अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) फेब्रुअरी २०१३

सम्राट्को गारतले साक्षी पाउँछ

सम्राट्को गारतले साक्षी पाउँछ

इस्वी संवत्‌ ५९ को कुरा हो। अफिसर जुलियसलगायत यात्राले थकित तिनका सेना थुप्रै कैदीसहित पोर्टा कापेना प्रवेशद्वार हुँदै रोम छिर्छन्‌। पालाटाइन डाँडामा सम्राट् नेरोको दरबार छ। टोगाभित्र (रोमी सेनाको पोसाक) तरबार लुकाएका सम्राट्का सेनाले त्यस दरबारलाई सुरक्षा दिएको छ। * अफिसर जुलियसले कैदीहरूलाई रोमको बजार हुँदै भिमिनल डाँडामा लैजान्छन्‌। तिनीहरू रोमी देवताहरूका वेदीहरू भएको बगैंचा र परेठ खेल्ने मैदानको बाटो हुँदै जान्छन्‌।

इस्वी संवत्‌ ५१ मा निर्मित गारत सिपाहीहरूको कुँदिएको चित्र। यसलाई क्लौडियसको गुम्बजबाट लिइएको ठानिन्छ

कैदीहरूमध्ये पावल पनि थिए। केही समयअघि, समुद्री यात्राको दौडान आँधी आउँदा स्वर्गदूतले पावललाई यसो भनेका थिए: “तिमी सम्राट्सामु खडा हुनै पर्छ।” (प्रेषि. २७:२४) के तिनी सम्राट्सामु खडा हुने थिए? रोम सहरतर्फ आँखा डुलाउँदा प्रभु येशूले यरूशलेमस्थित आन्टोनियाको किल्लामा भन्नुभएको कुरा तिनले सम्झेको हुनुपर्छ। उहाँले भन्नुभएको थियो: “साहसी होऊ! किनकि तिमीले मेरो विषयमा यरूशलेममा राम्रो साक्षी दिइरहेका छौ, अब रोममा पनि तिमीले त्यस्तै साक्षी दिनै पर्छ।”—प्रेषि. २३:१०, ११.

पावल रातो इँटहरूद्वारा बनाइएको ठूलो किल्ला (कास्ट्रा प्राइटोरिया) हेर्न रोकिए होलान्‌। त्यस किल्लामा रोमी सेनाका १२ वटा गण * र नगर प्रहरी बलका साथै  घोडचढी सेना बस्थे। त्यस किल्लाको भव्यता हेरेरै मानिसहरूले सम्राट् कत्तिको शक्तिशाली छन्‌ भनेर अनुमान लगाउन सक्थे। रोमी साम्राज्यको अन्य भागमा बस्ने कैदीहरूको जिम्मा पनि सम्राट्का गारतले लिनुपर्ने भएकोले गारतका अफिसर जुलियसले ती कैदीहरूलाई रोम लगे। महिनौंको जोखिमपूर्ण यात्रापछि अन्ततः तिनीहरू रोम आइपुगे।—प्रेषि. २७:१-३, ४३, ४४.

पावल “विनारोकटोक” प्रचार गर्छन्‌

समुद्री यात्राको दौडान पावलले एउटा दर्शन पाए। जहाजका सबै यात्रु बच्नेछन्‌ भनेर तिनलाई बताइयो। विषालु सर्पले टोक्दासमेत तिनलाई केही भएन। माल्टा टापुमा तिनले बिरामी मानिसहरूलाई निको पारे। यो देखेर मानिसहरूले तिनलाई ईश्वर भन्न थाले। यी घटनाहरूको खबर अन्धविश्वासी गारतको कानमा पनि पुगेको हुनुपर्छ।

पावललाई भेट्न ‘तीन पाटी र अप्पियसको बजारबाट आएका’ भाइहरूलाई तिनले पहिला पनि भेटिसकेका थिए। (प्रेषि. २८:१५) तर कैदी भएकोले तिनले रोममा कसरी सुसमाचार प्रचार गर्न सक्थे? (रोमी १:१४, १५) कसै-कसैको विचारमा कैदीहरूलाई पहिला गारतको नाइकेकहाँ लगिन्थ्यो। त्यसो हो भने पावललाई गारतको नाइके अफ्रान्युस बुर्रोसकहाँ लगिएको हुनुपर्छ। सायद उनी सम्राट्पछिको दोस्रो शक्तिशाली व्यक्ति थिए। * जेहोस्, यतिबेला पावललाई अफिसरहरूले नभई एक साधारण सिपाहीले पहरा दिइरहेका थिए। पावलले आफ्नै डेरामा बस्ने अनुमति पाएका थिए र मानिसहरू तिनलाई भेट्न जान सक्थे। आफूलाई भेट्न आउनेहरूलाई तिनी “विनारोकटोक” प्रचार गर्न सक्थे।—प्रेषि. २८:१६, ३०, ३१.

पावल साना र ठूला सबैलाई साक्षी दिन्छन्‌

हालको कास्ट्रा प्राइटोरियाको पर्खाल

पावललाई नेरोसामु खडा गराइनुअघि बुर्रोसले दरबारमा वा गारतको ब्यारेकमा तिनीसित सोधपुछ गरेको हुनुपर्छ। ‘साना र ठूला सबैलाई साक्षी दिने’ विशेष अवसर पावलले गुम्न दिएनन्‌। (प्रेषि. २६:१९-२३) बुर्रोसले पावललाई दोषी देखे या देखेनन्‌, त्यो त हामीलाई थाह छैन तर तिनलाई झ्यालखानामा हाल्न ब्यारेकमा पठाएनन्‌ भनेरचाहिं हामीलाई थाह छ। *

पावलले “यहूदीहरूका गण्यमान्य मानिसहरू” र अरू ‘धेरै जनालाई’  आफ्नो डेरामा बोलाए अनि उनीहरूलाई साक्षी दिए। तिनले यहूदीहरूलाई परमेश्वरको राज्य र येशूको विषयमा “बिहानदेखि बेलुकीसम्मै” ‘राम्ररी साक्षी दिंदा’ सम्राट्का सिपाहीहरूले पनि ध्यान दिएर सुने।—प्रेषि. २८:१७, २३.

पावल कैदमा छँदा तिनले पत्र लेख्न लगाएको सिपाहीहरूले सुने

प्रत्येक दिन दिउँसो २ बजेतिर दरबारको सुरक्षा गर्ने सिपाहीहरू फेरबदल हुन्थे। पावललाई पनि प्रत्येक दिन फरक-फरक सिपाहीले पहरा दिन्थे। दुई वर्ष कैदमा बिताउँदा पावलले एफिसी, फिलिप्पी, कलस्सी र हिब्रू ख्रीष्टियनहरूका लागि पत्र लेख्न लगाएको ती सिपाहीहरूले सुनेका थिए। अनि फिलेमोन नाम गरेका ख्रीष्टियनलाई पावल आफैले पत्र लेखेको पनि तिनीहरूले देखेका थिए। पावलले ओनेसिमस नाम गरेका भगुवा दासलाई पनि व्यक्तिगत चासो देखाए। ‘कैदी छँदा तिनी उनको बुबाजस्तै बने’ र उनलाई फेरि आफ्नो मालिककहाँ फिर्ता पठाए। (फिले. १०) अनि पावलले आफूलाई पहरा दिने सिपाहीहरूप्रति पनि व्यक्तिगत चासो देखाए। (१ कोरि. ९:२२) तिनले सिपाहीलाई विभिन्न हातहतियारबारे सोधेको कल्पना गर्न सक्छौं। पछि तिनले ती हातहतियारलाई दृष्टान्तको रूपमा प्रयोग गरे।—एफि. ६:१३-१७.

 ‘परमेश्वरको वचन निडर भई बोल्छन्‌’

पावल कैदमा परेकोले सम्राट्का गारतलगायत अरू मानिसहरूमाझ “सुसमाचार फैलाउन” सम्भव भयो। (फिलि. १:१२, १३) कास्ट्रा प्राइटोरियाका बासिन्दाहरूको रोमी साम्राज्यका सर्वसाधारणलगायत सम्राट् तथा उनको घरानासित राम्रो सम्बन्ध थियो। सम्राट्को घरानामा उनको परिवारका सदस्यहरू, नोकर र दासहरू पर्थे। तिनीहरूमध्ये कोही-कोही पछि ख्रीष्टियन बने। (फिलि. ४:२२) पावलले साहसी भई साक्षी दिएकोले रोमका ख्रीष्टियनहरूले “परमेश्वरको वचन निडर भई बोल्न” सके।—फिलि. १:१४.

हाम्रो अवस्था जस्तोसुकै होस्, हामीलाई कुनै सेवा दिन आउनेहरूलाई हामी प्रचार गर्न सक्छौं

पावलले रोममा साक्षी दिएको उदाहरणले ‘अवस्था अनुकूल होस् वा प्रतिकूल, वचन प्रचार गर्न’ प्रोत्साहन दिन्छ। (२ तिमो. ४:२) हामीमध्ये कतिपय स्वास्थ्यको कारण नर्सिङ होम वा अस्पतालमा छौं होला। अथवा आफ्नो विश्वासको खातिर झ्यालखानामा छौं होला। अवस्था जस्तोसुकै होस्, आफूले भेट्ने मानिसहरूलाई हामी प्रचार गर्न सक्छौं। हाम्रो हेरचाह गर्न आउनेहरूलाई वा कुनै सेवा दिन आउनेहरूलाई हामी साक्षी दिन सक्छौं। हरेक अवसरमा साहसी भई साक्षी दिंदा हामीले ‘परमेश्वरको वचन बन्धनमा नपरेको’ कुरा देखाइरहेका हुन्छौं।—२ तिमो. २:८, ९.

^ अनु. 2 “नेरोको समयका गारत” भन्ने पेटी हेर्नुहोस्।

^ अनु. 4 रोमी सेनाको एउटा गणमा १,००० जनासम्म सिपाही हुन्थे।

^ अनु. 7 “सेक्सटस अफ्रान्युस बुर्रोस” शीर्षकको पेटी हेर्नुहोस्।

^ अनु. 9 हेरोद अग्रिपाले कालिज्युल चाँडै सम्राट् हुनेछन्‌ भनेका थिए। यसो भनेकाले इस्वी संवत्‌ ३६/३७ मा सम्राट् टाइबेरियसले उनलाई गारतको ब्यारेकमा कैद गरे। कालिज्युल सम्राट् भएपछि तिनले हेरोदलाई राजा बनाए।—प्रेषि. १२:१.