अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) नोभेम्बर २०१६

 हाम्रो अभिलेखालयबाट

“बेलायतका राज्य प्रकाशकहरू हो, जाग!!”

“बेलायतका राज्य प्रकाशकहरू हो, जाग!!”

“बेलायतका राज्य प्रकाशकहरू हो, जाग!!” भनेर अत्यन्तै सुस्पष्ट आग्रह गरियो। (इन्फर्मेन्ट, * डिसेम्बर १९३७, लन्डन संस्करण) त्यस शीर्षकमुनि यस्तो निराशाजनक उपशीर्षक पनि थियो: “दस वर्षको दौडान खास वृद्धि भएको छैन।” सुरुको पानामा सन्‌ १९२८ देखि १९३७ सम्म दस वर्षको सेवा रिपोर्ट छापिएको थियो र त्यसले उक्त आग्रहलाई पुष्टि गऱ्यो।

अग्रगामीहरू धेरै भएको हो त?

बेलायतमा प्रचारकार्यप्रतिको जोस सेलाउनुको कारण के थियो? त्यहाँका मण्डलीहरू एक अर्थमा “सुस्ताएका” थिए। साथै, शाखा कार्यालयले पनि टाढा-टाढाको इलाकामा गएर प्रचार गर्न २०० जना जति अग्रगामी भए पुग्ने निर्णय गरेको थियो। त्यसैले बेलायतको शाखा कार्यालयले आफ्नो इलाकामा अग्रगामीहरू चाहिंदैन भनेको थियो। अनि अग्रगामी गर्न चाहनेहरूलाई युरोपका अन्य देशहरूमा गएर सेवा गर्न आग्रह गरेको थियो। खुसीको कुरा, बेलायतबाट थुप्रै अग्रगामीहरू फ्रान्स तथा अन्य देशहरूमा सेवा गर्न गए। उनीहरूलाई ती ठाउँहरूको भाषा अलि-अलि मात्र आउँथ्यो, कतिपयलाई भने पटक्कै आउँदैन थियो।

‘जोसिलो हुन आह्वान’

सन्‌ १९३७ को इन्फर्मेन्ट-मा सन्‌ १९३८ को लागि यस्तो चुनौतीपूर्ण लक्ष्य छापिएको थियो: दस लाख घण्टा! प्रकाशकहरूले हरेक महिना १५ घण्टा अनि अग्रगामीहरूले ११० घण्टा प्रचार गरेमा यो लक्ष्य सजिलै हासिल गर्न सकिनेथियो। प्रत्येक दिन पाँच घण्टा प्रचार गर्न अनि खास गरी हप्ताको बीचतिर साँझमा पुनःभेटहरू गर्न मिल्ने किसिमले समूहहरू मिलाउन सुझाव दिइएको थियो।

जोसिला अग्रगामीहरूले जोडतोडका साथ प्रचारकार्यमा भाग लिए

प्रचारकार्यप्रति यस्तो नयाँ जोस देखाइएकोमा धेरै जना खुसी भए। हिल्डा पाजेटले * यसो भनिन्‌: “यो त हामीलाई जोसिलो हुन मुख्यालयले नै गरेको आह्वान थियो। हामीमध्ये धेरै जना यस्तो घोषणाको आशामा थियौं। यसैअनुसार गर्दा परिणाम राम्रो भयो।” बहिनी इ. एफ. वालिसले यसो भनिन्‌: “दिनमा पाँच घण्टा प्रचार गर्ने सुझाव अत्यन्तै राम्रो थियो! दिनभरि प्रभुको सेवा गर्नुजस्तो आनन्दको कुरा अरू के छ र! . . . हुन त हामी थकित भएर फर्कन्थ्यौं। तर खुसीको त कुरै नगरौं!” स्टिफन मिलर नाम गरेका जवान भाइले पनि प्रचार गर्न ढिलासुस्ती गर्न नहुने महसुस गरे। त्यसैले तिनी मौका छँदै प्रचारकार्यमा पूरापूर भाग लिन चाहन्थे। समूह-समूह बनाएर साइकलमा गएर दिनभरि प्रचार गरेको अनि गर्मी महिनामा चाहिं साँझमा भाषणहरूको रेकर्डिङ सुनाएको तिनले बिर्सेका छैनन्‌। तिनीहरू प्रचार गर्नको लागि प्लेकार्डहरू बोकेर हिंड्‌थे अनि पत्रिकाहरू लिएर सडकको छेउमा उभिन्थे।

इन्फर्मेन्ट-मा यस्तो थप आग्रह पनि गरिएको थियो: “हामीलाई १,००० अग्रगामी चाहिएको छ।” प्रचारको इलाकासम्बन्धी नयाँ नीतिले गर्दा अब उप्रान्त अग्रगामीहरू एक्लै होइन, मण्डलीसित मिलेर सेवा गर्नुपर्थ्यो। अग्रगामीहरूले मण्डलीलाई साथ दिनुका साथै बलियो बनाउनुपर्थ्यो। त्यतिबेलाको घटनाबारे जोइस एलिस (विवाहअघि बार्बर थिइन्‌) यसरी सम्झन्छिन्‌: “धेरैजसो भाइहरूले प्रचार गर्न अग्रसर हुनुपर्ने आवश्यकता महसुस गर्दै थिए। त्यतिबेला म १३ वर्षकी मात्र थिएँ। तैपनि अग्रगामी सेवा गर्न चाहन्थें।” उनले सन्‌ १९४० जुलाईमा १५ वर्षको उमेरमा  अग्रगामी सेवा थालिन्‌। जोइससित विवाह गरेका पिटरले पनि “जाग!” भन्ने आह्वान सुनेका थिए। तिनले पनि “अग्रगामी सेवा गर्नेबारे सोच्न थाले।” जून १९४० मा १७ वर्षको छँदा पिटरलाई स्कारबरोमा अग्रगामीको रूपमा सेवा गर्ने नयाँ असाइनमेन्ट दिइयो। त्यो ठाउँ १०५ किलोमिटर टाढा पर्थ्यो तर तिनी साइकल चलाउँदै त्यहाँसम्म गए।

आत्मत्यागी मनोभाव देखाउँदै अग्रगामी सेवा थाल्नेहरूको अत्यन्तै राम्रो उदाहरण सिरिल र किट्टी जोन्सन हुन्‌। पूर्ण-समय प्रचारकार्यलाई टेवा पुऱ्याउन उनीहरूले आफ्नो घर तथा सरसम्पत्ति बेच्ने निर्णय गरे। सिरिलले आफ्नो जागिर छोडे अनि एक महिनामै उनीहरू अग्रगामी सेवा थाल्न तयार भए। सिरिलले यसो भने: “हामी सफल हुनेछौं भनेर ढुक्क थियौं। त्यसैले राजीखुसी यसो गऱ्यौं।”

अग्रगामी गृहहरूको सुरुवात

अग्रगामीहरूको सङ्‌ख्या छिटोछिटो बढ्‌दै गएपछि अग्रगामीहरूलाई साथ दिने केही व्यावहारिक तरिकाहरूबारे जिम्मेवार भाइहरूले सोच्न थाले। सन्‌ १९३८ मा प्रान्तीय सेवकको (अहिले क्षेत्रीय निरीक्षक भनिन्छ) रूपमा सेवा गरिरहेका जिम कारले तिनलाई दिइएको सुझावअनुसारै विभिन्न सहरमा अग्रगामी गृहहरू स्थापना गरे। अग्रगामीहरूलाई सँगै बसेर सेवा गर्न प्रोत्साहन दिइयो। यसो गर्दा खर्च कम हुनेथियो। शेफिल्डमा अग्रगामीहरूले एउटा ठूलो घर भाडामा लिए। त्यसको सुपरिवेक्षण गर्न एक जना जिम्मेवार भाइ खटाइएको थियो। स्थानीय मण्डलीले त्यस गृहको लागि चाहिने खर्च र फर्निचरहरू अनुदानको रूपमा दिन्थ्यो। ती दिनहरूबारे जिमले यसो भने: “सबै कुरा सुचारु रूपमा अघि बढाउन सबैले सक्दो प्रयास गरे।” त्यस घरमा दस जना अग्रगामी बस्थे अनि त्यहाँ बस्नेहरूको लागि एउटा राम्रो आध्यात्मिक तालिका पनि बनाइएको थियो। “बिहान नास्ता खाँदा सधैं दैनिक पद छलफल गरिन्थ्यो। त्यसपछि हरेक दिन अग्रगामीहरू सहरका विभिन्न इलाकामा प्रचार गर्न निस्कन्थे।”

बेलायतमा नयाँ अग्रगामीहरूको सङ्‌ख्या ह्वात्तै बढ्‌यो

सन्‌ १९३८ मा दस लाख घण्टा प्रचार गर्ने लक्ष्य हासिल गर्न प्रकाशक तथा अग्रगामीहरू जोडतोडले लागे। रिपोर्टले देखाएअनुसार प्रचारकार्यको सबै पक्षमा वृद्धि भयो। पाँच वर्षको दौडन बेलायतका प्रकाशकहरूको सङ्‌ख्या झन्डै तीन गुणा बढ्‌यो। प्रचारकार्यप्रति यस्तो नयाँ जोसले गर्दा यहोवाका जनहरू सुदृढ भए; भविष्यमा युद्ध सुरु हुँदाको कठिन अवस्था सामना गर्न तिनीहरू तयार भए।

परमेश्वरले लड्‌नुहुने आरमागेडोनको युद्ध नजिकिंदै जाँदा अहिले बेलायतमा अग्रगामीहरूको सङ्‌ख्या फेरि बढ्‌दै छ। गत दस वर्षको दौडान अग्रगामीहरूको सङ्‌ख्या बढिरहेको छ। सन्‌ २०१५ मा अग्रगामीहरूको शिखर सङ्‌ख्या १३,२२४ पुग्यो। सर्वोत्तम जीवन बिताउने तरिका पूर्ण-समय प्रचारकार्यमा लाग्नु हो भनेर यी अग्रगामीहरूले राम्ररी बुझेका छन्‌।

^ अनु. 3 पछि हाम्रो राज्य सेवा भनियो।

^ अनु. 8 प्रहरीधरहरा, अक्टोबर १, १९९५, पृ. १९-२४ मा बहिनी पाजेटको जीवनी छापिएको छ।