सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  मे २०१६

सरकारी कर्मचारीहरूसँग व्यवहार गर्दा ख्रीष्टियनहरूले बाइबल सिद्धान्तद्वारा तालिम पाएको अन्तस्करण प्रयोग गर्नुपर्छ

पाठकहरूको प्रश्न

पाठकहरूको प्रश्न

सरकारी कर्मचारीलाई उपहार वा टिप्स (बक्सिस) दिनु उपयुक्त छ कि छैन भनेर थाह पाउन कुन कुराले मदत गर्छ?

यस विषयमा थुप्रै कुराहरू मनमा राख्नुपर्छ। ख्रीष्टियनहरू इमानदार हुनै पर्छ। यहोवाको नियमसित बाझिंदैन भने आफू बसेको ठाउँको नियम पालना गर्ने जिम्मेवारी पनि तिनीहरूसित छ। (मत्ती २२:२१; रोमी १३:१, २; हिब्रू १३:१८) साथै स्थानीय चलन वा मानमर्यादाको ख्याल राख्न र ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न’ तिनीहरू सक्दो गर्छन्‌। (मत्ती २२:३९; रोमी १२:१७, १८; १ थिस्स. ४:११, १२) ख्रीष्टियनहरू जुनसुकै देशमा बसे तापनि यस्ता सिद्धान्तहरूले तिनीहरूलाई उपहार वा टिप्स (बक्सिस) दिने सन्दर्भमा सही दृष्टिकोण राख्न मदत दिनेछ।

धेरैजसो ठाउँमा कुनै काम गरिदिएबापत सरकारी कर्मचारीलाई केही पनि दिनुपर्दैन। ती कर्मचारीहरूलाई सरकारले नै तलब दिन्छन्‌ र तिनीहरू आफूले पाउनुपर्ने तलबभन्दा बढी माग पनि गर्दैनन्‌ अनि त्यस्तो कुराको आशा पनि राख्दैनन्‌। विभिन्न मुलुकमा सरकारी कर्मचारीले आफूलाई खटाइएको काम गरेबापत केही बहुमूल्य कुराको माग गर्नु वा स्वीकार्नु गैरकानुनी ठानिन्छ। अनि आफ्नो कामसित सम्बन्धित नभए पनि यदि कुनै कर्मचारीलाई उपहार दिइन्छ भने त्यसलाई पनि घुस नै ठानिन्छ। यस्तो अवस्थामा ख्रीष्टियनले सरकारी कर्मचारीलाई उपहार वा टिप्स दिन मिल्छ कि मिल्दैन भन्ने त प्रश्नै आउँदैन। त्यसकारण त्यसरी उपहार दिनु उचित होइन।

तर यस्ता नियम-कानुन नभएको मुलुकमा वा कडाइका साथ त्यस्ता नियम लागू नभएको देशमा सरकारी कर्मचारीलाई उपहार वा टिप्स दिनु ठीकै हो भन्ने सोचाइ राखिन्छ। केही मुलुकमा सरकारी अधिकारीहरूले आफ्नो ओहदाको नाजायज फाइदा उठाएर पैसा धुत्ने वा अन्य कुराको माग गर्छन्‌। साथै केही कुरा नलिएसम्म त काम गर्ने सुरसारै कस्दैनन्‌। त्यसैले विवाह दर्ता गर्ने, कर उठाउने, भवन निर्माण गर्न अनुमति दिने वा अरू त्यस्तै ओहदाका कर्मचारीहरूले टिप्सको माग गर्छन्‌। यदि तिनीहरूले टिप्स पाएनन्‌ भने जानाजानी अनेकौं बहाना बनाएर झुलाएको झुल्याइ गरिदिन्छन्‌ अनि नागरिकहरूले पाउनुपर्ने कानुनी अधिकार नै खोस्छन्‌। एउटा देशमा त आकस्मिक सेवा दिनुपर्ने वारुणकर्मीले समेत भारी टिप नलिएसम्म आगो निभाउँदैनन्‌ भनेर रिपोर्ट गरिएको छ।

कहिलेकाहीं आफूलाई सेवा दिने व्यक्तिलाई धन्यवादस्वरूप केही दिनु उपयुक्त हुन सक्छ

 माथि उल्लेख गरिएका चलनहरू व्याप्त भएको ठाउँमा कसै-कसैलाई टिप्स नदिई त कामै बन्दैन जस्तो लाग्न सक्छ। यस्ता अवस्थाहरूमा ख्रीष्टियनले टिप्स दिने कुरालाई आफूले सेवा पाउनको लागि तिर्नुपर्ने थप रकमको रूपमा हेर्न सक्छन्‌। तर भ्रष्टाचार व्याप्त भएको ठाउँमा बस्ने ख्रीष्टियनहरू भने सजग हुनै पर्छ; तिनीहरूले परमेश्वरको दृष्टिकोणमा के स्वीकार्य छ अनि के अस्वीकार्य छ भनेर स्पष्टसित बुझेको हुनुपर्छ। कानुनले कुनै रोक लगाएको छैन भने आवश्यक कामकुराको लागि टिप्स दिनु एउटा कुरा हो, तर गैरकानुनी कामकुरा गराउन टिप्स दिनु भनेको चाहिं अर्कै कुरा हो। भ्रष्टाचार व्याप्त भएको ठाउँमा कसै-कसैले हुँदै नहुने काम गराउन पनि अधिकृतलाई टिप्स दिने गर्छन्‌ वा तोकिएको जरिबाना नतिर्न प्रहरी वा सरकारी निरीक्षकलाई “टिप्स” दिने गर्छन्‌। हो, “उपहार”-को नाममा कसैलाई घुस दिनु वा लिनु दुवै गलत हो। यी दुवै कुराले न्यायलाई बिगार्छ।—प्रस्थ. २३:८; व्यव. १६:१९; हितो. १७:२३.

बाइबल सिद्धान्तअनुसार आफ्नो अन्तस्करणलाई तालिम दिएका धेरैजसो परिपक्व ख्रीष्टियनहरूलाई सरकारी कर्मचारीले टिप्स माग्दा दिन अप्ठ्‌यारो लाग्न सक्छ। त्यसरी टिप्स दिंदा भ्रष्टाचारलाई बढावा दिइरहेको जस्तो तिनीहरूलाई लाग्छ। त्यसैले कसैले टिप्सको रूपमा केही माग्दा तिनीहरू दिन इन्कार गर्छन्‌।

परिपक्व ख्रीष्टियनहरूले नियमविपरीत काम गराउनको लागि केही कुरा दिनु घुस हो भनेर बुझेका छन्‌ तर कसै-कसैलाई भने स्थानीय चलन वा परिस्थितिअनुसार आफ्नो अधिकारको कुरा पाउन अथवा काम अनावश्यक ढिलो नहोस् भनेर धन्यवादस्वरूप केही दिनु उचितै हो भन्ने लाग्न सक्छ। अर्कोतर्फ कोही-कोही ख्रीष्टियनले भने सरकारी अस्पतालमा नि:शुल्क उपचार पाइसकेपछि डाक्टर र नर्सहरूलाई धन्यवादस्वरूप उपहार दिने गर्छन्‌। आफूले दिएको उपहारलाई घुसको रूपमा नलेओस् वा विशेष सुविधा खोजेको भान नपरोस् भन्नको लागि तिनीहरू उपचार गर्नुअघि होइन तर उपचार गराइसकेपछि डाक्टर र नर्सहरूलाई उपहार दिनु उचित सम्झन्छन्‌।

हरेक देशको परिस्थिति बेग्लाबेग्लै हुने भएकोले ती सबैलाई केलाउनु त असम्भव छ। त्यसैले स्थानीय परिस्थितिलाई ध्यानमा राख्दै कुनै निर्णय गर्दा ख्रीष्टियनहरूले आफ्नो अन्तस्करण सफा राखिराख्न सकिन्छ कि सकिंदैन भन्ने कुरामा विचार पुऱ्याउनु बेस हुन्छ। (रोमी १४:१-६) उनीहरू कानुन विपरीतको कुरामा मुछिनु हुँदैन। (रोमी १३:१-७) यहोवाको नाममा कलङ्‌क लाग्ने वा अरूलाई ठक्कर पुग्ने कामबाट अलग्गै बस्नुपर्छ। (मत्ती ६:९; १ कोरि. १०:३२) साथै उनीहरूको निर्णयमा छिमेकीप्रतिको प्रेम झल्किनुपर्छ।—मर्कू. १२:३१.

 पुनर्बहालीको घोषणा गरिंदा मण्डलीले कसरी खुसी व्यक्त गर्न सक्छन्‌?

लूका अध्याय १५ मा येशूले चलाउनुभएको एउटा प्रभावकारी दृष्टान्त पाइन्छ। जसअनुसार एक जना मानिससित १०० वटा भेडा हुन्छ। तीमध्ये एउटा हराउँदा उसले ९९ वटालाई उजाडस्थानमै छोडेर हराएको त्यो एउटा भेडा “नभेट्टाउन्जेल” खोज्छ। येशू अझै भन्नुहुन्छ: “भेट्टाएपछि उसले त्यसलाई आफ्नो काँधमा राख्छ र रमाउँछ। तब घर पुगेपछि आफ्ना साथीभाइ र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छ: ‘तिमीहरू पनि मसँगसँगै रमाओ किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु।’” अन्तमा येशूले यसो भन्नुभयो: “म तिमीहरूलाई भन्छु, यसरी नै एक जना पापीले पश्‍चात्ताप गर्दा स्वर्गमा जति रमाहट हुन्छ, त्यति रमाहट परमेश्वरको स्तरबमोजिम असल काम गर्ने उनान्सय जना मानिसका लागि हुँदैन, जसलाई पश्‍चात्तापको कुनै खाँचो छैन।”—लूका १५:४-७.

प्रसङ्‌गलाई विचार गर्ने हो भने येशूले शास्त्री र फरिसीहरूको विचार सच्याउनलाई यो दृष्टान्त दिनुभएको जस्तो देखिन्छ। किनभने कर उठाउने र पापीहरूसित सङ्‌गत गरेको देखेर तिनीहरूले येशूको आलोचना गरेका थिए। (लूका १५:१-३) येशूको भनाइअनुसार पाप गर्ने व्यक्तिले पश्‍चात्ताप गर्दा स्वर्गमा ठूलो रमाहट हुन्छ। त्यसोभए एक जना पापीले पश्‍चात्ताप गर्दा, फर्कंदा र सही बाटोमा लाग्दा पृथ्वीमा भएकाहरू चाहिं रमाउनु पर्दैन र?—हिब्रू १२:१३.

कुनै व्यक्ति पश्‍चात्ताप गरेर मण्डलीमा पुनर्बहाली हुँदा हामीसित रमाउनुपर्ने हर कारण छ। हुन त त्यस व्यक्तिले अबउसो सत्यनिष्ठ भई परमेश्वरको सेवा गरिरहनुपर्छ; तर पुनर्बहाली हुनको लागि उसले पश्‍चात्तापको जुन मनोभाव देखायो, त्यो देखेर हामी निकै रमाउँछौं। त्यसैले एल्डरले पुनर्बहालीको घोषणा गर्दा स्वतःस्फूर्त र मर्यादित ढङ्‌गमा ताली बजाउनु उपयुक्त छ।

बेथस्दाको कुण्डको पानी ‘छचल्किनुको’ कारण के थियो?

बेथस्दाको कुण्डको पानी ‘छचल्किएको’ बेला त्यसमा रोग निको पार्ने शक्ति हुन्छ भनेर येशूका समयका केही यरूशलेम­बासीहरू विश्वास गर्थे। (यूह. ५:१-७) त्यसकारण बिरामी मानिसहरू त्यस कुण्डको वरपर जम्मा हुने गर्थे।

अनुसन्धानकर्ताहरूले यहूदीहरूले स्नान गर्ने एउटा कुण्ड फेला पारेका छन्‌ अनि त्यो कुण्ड बेथस्दाको कुण्ड नै हो भनेर अनुमान लगाएका छन्‌। त्यस कुण्डमा पानी कसरी भरिन्थ्यो र पानीको सतह कसरी नियन्त्रणमा राखिन्थ्यो? त्यस कुण्डसँगै पानी जम्मा गर्ने अर्को ठूलो कुण्ड थियो, त्यहाँबाट बेथस्दाको कुण्डमा पानी भरिन्थ्यो। अनुसन्धानबाट के पत्ता लाग्यो भने त्यो दुइटा कुण्डको बीचमा ठूलो बाँध थियो। बाँधमा खोल्न र बन्द गर्न मिल्ने ढोका थियो, अनि ढोका खोल्ने बित्तिकै ठूलो कुण्डको पानी मुनितिरको जलमार्ग हुँदै नुहाउने कुण्डको पिंधमा पुग्क्थ्यो। त्यही पानीको वेगले गर्दा सतहको पानी छचल्किन्थ्यो।

विभिन्न बाइबलहरूमा यूहन्ना ५:४ मा स्वर्गदूतले पानी हल्लाइदिन्थे भनी लेखिएको पाउँछौं। तर रोचक कुरा के छ भने चौथो शताब्दीको ग्रीक कोडेक्स साइनाइटिकस जस्ता भरपर्दा पाण्डुलिपिहरूमा समेत यो विवरण उल्लेख गरिएको छैन। साथै यो कुरा पनि मनमा राख्नुहोस्, ३८ वर्षदेखि बिरामी परेका बेथस्दाको मानिसलाई येशूले कुण्डमा पस्नुअघि नै निको पार्नुभएको थियो।