अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अप्रिल २०१३

 जीवनी

पूर्ण-समय सेवामा आर्कटिक घेरा वरपर बिताएको ५० वर्ष

पूर्ण-समय सेवामा आर्कटिक घेरा वरपर बिताएको ५० वर्ष

पूर्ण-समय सेवा गरिरहेकी एक जना साथीलाई हामीले यसो भन्यौं: “तिमीलाई त अग्रगामी सेवा गर्न सजिलो छ है। तिम्रो आमाबुबा दुवै सच्चाइमै हुनुहुन्छ। तिमीलाई हेरिहाल्नुहुन्छ नि।” तिनले यस्तो जवाफ दिइन्‌: “हामी सबैको बुबा त एकै जना हुनुहुन्छ नि!” तिनले दिएको जवाफबाट हामीले एउटा महत्त्वपूर्ण पाठ सिक्यौं: स्वर्गका बुबाले आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ अनि तिनीहरूलाई बल दिनुहुन्छ। यो कुरा हामी आफैले अनुभव गरेका छौं।

 हाम्रो जन्म फिनल्याण्डको उत्तरी ओस्ट्रोबोथ्नियामा भयो। हामी दस जना छोराछोरी थियौं। हाम्रो परिवारले खेतीकिसानी गर्थ्यो। दोस्रो विश्वयुद्ध चलिरहेको बेला हामी सानै थियौं। हाम्रो घर युद्ध भइरहेको ठाउँबाट धेरै टाढा भए तापनि युद्धको आतङ्कले हामीमा नराम्रो छाप पारेको थियो। नजिकैका सहरहरू ओऊलु र कालाजकीमा बम खसालिंदा हामीले कालो आकाशमा रातो प्रकाश देख्यौं। आमाबुबाले हामीलाई आकाशमा लडाकु विमान देख्नेबित्तिकै लुकिहाल्न सिकाउनुभएको थियो। पछि हाम्रो जेठो दाइ टाउनोले अन्याय-अत्याचार केही नहुने संसारबारे बताउनुहुँदा हामी निकै उत्साहित भयौं।

टाउनो दाइले बाइबल विद्यार्थीहरूको साहित्यमार्फत सच्चाइ सिक्नुभएको थियो। त्यतिबेला उहाँ १४ वर्षको हुनुहुन्थ्यो। दोस्रो विश्वयुद्ध सुरु हुँदा उहाँलाई सैन्य सेवामा भर्ती हुन दबाब दिइयो। तर बाइबल प्रशिक्षित अन्तस्करणले गर्दा उहाँले भर्ती हुन इन्कार गर्नुभयो। उहाँलाई झ्यालखानामा हालियो। त्यहाँ उहाँलाई एकदमै क्रूर व्यवहार गरियो। तर त्यसले उहाँलाई यहोवाको सेवामा अझै जोसिलो बनायो। झ्यालखानाबाट छुटेपछि उहाँ प्रचारमा पहिलेभन्दा झनै सक्रिय भएर लाग्नुभयो। दाइको यस्तो राम्रो उदाहरणले हामीलाई नजिकैको गाउँमा हुने साक्षीहरूको सभामा जान प्रोत्साहन दियो। अधिवेशनको लागि यात्रा खर्च जुटाउन हामी काम गरेर पैसा बचत गर्थ्यौं। हामी प्याज खेती गर्थ्यौं, एक प्रकारको बयर टिप्थ्यौं अनि छिमेकीको लागि लुगा सिलाउँथ्यौं। खेतमा थुप्रै काम हुन्थ्यो, त्यसैले सबै जना एकैचोटि अधिवेशन जान सक्दैनथ्यौं, पालैपालो जान्थ्यौं।

बायाँबाट: माट्टी (बुबा), टाउनो, साइमी, मारिया इमिलिया (आमा), भाइनो (बच्चा), आइली र आन्निकी, सन्‌ १९३५ मा

यहोवा अनि उहाँको उद्देश्यबारे सिकेको सत्य कुराले उहाँप्रतिको हाम्रो प्रेम बलियो बनायो। हामीले आफ्नो जीवन यहोवामा समर्पण गर्ने निर्णय गऱ्यौं। सन्‌ १९४७ मा हामी दुवैले बप्तिस्मा गऱ्यौं। (आन्निकीले १५ वर्षको उमेरमा अनि आइलीले १७ वर्षको उमेरमा) हाम्री दिदी साइमीले पनि त्यही वर्ष बप्तिस्मा गर्नुभयो। अर्की दिदी लिन्नियाले पनि हामीसित अध्ययन गर्नुभयो। उहाँ विवाहित हुनुहुन्थ्यो। पछि उहाँ अनि उहाँको परिवार पनि साक्षी हुनुभयो। बप्तिस्मा गरेपछि हामीले समय-समयमा अग्रगामी सेवा (सहायक अग्रगामी) गर्ने लक्ष्य राख्यौं।

पूर्ण-समय सेवामा प्रवेश

बायाँबाट: ईभा काल्लियो, साइमी माट्टिला-सिरजाला, आइली, आन्निकी र सेरा नोपोनेन, सन्‌ १९४९ मा

सन्‌ १९५५ मा हामी सुदूर उत्तरको केमी सहरमा बसाइँ सऱ्यौं। दिनभर काममा व्यस्त भए तापनि हामी अग्रगामी सेवा गर्न चाहन्थ्यौं। तर खर्च धान्न सक्ने हो कि होइन भनेर चिन्ता लाग्थ्यो। त्यसैले पहिला केही बचत गर्ने विचार गऱ्यौं। सुरुमा उल्लिखित अग्रगामी बहिनीसित कुराकानी गरेको समय यही थियो। उहाँले हामीलाई यो कुरा बुझ्न मदत गर्नुभयो—पूर्ण-समय सेवा गर्ने कुरा आफूसित भएको स्रोतसाधन वा परिवारबाट पाइने आर्थिक सहयोगमा निर्भर हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवामा भरोसा गर्नु हो।

सन्‌ १९५२ मा कुओपियोको अधिवेशनको लागि यात्रा गर्दै बायाँबाट: आन्निकी, आइली र ईभा काल्लियो

त्यतिबेला हामीसित दुई महिनाको लागि पुग्दो खर्च थियो।  त्यसकारण ल्यापल्याण्डको पेलोमा दुई महिना अग्रगामी सेवा गर्ने विचार गऱ्यौं। डर लागे तापनि मे १९५७ मा आवेदन दियौं। दुई महिना बितिसक्दा पनि त्यो रकम पूरै बाँकी थियो। त्यसैले अर्को दुई महिना अग्रगामी सेवा गर्न आवेदन दियौं। त्यसपछि पनि त्यो रकम पूरै बाँकी थियो। अब भने यहोवाले हाम्रो ख्याल गर्नुहुन्छ भन्ने कुरामा ढुक्क भयौं। अग्रगामी सेवा गरेको ५० वर्ष बितिसक्यो, त्यो रकम अझै बाँकी छ! ती दिनहरूलाई फर्केर हेर्दा लाग्छ, यहोवाले हाम्रो हात समात्दै यसो भनिरहनुभएको थियो: “नडरा, म तँलाई सहायता गर्नेछु।”—यशै. ४१:१३.

अग्रगामी सेवा गरेको ५० वर्ष बितिसक्यो, त्यो रकम अझै बाँकी छ!

क्षेत्र सेवामा काइसु रेईको र आइली

सन्‌ १९५८ मा क्षेत्रीय निरीक्षकले ल्यापल्याण्डको सोडानकिलामा विशेष अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि भनेर सोध्नुभयो। त्यतिबेला त्यहाँ यहोवाको साक्षीको नाममा एक जना बहिनी मात्र थिइन्‌। तिनले निकै रोचक तरिकामा सच्चाइ पाएकी थिइन्‌। तिनको छोरा स्कूलबाट फिनल्याण्डको राजधानी हेलसिङ्की घुम्न गएको थियो। ऊ साथीहरूसित घुम्दै थियो। समूहमा सबैभन्दा पछाडि हिंडिरहेको बेला एक जना वृद्ध बहिनीले उसलाई प्रहरीधरहरा पत्रिका दिइन्‌ र आमालाई दिनू भनिन्‌। त्यो पत्रिका पढेपछि तिनले सत्य यही नै हो भनेर तुरुन्तै थाह पाइन्‌।

हामीले एउटा कोठा भाडामा लियौं। कोठामुनि काठ कारखाना थियो। हामीले कोठामा सभाहरू सञ्चालन गर्थ्यौं। सुरु-सुरुमा त स्थानीय बहिनी र उहाँकी छोरी अनि हामी दुई जना मात्र हुन्थ्यौं। हामी हरेक हप्ताको अध्ययन सामग्री सँगै पढ्थ्यौं। यहोवाका साक्षीहरूसित अध्ययन गरेका एक जना पुरुष पछि काठ कारखानामा काम गर्न आए। उनी परिवारसित सभाहरूमा आउन थाले। उनी र उनकी पत्नीले बप्तिस्मा गरे। पछि ती भाइले सभामा नेतृत्व लिन थाले। साथै कारखानाका केही पुरुष कामदार पनि सभामा उपस्थित हुन थाले र तिनीहरूले बाइबल सत्य अँगाले। करिब दुई वर्षपछि हाम्रो सानो समूह मण्डलीमा परिणत भयो।

चुनौतीहरू

प्रचार गर्न निकै लामो यात्रा गर्नुपर्थ्यो। गर्मीयाममा हिंडेर, साइकल चढेर अनि डुङ्गा चढेर इलाकासम्म जान्थ्यौं। साइकल भएकोले निकै सजिलो थियो। अधिवेशन जान अनि सयौं किलोमिटर टाढा बस्नुहुने आमाबुबाकहाँ जान पनि साइकल नै प्रयोग गर्थ्यौं। जाडो महिनामा भने सबेरै बस चढेर इलाकामा जान्थ्यौं अनि घरघरको प्रचार गर्थ्यौं। एउटा गाउँमा प्रचार सिद्धिएपछि अर्को गाउँमा हिंडेरै जान्थ्यौं। कहिलेकाहीं त सडक नै ढाकिनेगरि हिउँ पर्थ्यो। हामी अक्सर टाँगा हिंड्दा बनेको बाटोमा हिंड्ने गर्थ्यौं। तर कहिलेकाहीं त त्यही बाटो पनि हिउँले ढाकिसकेको हुन्थ्यो। वसन्तयामको सुरुतिर  हिउँ पग्लन थाल्ने भएकोले हिंड्न निकै कठिन हुन्थ्यो।

जाडोयाममा क्षेत्र सेवामा सँगै भाग लिंदै

हिउँ परिरहने भएकोले कठ्याङ्ग्रिने जाडो हुन्थ्यो, त्यसैले हामी न्यानो लुगा लगाउँथ्यौं। हामी ऊनको सुरुवाल, दुई-तीन जोर मोजा अनि बुट लगाउँथ्यौं। कहिलेकाहीं त बुटभरि हिउँ छिर्थ्यो। प्रचार गर्ने घरमा पुगेपछि बुट खोल्थ्यौं अनि हिउँ झार्थ्यौं। हिउँको बाटो भएर हिंड्दा हामीले लगाएको लामो कोटको किनार सबै भिज्थ्यो। अनि चिसो बढेपछि कोटको किनार फलामको पाताजस्तै हुन्थ्यो। एक जना घरधनीले हामीलाई यसो भनिन्‌: “तपाईंहरूको विश्वास कत्ति बलियो! नत्र यस्तो जाडोमा को अरूको घरघरमा आउँछ र?” त्यस घरसम्म पुग्न हामी ११ किलोमिटर हिंडेका थियौं।

प्रचार गर्न टाढा-टाढा जाने भएकोले अक्सर स्थानीय मानिसहरूकै घरमा रात बिताउनुपर्थ्यो। त्यसैले रात पर्न थालेपछि बास खोज्न थाल्थ्यौं। घर साधारण भए पनि मानिसहरू निकै मित्रैलो अनि दयालु थिए। तिनीहरू हामीलाई बास मात्र होइन, भोजन पनि दिन्थे। अक्सर हामी जनावरको छालामा सुत्थ्यौं। तर केही घरमा भने पाहुना कोठा हुन्थ्यो। जस्तै: भव्य घर भएको एक महिलाले हामीलाई बास दिइन्‌। तिनले हामीलाई माथिल्लो तलाको पाहुना कोठामा लगिन्‌। कोठामा सेतो तन्ना बिछयाइएको मज्जाको खाट थियो। घरधनीसित थुप्रै पटक अबेरसम्म बाइबलबारे छलफल गऱ्यौं। अर्को ठाउँमा चाहिं हामीलाई बास दिने दम्पती कोठाको एउटा कुनामा सुते अनि हामीचाहिं अर्को कुनामा सुत्यौं। ती दम्पतीले हामीलाई पालैपालो एक पछि अर्को प्रश्न सोधे। त्यसैले हामीले रातभर बाइबलबारे छलफल गऱ्यौं।

इनामदायी सेवा

ल्यापल्याण्ड निकै सुन्दर छ। तर यहोवाको ज्ञान लिएका मानिसहरू झनै सुन्दर छन्‌। हामीले थुप्रै निष्कपट मानिसहरूलाई साक्षी दियौं। तीमध्ये रूख काट्न ल्यापल्याण्ड आएका दाउरेहरू पनि थिए। कुनै-कुनै छाप्रोमा त दर्जनौं पुरुष बसिरहेका हुन्थे। ती हट्टाकट्टा पुरुषहरूले बाइबल सत्य सुने अनि खुसीसाथ साहित्यहरू लिए।

हामीले निकै रमाइला अनुभव बटुल्यौं। एक दिनको कुरा हो, बसपार्कको घडी पाँच मिनेट छिटो भएकोले हाम्रो बस छुट्यो। त्यसैले हामीले अर्कै गाउँ जाने विचार गऱ्यौं। त्यस गाउँमा पहिला कहिल्यै प्रचार गरेका थिएनौं। सुरुको घरमा हामीले एक युवतीलाई भेट्यौं। तिनले हामीलाई भनिन्‌: “ए तपाईंहरू आउनुभयो! तपाईंहरूलाई नै पर्खिरहेकी थिएँ।” कुरा के रहेछ भने ती युवती हामीसितै अध्ययन गरिरहेकी एक महिलाकी बहिनी पो रहिछन्‌। ती युवतीले आफ्नी दिदीलाई त्यसै दिन हामीलाई तिनको घरमा पठाइदिन आग्रह गरेकी रहिछन्‌। तर हामीले त्यो खबर पाएकै थिएनौं। तिनी र तिनको घरनजिकै बस्ने तिनका नातेदारहरूसित बाइबल अध्ययन सुरु भयो। केही समय नबित्दै हामीले तिनीहरूलाई एकै ठाउँमा राखेर अध्ययन गराउन थाल्यौं। बाइबल अध्ययन गर्न १२ जना जति भेला हुन्थे। अहिले यस परिवारका थुप्रै सदस्य यहोवाका साक्षी भएका छन्‌।

 सन्‌ १९६५ मा हामीलाई सुदूर दक्षिणको कूसामो सहरमा खटाइयो। हामी अहिले पनि यहीं सेवा गर्दै छौं। हामी यहाँ आउँदा मण्डलीमा थोरै प्रकाशक थिए। त्यतिबेला प्रचार गर्न अलि गाह्रो थियो। यहाँका मानिसहरू धर्ममा कट्टर थिए अनि साक्षीहरूप्रति पूर्वाग्रही दृष्टिकोण राख्थे। तर बाइबलको आदर गर्ने मानिसहरू पनि थिए। त्यसैले दुवै पक्ष सहमत हुन सक्ने विषय निकालेर कुरा गर्न सजिलो हुन्थ्यो। हामीले ती मानिसहरूलाई चिन्ने प्रयास गऱ्यौं। अनि लगभग दुई वर्षपछि बाइबल अध्ययन सुरु गर्न सजिलो हुन थाल्यो।

अझै पनि सक्रिय

हामीले अध्ययन गराएका केही भाइबहिनीसँग

बुढ्यौलीले गर्दा अहिले हामी लामो समय प्रचार गर्न सक्दैनौं। तर हरेक दिनजसो नै प्रचारकार्यमा भाग लिन्छौं। हाम्रो मण्डलीको इलाका ठूलो छ। तर आइलीले गाडी चलाउन सिकेकीले सजिलो भएको छ। भदाले प्रोत्साहन दिएपछि आइलीले गाडी चलाउन सिकिन्‌। तिनले सन्‌ १९८७ मा ५६ वर्षको उमेरमा सवारी चालक अनुमति पत्र निकालिन्‌। राज्यभवन बनेपछि झनै सजिलो भयो। हामी राज्यभवनसँगै जोडिएको घरमा सऱ्यौं।

मण्डलीमा भइरहेको वृद्धि आफ्नै आँखाले देख्न पाउँदा असाध्यै खुसी लाग्छ। उत्तरी फिनल्याण्डमा पूर्ण-समय सेवा सुरु गर्दा प्रकाशकहरू एकदमै थोरै थिए। तर अहिले त थुप्रै मण्डली मिलेर एउटा क्षेत्र (सर्किट) नै बनिसक्यो। सम्मेलन अनि अधिवेशनहरूमा भाइबहिनी हामीसित परिचय गर्न आउँछन्‌ र ‘मलाई चिन्नुभयो?’ भनेर सोध्छन्‌। कसै-कसैले त ‘म सानो छँदा तपाईंहरू हाम्रो घरमा अध्ययन गराउन आउनुहुन्थ्यो नि’ भन्छन्‌। हामीले वर्षौंअघि वा दशकौंअघि छरेको बीउले फल फलाएको छ।—१ कोरि. ३:६.

हामी बर्खामा समेत प्रचारमा जान्छौं

सन्‌ २००८ मा हामीले विशेष अग्रगामी सेवा गरेको ५० वर्ष पूरा भयो। यहोवाको अमूल्य सेवामा लागिरहन हामीले एकअर्कालाई प्रोत्साहन दिन सकेका छौं। यसको लागि यहोवालाई धन्यवाद दिन्छौं। हाम्रो जीवन सरल छ तर कहिल्यै कुनै कुराको अभाव भएको छैन। (भज. २३:१) अग्रगामी सेवा सुरु गर्न हामी बेकारमा डराएका रहेछौं! खुसीको कुरा, आजसम्म पनि यहोवाले हामीलाई यस प्रतिज्ञाअनुसारै बल दिइरहनुभएको छ: “म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु।”—यशै. ४१:१०.