अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) सेप्टेम्बर २०१६

उच्च ओहदाका मानिसहरूसामु सुसमाचारको पक्षमा बोल्ने

उच्च ओहदाका मानिसहरूसामु सुसमाचारको पक्षमा बोल्ने

“यी मानिस जाति-जातिका मानिसहरू, राजाहरू[लाई] . . . मेरो नाम बताउन मैले रोजेको पात्र हुन्‌।” (प्रेषि. ९:१५) येशूले भर्खरै ख्रीष्टियन धर्म अङ्‌गालेका यहूदी पुरुष, जो पछि प्रेषित पावल भनेर चिनिए, तिनको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो।

ती “राजाहरू”-मध्ये एक जना रोमी सम्राट्‌ नेरो थिए। त्यस्तो उच्च ओहदाको व्यक्तिसामु आफ्नो विश्वासबारे बताउनुपरेको भए तपाईंलाई कस्तो लाग्थ्यो? सबै ख्रीष्टियनलाई पावलको देखासिकी गर्न प्रोत्साहन दिइएको छ। (१ कोरि. ११:१) पावलले आफ्नो समयको कानुन व्यवस्थाले दिएको सुविधालाई कसरी चलाए, त्यस सन्दर्भमा हामी तिनको देखासिकी गर्न सक्छौं।

इस्राएल देशको कानुन भनेकै मोशाको व्यवस्था थियो। त्यसमा लेखिएको नियमकानुन जुनसुकै ठाउँमा बस्ने यहूदीहरूले पनि पालन गर्नुपर्थ्यो। इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि साँचो उपासकहरू मोशाको व्यवस्थाअनुसार चल्न बाध्य थिएनन्‌। (प्रेषि. १५:२८, २९; गला. ४:९-११) तैपनि पावल र अरू ख्रीष्टियनले मोशाको व्यवस्थाबारे अनादरपूर्ण तरिकामा बोलेनन्‌; तिनीहरूले यहूदीहरू बस्ने थुप्रै इलाकामा अवरोधविना साक्षी दिन सके। (१ कोरि. ९:२०) वास्तवमा भन्ने हो भने, पावलले थुप्रै चोटि सभाघरहरूमा गएर अब्राहामका परमेश्वरबारे थाह भएका व्यक्तिहरूलाई साक्षी दिए अनि हिब्रू धर्मशास्त्रबाट तिनीहरूसित तर्क गरे।—प्रेषि. ९:१९, २०; १३:५, १४-१६; १४:१; १७:१, २.

प्रेषितहरूले प्रचारकार्य सम्बन्धी निर्देशन दिन सुरुमा रोजेको ठाउँ यरूशलेम थियो। तिनीहरू नियमित तवरमा मन्दिरमा गएर सिकाउँथे। (प्रेषि. १:४; २:४६; ५:२०) कहिलेकाहीं पावल यरूशलेम जान्थे र त्यहीं छँदा तिनलाई हिरासतमा लिइयो। यसरी सुरु भएको मुद्दाले तिनलाई रोमसम्म पुऱ्यायो।

पावल र रोमी कानुन

पावलले प्रचार गरेको कुरालाई रोमी अधिकारीहरूले कुन नजरले हेर्थे? यसको जवाफ पाउनुभन्दा अघि रोमीहरू धर्मलाई कुन दृष्टिकोणले हेर्थे, त्यो विचार गरौं। रोमी राज्य वा नियमकानुनलाई खतरामा पार्ने अवस्थामा बाहेक तिनीहरू आफ्नो साम्राज्यमा बसोबास गर्ने कुनै पनि जातिलाई आफ्नो धर्म त्याग्न दबाब दिंदैनथे।

रोमी सरकारले आफ्नो साम्राज्यमा बसोबास गर्ने यहूदीहरूलाई थुप्रै अधिकार दिएको थियो। प्रारम्भिक ख्रीष्टियन धर्मको  इतिहास (अङ्‌ग्रेजी) भन्ने किताबमा यस्तो लेखिएको छ: “रोमी साम्राज्यमा यहूदीधर्मले विशेष सुविधाहरू पाएको थियो। यहूदीहरू आफ्नो धर्म मान्न स्वतन्त्र थिए। तिनीहरूले रोमी साम्राज्यका देवीदेवतालाई पूजा गर्नुपर्दैनथ्यो। तिनीहरूले आफ्नो समुदायमा आफ्नै नियमकानुन लागू गर्न सक्थे।” तिनीहरूले सैन्य सेवामा पनि भाग लिनु पर्दैन थियो। * पावलले रोमी अधिकारीहरूसामु आफ्नो ख्रीष्टियन विश्वासको पक्षमा बोल्न रोमी सरकारले यहूदीहरूका लागि दिएको सुविधा प्रयोग गर्ने थिए।

प्रेषित पावलका शत्रुहरूले सर्वसाधारणलाई अनि उच्च पदाधिकारीहरूलाई तिनीविरुद्ध भड्‌काउन अनेकौं चालहरू चले। (प्रेषि. १३:५०; १४:२, १९; १८:१२, १३) एउटा घटना विचार गर्नुहोस्। पावलले “मोशाको व्यवस्थाविपरीत कुराहरू सिकाएर धर्मत्याग फैलाउँदै” छ भन्ने हल्ला यहूदीहरूमाझ चलेको थियो। यो कुरा यरूशलेमको मण्डलीका एल्डरहरूको कानमा पनि पुगेको थियो। यस्तो हल्लाले भर्खरै यहूदी बनेका ख्रीष्टियनहरूको नजरमा पावल परमेश्वरको प्रबन्धलाई अनादर गर्ने व्यक्ति भन्ने छाप पर्न सक्थ्यो। साथै यहूदी न्याय परिषद्‌ले पनि ख्रीष्टियनहरूलाई यहूदी धर्मका विरोधीहरू भन्न सक्थ्यो। त्यसो हो भने ख्रीष्टियनहरूसित सङ्‌गत गर्ने यहूदीहरूले सजाय पाउनेथिए। तिनीहरू समाजबाट बहिष्कृत हुन सक्थे अनि मन्दिर र सभाघरमा साक्षी दिनदेखि तिनीहरूलाई प्रतिबन्ध लगाइन सक्थ्यो। यसकारण एल्डरहरूले पावललाई त्यो हल्ला झूटो हो भनेर देखाउन मन्दिरमा गएर परमेश्वरले माग नगरेको तर निषेध पनि नगरेको कुनै एउटा विधि पालन गर्ने सल्लाह दिए।—प्रेषि. २१:१८-२७.

पावलले एल्डरहरूले भनेअनुसारै गरे जसले गर्दा ‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्ने’ मौका मिल्यो। (फिलि. १:७) मन्दिरमा यहूदीहरूले हुलदङ्‌गा गरे अनि पावललाई मार्न खोजे। त्यसपछि रोमी सेनापतिले पावललाई हिरासतमा लिए। आफूलाई कोर्रा लगाउन आँटेको बेलामा पावलले आफू रोमी नागरिक भएको कुरा बताए। त्यसपछि तिनलाई सिजरिया लगियो, जुन ठाउँबाट रोमीहरूले यहूदामा शासन गर्थे। त्यहाँ पुगेपछि पावलले उच्च अधिकारीसामु साहसी भई साक्षी दिने मौका पाउनेथिए। यसले गर्दा ख्रीष्टियन धर्मबारे पहिला थाह नपाएका मानिसहरूले पनि यसबारे राम्ररी बुझ्ने मौका पाउनेथिए।

प्रेषित अध्याय २४ मा पावलले रोमी राज्यपाल फेलिक्ससामु बयान दिएको विवरण पाउँछौं। फेलिक्सले योभन्दा पहिला पनि ख्रीष्टियनहरूको बारेमा केही कुरा सुनिसकेका थिए। पावलले कम्तीमा तीन वटा तरिकामा रोमी नियम उल्लङ्‌घन गरेको आरोप यहूदीहरूले लगाएका थिए। पावलले पूरै रोमी साम्राज्यका यहूदीहरूलाई विद्रोह गर्न उक्साउँदै छन्‌, तिनले खतरनाक गुट खडा गरेको छ अनि रोमको मातहतमा रहेको मन्दिरलाई बिटुलो पार्ने दुष्प्रयास गरेको छ भनेर तिनीहरूले आरोप लगाए। (प्रेषि. २४:५, ६) यस्तो आरोपले गर्दा पावलले मृत्युदण्डसम्म पाउन सक्थ्यो।

त्यस्ता आरोप लगाइँदा पावलले के गरे, त्यस विषयमा अहिलेका ख्रीष्टियनहरूले ध्यान दिनुपर्छ। तिनी शान्त रहे र आदरपूर्ण व्यवहार गरे। तिनले मोशालाई दिइएको व्यवस्था र भविष्यवक्ताहरूको कुरा उल्लेख गरे अनि आफ्ना “पुर्खाहरूको परमेश्वरलाई” उपासना गर्ने अधिकार पाउनुपर्छ भने। किनभने रोमी नियमअनुसार अरू यहूदीहरूले यस्तो अधिकार पाएका थिए। (प्रेषि. २४:१४) पछि पावलले अर्का राज्यपाल पोर्सिअस फेस्तस अनि राजा हेरोद अग्रिपासामु आफ्नो विश्वासको पक्षमा बोल्न सके।

अन्तमा तिनले न्याय पाउन त्यतिबेलाका सबैभन्दा शक्तिशाली शासकलाई अपिल गर्दै यसो भने: “म सम्राट्‌लाई अपिल गर्छु!”—प्रेषि. २५:११.

सम्राटसामु पावलको पुर्पक्ष

स्वर्गदूतले पावललाई यसो भने: “तिमी सम्राट्‌सामु खडा हुनै पर्छ।” (प्रेषि. २७:२४) रोमी सम्राट्‌ नेरोले शासन थालेको सुरुतिर नै सबै मुद्धामामिलाहरू आफूले नहेर्ने भनेर बताएका थिए। सम्राट्‌ भइसकेपछि तिनले सुरुको आठ वर्षसम्म प्रायजसो काम अरूलाई नै लगाए। सन्त पावलको जीवन र पत्र (अङ्‌ग्रेजी) भन्ने किताबमा लेखेअनुसार नेरोले कुनै मुद्दा आफूले फैसला गर्ने हो भने आफ्नै महलमा सुनुवाइ गर्थे। यसरी फैसला सुनाउँदा तिनको चारैतिर तिनका अनुभवी र प्रभावशाली सल्लाहकारहरू हुन्थे।

पावलको मुद्दा नेरो आफैले हेरेका हुन्‌ या तिनले अरू कसैलाई सुनुवाइ गर्न अह्राएर पछि आफूलाई रिपोर्ट गर्न भनेका  हुन्‌, त्यस विषयमा बाइबलमा केही बताइएको छैन। कुरा जेसुकै होस्, पावलले पक्कै पनि आफूले यहूदीहरूका परमेश्वरको उपासना गरेको बताएको हुनुपर्छ अनि सबै मानिसलाई सरकारको आदर गर्न आग्रह गरेको हुनुपर्छ। (रोमी १३:१-७; ती. ३:१, २) उच्च ओहदाका मानिसहरूसामु सुसमाचारको पक्षमा बोल्दा परिणाम राम्रो भयो। किनभने सम्राट्‌ले पावललाई कैदबाट मुक्त गरे।—फिलि. २:२४; फिले. २२.

सुसमाचारको पक्षमा बोल्न दिइएको आज्ञा

येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ। अनि तिमीहरूले तिनीहरूलाई र जाति-जातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ।” (मत्ती १०:१८) यसरी येशूको प्रतिनिधित्व गर्न पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। सुसमाचारको पक्षमा बोल्न पहल गऱ्यौं भने हामीले कानुनी जित हासिल गर्न सक्छौं। त्रुटिपूर्ण मानिसहरूको प्रयासले सुसमाचारलाई पूर्ण अर्थमा ‘कानुनी मान्यता’ दिन सक्दैन। परमेश्वरको राज्यले मात्र थिचोमिचो अनि अन्यायबाट पूर्णतया स्वतन्त्रता दिनेछ।—उप. ८:९; यर्मि. १०:२३.

अहिले पनि ख्रीष्टियनहरूले आफ्नो विश्वासको पक्षमा बोल्दा यहोवाको नामको महिमा हुन्छ। हामी पावलजस्तै शान्त हुने, सत्य कुरा गर्ने र जोडदार ढङ्‌गमा तर्क पेस गर्ने प्रयास गर्नुपर्छ। येशूले आफ्ना चेलाहरूलाई कसरी सफाइ दिने भनेर पहिल्यै तयारी गर्नु पर्दैन भने बताउनुभयो। सबै विपक्षीहरूले खण्डन गर्न नसक्नेगरि बोल्नको लागि ‘हाम्रो मुखमा वचन हालिदिनेछु र बुद्धि दिनेछु’ भनेर उहाँले भन्नुभयो।—लूका २१:१४, १५; २ तिमो. ३:१२; १ पत्रु. ३:१५.

हामीलाई थाह छ, राजा, राज्यपाल वा उच्च पदाधिकारीहरूलाई भेट्‌न निकै गाह्रो हुन्छ। तर ख्रीष्टियनहरूले तिनीहरूसामु आफ्नो विश्वासको विषयमा सफाइ दिंदा तिनीहरूले पनि साक्षी पाइरहेका हुन्छन्‌। अदालतहरूमा हाम्रो पक्षमा फैसला हुँदा कुनै-कुनै नियममा समेत छाँटकाँट गरिएको छ; आफ्नो विश्वासबारे बताउने र आफ्नो धर्म मान्न पाउने स्वतन्त्रता सुनिश्‍चित भएको छ। मुद्दामामिलाको परिणाम जेसुकै होस्, कठिन अवस्थामा आफ्ना सेवकहरूले देखाएको साहस देखेर यहोवा खुसी हुनुहुन्छ।

आफ्नो विश्वासको पक्षमा बोल्दा हामीले यहोवाको नाम उच्च पारिरहेका हुन्छौं

^ अनु. 8 लेखक जेम्स पार्क्सले यस्तो लेखे: ‘यहूदीहरूले आफ्ना उत्सवहरू मनाउने छुट पाएका थिए। तर यस्तो छुट दिनु कुनै विशेष कुरा थिएन। किनभने रोमी सरकारले आफ्नो साम्राज्यभित्र पर्ने विभिन्न इलाकालाई यथासम्भव स्वायत्त क्षेत्रको रूपमा चल्न दिने चलन थियो।’