अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अप्रिल २०१३

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मेक्सिकोमा

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मेक्सिकोमा

सेवा विस्तार गर्न सकियोस् भनेर थुप्रै युवाले आफ्नो जीवन सरल बनाइरहेका छन्‌। यो साँच्चै खुसीको कुरा हो। (मत्ती ६:२२) तिनीहरू के-कस्ता छाँटकाँट गर्छन्‌? के-कस्ता चुनौती सामना गर्छन्‌? आउनुहोस्, हाल मेक्सिकोमा सेवा गरिरहेका केही भाइबहिनीबारे विचार गरौं।

“हामीले छाँटकाँट गर्नै पर्थ्यो”

अमेरिकाका डस्टिन जेस्साले जनवरी २००७ मा विवाह गरेका थिए। पतवार भएको डुङ्गा किन्ने अनि वर्षभरि त्यहीं बस्ने तिनीहरूको सपना थियो। विवाह भएको केही समयपछि नै तिनीहरूको त्यो सपना साकार भयो। तिनीहरूले आफ्नो डुङ्गा अमेरिकाको ओरेगन राज्यको अस्टोरिया सहरनजिकै राखे। वन-जङ्गल र हिमालले घेरिएको उक्त सुन्दर सहर प्रशान्त महासागरको एकदमै नजिक पर्छ। डस्टिन भन्छन्‌: “जहाँसुकै हेरे पनि सुन्दर दृश्य! सुन्दरताको बखान गरेर साध्यै छैन।” ती दम्पतीलाई आफूले यहोवामा भरोसा गर्दै सरल जीवन बिताइरहेको जस्तो लाग्थ्यो। तिनीहरू सोच्थे, ‘हामी २६ फुटको यो सानो डुङ्गामा जीवन बिताउँछौं, पार्ट-टाइम काम गर्छौं, विदेशी भाषाको मण्डलीमा जान्छौं अनि बेलाबेलामा सहायक अग्रगामी सेवा पनि गर्छौं।’ तर पछि तिनीहरूले आफैलाई झुक्क्याइरहेको महसुस गरे। डस्टिन भन्छन्‌: “मण्डलीलाई साथ दिनुको साटो धेरैजसो समय डुङ्गाको मर्मतमै बिताउँथ्यौं। यहोवाको सेवालाई  पहिलो स्थान दिने हो भने हामीले छाँटकाँट गर्नै पर्थ्यो।”

जेस्सा भन्छिन्‌: “विवाहअघि मेक्सिकोमा बसथें र अङ्ग्रेजी भाषाको मण्डलीसित सङ्गत गर्थें। त्यहाँ सेवा गर्न निकै रमाइलो लाग्थ्यो र फेरि त्यहीं फर्कन चाहन्थें।” डस्टिन र जेस्सा विदेशी भूमिमा सेवा गर्ने आफ्नो इच्छा बलियो बनाउन चाहन्थे। त्यसकारण तिनीहरूले बाली काट्न तयार भएको ठाउँमा गएर सेवा गरिरहेका भाइबहिनीको जीवनी पारिवारिक उपासनामा पढ्न थाले। (यूह. ४:३५) डस्टिन भन्छन्‌: “हामी पनि त्यस्तै आनन्द अनुभव गर्न चाहन्थ्यौं।” मेक्सिकोमा भर्खरै स्थापना भएको एउटा समूहलाई मदतको खाँचो छ भनेर त्यहाँका साथीहरूमार्फत थाह पाएपछि डस्टिन र जेस्साले त्यहाँ जाने निर्णय गरे। तिनीहरूले जागिर छोडे, डुङ्गा बेचे अनि मेक्सिकोमा बसाइँ सरे।

“हामीले गरेको सबैभन्दा राम्रो निर्णय”

डस्टिन र जेस्सा टेकोमान सहरमा बसाइँ सरे। यो सहर प्रशान्त महासागरको नजिकै पर्छ तर अस्टोरियादेखि भने लगभग ४,३४५ किलोमिटर दक्षिणमा पर्छ। डस्टिन भन्छन्‌, “अस्टोरियामा चिसो हावा खान पाइन्थ्यो, सुन्दर हिमाल हेर्न पाइन्थ्यो। तर यहाँ त गर्मीले औडाहा हुन्छ अनि जता हेरे पनि कागतीको रूख।” सुरुमा त तिनीहरूले जागिरसमेत पाएनन्‌। पैसाको अभावले गर्दा हप्तौंसम्म दुवै छाक भात र गेडागुडी मात्र खाएर बसे। जेस्सा भन्छिन्‌, “एउटै खाना खाँदा-खाँदा वाक्कै लागिरहेको बेला हाम्रा बाइबल विद्यार्थीहरूले आँप, केरा, मेवा दिन थाले। झन्‌ कागतीको त कुरै नगरौं, टन्नै दिन्थे।” पछि तिनीहरूले ताइवानबाट सञ्चालित अनलाइन भाषा स्कूलमा काम पाए। अहिले तिनीहरू आफ्नो दैनिक आवश्यकता पूरा गर्न सक्ने अवस्थामा छन्‌।

डस्टिन र जेस्सालाई नयाँ जीवनशैली कस्तो लागिरहेको छ? तिनीहरू भन्छन्‌: “बसाइँ सर्ने निर्णय हामीले गरेको सबैभन्दा राम्रो निर्णय हो। यहोवा अनि एकअर्कासितको हाम्रो सम्बन्ध सोचेको भन्दा पनि बलियो भएको छ। हामी हरेक दिन थुप्रै कुरा सँगै गर्छौं—प्रचार जान्छौं, बाइबल विद्यार्थीहरूलाई कसरी मदत गर्ने भनेर छलफल गर्छौं अनि सभाको तयारी गर्छौं। पहिलाको जस्तो तनाव पनि छैन।” तिनीहरू अझै यसो भन्छन्‌, “भजन ३४:८ मा गरिएको प्रतिज्ञा सत्य छ भनेर अहिलेजत्तिको राम्ररी पहिला कहिल्यै बुझेका थिएनौं। त्यस पदमा यस्तो लेखिएको छ: ‘पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ।’”

हजारौं इच्छुक कामदारलाई केले उत्प्रेरित गर्छ?

दुई हजार नौ सयभन्दा धेरै विवाहित तथा अविवाहित भाइबहिनी मेक्सिकोका विभिन्न इलाकामा बसाइँ सरेका छन्‌। राज्य प्रकाशकको आवश्यकता धेरै भएको त्यस ठाउँमा सर्नेमध्ये प्रायजसो २० वर्षमाथिका र ४० वर्षमुनिका छन्‌। ती साक्षीहरूले किन यस्तो चुनौतीपूर्ण काम रोजे? एउटा समूहलाई यही प्रश्न सोध्दा तिनीहरूले तीनवटा कारण दिए। ती के हुन्‌?

लेटिसिया र हर्मिलो

 यहोवा र सँगी मानवलाई प्रेम देखाउन। बप्तिस्मा गर्दा लेटिसिया १८ वर्षकी थिइन्‌। उनी भन्छिन्‌: “यहोवालाई जीवन समर्पण गर्नुको अर्थ सारा मन र ज्यानले उहाँको सेवा गर्नु हो भनेर समर्पण गर्दा बुझेकी थिएँ। त्यसैले उहाँलाई मनैदेखि प्रेम गरेको देखाउन आफ्नो समय र शक्ति उहाँको सेवामा अझ धेरै लगाउन चाहन्थें।” (मर्कू. १२:३०) अहिले लेटिसियासित विवाह गरेका हर्मिलो आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न जाँदा २०/२२ वर्षका मात्र थिए। तिनी भन्छन्‌: “छिमेकीलाई प्रेम गर्ने सबैभन्दा राम्रो तरिका मानिसहरूलाई साँचो परमेश्वर चिन्न मदत गर्नु हो भनेर बुझें।” (मर्कू. १२:३१) त्यसकारण समृद्ध सहर मोन्टेर्रेमा बैंकको जागिर र आरामदायी जीवन छोडेर तिनी सानो सहरमा बसाइँ सरे।

इस्ली

साँचो र चिरस्थायी आनन्द महसुस गर्न। बप्तिस्मा गरेको केही समयमै लेटिसिया अनुभवी अग्रगामी बहिनीसित एउटा विकट गाउँमा गइन्‌। त्यहाँ उनीहरूले एक महिना प्रचार गरे। लेटिसिया यसरी सम्झिन्छिन्‌: “म त छक्कै परें। हामीले सुनाएको राज्य सन्देशप्रति मानिसहरूको प्रतिक्रिया देख्दा म असाध्यै खुसी भएँ। महिनाको अन्तमा मैले आफैलाई भने, ‘मैले चाहेको पनि यही हो।’” त्यसैगरि अहिले २०/२२ वर्ष पुगेकी अविवाहित बहिनी इस्ली पनि आनन्द प्राप्त गर्नकै लागि आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न उत्प्रेरित भएकी थिइन्‌। स्कूल पढ्दै गर्दा तिनले आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्ने थुप्रै जोसिला साक्षीलाई भेटेकी थिइन्‌। तिनी भन्छिन्‌: “ती भाइबहिनीको हँसिलो अनुहारले ममा उनीहरूको जस्तै जीवन बिताउने इच्छा जाग्यो।” इस्लीले जस्तै अरू थुप्रै बहिनीले पनि आवश्यकता धेरै भएको ठाउँमा सेवा गरेका छन्‌। मेक्सिकोमा ६८० भन्दा धेरै अविवाहित बहिनीले त्यसरी सेवा गरिरहेका छन्‌। जवान अनि वृद्ध दुवैको लागि कत्ति राम्रो उदाहरण!

उद्देश्यपूर्ण अनि सन्तोषजनक जीवन बिताउन। हाई-स्कूल सिद्धिएपछि इस्लीलाई विश्वविद्यालयमा छात्रवृत्तिको प्रस्ताव आयो। तिनका साथीहरूले त्यो प्रस्ताव स्वीकार्न र “सामान्य जीवन” बिताउन अर्थात्‌ विश्वविद्यालयको डिग्री, राम्रो पेसा, कारजस्ता कुराहरू हासिल गर्न अनि मजाले घुमफिर गर्न प्रोत्साहन दिए। तर तिनले उनीहरूको कुरा सुनिनन्‌। इस्ली भन्छिन्‌: “मण्डलीका केही साथी यी कुराहरू हासिल गर्नमै दौडधूप गर्थे। त्यसैले उनीहरूले आध्यात्मिक लक्ष्यलाई प्राथमिकता दिन नसकेको याद गरें। सांसारिक कामकुरामा रुमलिंदै गएकोले उनीहरूले झन्‌ धेरै समस्या भोगेको पनि देखें। म आफ्नो युवावस्थाको जोस यहोवाको सेवामा लगाउन चाहन्थें।”

राकेल र फिलिप

अग्रगामी सेवालाई टेवा पुऱ्याउने जागिर पाउन इस्लीले थप सीप सिकिन्‌। त्यसपछि राज्य प्रचारकहरूको टड्कारो आवश्यकता भएको इलाकामा बसाइँ सरिन्‌। ट्लापानेको र ओटोमी जातिका मानिसहरूले बोल्ने भाषा सिक्ने चुनौतीसमेत  स्वीकारिन्‌। विकट इलाकामा तीन वर्षदेखि गर्दै आएको सेवा सम्झँदै तिनी भन्छिन्‌: “आवश्यकता धेरै भएको ठाउँमा सेवा गरेर सन्तुष्टि पाएकी छु, जीवन अर्थपूर्ण भएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवासितको सम्बन्ध अझै बलियो भएको छ।” तीस वर्ष नाघेका अमेरिकाका दम्पती फिलिप राकेलले पनि यस्तै अनुभव गरेका छन्‌। उनीहरू भन्छन्‌: “संसार यति छिटो परिवर्तन हुँदै छ, मानिसहरू भोलि के होला भन्ने कुरामा चिन्तित छन्‌। तर हाम्रो इलाकामा बाइबल सन्देशप्रति चासो देखाउने मानिसहरू अझ पनि थुप्रै भेटिन्छन्‌। यस्तो इलाकामा सेवा गरेकोले हाम्रो जीवन अर्थपूर्ण भएको छ। हामीले ठूलो सन्तुष्टि पाएका छौं।”

चुनौतीहरू कसरी सामना गर्ने?

भेरोनिका

राज्य प्रचारकहरूको आवश्यकता धेरै भएको इलाकामा सेवा गर्नुको आफ्नै चुनौती छ। गर्जो कसरी टार्ने भन्ने कुरा एउटा चुनौती हो। त्यस्तो चुनौती सामना गर्न स्थानीय परिस्थितिमा भिज्न तयार हुनुपर्छ। अनुभवी अग्रगामी भेरोनिका यसो भन्छिन्‌: “एउटा ठाउँमा सेवा गर्दा सस्तो किसिमको फास्ट-फुड तयार पारेर बेच्ने काम गरें। अर्को ठाउँमा भने लुगाफाटा बेच्ने अनि कपाल काट्ने काम गरें। अहिले म घर सफा गर्ने काम गर्छु। साथै भर्खरै आमाबाबु बनेकाहरूलाई छोराछोरीसँग कुराकानी गर्ने तरिका सिकाउने कक्षा पनि सञ्चालन गर्छु।”

खासगरि विकट ठाउँका स्थानीय मानिसहरूमाझ बसदै हुनुहुन्छ भने तिनीहरूको संस्कृति तथा प्रचलनअनुसार छाँटकाँट गर्नु चुनौतीपूर्ण हुन्छ। नाह्वाटल भाषाको इलाकामा सेवा गर्दा फिलिप र राकेलले यस्तै चुनौती सामना गरे। फिलिप भन्छन्‌: “तिनीहरूको संस्कृति हाम्रोभन्दा बिलकुलै फरक छ।” ती दम्पतीलाई छाँटकाँट गर्न केले मदत गऱ्यो? फिलिप अझ भन्छन्‌: “हामीले नाह्वाटल भाषा बोल्ने मानिसहरूको राम्रो पक्षमा ध्यान दियौं। तिनीहरूको परिवारमा आत्मीयता छ, तिनीहरू उदार छन्‌ अनि एकआपसमा निष्कपट व्यवहार गर्छन्‌।” राकेल भन्छिन्‌: “यहाँ बस्दा अनि यहाँका भाइबहिनीसित सँगै मिलेर सेवा गर्दा हामीले धेरै कुरा सिकेका छौं।”

आफूलाई कसरी तयार पार्ने?

आवश्यकता धेरै भएको विकट इलाकामा सेवा गर्न चाहनुहुन्छ भने आफूलाई तयार पार्न के गर्न सक्नुहुन्छ? त्यस्तो सेवा गरेका भाइबहिनी भन्छन्‌: बसाइँ सर्नुअघि नै जीवन सरल बनाउन थाल्नुहोस् अनि सन्तुष्ट हुन सिक्नुहोस्। (फिलि. ४:११, १२) अरू के गर्न सकिन्छ? लेटिसिया भन्छिन्‌: “वर्षौंसम्म एउटै ठाउँमा बस्न बाध्य पार्ने किसिमको पेसा मैले रोजिनँ। म आवश्यकता परेको जुनसुकै ठाउँमा जहिले पनि सर्न तयार हुन चाहन्थें।” हर्मिलो भन्छन्‌: “मैले खाना पकाउन, कपडा धुन अनि आइरन लगाउन सिकें।” भेरोनिका भन्छिन्‌: “घरमा छँदा सरसफाइमा सघाउँथें। सस्तो तर पोसिलो खाना बनाउन अनि पैसा बचत गर्न पनि सिकें।”

एमिल्या र लेवी

अमेरिकाका लेवी एमिल्याको विवाह भएको आठ वर्ष भयो। तोकेरै गरेको प्रार्थनाले तिनीहरूलाई मेक्सिकोमा सेवा गर्न तयार बनायो। लेवी भन्छन्‌: “विदेशी भूमिमा एक वर्ष सेवा गर्न कति खर्च लाग्ला भनेर हिसाब गऱ्यौं अनि त्यति नै पैसा कमाउन मदत दिनुहोस् भनेर प्रार्थना गऱ्यौं।” केही महिनामै, तिनीहरूले प्रार्थनामा भनेजत्तिकै पैसा कमाउन सके अनि ढिलासुस्ती नगरी बसाइँ सरे। लेवी भन्छन्‌: “हामीले तोकेरै गरेको प्रार्थना यहोवाले सुन्नुभयो। अब पालो हाम्रो थियो।” एमिल्या भन्छिन्‌: “एक वर्ष मात्रै बस्न सक्छौं होला जस्तो लागेको थियो। तर यहाँ आएको सात वर्ष भइसक्यो। फर्कने सोचाइ पनि छैन। यहोवा हामीलाई मदत गर्नुहुन्छ भनेर हामी आफैले अनुभव गरेका छौं। हरेक दिन उहाँको भलाइको प्रमाण देखिरहेका छौं।”

एडम र जेनिफर

अमेरिकाका दम्पती एडम जेनिफर मेक्सिकोमा अङ्ग्रेजी भाषाको इलाकामा सेवा गर्दै छन्‌। उनीहरूको सन्दर्भमा पनि प्रार्थनाले महत्त्वपूर्ण भूमिका खेल्यो। उनीहरू यस्तो सुझाव दिन्छन्‌: “परिस्थिति राम्रो होला अनि सेवा गर्न जाउँला भनेर नसोच्नुहोस्। विदेशी भूमिमा सेवा गर्ने आफ्नो इच्छालाई प्रार्थनामा राख्नुहोस् अनि त्यसैअनुसार काम पनि गर्नुहोस्। जीवन सरल बनाउनुहोस्। तपाईं कुन ठाउँमा सेवा गर्न चाहनुहुन्छ, त्यसबारे आफ्नो देशको शाखा कार्यालयलाई पत्र पठाउनुहोस्। खर्च हिसाब गर्नुहोस् अनि बसाइँ सर्नुहोस्।” * त्यसो गर्नुभयो भने तपाईंको जीवन रमाइलो हुनेछ अनि यहोवाबाट प्रशस्त आशिष्‌ पाउनुहुनेछ।

^ अनु. 21 थप जानकारीको लागि जुलाई २००१ को हाम्रो राज्य सेवकाई-को “के तपाईं आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।

अझ बढी सिक्नुहोस्

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

पूर्ण समय प्रचार गर्नेरूको लागि कस्तो विशेष तालिमको प्रबन्ध गरिन्छ?