अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मार्च २०१६

पाठकहरूको प्रश्न

पाठकहरूको प्रश्न

परमेश्वरका जनहरू कहिले महान्‌ बेबिलोनको कैदमा परे?

इस्वी संवत्‌ दोस्रो शताब्दीदेखि सन्‌ १९१९ सम्म परमेश्वरका जनहरू आध्यात्मिक कैदमा परे। हामी केको आधारमा यो नयाँ बुझाइमा विश्वस्त हुन सक्छौं?

अभिषिक्त ख्रीष्टियनहरू सन्‌ १९१९ मा आध्यात्मिक कैदबाट मुक्त भए र त्यसपछि तिनीहरूलाई शुद्ध पारिएको ख्रीष्टियन मण्डलीमा जम्मा गरियो भनेर विभिन्न प्रमाणहरूले देखाउँछ। यो कुरा मनमा राख्नुहोस्: सन्‌ १९१४ मा स्वर्गमा परमेश्वरको राज्यको स्थापना भएपछिका वर्षहरूमा परमेश्वरका जनहरू जाँचिएका अनि शुद्ध पारिएका थिए। * (मला. ३:१-४) त्यसपछि परमेश्वरका शुद्ध पारिएका जनहरूलाई “ठीक समयमा” आध्यात्मिक भोजन दिन येशूले सन्‌ १९१९ मा “विश्वासी र बुद्धिमान्‌ दास” नियुक्त गर्नुभयो। (मत्ती २४:४५-४७) अनि त्यही वर्षदेखि नै परमेश्वरका जनहरू उहाँले दिनुभएको आध्यात्मिक भूमिमा फर्किन थाले। साथै तिनीहरूलाई महान्‌ बेबिलोनको प्रतीकात्मक कैदबाट मुक्त गरिएको समय पनि त्यही नै थियो। (प्रका. १८:४) तर प्रश्न उठ्छ, त्यो कैद वास्तवमा कहिले सुरु भयो?

विगतका केही वर्षहरूमा हामीले सन्‌ १९१८ देखि परमेश्वरका जनहरू महान्‌ बेबिलोनको कैदमा परे र थोरै समय त्यसको कब्जामा परे भनी व्याख्या गर्दै आएका थियौं। उदाहरणको लागि, मार्च १५, १९९२ को प्रहरीधरहरा-मा (अङ्ग्रेजी) यस्तो लेखिएको थियो: “पुरातन समयमा परमेश्वरका जनहरू बेबिलोनीहरूको कैदमा परेजस्तै सन्‌ १९१८ मा यहोवाका सेवकहरू त्योभन्दा पनि ठूलो कैदमा परे; तिनीहरू महान्‌ बेबिलोनको पासोमा परे।” तर थप अनुसन्धानले कैद गरिएको समय सन्‌ १९१८ भन्दा अघि नै सुरु भएको देखाएको छ।

त्यस कैदबारे अनि परमेश्वरका जनहरूको छुटकाराबारे गरिएको एउटा भविष्यवाणी विचार गरौं। त्यो भविष्यवाणी इजकिएल ३७:१-१४ मा लेखिएको छ। त्यस विवरणअनुसार इजकिएलले दर्शनमा हाडैहाडले भरिएको एउटा मैदान देख्छन्‌। ती हाडहरूले “जम्मै इस्राएलीहरू”-लाई चित्रण गर्छ भनेर यहोवाले तिनलाई बुझाउनुहुन्छ। यसको विस्तृत पुर्ति अनुसार पुनर्स्थापनासम्बन्धी यो भविष्यवाणी “परमेश्वरको इस्राएल”-माथि पनि लागू हुन्छ। (गला. ६:१६; प्रेषि. ३:२१) पछि, इजकिएलले ती हाडहरू जीवित भएको र त्यसबाट सेनाहरूको एउटा ठूलो दल बनेको देख्छन्‌। सन्‌ १९१९ मा परमेश्वरका जनहरूले पाएको आध्यात्मिक पुनर्जीवनलाई यो दर्शनले एकदमै सुहाउँदो तरिकामा वर्णन गरेको छ! तर इस्राएलीहरू लामो समयसम्म आध्यात्मिक कैदमा पर्नेछन्‌ भन्ने कुराचाहिं यस दर्शनले कसरी प्रस्ट पार्छ?

पहिलो कुरा, त्यस विवरणमा हाडहरूलाई ‘सुकेका’ वा “साह्रै  सुकेका” भनी व्याख्या गरिएको छ। (इज. ३७:२, ११) यो कुराबाट ती हाडहरू जसका हुन्‌, तिनीहरू मरेको निकै लामो समय भइसक्यो भन्ने बुझिन्छ। दोस्रो कुरा, पुनर्स्थापना हुने काम बिस्तारै हुन्छ, एकैचोटी होइन भनेर पनि त्यस विवरणबाट बुझ्न सक्छौं। सुरुमा, त्यहाँ हुरूरूरू आवाज आयो; अनि “ती हाडहरू एकअर्कासँग जोडिन लागे।” अनि ‘तिनमा नसा र मासु’ भरिए। त्यसपछि हाड, नसा र मासुलाई छालाले ढाक्यो। अन्तमा, ‘तिनमा सास पसे, अनि तिनीहरू जीवित भए।’ त्यसपछि यहोवा परमेश्वरले पुनर्जीवित पारिएका मानिसहरूलाई तिनीहरूको आफ्नै भूमिमा बसाल्नुभयो। हो, यी सबै कुरा पूरा हुन समय चाहिन्थ्यो।—इज. ३७:७-१०, १४.

पुरातन इस्राएल राष्ट्र लामो समयसम्म कैदमा परेको थियो। ईसापूर्व ७४० देखि त्यस राष्ट्रमाथि कब्जा जमाउन थालियो; दस-गोत्रे उत्तरी राज्यको पतन भएपछि र धेरैजसोलाई निर्वासनमा लगिएपछि यो कैदको समयावधि सुरु भयो। अनि ईसापूर्व ६०७ मा यरूशलेमलाई ध्वस्त पारेपछि यहूदाको दक्षिणी राज्य पनि निर्वासनमा पऱ्यो। तर ईसापूर्व ५३७ मा केही यहूदीहरू मन्दिरको पुननिर्माण अनि शुद्ध उपासनाको पुनर्स्थापनाको लागि यरूशलेम फर्किंदा कैदको समयावधि पूरा भयो।

माथिका यी विवरणहरूले परमेश्वरका जनहरू सन्‌ १९१८-१९१९ भन्दा लामो समयसम्म महान्‌ बेबिलोनको कैदमा परेका थिए भनेर प्रस्ट पार्छ। आध्यात्मिक इस्राएल कैदमा पर्ने अनि प्रतीकात्मक सामा र गहुँरूपी “राज्यका सन्तान” सँगसँगै बढ्ने काम एकै समयमा पूरा भयो। (मत्ती १३:३६-४३) यो समयमा साँचो ख्रीष्टियनहरूभन्दा धर्मत्यागीहरूको सङ्ख्या धेरै थियो। ख्रीष्टियन हुँ भनी दाबी गर्ने थुप्रैले झूटा शिक्षाहरू अपनाए। फलस्वरूप, ख्रीष्टियन मण्डली महान्‌ बेबिलोनको कैदमा पऱ्यो। त्यो कैदको समयावधि इस्वी संवत्‌ दोस्रो शताब्दीतिर सुरु भयो र अन्तको समयमा आध्यात्मिक मन्दिर सफा नपारुन्जेलसम्म चल्यो।—प्रेषि. २०:२९, ३०; २ थिस्स. २:३, ६; १ यूह. २: १८, १९.

आध्यात्मिक कैदको त्यो समयावधिभरि आफ्नो शक्ति कायमै राख्न चाहने पादरीहरू र तिनीहरूका राजनैतिक साझेदारहरूले परमेश्वरको वचनलाई मानिसहरूबाट टाढै राख्न खोजे। आफूसित बाइबल प्रति राख्नु वा स्थानीय भाषामा बाइबल पढ्नु प्रायजसो अपराध ठानिन्थ्यो। त्यसरी बाइबल पढ्नेहरूलाई खाँबोमा झुन्ड्याएर जलाउने समेत गरिन्थ्यो। पादरीहरूले सिकाएको भन्दा विपरीत राय राख्नेहरूलाई निर्मम व्यवहार गरिन्थ्यो। यसरी सत्यको ज्योति फैलाउने हरेक प्रयासलाई असफल बनाइएको थियो।

इजकिएलको दर्शनबाट हामी अर्को कुरा पनि बुझ्न सक्छौं। त्यो हो: परमेश्वरका जनहरू पुनर्जीवित हुने वा झूटो धर्मबाट मुक्त हुने प्रक्रिया तुरुन्तै नभई क्रमिक रुपमा, बिस्तारै भयो। यो प्रक्रिया अन्तको समय नआउन्जेल “हुरूरूरू आवाज” सँगै शताब्दीयौंको दौडान पूरा भयो। झूटा धार्मिक शिक्षाहरूले थुप्रैलाई अधीनमा पारे पनि केही विश्वासी व्यक्तिहरू भने साँचो उपासनाको  पक्षमा आफूले सकेजति गर्न खडा भए। कसै-कसैले सर्वसाधारणले बुझ्ने भाषामा बाइबल निकाल्न निकै प्रयास गरे। अरूले भने परमेश्वरको वचनबाट आफैले फेला पारेको सत्य अरूलाई जाहेर गरे।

सन्‌ १८७० तिर, बाइबलका थुप्रै आधारभूत सत्य उजागर गर्न चार्ल्स टेज रसल र तिनका सहयोगीहरू जोसिलो भई लागे। यो कुरा प्रतीकात्मक मासु र छालाले आध्यात्मिक कंकालहरू ढाकिनुजस्तै थियो। असल मन भएका मानिसहरूलाई बाइबलमा भएका थुप्रै सत्य पत्ता लगाउन जायन्स वाचटावर (अङ्ग्रेजी) र अरू प्रकाशनले मदत गऱ्यो। पछि सन्‌ १९१४ मा तयार पारिएको “सृष्टिसम्बन्धी फोटो-चलचित्र” (अङ्ग्रेजी) र सन्‌ १९१७ मा प्रकाशित टुंगिएको रहस्य (अङ्ग्रेजी) नामक किताबले पनि परमेश्वरका जनहरूलाई बलियो पाऱ्यो। अन्तत: सन्‌ १९१९ मा परमेश्वरका जनहरूले एक अर्थमा आध्यात्मिक जीवन पाए। त्यसपछि तिनीहरूलाई तिनीहरूको आफ्नै नयाँ आध्यात्मिक भूमिमा बसालियो। समय बित्दै जाँदा बाँकी रहेका अभिषिक्त जनहरूलाई पार्थिव आशा भएकाहरूले साथ दिंदै गए र अहिले तिनीहरू “एक अत्यन्त ठूलो दल” भएका छन्‌।—इज. ३७:१०; जक. ८:२०-२३. *

यी तथ्यहरूलाई विचार गर्दा, दोस्रो शताब्दीमा धर्मत्याग बढ्न थालेपछि परमेश्वरका जनहरू महान्‌ बेबिलोनको कैदमा परेको कुरा स्पष्ट हुन्छ। निर्वासनमा लगिएका पुरातन इस्राएलीहरूले अनुभव गरेजस्तै यो समय पनि प्रतीकात्मक रूपमा अन्धकारमय समय थियो। शताब्दीयौंको दौडान परमेश्वरका जनहरूलाई आध्यात्मिक रुपमा दबाइएको भए तापनि अहिले हामी ‘बुद्धिमान्‌हरू चम्कने’ अनि ‘धेरै जना शुद्ध पारिने र खारिने’ समयमा बाँच्न पाएका छौं। यो हाम्रो लागि कत्ति खुसीको कुरा हो, सोच्नुहोस् त!—दानि. १२:३, १०, NRV.

येशूलाई प्रलोभनमा पार्दा के सैतानले उहाँलाई साँच्चै मन्दिरमा लगेको थियो?

सरल शब्दमा भन्नुपर्दा, येशू साँच्चै मन्दिरमा पुग्नुभएको हो अथवा त्यहाँ पुगेको दर्शन मात्र देख्नुभएको हो, त्यो हामी पक्कासित भन्न सक्दैनौं। यी दुवै सम्भाव्य कुरा हुन्‌ भनेर बेला-बेलामा हाम्रा प्रकाशनहरूमा उल्लेख गरिएको पाइन्छ।

सबैभन्दा पहिला बाइबल विवरण के भन्छ, विचार गरौं। सुसमाचारको विवरणमा प्रेषित मत्ती यस घटनाबारे यसरी लेख्न उत्प्रेरित भए: “त्यसपछि दियाबलले उहाँलाई [येशू] पवित्र सहरमा लग्यो र मन्दिरको पर्खालको टुप्पोमा राख्यो।” (मत्ती ४:५) यही घटनालाई लूकाको विवरणमा यसरी लेखिएको छ: “त्यसपछि त्यसले उहाँलाई यरूशलेममा लग्यो र मन्दिरको पर्खालको टुप्पोमा राख्यो।”—लूका ४:९.

विगतमा हाम्रा प्रकाशनहरूमा यो घटना वास्तवमै घटेको नहुन सक्छ भनेर तर्क गरिएको थियो। उदाहरणको लागि, मार्च १, १९६१ को प्रहरीधरहरा-मा (अङ्ग्रेजी) यस्तो लेखिएको थियो: “उजाडस्थानमा येशूलाई प्रलोभनमा पारिएको सबै विवरणलाई शाब्दिक अर्थ लगाउनु त्यति तार्किक देखिंदैन। वास्तवमा भन्ने हो भने, कसैलाई ‘संसारका सबै राज्य र त्यसको गौरव’ देखाउन मिल्ने यस्तो कुनै पर्वत नै छैन। त्यसैले सैतानले येशूलाई साँच्चै नै, अर्थात्‌ शाब्दिक रूपमै ‘पवित्र सहरमा अनि मन्दिरको पर्खालको टुप्पोमा’ लगेको थिएन भन्ने निष्कर्षमा पुग्नु जायज देखिन्छ। वास्तवमा त्यो प्रलोभनलाई सशक्त बनाउन त्यस्तो केही गरिराख्नुपर्ने आवश्यकता नै थिएन।” तर त्यसपछिका प्रहरीधरहरा-का अङ्कहरूमा चाहिं सैतानको कुरा सुनेको भए येशूले आत्महत्या गरेको हुनेथियो  भनेर बताइएको थियो, जुन कुराले सैतान र येशू साँच्चै नै अग्लो ठाउँमा गएका थिए भनेर सङ्केत गर्छ।

येशू लेवी कुलको नभएकोले उहाँलाई मन्दिरको टुप्पोमा जाने कुनै अधिकार थिएन भनेर कसै-कसैले बताएका छन्‌। यो कारणले गर्दा पनि येशूलाई मन्दिरमा लगिएको दर्शन मात्र देखाइएको हो भन्ने अनुमान गरिएको थियो। सयौं वर्षअघि अगमवक्ता इजकिएललाई पनि दर्शन मार्फत मन्दिर लगिएको थियो।—इज. ८:३, ७-१०; ११:१, २४; ३७:१, २.

यदि सैतानले येशूलाई दर्शन मार्फत यस्तो प्रलोभन देखाएको हो भने निम्न प्रश्नहरू खडा हुन्छन्‌:

  • त्यो प्रलोभन वास्तविक थियो कि काल्पनिक?

  • अरू प्रलोभनमा येशूलाई साँच्चैको ढुङ्गालाई रोटीमा परिणत गर्न र ‘घोप्टो परेर सैतानलाई ढोग्न’ लोभ्याइएको हो भने यो प्रलोभनमा पनि येशू साँच्चै मन्दिरबाट हाम फाल्नुपर्ने थिएन र?

अर्कोतर्फ, येशू साँच्चै ‘मन्दिरको पर्खालको टुप्पोमा’ उभिनुभएको हो भने यस्ता प्रश्नहरू खडा हुन्छन्‌:

  • मन्दिरको टुप्पोमा उभिएर के येशूले व्यवस्थाको नियम तोड्नुभयो?

  • येशू उजाडस्थानबाट यरूशलेमसम्म कसरी पुग्नुभयो?

थप अनुसन्धानले हामीलाई केही सम्भाव्य कुराहरू विचार गर्न र पछिल्ला दुई प्रश्नहरूको जवाफ पाउन मदत दिन सक्छ।

पहिलो कुरा, बाइबलको दुवै विवरणमा “मन्दिर” भनी अनुवाद गरिएको ग्रीक शब्दले (हि..रोन) “विशेष गरी मन्दिरको भवनलाई मात्र नभई सम्पूर्ण मन्दिर हातालाई नै बुझाउँछ” भनी प्राध्यापक डि. ए. कार्सनले उल्लेख गरे। त्यसैले येशू मन्दिरको भवनमाथि नउभिनुभएको हुन सक्छ। उहाँ मन्दिर हाताको दक्षिण-पूर्वतिर पर्ने कुनामा उभिनुभएको हुन सक्छ। त्यस ठाउँबाट किद्रोन खोल्सा झण्डै ४५० फीट तल पर्थ्यो। मन्दिर हाताको दक्षिण-पूर्वतिर पर्ने त्यो कुनामा बार हालेको सम्म छत थियो र त्यो मन्दिर हाता भित्रकै सबैभन्दा अल्गो भाग थियो। यदि कुनै व्यक्तिले त्यस ठाउँमा उभिएर तलतिर हेऱ्यो भने उसलाई “रिङ्गटा लाग्नसक्छ” भनेर पुरातन इतिहासकार जोसेफसले बताए। येशू लेवी कुलको नभए तापनि उहाँ त्यो ठाउँमा जान सक्नुहुन्थ्यो र त्यसो गर्दा कुनै आज्ञा उल्लङ्घन गरेको पनि हुँदैनक्थ्यो।

अर्को प्रश्न थियो: प्रलोभन आइपर्दा येशू उजाडस्थानमा हुनुहुन्थ्यो भने उहाँलाई कसरी मन्दिरमा लगियो त? यसबारे हामी किटेर ‘यही हो’ भन्न सक्दैनौं। याद गर्नुहोस्, बाइबलमा प्रलोभनहरूबारे छोटो विवरण मात्र दिइएको छ; त्यो प्रलोभन देखाइएको घटना कति लामो थियो अनि येशू उजाडस्थानको कतातिर हुनुहुन्थ्यो, त्यसबारे बाइबलमा केही बताइएको छैन। त्यसैले केही समय लाग्ने भए पनि येशू हिंडेरै यरूशलेमसम्म जानुभएको हुन सक्छ भन्ने तथ्यलाई हामी नकार्न सक्दैनौं। अनि अर्को कुरा, प्रलोभन आइपर्दाको पूरै समयावधि येशू उजाडस्थानमै हुनुहुन्थ्यो भन्ने कुरा पनि विवरणमा किटेरै बताइएको छैन। त्यसमा त येशू यरूशलेम लगिनुभयो भन्ने कुरा मात्र बताइएको छ।

त्यसोभए येशूलाई “संसारका सबै राज्य”-हरू देखाइएको प्रलोभनबारे चाहिं के भन्न सकिन्छ नि? येशूले साँच्चै नै सबै राज्य देख्नुभएको त थिएन; वास्तवमा यस्तो कुनै पर्वत नै छैन, जहाँबाट संसारका सबै राज्य देख्न सकिन्छ। त्यसैले प्रोजेक्टर र पर्दाको प्रयोग गरेर कसैलाई पृथ्वीका विभिन्न ठाउँको तस्बिर देखाएजस्तै सैतानले पनि ती सबै राज्य दर्शनद्वारा देखाएको हुन सक्छ। तर दर्शन प्रयोग गरे पनि “ढोग्ने” कुरा त वास्तविक थियो; काल्पनिक होइन। (मत्ती ४:८, ९) त्यसो हो भने, यस्तो तर्क गरिएला: मन्दिरको टुप्पोबाट साँच्चै हाम फाल्दा जुन गम्भीर परिणाम निस्कन सक्थ्यो, दर्शन मात्र देखेको भए यो प्रलोभन त्यति गम्भीर हुने थिएन।

वास्तवमा, यस विषयमा हामी तोकेरै केही भन्न सक्दैनौं। त्यसैले येशू साँच्चै यरूशलेम जानुभयो र ‘मन्दिरको टुप्पोमा’ उभिनुभयो भन्ने कुरालाई पनि हामी नकार्न सक्दैनौं। तर ती प्रलोभनहरू वास्तविक थिए अनि येशूले हरेक पटक दियाबललाई अचूक जवाफ दिनुभयो भन्ने कुरामा चाहिं हामी पक्का छौं।

^ अनु. 1 इजकिएल ३७:१-१४ र प्रकाश ११:७-१२ मा पाइने दुवै विवरणले सन्‌ १९१९ मा पूरा भएको आध्यात्मिक पुनर्स्थापनाबारे बताउँछ। तर यी दुई विवरणमा भिन्नता पनि छ। इजकिएलको भविष्यवाणीले लामो समयपछि कैदबाट छुटेका परमेश्वरका सम्पूर्ण जनहरूको आध्यात्मिक पुनर्स्थापनाबारे कुरा गर्छ। प्रकाशको किताबमा गरिएको भविष्यवाणीले चाहिं केही समयका लागि कैदमा परेका नेतृत्व लिने अभिषिक्त भाइहरूको सानो समूहले पाउने आध्यात्मिक पुनर्जीवनलाई सङ्केत गर्छ।