अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जनवरी २०१३

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—नर्वे

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—नर्वे

केही वर्षअघि, लगभग ५० वर्ष पुगेका एक दम्पती रोआल एल्साबेथ नर्वेको दोस्रो ठूलो सहर बर्गनमा सुविधासम्पन्न जीवन बिताउँथे। छोरी इसाबेल र छोरा फ्याबियन पनि उनीहरूसँगसँगै मण्डलीको काममा सक्रिय भई भाग लिन्थे। रोआल एल्डर थिए भने एल्साबेथ अग्रगामी सेवा गर्थिन्‌ अनि छोराछोरीचाहिं उदाहरणीय प्रकाशक थिए।

सन्‌ २००९, सेप्टेम्बरमा यस परिवारले एक हप्ताको लागि टाढाको इलाकामा गएर प्रचार गर्ने निर्णय गऱ्यो। त्यसैले रोआल, एल्साबेथ र छोरा फ्याबियन (त्यतिबेला १८ वर्ष) नर्वेको उत्तरतिर फिनमार्कमा अवस्थित नर्डकिन प्रायद्वीपमा गए। त्यस ठाउँमा प्रचार गर्न अरू ठाउँबाट पनि भाइबहिनीहरू आएका थिए। यस परिवारले ती भाइबहिनीहरूसँगै किलफर्ड गाउँमा प्रचार गऱ्यो। रोआल यसरी सम्झन्छन्‌: “यस विशेष काममा पूरै हप्ता भाग लिन सकियोस् भनेर सबै बन्दोबस्त मिलाउन सकेकोमा म एकदमै खुसी थिएँ।” तर केही दिन नबित्दै एउटा  प्रश्नले तिनलाई झसङ्ग पाऱ्यो। त्यो कुन प्रश्न थियो?

आशै नगरेको प्रश्न

रोआल भन्छन्‌: “फिनमार्कमा अग्रगामीको रूपमा सेवा गरिरहेका मारियोले २३ जना प्रकाशक भएको एउटा मण्डलीलाई मदत गर्न लाकसेल्भ सहरमा बसाइँ सर्नुहुन्छ कि भनेर अचानक सोध्नुभयो।” आशै नगरेको प्रश्न सुनेर रोआल नाजवाफ भए। तिनी भन्छन्‌: “मैले र एल्साबेथले आवश्यकता बढी भएको ठाउँमा गएर सेवा गर्ने विषयमा सोचेका त थियौं। तर छोराछोरी आफ्नै खुट्टामा उभिन सक्ने भएपछि मात्र त्यस्तो कदम चाल्ने विचार थियो।” तर त्यस हप्ता प्रचार गर्दै जाँदा रोआलले त्यहाँका मानिसहरू यहोवाबारे सिक्न इच्छुक भएको कुरा थाह पाए। उनीहरूलाई अहिल्यै मदत चाहिएको थियो, पछि होइन। तिनी भन्छन्‌: “त्यस प्रश्नले मेरो अन्तस्करणलाई घोचिरह्यो अनि कति रात त निदाउन पनि सकिनँ।” मारियोले रोआल र तिनको परिवारलाई किलफर्डदेखि २४० किलोमिटर दक्षिणतिर पर्ने लाकसेल्भ लगे। तिनीहरू त्यहाँको सानो मण्डलीमा गएर आफैले हेरेको मारियो चाहन्थे।

त्यहाँको दुई जना एल्डरमध्ये आन्ड्रियासले तिनीहरूलाई मण्डलीको इलाका अनि राज्यभवन देखाइदिए। मण्डलीले तिनीहरूलाई न्यानो स्वागत गऱ्यो। राज्य गतिविधि अगाडि बढाउने काममा मदत दिन रोआलको परिवार त्यहाँ बसाइँ सरेमा आफूहरू आभारी हुने कुरा उनीहरूले बताए। रोआल र फ्याबियनको लागि जागिरको अन्तरवार्ता मिलाइसकेको कुरा आन्ड्रियासले मुसुक्क हाँसदै बताए। अब के गर्ने?

कस्तो छनौट गर्ने?

फ्याबियनको सुरुको प्रतिक्रिया थियो: “म यहाँ बसाइँ सर्न चाहन्नँ।” मण्डलीमा सँगसँगै हुर्केका घनिष्ठ साथीहरूलाई छाडेर सानो सहरमा बस्ने कुरा तिनलाई मनै परेको थिएन। इलेक्ट्रिसियनको तालिम पनि पूरा भइसकेको थिएन। बसाइँ सर्नेबारे इसाबेलको (त्यतिबेला २१ वर्ष) विचार भने यस्तो थियो: “मैले चाहेको कुरा यही नै हो।” तर पछि उनको मनमा यस्तो सोचाइ आयो: “के यसो गर्नु बेस हो? यहाँका साथीहरू नि? यहाँ सबै कुरा सजिलो छ अनि कुनै झन्झट छैन, त्यसैले यहीं बसौं कि?” सर्ने कुराबारे एल्साबेथचाहिं यसो भन्छिन्‌: “यहोवाले हाम्रो परिवारलाई महत्त्वपूर्ण जिम्मेवारी दिनुभएको जस्तो लाग्यो। तर भर्खरै मर्मत गरेको हाम्रो घर अनि २५ वर्ष लगाएर जोरजाम गरेको यत्रो सामान के गर्ने होला भनेर पनि सोचें।”

एल्साबेथ र इसाबेल

त्यो विशेष हप्ता सिद्धिएपछि रोआल र तिनको परिवार बर्गन फर्के। तर २,१०० किलोमिटर टाढा लाकसेल्भका ख्रीष्टियन भाइबहिनीलाई बिर्सनै सकेनन्‌। एल्साबेथ भन्छिन्‌: “मैले यहोवालाई धेरै चोटि प्रार्थना गरें। फोटो आदानप्रदान गरेर अनि अनुभवहरू बाँडेर त्यहाँका साथीहरूको हालखबर बुझिरहन्थें।” रोआल भन्छन्‌: “बसाइँ सर्नेबारे राम्ररी सोच्न मलाई समय चाहिएको थियो। साथै यसो गर्नु व्यावहारिक हो कि होइन भनेर पनि विचार गर्नुपर्थ्यो। जीविका कसरी चलाउने? मैले यहोवालाई खुरन्धार प्रार्थना गर्नुका साथै परिवार र अनुभवी भाइहरूसित पनि कुरा गरें।” फ्याबियन भन्छन्‌: “यसबारे जति धेरै सोच्थें, नाइँ भन्ने कारणै पाउँदिनथें। मैले यहोवालाई प्रार्थना गर्न छोडिनँ। अनि सर्ने इच्छा झन्‌-झनै बढ्न थाल्यो।” इसाबेल नि? सर्ने तयारी गर्न तिनले अग्रगामी सेवा सुरु गरिन्‌। त्यतिन्जेल तिनले व्यक्तिगत बाइबल अध्ययनमा धेरै समय बिताइन्‌। छ महिनापछि तिनी बसाइँ सर्न तयार भइन्‌।

लक्ष्यमा पुग्न कदम चाले

प्रकाशकहरूको आवश्यकता बढी भएको ठाउँमा गएर सेवा गर्ने इच्छा बढ्दै जाँदा यस परिवारले आफ्नो लक्ष्यमा पुग्न कदमहरू चाल्न थाल्यो। रोआलको राम्रो कमाइ हुने जागिर थियो तर तिनले एक वर्षको लागि छुट्टी मागे। हाकिमले चाहिं दुई हप्ता काम गरेर छ हप्ता छुट्टीमा बस्ने पार्ट-टाइम काम गर्न भने। रोआल भन्छन्‌: “त्यसपछि त मेरो आम्दानी स्वात्तै घट्यो तैपनि गुजारा चलिरह्यो।”

एल्साबेथ भन्छिन्‌: “श्रीमान्‌ले मलाई लाकसेल्भमा घर खोज्ने अनि बर्गनमा रहेको घर भाडामा दिने जिम्मा दिनुभयो। यसको लागि धेरै समय र प्रयास खर्चिनुपऱ्यो तर हामी सफल भयौं। केही समयपछि छोराछोरीले पार्ट-टाइम काम पाए अनि घर खर्च र यातायात खर्च बेहोर्न सहयोग गरे।”

इसाबेल भन्छिन्‌: “हामी बसाइँ सरेको सहर सानो थियो। त्यसैले अग्रगामी सेवा गर्दै खर्च जुटाउनु सबैभन्दा ठूलो चुनौती थियो। कहिलेकाहीं त काम पाउने सम्भावना  नै देखिंदैनथ्यो।” तैपनि वर्षभरिमा नौवटा सानातिना पार्ट-टाइम काम गरेर तिनले आफ्नो खर्च जुटाइन्‌। अनि फ्याबियन नि? उनी भन्छन्‌: “इलेक्ट्रिसियनको तालिम पूरा गर्न मैले सिकारुको रूपमा काम गर्न बाँकी नै थियो। त्यो काम मैले लाकसेल्भमा गरें। पछि म जाँचमा पास भएँ अनि पार्ट-टाइम काम पनि पाएँ।”

अरूले पनि सेवाको काम विस्तार गरे

मारीलिएस र केसिया नर्वेमा एउटी सामी स्त्रीलाई साक्षी दिंदै

मारीलिएस र तिनकी पत्नी केसिया पनि प्रकाशकहरूको आवश्यकता बढी भएको ठाउँमा गएर सेवा गर्न चाहन्थे। अहिले २९ वर्ष पुगेका मारीलिएस यसो भन्छन्‌: “अग्रगामी सेवाबारे अधिवेशनमा दिइएका भाषण अनि अन्तरवार्ताहरूले गर्दा सेवाको काम विस्तार गर्न उत्प्रेरित भएँ।” अहिले २६ वर्ष पुगेकी केसियाको लागि भने परिवार छोडेर टाढा जाने कुरा गाह्रो थियो। उनी भन्छिन्‌: “आफूले माया गरेको व्यक्तिहरूबाट टाढा हुने कुरा सोच्दा पनि डर लाग्थ्यो।” साथै घरको कर्जा तिर्न मारीलिएस पूर्ण-समय जागिर खान्थे। तिनी भन्छन्‌: “यहोवाको मदत अनि व्यग्र प्रार्थनाले हामीलाई आवश्यक छाँटकाँट गर्न मदत गऱ्यो।” सुरुमा यिनीहरूले बाइबलको गहिरो अध्ययन गर्न धेरै समय बिताए। त्यसपछि आफ्नो घर बेचे, जागिर छाडे अनि सन्‌ २०११, अगस्तमा नर्वेको उत्तरतर्फ पर्ने अल्टा सहरमा बसाइँ सरे। अग्रगामी सेवा गर्दै खर्च जुटाउन मारीलिएसले लेखापालको काम गरे अनि केसियाले चाहिं पसलमा काम गरिन्‌।

राज्य प्रकाशकहरूको आवश्यकता बढी भएको ठाउँमा गएर सेवा गर्नेहरूबारे वार्षिक पुस्तक-मा (अङ्ग्रेजी) दिइएका अनुभवले लगभग ३५ वर्ष पुगेका दम्पती न्युट लिस्बेथ-को मन छोयो। लिस्बेथ भन्छिन्‌: “ती अनुभवहरू पढेपछि विदेशमा गएर सेवा गर्नेबारे सोच्न थाल्यौं। तर मजस्तो साधारण मान्छेले पनि यसो गर्न सकुँला र जस्तो लाग्थ्यो।” तैपनि तिनीहरूले लक्ष्य हासिल गर्न कदम चाले। न्युट भन्छन्‌: “हामीले आफ्नो अपार्टमेन्ट बेच्यौं अनि घरभाडाको पैसा जोगाउन आमाकहाँ बस्यौं। त्यसपछि, विदेशी इलाकामा सेवा गर्ने अनुभव बटुल्न एक वर्षको लागि बर्गनमा रहेको अङ्ग्रेजी मण्डलीमा सऱ्यौं। त्यहाँ हामी लिस्बेथकी आमाको घरमा बस्यौं।” केही समय नबित्दै न्युट र लिस्बेथ बसाइँ सर्न तयार भए, त्यो पनि युगाण्डामा। युगाण्डामा पूर्ण-समय प्रचार गर्दै आफ्नो खर्च बेहोर्नको लागि तिनीहरू वर्षमा एक चोटि नर्वे फर्केर दुई महिना काम गर्छन्‌।

“पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ”

“हाम्रो परिवार घनिष्ठ भएको छ।”—रोआल

राजीखुसीले बसाइँ सरेकोले परिणाम कस्तो भएको छ? रोआल भन्छन्‌: “बर्गनमा भन्दा यहाँ परिवारसित झन्‌ धेरै समय बिताउँछौं; हामी घनिष्ठ भएका छौं। छोराछोरीले यहोवालाई अझ धेरै प्रेम गर्न सिकेका छन्‌। भौतिक कुराप्रति सन्तुलित हुन सकेका छौं, पहिलेजस्तो पैसाको चिन्ता गर्दैनौं।”

एल्साबेथले अर्को भाषा सिक्नुपर्ने आवश्यकता महसुस  गरिन्‌। किन? लाकसेल्भ मण्डलीको इलाकामा पर्ने कारसयोक गाउँमा सामी मानिसहरू बस्छन्‌। तिनीहरू उत्तरी नर्वे, स्वीडेन, फिनल्याण्ड अनि रूसका आदिवासी हुन्‌। त्यसैले तिनीहरूकै भाषामा कुरा गर्नको लागि एल्साबेथले सामी भाषा सिकिन्‌। अहिले उनी त्यस भाषामा सामान्य कुराकानी गर्न सक्छिन्‌। उनलाई यो नयाँ इलाका कस्तो लागिरहेको छ? मुस्कुराउँदै उनी भन्छिन्‌: “छवटा बाइबल अध्ययन गर्दै छु। मेरो लागि योभन्दा राम्रो ठाउँ अरू कुन होला र!”

फ्याबियन अहिले अग्रगामी सेवा गर्छन्‌ र उनी सहायक सेवक पनि हुन्‌। मण्डलीका गतिविधिमा अझ बढी भाग लिन प्रोत्साहन चाहिएका तीन जनालाई दिदी इसाबेलसित मिलेर मदत गरेको कुरा फ्याबियन बताउँछन्‌। अहिले ती जवानहरू प्रचारकार्यमा सक्रिय छन्‌। दुई जनाले त बप्तिस्मा पनि गरिसके र सन्‌ २०१२, मार्चमा सहायक अग्रगामी सेवा गरे। अर्को एक जनाले भने आफूलाई सच्चाइबाट तर्किनदेखि जोगाएकोमा फ्याबियन र इसाबेललाई धन्यवाद दिइन्‌। फ्याबियन भन्छन्‌: “उनको कुराले मेरो मन छोयो। कसैलाई मदत गर्दा कत्ति आनन्द आउँछ!” इसाबेल भन्छिन्‌: “नयाँ ठाउँमा सेवा गर्दा यहोवा कस्तो ‘भलो हुनुहुन्छ भनेर पारख गरेर हेर्न’ सकेकी छु।” (भज. ३४:८) तिनी थप्छिन्‌: “यहाँ साँच्चै रमाइलो छ!”

अहिले मारीलिएस र केसिया सरल जीवन बिताउँछन्‌ तर उनीहरू आनन्दित छन्‌। उनीहरूले सङ्गत गर्ने मण्डलीमा ४१ जना प्रकाशक छन्‌। मारीलिएस भन्छन्‌: “हाम्रो जीवन परिवर्तन भएको देख्दा उत्साहित छौं। अग्रगामीको रूपमा सेवा गर्न सकेकोमा यहोवालाई धन्यवाद दिन्छौं। यस सेवाबाट एकदमै सन्तुष्ट छौं।” केसिया भन्छिन्‌: “यहोवामा पूर्ण भरोसा राख्न सिकें। अनि उहाँले हाम्रो ख्याल गर्नुभएको छ। आफन्तहरूबाट टाढा भएकोले श्रीमान्‌सँग बिताउने क्षणलाई अझ मोल गर्छु। यस्तो निर्णय गरेकोमा कुनै पछुतो छैन।”

न्युट र लिस्बेथ युगाण्डामा एउटा परिवारसँग अध्ययन गर्दै

युगाण्डामा न्युट र लिस्बेथको जीवन कस्तो छ? न्युट भन्छन्‌: “नयाँ ठाउँमा नयाँ रहनसहनअनुसार चल्न अलि समय लाग्यो। बेलाबेलामा पानी र बिजुलीको अभाव तथा पेटको समस्या हुन्छ। तैपनि आफूले चाहेजति बाइबल अध्ययन सञ्चालन गर्न सक्छौं।” लिस्बेथ भन्छिन्‌: “कुनै-कुनै इलाकाका मानिसहरूले कहिल्यै सुसमाचार सुनेका छैनन्‌। त्यस्तो इलाकामा पुग्न हामी बसेको ठाउँबाट आधा घण्टा मात्र लाग्छ। त्यहाँ जाँदा मान्छेहरू बाइबल पढ्दै गरेको देख्छौं अनि तिनीहरू हामीसित सिक्न चाहन्छन्‌। त्यस्ता नम्र व्यक्तिहरूलाई बाइबल सन्देश सुनाउन पाउँदा एकदमै खुसी लाग्छ।”

आफूले सुरु गरेको प्रचारकार्य पृथ्वीको विभिन्न ठाउँमा विस्तार हुँदै गएको कुरा स्वर्गबाट नियाल्दा हाम्रा नेता ख्रीष्ट येशूलाई कत्ति खुसी लाग्ला! “सबै जातिका मानिसहरूलाई चेला बनाओ” भन्ने येशूको आज्ञा पालन गर्न राजीखुसीले आफैलाई अर्पण गर्नु ठूलो आनन्दको कुरा हो।—मत्ती २८:१९, २०.

अझ बढी सिक्नुहोस्

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

पूर्ण समय प्रचार गर्नेरूको लागि कस्तो विशेष तालिमको प्रबन्ध गरिन्छ?