अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्! सङ्ख्या २ २०१६

 परिवारका लागि | युवाहरू

असल साथी कसरी बनाउने?

असल साथी कसरी बनाउने?

चुनौती

यो प्रविधिको युग हो। प्रविधिले गर्दा धेरैभन्दा धेरै मानिससित सञ्चार कायम राख्न सजिलो भएको छ। यो एउटा चमत्कारजस्तै भएको छ। तर मानिस-मानिसबीचको सम्बन्ध भने दिगो हुन सकेको छैन। एक युवक यसो भन्छन्‌, “मेरो बुबाको थुप्रै पुराना साथीहरू हुनुहुन्छ। उहाँहरू साथी बन्नुभएको दशकौं भइसक्यो। तर मैले त्यस्तो मित्रता गाँस्न सकेको छैनँ।”

असल साथी बनाउनु र मित्रता कायम राख्नु अहिले किन गाह्रो भएको छ?

तपाईंले के बुझ्नुपर्छ?

प्रविधिले केही हदसम्म गाह्रो बनाएको छ। मित्रता कायम राख्न भेट्‌नै पर्छ भन्ने छैन; मेसेज वा इमेल पठाएर, च्याट गरेर वा त्यस्तै अन्य तरिकामा साथीहरूसित सम्पर्कमा रहिरहन सकिन्छ भन्ने भान प्रविधिले पारेको छ। मानिसहरू साथीहरूसित सँगै बसेर कुराकानी गर्नुको सट्टा मेसेज र ट्‌वीट गर्न रुचाउँछन्‌। एउटा किताबअनुसार * “मानिसहरू एक-अर्कासित भेटेर कुराकानी गर्नै छाडेजस्तो देखिन्छ। विद्यार्थीहरू पनि साथीहरूसित समय बिताउनुको साटो मोबाइल, कम्प्युटर वा अन्य इलेक्ट्रोनिक साधन चलाउनमै व्यस्त रहन्छन्‌।”

कहिलेकाहीं प्रविधिले मानिसहरूलाई एकअर्कासित घनिष्ठ भएको महसुस गराउँछ। तर वास्तवमा भने त्यसो हुँदैन। बाइस वर्षीय बिराज * यसो भन्छन्‌, “साथीहरूको हालचाल बुझ्न जहिले पनि मैले नै सुरुमा मेसेज गर्दो रहेछु भनेर महसुस गरें। कति जनाले मेसेज पठाउँदा रहेछन्‌ भनेर हेर्न मेसेज पठाउनै छोडिदिएँ। तर साँच्चै भन्नुपर्दा थोरैले मात्र पठाए। वास्तवमा मैले मात्र पो तिनीहरूलाई घनिष्ठ ठानेको रहेछु।”

साथीहरूसित सम्पर्कमा रहिरहन अनि तिनीहरूसित घनिष्ठ भइरहन प्रविधिको के कुनै योगदानै छैन त? त्यसो त होइन। प्रविधिले दुई जनाबीच पुल त बनाइदिन्छ तर नजिक भने ल्याइदिंदैन। त्यसैले साथीहरूसित घनिष्ठ हुन अनलाइन मात्र कुराकानी गरेर पुग्दैन, भेटेरै कुराकानी गर्नु आवश्यक छ।

 तपाईं के गर्न सक्नुहुन्छ?

असल साथी कस्तो हुन्छ, पत्ता लगाउनुहोस्। बाइबलले “मित्र चाहिं ता दाजुभाइभन्दा पनि नजिकको हुन्छ” भनेको छ। (हितोपदेश १८:२४) तपाईं यस्तै साथी चाहनुहुन्न र? के तपाईं आफू पनि यस्तै साथी हुनुहुन्छ? यो कुरा थाह पाउन यसो गर्नुहोस्: साथीमा हुनुपर्ने तीन वटा गुण र आफूमा हुनुपर्ने तीन वटा गुण लेख्नुहोस्। अनि आफैलाई सोध्नुहोस्: ‘मैले बनाएको कुनचाहिं अनलाइन साथीमा मैले चाहेजस्तै गुण छ? ममा कुन-कुन गुण भएको मेरो साथी चाहन्छ?’—बाइबल सिद्धान्त: फिलिप्पी २:४.

सोचाइ अनि व्यक्तित्व थाह पाउनुहोस्। प्रायजसो अनलाइन साथीहरूमा एउटै किसिमको रुचि अनि सोख भएको पाइन्छ। तर एउटै रुचि अनि सोखभन्दा पनि साथीहरूमा एउटै किसिमको सोचाइ अनि व्यक्तित्व हुनु महत्त्वपूर्ण छ। एक्काइस वर्षीया प्रिती यसो भन्छिन्‌, “मेरा साथीहरू थोरै छन्‌। तर जति छन्‌, तिनीहरू म असल व्यक्ति बनोस् भन्ने चाहन्छन्‌।”—बाइबल सिद्धान्त: हितोपदेश १३:२०.

भेटेरै कुराकानी गर्नुहोस्। भेटेरै कुराकानी गर्नु र नगर्नुमा आकाश जमिनको फरक छ। साथीसित भेटेरै कुराकानी गर्दा एकअर्काको स-साना कुराहरू पनि याद गर्न सकिन्छ। जस्तै: बोल्ने तरिका, अनुहारको भाव, शरीरको हावभाव, आदि।—बाइबल सिद्धान्त: १ थिस्सलोनिकी २:१७.

चिठी लेख्नुहोस्। यो तरिका एकदमै पुरानो जमानाको जस्तो लाग्ला। तर कसैलाई चिठी लेख्दा तपाईं तिनको साँच्चै चासो राख्नुहुन्छ भन्ने देखिन्छ। तर आजको व्यस्त संसारमा यसरी चासो देखाउनेहरू छैनन्‌ भने पनि हुन्छ। सेरी टर्कलले आफ्नो किताबमा * एक जना युवकबारे लेखेकी छिन्‌। ती युवकले कहिल्यै चिठी पाएका वा अरूलाई पठाएका छैनन्‌। तैपनि मानिसहरू एकअर्कालाई चिठीपत्र लेख्ने गरेको समयबारे तिनी यसो भन्छन्‌, “म त्यतिबेला जन्मेको भए हुन्थ्यो जस्तो लाग्छ।” असल साथी बनाउन अहिले पनि यही पुरानो तरिका अपनाए कसो होला?

निष्कर्ष: साथीहरूसित सम्पर्क भइरहन्छ भन्दैमा त्यो साँचो मित्रता हो भन्न मिल्दैन। तपाईं तपाईंको साथी दुवैसित प्रेम अनि धैर्य जस्ता गुणहरू हुनुपर्छ। साथै एक-अर्कालाई बुझ्नुपर्छ; क्षमा दिन सक्नुपर्छ। यस्ता गुणहरूले तपाईंको मित्रतालाई साँच्चै अटुट बनाउँछ। तर अनलाइन मात्र कुरा गर्दा यस्तो मित्रता कहिल्यै गाँस्न सकिंदैन। (g16-E No. 1)

^ अनु. 7 Artificial Maturity

^ अनु. 8 यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 14 Alone Together

अझ बढी सिक्नुहोस्

एक्लोपन कसरी हटाउन सकिन्छ?

लामो समयसम्म एक्लोपन महसुस गर्नु भनेको एक दिनमा १५ वटा चुरोट तान्नु बराबर हो। तपाईं एक्लो र कसैले वास्ता नगरेको जस्तो महसुस गर्नदेखि कसरी जोगिन सक्नुहुन्छ?