अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मार्च २०१६

हाम्रा दाजुभाइ दिदीबहिनीको व्यावहारिक, भावनात्मक अनि आध्यात्मिक आवश्यकता बुझ्ने प्रयास गर्नुहोस्

आफ्नै मण्डलीमा केही गर्न सक्नुहुन्छ कि?

आफ्नै मण्डलीमा केही गर्न सक्नुहुन्छ कि?

स्वर्ग जानुअघि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) यो कुनै चानचुने काम थिएन। तैपनि प्रथम शताब्दीका ख्रीष्टियनहरूले यो काम कसरी पूरा गर्ने थिए?

अक्सफोर्ड विश्वविद्यालयका एक जना प्राध्यापक मार्टिन गुडम्यानले यसो भने, “अरू ठाउँमा गएर सेवा गर्ने मनोवृत्तिले गर्दा ख्रीष्टियनहरू अरू सबै धर्मका मानिसहरूभन्दा बेग्लै देखिन्थे। सुरु-सुरुतिरको रोमी साम्राज्यभरि अरू त्यस्तो कुनै समूह थिएन; यहूदीहरू समेत त्यस्ता थिएनन्‌।” प्रचार गर्न येशू विभिन्न ठाउँमा जानुभयो। साँचो ख्रीष्टियनहरूले उहाँको उदाहरण पछ्याए। “परमेश्वरको राज्यको सुसमाचार” अरूलाई सुनाउने काममा बाइबल सत्य जान्न चाहने मानिसहरूलाई खोज्नु समावेश छ भनी तिनीहरूले बुझेका थिए। (लूका ४:४३) यही कारणले गर्दा प्रथम शताब्दीको मण्डलीमा “प्रेषितहरू” थिए, जसको शाब्दिक अर्थ पठाइएको जन अर्थात्‌ प्रतिनिधि हो। (मर्कू. ३:१४) येशूले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभएको थियो, “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।”—मत्ती २८:१८-२०.

अहिले हामीमाझ येशूका १२ जना प्रेषितमध्ये कोही पनि छैनन्‌ तर उनीहरूले जस्तै अहिले पनि यहोवाका थुप्रै सेवकले अरू ठाउँमा गएर सेवा गर्ने जोस अर्थात्‌ मिसनरी मनोवृत्ति देखाएका छन्‌। प्रचारकार्यलाई फैलाउने निम्तो पाउँदा तिनीहरू यसरी जवाफ दिन्छन्‌, “म हाजिर छु। मलाई पठाउनुहोस्।” (यशै. ६:८) प्रचारकार्यको लागि कोही-कोही कोसौं टाढा बसाइँ सरेका छन्‌; जस्तै गिलियड स्कुलबाट स्नातक भएका हजारौं सेवकहरू अन्य मुलुकमा सेवा गर्न गएका छन्‌। अरू कतिपयले भने आफ्नै देशको आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गरेका छन्‌। त्यहाँका मानिसहरूको आवश्यकतालाई विचार गरेर उक्त मण्डली अनि समूहको भाग बन्न धेरैले त्यहाँको भाषा सिकेका छन्‌। आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सरेकाहरूलाई अथवा नयाँ भाषा सिक्नेहरूलाई पक्कै पनि सजिलो थिएन होला। यहोवा अनि  छिमेकीप्रति प्रेम देखाउन तिनीहरूले आत्मत्यागी मनोभाव देखाउनु परेको हुन सक्छ। सबै कुरा राम्ररी विचार गरेपछि तिनीहरू मदत गर्न तयार भएका हुन्‌। (लूका १४:२८-३०) यस्तो कदम चालेका दाजुभाइ अनि दिदीबहिनीले आवश्यकता धेरै भएको ठाउँमा गएर त्यहाँको खाँचो पूरा गरिरहेका छन्‌।

तर सबैको परिस्थिति एउटै हुँदैन। आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सर्ने वा नयाँ भाषा सिक्ने अवस्थामा सबै जना हुँदैनन्‌। त्यसैले के हामी आफ्नै मण्डलीमा मिसनरी मनोभाव देखाउन सक्छौं?

आफ्नै मण्डलीमा मिसनरी बन्नुहोस्

आफ्नो अवस्थाको पूरापूर सदुपयोग गर्दै अरूलाई सक्दो सहयोग गर्नुहोस् . . .

प्रथम शताब्दीका ख्रीष्टियनहरूले आफू हुर्के-बढेको ठाउँमै बसेर पनि मिसनरी मनोभाव देखाए। तर तिमोथीलाई दिइएको यो सल्लाह तिनीहरूलगायत परमेश्वरका सबै सेवकहरूलाई लागू हुन्छ, “प्रचारकको काम गर र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।” (२ तिमो. ४:५) राज्यको सन्देश प्रचार गर्ने अनि चेला बनाउने आज्ञा सबै ख्रीष्टियनहरूलाई लागू हुन्छ, चाहे तिनीहरू जहाँसुकै बसेका किन नहोऊन्‌। हामी आफ्नै मण्डलीमा पनि विभिन्न तरिकामा मिसनरीको जस्तै मनोभाव देखाउन सक्छौं।

उदाहरणको लागि, एक जना मिसनरीले विदेशी भूमिमा सेवा गर्दा नयाँ वातावरणमा घुलमिल हुनुपर्ने हुन्छ किनकि नयाँ जिम्मेवारी सँगसँगै तिनको अवस्था पनि परिवर्तन हुन्छ। तर हामी आवश्यकता धेरै भएको ठाउँमा जान सक्दैनौं भने चाहिं के गर्ने नि? अनि के हामी ‘आफ्नो मण्डलीको इलाकाबारे सबै कुरा थाह छ’ भन्ने अवस्थामा छौं र? अथवा मानिसहरूलाई प्रचार गर्न हामी नयाँ तरिका अपनाउन पो सक्छौं कि? सन्‌ १९४० को कुरा विचार गर्नुहोस्। त्यतिबेला प्रत्येक हप्ता एक दिन सडक साक्षी गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिइएको थियो। तपाईं पनि त्यस्तै केही गर्न सक्नुहुन्छ कि? अथवा ट्रलीमार्फत साक्षी दिने प्रयास गरे कसो होला? मुख्य कुरा, आफूलाई नयाँ लागे पनि के तपाईं यीमध्ये कुनै एउटा तरिकामा प्रचार गर्न सक्नुहुन्छ?

‘प्रचारकको काम गर्न’ अरूलाई प्रोत्साहन दिएर

जेहोस्, प्रचारकार्यप्रति सकारात्मक मनोवृत्ति राख्यौं भने हामी उत्साहित र जोसिलो हुनेछौं। राजीखुसीले आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्नेहरू अथवा अर्कै भाषा बोलिने इलाकामा सेवा गर्न जाने प्रकाशकहरू प्रायजसो योग्य नै हुन्छन्‌। तिनीहरूले प्रचारकार्यमा नेतृत्व लिंदा धेरै जनाको लागि तिनीहरू आशिष्‌ साबित हुन सक्छन्‌। साथै स्थानीय दाजुभाइहरू जिम्मेवारी सम्हाल्न योग्य नहोउन्जेल मिसनरीहरूले मण्डलीमा कामकुरा मिलाउन नेतृत्व लिने गर्छन्‌। यदि तपाईं बप्तिस्माप्राप्त पुरुष हुनुहुन्छ भने के तपाईं आफ्नो मण्डलीका दाजुभाइ दिदीबहिनीको राजीखुसीका साथ सेवा गर्न ‘अघि बढ्दै’ हुनुहुन्छ?—१ तिमो. ३:१.

 बल दिने मदतगार’ हुनुहोस्

व्यावहारिक मदत दिएर

जोसिलो भई प्रचारकार्यमा भाग लिएर अनि मण्डलीमा जिम्मेवारीहरू सम्हालेर अनि अन्य तरिकामा पनि आफ्नो मण्डलीलाई मदत गर्न सकिन्छ। जवान होस् या वृद्ध, पुरुष होस् या स्त्री, सबै जना नै खाँचोमा परेका दाजुभाइ दिदीबहिनीको लागि ‘बल दिने मदतगार’ हुन सक्छन्‌।—कल. ४:११.

मण्डलीका दाजुभाइ दिदीबहिनीलाई मदत गर्ने हो भने हामीले तिनीहरूलाई राम्ररी चिनेको हुनै पर्छ। एक ठाउँमा भेला हुँदा “आपसमा गहिरो चासो” राख्न बाइबलले हामीलाई सल्लाह दिन्छ। (हिब्रू १०:२४) “आपसमा गहिरो चासो” राख भन्नुको मतलब हाम्रा दाजुभाइ दिदीबहिनीको कामकुरामा हात नहाली हामीले उनीहरूलाई चिन्नु अनि उनीहरूको आवश्यकतालाई बुझ्नु हो। उनीहरूलाई हामीले व्यावहारिक, भावनात्मक अनि आध्यात्मिक मदत दिनुपर्ने हुन सक्छ। दाजुभाइ दिदीबहिनीलाई मदत गर्नु एल्डर अनि सहायक सेवकको मात्र जिम्मेवारी होइन। हो, कुनै-कुनै अवस्थामा एल्डर अनि सहायक सेवकले नै मदत दिनुपर्ने पनि हुन सक्छ। (गला. ६:१) तर हामी सबैले नै समस्या झेलिरहेका वृद्धहरू अनि गाह्रो अवस्थामा परेका परिवारको हरेक सदस्यलाई मदत गर्न सक्छौं।

जीवनका फिक्रीहरूसित सङ्घर्ष गरिरहेकालाई भावनात्मक मदत दिएर

उदाहरणको लागि, भाइ साल्भाटोरलाई लिनुहोस्। तिनले आर्थिक मार खेप्नुपऱ्यो; तिनले आफ्नो व्यवसाय, घर अनि धेरैजसो मालसामानसमेत बेच्नुपऱ्यो। परिवारले यो सब कसरी सामना गर्ला भन्ने चिन्ताले तिनलाई पिरोलिरहेको थियो। मण्डलीमा भएको अर्को परिवारले तिनको यो परिस्थिति बुझेर आर्थिक सहयोग गरे; साल्भाटोर र तिनकी श्रीमतीलाई काम खोज्न मदत गरे; पूरै परिवारको कुरा सुन्दै अनि तिनीहरूलाई प्रोत्साहन दिंदै थुप्रै साँझ बिताए। तिनीहरू एकदमै मिल्ने साथी भए। वर्षौं बितिसक्यो तर अहिले पनि तिनीहरूको मित्रता उस्तै छ। सुरुमा तिनीहरूलाई चिन्ता अनि फिक्रीले गाँजे तापनि अहिले दुवै परिवारले विगतलाई फर्केर हेर्दा आफूहरूले सँगै बिताएको रमाइलो पल सम्झन्छन्‌।

साँचो ख्रीष्टियनहरूले आफूले मानिरहेको धर्मलाई आफूमै मात्र सीमित राख्दैनन्‌। येशूले जस्तै हामीले पनि बाइबलमा दिइएको सुन्दर आशाबारे सबैलाई बताउनुपर्छ। आवश्यकता धेरै भएको ठाउँमा जाने अवस्था होस् या नहोस्, हामी सबैको भलाइ हुने काम गर्न यथाशक्य गर्न सक्छौं। अनि यो कुरा हामी आफ्नै मण्डलीमा लागू गर्न सक्छौं। (गला. ६:१०) यसो गरेर हामीले दिंदा पाइने आनन्द अनुभव गर्न सक्नेछौं अनि ‘हर किसिमको असल कामको फल फलाउन’ मदत पाउनेछौं।—कल. १:१०; प्रेषि. २०:३५.