सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  फेब्रुअरी २०१६

 हाम्रो अभिलेखालयबाट

लाखौंमाझ लोकप्रिय भएको साउण्ड कार

लाखौंमाझ लोकप्रिय भएको साउण्ड कार

“ब्राजिलमा प्रभुको सेवा गर्न एउटा मात्र साउण्ड कार प्रयोग गरिएको थियो। लाखौंमाझ त्यो कार ‘द वाच टावर साउण्ड कार’ भनेर चिनियो।”—नथान्यल ए. युल, सन्‌ १९३८।

सन्‌ १९३० दशकको सुरुतिर ब्राजिलमा राज्य गतिविधि तुलनात्मक रूपमा सुस्त थियो। तर सन्‌ १९३५ मा प्रगतिको सङ्केत देखियो। अग्रगामी सेवा गर्दै गरेका नथान्यल युल अनि मड युलले त्यतिबेला प्रचारको काममा नेतृत्व लिइरहनुभएका भाइ जोसेफ एफ. रदरफोर्डलाई पत्र लेखे। तिनीहरूले स्वयं-सेवकको रूपमा “जुनसुकै ठाउँमा सेवा गर्न तयार भएको” कुरा त्यस पत्रमा उल्लेख गरे।

सिभिल इन्जिनियरको कामबाट अवकाश पाएका नथान्यल त्यतिबेला ६२ वर्षका थिए। तिनले अमेरिकाको क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित यहोवाका साक्षीहरूको मण्डलीमा सेवा निर्देशकको जिम्मेवारी सम्हालेका थिए। त्यहाँ तिनले प्रचारकार्यलाई व्यवस्थित बनाएका थिए र राज्यको सुसमाचार फैलाउन ध्वनि उपकरणको प्रयोग गरेका थिए। तिनले बटुलेको यो अनुभव अनि लगनशीलता तिनले पाएको नयाँ जिम्मेवारीको लागि आशिष्‌ साबित हुनेथियो। तिनले अब शाखा सेवकको हैसियतमा एउटा विशाल र बहुभाषिक इलाका, ब्राजिलमा सेवा गर्ने नयाँ जिम्मेवारी पाए।

सन्‌ १९३६ मा नथान्यल र मड अग्रगामी सेवा गरिरहेका दोभासे भाइ आन्टोनियो पी. अन्ड्राडेसँगै ब्राजिल आइपुगे। तिनीहरूले आफूसँगै बहुमूल्य साधनहरू पनि ल्याए। ती हुन्‌: ३५ वटा फोनोग्राफ र एउटा साउण्ड कार (ध्वनि यन्त्र जडान गरिएको कार)। भू-बनौटको आधारमा ब्राजिल विश्वकै पाँचौं ठूलो देश भए पनि त्यहाँ प्रकाशक भने लगभग ६० जना मात्रै थिए! तर ती नयाँ साधनहरूको प्रयोगले तिनीहरूलाई केही वर्षभित्रै लाखौं मानिसकहाँ पुग्न मदत गर्ने थियो।

युल दम्पती आइपुगेको एक महिनापछि नै ब्राजिलको शाखा कार्यालयद्वारा साऊ पाउलो भन्ने सहरमा पहिलो सेवा अधिवेशनको (यस्तो अधिवेशनको दौडान प्रचारको पनि प्रबन्ध गरिन्थ्यो) आयोजना गरियो। एक अर्थमा भन्ने हो भने, साउण्ड कार पनि यो अधिवेशनको प्रचार-प्रसार गर्न निकै जोसिलो भयो; सम्भवतः आफ्नी चालक  मड युलसँग यो साउण्ड कार विभिन्न ठाउँमा पुग्यो। यसले गर्दा त्यस अधिवेशनमा ११० जना उपस्थित हुन सके। प्रचारकार्यमा अझ जोडतोडले लाग्न त्यस अधिवेशनले प्रकाशकहरूको मनोबल बढायो। तिनीहरूले विभिन्न साहित्यहरू र सन्देश कार्डहरू प्रयोग गरेर प्रचार गर्न सिके। साथै अङ्ग्रेजी, जर्मन, हंगेरियन, पोलिश, स्पेनिश र पछि पोर्चुगिज भाषामा रेकर्ड गरिएको फोनोग्राफ चलाएर कसरी प्रचार गर्ने भनेर पनि सिके।

ब्राजिलमा साउण्ड कारद्वारा लाखौंकहाँ सुसमाचार पुग्यो

सन्‌ १९३७ मा साऊ पाउलो, रियो दि जेनेरियो र कुरुटिबामा आयोजित तीनवटा अधिवेशनले प्रचारकहरूमा नयाँ जोस भरिदिए। त्यसपछि अधिवेशन धाउनेहरूसँगसँगै साउण्ड कार पनि घर-घरको प्रचारमा गयो। त्यतिबेलाका लक्का जवान केटा जुझे म्याग्लोभ्सकीले पछि यस्तो लेखे: “त्यतिखेर हामी आफ्ना बाइबल प्रकाशनहरू ठेलामा राखेर घुमाउँज्थ्यौं र साउण्ड कारले पूर्व रिकर्ड गरिएको समाचार घोषणा गरेपछि मानिसहरू आ-आफ्नो घरबाट के भयो भनी बाहिर हेर्न आउँदा तिनीहरूसित कुरा गर्थ्यौं।”

त्यस अधिवेशनको बेला नदीमा बप्तिस्मा गराइयो; त्यहाँ नुहाउन आउनेहरू छेउछाउमा घाम तापिरहेका थिए। साउण्ड कारको मदतले तिनीहरूलाई सुसमाचार प्रचार गर्ने त्यो निकै राम्रो मौका थियो! एम्पलिफायरबाट भाइ रदरफोर्डको बप्तिस्मा भाषण चारैतिर गुन्जिदा चासो देखाउने मानिसहरू कार वरिपरि झुम्मिएका थिए। तिनीहरूको लागि त्यो भाषण पोर्चुगिज भाषामा अनुवाद गरियो। त्यसपछि बप्तिस्मा गरिरहेकाहरूका लागि पोलिश भाषामा राज्य गीतहरू पनि बजाइयो। उपस्थित दाजुभाइ दिदीबहिनीहरूले विभिन्न भाषामा सँगसँगै गाए। “यसले पेन्तिकोसको बेलामा कसरी हरेकले आफ्नै भाषामा सन्देश बुझे भन्ने कुरा सम्झाउँछ,” भनी वार्षिक पुस्तक १९३८ (अङ्ग्रेजी)-ले रिपोर्ट गऱ्यो।

अधिवेशनपछिको हरेक आइतबार, साऊ पाउलो र नजिकैका सहरहरूको पार्क, आवास क्षेत्र अनि कल-कारखानामा साउण्ड कारको प्रयोग गरेर रेकर्ड गरिएका भाषणहरू सुनाइन्थ्यो। घाम-पानी होस् या झरी-बादल, जस्तोसुकै अवस्थामा पनि यो काम टुट्दैन थियो। त्यस कारमार्फत हरेक महिना साऊ पाउलोबाट ९७ किलोमिटर उत्तरपश्‍चिमतिर पर्ने कुष्ठरोगीहरूको बस्तीमा ३,००० जनालाई सन्देश सुनाइन्थ्यो। समय बित्दै जाँदा एउटा उन्नतिशील मण्डली खडा भयो। आफूले निकै दुःख खेपिरहनुपरे तापनि त्यहाँका राज्य प्रकाशकहरूले कुष्ठरोगीहरूको अर्को बस्तीमा बाइबलको सान्त्वनादायी सन्देश लिएर जाने अनुमति पाए।

सन्‌ १९३८ दशकको अन्ततिर पोर्चुगिज भाषामा रेकर्ड गरिएको राज्य सन्देश पनि उपलब्ध भयो। मृत्यु भएकाहरूको सम्झना गर्ने दिनमा (All Souls’ Day) चिहान-चिहानमा गएर “मृतकहरू कहाँ छन्‌,?” “यहोवा” र “धनसम्पत्ति” भन्ने विषयमा रेकर्ड गरिएको भाषण साउण्ड कारमार्फत बजाइन्थ्यो। यो तरिका अपनाएर शोकमा परेका ४० हजारभन्दा धेरै मानिसहरूलाई सन्देश सुनाउन सकियो।

साक्षीहरूले साहसी भई प्रचार गरेको देख्दा धर्मगुरुहरू रिसले चूर हुन्थे र स्थानीय अधिकारीहरूलाई साउण्ड कार बन्द गराउन अक्सर दबाब दिन्थे। एकपटक स्थानीय पादरीले भीडलाई कार वरिपरि घेरा हाल्न उक्साएको कुरा बहिनी युल अझै सम्झिन्छिन्‌। तर नगरप्रमुख र प्रहरी अधिकृतहरू आए अनि पूरै कार्यक्रम सुने। फर्कनेबेला ती नगरप्रमुखले बाइबल साहित्य पनि लिएर गए। त्यस दिन कुनै हूलदङ्गा भएन। हुन त त्यतिबेला विरोधको सामना गर्नुपरेको थियो तैपनि सन्‌ १९४० को वार्षिक पुस्तक-मा ब्राजिलसम्बन्धी सकारात्मक रिपोर्ट गरिएको थियो। त्यसमा सन्‌ १९३९ को वर्षलाई “महान्‌ ईश्वरको सेवा गर्ने अनि उहाँको नाम घोषणा गर्ने सबैभन्दा उपयुक्त समय” भनेर उल्लेख गरिएको थियो।

ब्राजिलमा “द वाच टावर साउण्ड कार” भित्रिएपछि प्रचारकार्यले नयाँ मोड लियो। लाखौं मानिसकहाँ राज्य सन्देश पुऱ्याउन त्यो कारले मुख्य भूमिका खेल्यो। हुन त सन्‌ १९४१ मा त्यो लोकप्रिय कार बेचियो तैपनि यहोवाका साक्षीहरूको ठूलो समूहले ब्राजिलको कुना-कुनामा सुसमाचार सुनाउन छोडेका छैनन्‌।—ब्राजिलको हाम्रो अभिलेखालयबाट।