चुनौती

श्रीमान्‌ले * भनेको वा गरेको कुरालाई तपाईंले बिर्सनै सक्नुभएको छैन। उहाँका रूखो शब्दहरू र विचारै नपुऱ्याई गरेको व्यवहारले तपाईंको मुटु घोचिरहेको छ। यसले गर्दा आफूले असाध्यै माया गरेको श्रीमान्‌सित अब तपाईंलाई रिस उठ्‌न थालेको छ। यस्तो अवस्थामा एकअर्कालाई सहनुबाहेक अरू कुनै उपाय छैन जस्तो देखिन्छ।

तपाईंको अवस्था सुध्रिन सक्छ। तर सबैभन्दा पहिला रिस पाल्नु किन गलत हो, त्यो विचार गरौं।

तपाईंले के बुझ्नुपर्छ?

रिस पाल्नु बोझ हो, यसले वैवाहिक सम्बन्धलाई अघि बढ्‌न दिंदैन

रिस पाल्दा वैवाहिक सम्बन्ध टुट्‌न सक्छ। कसरी? वैवाहिक सम्बन्धलाई प्रेम, भरोसा र वफादारी जस्ता गुणहरूले बलियो बनाउँछ। तर रिस पाल्नु भयो भने यस्ता गुणहरू हराउँदै जान्छ। त्यसैले एक अर्थमा भन्नुपर्दा वैवाहिक समस्या भएकोले मानिसहरू रिस पाल्न पुग्छन्‌ भन्ने त होइन, रिस पाल्नु नै एउटा वैवाहिक समस्या हो। यसैकारण बाइबल यसो भन्छ: ‘हरकिसिमको कटुता अर्थात्‌ तितोपना त्याग।’—एफिसी ४:३१.

रिस पाल्नुभयो भने त्यसले तपाईंलाई नै चोट पुऱ्याउँछ। रिस पाल्नु भनेको आफैलाई थप्पड हिर्काएर अरूले त्यसको पीडा महसुस गरोस् भन्ने आशा राख्नु जस्तै हो। पारिवारिक समस्याको समाधानसम्बन्धी एउटा किताबमा यसो लेखिएको छ: “मानिलिनुहोस्, तपाईंको परिवारको कसैले तपाईंको चित्त दुखायो र तपाईं तिनीसित रिसाउनु भयो। तर तपाईंको चित्त दुखेको कुरा तिनलाई थाहै नहुन सक्छ। तिनी आफ्नै जीवनमा मस्त हुन सक्छन्‌।” निष्कर्ष? “रिस पाल्नुभयो भने तपाईं जोसित रिसाउनुभएको छ, तिनलाई भन्दा तपाईंलाई नै धेरै चोट पुग्छ।”

रिस पाल्नु भनेको आफैलाई थप्पड हिर्काएर अरूले त्यसको पीडा महसुस गरोस् भन्ने आशा राख्नु जस्तै हो

रिस पाल्ने वा नपाल्ने, त्यो छनौटको कुरा हो। कोही-कोही व्यक्ति कुनै-कुनै अवस्थामा त रिस पाल्नै पर्ने हुन्छ भनी तर्क गर्छन्‌। तिनीहरू भन्छन्‌: “मेरो जीवनसाथीले गर्दा नै मैले रिस पाल्नु परेको हो।” यस्तो सोचाइ राख्दै हुनुहुन्छ भने तपाईं आफूले वशमा राख्न नसक्ने कुरामा ध्यान दिंदै हुनुहुन्छ। त्यो हो, अर्को व्यक्तिको व्यवहार। यस विषयमा बाइबलले एउटा राम्रो सल्लाह दिएको छ: “हरेकले आफ्नो काम जाँचोस्।” (गलाती ६:४) हामी अरूले भन्ने वा गर्ने कुरालाई नियन्त्रण गर्न सक्दैनौं। तर त्यसप्रति आफूले कस्तो प्रतिक्रिया देखाउने हो, त्यो चाहिं नियन्त्रण गर्न सक्छौं। समस्याको समाधान रिस पालेर हुँदैन।

 तपाईं के गर्न सक्नुहुन्छ?

रिस पाल्ने कि क्षमा दिने, त्यो तपाईंको हातमा छ। आफ्नो जीवनसाथीलाई दोष लगाउन सजिलो छ। तर याद गर्नुहोस् रिस पाल्ने कि क्षमा दिने, त्यो तपाईंको हातमा छ। तपाईं बाइबलको यो सल्लाह पालन गर्ने छनौट गर्न सक्नुहुन्छ: “घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्।” (एफिसी ४:२६) क्षमा दिने सोच राखेर कदम चाल्नुभयो भने तपाईंले आफ्नो वैवाहिक समस्यालाई राम्ररी समाधान गर्न सक्नुहुन्छ।—बाइबल सिद्धान्त: कलस्सी ३:१३.

इमानदार भई आफूलाई जाँच्नुहोस्। बाइबलमा केही मानिसहरू “रिसाउने” र “गरम-मिजास”-का हुन्छन्‌ भनी बताइएको छ। (हितोपदेश २९:२२) के तपाईं त्यस्तै व्यक्ति हुनुहुन्छ? आफैलाई सोध्नुहोस्: ‘के म झट्टै रिसाउने स्वभावको छु? कतै तिललाई पहाड बनाउने मेरो बानी नै छ कि?’ बाइबल यसो भन्छ: “अर्काको कुरा घरिघरि दोहोऱ्याउनेले मित्रता तोड्‌छ।” (हितोपदेश १७:९; उपदेशक ७:९) वैवाहिक सम्बन्धमा पनि यस्तै हुन सक्छ। त्यसैले तपाईं रिस पाल्ने स्वभावको हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्: ‘श्रीमान्‌सित व्यवहार गर्दा मैले अझ बढी धैर्य गर्नुपर्छ कि?’—बाइबल सिद्धान्त: १ पत्रुस ४:८.

महत्त्वपूर्ण कुरा ठम्याउनुहोस्। बाइबलमा यस्तो लेखिएको छ: “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उपदेशक ३:७) तपाईंको श्रीमान्‌ले तपाईंको चित्त दुखाउने बित्तिकै त्यस विषयमा कुरा गरिहाल्नुपर्छ भन्ने छैन। कहिलेकाहीं यो सल्लाह पालन गर्नु राम्रो हुन्छ: “ओछ्यानमा आफ्ना आफ्ना मनमा गुन, र चूपचाप रहो।” (भजन ४:४) यदि कुरा गर्नु नै पर्ने भएमा तपाईंको रिस शान्त नहुन्जेल पर्खनुहोस्। बेयाट्रिज नाम गरेकी एक स्त्री यसो भन्छिन्‌: “कुनै कुराले गर्दा मेरो चित्त दुख्यो भने पहिला त म शान्त रहने कोसिस गर्छु। यसो गर्दा कहिलेकाहीं त्यो कुरा त्यति गम्भीर रहेनछ भनी पछि गएर बुझ्छु। अनि फेरि श्रीमान्‌सित आदर देखाउँदै कुरा गर्न मदत पाउँछु।”—बाइबल सिद्धान्त: हितोपदेश १९:११.

“क्षमा” दिनुको अर्थ बुझ्नुहोस्। बाइबलमा “क्षमा” भनेर अनुवाद गरिएको शब्दले मूल भाषामा कुनै कुरालाई बेवास्ता गर्नु भन्ने अर्थ पनि दिन्छ। त्यसैले क्षमा दिनुको अर्थ तपाईंको चित्त दुखाउने कुरालाई हल्कासित लिनु अथवा त्यो कुरा कहिल्यै नभएको जस्तो गर्नु भन्ने त होइन। बरु रिस पालेमा त्यसले आफ्नो स्वास्थ्य र वैवाहिक सम्बन्ध दुवैलाई नराम्रो असर पार्छ भन्ने बुझेर त्यस कुरालाई वास्ता नगर्नु हो। (g14-E 09)

^ अनु. 4 यस लेखमा श्रीमतीहरूलाई सम्बोधन गरिएको भए तापनि यहाँ चर्चा गरिएको सिद्धान्त श्रीमान्‌ र श्रीमती दुवैलाई लागू हुन्छ।