सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  फेब्रुअरी २०१७

अग्रगामीहरू जर्ज रोल्स्टन र आर्थर विलिस गाडीको रेडिएटरमा पानी भर्दै।—नर्दन टेरिटोरी, १९३३

 हाम्रो अभिलेखालयबाट

“गाह्रो वा लामो बाटो कुनै छैन”

“गाह्रो वा लामो बाटो कुनै छैन”

सन्‌ १९३७, मार्च २६ को कुरा हो। अस्ट्रेलिया महादेशको अत्यन्तै विकट तथा उबडखाबड इलाकामा १९,३०० किलोमिटरभन्दा लामो यात्रा गरेर यी दुई जना पुरुष एक वर्षपछि सहर फर्कंदै थिए। यस्तो लामो यात्राले गर्दा लखतरान भएका यी दुई जना पुरुष धुलाम्मे ट्रक गुडाउँदै सिड्‌नी आइपुगे। तिनीहरू अन्वेषण गर्न वा कुनै साहसिक यात्रामा निस्केका थिएनन्‌। त्यो समयताका परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न थुप्रै जोसिला अग्रगामी अस्ट्रेलियाको टाढा-टाढाको इलाकामा गएका थिए। ती प्रचारकहरूमध्ये यी दुई जना पनि थिए: आर्थर विलिस र बिल न्युल्यान्ड्स।

सन्‌ १९२० को दशकको अन्ततिरसम्म बाइबल स्टुडेन्टस्ले * प्रायजसो अस्ट्रेलियाको समुद्री किनारा छेउछाउका सहर र गाउँहरूमा प्रचार गरेका थिए। अस्ट्रेलियाको भित्री भूभाग अमेरिकाको कुल क्षेत्रफलको आधीभन्दा ठूलो छ। यो बन्जर भूभाग हो र जनसङ्‌ख्या थोरै भए तापनि मानिसहरू छरिएर बसेका थिए। तर माथि उल्लेख गरिएका दुई जना भाइ “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” येशू ख्रीष्टबारे साक्षी दिनुपर्ने जिम्मेवारीप्रति सजग थिए। (प्रेषि. १:८) तिनीहरूले यस्तो विशाल इलाकामा कसरी प्रचार गर्न सक्थे? यहोवाले आफ्नो प्रयासमा आशिष्‌ दिनुहुन्छ भनेर पूर्णतया विश्वस्त हुँदै तिनीहरू अघि बढे।

अग्रगामीहरू बाटो तयार पार्छन्‌

अस्ट्रेलियाको भित्री भूभागमा प्रचार गर्न सजिलो थिएन। त्यसैले सन्‌ १९२९ मा क्वीन्सल्यान्ड र पश्‍चिमी अस्ट्रेलियाका मण्डलीहरूले विभिन्न सरसामग्री भएका गाडीहरू तयार पारे। यी गाडीहरू चलाउने कामचाहिं साहसी अग्रगामीहरूको थियो। तिनीहरू असाध्यै गाह्रो बाटोमा गाडी चलाउन खप्पिस थिए र गाडी बिग्रेमा आफैले मर्मत गर्न सक्थे। यी अग्रगामीहरू पहिला कहिल्यै प्रचार नगरिएका थुप्रै इलाकामा पुगे।

गाडी किन्न नसक्ने अग्रगामीहरू साइकल चढेरै टाढा-टाढाका इलाकामा प्रचार गर्न गए। जस्तै, सन्‌ १९३२ मा २३ वर्षीय बेनेट ब्रिकेल क्वीन्सल्यान्डको रकहाम्टनबाट सबैभन्दा उत्तरमा पर्ने इलाकामा प्रचार गर्न पाँच महिने अभियानमा निस्के। तिनको साइकलमा ब्ल्याङ्‌केटहरू, लुगा, खानेकुरा अनि टन्नै किताबहरू हुन्थ्यो। साइकलको टायर खिएर गुडाउनै नसक्ने भए तापनि तिनले आफ्नो यात्रा रोकेनन्‌। तिनले यहोवामा भरोसा राख्दै आफ्नो यात्रा जारी राखे। तिनले यात्राको अन्तिम ३२० किलोमिटर बाटो साइकल ठेल्दै लगे। यो अत्यन्तै कठिन यात्रा थियो  किनभने त्यहाँ पहिला कतिपय मानिस तिर्खाले मरेका थिए। भाइ ब्रिकेलले साइकल, मोटरसाइकल र गाडीमा लगभग ३० वर्ष अस्ट्रेलियाको विभिन्न इलाकामा यात्रा गरे। तिनले अस्ट्रेलियाका आदिवासीहरूलाई प्रचार गरे अनि ती इलाकाहरूमा नयाँ मण्डलीहरू स्थापना गर्न मदत गरे। त्यसैले त्यहाँका मानिसहरूले भाइ ब्रिकेललाई चिन्थे र आदर गर्थे।

चुनौतीहरू पार गर्दै

कम जनसङ्‌ख्या भएका देशहरूमध्ये अस्ट्रेलिया पनि एक हो। खासगरि अस्ट्रेलियाको टाढा-टाढा पर्ने इलाकाहरूमा थोरै मानिस मात्र बसोबास गर्छन्‌। तैपनि यहोवाका जनहरू यी इलाकाहरूसम्म पुग्न कटिबद्ध छन्‌।

यस्तो किसिमको कटिबद्धता देखाउने अग्रगामीहरूमध्ये स्टुआर्ट केल्टी र विलियम टोरिङ्‌टन पनि हुन्‌। सन्‌ १९३३ मा उनीहरू सिम्सन डेजर्ट नामले चिनिने विशाल मरुभूमि पार गरेर अस्ट्रेलिया महादेशको बीच भागमा रहेको एलिस स्प्रिङ्‌समा प्रचार गर्न गए। उनीहरूको सानो गाडी बिग्रेर चलाउन नमिल्ने भएपछि पनि भाइ केल्टीले प्रचार गर्न छोडेनन्‌। उनी उँट चढेरै भए पनि प्रचार गर्न गए। यो उनको लागि सजिलो काम थिएन किनभने उनको एउटा खुट्टा थिएन। उनले काठको नक्कली खुट्टा राखेका थिए। ती अग्रगामीहरूले विलियम क्रिक भन्ने ठाउँको रेलवे स्टेसनमा होटेल चलाइरहेका चार्ल्स बर्नाडलाई भेट्‌दा बल्ल प्रचारकार्यले फल फलाउन थाल्यो। पछि चार्ल्स बर्नाडले सत्य स्विकारे, आफ्नो होटेल बेचे अनि अस्ट्रेलियाको अत्यन्तै सुख्खा तथा विकट इलाकाहरूमा लगभग १५ वर्षसम्म एक्लै प्रचार गरे।

आर्थर विलिस अस्ट्रेलियाको टाढा-टाढाको विशाल भूभागमा प्रचारकार्यको लागि तयारी गर्दै।—पर्थ, पश्‍चिमी अस्ट्रेलिया, १९३६

ती सुरु-सुरुका अग्रगामीहरूले सामना गरेका चुनौतीहरूसित डट्‌न उनीहरूलाई साहस र दृढता चाहिन्थ्यो। अस्ट्रेलियाको टाढा-टाढाका इलाकाहरूमा प्रचार गर्दा यस लेखको सुरुमा उल्लेख गरिएका आर्थर विलिस र बिल न्युल्यान्ड्सले एक चोटि अत्यन्तै कठिन यात्रा गर्नुपऱ्यो। उनीहरूलाई ३२ किलोमिटर दूरी पार गर्न दुई हप्ता लाग्यो। किनभने भारी वर्षाले गर्दा मरुभूमि ठूलो दलदलमा परिणत भएको थियो। खलखली पसिना बगाएर मरुभूमिको विशाल ढिस्कोहरूमा ट्रकलाई ठेल्दै, चट्टाने बेसीहरू छिचोल्दै अनि बलौटे समुद्री किनाराहरू पार गर्दै यात्रा गर्नुपरेको थियो। बेला बेलामा ट्रक बिग्रँदा उनीहरू नजिकैको गाउँसम्म पुग्न धेरै दिन हिंड्‌थे वा साइकल चढेर जान्थे। अनि गाडीको नयाँ पार्टपुर्जा नआउन्जेल हप्तौं पर्खन्थे। यस्ता कठिनाइहरूको बाबजुद उनीहरू हार नमानी अघि बढिरहे। द गोल्डन एज (अङ्‌ग्रेजी) पत्रिकामा उल्लेख गरिएको एउटा भनाइलाई आर्थर विलिसले छोटकरीमा यसो भने: “प्रभुका साक्षीहरूको लागि गाह्रो वा लामो बाटो कुनै छैन।”

लामो समय अग्रगामी सेवा गरेका चार्ल्स ह्यारिसले बताएअनुसार टाढा-टाढाका इलाकाहरूमा एक्लै सेवा गर्दा र शारीरिक कठिनाइले गर्दा उनी यहोवासित अझ नजिक हुन सके। उनले यसो पनि भने: “झोला जति सानो भयो, यात्रा गर्न उति नै सजिलो हुन्छ। आफ्नो असाइनमेन्ट पूरा गर्न येशू खुला आकाशमुनि सुत्न तयार हुनुभयो भने हामी पनि त्यसै गर्न तयार हुनुपर्छ।” थुप्रै अग्रगामीले त्यसै गरे। उनीहरूको अथक प्रयासले गर्दा अस्ट्रेलिया महादेशको कुनाकुनासम्म सुसमाचार पुग्यो। यसले गर्दा थुप्रै मानिसले परमेश्वरको राज्यको पक्षमा अडान लिन सके।

^ अनु. 4 सन्‌ १९३१ मा बाइबल स्टुडेन्ट्स यहोवाका साक्षीहरू भन्ने नामले चिनिए।—यशै. ४३:१०.