अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) नोभेम्बर २०१६

यहोवाले अन्धकारबाट बोलाउनुभयो

यहोवाले अन्धकारबाट बोलाउनुभयो

“[यहोवाले] तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो।”—१ पत्रु. २:९.

गीत: ९५, ७४

१. यरूशलेम विनाश हुँदा के भयो, व्याख्या गर्नुहोस्।

ईसापूर्व ६०७ मा राजा नबूकदनेसर द्वितीयको नेतृत्वमा आएको विशाल बेबिलोनी सेनाले यरूशलेम सहरलाई आक्रमण गऱ्यो। त्यतिबेला भएको रक्तपातबारे बाइबल यसो भन्छ: “[नबूकदनेसरले] बासस्थान भित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, औ जवान मानिस, कुमारी, वृद्ध, कमजोर कसैलाई तिनले छोडेनन्‌। . . . परमप्रभुको भवन जलाइदिए, र यरूशलेम शहरको पर्खाल जमीनसम्मै भत्काइदिए। शहरका सबै सुन्दर-सुन्दर घरहरू र तिनीहरूका सबै दामी-दामी सामानहरू सर्वनाश नहोउञ्जेल जलाइदिए।”—२ इति. ३६:१७, १९.

२. यरूशलेममाथि आउँदै गरेको विनाशबारे यहोवाले कस्तो चेतावनी दिनुभयो? यहूदीहरूलाई के हुनेथियो?

यरूशलेम सहर विनाश भएकोमा त्यहाँका बासिन्दाहरू छक्क परेनन्‌ होला। किनभने परमेश्वरको व्यवस्थालाई बेवास्ता गरिरहेमा यहूदीहरू बेबिलोनीहरूको हातमा सुम्पिइनेछन्‌ भनेर भविष्यवक्ताहरूले चेतावनी दिएको वर्षौं भइसकेको थियो। थुप्रै यहूदीहरू तरबारले मारिने थिए अनि बचेकाहरूचाहिं बेबिलोनमा कैदी बनाएर लगिने थिए। (यर्मि. १५:२) कैदी बनाएर बेबिलोन लगिएकाहरूले कस्तो जीवन बिताए? यहूदीहरूलाई बेबिलोनमा कैदी बनाएजस्तै के कुनै समय ख्रीष्टियनहरूलाई पनि कैदी बनाइएको थियो? थियो भने कहिले?

 कैदमा छँदाको जीवन

३. यहूदीहरूले बेबिलोनमा कैदीको रूपमा बिताएको जीवन र इस्राएलीहरूले मिश्रको दासत्वमा बिताएको जीवनबीच कस्तो भिन्नता थियो?

भविष्यवक्ताहरूले जे-जे भनेका थिए, ती सबै कुरा पूरा भए। पछि कैदी भएर जाँदा त्यहाँको नयाँ परिस्थितिलाई स्वीकार्न अनि त्यहाँ जे-जति गर्न सक्छन्‌, ती गर्न यहोवाले यर्मियाद्वारा बताउनुभएको थियो। उहाँले यसो भन्नुभयो: “[बेबिलोनमा] तिमीहरू घर बनाएर बस, बारीहरू लगाऊ र तिनका फल खाऊ। औ मैले तिमीहरूलाई कैदमा पठाएको शहरको भलो चिताऊ, र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर। त्यसको भलो चिताएकोमानै तिमीहरूको भलो हुनेछ।” (यर्मि. २९:५, ७) परमेश्वरको आज्ञाअनुसार चल्नेहरूले बेबिलोनमा केही हदसम्म सामान्य जीवन बिताउन सके। कैदीहरूलाई केही हदसम्म भए पनि आफ्नो कामकुरा गर्ने अनुमति दिइएको थियो। तिनीहरूलाई देशमा यताउता जाने स्वतन्त्रता दिइएको थियो। पुरातन समयमा बेबिलोन व्यापारको केन्द्र थियो। त्यहाँ थुप्रै यहूदीहरूले किनबेच गर्न सिके अनि अरू कतिपयचाहिं कुशल कालिगड भए भन्ने कुरा उत्खनन गरेर भेटिएका कागजातहरूमा पाइन्छ। केही यहूदीहरू त निकै धनी समेत भए। यहूदीहरूले बेबिलोनमा कैदीको रूपमा बिताएको जीवन शताब्दियौंअघि इस्राएलीहरूले मिश्रको दासत्वमा बिताएको जीवनजस्तो कठोर थिएन।—प्रस्थान २:२३-२५ पढ्‌नुहोस्।

४. विद्रोही इस्राएलीहरूबाहेक अरू को पनि बेबिलोनको कैदमा परे? परमेश्वरले स्वीकार्नुहुने तरिकामा उपासना गर्न तिनीहरूलाई किन सजिलो थिएन?

हुन त कैदमा परेका यहूदीहरूको भौतिक आवश्यकता पूरा भइरहेको थियो। तर तिनीहरूको आध्यात्मिक आवश्यकता नि? त्यतिबेला यहोवाको उपासना गर्ने वेदी र पूरै मन्दिर विनाश भइसकेको थियो। साथै, पुजारीहरूले पनि व्यवस्थित ढङ्‌गमा काम गरिरहेका थिएनन्‌। कैदी बनाएर लगिएकाहरूमध्ये परमेश्वरका वफादार सेवकहरू पनि थिए। तिनीहरूले कुनै गल्ती नगरे पनि बाँकी इस्राएलीहरूसँगै दुःख भोग्नुपऱ्यो। तैपनि तिनीहरूले परमेश्वरको व्यवस्था पालन गर्न सक्दो कोसिस गरे। उदाहरणको लागि, बेबिलोनमा छँदा दानियल र तिनका तीन जना साथीहरू शद्रक, मेशेक र अबेद्‌नगोले यहूदीहरूलाई निषेध गरिएको खानेकुरा खान इन्कार गरे। साथै, दानियलले नियमित रूपमा परमेश्वरलाई प्रार्थना गरे भनेर हामीलाई थाह छ। (दानि. १:८; ६:१०) तैपनि मूर्तिपूजकहरूको देशमा बस्दा परमेश्वरको डर मान्ने यहूदीहरूलाई व्यवस्थामा दिइएको सबै आज्ञा पालन गर्न सम्भव थिएन।

५. यहोवाले आफ्ना जनहरूलाई कस्तो आशा दिनुभयो? उहाँको यस प्रतिज्ञा किन उल्लेखनीय थियो?

परमेश्वरले पूर्णतया स्वीकार्नुहुने तरिकामा के इस्राएलीहरूले फेरि उपासना गर्ने मौका पाउनेथिए? त्यतिबेलाको अवस्थालाई विचार गर्दा त्यस्तो सम्भावना पटक्कै देखिंदैन थियो। किनभने बेबिलोनीहरू कैदीहरूलाई कहिल्यै मुक्त गर्दैन थिए। तर यहोवाले आफ्ना जनहरूबारे के सोच्नुभएको छ, त्यो तिनीहरूलाई थाह थिएन। यहोवाले आफ्ना जनहरू बेबिलोनको कैदबाट मुक्त हुनेछन्‌ भनेर प्रतिज्ञा गर्नुभएको थियो। नभन्दै तिनीहरू मुक्त भए! परमेश्वरको प्रतिज्ञा सधैं पूरा हुन्छ।—यशै. ५५:११.

के ख्रीष्टियनहरू पनि कहिल्यै बेबिलोनको कैदमा परेका थिए?

६, ७. वर्तमान समयमा परमेश्वरका जनहरू बेबिलोनको कैदमा परेको विषयमा हाम्रो बुझाइ किन छाँटकाँट गर्नुपर्ने भएको छ?

यहूदीहरू बेबिलोनको कैदमा परेको जस्तै घटना के ख्रीष्टियनहरूले कहिल्यै अनुभव गर्नुपरेको छ? परमेश्वरको वर्तमान समयका सेवकहरू सन्‌ १९१८ मा बेबिलोनको कैदमा परे अनि सन्‌ १९१९ मा मुक्त भए भनेर प्रहरीधरहरा-ले वर्षौंदेखि बताउँदै आएको थियो। तर यस विषयलाई पुनः केलाएर हेर्नुपर्ने कारणहरूबारे यो र यसपछिको लेखमा छलफल गर्नेछौं।

यो कुरा विचार गर्नुहोस्: महान्‌ बेबिलोन झूटो धर्मको विश्वसाम्राज्य हो। यदि सन्‌ १९१८ मा परमेश्वरका  सेवकहरू बेबिलोनको कैदबाट मुक्त भएका हुन्‌ भने उनीहरू त्यतिबेला कुनै न कुनै तरिकामा झूटो धर्मको दासत्वमा हुनुपर्ने थियो। तर साँचो कुरा के हो भने प्रथम विश्वयुद्धअघिको समयताका परमेश्वरका अभिषिक्त जनहरू महान्‌ बेबिलोनको कैदमा होइन, बरु त्यसबाट मुक्त हुँदै थिए। हुन त प्रथम विश्व युद्धको दौडान अभिषिक्त जनहरूले सतावट भोग्नुपरेको थियो। तर त्यो सतावट महान्‌ बेबिलोनबाट नभई खास गरी सरकारी अख्तियारवालाहरूबाट आएको थियो। त्यसकारण सन्‌ १९१८ मा यहोवाका जनहरू महान्‌ बेबिलोनको कैदमा परे भन्न मिल्दैन।

बेबिलोनको कैदमा कहिले परे?

८. साँचो ख्रीष्टियन धर्ममा कसरी झूटो शिक्षा घुस्न थाल्यो, व्याख्या गर्नुहोस्। (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन हजारौं यहूदीहरूका साथै धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू पवित्र शक्तिद्वारा अभिषिक्त भएका थिए। ती भर्खरै ख्रीष्टियन बनेकाहरू “चुनिएको जाति, शाही पुजारीको दल, पवित्र राष्ट्र अनि परमेश्वरको विशेष सम्पत्ति” भए। (१ पत्रुस २:९, १० पढ्‌नुहोस्) प्रेषितहरूले आफू जीवित छउन्जेल परमेश्वरको मण्डलीको राम्ररी हेरविचार गरेका थिए। तर तिनीहरूको मृत्युपछि भने “टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्ने मानिसहरू” देखा पर्न थाले। (प्रेषि. २०:३०; २ थिस्स. २:६-८) तीमध्ये धेरैजसो मण्डलीका जिम्मेवार पुरुषहरू अर्थात्‌ निरीक्षकको रूपमा सेवा गर्थे। पछि तिनीहरू “विशपको” रूपमा देखा परे। येशूले आफ्ना चेलाहरूलाई “तिमीहरूचाहिं सबै दाजुभाइ हौ” भन्नुभए तापनि बिस्तारै पादरीवर्ग देखा पर्न थाल्यो। (मत्ती २३:८) त्यतिबेला अरस्तु र प्लेटोको दर्शनबाट प्रभावित भएका मण्डलीका प्रमुख व्यक्तिहरूले परमेश्वरको वचनको साँचो शिक्षाको साटो बिस्तारै झूटो शिक्षा सिकाउन थाले।

९. धर्मत्यागी ख्रीष्टियन धर्मले रोम सरकारबाट कस्तो समर्थन पायो? नतिजा कस्तो भयो? व्याख्या गर्नुहोस्।

गैर-ख्रीष्टियन रोमी सम्राट्‌ कन्स्टेन्टाइनले इस्वी संवत्‌ ३१३ मा धर्मत्यागी ख्रीष्टियन धर्मलाई कानुनी मान्यता दिए। त्यस समयदेखि चर्च र रोम सरकारले हातेमालो गर्दै काम गर्न थाले। उदाहरणको लागि, कन्स्टेन्टाइनले नाइसिया परिषद्‌को बैठक बोलाएको केही समयपछि तिनले पादरी एरियसलाई निर्वासनमा पठाए। किनभने एरियसले येशूलाई परमेश्वरको रूपमा मान्न इन्कार गरेका थिए। पछि सम्राट्‌ थियोडोसियस प्रथमको शासनकालमा (इस्वी संवत्‌ ३७९-३९५) क्याथोलिक चर्च रोम साम्राज्यको राष्ट्रिय धर्म बन्न पुग्यो। झूटो शिक्षा घुसेपछि साँचो ख्रीष्टियन धर्मले क्याथोलिक चर्चको रूप लियो। चौथो शताब्दीमा रोम पूरै “ईसाईकरण” भइसकेको कुरा इतिहासकारहरू बताउँछन्‌। साँचो कुरा के हो भने त्यतिबेला सम्ममा धर्मत्यागी ख्रीष्टियन धर्मले रोम साम्राज्यको गैर-ख्रीष्टियन धार्मिक सङ्‌गठनहरूसित साठगाँठ गरिसकेको थियो। यसरी तिनीहरू महान्‌ बेबिलोनको सदस्य बन्न पुगे। तैपनि थोरै सङ्‌ख्यामा भएका गहुँरूपी अभिषिक्त ख्रीष्टियनहरू परमेश्वरको उपासना गर्न सक्दो कोसिस गर्दै थिए। तर तिनीहरूको कुरा कसैले सुनेनन्‌। (मत्ती १३:२४, २५, ३७-३९ पढ्‌नुहोस्) यतिबेला चाहिं तिनीहरू साँच्चै बेबिलोनको कैदमा परेका थिए भन्न सक्छौं!

१०. साँचो मनसाय भएका व्यक्तिहरूले ख्रीष्टको मृत्यु भएको केही सय वर्षपछि पनि चर्चको शिक्षामाथि प्रश्न खडा गर्न सक्नुको कारण के थियो?

१० ख्रीष्टको मृत्यु भएको केही सय वर्षपछि सम्म पनि धेरै जनाले ग्रीक वा ल्याटिन भाषामा बाइबल पढ्‌न सक्थे। त्यसैले तिनीहरूले चर्चले सिकाउने शिक्षालाई परमेश्वरको वचनले सिकाउने शिक्षासँग दाँजेर हेर्न सके। बाइबलबाट बुझेको कुराको आधारमा तिनीहरूमध्ये कोही-कोहीले धर्मशास्त्रसित मेल नखाने चर्चको शिक्षालाई इन्कार गरे। यसरी खुल्लमखुल्ला आफ्नो विचार व्यक्त गर्नु अत्यन्तै खतरनाक थियो, तिनीहरूको ज्यानसमेत जान सक्थ्यो।

११. बाइबल कसरी पादरीहरूको नियन्त्रणमा पर्न गयो?

११ पहिला मानिसहरू जुन भाषामा बाइबल पढ्‌थे, ती भाषाहरू समयको दौडान चलनचल्तीबाट हराउन  थाले। सर्वसाधारणले बोल्ने भाषाहरूमा बाइबल अनुवाद गर्न खोज्दा चर्चले तीव्र विरोध गर्न थाल्यो। फलस्वरूप केवल पादरीहरू र शिक्षित व्यक्तिहरूले मात्र बाइबल पढ्‌न सक्थे। तर सबै पादरीलाई राम्ररी लेखपढ गर्न कहाँ आउँथ्यो र! चर्चले सिकाएको कुरालाई अलिकति मात्र असहमति जनायो भने पनि कडा दण्ड दिइन्थ्यो। त्यतिबेला एकसाथ भेला हुन असम्भव थियो। त्यसैले परमेश्वरका वफादार अभिषिक्त जनहरू सम्भव भएमा स-साना समूहमा भेला हुन्थे। बेबिलोनको कैदमा परेका यहूदीहरूझैं अभिषिक्त जनहरूको “शाही पुजारीको दल”-ले व्यवस्थित ढङ्‌गमा सेवा गर्न सकिरहेको थिएन। महान्‌ बेबिलोनको पकड बलियो थियो, त्यसको पन्जाबाट मानिसहरू उम्कन सक्दैन थिए।

ज्योति चम्कन थाल्छ

१२, १३. सर्वसाधारणमाथि महान्‌ बेबिलोनको पकडलाई कुन दुई कुराले अलि खुकुलो पार्न थाल्यो? व्याख्या गर्नुहोस्।

१२ के साँचो ख्रीष्टियनहरूले परमेश्वरले स्वीकार्नुहुने तरिकामा खुल्लमखुल्ला उपासना गर्ने मौका फेरि पाउनेथिए? अवश्य! दुइटा महत्त्वपूर्ण कुराले गर्दा आध्यात्मिक ज्योतिका किरणहरू देखा पर्न थाले। पहिलो थियो, १५ औं शताब्दीको बीचतिर मुभेबल टाइप प्रविधि प्रयोग गर्ने छापाखानाको आविष्कार। पश्‍चिमेली मुलुकमा छापाखानाको आविष्कार गरिनुअघि एकदम होसियारीपूर्वक हातैले सारेर बाइबलका नकलहरू बनाउने गरिन्थ्यो। त्यसैले बाइबल एकदमै कम मात्र पाइन्थ्यो र महँगो हुन्थ्यो। भनिन्छ, हातैले सारेर बाइबलको एउटा नकल बनाउन एकदमै सिपालु व्यक्तिलाई पनि दस महिना लाग्थ्यो। साथै, जनावरको छालामा लेखिएका प्रतिलिपिहरू असाध्यै महँगा हुन्थे। तर यसको सट्टामा कागज र छापाखाना प्रयोग गरेर छाप्नु सजिलो भयो। किनभने सिपालु व्यक्तिले एक दिनमा १,३०० पाना छाप्न सक्थ्यो!

छापाखानाको आविष्कार र साहसी बाइबल अनुवादकहरूले गर्दा मानिसहरूमाथि बेबिलोनको पकड खुकुलो भयो (अनुच्छेद १२, १३ हेर्नुहोस्)

१३ दोस्रो कुरा, १६ औं शताब्दीको सुरुतिर केही साहसी व्यक्तिहरूले परमेश्वरको वचन सर्वसाधारण मानिसहरूले बोल्ने भाषामा अनुवाद गर्ने निर्णय गरे। कतिपय अनुवादकहरूले आफ्नो ज्यान जोखिममा  राखेर यो काम गरे। यो देखेर चर्चका पादरीहरू असाध्यै तर्सिए। परमेश्वरको डर मान्ने पुरुष वा स्त्रीको हातमा बाइबल पर्नु भनेको एउटा डरलाग्दो हतियारसरह हुन सक्छ भनेर चर्चका नेताहरू डराए! हुन पनि बाइबल उपलब्ध हुनेबित्तिकै मानिसहरूले पढ्‌न थाले। त्यसपछि तिनीहरूले यस्ता प्रश्नहरू सोधे: ‘परमेश्वरको वचनमा पापमोचनबारे कहाँ लेखिएको छ? मृतकहरूको पाप क्षमा गर्न पैसा तिरेर पादरीहरूलाई प्रार्थना गर्न लगाउनुपर्छ भनेर लेखिएको छ र? पोप र कार्डिनलजस्ता पदवीहरूबारे बाइबलमा कहाँ लेखिएको छ?’ सर्वसाधारणले यस्ता प्रश्नहरू उठाएकोले पादरीहरूलाई चर्चको नै विद्रोह गरेजस्तो लाग्यो। चर्चका नेताहरूले सिकाएको शिक्षामाथि सर्वसाधारणले प्रश्न गर्नु कत्रो हिम्मत! चर्चले यसको प्रतिकार गऱ्यो। चर्चले सिकाउने कतिपय शिक्षा ख्रीष्टको समयभन्दा अघिका प्लेटो र अरस्तुको गैर-ख्रीष्टियन शिक्षाहरूमा आधारित थिए। बाइबल पढ्‌ने थुप्रै पुरुष र स्त्रीहरूले चर्चका यस्ता शिक्षाहरू तिरस्कार गरे। त्यसैले तिनीहरूलाई धर्मविरोधीको आरोप लगाइयो। यस्ता मानिसहरूलाई चर्चले मृत्युदण्डको सजाय सुनाउँथ्यो अनि त्यसैअनुसार सरकारले मृत्युदण्ड दिन्थ्यो। यसको उद्देश्य मानिसहरूलाई बाइबल पढ्‌नदेखि अनि चर्चमाथि प्रश्न उठाउनदेखि निरुत्साहित पार्नु थियो। धेरै हदसम्म तिनीहरूको यो चाल सफल भयो। तैपनि केही साहसी व्यक्तिहरू महान्‌ बेबिलोनसामु घुँडा टेक्न चाहेनन्‌। किनभने तिनीहरूले परमेश्वरको वचनको स्वाद चाखिसकेका थिए र तिनीहरू अझै बुझ्न चाहन्थे। अब भने तिनीहरू झूटो धर्मको कैदबाट मुक्त हुने समय धेरै टाढा थिएन।

१४. (क) सन्‌ १८७० तिर कस्तो अवस्थाले गर्दा बाइबल सत्य अझ राम्ररी बुझ्न सम्भव भयो? (ख) सत्य खोजी गर्ने सन्दर्भमा भाइ रसलले गरेका प्रयासबारे व्याख्या गर्नुहोस्।

१४ बाइबलको सही ज्ञानको लागि भोकाएका धेरै जसो व्यक्तिहरू चर्चको त्यति पकड नभएका देशहरूमा भागे। तिनीहरू आफूले चाहेअनुसार परमेश्वरको वचन पढ्‌न र अध्ययन गर्नुका साथै त्यसबारे एकअर्कासँग कुरा गर्न चाहन्थे। यसो गर्न सक्ने एउटा देश अमेरिका थियो। त्यहाँ सन्‌ १८७० तिर चार्ल्स टेज रसल र तिनका केही साथीहरूले सिलसिलेवार ढङ्‌गमा बाइबल अध्ययन गर्न थाले। सुरुमा भाइ रसलको उद्देश्य त्यतिबेलाका धर्महरूमध्ये कुन चाहिंले सत्य सिकाइरहेको छ भनेर पत्ता लगाउनु थियो। तिनले विभिन्न धर्महरू केलाउँदा गैर-ख्रीष्टियन धर्मका शिक्षाहरूलाई समेत बाइबलको शिक्षासित राम्ररी तुलना गरेर हेरे। कुनै पनि धर्मले परमेश्वरको वचनलाई पूर्णरूपमा पालन गरेको रहेनछ भनेर तिनले थाहा पाइहाले। रसल र तिनका साथीहरूले बाइबलबाट साँचो कुराहरू पत्ता लगाएका थिए। यी कुराहरू पादरीहरूले स्वीकारेर आ-आफ्नो चर्चका सदस्यहरूलाई सिकाऊन्‌ भनेर एकचोटि तिनले केही स्थानीय पादरीहरूलाई भेटे। तर दुःखको कुरा, ती पादरीहरूले पटक्कै चासो देखाएनन्‌। अब चाहिं बाइबल विद्यार्थीहरूले यो वास्तविकता स्वीकार्नु पर्ने थियो: झूटो धर्मको भाग भइरहनेहरूसित तिनीहरूले कुनै पनि प्रकारको साझेदारी गर्नुहुँदैन थियो।—२ कोरिन्थी ६:१४ पढ्‌नुहोस्।

१५. (क) ख्रीष्टियनहरू महान्‌ बेबिलोनको कैदमा कहिले परे? (ख) अर्को लेखमा हामी कस्ता प्रश्नहरूबारे छलफल गर्नेछौं?

१५ अन्तिम प्रेषितको मृत्यु भएको तुरुन्तैपछि साँचो ख्रीष्टियनहरू बेबिलोनको कैदमा परे भनेर अहिलेसम्मको छलफलबाट बुझ्यौं। तर यस सन्दर्भमा यी प्रश्नहरू उठ्‌छन्‌: सन्‌ १९१४ अघिका वर्षहरूतिर अभिषिक्त ख्रीष्टियनहरू महान्‌ बेबिलोनको कैदबाट मुक्त भइरहेका थिए भन्ने थप प्रमाण के छ? प्रथम विश्वयुद्धको समयताका प्रचारकार्यमा परमेश्वरका सेवकहरूको जोस सेलाएकोले गर्दा के यहोवा तिनीहरूसित खुसी हुनुहुन्न थियो भन्न मिल्छ? त्यस समयताका केही साक्षीहरू तटस्थ नरहेकाले के यहोवाले सजाय दिनुभएको हो? अन्तमा, यदि ख्रीष्टियनहरू दोस्रो शताब्दीदेखि झूटो धर्मको कैदमा परेका हुन्‌ भने तिनीहरू कहिले मुक्त भए? यस्ता प्रश्नहरू उठ्‌नु जायज हो। यसको जवाफ अर्को लेखमा पाउनेछौं।