अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) फेब्रुअरी २०१६

 जीवनी

यहोवाको सेवामा पाएको सफलता

यहोवाको सेवामा पाएको सफलता

‘युद्धमा भाग नलिएकोले पहिला पनि जेल परिसकें’ भनेर मैले अफिसरलाई बताएँ। मैले उनलाई सोधें: “तपाईं मलाई फेरि समात्न आउनुभ’को हो?” यो कुरा दोस्रोचोटि अमेरिकी सेनामा भर्ती हुन बोलाइँदाको हो।

मेरो जन्म सन्‌ १९२६ मा अमेरिकाको ओहायो भन्ने ठाउँको क्रुक्सभिलमा भएको थियो। दिदी, म र भाइबहिनी गरी हामी जम्मा आठ जना थियौं। मेरो आमाबुबालाई धर्ममा खासै चासो नभए पनि हामी आठ जनालाई चाहिं चर्च जान भन्नुहुन्थ्यो। म मेथोडिस्ट चर्च जान्थें। म १४ वर्ष छँदाको कुरा हो, वर्षमा एकचोटि पनि चर्च जान नछुटाएकोले त्यहाँको पादरीले मलाई उपहार दिनुभएको थियो।

मार्गरेट वल्करले (बायाँबाट दोस्रो) मलाई सत्य सिक्न मदत गर्नुभयो

त्यही समयतिर हाम्री छिमेकी मार्गरेट वल्कर भन्ने यहोवाको साक्षीले मेरी आमासित बाइबलको विषयमा कुरा गर्न थाल्नुभयो। एकदिन म पनि उहाँहरूको छलफलमा बस्न खोजें, तर अध्ययनमा बाधा पुऱ्याउला भनेर होला आमाले मलाई बस्नै दिनुभएन। मैले उहाँहरूको छलफल सुन्ने हरप्रयास गरें। केहीपटक हाम्रो घरमा आउनुभएपछि मार्गरेटले मलाई यस्तो प्रश्न सोध्नुभयो: “तिमीलाई परमेश्वरको नाम थाह छ?” मैले जवाफ दिएँ: “त्यो त जसलाई पनि थाह छ नि—परमेश्वर!” उहाँले भन्नुभयो: “त्यसोभए तिम्रो आफ्नै बाइबल पल्टाएर हेर है त! भजन ८३:१८ मा के लेखेको छ?” मैले बाइबल खोलेर हेरें। परमेश्वरको नाम त यहोवा पो रहेछ! त्यसपछि त म दौडेर साथीहरूकहाँ गएँ अनि उनीहरूलाई भनें: “साँझ घर पुग्ने बित्तिकै बाइबलमा भजन ८३:१८ मा परमेश्वरको  नाम के हो भनेर हेर्नु है!” मैले त्यतिबेलादेखि नै प्रचार गर्न थालेंजस्तो तपाईंहरूलाई लाग्यो होला नि, होइन र?

त्यसपछि मैले बाइबल अध्ययन गरें अनि सन्‌ १९४१ मा बप्तिस्मा गरें। त्यसको लगत्तै मलाई मण्डली पुस्तक अध्ययन सञ्चालन गर्ने जिम्मेवारी दिइयो। मैले मेरी आमा, दिदी र भाइबहिनीलाई त्यस सभामा आउने प्रोत्साहन दिएँ। उहाँहरू मैले सञ्चालन गर्ने हरेक सभामा उपस्थित हुन थाल्नुभयो। तर बुबाले भने कुनै चासो दिनुभएन।

घरबाट आएको विरोध

मण्डलीमा मलाई धेरै जिम्मेवारी दिइयो। मैले बाइबलआधारित प्रकाशनहरू जम्मा गरेर एउटा सानो पुस्तकालय पनि बनाएँ। एकदिन बुबाले ती किताबहरू देखाउँदै यसो भन्नुभयो: “के चाहिने-नचाहिने सामान थुपारेको? सब हटाऊ! तिमी पनि खुरुक्क आफ्नो बाटो लागे हुन्छ।” म घरबाट निस्किएँ। अनि ओहायोको जेन्सभिल भन्ने ठाउँनजिकै एउटा कोठा भाडामा लिएर बसें। तर परिवारका सदस्यहरूलाई प्रोत्साहन दिन बेला-बेलामा घर जाने गर्थें।

बुबाले आमालाई सभा जानदेखि रोक्न खोज्नुहुन्थ्यो। कहिलेकाहीं त आमा सभा जान बाहिर निस्कँदा बुबाले उहाँलाई तान्दै घरभित्र फर्काउनुहुन्थ्यो। तर उहाँ भने अर्को ढोकाबाट निस्केर सभा जानुहुन्थ्यो। मैले आमालाई भनें: “चिन्ता नगर्नुस्। तपाईंको पछि लाग्दा-लाग्दा एकदिन बुबा थाक्नुहुनेछ।” साँच्चै! समयको दौडान बुबाले हार मान्नुभयो अनि आमालाई सभा जान सजिलो भयो।

हाम्रो मण्डलीमा सन्‌ १९४३ देखि ईश्वरतान्त्रिक सेवा स्कुल सञ्चालन गरियो। मैले विद्यार्थीको रूपमा भाषण दिन थालें। भाषणपछि पाउने सल्लाहले गर्दा मेरो बोल्ने क्षमतामा उन्नति भयो।

युद्धको दौडान विश्वासमा अडिग

राष्ट्रहरू दोस्रो विश्व युद्ध लडिरहेका थिए। सन्‌ १९४४ मा मलाई सैन्य सेवामा भर्ती हुन बोलाइयो। म ओहायोको कोलम्बसमा भएको फोर्ट हेजमा (सैनिक ब्यारेक) हाजिर भएँ। त्यहाँ मेरो स्वास्थ्य परीक्षण गरियो अनि आवश्यक कागज-पत्र भर्न लगाइयो। मैले ‘सेनामा भर्ती हुँदिनँ’ भनेर पनि अफिसरहरूलाई बताएँ। उनीहरूले मलाई जान दिए। तर केही दिनपछि एक जना अफिसर मेरो घरमा आए र यसो भने: “कोरविन रबिसन, म तिमीलाई गिरफ्तार गर्न आएको।”

त्यसको दुई हप्तापछि अदालतमा न्यायाधीशले यसो भन्नुभयो: “मेरो हातमा भएको भए तिमीलाई आजीवन कारावासमा राख्थें। ल! अब तिम्रो केही भन्नुछ भने भन।” त्यसपछि मैले भनें: “श्रीमान्‌, मलाई त सेवकको * रूपमा हेरिनुपर्ने हो। म हरेक मानिसको ढोका-ढोकामा गएर तिनीहरूलाई राज्यको विषयमा राम्रो समाचार सुनाउँछु।” न्यायाधीशले जुरीलाई (निर्णायक मण्डल) यसो भन्नुभयो: “यो केटो सेवक हो कि होइन भनेर निर्णय गर्न तपाईंहरू यहाँ भेला हुनुभएको होइन। बरु ऊ सेनामा भर्ती हुन इच्छुक छ कि छैन भनेर पक्का गर्न भेला हुनुभएको हो।” त्यसको लगभग आधा घण्टापछि जुरीले आफ्नो निर्णय सुनायो; मलाई दोषी ठहराइयो। त्यसपछि न्यायाधीशले मलाई पाँच वर्षको जेल सजाय सुनाउनुभयो। मलाई केन्टकीको आसल्याण्ड भन्ने ठाउँको जेलमा राखियो।

यहोवाले मलाई जेलमा सुरक्षा दिनुभयो

मलाई सुरुको दुई हप्ता ओहायोको कोलम्बस भन्ने ठाउँको जेलमा राखियो। सुरुको दिन नै मैले यहोवालाई यसरी प्रार्थना गरें: “हे यहोवा, पाँच-पाँच वर्षसम्म म यो सानो कोठामा कसरी बसूँ? अब म के गरूँ?”

 त्यसको भोलिपल्ट सुरक्षा गार्डले मलाई बाहिर निस्कन दियो। म झ्यालनिर उभिरहेको ज्याङ्गो मान्छेको नजिकै गएँ। हामी दुवै जना झ्याल बाहिरको रमिता हेर्दै थियौं। त्यत्तिकैमा उसले मलाई सोध्यो: “तिमी कसरी जेलमा परेको?” मैले भनें: “म यहोवाको साक्षी हुँ।” उसले भन्यो: “ए हो! उसोभए यहाँ किन नि?” मैले भनें: “यहोवाका साक्षीहरू युद्धमा भाग लिंदैनन्‌ अनि मारकाट पनि गर्दैनन्‌।” उसले भन्यो: “मान्छे नमारेकोले जेलमा परेको रे! कस्तो अचम्म! अरूलाई चाहिं मान्छे मारेकोले जेलमा हाल्ने, तिमीलाई चाहिं नमारेकोले! खै के, खै के? कुरै बुझ्न गाह्रो!” मैले भनें: “त्यै त!”

त्यसपछि उसले भन्यो: “म १५ वर्षसम्म अर्कै जेलमा थिएँ। त्यहाँ तिमीहरूको एक-दुइटा किताब पढेको थिएँ।” अनि मैले मनमनै प्रार्थना गरें: “हे यहोवा, मैले यो मान्छेलाई आफ्नो पक्षमा पार्न सकूँ।” ठीक त्यहीबेला पउल्ले, मेरो मतलब त्यो कैदीले यसो भन्यो: “यिनीहरूमध्ये कसैले छोयो मात्रै भने पनि मलाई आवाज दिनू। म यिनीहरूलाई ठीक पार्छु।” त्यहाँ ५० जना कैदीहरूसँगै बस्नुपरे पनि कसैसित कुनै समस्या भएन।

विश्वासमा अडिग रहेको कारण केन्टकीको आसल्याण्ड भन्ने ठाउँको जेलमा परेका अरू साक्षीहरूसँगै

अफिसरहरूले मलाई आसल्याण्डको जेलमा सारेपछि त्यहाँ थुप्रै परिपक्व साक्षीहरूलाई भेट्न पाएँ। उहाँहरूसित सङ्गत गर्दा मैले आध्यात्मिक रूपमा बलियो हुने मौका पाएँ। मैले मात्र होइन, अरूले पनि पाए। ती परिपक्व साक्षीहरूले हामीलाई साप्ताहिक बाइबल पढाइको जिम्मेवारी दिनुहुन्थ्यो। अनि हामी बाइबल बीज् भनिने सभाको लागि प्रश्न-उत्तर तयार पार्थ्यौं। जेलभित्रै इलाका सेवक पनि नियुक्त गरिएको थियो। हाम्रो सुत्ने कोठा एकदमै ठूलो थियो; भित्तातिर थुप्रै खाटहरू थिए। इलाका सेवकले मलाई यसो भन्नुहुन्थ्यो: “रबिसन, तिम्ले यो-यो खाटमा सुत्नेलाई प्रचार गर्नू। ज-जसले जुन-जुन खाटमा सुत्ने व्यक्तिलाई प्रचार गर्ने जिम्मेवारी पाउँछ, त्यो नै उसको इलाका हो। त्यसैले तिमीले त्यो व्यक्ति यहाँबाट जानुअघि नै साक्षी दिनू है!” यसरी हामीले व्यवस्थित ढङ्गमा प्रचार गऱ्यौं।

जेल बाहिरको जीवन

सन्‌ १९४५ मा दोस्रो विश्व युद्ध रोकियो। तर त्यसपछि पनि केही समयसम्म म जेलमै थिएँ। मलाई परिवारको निकै चिन्ता लागेको थियो किनभने बुबाले यसो भन्नुभएको थियो: “तिमी भएनौ भने परिवारका बाँकी सदस्यलाई के गर्नुपर्छ, मलाई राम्ररी थाह छ।” जेलबाट छुटेपछि मैले सोच्दै नसोचेको कुरा हेर्न पाएँ। बुबाले जति नै विरोध गर्नुभए तापनि मेरो परिवारको सात जना सदस्य सभाहरूमा गइरहनुभएको रहेछ अनि एक जना बहिनीले त बप्तिस्मा पनि गरिसकेकी रहेछिन्‌।

सन्‌ १९१३ मा सेवा सुरु गर्नुभएको अभिषिक्त भाइ डेमेत्रियस पापाजर्जसित प्रचार जान लाग्दा

सन्‌ १९५० मा कोरियाली युद्ध सुरु हुँदा मलाई  दोस्रोचोटि सैन्य सेवामा भर्ती हुन बोलाइयो र फोर्ट हेजमा पठाइयो। मेरो योग्यता जाँच गरिसकेपछि एक जना अफिसरले यसो भन्नुभयो: “तिम्रो समूहमा तिमी सबैभन्दा राम्रो रहेछौ।” मैले भनें: “त्यो त ठीकै छ। तर म सेनामा भर्ती हुन्नँ।” मैले २ तिमोथी २:३ उद्धरण गर्दै यसो भनें: “म त ख्रीष्टको सिपाही भइसकेको छु।” निकै बेर चुप्प लागेपछि तिनले भने: “तिमी जान सक्छौ।”

त्यसको लगत्तै म ओहायोको सिन्सन्याटी भन्ने ठाउँमा आयोजना गरिएको अधिवेशनको बेथेल सभामा उपस्थित भएँ। कुनै भाइ परमेश्वरको राज्यको लागि कडा मेहनत गर्न चाहन्छ भने सङ्गठनले उसलाई बेथेलमा स्वागत गर्नेछ भनेर भाइ मिल्टन हेन्सेलले बताउनुभयो। मैले बेथेल सेवाको फारम भरें; निम्तो पनि आयो। सन्‌ १९५४ को अगस्त महिनादेखि ब्रूक्लिन बेथेलमा सेवा गर्न थालें; अहिलेसम्म गर्दै छु।

बेथेलमा कहिल्यै पनि कामको कमी भएन। मैले केही वर्षसम्म छापाखाना र अफिस भवनको बोइलर मेसिन चलाउने र मेकानिकको काम गरें अनि लकहरू पनि बनाएँ। साथै न्यु योर्क सहरको सम्मेलन भवनहरूमा पनि काम गरें।

ब्रूक्लिन बेथेलमा रहेको अफिस भवनको बोइलर मेसिन रेखदेख गर्दै

मलाई बेथेलको आध्यात्मिक तालिका निकै मन पऱ्यो। बिहानको उपासना, पारिवारिक प्रहरीधरहरा अध्ययन र मण्डलीका भाइबहिनीहरूसित क्षेत्र सेवामा भाग लिंदा मलाई खुसी लाग्क्थ्यो। यी कुराहरू सबै यहोवाका साक्षीको परिवारमा लागू गर्न सकिन्छ, साँच्चै भन्ने हो भने लागू गर्नु पनि पर्छ। आमाबुबाले आफ्ना छोराछोरीसँगै दैनिक पद पढ्दा, नियमित रूपमा पारिवारिक उपासना गर्दा अनि जोसिलो भई सभाहरूमा र प्रचारमा भाग लिंदा परिवारको आध्यात्मिकता बलियो हुन्छ।

मैले बेथेलमा र मण्डलीमा थुप्रै साथीहरू बनाएँ। उहाँहरूमध्ये कोही-कोही अभिषिक्त जन हुनुहुन्थ्यो। अनि कतिपयले स्वर्गीय इनाम पाइसक्नुभयो; कतिपयले पाउन बाँकी छ। यहोवाका सबै सेवक त्रुटिपूर्ण छन्‌, जसमा बेथेल सेवकहरू पनि पर्छन्‌। कुनै भाइसित मतभेद भयो भने म तुरुन्तै मेलमिलाप गर्ने कोसिस गर्छु; मत्ती ५:२३, २४ मनन गर्छु अनि मतभेद कसरी सुल्झाउने भनेर सोच्छु। हुन त माफी माग्न सजिलो छैन, तर एक चोटि माफी मागिसकेपछि प्रायजसो सम्बन्ध सुध्रेकै देखेको छु।

सेवाको कामबाट पाएको असल परिणाम

बुढेसकाल लागेकोले अहिले घर-घरको प्रचार जान त गाह्रो छ तर मैले हार मानेको छैन। मैले अलिअलि म्यान्डरिन  चिनियाँ भाषा सिकेको छु; त्यसैले बाटोमा भेटेका चिनियाँहरूसित कुराकानी गर्न रमाइलो लाग्छ। कुनै-कुनै बिहानी त चासो देखाउनेहरूलाई ३०-४० वटा पत्रिका वितरण गरेको छु।

न्यु योर्कको ब्रूक्लिनमा चिनियाँहरूलाई प्रचार गर्दै

तपाईंहरूलाई थाह छ, मैले चीनमा समेत पुनःभेट गरेको छु! खास कुरा के हो भने, एउटी हँसिली जवान केटीले मलाई फलफूल पसलको विज्ञापन गरेकी थिइन्‌। मैले पनि हाँस्दै उनलाई चिनियाँ भाषाको प्रहरीधरहरा ब्यूँझनुहोस्! पत्रिका दिएँ। उनले त्यो लिइन्‌। उनको नाम क्येटी रहेछ। त्यसपछि त उनी मलाई देख्ने बित्तिकै बोल्न आउँथिन्‌। म उनलाई फलफूल र तरकारीको अङ्ग्रेजी नाम सिकाउँथें; मैले जे-जे भन्थें, उनी त्यही-त्यही दोहोऱ्याउँथिन्‌। मैले उनलाई बाइबल पदहरूको अर्थ पनि बुझाएँ र उनले बाइबलले सिकाउँछ किताब स्वीकारिन्‌। तर केही हप्तापछि उनी देखापर्नै छोडिन्‌।

महिनौं पछिको कुरा हो, फलफूल पसलको विज्ञापन गर्ने अर्की केटीलाई देखें। मैले उनलाई पत्रिका दिएँ; उनले स्वीकारिन्‌। अर्को हप्ताको भेटमा त उनले मलाई आफ्नो मोबाइल दिंदै यसो भनिन्‌: “चाइनामा कुरा गर्नुस् न।” मैले भनें: “चाइनामा कसैलाई त चिन्दिनँ!” तर उनले कर गरिन्‌। त्यसैले मैले मोबाइल लिएँ र यसो भनें: “हेलो! म रबिसन बोल्दैछु।” उताबाट यस्तो आवाज आयो: “रबि! म क्येटी। अहिले चाइनामा छु।” मैले भनें: “चाइनामा रे?” क्येटीले जवाफ दिइन्‌: “हो, तपाईंलाई फोन दिने केटी मेरी बहिनी हुन्‌। तपाईंले मलाई सिकाउनुभएको राम्रो कुराहरू उसलाई पनि सिकाइदिनुस् न है!” मैले भनें: “हुन्छ। मैले सके जति गर्छु। कहाँ छौ भनेर जानकारी दियौ, धन्यवाद!” त्यसपछि क्येटीको बहिनीसित कुराकानी गरें। उनीहरू अहिले कहाँ छन्‌ त थाह छैन, तर आशा छ, जहाँ भए पनि उनीहरूले यहोवाको विषयमा सिक्नेछन्‌।

यहोवालाई पवित्र सेवा चढाएको ७३ वर्ष भइसक्यो। जेलमा बस्दा अडिग रहन र विश्वासी हुन यहोवाले मदत गर्नुभएकोमा म खुसी छु। साथै बुबाले विरोध गर्दा मैले हार नमानेकोले मेरी दिदीबहिनी अनि भाइहरूले साहसी हुन मदत पाएको कुरा बताउँछन्‌। मेरी आमाले अनि दिदीबहिनी र भाइहरूमध्ये ६ जनाले बप्तिस्मा गर्नुभयो। बुबाको मृत्यु हुनुअघि उहाँ पनि परिवर्तन हुनुभएको थियो; उहाँ सभाहरू जान थाल्नुभएको थियो।

परमेश्वरको इच्छा भए मेरो परिवारका सदस्यहरू अनि साथीहरू नयाँ संसारमा पुनर्जीवित हुनेछन्‌। हामीले माया गरेका व्यक्तिहरूसँगै मिलेर सधैंभरि यहोवाको उपासना गर्दा कत्ति रमाइलो हुनेछ, कल्पना गर्नुहोस् त! *

^ अनु. 14 अमेरिकामा धार्मिक सेवकहरूले सैन्य सेवामा भाग लिनुपर्दैनक्थ्यो।

^ अनु. 32 यो लेख तयार पार्दै गर्दा भाइ कोरविन रबिसन बित्नुभयो। उहाँ अन्तसम्मै यहोवाप्रति वफादार रहनुभयो।