सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  फेब्रुअरी २०१७

 जीवनी

परमेश्वरले हामीलाई विभिन्न तरिकामा असीम अनुग्रह देखाउनुभयो

परमेश्वरले हामीलाई विभिन्न तरिकामा असीम अनुग्रह देखाउनुभयो

मेरो बुबाको नाम अर्थर हो। उहाँ सानैदेखि परमेश्वरको डर मान्नुहुन्थ्यो। उहाँ मेथोडिस्ट चर्चको पादरी बन्न चाहनुहुन्थ्यो। तर बाइबल स्टुडेन्ट्सको साहित्य पढ्‌न र तिनीहरूसित सङ्‌गत गर्न थालेपछि उहाँको लक्ष्य परिवर्तन भयो। उहाँले सन्‌ १९१४ मा १७ वर्षको उमेरमा बप्तिस्मा गर्नुभयो। त्यतिबेला पहिलो विश्वयुद्ध चर्किरहेको थियो। त्यसैले उहाँलाई सेनामा भर्ती हुन बोलाइयो। तर उहाँले हतियार उठाउन नमान्नुभएकोले क्यानाडाको ओन्टारियोमा रहेको किङ्‌स्टन जेलमा दस महिनाको सजाय सुनाइयो। जेलबाट छुटेपछि बुबाले कल्पोर्टरको (अहिले अग्रगामी भनिन्छ) रूपमा पूर्ण-समय सेवा गर्न थाल्नुभयो।

मेरो बुबाले सन्‌ १९२६ मा मेरी आमा हेजल विलकिन्सनसँग विवाह गर्नुभयो। हजुरआमाले (आमापट्टिको) १९०८ मा बाइबलको कुरा सिक्नुभएको थियो। मेरो जन्म १९३१, अप्रिल २४ मा भयो। चार छोराछोरीमध्ये मचाहिं माहिलो हुँ। हाम्रो परिवारले यहोवाको उपासनालाई पहिलो स्थान दिन्थ्यो। बाइबलप्रति बुबाको गहिरो आदरले गर्दा हामीले पनि जीवनभर परमेश्वरको वचनको मोल गर्न सिक्यौं। हामी सपरिवार नियमित रूपमा घरघरको प्रचारकार्यमा भाग लिन्थ्यौं।—प्रेषि. २०:२०.

बुबाजस्तै तटस्थ रहँदै अनि अग्रगामी सेवा गर्दै

सन्‌ १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो र त्यसपछिको साल क्यानाडा सरकारले यहोवाका साक्षीहरूको गतिविधिमा प्रतिबन्ध लगायो। स्कुलहरूमा झन्डा सलामी गर्ने र राष्ट्रिय-गीत गाउनेजस्ता देशभक्ति जगाउने कार्यक्रमहरू हुन्थे। एक चोटि यस्तै कार्यक्रम भइरहेको बेला मेरी दिदी डोरोथी र मलाई कक्षा कोठाबाट निकालियो। अर्को चोटि भने शिक्षकले मलाई डरछेरुवा भनेर सबैको अगाडि बेइज्जत गर्न खोज्नुभयो। स्कुल सकेपछि केही साथीले मलाई कुटपिट गरेर भुइँमा पछारिदिए। तर त्यसरी कुटाइ खाँदा “मानिसहरूको भन्दा परमेश्वरको आज्ञा  मान्नै पर्छ” भन्ने मेरो कटिबद्धता झनै बलियो भयो।—प्रेषि. ५:२९.

सन्‌ १९४२, जुलाईमा मैले बप्तिस्मा गरें, त्यो पनि खेतको पानी ट्‌याङ्‌कीमा। त्यतिबेला म ११ वर्षको थिएँ। हरेक साल स्कुलमा लामो छुट्टी हुँदा म सहायक अग्रगामी गर्थें। एक साल भने उत्तरी ओन्टारियोको कसैलाई नखटाइएको इलाकामा तीन जना भाइसँग मिलेर प्रचार गर्न गयौं। त्यहाँ हामीले दाउरेहरूलाई प्रचार गऱ्यौं।

सन्‌ १९४९, मे १ मा म नियमित अग्रगामी भएँ। क्यानाडा शाखा कार्यालयमा निर्माणकार्य भइरहेकोले मलाई त्यस काममा मदत गर्न निम्तो दिइयो। डिसेम्बर १ मा म क्यानाडा बेथेल परिवारको सदस्य भएँ। मलाई छापाखानामा खटाइयो र मैले मेसिन चलाउन सिकें। केही हप्ता राती-राती काम गर्नुपऱ्यो। त्यतिबेला क्यानाडाका यहोवाका साक्षीहरूले सामना गरिरहेको खेदोबारे पर्चा छाप्ने काम हुँदै थियो।

पछि मैले सेवा विभागमा काम गर्ने मौका पाएँ। त्यतिबेला क्युबेकमा सेवा गर्न जान लागेका अग्रगामीहरू बेथेल घुम्न आएका थिए। क्युबेकका साक्षीहरूले निकै विरोधको सामना गरिरहेका थिए। मलाई ती अग्रगामीहरूको अन्तरवार्ता लिने काम दिइयो। तिनीहरूमध्ये एक अल्बर्टाको एडमन्टनकी मेरी जजुला भन्ने बहिनी थिइन्‌। उनका आमाबुबा अर्थोडक्स चर्चका सदस्य थिए। मेरी र उनका दाइ जोइले बाइबल अध्ययन गर्न नछोडेकोले उनीहरूलाई घरबाट निकालियो। सन्‌ १९५१, जूनमा तिनीहरूले बप्तिस्मा गरे र त्यसको छ महिनापछि अग्रगामी सेवा सुरु गरे। अन्तरवार्ताको क्रममा मेरीको आध्यात्मिक झुकाव देखेर म निकै प्रभावित भएँ। मनमनै सोचें, ‘बीचमा केही कुरा बिग्रिएन भने म यही केटीसँग बिहे गर्छु।’ नभन्दै नौ महिनापछि १९५४, जनवरी ३० मा हामीले विवाह गऱ्यौं। त्यसको एक हप्तापछि हामीलाई क्षेत्रीय निरीक्षकको तालिम लिन बोलाइयो। त्यसपछि दुई वर्षसम्म हामीले उत्तरी ओन्टारियोमा सेवा गऱ्यौं।

संसारभरि प्रचारकार्य फैलिरहेकोले मिसनरीहरूको आवश्यकता पनि बढ्‌दै थियो। हामीलाई लाग्थ्यो, क्यानाडाको यस्तो कठ्‌याङ्‌ग्रिने जाडो अनि गर्मीमा लामखुट्टे नै लामखुट्टे भएको ठाउँमा त बसियो भने जुनसुकै ठाउँमा खटाइए पनि हामीलाई केही अप्ठ्‌यारो हुनेछैन। हामी १९५६, जुलाईमा गिलियड स्कुलको २७ औं कक्षाबाट स्नातक भयौं र नोभेम्बरसम्ममा आफूलाई खटाइएको देशमा पुगिसकेका थियौं। त्यो देश थियो—ब्राजिल।

ब्राजिलमा मिसनरी सेवा

ब्राजिलको शाखा कार्यालयमा पुगेपछि हामीले पोर्चुगिज भाषा सिक्न थाल्यौं। सुरुमा हामीले अभिवादन गर्न अनि एक मिनेटमा पत्रिका प्रस्तुत गर्न सिक्यौं। त्यसपछि प्रचारकार्यमा जान थाल्यौं। घरधनीले चासो देखायो भने परमेश्वरको राज्यमा जीवन कस्तो हुनेछ भनेर बताइएका बाइबल पदहरू देखाउँज्थ्यौं। प्रचार गएको पहिलो दिन हाम्रो कुरा ध्यान दिएर सुन्ने एक जना महिला  भेट्‌यौं। मैले प्रकाश २१:३, ४ पढेर सुनाएँ। त्यसपछि म अचानक बेहोस भएँ! मलाई त्यहाँको उखुम गर्मी बानी परिसकेको थिएन। त्यस्तो गर्मीले मलाई पछिसम्म पनि सताइरह्यो।

हामीलाई काम्पोस सहरमा खटाइयो। त्यहाँ अहिले १५ वटा मण्डली छ। हामी जाँदा त्यहाँ एउटा मात्र पृथक समूह थियो अनि एउटा मिसनरी गृह थियो। त्यहाँ चार जना बहिनी: एस्तर ट्रेसी, रमोना बावर, लुइजा स्वार्ज र लरेन ब्रुक्स (अहिले वलेन) बस्नुहुन्थ्यो। मलाई मिसनरी गृहमा लुगा धुने अनि खाना पकाउन दाउरा जम्मा गर्ने काम दिइएको थियो। एक दिनको कुरा हो, सोमबार साँझ प्रहरीधरहरा अध्ययन सकेपछि मेरी श्रीमती सोफामा ढल्किरहेकी थिइन्‌। हामी आजको दिन कस्तो भयो भनेर गफ गर्दै थियौं। तिनी उठ्‌न मात्र के लागेकी थिइन्‌, तकियामुनिबाट एउटा सर्प निस्कियो। त्यसपछि निकै हल्लीखल्ली मच्चियो। मैले सर्प मारेपछि बल्ल सामसुम भयो।

एक वर्ष पोर्चुगिज भाषा सिकेपछि म क्षेत्रीय निरीक्षक नियुक्त भएँ। हामीलाई गाउँमा खटाइयो। त्यहाँ बिजुली-बत्ती थिएन। हामी भुइँमा सुत्थ्यौं अनि घोडा र बग्गीमा यात्रा गर्थ्यौं। कसैलाई नखटाइएको इलाकामा प्रचार गर्ने अभियानको बेला हामी रेल चढेर पहाडी इलाकामा पर्ने एउटा गाउँमा गयौं र त्यहाँ गेस्ट हाउसमा बस्यौं। शाखा कार्यालयले प्रचारकार्यको लागि भनेर ८०० वटा पत्रिका पठाएको थियो। त्यसैले पत्रिका लिन धेरै चोटि हुलाक कार्यालय जानुपऱ्यो।

सन्‌ १९६२ मा भाइहरू र मिसनरी बहिनीहरूको लागि ब्राजिलको विभिन्न ठाउँमा राज्य सेवा स्कुल सञ्चालन गरियो। मलाई छ महिनासम्म विभिन्न स्कुलमा प्रशिक्षकको रूपमा खटाइयो तर श्रीमतीविना। मैले मनाओस, बेली, फोर्टलेजा, रेसिफी र साल्भाडोरमा सञ्चालन गरिएका कक्षाहरूमा सिकाएँ। मैले मनाओसको प्रख्यात नाट्यशालामा जिल्ला अधिवेशन गर्ने व्यवस्था मिलाएँ। तर अधिवेशनको बेला मुसलधारे पानी परेकोले खानेपानी दूषित भयो अनि खानको लागि कुनै उपयुक्त ठाउँ पनि भएन। (त्यतिबेला अधिवेशन स्थलमा खानेकुराको प्रबन्ध गरिन्थ्यो।) मैले सेनाको अफिसरसँग कुरा गरें र हाम्रो समस्याबारे बताएँ। ती दयालु अफिसरले खुसीसाथ अधिवेशनको लागि चाहिनेजति खानेपानीको व्यवस्था मिलाइदिए। अनि भान्छा र खाने ठाउँको लागि दुई वटा ठूलठूलो पाल लगाउन सैनिकहरू पनि पठाइदिए।

म राज्य सेवा स्कुलमा जाँदा मेरी श्रीमती पोर्चुगिज भाषा बोलिने व्यापारिक इलाकामा प्रचार गर्न जान्थिन्‌। त्यहाँका मानिसहरूको धुनै पैसा कमाउने थियो। उनले बाइबलको कुरामा चासो दिने एक जना मान्छे पनि भेट्टाउन सकिनन्‌। त्यसैले उनले केही बेथेल सेवकलाई यसो भनिन्‌, “पोर्चुगलमा त कहिल्यै जान नपरोस्।” तर अचम्मको कुरा, त्यसको केही समय नबित्दै हामीले एउटा चिठी पायौं। त्यो चिठी पोर्चुगलमा सेवा गर्ने निम्तो थियो। त्यतिबेला पोर्चुगलमा हाम्रो प्रचारकार्यमा प्रतिबन्ध लगाइएको थियो। यो निम्तो पाउँदा मेरी श्रीमतीले पत्याउनै सकेकी थिइनन्‌ तैपनि हामीले त्यो निम्तो स्विकाऱ्यौं।

 पोर्चुगलमा हाम्रो असाइनमेन्ट

हामी १९६४, अगस्तमा पोर्चुगलको लिस्बन पुग्यौं। पोर्चुगिज गुप्तचर प्रहरीले विशेषगरि हाम्रा भाइहरूलाई दुःख दिने गर्थ्यो। त्यसैले त्यहाँका स्थानीय साक्षीहरूसित कुनै सम्पर्क नराख्दा राम्रै भयो। पोर्चुगलमा बस्ने सरकारी अनुमति नपाउन्जेल हामी गेस्ट हाउसमा बस्यौं। भिसा पाएपछि कोठा भाडामा लियौं। बल्ल १९६५, जनवरीमा हामीले शाखा कार्यालयसित सम्पर्क गऱ्यौं। पाँच महिनापछि पहिलो चोटि त्यहाँको सभामा जान पाउँदा हामी असाध्यै खुसी भयौं।

प्रहरीले हाम्रा भाइहरूको घरमा दिनदिनै छापा मार्दो रहेछ। हाम्रो गतिविधिमा प्रतिबन्ध लगाइएकोले राज्यभवनमा सभाहरू गर्न दिइँदैन थियो। त्यसैले मण्डलीका सभाहरू निजी घरहरूमा हुन्थे। सयौं साक्षीलाई थानामा लगेर सोधपुछ गरिन्थ्यो। सभा सञ्चालन गर्ने व्यक्तिहरूको नाम थाह पाउन खासगरि भाइहरूलाई निकै दुर्व्यवहार गरिन्थ्यो। त्यसैले एकअर्कालाई बचाउन भाइहरूले थर होइन बरु नाम प्रयोग गरेर बोलाउन थाले। हामीले पनि त्यसै गऱ्यौं।

हाम्रा दाजुभाइ दिदीबहिनीले जसरी भए पनि आध्यात्मिक भोजन पाओस् भन्ने हामी चाहन्थ्यौं। मेरी श्रीमतीको असाइनमेन्ट प्रहरीधरहरा-का अध्ययन लेखहरू र अरू साहित्यहरू स्टेन्सिलमा (विशेष प्रकारको कागज) टाइप गरेर त्यसको प्रतिलिपि बनाउने थियो।

अदालतमा सुसमाचारको पक्षमा बोल्दै

सन्‌ १९६६, जूनमा लिस्बनमा एउटा ठूलो मुद्दा चल्यो। फेजु मण्डलीको पूरै ४९ जना सदस्यलाई गैर-कानुनी रूपमा निजी घरमा सभा सञ्चालन गरेको आरोप लगाइयो। मैले ती भाइबहिनीलाई मुद्दाको लागि तयारी गर्न मदत गरें। उहाँहरूलाई दोषी ठहऱ्याउन कस्ता प्रश्नहरू सोधिन सक्छन्‌ भनेर मैले सरकारी वकिलले जस्तै प्रश्नहरू सोधेर अभ्यास गरें। यो मुद्दा हार्छौं भनेर हामीलाई थाह थियो तर यसले ठूलो साक्षी दिनेछ भनेर बुझेका थियौं। हाम्रो वकिलले हाम्रो पक्षमा बोल्दै जाँदा अन्तमा प्रथम शताब्दीका गमलिएलको भनाइ पनि उल्लेख गर्नुभयो। (प्रेषि. ५:३३-३९) हुन त हाम्रा ४९ जना भाइबहिनीलाई ४५ दिनदेखि साढे पाँच महिनासम्मको जेल सजाय सुनाइयो। तर यो मुद्दाबारे थुप्रै पत्रपत्रिकामा छापियो। खुसीको कुरा, हाम्रो पक्षमा लड्‌ने ती साहसी वकिलले बाइबल अध्ययनको प्रस्ताव स्विकार्नुभयो र आफू मर्नुभन्दा अघिसम्म सभाहरू आइरहनुभएको थियो।

सन्‌ १९६६, डिसेम्बरमा म शाखा कार्यालयको निरीक्षक नियुक्त भएँ। त्यसपछि धेरैजसो समय कानुनी मामिलासम्बन्धी काममा बिताएँ। यहोवाका साक्षीहरूले स्वतन्त्र भई उपासना गर्ने अधिकार पाऊन्‌ भनेर हामीले सक्दो प्रयास गऱ्यौं। (फिलि. १:७) अन्ततः १९७४, डिसेम्बर १८ मा यहोवाका साक्षीहरूले कानुनी मान्यता पाए। मुख्यालयबाट भाइ नेथन नोर र फ्रेडरिक फ्रान्ज ओपर्टु र लिस्बनमा भएको ऐतिहासिक सभामा सामेल हुन र  हामीसँगै रमाउन पोर्चुगल आउनुभयो। त्यतिबेलाको उपस्थिति ४६,८७० थियो।

यहोवाले पोर्चुगिज भाषा बोलिने साओ तोमे र प्रिन्सेप, अजोरस, मेडिरा अनि केप भर्डजस्ता टापुहरूमा प्रचार गर्ने ढोका खोलिदिनुभयो। साक्षीहरूको सङ्‌ख्या बढ्‌दै गएकोले हामीलाई एउटा ठूलो शाखा भवनको आवश्यकता थियो। यो आवश्यकता १९८८ मा पूरा भयो। त्यही साल अप्रिल २३ मा नयाँ भवन समर्पण गर्न भाइ मिल्टन हेन्सेल आउनुभयो। त्यतिबेला ४५,५२२ जना भाइबहिनी उपस्थित भएका थिए। पहिले पोर्चुगलमा मिसनरी सेवा गरेका २० जना भाइबहिनीलाई यो ऐतिहासिक कार्यक्रममा देख्न पाउँदा निकै खुसी लाग्यो।

वफादार सेवकहरूबाट राम्रो पाठ सिक्यौं

वर्षौंको दौडान वफादार भाइहरूसँग सङ्‌गत गरेर हामीले थुप्रै कुरा सिक्न सक्यौं। भाइ थिओडर जाराससँगै प्रान्तीय भ्रमणमा जाँदा एउटा महत्त्वपूर्ण पाठ सिकें। हामीले भ्रमण गरेको शाखाले एउटा ठूलो समस्या सामना गर्दै थियो। त्यसको समाधान गर्न शाखा समितिका भाइहरूले सकेजति कोसिस गरिसक्नुभएको थियो। त्यसैले उहाँहरूलाई सान्त्वना दिंदै भाइ जारासले यसो भन्नुभयो: “अबचाहिं पवित्र शक्तिलाई काम गर्न देऔं।” धेरै वर्षअघि ब्रूक्लिन जाँदा मेरी श्रीमती र मैले भाइ फ्रान्ज र अरूसँग सङ्‌गत गर्ने मौका पाएका थियौं। भाइ फ्रान्जले यहोवाको सेवामा धेरै लामो समय बिताइसक्नुभएको थियो र त्यस्तो लामो सेवाबारे केही कुरा बताइदिन आग्रह गर्दा उहाँले यसो भन्नुभयो: “गाह्रो-साह्रो जस्तोसुकै परिस्थितिमा पनि यहोवाको दृश्य सङ्‌गठन नछोड्‌नुहोस्। परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नू भन्ने येशूको आज्ञा पालन गर्ने सङ्‌गठन यही मात्र हो!”

यस्तो सल्लाह पालन गर्दा मेरी श्रीमती र म आनन्दित हुन सकेका छौं। शाखाहरूमा प्रान्तीय भ्रमण गरेका दिनहरू हामी कहिल्यै बिर्सन सक्दैनौं। यस्ता भ्रमणहरूमा हामीले यहोवाप्रति वफादार भई सेवा गरिरहेका युवा अनि वृद्ध साक्षीहरूलाई कृतज्ञता देखाउन सक्यौं। अनि उहाँहरूलाई यहोवाको सेवा गर्ने विशेष सुअवसरमा लागिरहन प्रोत्साहन दिने मौका पायौं।

अहिले हाम्रो उमेर ८० वर्ष कटिसक्यो। मेरी श्रीमतीलाई विभिन्न किसिमको स्वास्थ्य समस्या छ। (२ कोरि. १२:९) परीक्षाहरूले हाम्रो विश्वासलाई र सत्यनिष्ठ रहने हाम्रो सङ्‌कल्पलाई अझ बलियो बनाएको छ। आफ्नो जीवनलाई फर्केर हेर्दा हामी ढुक्क भई भन्न सक्छौं: यहोवाले हामीलाई विभिन्न तरिकामा असीम अनुग्रह देखाउनुभएको छ। *

^ अनु. 29 यो लेख तयार पार्दै गर्दा भाइ डग्लस गेस्ट सन्‌ २०१५, अक्टोबर २५ मा बित्नुभयो। उहाँ अन्तसम्मै यहोवाप्रति वफादार रहनुभयो।