अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अप्रिल २०१३

परमेश्वरको वचन प्रयोग गरेर मदत पाउनुहोस् र मदत दिनुहोस्

परमेश्वरको वचन प्रयोग गरेर मदत पाउनुहोस् र मदत दिनुहोस्

“सबै कुराको विषयमा तपाईंका आदेशहरूलाई ठीक हो भन्दछु।” —भज. ११९:१२८.

१. हामीले बाइबलमा किन पूर्ण भरोसा राख्नै पर्छ?

बाइबल विद्यार्थी क्षेत्र सेवामा भाग लिन योग्य छन्‌ कि छैनन्‌ भनेर विचार गर्दा एल्डरहरूले आफैलाई यस्तो प्रश्न गर्छन्‌, ‘तिनले भनेका कुराबाट के तिनले बाइबललाई परमेश्वरको प्रेरित वचन हो भनेर विश्वास गरेको देखिन्छ?’ * राज्य प्रकाशक हुन चाहनेहरू अनि परमेश्वरका सबै सेवकले बाइबललाई परमेश्वरको प्रेरित वचनको रूपमा विश्वास गरेको कुरा देखाउनै पर्छ। किन? बाइबलमा पूर्ण भरोसा राख्दा र यसलाई प्रचारकार्यमा राम्ररी प्रयोग गर्न सिक्दा मानिसहरूलाई यहोवासित नजिक हुन र उद्धार पाउन मदत गर्न सक्नेछौं।

२. हामी ‘आफूले सिकेका कुराहरूमा लागिरहनुपर्छ,’ किन?

प्रेषित पावलले परमेश्वरको वचनको महत्त्वमाथि जोड दिंदै तिमोथीलाई यस्तो लेखे: “आफूले सिकेका र तिमीलाई विश्वस्त पारिएका कुराहरूमा लागिरह।” पावलले उल्लेख गरेका “कुराहरू” बाइबल सत्य हुन्‌, जसले तिमोथीलाई सुसमाचारमा विश्वास गर्न उत्प्रेरित गऱ्यो। ती सत्यले आज हामीलाई “उद्धार”-को लागि ‘बुद्धिमान्‌’ भइरहन मदत गर्छ। (२ तिमो. ३:१४, १५) बाइबल परमेश्वरद्वारा प्रेरित वचन हो भनेर देखाउन हामी प्रायजसो २ तिमोथी ३:१६ प्रयोग गर्छौं तर यस पदबाट थप के सिक्न सक्छौं? (पढ्नुहोस्) आउनुहोस्, यस पदलाई अझ विस्तृत रूपमा बुझौं। यसले यहोवाको सबै शिक्षा “ठीक” हो भन्ने हाम्रो विश्वासलाई अझ बलियो बनाउनेछ।—भज. ११९:१२८.

‘सिकाउन उपयोगी’

३-५. (क) पेन्तिकोसमा पत्रुसको भाषण सुनेपछि मानिसहरू के गर्न उत्प्रेरित भए र किन? (ख) थिस्सलोनिकाका थुप्रै मानिसले किन सत्य स्वीकारे? (ग) प्रचारमा भेट्ने मानिसहरू के कुराले गर्दा प्रभावित हुन्छन्‌?

येशूले इस्राएल राष्ट्रलाई यसो भन्नुभयो: “म तिमीहरूकहाँ  भविष्यवक्ता, बुद्धिमान्‌ मानिस र शिक्षकहरू पठाउँदैछु।” (मत्ती २३:३४) यहाँ येशू आफ्ना चेलाहरूबारे बताउँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई प्रचारकार्यमा बाइबल प्रयोग गर्न सिकाउनुभएको थियो। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा “शिक्षकहरू”-मध्ये एक प्रेषित पत्रुसले ठूलो भीडसामु यरूशलेममा भाषण दिए। तिनले हिब्रू धर्मशास्त्रबाट केही पद उद्धरण गरे। पत्रुसले ती पदहरूको व्याख्या गर्दा “तिनीहरूको मन अत्यन्तै विचलित भयो।” तिनीहरूले विगतमा गरेका पापहरूको पश्‍चात्ताप गरे। लगभग तीन हजार जनाले परमेश्वरसित क्षमा मागे र ख्रीष्टियन बने।—प्रेषि. २:३७-४१.

अर्का शिक्षक प्रेषित पावलले यरूशलेमभन्दा टाढा-टाढा गएर सुसमाचार प्रचार गरे। जस्तै, म्यासिडोनियाको थिस्सलोनिका सहरमा तिनले सभाघरमा उपासना गर्नेहरूसित कुरा गरे। तीन हप्तासम्म हरेक विश्राम-दिनमा “यहूदीहरूसित धर्मशास्त्रबाट तर्क गरे। अनि ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट ब्यूँतनु आवश्यक छ भनेर बुझाउनुका साथै धर्मशास्त्रका विभिन्न वचनहरूबाट प्रमाण पनि दिए।” परिणाम कस्तो भयो? “ग्रीकहरूको ठूलो जमात” र “केही [यहूदी] येशूको अनुयायी बने।”—प्रेषि. १७:१-४.

परमेश्वरका सेवकहरूले बाइबल प्रयोग गर्ने तरिका देखेर आज थुप्रै मानिस प्रभावित भएका छन्‌। स्वीजरल्याण्डकी एक बहिनीले घरधनीलाई एउटा बाइबल पद पढेर सुनाएपछि ती घरधनीले सोधे: “तपाईंहरू कुन चर्चबाट आउनुभयो?” तिनले भनिन्‌: “म र मेरो साथी यहोवाका साक्षी हौं।” घरधनीले भने: “म पनि कस्तो! यहोवाका साक्षीहरूबाहेक अरू कसले मेरो घरमा आएर बाइबल पढेर सुनाउँछ र?”

६, ७. (क) मण्डलीमा सिकाउने भाग पाएकाहरूले कसरी बाइबलको सदुपयोग गर्न सक्छन्‌? (ख) बाइबल अध्ययन सञ्चालन गर्दा प्रभावकारी तरिकामा बाइबल प्रयोग गर्नु किन एकदमै महत्त्वपूर्ण छ?

अरूलाई सिकाउँदा कसरी बाइबलको पूर्ण सदुपयोग गर्न सक्छौं? मण्डलीमा मञ्चबाट सिकाउने भाग पाउनुभएको छ भने विषयसित सम्बन्धित पदहरू प्रयोग गर्नुहोस्। बाइबलको कुरा मुखैले भन्ने, छापिएको पानाबाट वा इलेक्ट्रोनिक साधनबाट पढ्ने नगर्नुहोस्; बाइबलबाटै पढ्नुहोस्। अनि श्रोतालाई पनि त्यसै गर्न प्रोत्साहन दिनुहोस्। साथै पढिएको शास्त्रपद राम्ररी व्याख्या गर्नुहोस् र यहोवासित अझ घनिष्ठ हुन त्यस पदले कसरी मदत गर्छ भनेर बुझाउनुहोस्। जटिल प्रकारका दृष्टान्तहरू सुनाउनु र हँसाउनको लागि मात्रै कुनै अनुभव बताउनुको सट्टा परमेश्वरको वचनको व्याख्या गर्न समय लगाउनुहोस्।

बाइबल अध्ययन सञ्चालन गर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ? किताबमा उल्लेख गरिएका बाइबल पदहरू त्यसै छोड्नु हुँदैन। तयारीको क्रममा उल्लिखित पदहरू पढ्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्। अध्ययनको बेला शास्त्रपदको व्याख्या गर्दा आफू मात्र बोलेको बोल्यै नगर्नुहोस्, विद्यार्थीलाई तिनको मनको कुरा व्यक्त गर्न प्रोत्साहन दिनुहोस्। कुन कुरामा विश्वास गर्नुपर्छ अथवा के गर्नुपर्छ भनेर आफैले नबताउनुहोस्। बरु विद्यार्थी सही निष्कर्षमा पुग्न सक्ने खालका प्रश्नहरू सोध्नुहोस्। *

‘सुधार्न उपयोगी’

८. पावलले कस्तो अन्तरद्वन्द्व सामना गरे?

हामी अक्सर ‘सुधार्ने’ जिम्मेवारी एल्डरहरूको हो भन्ने सोचाइ राख्छौं। हुन पनि ‘पाप गरिरहनेहरूलाई सुधार्ने’ जिम्मेवारी एल्डरहरूकै हो। (१ तिमो. ५:२०; ती. १:१३) तर हामीले आफैलाई सुधार्नु पनि महत्त्वपूर्ण छ। पावल सफा अन्तस्करण भएका उदाहरणीय ख्रीष्टियन थिए। (२ तिमो. १:३) तैपनि तिनले यस्तो लेखे: “म आफ्नो शरीरका अङ्गहरूमा बेग्लै खालको नियम पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग युद्ध गर्छ। अनि . . . पापको व्यवस्थाले मलाई बन्दी  बनाउने गर्छ।” यी शब्दहरूको प्रसङ्ग विचार गर्दा पावलले आफ्नो पापी झुकावविरुद्ध कस्तो युद्ध गर्नुपरेको थियो भनेर राम्ररी बुझ्न सक्छौं।रोमी ७:२१-२५ पढ्नुहोस्।

९, १०. (क) पावलले कस्ता कमजोरीहरूसित सङ्घर्ष गरेका हुन सक्छन्‌? (ख) पावलले पापविरुद्ध युद्ध गर्न कस्ता तरिका अपनाएका हुन सक्छन्‌?

पावलले कस्तो कमजोरीविरुद्ध युद्ध गरे? आफ्नो कमजोरी तोकेरै नबताए तापनि तिमोथीलाई लेखेको पत्रमा तिनले आफू “सोमत नभएको मानिस थिएँ” भनेर लेखे। (१ तिमो. १:१३) येशूको चेला हुनुअघि तिनले ख्रीष्टियनहरूलाई दुर्व्यवहार गरेका थिए। ख्रीष्टका अनुयायीहरूप्रति राखेको दृष्टिकोणबारे तिनले यसरी बताए: “तिनीहरूसित रिसाएर म . . . पागल भएको थिएँ।” (प्रेषि. २६:११) पावलले रिसलाई काबूमा राख्न सिके। तैपनि आफ्नो भावना अनि बोलीलाई नियन्त्रणमा राख्न तिनले कहिलेकाहीं निकै सङ्घर्ष गर्नुपऱ्यो। (प्रेषि. १५:३६-३९) तिनी कसरी सफल हुन सके?

१० कोरिन्थका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा पावलले आफूलाई सुधार्न अपनाएको तरिकाबारे बताए। (१ कोरिन्थी ९:२६, २७ पढ्नुहोस्) तिनले आफ्नो त्रुटिपूर्ण झुकावलाई ताकेर मुक्का हाने। यसको अर्थ तिनले धर्मशास्त्रीय सल्लाह खोजे, त्यो सल्लाह लागू गर्न मदतको लागि प्रार्थना गरे र प्रार्थनाअनुरूप कडा मेहनत गरे। * हामी तिनको उदाहरणबाट राम्रो पाठ सिक्न सक्छौं। किनभने हामी पनि त्रुटिपूर्ण झुकावविरुद्ध युद्ध गर्दै छौं।

११. सत्यको मार्गमा हिंडिरहेका छौं कि छैनौं भनेर पक्का गर्न हामी कसरी आफैलाई ‘जाँचिरहन’ सक्छौं?

११ हामीले आफ्नो कमजोरीविरुद्ध युद्ध गर्न कहिल्यै छोड्नु हुँदैन। सत्यको मार्गमा हिंडिरहेका छौं कि छैनौं भनेर पक्का गर्न आफैलाई ‘जाँचिरहनुपर्छ।’ (२ कोरि. १३:५) कलस्सी ३:५-१० जस्ता शास्त्रपदहरू पढ्दा आफैलाई यस्ता प्रश्नहरू गर्न सक्छौं: ‘के म आफ्नो पापी झुकावलाई मार्न कडा मेहनत गर्दै छु वा मैले यहोवालाई मन नपर्ने कुराहरू मन पराउन थालेको छु? इन्टरनेट चलाउँदा अनैतिक साइट देखा पऱ्यो भने के म तुरुन्तै बन्द गर्छु वा अनुचित वेब साइट खोजी-खोजी हेर्छु?’ बाइबलको सल्लाह लागू गर्दा ‘जागा बस्न अनि सचेत रहन’ मदत पाउनेछौं।—१ थिस्स. ५:६-८.

‘सच्याउन उपयोगी’

१२, १३. (क) ‘सच्याउँदा’ हाम्रो लक्ष्य के हुनुपर्छ र यस सम्बन्धमा येशूको उदाहरण कसरी पछयाउन सक्छौं? (ख) ‘सच्याउँदा’ कस्तो प्रकारको बोली बोल्नु हुँदैन?

१२ ‘सच्याउनु’ भनेर अनुवाद गरिएको ग्रीक शब्दले “राम्रो बनाउनु, सपार्नु, उचित अवस्थामा ल्याउनु”-लाई बुझाउँछ। कहिलेकाहीं अरूले हामी वा हाम्रो कामकुरालाई गलत तरिकाले बुझ्दा त्यसलाई सच्याउन ठोस कदम चाल्नै पर्छ। जस्तै, येशूले “कर उठाउने र पापी मानिसहरूसित” दयालु व्यवहार गरेको यहूदी धार्मिक नेताहरूलाई मन परेन। येशूले तिनीहरूलाई भन्नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई डाक्टरको खाँचो पर्छ। त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’” (मत्ती ९:११-१३) परमेश्वर कस्तो हुनुहुन्छ भन्ने सम्बन्धमा मानिसहरूको धारणालाई पनि येशूले सच्याउनुभयो। यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भनेर येशूले धीरजी अनि दयालु हुँदै सिकाउनुभयो। (प्रस्थ. ३४:६) परिणामस्वरूप थुप्रै नम्र मानिसले सुसमाचारमा विश्वास गरे।

१३ येशूको उदाहरणले अरूलाई मदत गर्न हामीले के गर्नुपर्छ भनेर सिकाउँछ। रिसाएको व्यक्तिले रूखो सोरमा यसो भन्न सक्छ, ‘तपाईंसँग एउटा कुरा गर्नु छ।’ तर २ तिमोथी ३:१६ मा दिइएको निर्देशनको अर्थ कसैलाई सच्याउँदा रूखो सोरले बोल्नुपर्छ भन्ने होइन। “धर्मशास्त्र”-ले अरूको भावनाको कदरै नगरी बोल्ने अधिकार दिंदैन। “तरवारझैं तीखो” बोलीले पीडाबाहेक अरू केही दिंदैन।—हितो. १२:१८.

१४-१६. (क) समस्यामा परेकाहरूलाई मदत मिल्ने तरिकामा ‘सच्याउन’ एल्डरहरूले के गर्न सक्छन्‌? (ख) छोराछोरीलाई ‘सच्याउँदा’ आमाबाबुले बाइबल प्रयोग गर्नु किन महत्त्वपूर्ण छ?

 १४ ‘सच्याउँदा’ हामी कसरी धीरजी र दयालु हुन सक्छौं? मानौं, कुनै विवाहित दम्पतीको आपसमा खटपट परिरहन्छ। मदतको लागि उनीहरू एल्डरकहाँ जान्छन्‌। ती एल्डरले के गर्नेछन्‌? तिनले कसैको पक्ष नलिई बाइबल सिद्धान्तहरूबाट मदत दिनेछन्‌। सायद तिनले पारिवारिक आनन्दको रहस्य किताबको अध्याय ३ मा भएका सिद्धान्तहरू प्रयोग गर्नेछन्‌। छलफलको क्रममा ती विवाहित दम्पतीले केही छाँटकाँट गर्नुपर्ने आवश्यकता महसुस गर्न सक्छन्‌। पछि उक्त एल्डरले तिनीहरूको वैवाहिक जीवनमा सुधार आउँदै छ कि छैन भनेर सोध्न सक्छन्‌ अनि आवश्यक परेमा थप मदत दिन सक्छन्‌।

 १५ छोराछोरीलाई ‘सच्याउन’ आमाबाबुले के गर्न सक्छन्‌? कल्पना गर्नुहोस्, तपाईंकी किशोरावस्थाकी छोरीले नयाँ साथी बनाएकी छिन्‌। तपाईं तिनलाई खराब सङ्गतदेखि जोगाउन चाहनुहुन्छ। सुरुमा तपाईंले छोरीको साथी कस्तो छ भनेर बुझ्नुपर्छ। त्यसपछि चिन्ता गर्नुपर्ने कारण देखिएमा छोरीसँग कुरा गर्न सक्नुहुन्छ। तपाईंले युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ, खण्ड १ मा दिइएका बाइबल सिद्धान्तहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यसपछि पनि छोरीलाई थप समय दिनुपर्छ। प्रचारकार्यमा भाग लिंदा वा परिवारसँगै रमाइलो गर्दा तिनले कस्तो मनोवृत्ति देखाउँछिन्‌, त्यसबारे पनि ध्यान दिन सक्नुहुन्छ। धीरजी अनि दयालु व्यवहार गर्नुभयो भने तिनले तपाईंको मायालु चासो महसुस गर्नेछिन्‌। यसले तिनलाई सल्लाह लागू गर्न र सही निर्णय गर्न मदत गर्नेछ।

आमाबाबुले बाइबल प्रयोग गरेर दयालुपूर्वक ‘सच्याउँदा’ छोराछोरी समस्यामा फस्नदेखि जोगिन सक्छन्‌ (अनुच्छेद १५ हेर्नुहोस्)

१६ स्वास्थ्य समस्याले गर्दा चिन्तित भएका, जागिर गुमाएर निराश भएका वा बाइबलको कुनै-कुनै शिक्षा स्वीकार्न गाह्रो भएका व्यक्तिहरूलाई पनि धीरजी अनि दयालु हुँदै प्रोत्साहन दिन सक्छौं। कसैलाई ‘सच्याउन’ परमेश्वरको  वचन प्रयोग गर्दा थुप्रै लाभ उठाउन सक्छौं।

“परमेश्वरको स्तरबमोजिम अनुशासन दिनका लागि उपयोगी”

१७. हामीले अनुशासन कृतज्ञ भई स्वीकार्नुपर्छ, किन?

१७ “कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर दुःखलाग्दो हुन्छ, तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्‌, तिनीहरूका लागि यसले पछि गएर शान्तिले भरिएको फल फलाउँछ अर्थात्‌ तिनीहरूले परमेश्वरको स्तरबमोजिम असल काम गर्नेछन्‌।” (हिब्रू १२:११) साक्षी आमाबाबुले दिएको अनुशासनले आफूलाई मदत पुऱ्याएको कुरा थुप्रै वयस्क ख्रीष्टियन मानिलिन्छन्‌। अनि एल्डरहरूमार्फत यहोवाले दिनुहुने अनुशासन स्वीकार्दा जीवनको बाटोमा हिंडिरहन मदत पाउँछौं।—हितो. ४:१३.

१८, १९. (क) “परमेश्वरको स्तरबमोजिम अनुशासन दिन” हितोपदेश १८:१३ मा दिइएको सल्लाह किन एकदमै महत्त्वपूर्ण छ? (ख) एल्डरहरूले नम्र हुँदै अनि प्रेम देखाउँदै अनुशासन दिंदा गल्ती गर्ने व्यक्ति के गर्न उत्प्रेरित हुन सक्छ?

१८ प्रभावकारी रूपमा अनुशासन दिनु एउटा कला हो। हामीले दिने अनुशासन “परमेश्वरको स्तरबमोजिम” हुनुपर्छ भनेर उहाँले हामीलाई सल्लाह दिनुभएको छ। (२ तिमो. ३:१६) त्यसैले हामीले बाइबल सिद्धान्तहरूलाई मार्गदर्शक बनाउनुपर्छ। यस्तै एउटा सिद्धान्त हितोपदेश १८:१३ मा पाइन्छ: “राम्ररी सुन्नुअघिनै प्रश्नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।” तसर्थ गम्भीर गल्तीको आरोप लागेका व्यक्तिसित कुरा गर्नुअघि सत्यतथ्य बुझ्न एल्डरहरूले राम्ररी अनुसन्धान गर्नै पर्छ। (व्यव. १३:१४) तब मात्र तिनीहरूले “परमेश्वरको स्तरबमोजिम” अनुशासन दिन सक्छन्‌।

१९ साथै “नम्र भएर” अनुशासन दिन बाइबलले एल्डरहरूलाई सल्लाह दिएको छ। (२ तिमोथी २:२४-२६ पढ्नुहोस्) हो, गल्ती गर्ने व्यक्तिले यहोवाको नाममा कलङ्क लगाउन सक्छ वा निर्दोष मानिसहरूलाई चोट पुऱ्याउन सक्छ। तर एल्डरले रिसाउँदै सल्लाह दिएमा त्यसबाट उसले कुनै मदत पाउन सक्दैन। यसको विपरीत, एल्डरले “परमेश्वरको अपार दया” अनुकरण गर्दा गल्ती गर्ने व्यक्ति पश्‍चात्ताप गर्न उत्प्रेरित हुन सक्छ।—रोमी २:४.

२०. छोराछोरीलाई अनुशासन दिंदा आमाबाबुले कस्ता सिद्धान्तहरू लागू गर्नुपर्छ?

२० छोराछोरीलाई “यहोवाको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउन आमाबाबुले बाइबल सिद्धान्तहरू लागू गर्नै पर्छ। (एफि. ६:४) उदाहरणको लागि, कसैले छोराको खराब कामको रिपोर्ट गर्दा त्यसको आधारमा बुबाले सजाय दिइहाल्नु हुँदैन। ख्रीष्टियन परिवारमा रिस र हिंसाको कुनै ठाउँ छैन। ‘यहोवा कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ।’ त्यसैले केटाकेटीलाई अनुशासन दिने जिम्मेवारी पाएकाहरूले पनि त्यस्तै गुण देखाउनुपर्छ।—याकू. ५:११.

यहोवाले दिनुभएको अनमोल उपहार

२१, २२. यहोवाको वचनबारे भजन ११९:९७-१०४ मा पाइने कस्ता शब्दहरू तपाईंको भावनासित पनि मेल खान्छ?

२१ यहोवाका एक सेवकले उहाँको व्यवस्थालाई प्रेम गर्नुको कारण बताए। (भजन ११९:९७-१०४ पढ्नुहोस्) परमेश्वरको व्यवस्था अध्ययन गरेर तिनले बुद्धि, अन्तरदृष्टि र समझ पाए। धर्मशास्त्रको सल्लाह पालन नगर्दा कतिपयले दुःख भोग्नुपऱ्यो तर तिनी भने जोगिन सके। धर्मशास्त्रको अध्ययन गर्नु तिनको लागि आनन्द अनि सन्तुष्टि दिने कुरा थियो। परमेश्वरको निर्देशनअनुसार चल्दा तिनले थुप्रै आशिष्‌ पाएका थिए। त्यसैले तिनी उहाँको आज्ञा पालन गरिरहन कटिबद्ध थिए।

२२ के तपाईं “धर्मशास्त्रमा भएका सबै कुरा”-को मोल गर्नुहुन्छ? यसले परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ भन्ने कुरामाथिको तपाईंको विश्वास बलियो बनाउँछ। बाइबलको सल्लाहले तपाईंलाई मृत्युमा पुऱ्याउने पाप गर्नदेखि जोगाउँछ। अनि परमेश्वरको वचन कौशलतासाथ व्याख्या गर्दा मानिसहरूलाई जीवनको बाटो भेट्टाउन र त्यसैमा हिंडिरहन मदत दिन सक्नुहुन्छ। हाम्रा बुद्धिमान्‌ अनि मायालु परमेश्वर यहोवाको सेवा गर्दा “धर्मशास्त्र”-को पूरापूर सदुपयोग गरौं।

^ अनु. 1 हाम्रो राज्य सेवकाई, नोभेम्बर २००६, पृष्ठ ८ हेर्नुहोस्।

^ अनु. 7 अरूलाई सिकाउँदा येशू अक्सर यसरी सोध्नुहुन्थ्यो: “तिमीहरूलाई कस्तो लाग्छ?” त्यसपछि उहाँ जवाफ पर्खनुहुन्थ्यो।—मत्ती १८:१२; २१:२८; २२:४२.

^ अनु. 10 पावलका पत्रहरूले पापी झुकावविरुद्ध युद्ध गर्न प्रोत्साहन दिन्छ। (रोमी ६:१२; गला. ५:१६-१८) अरूलाई दिएको सल्लाह तिनी आफैले पनि लागू गरे भन्नु तर्कसङ्गत छ।—रोमी २:२१.