अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मार्च २०१३

कहिल्यै आशा नमार्नुहोस्!

कहिल्यै आशा नमार्नुहोस्!

के तपाईं यहोवाको साक्षी भएको धेरै वर्ष भइसक्यो र आफ्नो जीवनसाथीले पनि यहोवाको सेवा गरोस् भन्ने चाहनुहुन्छ?

अथवा के तपाईं उन्नति गर्ला जस्तो लागेको बाइबल विद्यार्थीले सत्यको पक्षमा अडान नलिएकोले निराश हुनुहुन्छ?

 बेलायतका केही अनुभवले किन कहिल्यै आशा मार्नुहुन्न भनेर बुझ्न तपाईंलाई मदत गर्नेछ। अहिलेसम्म सत्य नस्वीकारेकाहरूलाई मदत गर्न तपाईं कसरी ‘आफ्नो अन्न पानीमा फालिदिन सक्नुहुन्छ’ भनेर पनि बुझ्नुहुनेछ।—उप. ११:१, NRV.

लगनशील भई लागिरहनु अत्यावश्यक

तपाईंले गर्न सक्ने एउटा कुरा भनेको तपाईं लगनशील भई लागिरहनुपर्छ। तपाईं सत्यमा अडिग भएर यहोवासित संलग्न हुनुपर्छ। (व्यव. १०:२०) क्योरकिनाले त्यस्तै गरिन्‌। सन्‌ १९७० मा यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गर्दा तिनका पति किर्याकोस असाध्यै रिसाए। उनले बाइबल अध्ययनमा भाँजो हाल्न खोजे, साक्षीहरूलाई घर आउन दिएनन्‌ अनि आफूले भेटेजति सबै प्रकाशन फ्याँकिदिए।

क्योरकिना सभाहरूमा उपस्थित हुन थाल्दा तिनका पति झनै रिसाए। एक पटक त झगडा गर्न राज्यभवनमै पुगे। किर्याकोस अङ्ग्रेजीभन्दा ग्रीक राम्रो बोल्छन्‌ भन्ने थाह पाएर एक जना बहिनीले अर्को मण्डलीको ग्रीक भाइलाई फोन गरिन्‌ र मदतको लागि आग्रह गरिन्‌। ती भाइको दयालु व्यवहार देखेर किर्याकोसले पनि राम्रो व्यवहार गरे र केही महिनासम्म बाइबल अध्ययनसमेत गरे। तर पछि उनले अध्ययन गर्न छोडे।

अर्को तीन वर्षसम्म क्योरकिनाले विरोध खपिरहनुपऱ्यो। बप्तिस्मा गरेमा तिनलाई छोडिदिने कुरासमेत किर्याकोसले बताए। पतिले नछोडून्‌ भनेर बप्तिस्माको दिनमा क्योरकिनाले व्यग्र प्रार्थना गरिन्‌। क्योरकिनालाई सम्मेलनमा सँगै लैजान साक्षीहरू घर आउँदा तिनका पतिले साक्षीहरूलाई यसो भने: “तपाईंहरू अघि जानुहोस्। हामी आफ्नै गाडीमा पछि-पछि आउँछौं।” उनी बिहानको कार्यक्रममा उपस्थित भए र पत्नीले बप्तिस्मा गरेको हेरे!

साक्षीहरूलाई भेटेको लगभग ४० वर्षपछि क्योरकिनाले पतिले बप्तिस्मा गरेको हेर्न पाइन्‌

पछि किर्याकोसको विरोध कम हुँदै गयो अनि उनले बिस्तारै छाँटकाँट गर्न थाले। साक्षीहरूलाई भेटेको लगभग ४० वर्षपछि क्योरकिनाले पतिले बप्तिस्मा गरेको हेर्न पाइन्‌! किर्याकोसलाई केले मदत गऱ्यो? उनी भन्छन्‌: “क्योरकिनाको अठोट देखेर म असाध्यै प्रभावित भएँ।” क्योरकिना भन्छिन्‌: “श्रीमान्‌ले जतिसुकै विरोध गर्नुभए पनि परमेश्वरको सेवा गर्न छोड्ने थिइनँ। सधैं प्रार्थना गरिरहें, कहिल्यै आशा मारिनँ।”

नयाँ व्यक्तित्वको महत्त्व

ख्रीष्टियन व्यक्तित्व विकास गरेर पनि हामी आफ्नो जीवनसाथीलाई मदत गर्न सक्छौं। प्रेषित पत्रुसले ख्रीष्टियन पत्नीहरूलाई यस्तो सल्लाह दिए: “आ-आफ्ना पतिको अधीनमा बस, ताकि तिनीहरूमध्ये कसै-कसैले परमेश्वरको वचन नमाने तापनि तिमीहरूको असल चालचलनद्वारा विनावचन तिनीहरूलाई मनाउन सकियोस्।” (१ पत्रु. ३:१) पतिलाई मनाउन वर्षौं लागे तापनि क्रिस्टिन उक्त सल्लाहअनुसार चलिन्‌। तिनी २० वर्षभन्दा पहिल्यै साक्षी भएकी थिइन्‌ तर त्यसबेला तिनका पति जोन भने परमेश्वरमा विश्वास गर्दैनथे। जोनलाई धर्ममा कुनै चासो थिएन तर क्रिस्टिन आफूले अँगालेको नयाँ विश्वासको निकै मोल गर्छिन्‌ भनेर उनले महसुस गरे। उनी भन्छन्‌: “यसले तिनलाई आनन्दित बनाएको थियो। तिनी निडर भएकी थिइन्‌ र यसले मलाई थुप्रै गाह्रोसाह्रो परिस्थिति सामना गर्न मदत गऱ्यो।”

क्रिस्टिनले आफ्नो धर्म अँगाल्न पतिलाई कहिल्यै जबरजस्ती गरिनन्‌। तिनका पति भन्छन्‌: “मसित धर्मबारे कुरा नगर्नु नै उचित हो भनेर क्रिस्टिनले सुरुदेखि नै महसुस गरिन्‌। तिनले धैर्य गर्दै मलाई आफ्नै गतिमा अनि आफ्नै तरिकामा सिक्न दिइन्‌।” जोनलाई विज्ञान र प्रकृतिजस्ता विषयमा चासो थियो। त्यसैले प्रहरीधरहरा ब्यूँझनुहोस्! पत्रिकामा ती विषयमा लेख आउँदा क्रिस्टिन आफ्नो पतिलाई यसो भन्दै पत्रिका दिन्थिन्‌, “यो लेख तपाईंलाई मन पर्छ होला।”

पछि जोनले जागिरबाट अवकाश पाए र बगैंचाको काम गर्न थाले। समय प्रशस्त भएकोले उनले गहिरा-गहिरा प्रश्नहरूबारे सोच्न थाले, ‘हामी संयोगले आएका हौं वा हामीलाई कुनै उद्देश्य राखेर सृष्टि गरिएको हो?’ जोनसित कुराकानी गरिरहेका भाइले एक दिन उनलाई सोधे, “अध्ययन गर्ने होइन त?” जोन भन्छन्‌, “परमेश्वरमाथि विश्वास गर्न थालेकोले मैले त्यो प्रस्ताव स्वीकारें।”

क्रिस्टिनले कहिल्यै आशा नमारेकीले नतिजा राम्रो निस्क्यो। जोनले सत्य स्वीकारून्‌ भनेर क्रिस्टिनले प्रार्थना गर्न थालेको २० वर्षपछि उनले बप्तिस्मा गरे। अहिले उनीहरू जोसका साथ सँगसँगै यहोवाको सेवा गर्छन्‌। जोन भन्छन्‌: “विशेषगरि दुइटा कुराले मेरो मन छोयो। साक्षीहरूको दयालु र मित्रैलो व्यवहार। यहोवाको साक्षीसित विवाह गर्दा तपाईंले वफादार, भरपर्दो र निःस्वार्थ जीवनसाथी पाउनुहुन्छ।” हो, क्रिस्टिनले १ पत्रुस ३:१ मा दिइएको सल्लाह पालन गरिन्‌ र त्यसले राम्रो नतिजा ल्यायो।

बीउले वर्षौंपछि फल फलाउँछ

कुनै कारणले गर्दा बाइबल विद्यार्थीको चासो हराएको छ भने नि? राजा सुलेमानले लेखे: “बिहान समयमा नै बीउ छर्, र बेलुकी  साँझसम्म आफ्नो काम गर्न नछोड्, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिं सफल हुन्छ, अथवा दुवै नै राम्रो हुन्छन्‌ होला भनी तँ जान्दैनस्।” (उप. ११:६) सत्यको बीउ अङ्कुराउन कहिलेकाहीं वर्षौं लाग्न सक्छ। तर पछि कुनै व्यक्तिले परमेश्वरको नजिक जानुको महत्त्व बुझ्न सक्छ। (याकू. ४:८) हो, कुनै दिन तपाईंले सोच्दै नसोचेको कुरा हुन सक्छ।

भारतबाट बेलायत सरेकी एलीसको उदाहरण विचार गर्नुहोस्। सन्‌ १९७४ मा तिनले बाइबल अध्ययन सुरु गरिन्‌। तिनी हिन्दी बोल्थिन्‌ तर अङ्ग्रेजी पनि सुधार्न चाहन्थिन्‌। केही वर्षसम्म अध्ययन जारी भयो र तिनी केही पटक अङ्ग्रेजी भाषाको मण्डलीमा पनि उपस्थित भइन्‌। आफूले सिकिरहेको कुरा सत्य हो भनेर थाह भए तापनि तिनी त्यसलाई त्यति महत्त्व दिन्नथिन्‌। साथै पैसा भनेपछि हुरुक्कै हुन्थिन्‌ र पार्टीहरूमा जान मन पराउँथिन्‌। पछि तिनले अध्ययन छोडिन्‌।

पहिले एलीसलाई अध्ययन गराएकी स्टेलाले लगभग ३० वर्षपछि तिनको पत्र पाइन्‌। पत्रमा यस्तो लेखिएको थियो: “सन्‌ १९७४ मा तपाईंसित अध्ययन गरेको बाइबल विद्यार्थीले हालैको अधिवेशनमा बप्तिस्मा गरेको थाह पाउँदा तपाईंलाई पक्कै खुसी लाग्ला। तपाईंले मेरो जीवनमा एकदमै ठूलो भूमिका खेल्नुभयो। तपाईंले ममा सत्यको बीउ रोप्नुभयो। त्यसबेला म आफूलाई परमेश्वरमा समर्पण गर्न सक्ने अवस्थामा थिइनँ। तैपनि मैले सत्यको बीउलाई आफ्नो मनमा जोगाएर राखें।”

एलीसले स्टेलालाई पठाएको पत्रमा यस्तो लेखिएको थियो: “सन्‌ १९७४ मा तपाईंसित अध्ययन गरेको बाइबल विद्यार्थीले हालैको अधिवेशनमा बप्तिस्मा गरेको थाह पाउँदा तपाईंलाई पक्कै खुसी लाग्ला”

एलीसको जीवनमा कस्तो घटना घट्यो? सन्‌ १९९७ मा पतिको मृत्यु भएपछि आफू एकदमै निराश भएको कुरा एलीस बताउँछिन्‌। तिनले परमेश्वरलाई प्रार्थना गरिन्‌। प्रार्थना गरेको दस मिनेट नबित्दै पंजाबी बोल्ने दुई जना साक्षी तिनको घरमा टुप्लुक्क आइपुगे अनि के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति? शीर्षकको पर्चा दिए। एलीसले प्रार्थनाको सुनुवाइ भएको महसुस गरिन्‌ र यहोवाका साक्षीहरूलाई भेट्ने निर्णय गरिन्‌। तर कहाँ भेट्न सकिन्थ्यो? संयोगवश तिनले आफ्नो पुरानो डायरी भेट्टाइन्‌, जसमा स्टेलाले दिएको पंजाबी मण्डलीको ठेगाना थियो। एलीस राज्यभवन गइन्‌ र त्यहाँ तिनलाई पंजाबी बोल्ने भाइबहिनीले न्यानो स्वागत गरे। एलीस भन्छिन्‌, “राज्यभवनबाट फर्केपछि पनि भाइबहिनीले देखाएको माया महसुस गरिरहें र यसले मलाई निराशाको सामना गर्न मदत गऱ्यो।”

तिनी नियमित रूपमा सभाहरूमा उपस्थित हुन थालिन्‌ र फेरि बाइबल अध्ययन सुरु गरिन्‌। तिनले राम्ररी पंजाबी बोल्न र पढ्न सिकिन्‌। सन्‌ २००३ मा तिनले बप्तिस्मा गरिन्‌। स्टेलालाई लेखिएको पत्र यसरी टुङ्ग्याइएको थियो, “उनन्तीस वर्षअघि ममा सत्यको बीउ रोपिदिनुभयो र मेरो लागि राम्रो उदाहरण बसाल्नुभयो। तपाईंलाई धेरै धन्यवाद।”

“उनन्तीस वर्षअघि ममा सत्यको बीउ रोपिदिनुभयो र मेरो लागि राम्रो उदाहरण बसाल्नुभयो। तपाईंलाई धेरै धन्यवाद।”—एलीस

यी अनुभवहरूबाट तपाईं के सिक्न सक्नुहुन्छ? कुनै व्यक्तिले सत्य स्वीकार्न तपाईंले आशा गरेभन्दा लामो समय लाग्न सक्छ। तर तिनी आध्यात्मिक रूपमा भोका, इमानदार र नम्र छन्‌ भने यहोवाले सत्य बुझ्न र स्वीकार्न मदत गर्नुहुनेछ। येशूले दृष्टान्तमा भन्नुभएको कुरा विचार गर्नुहोस्: “बीउ पनि अङ्कुराउँछ र बढ्दै जान्छ तर यी सब कसरी हुन्छ, त्यो [बीउ छर्नेले] जान्दैन। जमिनले आफ्नै सुरले बाली उमार्छ, पहिले पात, त्यसपछि बाला, अनि अन्तमा अन्नको गेडा।” (मर्कू. ४:२७, २८) यसरी बढ्ने काम बिस्तारै र “आफ्नै सुरले” हुन्छ। वास्तवमा भन्नुपर्दा यो कसरी हुन्छ भनेर कुनै पनि राज्य प्रचारकले बुझ्न सक्दैन। त्यसैले प्रशस्त मात्रामा छरिरहनुहोस्; तपाईंले प्रशस्तै कटनी गर्नुहुनेछ।

अनि प्रार्थनाको महत्त्व पनि नबिर्सनुहोस्। क्योरकिना र क्रिस्टिनले यहोवालाई प्रार्थना गर्न छोडेनन्‌। ‘प्रार्थनामा लागिरहनुभयो’ र कहिल्यै आशा मार्नुभएन भने पानीमा फालेको “अन्न” तपाईंले “धेरै दिनपछि” फेरि पाउनुहुनेछ।—रोमी १२:१२; उप. ११:१, NRV.