अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्! जनवरी २०१५

आवश्यक परेकै बेला मैले आशा पाएँ

आवश्यक परेकै बेला मैले आशा पाएँ

म पानीमुनि घोप्टिएको अवस्थामा थिएँ। सास फेर्नको लागि आफ्नो टाउको उचाल्न चाहन्थें तर मेरो गर्दन पछाडिका मांसपेशीहरूले कामै गरेनन्‌। म डराएँ र पल्टिन खोजें तर हातगोडा चल्दै चलेनन्‌। फोक्सोमा पानी छिर्न थाल्यो। सन्‌ १९९१ को गर्मीयामको त्यो दिनले मेरो जीवन नै परिवर्तन गरिदियो।

म सेरेन्च सहरमा जन्मेको थिएँ र हंगेरीको उत्तरपूर्वमा पर्ने गाउँ टिसलडोनेमा हुर्कें। सन्‌ १९९१ को जून महिनामा केही साथीहरूसित टिसा नदी नजिक नौलो ठाउँमा घुम्न गएका थियौं। नदीको पानी गहिरो होला भन्ने सोचेर पानीमा हाम्फालें। तर त्यो मेरो ठूलो गल्ती थियो! गर्दनको तीनवटा हड्डी भाँचियो र मेरुदण्डमा पनि असर पऱ्यो। साथीहरूमध्ये एक जनाले मलाई नचलेको देखेपछि बिस्तारै पानीबाट बाहिर निकाले।

म होसमै थिएँ र अवस्था नाजुक हुँदै छ भनेर मलाई थाह थियो। कसैले आकस्मिक सेवालाई फोन गरेकोले हेलिकोप्टर आइपुग्यो। त्यसपछि तिनीहरूले मलाई अस्पतालमा लगे र त्यहाँ डाक्टरहरूले स्वास्थ्य अवस्था अझ नबिग्रियोस् भनेर मेरुदण्डको अपरेशन गरे। केही समयपछि स्वास्थ्य सुधारको लागि हंगेरीको राजधानी बुडापेस्टमा मलाई सारियो। तीन महिनासम्म उत्तानो परेर सुत्नुपऱ्यो। टाउको चलाउन सके तापनि काँधमुनिका कुनै पनि मांसपेशी आफै चलाउन सकिनँ। यसरी २० वर्षको उमेरमै अरूको भरमा बाँच्नुपर्दा यत्ति निराश भएँ कि म मर्न चाहन्थें।

केही समयपछि घर फर्कें। मेरो हेरविचार गर्न सकियोस् भनेर बुबाआमाले अस्पतालमा तालिम लिनुभएको थियो। तर मेरो हेरविचार गर्न त्यत्ति सजिलो थिएन। त्यसैले उहाँहरूलाई शारीरिक र भावनात्मक रूपमा निकै गाह्रो भयो। त्यसको लगभग एक वर्षपछि म डिप्रेसनको सिकार भएँ। जे होस्, त्यतिखेर विशेषज्ञहरूको सल्लाह पाएकोले मैले आफ्नो अशक्त अवस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकें।

मैले जीवनको विषयमा पनि गहिरिएर सोच्न थालें। के जीवनको कुनै उद्देश्य छ? मलाई यस्तो दुःखद घटना किन आइपऱ्यो? जवाफ भेट्टाउन मैले विभिन्न पत्रिका र किताब पढ्न थालें। बाइबल पढ्ने पनि कोसिस गरें तर बुझ्न साह्रै गाह्रो लाग्यो। त्यसैले बाइबललाई थन्क्याइदिएँ। जवाफ पाउन एक जना पादरीसँग कुरा गरें तर तिनको कुरा मलाई चित्तै बुझेन।

सन्‌ १९९४ को वसन्त ऋतुको कुरा हो, दुई जना यहोवाका साक्षी मेरो बुबालाई भेट्न आए। बुबाले तिनीहरूलाई मसित भेट गराइदिनुभयो। परमेश्वरको उद्देश्य भनेको पृथ्वीलाई सुन्दर बगैंचा बनाउने हो र उहाँले रोगबिमार र दुःखकष्टलाई सधैंको लागि हटाइदिनुहुन्छ भनेर तिनीहरूले बताए। तिनीहरूको कुरा मलाई साह्रै मन पऱ्यो तर पत्याउन भने गाह्रो भयो। तैपनि बाइबललाई बुझ्न मदत गर्ने दुई वटा किताब मैले लिएँ। किताबहरू पढिसकेपछि ती यहोवाका साक्षीहरूले मसित बाइबल अध्ययनको प्रस्ताव राख्दा मैले स्वीकारें। तिनीहरूले  मलाई प्रार्थना गर्न पनि प्रोत्साहन दिए।

परमेश्वरले मेरो साँच्चै ख्याल राख्नुहुन्छ भन्ने कुरामा म विश्वस्त भएँ

हाम्रो छलफल अगाडि बढ्दै जाँदा मैले थुप्रै प्रश्नको जवाफ बाइबलबाट पाउँदै गएँ। परमेश्वरले मेरो ख्याल राख्नुहुन्छ भन्ने कुरामा पनि म विश्वस्त भएँ। दुई वर्ष बाइबल अध्ययन गरिसकेपछि सन्‌ १९९७, सेप्टेम्बर १३ मा घरको बाथटबमै बप्तिस्मा गरें। यो मेरो जीवनकै सबैभन्दा खुसीको क्षण थियो।

सन्‌ २००७ मा सधैंको लागि बुडापेस्टको एउटा अशक्तहरू राखिने घरमा सरें। मेरो यो निर्णयले गर्दा आफूले सिकेका बाइबलका अद्भुत कुराहरू अरूलाई सिकाउने थुप्रै मौका पाएँ। साथै मौसम राम्रो भएको बेला बाहिर गएर पनि मानिसहरूसित कुराकानी गर्न सक्छु। यसका लागि आफ्नो चिउँडोले चलाउन सक्ने मोटर भएको ह्वीलचेयरको प्रयोग गर्छु।

मण्डलीको एक परिवारको आर्थिक सहयोगले गर्दा मैले एउटा कम्प्युटर किनें। यसलाई टाउकोको चालद्वारा चलाउन सकिन्छ। इन्टरनेटमार्फत फोन गर्न अनि मण्डलीका सदस्यहरू प्रचारमा जाँदा घरमा नभेटिएका मानिसहरूलाई चिठ्ठी लेख्न म यसको प्रयोग गर्छु। यसरी अरूलाई बाइबल सत्य सिक्न मदत गर्दा कुराकानी गर्न सिपालु भएको छु र आफ्नै बारेमा मात्र सोचिरहने पनि गर्दिनँ।

टाउकोको चालद्वारा चल्ने कम्प्युटरको मदतले इन्टरनेटमार्फत बाइबल सन्देश सुनाउँदै

म ख्रीष्टियन सभाहरूमा पनि जान सक्छु। यहोवाका साक्षीहरूको सभा हुने ठाउँमा पुगेपछि त्यहाँका भाइहरूले मलाई ह्वीलचेयरमै सभा हुने तल्लासम्म बोकेर लैजान्छन्‌। सभाको दौडान श्रोताहरूलाई टिप्पणीको लागि आग्रह गरिंदा मसँगै बस्ने भाइले मेरो लागि हात उठाइदिन्छन्‌। अनि मैले टिप्पणी दिंदा तिनी मेरो बाइबल वा अन्य अध्ययन सामग्रीहरू समातिदिन्छन्‌।

मेरो शरीर सधैं दुखिरहन्छ र सबैकुरा गर्न मलाई अरूको मदत चाहिन्छ। त्यसैले अझै पनि कहिलेकाहीं निराश हुन्छु। तर यहोवा परमेश्वरसितको मित्रताले मलाई सान्त्वना दिएको छ। किनभने मनको बह उहाँलाई पोख्दा उहाँ सुन्नुहुन्छ भनेर मलाई थाह छ। साथै मण्डलीका भाइबहिनीहरूबाट अनि हरेक दिन बाइबल पढेर पनि बल पाएको छु। भाइबहिनीसितको मित्रता, तिनीहरूले दिएका भावनात्मक मदत अनि मेरो लागि गरिदिएका प्रार्थनाले गर्दा आफ्नो मानसिक र भावनात्मक सुस्वास्थ्य कायम गर्न सकेको छु।

साँच्चै! यहोवा परमेश्वरले मलाई आवश्यक परेकै बेला सान्त्वना दिनुभयो। साथै नयाँ संसारमा कहिल्यै बिरामी हुन नपर्ने आशा पनि दिनुभएको छ। त्यसैले उहाँले देखाउनुभएको अपार प्रेम र दयाको लागि ‘हिंड्दै, उफ्रँदै परमेश्वरको प्रशंसा गर्ने’ समयलाई म उत्सुकतासाथ पर्खिरहेको छु।—प्रेषित ३:६-९. (g14-E 11)