई सजिलो हुनेछ।—एफि. ६:२, ४.

‘झट्टै नरिसाउनुहोस्’

१५. आफूले माया गर्नेहरूप्रति धीरजी हुन र तिनीहरूसित नरिसाउन हामीलाई केले मदत गर्छ?

१५ हामीले माया गर्ने व्यक्तिप्रति पनि हामी सधैं धीरजी हुँदैनौं। “कलस्सीका पवित्र जन तथा विश्वासी भाइहरू, जो ख्रीष्टसित एकतामा छन्‌, उनीहरूलाई” प्रेषित पावलले यस्तो लेखे: “हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो अनि तिनीसित रिसले चूर नहोओ। हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, ताकि तिनीहरू हताश नहोऊन्‌।” (कल. १:१, २; ३:१९, २१) एफिसीहरूलाई पावलले यस्तो सल्लाह दिए: “हरकिसिमको कटुता, रिसाउने, क्रोध गर्ने,  चिच्याउने र दुर्वचन बोल्ने बानीका साथै सबै किसिमका खराबी त्याग।” (एफि. ४:३१) धीरज, नम्रता र आत्मसंयमजस्ता पवित्र शक्तिको फलका पक्षहरूले तनावमा समेत शान्त रहन मदत गर्छ।—गला. ५:२२, २३.

१६. येशूले चेलाहरूलाई कसरी सच्याउनुभयो? अनि यो किन एकदमै उल्लेखनीय थियो?

१६ आमाबाबु हो, येशूको उदाहरण विचार गर्नुहोस्। प्रेषितहरूसित अन्तिम पटक भोजन खाएको साँझ उहाँले महसुस गर्नुभएको असह्य तनाव कल्पना गर्नुहोस्। केही समयपछि आफू तड्पी-तड्पी मर्नुपर्नेछ भनेर उहाँलाई थाह थियो। बुबाको नामको पवित्रीकरण र मानव परिवारको छुटकारा उहाँको वफादारीमै निर्भर थियो। तर भोजन गरिरहेकै समयमा “सबैभन्दा ठूलो कसलाई मान्ने भनेर [प्रेषितहरूबीच] चर्को बहस चल्यो।” येशूले चेलाहरूलाई झपार्नुभएन वा तिनीहरूसित रूखो बोली बोल्नुभएन। बरु उहाँले तिनीहरूलाई शान्तपूर्वक सच्याउनुभयो। कठिन समयमा समेत तिनीहरूले उहाँलाई नत्यागेको कुराको सम्झना गराउनुभयो। सैतानले तिनीहरूलाई गहुँलाई जस्तै निफने तापनि तिनीहरू वफादार भइरहनेछन्‌ भनी आफू विश्वस्त भएको उहाँले बताउनुभयो। उहाँले तिनीहरूसित करारसमेत बाँध्नुभयो।—लूका २२:२४-३२.

के तपाईं छोराछोरीको कुरा ध्यान दिएर सुन्नुहुन्छ?

१७. शान्त रहन केटाकेटीलाई केले मदत गर्छ?

१७ केटाकेटी पनि शान्त रहनुपर्छ। किशोरावस्थाका छोराछोरीलाई आमाबाबुले सल्लाह दिंदा तिनीहरूलाई आमाबाबुले भरोसा नगरेको जस्तो लाग्न सक्छ। तर नबिर्सनुहोस्, तपाईंका आमाबाबु तपाईंलाई माया गर्छन्‌, त्यसैले तपाईंको चिन्ता गर्छन्‌। आमाबाबुको कुरा शान्तपूर्वक सुन्दा र त्यसअनुसार चल्दा तिनीहरूको आदर र भरोसा कमाउन सक्नुहुनेछ। साथै कुनै-कुनै क्षेत्रमा अझ धेरै स्वतन्त्रता पाउन सक्नुहुनेछ। शान्त रहनु बुद्धिमानी मार्ग हो। बाइबल भन्छ: “मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान्‌ मानिसले पर्खेर त्यो शान्त हुन दिन्छ।”—हितो. २९:११.

१८. प्रेमले कुराकानीमा कसरी मदत पुऱ्याउँछ?

१८ प्यारा आमाबाबु तथा छोराछोरी हो, तपाईंको परिवारमा खुलस्त कुराकानी भइरहेको छैन भने पनि निराश नहुनुहोस्। प्रयास गरिरहनुहोस् र सत्यमा चलिरहनुहोस्। (३ यूह. ४) नयाँ संसारमा मानिसहरू त्रुटिरहित हुनेछन्‌ र कुराकानीमा कुनै पनि तत्त्वले बाधा पुऱ्याउनेछैन। कुनै पनि गलतफहमी वा विवाद हुनेछैन। तर अहिले भने हामी सबै जना पछि गएर पछुताउनुपर्ने कामकुरा गर्छौं। त्यसैले माफी माग्न नहिचकिचाउनुहोस्। खुला मनले क्षमा दिनुहोस्। ‘प्रेममा एकसाथ जोडिनुहोस्।’ (कल. २:२) प्रेममा शक्ति छ। ‘प्रेम धीरजी र दयालु हुन्छ। यो आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन। यसले सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ।’ (१ कोरि. १३:४-७) प्रेम खेती गरिरहनुहोस्। यसो गर्नुभयो भने परिवारमा अझ राम्ररी कुराकानी गर्न सक्नुहुनेछ अनि यसले परिवारलाई आनन्दित बनाउनेछ, यहोवाको प्रशंसा गर्नेछ।

^ अनु. 6 नाम परिवर्तन गरिएको छ।