अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) 2003-08-01

“सित्तैंमा पायौ, सित्तैंमा देओ”

“सित्तैंमा पायौ, सित्तैंमा देओ”

“सित्तैंमा पायौ, सित्तैंमा देओ।” (मत्ती १०:८) येशूले आफ्ना प्रेरितहरूलाई सुसमाचार प्रचार गर्न पठाउनुहुँदा उक्त निर्देशन दिनुभयो। के प्रेरितहरूले यो निर्देशन पालन गरे? गरे, अनि येशू पृथ्वीबाट गइसक्नुभएपछि पनि तिनीहरूले त्यसै गरिरहे।

उदाहरणका लागि, पहिला जादुगरी गर्ने शिमोनले पत्रुस र यूहन्नासित चमत्कार गर्ने शक्ति छ भन्ने देखेपछि त्यो शक्ति आफूलाई पनि दिएको खण्डमा पैसा तिर्ने प्रस्ताव राखे। तर पत्रुसले शिमोनलाई यसो भन्दै हप्काए: “तेरा रुपियाँ तैसँग नष्ट भइजाऊन्‌, किनकि परमेश्वरको वरदान पनि रुपियाँले पाइन्छ भनी तँ विचार गर्छस्।”प्रेरित ८:१८-२०.

प्रेरित पावलले पनि पत्रुसको जस्तै मनोभाव देखाए। पावल कोरिन्थका आफ्ना मसीही भाइहरूका लागि आर्थिक बोझ बन्न सक्थे। तथापि, तिनले आफ्नो जीविकोपार्जनका लागि आफ्नै हातले काम गरे। (प्रेरित १८:१-३) तसर्थ, तिनले कोरिन्थीहरूलाई “मोल विना” सुसमाचार सुनाएँ भनेर विश्वस्त भई भन्न सके।१ कोरिन्थी ४:१२; ९:१८.

दुःखको कुरा, ख्रीष्टका अनुयायीहरू हौं भनी दाबी गर्ने धेरैजसोले ‘सित्तैंमा दिने’ इच्छुकता देखाएका छैनन्‌। वास्तवमा, मसीहीजगतका धेरैजसो धार्मिक नेताहरू “ज्याला लिएर . . . सिकाउँदछन्‌।” (मीका ३:११) कोही-कोही धार्मिक नेताहरू आफ्ना बगालबाट पैसा लिएर सम्पन्न समेत बनेका छन्‌। सन्‌ १९८९ मा संयुक्त राज्यका एक जना प्रचारकलाई ४५ वर्षको जेल सजाए सुनाइयो। किन? तिनले “आफ्ना समर्थकहरूबाट करोडौं डलर ठगेर घर, कार किन्न, बिदा मनाउन र एयर कन्डिशन भएको कुकुरको खोर किन्न समेत सो रकम प्रयोग” गरिरहेका थिए।पिपल्स् डेली ग्राफिक, अक्टोबर ७, १९८९.

घानामा घानियन टाइम्स-अनुसार मार्च ३१, १९९० मा एक जना रोमन क्याथोलिक चर्चका पादरीले चर्चको एउटा सेवामा संकलन गरेको पैसा मण्डलीलाई नै हुर्ऱ्याइदिए। उक्त अखबारअनुसार “तिनले त्यसो गर्नुको कारण के थियो भने “त्यहाँ उपस्थित व्यक्तिहरू वयस्क भएकोले तिनीहरूले अझै बढी अनुदान दिने आशा गरिएको थियो।” थुप्रै चर्चहरूले जूवासित सम्बन्धित गतिविधिहरू सञ्चालन गर्नुका साथै पैसा उठाउने अन्य योजनाहरू ल्याएर आफ्ना सदस्यहरूमा लोभ जगाउने कोसिस समेत गर्नु कुनै छक्क लाग्दो कुरा होइन।

त्यसको ठीक विपरीत, यहोवाका साक्षीहरू येशू र उहाँका प्रारम्भिक चेलाहरूको अनुकरण गर्ने प्रयास गर्छन्‌। तिनीहरूको कुनै तलबी पादरी छैनन्‌। हरेक साक्षी “राज्यको यो सुसमाचार” सुनाउने दायित्व बोकेका सेवक हुन्‌। (मत्ती २४:१४) तसर्थ, विश्वव्यापी तवरमा मानिसहरूलाई “जीवनको पानी” सित्तैंमा पुऱ्याउने कार्यमा तिनीहरूमध्ये ६० लाखभन्दा धेरैले भाग लिइरहेका छन्‌। (प्रकाश २२:१७) यसरी, “रूपियाँ नहुने” मानिसहरूले समेत बाइबलको सन्देशबाट लाभ उठाउन सक्छन्‌। (यशैया ५५:१) तिनीहरूको विश्वव्यापी कार्य स्वैच्छिक चन्दाबाट चल्ने भए तापनि तिनीहरू कहिले पनि पैसा माग्दैनन्‌। परमेश्वरका साँचो सेवकहरूको हैसियतमा तिनीहरू “परमेश्वरको वचनलाई व्यापार गर्ने” मानिसहरू होइनन्‌ तर “निष्कपट मानिस जस्तै, परमेश्वरबाट पठाइएका जस्तै” कुरा गर्छन्‌।२ कोरिन्थी २:१७.

 उसोभए, यहोवाका साक्षीहरू अरूलाई आफ्नै खर्चमा मदत गर्न किन इच्छुक हुन्छन्‌? तिनीहरूलाई कुन कुराले उत्प्रेरित गर्छ? के सित्तैंमा दिनुको अर्थ तिनीहरूले त्यस्तो प्रयास गरे तापनि कुनै इनाम नै पाउँदैनन्‌?

शैतानको चुनौतीको जवाफ

परमेश्वरले सित्तैंमा दिनुभएको वरदान अर्थात्‌ छुडौतीको बलिदानले मसीहीहरूलाई सुसमाचार निश्शुल्क बाँड्न उत्प्रेरित गर्छ

आज साँचो मसीहीहरू मुख्यतया यहोवालाई खुसी तुल्याउने चाहनाबाट उत्प्रेरित छन्‌—आफै धनी हुने चाहनाले होइन। तसर्थ तिनीहरू शताब्दीयौंअघि शैतान अर्थात्‌ दियाबलले उठाएको विवादको जवाफ दिन सक्षम छन्‌। अय्यूब नाउँको धर्मी व्यक्तिबारे शैतानले यस्तो प्रश्न सोधेर यहोवालाई चुनौती दियो: “परमेश्वरको डर राख्ने के अय्यूबको खास कारण छैन?” परमेश्वरले अय्यूबलाई चारैतिरबाट रक्षा गर्नुभएकोले मात्र तिनले उहाँको सेवा गरेका हुन्‌ भन्ने आरोप शैतानले लगायो। अय्यूबलाई तिनको भौतिक धनसम्पत्तिबाट वञ्चित गर्ने हो भने तिनले परमेश्वरलाई उहाँको मुखकै सामने सराप्नेछन्‌ भनेर शैतानले तर्क गऱ्यो!अय्यूब १:७-११.

यस चुनौतीको जवाफ दिन परमेश्वरले शैतानलाई अय्यूबको जाँच गर्ने अनुमति दिनुभयो र यसो भन्नुभयो: “त्यसकहाँ जे जत्ति छन्‌ सबै तेरै हातमा भयो।” (अय्यूब १:१२) परिणाम के भयो? अय्यूबले शैतानलाई झूटो साबित गरे। आफूमाथि जस्तोसुकै दुःख आइपरे तापनि अय्यूब वफादार रहे। तिनले भने, “नमरुन्जेल म आफ्नो निष्ठा त्याग्नेछैनँ!”अय्यूब २७:५, ६, NW.

आज साँचो मसीहीहरू अय्यूबको जस्तै मनोवृत्ति देखाउँछन्‌। तिनीहरूले गर्ने परमेश्वरको सेवा भौतिक कुराले उत्प्रेरित भएको हुँदैन।

परमेश्वरले सित्तैंमा दिनुभएको असीम अनुग्रहको वरदान

साँचो मसीहीहरूले ‘सित्तैंमा दिन’ चाहनुको अर्को कारण तिनीहरू आफैले पनि परमेश्वरबाट ‘सित्तैंमा पाएका’ छन्‌। हाम्रा पुर्खा आदमको पापको कारण मानिसजाति पाप र मृत्युको बन्धनमा परेको छ। (रोमी ५:१२) यहोवाले आफ्नो पुत्रको बलिदानरूपी मृत्यु हुन दिने प्रबन्ध मिलाउनुभयो र यसको लागि परमेश्वरले ठूलो मूल्य चुकाउनुपऱ्यो। मानिसजाति साँच्चै यसको लागि योग्य छैन। हो, छैन यो त परमेश्वरले दिनुभएको वरदान हो।रोमी ४:४; ५:८; ६:२३.

रोमी ३:२३, २४ मा रेकर्ड गरिएझैं पावलले अभिषिक्त मसीहीहरूलाई यसो भने: “सबैले पाप गरेका छन्‌, र परमेश्वरको महिमारहित हुनगएका छन्‌। उहाँको अनुग्रहले ख्रीष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैंमा धर्मी ठहरिन्छन्‌।” त्यस्तै गरी पृथ्वीमा सधैंभरि जीवनको आनन्द उठाउने आशा गर्नेहरू पनि “सित्तैंमा [वरदान]” पाउनेहरू हुन्‌। यस वरदानमा यहोवाका मित्रहरूको रूपमा धर्मी घोषित हुने सुअवसर पनि समावेश छ।याकूब २:२३; प्रकाश ७:१४.

ख्रीष्टको छुडौतीको बलिदानले सबै मसीहीहरूलाई परमेश्वरका सेवकहरूको हैसियतमा सेवा गर्न पनि सम्भव तुल्याउँछ। प्रेरित पावलले लेखे: “मलाई दिइएको परमेश्वरको त्यस अनुग्रहको वरदानबमोजिम, [पवित्र रहस्यको] म सेवक बनिएँ।” (एफिसी ३:४-७) आफू अयोग्य वा आर्जन गर्न नसक्ने भए तापनि उक्त वरदानद्वारा सेवकाईको निम्ति बोलाइएको हुँदा तिनीहरूले सुसमाचार  बाँड्ने काम गरेबापत भौतिक तवरमा आम्दानी गर्ने आशा गर्न सक्दैनन्‌।

अनन्त जीवन—स्वार्थी अभिलाषा?

उसोभए, के यसको अर्थ इनाम पाउने कुनै आशै नगरी मसीहीहरूले उहाँको सेवा गरून्‌ भन्ने आशा परमेश्वरले गर्नुहुन्छ? होइन, किनभने प्रेरित पावलले आफ्ना सँगी विश्वासीहरूलाई यसो भने: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।” (हिब्रू ६:१०) न त यहोवा अन्यायी नै हुनुहुन्छ। (व्यवस्था ३२:४) त्यसको विपरीत यहोवाले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) तर के प्रमोदवनमा अनन्त जीवनको प्रतिज्ञा स्वार्थी अभिलाषा होइन र?लूका २३:४३.

आज साँचो मसीहीहरू मुख्यतया यहोवालाई खुसी तुल्याउने चाहनाबाट उत्प्रेरित छन्‌—आफै धनी हुने चाहनाले होइन

पटक्कै होइन। किनभने पार्थिव प्रमोदवनमा सधैंभरि जीवन पाओस् भन्ने इच्छा राख्नुहुने परमेश्वर नै हुनुहुन्छ। प्रथम मानव दम्पतिलाई यो आशा दिनुहुने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो। (उत्पत्ति १:२८; २:१५-१७) उहाँले आदम र हव्वाले गुमाइसकेको यो आशा फेरि तिनीहरूका सन्ततिहरूको लागि पुनः स्थापना गर्न सम्भव पनि पार्नुभयो। अतः परमेश्वरले आफ्नो वचनमा “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ,” भनी प्रतिज्ञा गर्नुहुन्छ। (रोमी ८:२१) त्यसकारण पुरातन समयका मोशाले जस्तै मसीहीहरूले पनि आज “आफ्नो दृष्टि प्रतिफलतिर” लगाउनु एकदमै उचित छ। (हिब्रू ११:२६) परमेश्वरले यो इनाम घूसको रूपमा दिनुहुन्न। उहाँले आफ्नो सेवा गर्नेहरूप्रति निष्कपट प्रेमले उत्प्रेरित भई दिनुहुन्छ। (२ थिस्सलोनिकी २:१६, १७) त्यसको प्रत्युत्तरमा, “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।”१ यूहन्ना ४:१९.

परमेश्वरको सेवा गर्न उचित मनोवृत्ति

तैपनि, आज मसीहीहरूले परमेश्वरको सेवा गर्नुको आफ्नो मनसायलाई निरन्तर जाँच्नै पर्छ। यूहन्ना ६:१०-१३ मा हामी येशूले पाँच हजारभन्दा ठूलो जमातलाई चमत्कारपूर्ण ढंगमा खुवाउनुभएको विवरण पढ्छौं। तत्पश्‍चात पूर्णतया स्वार्थी कारणहरूले गर्दा कोही-कोही येशूसित नजिकिन थाले। येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू . . . रोटी खाएर अघाएकाले मलाई खोज्दछौ।” (यूहन्ना ६:२६) दशकौंपछि केही समर्पित मसीहीहरूले त्यसै गरी परमेश्वरलाई सेवा चढाए तर “शुद्ध मनले होइन।” (फिलिप्पी १:१७) कसै-कसैले ‘पक्का वचनहरू, अर्थात्‌ हाम्रा प्रभु येशू ख्रीष्टका वचनहरू मानेनन्‌’ साथै मसीहीहरूसितको संगतिबाट व्यक्तिगत लाभ उठाउने तरिकाहरू खोज्न थाले।१ तिमोथी ६:३-५.

आज, प्रमोदवनमा सधैंभरि बाँच्ने इच्छाले मात्र सेवा गर्ने मसीहीले पनि स्वार्थी मनसायले सेवा गरिरहेका हुन सक्छन्‌। फलस्वरूप समयको दौडान तिनको आध्यात्मिक पतन हुन सक्छ। शैतानको रीतिरिवाज सोचेभन्दा धेरै लामो समयसम्म रहिरहेको जस्तो लागेको हुँदा अन्त आउन ढिला भएको हो कि भन्ठानेर तिनी ‘थाक्न’ सक्छन्‌। (गलाती ६:९) तिनी आफूले गरेका भौतिक त्यागहरूप्रति रुष्ट समेत हुन सक्छन्‌। येशू हामीलाई यसरी सम्झाउनुहुन्छ: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) हो, परमेश्वरलाई सेवा गर्नुको मुख्य कारण प्रेम हो भने तिनले आफ्नो सेवाको समयमा कुनै सीमा तोक्ने छैनन्‌। तिनी सधैंभरि यहोवाको सेवा गर्न कटिबद्ध हुन्छन्‌! (मीका ४:५) परमेश्वरको सेवा गर्न आफूले गरेको कुनै पनि त्यागको लागि तिनी पछुताउँदैनन्‌। (हिब्रू १३:१५, १६) परमेश्वरको प्रेमले तिनलाई परमेश्वरका कामकुराहरूलाई प्राथमिकता दिन उत्प्रेरित गर्छ।मत्ती ६:३३.

आज, साठी लाखभन्दा बढी साँचो उपासकहरूले यहोवाको सेवामा “राजी-खुशीले आफैलाई अर्पण” गर्छन्‌। (भजन ११०:३) के तपाईं तिनीहरूमध्ये हुनुहुन्छ? हुनुहुन्न भने परमेश्वरले दिनुहुने कुरामाथि मनन गर्नुहोस्: सत्यको शुद्ध ज्ञान; (यूहन्ना १७:३) झूटा धार्मिक शिक्षाहरूको बन्धनबाट स्वतन्त्रता; (यूहन्ना ८:३२) सधैंभरि बाँच्ने आशा। (प्रकाश २१:३, ४) यी सबै कुराहरू तपाईंले परमेश्वरबाट कसरी प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुरा सिक्न यहोवाका साक्षीहरूले तपाईंलाई मदत गर्न सक्छन्‌—त्यो पनि निश्शुल्क।