अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्! जुलाई २०१५

 बाइबलको दृष्टिकोण

हिंसा

हिंसा

मानिसको इतिहास हिंसाले भरिएको छ। के सधैं यस्तै भइरहनेछ?

ईश्वरलाई हिंसा कस्तो लाग्छ?

मानिसहरू के भन्छन्‌?

“जस्तालाई त्यस्तै गर्नुमा” कुनै खराबी छैन भनी मानिसहरू भन्छन्‌। ईश्वरमा आस्था राख्ने मानिसहरूले समेत यस्तै विचारधारा राख्छन्‌। लाखौं मानिसहरू टिभी वा चलचित्रमा देखाइने हिंसा पनि मनोरञ्जनको रूपमा हेर्न रुचाउँछन्‌।

बाइबल के भन्छ?

उत्तरी इराकको मोसुल सहरनजिकै एउटा सहरको भग्नावशेष पाइन्छ। त्यो सहर पुरातन अश्शूर साम्राज्यको राजधानी निनवे थियो। निनवे निकै प्रख्यात, ठूलो र महत्त्वपूर्ण सहर थियो। तर ईश्वरले “निनवेलाई उजाड” बनाइदिनुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (सपन्याह २:१३) ईश्वरले यसो भन्नुभयो, “तँलाई हाँसोको पात्र तुल्याउनेछु।” तर किन? किनभने निनवे “हत्यारा सहर” थियो। (नहूम १:१; ३:१, ६) साथै भजन ५:६ मा ईश्वर ‘रक्तपात गर्ने मानिसलाई घृणा गर्नुहुन्छ’ भनेर बताइएको छ। ईश्वरले भविष्यवाणी गर्नुभएजस्तै निनवे सहर नाश भयो भनेर त्यसको भग्नावशेषले देखाउँछ।

हिंसाको सुरुवात सैतान तथा दियाबलले गरेको हो। त्यो ईश्वर र मानिसको मुख्य शत्रु हो अनि येशूले त्यसलाई “हत्यारा” भन्नुभयो। (यूहन्ना ८:४४) मानिसहरू सैतानजस्तै हिंसा रुचाउँछन्‌ किनभने “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” यही कारणले गर्दा पनि मानिसहरूलाई टिभी र चलचित्रमा देखाइने हिंसा पनि सामान्य लाग्छ। (१ यूहन्ना ५:१९) त्यसैले ईश्वरलाई खुसी बनाउन हामीले हिंसालाई घृणा गर्नै पर्छ र ईश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नै पर्छ। * तर के यसो गर्नु सम्भव छ?

“दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले [यहोवाले] घृणा गर्नुहुन्छ।” भजन ११:५, NRV. 

के हिंस्रक मानिसहरू परिवर्तन हुन सक्छन्‌?

मानिसहरू के भन्छन्‌?

हिंसा गर्नु मानिसको स्वभाव नै हो। त्यसलाई परिवर्तन गर्न सकिंदैन।

बाइबल के भन्छ?

“क्रोध, रिस, खराबी, दुर्वचन, अनि . . . मुखबाट निस्कने अश्‍लील बोली” त्याग भनेर बाइबल बताउँछ। साथै “पुरानो व्यक्तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ अनि परमेश्वरले दिनुहुने नयाँ व्यक्तित्व धारण गर” भनेर पनि बताउँछ। (कलस्सी ३:८-१०) के ईश्वरले बढ्तै माग गरिरहनुभएको हो? पटक्कै होइन। मानिसहरू परिवर्तन हुन सक्छन्‌। * कसरी?

पहिलो कदम ईश्वरबारे ज्ञान लिनु हो। (कलस्सी  ३:१०) कुनै व्यक्ति इच्छुक भएर ईश्वरका राम्रा गुण र उहाँका स्तरहरूबारे सिक्छन्‌ भने तिनी ईश्वरलाई माया गर्न थाल्छन्‌। अनि उहाँलाई खुसी बनाउन चाहन्छन्‌।—१ यूहन्ना ५:३.

दोस्रो कदम सरसङ्गतसित सम्बन्धित छ। “रिस गर्ने मानिसलाई कहिल्यै मित्र नबना, न त क्रोधी-स्वभावको मानिससित सङ्गत गर्। त्यसको चाल नसिक्, नत्रता तँ पासोमा पर्नेछस्।”—हितोपदेश २२:२४, २५.

तेस्रो कदम समझदार हुनु हो। मानिसले किन हिंसा गर्छ भनेर बुझ्नु आवश्यक छ। मानिसले आफूलाई वशमा राख्न नसकेर हिंसा गर्छ। त्यसैले त्यो दुर्गुण मानिसको कमजोरी हो। तर त्यसको ठीक विपरीत शान्त स्वभावको मानिसले आफूलाई वशमा राख्न सक्छ। हितोपदेश १६:३२ यसो भन्छ, “सहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो।”

“सबै मानिससित शान्ति कायम गरिरहो।” —हिब्रू १२:१४.

हिंसा कहिल्यै अन्त होला?

मानिसहरू के भन्छन्‌?

हिंसा पहिल्यैदेखि थियो अनि यसको कहिल्यै अन्त हुनेछैन।

बाइबल के भन्छ?

“थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।” (भजन ३७:१०, ११) हो, नम्र र शान्ति रुचाउने मानिसहरूलाई बचाउन ईश्वरले हिंसा रुचाउनेहरूलाई निनवेका मानिसहरूलाई जस्तै नाश गर्नुहुनेछ। त्यसपछि यो पृथ्वीमा हिंसाको नामोनिसान हुनेछैन।—भजन ७२:७.

‘कोमल स्वभावका मानिसहरू पृथ्वीको उत्तराधिकारी हुनेछन्‌।’—मत्ती ५:५.

त्यसैले हामी शान्तिप्रिय मानिस बन्न हर प्रयास गरेर ईश्वरको अनुग्रह पाउने समय अहिले नै हो। यसबारे २ पत्रुस ३:९ ले यसो भन्छ, “यहोवा . . . तिमीहरूप्रति धीरजी हुनुहुन्छ, किनकि उहाँ कोही पनि नाश नहोस्, बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्ने चाहनुहुन्छ।” (g15-E 05)

“तिनीहरूले आफ्ना-आफ्ना तरवार पिटेर हलोको फाली र भालाचाहिं हँसिया बनाउनेछन्‌।”यशैया २:४.

^ अनु. 7 हुन त ईश्वरले इस्राएल राष्ट्रलाई आफ्नो इलाकाको रक्षाको लागि युद्ध गर्न अनुमति दिनुभयो। (२ इतिहास २०:१५, १७) तर ईश्वरले इस्राएल राष्ट्रसित आफ्नो करार खारेज गर्नुभएपछि भने अवस्था परिवर्तन भयो। उहाँले ख्रीष्टियन मण्डलीहरू स्थापना गर्नुभयो र ती मण्डलीहरू जताततै छन्‌, त्यसको कुनै सीमाना छैन।

^ अनु. 11 आफ्नो व्यक्तित्व परिवर्तन गरेका मानिसहरूको अनुभव प्रहरीधरहरा पत्रिकाको “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्ने शृङ्खलामा पाइन्छ।