सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण  |  फेब्रुअरी २०१६

यहोवाप्रति वफादार रहनुहोस्

यहोवाप्रति वफादार रहनुहोस्

‘तपाईं र म, तपाईंका सन्तान र मेरो सन्तानको बीचमा परमप्रभु सदासर्वदै रहून्‌।’—१ शमू. २०:४२.

गीत: १२५, ६२

१, २. जोनाथनले दाऊदसित गाँसेको मित्रता र उनीप्रति देखाएको वफादारी किन उल्लेखनीय छ?

दाऊदले अजङ्गको गोल्यतको सामना गरेको देखेर जोनाथन तीनछक परेको हुनुपर्छ। अहिले उही दाऊद जोनाथनका बुबा शाऊलको अगाडि “त्यस पलिश्तीको टाउको आफ्नो हातमा” बोकेर उभिरहेका छन्‌। (१ शमू. १७:५७) दाऊदले देखाएको साहसको लागि जोनाथनले पक्कै पनि तिनको प्रशंसा गरेको हुनुपर्छ। परमेश्वर दाऊदसित हुनुहुन्छ भन्ने कुरा स्पष्ट थियो। त्यसपछि “जोनाथन र दाऊदले आपसमा एउटा गहिरो मित्रता [“करार,” NW] बाँधे, किनभने तिनीहरू एउटाले अर्कोलाई आफैलाई झैं प्रेम गर्न लागेका थिए।” (१ शमू. १८:१-३) आफ्नो जीवनभरि नै जोनाथन दाऊदप्रति वफादार रहे।

आफ्नो सट्टामा दाऊद राजा हुनेछ भनेर थाह हुँदाहुँदै पनि जोनाथनले दाऊदलाई साथ दिए। आफ्नो बुबा शाऊलले दाऊदलाई मार्न खोज्दा तिनले दाऊदको निकै चिन्ता गरे। त्यस्तो अवस्थामा जोनाथन आफ्नो साथीलाई हौसला दिन यहूदी मरुभूमिको होरेश भन्ने ठाउँसम्मै पुगे। तिनले दाऊदलाई “परमेश्वरको नाउँमा अझै उत्साह दिए।” तिनले दाऊदलाई यसो भने: “नडराउनुहोस्, . . . तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिं तपाईंका मनि दोस्रो दर्जामा हुनेछु।”—१ शमू. २३:१६, १७.

३. दाऊदप्रति वफादार रहनुभन्दा जोनाथनको लागि कुन कुरा महत्त्वपूर्ण थियो? हामी किन त्यसो भन्न सक्छौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

 वफादार मानिसलाई मन नपराउने संसारमा को नै होला र? जोनाथन पनि दाऊदप्रति निकै वफादार थिए। तर जोनाथन परमेश्वरप्रति वफादार भएको कुरा विचार नगरी दाऊदप्रति वफादार भएकोले मात्र तिनको प्रशंसा गऱ्यौं भने त्यो गलत हुनेछ। जोनाथनले दाऊदलाई आफ्नो शत्रुको रूपमा नभई साथीको रूपमा हेर्न सक्नुको कारण के थियो? कुरा स्पष्ट छ, जोनाथनको लागि आफ्नो फाइदाभन्दा पनि अझै महत्त्वपूर्ण अर्को कुरा थियो। याद गर्नुहोस्, जोनाथनले दाऊदलाई “परमेश्वरको नाउँमा . . . उत्साह” दिएका थिए। त्यसको मतलब जोनाथनले परमेश्वरप्रति वफादार रहने कुरालाई प्राथमिकता दिएका थिए भनेर स्पष्ट छ। वास्तवमा भन्ने हो भने यहोवाप्रति वफादार भएकोले नै जोनाथन दाऊदप्रति पनि वफादार रहन सकेका हुन्‌। अनि यी दुवै पुरुष आफ्नो यो वाचाअनुसारै चले: ‘तपाईं र म, तपाईंका सन्तान र मेरो सन्तानको बीचमा परमप्रभु सदासर्वदै रहून्‌।’—१ शमू. २०:४२.

४. (क) हामीलाई कुन कुराले साँचो आनन्द र सन्तुष्टि दिन्छ? (ख) हामी यस लेखमा के छलफल गर्नेछौं?

ख्रीष्टियन भएकोले हामी अरूले देखाएको वफादारीको मात्र प्रशंसा गर्दैनौं। हामी आफै पनि परिवारका सदस्य, साथीभाइ अनि मण्डलीका दाजुभाइ दिदीबहिनीप्रति वफादार रहन्छौं। (१ थिस्स. २:१०, ११) तर हामीले वफादार रहने सन्दर्भमा कसलाई प्राथमिकता दिनुपर्छ? हामीलाई जसले जीवन दिनुभयो, उहाँलाई प्राथमिकता दिनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो नि, होइन र? (प्रका. ४:११) परमेश्वरप्रति वफादार रह्यौं भने हामीले साँचो आनन्द र सन्तुष्टि पाउन सक्छौं। सजिलो बेला मात्र होइन, गाह्रो अवस्थामा पनि हामी परमेश्वरप्रति वफादार रहनुपर्छ। निम्न चार अवस्थामा वफादार रहन जोनाथनको उदाहरणले हामीलाई कसरी मदत गर्छ, अब हामी छलफल गर्नेछौं: (१) अख्तियार पाएको व्यक्ति आदरको योग्य छैन जस्तो लाग्दा। (२) कोप्रति वफादार रहने भनेर निर्णय गर्नुपर्दा। (३) कसैले हाम्रो कुरा नबुझ्दा वा नराम्रो व्यवहार गर्दा। (४) वफादारी र व्यक्तिगत इच्छा आपसमा बाझिंदा।

अख्तियार पाएको व्यक्ति आदरको योग्य छैन जस्तो लाग्दा

५. शाऊलले राजाको रूपमा शासन गर्दा इस्राएलीहरूलाई परमेश्वरप्रति वफादार रहन किन गाह्रो भयो?

हुन त परमेश्वरले जोनाथनको बुबा शाऊललाई इस्राएलको राजा हुन छान्नुभएको थियो तर पछि तिनी यहोवाप्रति अनाज्ञाकारी भए र यहोवाले पनि तिनलाई त्याग्नुभयो। (१ शमू. १५:१७-२३) यहोवाले शाऊललाई तुरुन्तै सिंहासनबाट हटाउनुभएन। शाऊलको नराम्रो व्यवहारले गर्दा उनका जनता अनि नजिकका मानिसहरू सबैले सास्ती भोग्नुपऱ्यो। “परमप्रभुको सिंहासनमा” बस्न यहोवा आफैले छानेको राजा गलत बाटोमा लाग्दा तिनीहरूलाई परमेश्वरप्रति वफादार रहन गाह्रो भयो।—१ इति. २९:२३.

६. जोनाथन यहोवाप्रति वफादार रहिरहे भनेर कुन कुराले देखाउँछ?

शाऊलका छोरा जोनाथन परमेश्वरप्रति वफादार रहिरहे। शाऊलले अनाज्ञाकारी मनोवृत्ति देखाएलगत्तै जोनाथनले के गरे, त्यस विषयमा एउटा विवरण विचार गरौं। (१ शमू. १३:१३, १४) पलिश्तीहरू ३० हजार सिपाही लिएर इस्राएलसित लडाइँ गर्न आउँदा जोनाथन उनीहरूको सामना गर्न अघि सरे। शाऊलसित जम्मा ६०० सेना मात्र थियो। त्यसमाथि, शाऊल र जोनाथनबाहेक अरू कसैसित हातहतियार थिएन। तैपनि जोनाथन डराएनन्‌। तिनले भविष्यवक्ता शमूएलको यो कुरा सम्झे: “आफ्नो नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुनेछैन।” (१ शमू. १२:२२) त्यसैले आफ्नो हतियार बोक्ने सिपाहीलाई लिएर जोनाथन पलिश्तीहरूकहाँ गए। तिनले ती सिपाहीलाई भने: “चाहे हामी धेरै होऔं चाहे थोरै, [परमेश्वरले] हामीलाई कुशलसाथ फर्काइल्याउनुहुनेछ।” त्यसपछि यी दुई जनाले धमाधम २० जना शत्रुलाई मारे। अनि “जमीनै काँप्यो र [पलिश्तीहरूमा] आतङ्क फैलियो।” यसले गर्दा पलिश्तीहरू अलमलमा परे र तिनीहरू आफू-आफूमै लडाइँ गर्न थाले। जोनाथनले परमेश्वरमाथि भरोसा गरेको कारण उनीहरू विजयी भए।—१ शमू. १३:५, १५, २२; १४:१, २, ६, १४, १५, २०.

७. जोनाथनले आफ्नो बुबालाई कस्तो व्यवहार गरे?

आफ्नो बुबा शाऊल यहोवाबाट टाढिंदै गए पनि  जोनाथनले सम्भव भएसम्म आफ्नो बुबालाई साथ दिइरहे। उदाहरणको लागि, परमेश्वरका सेवकहरूलाई बचाउन तिनीहरू दुवै मिलेर शत्रुहरूसित लडाइँ गरे।—१ शमू. ३१:१, २.

८, ९. अख्तियारमा भएकाहरूलाई आदर देखाउँदा हामीले कसरी परमेश्वरप्रति आदर देखाइरहेका हुन्छौं?

यहोवाले अख्तियार दिएको व्यक्ति आदरको योग्य छैन जस्तो लाग्दा समेत सम्भव भएसम्म उनीहरूको अधीनमा बसेर हामी यहोवाप्रति वफादार रहेको देखाउन सक्छौं। उदाहरणको लागि, कुनै सरकारी अफिसर घुस्याहा होला, तैपनि हामी उसको ओहदाको कदर गर्छौं किनभने हामी “उच्च अख्तियारवालाहरूको” अधीनमा छौं। (रोमी १३:१, २ पढ्नुहोस्) वास्तवमा भन्ने हो भने, यहोवाले अख्तियार दिएको व्यक्तिलाई आदर देखाउँदा हामी परमेश्वरप्रति नै वफादार भइरहेका हुन्छौं।—१ कोरि. ११:३; हिब्रू १३:१७.

यहोवाप्रति वफादार भएको देखाउने एउटा तरिका विश्वासमा नभएको आफ्नो जोडीको आदर गरेर हो (अनुच्छेद ९ हेर्नुहोस्)

दक्षिण अमेरिकामा बस्ने ओल्गाको [१] उदाहरण विचार गरौं। गाह्रो अवस्थामा पनि श्रीमान्‌लाई आदर गरेर तिनले यहोवाप्रति वफादार रहेको साबित गरिन्‌। तिनी यहोवाको साक्षी भएकोले श्रीमान्‌ले तिनलाई देखिसहँदैन थिए। घोच्ने बोली बोलेर, बेइज्जत गरेर अनि बोलचालै बन्द गरेर तिनको श्रीमान्‌ले तिनलाई सताउने गर्थे। कहिलेकाहीं त तिनको श्रीमान्‌ले बच्चाहरूलाई लिएर छोडेर जाने धम्की समेत दिन्थे। तर ओल्गाले ‘जस्तालाई तस्तै’ गरिनन्‌। श्रीमान्‌को लागि खाना पकाइदिने, लुगा धोइदिने अनि श्रीमान्‌को परिवारको ख्याल राखिदिने गरेर तिनले असल श्रीमती हुने पूरापूर कोसिस गरिन्‌। (रोमी १२:१७) समयले भ्याएसम्म तिनी आफ्नो श्रीमान्‌को परिवार अनि साथीभाइसित समय बिताउँथिन्‌। जस्तै: श्रीमान्‌को बुबा बित्दा उनीहरू अर्कै सहर जानुपरेको थियो। त्यतिबेला तिनी आफैले छोराछोरीलाई तयार पारिन्‌ अनि यात्राको लागि चाहिने सबै चाँजोपाँजो मिलाइन्‌। अनि चर्चमा अन्त्येष्टि कार्यक्रम हुँदै गर्दा बाहिर ढोकामा आफ्नो श्रीमान्‌लाई पर्खिरहिन्‌। यो धेरै वर्ष पहिलाको कुरा हो। ओल्गाले देखाएको धीरज र आदरले गर्दा अहिले तिनको श्रीमान्‌ परिवर्तन भइसके। अहिले त उनले नै ओल्गालाई राज्यभवन पुऱ्याउँछन्‌। यहाँसम्म कि, उनले ओल्गालाई सभा जान प्रोत्साहन समेत दिन्छन्‌ अनि आफै पनि कहिलेकाहीं सभा जान्छन्‌।—१ पत्रु. ३:१.

कोप्रति वफादार रहने भनेर निर्णय गर्नुपर्दा

१०. कोप्रति वफादार रहने भनेर निर्णय गर्न जोनाथनलाई कुन कुराले मदत गऱ्यो?

१० शाऊलले दाऊदलाई मार्न खोज्दा जोनाथनलाई कोप्रति वफादार रहने भनेर निर्णय गर्न गाह्रो पऱ्यो।  तिनी आफ्नो बुबाको अधीनमा बस्न चाहन्थे तर दाऊदसित पनि तिनले मित्रताको करार बाँधेका थिए। यहोवा परमेश्वर शाऊलसित होइन तर दाऊदसित हुनुहुन्छ भनेर जोनाथनलाई थाह थियो। त्यसैले तिनी शाऊलप्रति नभई दाऊदप्रति वफादार रहे। तिनले दाऊदलाई लुक्न सल्लाह दिए र शाऊलको अगाडि पनि दाऊदको बारेमा राम्रो-राम्रो कुरा गरे।१ शमूएल १९:१-६ पढ्नुहोस्।

११, १२. परमेश्वरप्रतिको प्रेमले हामीलाई उहाँप्रति वफादार रहन कसरी मदत गर्छ?

११ अस्ट्रेलियामा बस्ने एलिसलाई विचार गर्नुहोस्। परमेश्वरप्रति वफादार रहेको कारण तिनले अरूप्रति कुन हदसम्म वफादार रहने भनेर सही निर्णय गर्न सकिन्‌। बाइबल अध्ययन सुरु गर्दा तिनी आफूले सिकेको सबै कुरा परिवारलाई सुनाउँथिन्‌। तर पछि तिनले आफ्नो परिवारलाई उनीहरूसित बसेर क्रिसमस मनाउन नसक्ने कुरा बताइन्‌; तिनले त्यसको कारण पनि स्पष्ट पारिन्‌। सुरुमा त तिनको परिवार दुःखी मात्र भयो तर पछि भने उनीहरू एलिसदेखि निकै रिसाउन थाले। एलिसले परिवारलाई वास्तै गर्दैन भन्ने निष्कर्षमा उनीहरू पुगे। त्यसपछि के भयो त्यसबारे एलिस यसो भन्छिन्‌: “आखिरमा आमाले मलाई ‘तिमी मेरो छोरी नै होइन’ भन्नुभयो। त्यो कुरा सुनेर म छाँगाबाट खसेझैं भएँ; मनै कटक्क खायो। म आफ्नो परिवारलाई एकदमै माया गर्थें। तैपनि यहोवा र उहाँको छोरालाई पहिलो स्थान दिनुपर्छ भन्ने सोचेर मैले त्यसपछिको सम्मेलनमा बप्तिस्मा गरें।”—मत्ती १०:३७.

१२ होसियार भएनौं भने देश, स्कुल वा खेलप्रतिको वफादारीले परमेश्वरप्रतिको वफादारीलाई निसासिदिन सक्छ। हेन्रीको उदाहरण विचार गर्नुहोस्। तिनलाई चेस खेल्न एकदमै मनपर्छ। तिनको स्कुल जहिले पनि चेस खेलमा उत्कृष्ट हुन्थ्यो। त्यसैले हेन्री पनि जित्नको लागि यथासक्दो गर्न चाहन्थे। तर तिनी यो कुरा स्वीकार्छन्‌: “बिस्तारै-बिस्तारै म यहोवाप्रतिभन्दा स्कुलप्रति पो वफादार हुन थालेछु! हप्ताको अन्तमा, बिदाको दिन पनि म चेस खेल्नमै भुल्न थालें। राज्य गतिविधिमा त्यति समय नै दिन सकिनँ। त्यसैले म चेस टिमबाटै निसकें।”—मत्ती ६:३३.

१३. परमेश्वरप्रति वफादार रहँदा पारिवारिक समस्या कसरी सुल्झाउन सक्छौं?

१३ कहिलेकाहीं परिवारका सदस्यहरूमध्ये कोप्रति वफादार रहने भनेर निर्णय गर्न गाह्रो हुन सक्छ। केनको उदाहरण विचार गर्नुहोस्। तिनी भन्छन्‌: “आमा वृद्ध भइसक्नुभएकोले म उहाँलाई भेट्न गइरहन चाहन्थें अनि कहिलेकाहीं उहाँलाई आफूसँगै राख्न चाहन्थें। तर मेरी आमा र श्रीमतीको ठ्याकै मिल्दैनक्थ्यो। सुरुमा त मलाई के गरौं, कसो गरौं भयो। म दुवैको चित्त दुखाउन चाहन्नथें। त्यसपछि मैले महसुस गरें, यस्तो बेला त म आफ्नो श्रीमतीप्रति वफादार रहनुपर्छ। त्यसैले मैले विवेकी हुँदै निर्णय गरें; कुनै-कुनै कुरामा सम्झौता गर्नुपरे तापनि श्रीमतीलाई मन पर्ने निर्णय गरें।” परमेश्वरप्रति वफादार रहेकोले अनि उहाँको वचनलाई आदर गरेकोले केनले साहस बटुल्दै आफ्नी आमालाई किन माया गर्नुपर्छ भनेर श्रीमतीलाई बताउन सके अनि आमालाई पनि श्रीमतीको कुरा किन सुन्नुपर्छ भनेर स्पष्ट पार्न सके।उत्पत्ति २:२४; १ कोरिन्थी १३:४, ५ पढ्नुहोस्।

कसैले हाम्रो कुरा नबुझ्दा वा नराम्रो व्यवहार गर्दा

१४. शाऊलले जोनाथनलाई कस्तो नराम्रो व्यवहार गरे?

१४ अख्तियार पाएको व्यक्तिले हाम्रो कुरा राम्रोसित बुझेनन्‌ भने पनि हामीलाई परमेश्वरप्रति वफादार रहन गाह्रो हुन सक्छ। जोनाथनलाई त्यस्तै भयो। परमेश्वरका अभिषिक्त राजा शाऊललाई दाऊद र जोनाथनबीच गहिरो मित्रता छ भनेर थाह थियो। तर तिनले उनीहरूबीचको मित्रता किन यत्ति बलियो भयो, त्योचाहिं बुझ्न सकेनन्‌। त्यसैले तिनले कुरोको चुरो नै नबुझी रिसको झोकमा जोनाथनको बेइज्जत गरे। तर जोनाथनले आफ्नो बुबासित बदला लिएनन्‌। अनि परमेश्वर र इस्राएलका भावी राजाप्रतिको तिनको वफादारी एक इन्च पनि तलमाथि भएन।—१ शमू. २०:३०-४१.

१५. कसैले नराम्रो व्यवहार गर्दा हामीले के गर्नुपर्छ?

१५ अहिले यहोवाका सेवकहरूले सङ्गत गर्ने मण्डलीमा अन्यायी व्यवहार गरिन्छ भन्ने त होइन। तर हाम्रो अगुवाइ लिने मानिसहरू त्रुटिपूर्ण छन्‌। तिनीहरूले हाम्रो कुरा राम्ररी नबुझ्न सक्छन्‌; तिनीहरूलाई हामीबारे गलतफहमी हुन सक्छ। (१ शमू. १:१३-१७) त्यसकारण  कसैले हामीलाई नराम्रो व्यवहार गर्दा होस् वा हामीबारे कसैलाई गलतफहमी हुँदा, यहोवाप्रति सधैं वफादार भइरहौं।

वफादारी र व्यक्तिगत इच्छा आपसमा बाझिंदा

१६. कस्तो अवस्थामा हामी निःस्वार्थ हुँदै परमेश्वरप्रति वफादार रहनुपर्छ?

१६ शाऊलले जोनाथनलाई आफ्नै इच्छालाई प्राथमिकता दिन उक्साएका थिए। (१ शमू. २०:३१) तर परमेश्वरप्रति वफादार भएकोले जोनाथनले राजा हुने आफ्नो चाहनालाई भन्दा दाऊदसितको मित्रतालाई प्राथमिकता दिए। यहोवाको इच्छाअनुसार चल्ने मान्छेले “आफ्नो हानि हुँदा पनि किरिया खाएर कुरा बदल्दैन” भन्ने कुरा मनमा राखेका छौं भने हामी पनि जोनाथनजस्तै निःस्वार्थ हुन सक्छौं। (भज. १५:४) जोनाथनले दाऊदसित खाएको “किरिया” बदलेनन्‌; हामीले पनि आफ्नो वाचा तोड्नु हुँदैन। उदाहरणको लागि, व्यवसायमा सम्झौता गरेको कुरा पूरा गर्न गाह्रो भयो भने परमेश्वरप्रतिको वफादारी र बाइबलप्रतिको आदरले हामीलाई वचनबद्ध हुन मदत गर्छ। अनि वैवाहिक जीवनमा हामीले सोच्दै नसोचेको समस्या आयो भने के गर्ने? त्यतिबेला पनि यहोवाप्रतिको वफादारीले हामीलाई आफ्नो जोडीप्रति वफादार रहन मदत गर्छ।मलाकी २:१३-१६ पढ्नुहोस्।

व्यापारसम्बन्धी कुनै सम्झौता गरेका छौं भने त्यसैअनुसार गरेर हामी परमेश्वरप्रति वफादार रहेको र बाइबललाई आदर गरेको देखाउन सक्छौं (अनुच्छेद १६ हेर्नुहोस्)

१७. यो लेखबाट तपाईंले के सिक्नुभयो?

१७ जोनाथनको उदाहरणले हामीलाई परमेश्वरप्रति वफादार हुन झकझक्याउँदैन र? हामी आफ्नै स्वार्थी चाहनाको पछि नलागौं। अनि जोनाथन जस्तै परमेश्वरका सेवकहरूप्रति वफादार भइरहौं, चाहे उनीहरूले हाम्रो चित्त नै किन नदुखाओस्। गाह्रो अवस्थामा पनि परमेश्वरप्रति वफादार भयौं भने हामीले उहाँलाई खुसी तुल्याइरहेका हुन्छौं अनि यो कुराले हामीलाई गहिरो सन्तुष्टि दिन्छ। (हितो. २७:११) यहोवाप्रति वफादार रह्यौं भने उहाँले जे गर्नुहुन्छ, हाम्रै फाइदाको लागि गर्नुहुन्छ भनेर हामीले देख्न सक्नेछौं। अर्को लेखमा हामी दाऊदको समयका वफादार अनि अवफादार मानिसहरूको उदाहरणबाट कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं, त्यस विषयमा छलफल गर्नेछौं।

^ [१] (अनुच्छेद ९) केही नामहरू परिवर्तन गरिएका छन्‌।