अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्! सङ्ख्या ३ २०१६

फुड एलर्जी र फुड इन्टोलरेन्स—यसका भिन्नताहरू

फुड एलर्जी र फुड इन्टोलरेन्स—यसका भिन्नताहरू

एमली: “अचानक गाह्रो हुन थाल्यो, खानै खान सकिनँ। मुख चिलाउन थाल्यो अनि जिब्रो पनि सुन्नियो। रिंगटा लाग्यो, सास फेर्न पनि गाह्रो भयो। हात, घाँटीमा डाबर आउन थाल्यो। शान्त हुने कोसिस गरें तर आखिरमा हस्पिटल जानै पर्ने भयो। म तुरुन्तै हस्पिटल गएँ।”

हामीमध्ये धेरैजसोलाई मीठो खानेकुराको नाम लिनेबित्तिकै मुखमा पानी आउँछ। तर कसै-कसैको लागि भने कुनै-कुनै खानेकुरा विष नै हो। एमलीजस्तै उनीहरू पनि फुड एलर्जीको सिकार भएका छन्‌। एमलीलाई भएको एलर्जीलाई एनाफाइलेक्सिस भनिन्छ। यो असाध्यै डरलाग्दो हुन्छ। तर खुसीको कुरा, प्रायजसो फुड एलर्जी गम्भीर प्रकारका हुँदैनन्‌।

हालैका वर्षहरूमा फुड एलर्जी र इन्टोलरेन्सका बिरामीहरूको सङ्‌ख्या ह्वात्तै बढेको छ। तर अध्ययनहरूले देखाएअनुसार आफूलाई फुड एलर्जी छ भनेर शङ्‌का गर्नेहरूमध्ये थोरैलाई मात्र साँच्चै एलर्जी भएको पाइयो।

फुड एलर्जी भनेको के हो?

डाक्टर जेनिफर जे. स्नाइडर चेफनको टोलीले द जर्नल अफ दि अमेरिकन मेडिकल असोसिएसन (अङ्‌ग्रेजी) नामक पत्रिकामा फुड एलर्जीको मूल कारण के हो भन्ने विषयमा सबैको एकमत छैन भनेर बतायो। तर धेरैजसो विशेषज्ञअनुसार रोग प्रतिरोधात्मक प्रणालीले कुनै खानेकुराविरुद्ध प्रतिक्रिया देखाउँदा एलर्जी हुन्छ।

कुनै-कुनै खानेकुरामा पाइने प्रोटिनले गर्दा एलर्जी हुने गर्छ। पहिलो पटक उक्त प्रोटिन शरीरमा प्रवेश गर्दा रोग प्रतिरोधात्मक प्रणालीले त्यसलाई हानिकारक तत्त्व भन्ठान्छ। यस तत्त्वविरुद्ध लड्‌न र यसलाई निस्तेज पार्न रोग प्रतिरोधात्मक प्रणालीले एक किसिमको एन्टिबडी निर्माण गर्छ। यस एन्टिबडीलाई आइ जी ई (इम्युनोग्लोबुलिन ई) भनिन्छ। पछि दोस्रो पटक उक्त प्रोटिन शरीरमा प्रवेश गर्दा पहिले बनेको एन्टिबडीले विभिन्न रसायन उत्पादन गर्छ। ती रसायनमा हिस्टामिन पनि पर्छ।

सामान्यतया हिस्टामिनले रोग प्रतिरोधात्मक प्रणालीमा फाइदा पुऱ्याउँछ। तर आइ जी ई एन्टिबडीहरू र त्यसपछि उत्पादन हुने हिस्टामिनले गर्दा कसै-कसैलाई किन एलर्जी हुन्छ भन्ने कुरा विशेषज्ञहरूले स्पष्ट रूपमा बुझ्न सकेका छैनन्‌।

त्यसकारण तपाईंले कुनै खानेकुरा पहिलो चोटि खाँदा प्रत्यक्ष लक्षण देखा पर्दैन। तर त्यही खानेकुरा दोस्रो पटक खाँदा एलर्जीका लक्षणहरू देखा पर्छन्‌।

फुड इन्टोलरेन्स भनेको के हो?

फुड एलर्जीजस्तै फुड इन्टोलरेन्स पनि खानेकुराले गर्दा हुने स्वास्थ्य समस्या हो। तर यो फुड एलर्जीजस्तो होइन। फुड एलर्जी रोग प्रतिरोधात्मक प्रणालीको प्रतिक्रियाले गर्दा हुन्छ भने फुड इन्टोलरेन्स पाचन प्रणालीको प्रतिक्रियाले गर्दा हुन्छ। इन्टोलरेन्समा एन्टिबडीहरू निर्माण हुँदैनन्‌। साधारणतया, पाचनरसको उत्पादन कम छ अथवा पचाउन गाह्रो हुने रसायनहरू खानेकुरामा छन्‌ भने अपच हुने गर्छ। जस्तै, पेटले दूध र दूधजन्य खानेकुरा पचाउन एक प्रकारको पाचनरस उत्पादन  गर्छ। तर यो रस उत्पादन गर्न नसक्दा ल्याक्टोज इन्टोलरेन्स हुन्छ।

फुड इन्टोलरेन्समा एन्टिबडीहरू उत्पादन नहुने भएकोले कुनै खानेकुरा पहिलो पटक खाँदा नै यसको असर देखिन्छ। यसमा खानेकुराको परिमाणले ठूलो फरक पार्छ। जस्तै, थोरै खाँदा त्यति असर नगर्ला तर धेरै खाँदा भने ठूलो समस्या हुन सक्छ। फुड इन्टोलरेन्स गम्भीर प्रकारको फुड एलर्जीभन्दा फरक हुन्छ। यस्तो एलर्जीमा अलिकति खानेकुराले पनि मान्छेको ज्यानै लिन सक्छ।

यसका लक्षणहरू के-के हुन्‌?

तपाईंलाई फुड एलर्जी छ भने सामान्यतया शरीर चिलाउने; डाबर आउने; घाँटी, आँखा वा जिब्रो सुन्निने; वाकवाक लाग्ने अथवा पखाला लाग्ने जस्ता लक्षणहरू देखा पर्छन्‌। एलर्जी बढ्‌यो भने रक्त चाप घट्‌ने, रिंगटा लाग्ने, बेहोस हुने र हृदयघातसमेत हुने सम्भावना हुन्छ। एनाफाइलेक्सिस हो भने त्यसका लक्षणहरू तुरुन्तै देखा पर्छन्‌ र ज्यानै लिन सक्छ।

एलर्जी जुनसुकै खानेकुराले पनि हुन सक्छ। तर प्रायजसो दूध, अण्डा, माछा, गङ्‌गटा, झिंगे माछा, स्रिम्प माछा, बदाम, भटमास, ओखर, कटुस, पेस्ता, काजु र गहुँजस्ता खानेकुराले गर्दा गम्भीर प्रकारको एलर्जी हुने गर्छ। एलर्जी जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। अध्ययनहरूले देखाएअनुसार एलर्जी वंशानुगत रूपमा पनि सर्छ। यदि आमाबुबामध्ये कसैलाई अथवा दुवैलाई एलर्जी छ भने बच्चालाई पनि एलर्जी हुने सम्भावना धेरै हुन्छ। यस्तो एलर्जी बच्चा हुर्कंदै जाँदा आफै हराउँदै जान्छ।

फुट इन्टोलरेन्समा पेट दुख्ने, फुल्ने, ढुस्स हुने, बटारिने; टाउको दुख्ने; डाबर आउने; थकित हुने अथवा बिरामी भएको महसुस हुने जस्ता लक्षणहरू देखा पर्छन्‌। तर यसबाट फुड एलर्जीजस्तै ज्यानको खतरा भने हुँदैन। मुख्यतया डेरीको खानेकुरा, गहुँ, जौ, रक्सी र खमिरजस्ता खानेकुराले गर्दा इन्टोलरेन्स हुन सक्छ।

निदान तथा उपचार

आफूलाई फुड एलर्जी वा फुड इन्टोलरेन्स भएको हो कि भन्ने शङ्‌का लाग्छ भने सम्बन्धित डाक्टरकहाँ जचाउन जानुहोस्। आफै रोग पत्ता लगाउन खोज्नु अनि मुख बार्नु कहिलेकाहीं स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। मुख बार्दा शरीरलाई चाहिने पोषणको कमी हुन सक्छ।

गम्भीर प्रकारको फुड एलर्जीको उपचार यही हो भनेर पत्ता लागेको छैन। त्यसैले जुन खानेकुराले गर्दा एलर्जी भएको हो, त्यो चटक्कै छोड्‌नुबाहेक अरू विकल्प छैन। * अर्कोतर्फ, यदि तपाईंलाई सामान्य प्रकारको फुड एलर्जी अथवा फुड इन्टोलरेन्स छ भने कुनै खानेकुरा कति पटक खाने गरेको हो अनि कति मात्रामा खाने गरेको हो, त्यसमा कमी मात्र ल्याउँदा पनि फाइदाजनक हुन सक्छ। कुनै-कुनै अवस्थामा भने इन्टोलरेन्स कत्तिको गम्भीर छ, त्यसको आधारमा आफूलाई शङ्‌का लागेका खानेकुराहरू छुँदै नछुने अथवा केही समयको लागि छोड्‌ने निर्णय गर्न सकिन्छ।

यदि तपाईंलाई फुड एलर्जी वा फुड इन्टोलरेन्स छ भने चिन्ता नगर्नुहोस्। किनभने तपाईंको जस्तै समस्या भएकाहरूले आफ्नो अवस्था सुधार्न के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर सिकेका छन्‌। अनि थरीथरीको पोषणयुक्त र स्वादिष्ठ खानेकुराको आनन्द उठाइरहेका छन्‌। (g16-E No. 3)

^ अनु. 19 गम्भीर प्रकारको एलर्जी भएकाहरूलाई अड्रेनलिन भन्ने औषधी भएको सुई सधैं साथमा राख्न सल्लाह दिइन्छ। यो सुई आकस्मिक अवस्थामा व्यक्ति आफैले प्रयोग गर्न सक्छ। केही स्वास्थ्य विशेषज्ञले एलर्जी भएका केटाकेटीलाई एलर्जीको सङ्‌केत दिने वस्तु बोक्न अथवा लगाउन सल्लाह दिन्छन्‌। यसले शिक्षक वा स्याहारसुसार गर्ने व्यक्तिलाई केटाकेटीको अवस्था बुझ्न मदत गर्छ।