अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्! अक्टोबर २०१५

 आवरण लेख

पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्

पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्

मानिसहरू भन्ने गर्छन्‌, “जे गर्छ पैसाले गर्छ।” यो भनाइ केही हदसम्म सही पनि हो। आखिर पैसा छ भने मात्र हामी खानेकुरा र लुगाफाटा किन्न सक्छौं। घर भाडा तिर्न अथवा घर किन्न पनि पैसा नै चाहिन्छ। एक आर्थिक सम्पादकले यसो भने, “समाजमा पैसाले महत्त्वपूर्ण स्थान ओगटेको छ। पैसाको प्रयोग नै हटाइयो भने मानिसहरूबीच त्रास छाउन र युद्ध मच्चिन एक महिना पनि लाग्दैन।”

तर पैसा नै सब थोक होइन। नर्वेली कवि आर्न गाबोर्गअनुसार पैसाले “खाना किन्न सकिन्छ तर भोक किन्न सकिंदैन; औषधी किन्न सकिन्छ तर स्वास्थ्य किन्न सकिंदैन; आरामदायी ओछ्यान किन्न सकिन्छ तर निद्रा किन्न सकिंदैन; ज्ञान किन्न सकिन्छ तर बुद्धि किन्न सकिंदैन; चमकदमक किन्न सकिन्छ तर सौन्दर्य किन्न सकिंदैन; आकर्षण किन्न सकिन्छ तर न्यानोपन किन्न सकिंदैन; रमाइलो किन्न सकिन्छ तर आनन्द किन्न सकिंदैन; मान्छे किन्न सकिन्छ तर घनिष्ठ साथी किन्न सकिंदैन; नोकर किन्न सकिन्छ तर वफादारी किन्न सकिंदैन।”

पैसाप्रति सही दृष्टिकोण राखेमा धेरै हदसम्म सन्तुष्ट हुन सकिन्छ। पैसाप्रति सही दृष्टिकोण राख्नु भनेको यसलाई सब थोक सम्झनुको साटो आवश्यकता टार्ने माध्यमको रूपमा हेर्नु हो। बाइबल यसो भन्छ, ‘पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोहीले थुप्रै पीडाले आफूलाई चोटै-चोट पुऱ्याएका छन्‌।’—१ तिमोथी ६:१०.

हानि पैसाले होइन, पैसाको प्रेमले गर्छ भन्ने कुरा नबिर्सनुहोस्। पैसालाई धेरै महत्त्व दिंदा परिवारका सदस्यहरू र साथीभाइबीच फाटो आउन सक्छ। केही अनुभव विचार गरौं।

 देवेन्द्र: * “मेरो साथी श्याम मिलनसार र इमानदार छ जस्तो लाग्थ्यो। ऊसित मेरो कुनै समस्या थिएन। तर उसले मेरो कार किनेपछि समस्या सुरु भयो। कार ठीकठाक छ भनेर मलाई थाह थियो। कार अहिलेकै अवस्थामा किन्ने अनि भविष्यमा कुनै समस्या देखा परेमा फिर्ता गर्ने सर्तमा उसले किन्न चाह्यो। हामीले कागजपत्र पनि तयार पाऱ्यौं। उसले कार किन्यो तर तीन महिनापछि त्यो बिग्रियो। आफू ठगिएको जस्तो श्यामलाई लागेछ अनि उसले पैसा फिर्ता गर्न मलाई कर गऱ्यो। म त छक्कै परें। यसबारे ऊसित कुराकानी गर्न खोज्दा ऊ रिसले चूर भयो। पैसाको मामिलाले गर्दा श्याम मैले सोचेजस्तो मिलनसार रहेन।”

कमला: “सृजना मेरी कान्छी बहिनी हो। हामी असाध्यै मिल्थ्यौं। त्यसैले हामीबीच पैसाको विषयमा झगडा पर्ला भनेर मैले सपनामा पनि सोचेकी थिइनँ। तर त्यस्तै भयो। आमाबुबाको मृत्युपछि उहाँहरूले म र बहिनीको लागि छोडेर जानुभएको केही रकम भागबन्डा गर्नुपर्ने भयो। उहाँहरूको इच्छाअनुसार रकम दुई जनाबीच बराबर बाँड्नुपर्थ्यो। आमाबुबाको इच्छाविपरीत बहिनीले आफ्नो भागभन्दा बढी रकम लिन खोजी। तर म आमाबुबाको इच्छाअनुसार गर्न चाहन्थें। त्यसैले ऊ मसित असाध्यै रिसाई अनि मलाई धम्की पनि दिई। यसले गर्दा अहिलेसम्म पनि हाम्रो सम्बन्ध चिसिएको छ।”

पैसा र पूर्वाग्रह

पैसाप्रति सही दृष्टिकोण नराख्ने मानिसहरूले अरूको आलोचना गर्न सक्छन्‌। उदाहरणको लागि, कुनै धनी व्यक्तिले गरिबहरू काम गर्न अल्छी मान्छन्‌ भन्ने सोचाइ राख्न सक्छ। अथवा कुनै गरिबले चाहिं धनीहरू भौतिकवादी र लोभी हुन्छन्‌ भन्ने सोचाइ राख्न सक्छ। सर्मिला धनी परिवारमा हुर्केकी किशोरी हुन्‌। उनी पूर्वाग्रहको सिकार भएकी थिइन्‌। उनी भन्छिन्‌:

पैसाबारे बाइबलमा पाइने सल्लाह बाइबल लेखिंदा जत्ति उपयोगी थियो, आज पनि त्यत्तिकै उपयोगी छ

“म पैसावालकी छोरी भनेर चिनिन्थें। त्यसैले मैले साथीहरूबाट यस्तो भनाइ सुन्नुपर्थ्यो, ‘तिमीलाई केही चाहियो भने तिम्रो बुबा छँदै छ नि’ वा ‘हामी तिमीजस्तो धनी छैनौं र तिमीहरूको जस्तो राम्रो गाडी किन्ने हाम्रो औकात पनि छैन।’ केही सीप नलागेपछि साथीहरूलाई त्यस्तो टिकाटिप्पणी नगर्नू भनें अनि त्यस्तो टिकाटिप्पणीले मेरो चित्त दुख्छ भनेर पनि बताएँ। अरूहरूले मलाई पैसावाल भनेर होइन, तर दयालु व्यक्ति भनेर चिनेको चाहन्छु।”

बाइबल के भन्छ?

बाइबलले पैसा कमाउनु गलत हो भन्दैन वा धेरै पैसा भएको मानिसको आलोचना पनि गर्दैन। पैसा कति छ, त्यो मुख्य कुरा होइन। बरु आफूसित भएको पैसा र आफूले हासिल गर्न खोजेको कुराप्रति कस्तो मनोवृत्ति छ, त्योचाहिं मुख्य कुरा हो। बाइबलले पैसाबारे सही दृष्टिकोण राख्न सल्लाह दिन्छ। पैसाबारे बाइबलमा पाइने सल्लाह बाइबल लेखिंदा जत्ति उपयोगी थियो, आज पनि त्यत्तिकै उपयोगी छ। केही उदाहरण विचार गरौं।

बाइबल भन्छ: “धन-सम्पत्ति कमाउनको निम्ति कमाराजस्तै नघोटी।”—हितोपदेश २३:४.

एउटा किताबअनुसार * पैसा कमाउनमै लग्गू हुने मानिसहरू ‘मानसिक रूपमा स्वस्थ हुँदैनन्‌। यति मात्र होइन, तिनीहरूलाई घाँटी, ढाड र टाउको दुख्नेजस्ता थुप्रै समस्या पनि हुन्छन्‌। साथै तिनीहरू अत्यधिक रक्सी पिउँछन्‌ र लागूपदार्थ सेवन गर्छन्‌। आर्थिक अवस्था राम्रो बनाउने धुनमा तिनीहरूको सुख-चैन हरण हुन्छ।’

 बाइबल भन्छ: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्, बरु अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।”—हिब्रू १३:५.

आफूसित भएको कुरामा सन्तुष्ट हुने मानिस आफ्नो आर्थिक अवस्थाबारे अनावश्यक चिन्ता-फिक्री गर्दैन किनकि जीवनमा महत्त्वपूर्ण कुरा कुन हो भनेर उसले बुझेको हुन्छ। उदाहरणको लागि, सन्तुष्ट मानिस आफ्नो आर्थिक अवस्था कमजोर हुँदा चिन्तामा डुब्दैन। त्यसको विपरीत उसले पावलले भनेजस्तै यस्तो मनोवृत्ति राख्छ, “अभावमा कसरी जीवन बिताउने, त्यो मलाई थाह छ अनि प्रशस्ततामा कसरी जीवन बिताउने, त्यो पनि मलाई थाह छ। पेट टन्न हुँदा होस् वा भोकै रहँदा अनि प्रशस्ततामा होस् वा अभावमा, हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु।”—फिलिप्पी ४:१२.

बाइबल भन्छ: “आफ्नो धन-सम्पत्तिमा भरोसा गर्नेको पतन हुन्छ।”—हितोपदेश ११:२८.

अनुसन्धानकर्ताहरूको भनाइअनुसार वैवाहिक जीवनमा मनमुटाव भएर सम्बन्धविच्छेदको हदसम्म पुऱ्याउने एउटा कारण पैसाको समस्या पनि हो। साथै आत्महत्या गर्नुको एउटा कारण पनि पैसाको समस्या नै हो। कसै-कसैलाई आफ्नो वैवाहिक सम्बन्ध र आफ्नो ज्यानभन्दा पनि पैसा नै महत्त्वपूर्ण लाग्छ। तर पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नेहरू पैसामा मात्र भर पर्दैनन्‌। तिनीहरूले येशूको यो कुरा सही हो भनेर बुझेका छन्‌, “मानिस जति नै सम्पन्न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।”—लूका १२:१५.

 तपाईं पैसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

आफैलाई निम्न प्रश्नहरू सोधेर परीक्षण गर्नुभयो भने पैसाप्रति सही दृष्टिकोण राख्न मदत पाउनुहुनेछ:

  • के म छिट्टै धनी हुने योजनाहरूमा मन लगाउँछु?

  • के म कन्जुस छु?

  • के म पैसाबारे र आफ्नो जायजेथाबारे मात्र कुराकानी गर्ने मानिसहरूसित धेरै सङ्गत गर्छु?

  • के म पैसा कमाउन झूट बोल्छु अथवा अन्य अनैतिक तौरतरिका अपनाउँछु?

  • कतै पैसाले गर्दा म आफूलाई विशेष व्यक्ति पो ठान्छु कि?

  • के म जहिले पनि पैसाकै बारेमा मात्र सोच्ने गर्छु?

  • पैसाप्रति मेरो मनोवृत्तिले मेरो स्वास्थ्य र पारिवारिक जीवनलाई नराम्रो असर पो गरिरहेको छ कि?

    अरूलाई दिएर उदारता देखाउनुहोस्

यी प्रश्नहरूमध्ये कुनैको सकारात्मक जवाफ आउँछ भने भौतिकवादी नहुन र त्यसको पासोमा नपर्न प्रयत्न गर्नुहोस्। पैसा र भौतिक सरसाधनलाई अत्यन्तै महत्त्व दिने मानिसहरूसँग सङ्गत गर्नबाट जोगिनुहोस्। त्यसको साटो नैतिक मूल्यमान्यतालाई महत्त्व दिने मानिसहरूसित सङ्गत गर्नुहोस्।

पैसाको प्रेमलाई मनमा जरा गाड्न नदिनुहोस्। पैसालाई भन्दा आफ्नो परिवार, साथीभाइ र स्वास्थ्यलाई महत्त्व दिनुहोस्। यसो गर्नुभयो भने पैसाप्रति सही दृष्टिकोण राखेको देखाउन सक्नुहुन्छ।(g15-E 09)

^ अनु. 7 यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

^ अनु. 15 The Narcissism Epidemic

अझ बढी सिक्नुहोस्

परमेश्वरका नियमले हामीलाई कसरी लाभ पुऱ्याउँछ?

हामीलाई किन डोऱ्याइ चाहिन्छ र कुन दुई वटा आज्ञा सबैभन्दा महत्त्वपूर्ण हुन्‌, येशूले बताउनुभयो।